
काठमाडौ, २६ मंसिर । उदक साहित्य समाज नेपालको साप्ताहिक उदक वाचन कार्यक्रमको आठौँ शृङ्खला सम्पन्न भएको छ ।
सो उदक वाचन कार्यक्रमका प्रमुख अतिथि साहित्यकार बालकृष्ण खनालले साहित्यमा राजनीतिको गन्ध आउन नहुने बताउँदै उदकले छोटो समयमा पनि आफ्नो गति लिएकोले उदकले व्यापकता पाओस् भनी शुभकामना व्यक्त गर्नुभएको थियो ।
उक्त कार्यक्रममा विशिष्ट अतिथि बेलबारी साहित्य विकास समितिका अध्यक्ष साहित्यकार तिला लेकालीले उदकको भविष्य उज्ज्वल भएको र वर्तमान समयमा नेपाली साहित्यिक माटोमा लघु विधाको आवश्यकता भएकोले समयसँग हिँड्न सम्पूर्णमा अनुरोध गर्नुभएको थियो ।
उदक वाचनको सो आठौँ शृङ्खलामा उदक साहित्य समाज नेपालका उपाध्यक्ष साहित्यकार सविता केसीले उदक लेखनमा संरचनामा विशेष ध्यान दिनुपर्ने धारणा राख्नुभएको थियो ।
साप्ताहिक उदक वाचन कार्यक्रममा चन्द्रावती अधिकारी, जमुना कायस्थ, कविता देवकोटा, केशव न्यौपाने, लक्ष्मी बस्याल, लक्ष्मी प्रसाद मिश्र, नवराज भट्ट, प्रेम बहादुर थापा, श्रद्धा आचार्य, सीता बिष्ट कार्की, सोम लुइटेल, सुशिला पोखरेल, देवेन्द्र शाक्य, घनश्याम पौडेल, गुणनिधि घिमिरे लगायतका उदक यात्रीहरूले आ-आफ्ना उत्कृष्ट उदकहरू वाचन गर्नुभएको थियो ।
उदक साहित्य समाज नेपालका उपाध्यक्ष साहित्यकार वसन्त अनुभवको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन साहित्यकार आर्त अकुलीनले गर्नुभएको थियो ।

