‘टुक्कामाथि टुक्का’ को दशौं शृङ्खला सम्पन्न; ४२ जना सर्जकहरूको सहभागीता

  • १३ मंसिर २०७८, सोमबार १८:४८ मा प्रकाशित
  • काठमाडौ, १३ मंसिर । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको दशौँ शृङ्खला शनिबार सम्पन्न भएको छ । अभ्यासमा ४२ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालनमा ल्याइएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको दशौं शृङ्खलाको लागि वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    कति आँटी छोरो म अद्वितीय छ पराक्रम,
    छोडेर आएकोछु आफ्नै बाआमा वृद्धाश्रम ।

    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    साह्रै राम्रो मान्छे हजुर लाग्छ महापुरुष,
    छुट्याउनै गाह्रो भो हजुर मान्छे कि उडुस।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    तपाई मानव हो या दानव बुझ्न मन लाग्यो,
    बाआमा वृद्धाश्रम छोड्ने कसरी हिम्मत जाग्यो?
    ✍️
    जगत थापा बझाङ

    ३//
    यस्तो बुद्धिमानी मान्छे कसले जन्मायो,
    भगवान बेचेको देख्दा आँखा रसायो।
    ✍️
    भुपेन्द्र राना मगर
    धादिङ

    ४//
    बा-आमा बृद्धआश्रम छोड्ने पराक्रमी भयौं भन्छन् ,
    समयको पर्खाइमा आफुलाई नै खाडल खन्छन्।
    ✍️
    बेदु न्यौपाने काठमाडौ

    ५//
    बाबुआमा बुढाबुढी झ्याउँझ्याउँ लाग्छ जहिले,
    कति धेरै बाँचेका हुन् कालले लैजाला कहिले?
    ✍️
    भूषण जंग
    अस्ट्रेलिया

    ६//
    सभामा नेता चर्का चर्का भाषणमात्र गर्छ,
    तिम्रा भाषण सुनेर जनताको छाक टर्छ ।
    ✍️
    भगवती दवाडी ,झापा

    ७//
    ए! छोरा बुझ त कति हुन्छ बृद्धाश्रम बस्दाको दर्द,
    आफ्नै बाउ आमासँग छुटिएर बस्ने छोरा नामर्द।
    ✍️
    ललिता अभागी
    सुनकोशी५सिन्धुली

    ८//
    न त ऊ हाे पराक्रमी न त हो ऊ आँटी,
    वृद्धाश्रम ठुलाे देख्ने कस्ताे कुरा खाँटी ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर,झापा

    ९//
    देशभित्र जहाज अनि रेलको भिड भयो,
    नेताको धागमा नागरिकको जीवन गयो।
    ✍️
    सुरेशकुमार पान्डे। दाङ घोराही१८

    १०//
    बाआमालाई वृद्धाश्रम पठाउने तँ पापी,
    सधैभरी नै बस्छन् तलाई उनले सरापी।
    ✍️
    निर्मला शाही ठकुरी
    दैलेख हाल दार्जिलिङ

    ११//
    पढीलेखी ठुलो मान्छे बनें राजनीतिमा चर्चा कमाएँ,
    बाआमा बृद्धआश्रम छोडेँ आफ्नै सन्तानसँग रमाएँ ।
    ✍️
    इन्दिरा देवकोटा
    कपिलवस्तु न .पा .३

    १२//
    कसैले सोधिहाले भने फलानाको छोरा हुँ भनेर नाक फुल्याउँछस्,
    देउतासरह बाआमाको गुनलाई बिर्सी वृद्धाआश्रम पुर्याउँछस्।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    १३//
    बाआमाका पालो ऐले आफ्नो घुँडा मुनि,
    बल्ल बुद्धि पलाउँला काट्दा त्यस्तै जुनि।
    ✍️
    मन्दिरा सेढाई
    धादिङ ,मलेखु

    १४//
    ज्ञान सिकाउने श्रीमती बुद्धिमानी,
    उनले भनिन् मैले लगे जानिजानी।
    ✍️
    होम प्रसाद
    धरान,सुनसरी ।

    १५//
    वृद्धआश्रम बाबा र आमा पुर्याई म आएँ,
    मन्दिरमा पुगी ढुङ्गा पुजेँ लड्डु नै चढाएँ ।
    ✍️
    श्रीकृष्ण शर्मा पोखरा

    १६//
    नेता बन्छन् भाषण गर्छन् देखाई पराक्रम,
    हाकिम बन्छन् बा आमालाई छोडी वृद्धाश्रम |
    ✍️
    विबश पारदर्शी
    भद्रपुर -२ झापा

    १७//
    मत शहरिया मान्छे बाबा आमा गाउँले पाखे,
    साथै राखे मेरो सान घट्छ वृद्धाश्रम नराखे ।
    ✍️
    सूर्य मणि रेग्मी
    चितवन

    १८//
    बाआमालाई भारी सम्झी वृद्धाश्रममा बिसाउने
    मलाई पनि त्यसै गर्नमै छोरालाई सिकाउने ।
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    १९//
    खुट्टी दर्हाे बनाए हुर्काई बढाई गरे पहिले,
    पराई भए ती नै बाबुआमा घाँडाे भयाे अहिले ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    २०//
    बुढेसकालको साहारा थिएँ बाआमा राखे बृद्धाश्रम,
    भोक प्यास नभनी खाडीमा चल्दैछ मेहनतको क्रम ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    २१//
    सेना अख्तियारको प्रशासन परेन नचाउन,
    चोरलाई तालाचाबी दिएको ढुकुटी बचाउन ।
    ✍️
    रिजाल विनोद
    बेलबारी०२मोरङ

    २२//
    बृद्धाश्रम लगेर किन सराप थाप्छौ छोरा?
    तिम्रो पनि आँसु बग्ला होस् गर ए मेरो मोरा ।
    ✍️
    कल्पना थामी
    सिन्धुपाल्चोक

    २३//
    बाआमाको चोखो प्रेमलाई सन्तानले बुझेन,
    वृद्ध अवस्थामा गर्नुपर्ने सेवा किन गरेन ?
    ✍️
    बिक्रम तिरुवा सलिन
    तिला गाउँपालिका ३ कुडारी,जुम्ला

    २४//
    किन मलाई पार्यों भ्रममा,
    एक्लै यहाँ वृद्धआश्रममा ।
    ✍️
    साहित्य प्रेमी प्रयासी श्री लिम्बू
    ठेगाना : पाँचथर

    २५//
    लौ बधाई छ आमाबालाई पुर्याएकोमा बृद्धाश्रम,
    अग्रिम शुभकामना पनि छ चाँडै आवस् तिम्रो क्रम।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान कालेबुङ्ग,भारत।

    २६//
    पुर्ख्याैली सम्पती अंश बाँडियो ती वयाेवृद्ध माता पिता वृद्धाश्रम पुगे,
    सन्तानकाे मनमा स्नेहकाे मुहान सुक्याे तिनैकाे खुसीमा ती ईश नुगे ।
    ✍️
    सुमिना तिमल्सिना
    भक्तपुर

    २७//
    बाबु सत्कर्ममा हिड भन्छु म हिड्छन् कुकर्म गरी,
    आमाबुबालाई कुभलाे गर्ने जान्छन् जिउदै मरी ।
    ✍️
    ल्युजर शर्मा
    बागलुङ गल्काेट हटिया

    २८//
    डाक्टर भएँ विदेश आएँ दोसल्ला ओडेर,
    आफ्नी आमालाई नि ! विमानस्थलमै छोडेर ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा

    २९//
    तिमीलाई माया गरेर डोर्याउँदै हुर्काउने त बा आमाकै थिए हात,
    तिनै हातले बृद्धाश्रम भित्र आँशु पुछ्न बाध्य पारेर गर्यो ठुलै घात!
    ✍️
    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    ३०//
    स्वास्नी, सासू ससुराको सेवामुनि डुबी,
    भोकै बस्छन् बढेको छ बा आमाको खुबी।
    ✍️
    पौडेल विमुन्स
    पोखरा कास्की

    ३१//
    वृद्धाश्रम जाऊ भनेर दिनहुँ घरमा झगडा गर्छ छाेरा,
    तिमीहरू पनि मेरो जस्तो भाेलि पालाे आउँछ हाेस् गर माेरा।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही बुटवल

    ३२//
    जिउँदाेमा बाआमा वुद्धाश्रम हाे लानी,
    मरे पछि रूदै गर्दछु म पिण्ड पानी ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे
    सु** न** पा** ५

    ३३//
    खुसीसँग बोली वचन सेवा सत्कार भरे,
    भगवान हुन आमाबा पुण्य हामीले गरे ।
    ✍️
    कृष्ण आनन्द भट्ट
    पञ्चेश्वर ०५ बैतडी

    ३४//
    भोकले पेटमा मुसा दौडाईरहेछिन जहान,
    जिउँदै स्वर्गमा पुर्याउने तिमी त रैछौ महान।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    ३५//
    नामर्दलाई यहाँ आँटी भनिएको थियो,
    वृद्धआश्रम पितालाई उपहार दियो ।
    ✍️
    धनुष न्यौपाने
    गुठिचौर गाउँपालिका ०४ बिगारे जुम्ला

    ३६//
    म घुस खाएर पैंसा हैन मान्छे कमाउँछु ,
    दियो भने कसैले नाइ भन्दिनँ समाउँछु ।
    ✍️
    कर्ण दयाल
    मेलौली ७, बैतडी

    ३७//
    घरको देवी देवता पर बृद्धाश्रममा फाली,
    नरमाउनु है भोली तिम्रो पनि आउँछ पाली।
    ✍️
    बिके मुखिया
    दार्जीलिङ,भारत।

    ३८//
    जिन्दगीमा दु:खसुख सन्तानसँग साट्ने रहरहरु,
    मेटायो कपुतले खोजीमा छुँ मुक्तिपथ लहरहरु।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १ नवलपुर

    ३९//
    फाल्न लान्छौँ डोकोमा बोकेर आमाबाबा कहाँ पाइन्छ?
    नफाल डोको तिमीलाई फाल्न भोलि मलाई चाहिन्छ।
    ✍️
    दुर्गा आचार्य
    खोटाङ

    ४०//
    भन्थे उहिलेका कथामा बुढा बाबुआमालाई फाल्थे डोकामा,
    आज फाल्दा रहेछन् कपुत सन्तानले बृद्धाश्रमको ढोकामा ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी नपा ४, इमाडोल, ललितपुर ।

    ४१//
    जन्मदिने आमाबुबा साथ दिने पनि उनै,
    प्राण त्याग्ने हाम्रा लागि नदिउँ है दु:ख कुनै।
    ✍️
    मन बहादुर पुन मगर
    आठविसकोट न.पा ८ रुकुम पश्चिम

    ४२//
    दुधको धारा त बगाउँछ चमेराले नि आमा बनी,
    फलिदिन्छ कहिलेकाहि (केराले ) बुङ्गोबेगर पनि।
    ✍️
    जि कुमार गौतम

    जय टुक्का ! जय साहित्य !!

    One thought on “‘टुक्कामाथि टुक्का’ को दशौं शृङ्खला सम्पन्न; ४२ जना सर्जकहरूको सहभागीता

    Leave a Reply