अपरिचित व्यक्तिले ‘फकाएर’ नेपाल आउनेलाई सामान पठाउन थालेपछि त्रिभुवन विमानस्थल भन्सारले जारी गर्‍यो सूचना

  • १३ मंसिर २०७८, सोमबार १९:०५ मा प्रकाशित
  • अपरिचित व्यक्तिले नेपाल आउनेलाई ‘फकाएर’ सामान पठाउने गरेको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले सूचना जारी गरेको छ। 

    नेपालमा कानुनअनुसार ल्याउन पाउने सुन, मोबाइल फोन, ल्यापटप तथा मदिराजन्य पदार्थभन्दा बढी परिणाम ल्याउने गरेको भन्दै सूचना जारी गरेको हो। 

    सुविधाभन्दा बढी परिमाण र स्वरूपमा सुन तथा सुनका गहना, मोबाइल, ल्यापटप तथा मदिराजन्य पदार्थहरू ल्याउने गरेको छ,’ सूचनामा उल्लेख छ,’सोउपर कानुनबमोजिम कारबाही हुँदा यात्रुहरूले प्रचलित कानुनी व्यवस्थाको पर्याप्त जानकारी नभएको र अन्य अपरिचित व्यक्तिले ललाइफकाइ त्यस्ता सामग्री पठाउने गरेको भनी बयान दिने गरेकोतर्फ यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ।’

    तस्करहरूले भन्सार छल्न नेपाल आउने व्यक्तिहरूलाई विभिन्न प्रलोभनमा पारी सुनलगायत सामान पठाउने गरेको छ। त्यसरी भन्सार छलेर नेपाल भित्र्याउनेहरूलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालयले पक्राउ गरी विभागलाई बुझाउने गरेको छ। 

    अनुसन्धानकै क्रममा पक्राउ परेका व्यक्तिहरूले अरूले नै फकाएर पठाउने गरेको बयान दिएको भन्सार विभागले जनाएको छ।

    सो काम रोक्न विभागले कानुनअनुसार नेपाल भित्र्याउन पाउने सामानको परिणाम सार्वजनिक गरेको छ।

    त्यस्तै, भन्सार कार्यालयले अपरिचित व्यक्तिको ललाइफकाइ कुनै मालवस्तु लगिदिन अनुरोध गरेमा, कुनै अवैध वस्तु लुकाइएको छ/छैन भन्ने सुनिश्चित नभएसम्म अरू कसैको मालवस्तु नलिनू/नल्याउन अनुरोध गरेको छ। 

    भन्सार ऐन, २०६४ को दफा ९ को उपदफा (३) ले दिएको अधिकार प्रयोग गरी गत जेठ १५ गतेदेखि लागु हुने गरी यात्रुले आफूसँगै ल्याउन र लैजान पाउने मालवस्तुको देहाय बमोजिमको परिमाणमा मात्र भन्सार महसुल छुटमा ल्याउन पाउने भन्सार कार्यालयले जनाएको छ।

    १. व्यक्तिगत प्रयोगको सुनको गहना ५० ग्रामसम्म ५० ग्राम भन्दा थप २०० ग्रामसम्मको सुनका गहनालाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने; सोभन्दा बढी परिमाणका सुनका गहना ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने, व्यक्तिगत प्रयोगका सुनका गहना बाहेक अन्य जुनसुकै स्वरूपको सुन अधिकतम १०० ग्रामसम्मलाई भन्सार महशुल लिई जाँचपास गर्न सकिने; सोभन्दा बढी परिमाणको सुन ल्याएमा त्यस्तो बढी परिमाण जफत गरिने

    २. व्यक्तिगत प्रयोगको ट्याबलेट वा ल्यापटप १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने)

    ३. व्यक्तिगत प्रयोगको मोबाइल १ वटा (सोभन्दा बढी भएमा भन्सार महशुल लाग्ने) 

    ४. मदिरा १ लिटरसम्मको बोतल १ (सोभन्दा बढी परिमाणको मदिरा जफत गरिने)

    Leave a Reply