
फ्लाई दुबईको जहाजबाट काठमाडौ गएका धनुषाका प्रकाश महरा २०७७ चैत्र २४ गते मंगलबार राती सवा १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ९ सय ३४ ग्राम अवैध सुन सहित पक्राउ परे। उनले ५० ग्रामको बाला सहित आठ सय ८४ ग्राम सुन राईस कुकरमा लुकाएर लगेका थिए।
दुबईबाट नेपाल वायुसेवा निगमको जहाज चढेर गत बैशाख १२ गते काठमाडौं गएका दोलखाका प्रदीपप्रसाद न्यौपानेको साथबाट छ सय ग्राम सुन बरामद भयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयका कर्मचारीले लगेज जाँचका क्रममा ‘टूलबक्स’ भित्र लुकाएर ल्याएको अवस्थामा उक्त परिणाम अवैध सुन बरामद भएको थियो।
त्यस्तै, बैशाख २० गते दुबईबाट फर्केका पाँच जनाको साथबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक किलो तीन सय ९१ ग्राम सुन बरामद भयो। भिजिट भिजामा युएई पुगेर फर्किएका गुल्मीका जनक खड्का, प्युठानका यमलाल खनाल, नुवाकोटका धनबहादुर तामाङ, सुमित तामाङ र कास्कीका राजु विकले स्पिकरमा लुकाएर राखेको अवस्थामा उक्त अवैध सुन बरामद भएको थियो।
उक्त घटनाहरु त बितेको एक महिनाको अवधिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युएईबाट भरिया बनाएर पठाइएका अवैध सुन बरामद भएका ‘केस’ मात्रै हुन्। विमानस्थलको भन्सार र अध्यागमनको जाँचलाई छक्याएर पार गरिएका अवैध सुनहरुको त हिसाब नै छैन।
सयौँ नेपालीले युएईबाट अहिले पनि दिनहुँ तस्करका सुनहरु बोकिरहेका छन्। बालाको स्वरुप बनाइएको ५० ग्राम सुन नेपालीले सजिलै लैजान मिल्छ। यसैको फाइदा उठाएर सुन तस्करहरुले स्वदेश फर्किने नेपालीहरुलाई विमानस्थलमै पुगेर सुन भिराउने गरेका छन्। सुनको एउटा बाला लगिदिए बापत तस्करहरुले प्रतिव्यक्ति १० हजार रुपैयाँसम्म दिने गरेका छन्।
युएईमा सुन तस्करहरुको सञ्जाल बाक्लो छ। समाजसेवा गर्नेहरुदेखि लिएर रेष्टुरेण्ट सञ्चालक र ट्राभल व्यवसायीहरु समेत यस्तो क्रियाकलापमा संलग्न रहेको तथ्यहरु बाहिरिँदै आएका छन्। नेपाल फर्कन तयार भएकाहरुको कोठामै पुगेरसमेत तस्करहरुले सुन लगायतका बहुमुल्य सामग्री सुम्पने गरेका छन्।
कतिपयले त विमानस्थलमै गएर नेपाली यात्रुलाई सुन थमाउने गरेकोसम्म भेटिएको छ। काँचो सुन लैजान प्रतिबन्ध भएकोले तस्करहरुले सुन बटारेर बाला जस्तो बनाई यात्रुलाई थमाउने गरेका छन्।
खाडी मुलकहरुबाट फर्किने नेपालीलाई ५० ग्रामसम्म सुनको गर–गहना बिनाभन्सार लैजान छुट दिइएको छ। यसरी पठाइएका सुन नेपाल हुँदै भारतीय व्यापारीलाई बिक्री गरिने गरिएको पाइएको छ।
नेपाली व्यापारीभन्दा भारतीय व्यापारीले सुनको बढी मूल्य तिर्ने हुनाले भारतीय बजारमा यस्ता सुन बेचिनेगरेको देखिन्छ। तस्करहरुले सुनसँगै ल्यापटप, मोबाइल, टेलिभिजनलगायतका बहुमुल्य सामाग्रीसमेत यात्रुलाई बोकाएर पठाउने गरेका छन्।
तस्करका एजेण्टहरुले त्यस्ता सामग्री नेपाल पुग्नसाथ विमानस्थलबाटै बुझ्नेगरेको स्रोतले जानकारी दिएको छ। सर्वसाधारण यात्रुले लिएर गएका कतिपय सामग्रीको त बिलसमेत हुँदैन। ती सामग्री नेपालमा पु-याएर बेच्दा प्रशस्त नाफा हुने गरेकाले तस्करहरुले यस्तो धन्धा गर्नेगरेका हुन्।
हुण्डी र सुन तस्करी सँगसँगै
दुबईमा रहेका सुन तस्करहरुले हुण्डीबाट समेत फाइदा लिइरहेका छन्। हुण्डीबाट प्राप्त पैसाले नै उनीहरुले सुन किनेर नेपाल पठाउनेगरेका छन्। तस्करीमा संलग्नहरुले दुबईमा रहेका कामदारले घर पठाउने पैसा ‘मनी एक्सचेञ्ज’ को रेटभन्दा बढी रेट दिएर आफूले लिने गरेका छन्। त्यही पैसाबाट सुन किनेर नेपाल पठाउँदै आएका छन्।
नेपाल राष्ट्र बैंकले तोकेको अमेरिकी डलरको दरभन्दा बढी रकम पाउने भएपछि त्यही प्रलोभनमा कामदारहरुले तस्करलाई पैसा सुम्पिने गरेका छन्। सुन कारोबारमा संलग्न तस्करहरूले सुनको सिक्रीदेखि औँठीसमेत बनाएर लगाइदिने, सुन बोकाएर पठाएको व्यक्ति र उसको जहाजको फोटो खिचेर नेपालका एजेण्टलाई पठाउने गर्छन्। ती एजेण्टले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल परिसर भित्रैबाट सुन लिने गरेका छन।
युएईबाट हुने सुन तस्करीमा ट्राभल व्यवसायी र रेष्टुरेण्ट सञ्चालकहरुको हात रहेको बताइँदै आएको भए पनि पछिल्लो पटक बरामद भएका सुन र पक्राउ परेका व्यक्तिहरुको बयानबाट यसमा युएईमा क्रियाशील नेपाली समाजसेवी र राजनीतिकर्मीहरुको समेत संलग्नता पाइएको स्रोतले जानकारी दिएको छ।
समाजसेवाको आवरणमा हुण्डी र सुन तस्करी गर्ने नेपाली बुद्धिजिवीहरुको विवरण प्राप्त भइसकेको र अनुसन्धान–पश्चात् सार्वजनिक हुने श्रोतको भनाइ छ।
यो खबर breaknlink.com मा रामकुमार परियार ले लेखेका छन् !

