२१ औं एसियाली खेलकुद साउदी अरबमा गराउन नेपालसँग समर्थन माग 

  • २७ मंसिर २०७७, शनिबार २१:४० मा प्रकाशित
  • काठमाडौं : नेपालका लागि साउदी अरबका राजदूत मुसाउद अल आरबेले २१ औं एसियाली खेलकुद साउदी अरबमा गर्न नेपालसँग समर्थन मागेका छन्। 
    शनिबार नेपाल ओलम्पिक कमिटीको मुख्यालयमा कमिटीका अध्यक्ष एवं संघीय सांसद जीवनराम श्रेष्ठलाई भेटगर राजदूत मुसाउदले सन २०३० मा हुने २१ औं एसियन खेलकुद गर्न साउदी अरबलाई सघाउन आग्रह गरेका हुन्। 

    नेपाल ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले एसियन खेलकुदका लागि साउदी अरबलाई सघाउन मुसाउदले आग्रह गरेको बताए। 

    साउदी र कतारले प्रस्तुत गरेको प्रस्ताव तुलनात्मक रुपमा समान रहेको बताउँदै अध्यक्ष श्रेष्ठले यसबारे दुवैपक्षसँग थप छलफल गरी निष्कर्षमा पुग्ने बताएका छन्। अन्तिम निर्णय गर्नु अगाडि नेपाली खेलकुद र खेलाडीको हितलाई मुख्य आधार बनाईने समेत उनले बताए।

    साउदी अरबले सन् २०३० को एसियन खेलकुद आयोजनाका लागि आफ्नो दाबेदारी प्रस्तुत गर्दैछ। एसियन ओलम्पिक कमिटीको यही डिसेम्बर १६ मा ओमानको मस्कटमा हुने ३९ औं ओसीए महासभामा २१ औं एसियन खेलकुदका लागि मतदान हुनेछ। हाल सम्म कतार र साउदी अरबले २१ औं एसियन खेलकुद गर्नका लागि इच्छा देखाएका छन्। नेपालले पनि ती दुई मध्ये एक देशमा खेलकुद आयोजना गर्नका लागि मतदान गर्नेछ। नेपालसँगै ४५ देशले मतदान गर्नेछन्।

    Leave a Reply