उमेश कुशवाहा,बीरगंज मांसिर ०३ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक आराधना र पूजा गरी मनाइने धार्मिक एवं लोक आस्थाको पर्व छठको तयारी उत्साहका साथ शुरु भएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आज स्नान गरी चोखो खाएर बसिन्छ । कात्तिक शुक्ल चतुर्थीका दिन आज बिहान बर्तालुले स्नान गरेसँगै यो पर्वको विधि शुरु हुन्छ ।
यमपञ्चक पर्व सम्पन्न हुनासाथ तराईमा यतिखेर छठ पर्व मनाउनका लागि आवश्यक सरसामग्रीको किनमेलमा सर्वसाधारण जुटेका छन् ।
विगतमा वीरगंज लगायत मध्यतराईमा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिएको भएपनि यस वर्ष कोरोना सङ्क्रमणका कारण समस्या देखिएको छ । तर पनि छठ विधिवत् रुपमा मनाउने कार्यका लागि चहलपहल शुरु भइसकेको छ । यतिखेर बीरगंज लगायत पर्साको ग्रामीण क्षेत्रलगायत विभिन्न ठाउँमा छठ मनाउनका लागि पोखरी, ताल तलाउ, नदी किनारको सरसफाइ शुरु भइसकेको छ ।
कोरोना सङ्क्रमण जोखिमका विचमै पर्वको तयारी भई रहेको छ । व्रतालुहरुले बाँसका डाला, नाङ्गलो, ढकिया, कनसुप्ती र माटोको सामग्री लगायतका छठ पर्वमा आवश्यक पर्ने नारिवल, सख्खर किनमेल गर्न बजारमा निस्किएका छन् । विगतमा जस्तो भिडभाडका साथ पर्व मनाउन सर्वसाधारण नजुटेपछि तयारी भने भव्य रुपमा भई रहेको छ ।
कार्तिक महिनाको शुक्ल चर्तुर्थीको दिनदेखि शुरु भई चार दिनसम्म मनाइने छठपर्वको पहिलो दिन नुहाएर चोखो भई खाने, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउदो र चौथो दिन सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई दर्शन गर्न बिहान ४ बजेदेखि नै प्रतीक्षा गरिन्छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले अघ्र्य दिइन्छ । यसरी घाटमा गरिने पूजालाई भिन्सरघाट भनिन्छ । बिहानै घाटमा गरिने पूजा भएकाले भिन्सरघाट भनिएको हो । सूर्योदयकालमा अघ्र्य दिई सूर्यको दर्शन गरेपछि छठ पूजा सकिन्छ । सूर्यको दर्शन गर्दा भक्तहरु लुगासहित कम्मरसम्मको पानीमा डुबेर सूर्य दर्शन गर्ने विधि रहेको छ ।
विशेष गरी तराई मधेशमा मधेशी समुदायले मनाइँदै आएको छठ पर्व केही वर्ष यतादेखि पहाडी समुदाय र मुस्लिम समुदायले समेत मनाउने क्रम बढेपछि यो पर्व लोकप्रिय हुँदै गएको छ ।
छठ ब्रत्त गर्नाले पारिवारिक सुख, शान्ति, कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकांक्षा पूरा हुने उद्देश्यले सूर्यको उपसना गरी यो पर्व मनाउने गरिन्छ । अत्यन्तै निष्ठाका साथ मनाईने छठ पर्व एक मात्र जिवित भगवानको रुपमा रहेको सुर्यलाई आराधना गरि मनाईने भएको हुँदा यस पर्वको महत्व दिन प्रति दिन बढदै गएको छ ।
सर्वप्रथम छठीमाताले सूर्यदेवलाई खुशी पारी यो पर्व मनाउन थालिएको धार्मिक विश्वास छ । महाभारतकालमा द्रौपदीसहित पाण्डवहरूले अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरेका थिए । पाण्डवहरू विराट राजाका दरबारमा बसेका बेला गरेको सूर्य पूजाका प्रभावले अज्ञातवास सफल भएको विश्वासमा यो पर्व मनाउन शुरु गरिएको पौराणिक ग्रन्थमा उल्लेख छ । अत्रिमुनिकी पत्नी अनुसूयाले सर्वप्रथम छठ व्रत गरेको सूर्य पुराणमा उल्लेख छ । छठ व्रतका प्रभावले अटल सौभाग्य र पतिप्रेम प्राप्त भएपछि अरुले पनि मनाउने परम्पराको शुरुआत भएको अनुयायीको भनाइ छ ।


