एनआरएनएको १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन सम्पन्न

  • १९ आश्विन २०७७, सोमबार १५:२१ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ (एनआरएनए) को १३ औं युरोपेली बैठक एवं दोश्रो ज्ञान सम्मेलन ३ र ४ अक्टोबर, २०२० मा भव्य र सभ्यरुपमा सम्पन्न भएको छ।

    “मातृभूमिको लागि सीप र ज्ञान, महिला तथा युवा आवाजको लागि हाम्रो अभियान” मूल नारा रहेको सम्मेलनमा ११ औं यूरोपेली महिला भेला, युवा सम्मेलन तथा समसामयिक विषयमा विभिन्न सत्रहरु आयोजना गरिएका थिए।  नेपाल सरकारका पर्यटन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्नु भएको सम्मेलनमा पूर्व मन्त्री एवम  नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले सम्वोधन गर्नु भयो।  विज्ञ सम्मेलनमा शिक्षामन्त्री गिरीराजमणि पोखरेलले सम्वोधन गर्नु भयो भने अन्य सत्रहरूमा नेपाल सरकारका वरिष्ठ अधिकारीहरु, पूर्व मंत्री तथा नेकपा नेता डा. गंगाधर तुलाधर, पूर्व मंत्री तथा नेपाली कांग्रेसका सांसद गगन थापा, महामहिम राजदूतज्यूहरु,  एनआरएनएका केन्द्रिय नेतृत्व, पूर्व अध्यक्षज्यूहरु, युरोपस्थित विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरु तथा गैरआवासीय नेपालीहरुको उत्साहजनक सहभागिता रहेको थियो। 

    कोभिड-१९ महामारीका कारण प्रत्यक्ष भेला गर्न सम्भव नभएकाले भर्चुअल माध्यमबाट आयोजित २ दिने सम्मेलनले निम्न निर्णयहरु गरेको छ :

    १. विश्वव्यापी कोभिड-१९ संक्रमणका कारण नेपाल तथा नेपाल बाहिर युरोप लगायत संसारभरि नेपाली समुदायमा परेको असरप्रति गहिरो चिन्ता व्यक्त गर्दै कोभिड-१९ संग जुध्न स्वयंसेवी रुपमा खटीरहनु भएका गैर आवासीय नेपाली अभियन्ताहरु, प्रवासी नेपाली संघसंस्था, नेपाली समुदायका अगुवाहरु, नेपाली नियोगहरु  लगायत सम्बन्धित सबैको उच्च सम्मान गर्दै यो बैठक उहांहरुप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछ।  युरोपमा कोरोना संक्रमणको ‘दोश्रो वेभ’ आउन सक्ने चेतावनी विज्ञहरुले दिइरहेकाले सुरक्षित रहन सबै गैर आवासीय नेपाली समुदायलाई यो बैठक आग्रह गर्दछ।

    २.  संसदको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भै संसदको विचाराधीन रहेको ‘गैर आवासीय नेपाली नागरिकता सम्बन्धि ऐन’ लाई “एक पटकको नेपाली संधैको नेपाली” भन्ने मूलमन्त्रलाई चरितार्थ गर्ने गरी भावी सन्ततिलाई पनि नेपालसंग जोड्ने प्रावधान सहित यथाशिघ्र पारित गर्न सबै सांसदज्यूहरु तथा प्रमुख राजनीतिक दलहरुलाई यो बैठक आह्वान गर्दछ।

    ३. सन् २०१९ मा नेपाल सरकारको आयोजना भएको अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी १० अर्ब रुपैयाँको लगानी कोष स्थापना गर्ने सहमतिको कार्यान्वयन गर्ने प्रतिवद्धता यो बैठक गर्दछ । उक्त कोष स्थापना गर्नका लागि देखिएका कानूनी एवम् प्रक्रियागत अड्चनहरु हटाइदिनका लागि नेपाल सरकारसँग अनुरोध गर्दै यूरोपस्थित नेपालीहरुलाई उक्त कोषमा लगानी गर्न समेत यो बैठक आह्वान गर्दछ ।

    ४. युरोपले एक अल्पविकसित मुलुकका रुपमा नेपाललाई  सहुलियतपूर्ण निर्यात गर्ने सुविधा दिएको तर त्यसको पर्याप्त उपयोग गर्न नसकिएकाले नेपालका हस्तकला, पश्मिना, चिया, कफी लगायतका उत्पादनहरुको निर्यात  युरोपेली बजारमा वृद्धि गर्न र र आआफ्नो घरमा नेपाली उत्पादनहरुको प्रयोग बढाउन प्रोत्साहित गर्न एनआरएनए तथा एनआरएनहरुले विशेष भूमिका निर्वाह गर्ने निर्णय गर्दछ।  यसैगरी संसारभरि नेपाली निर्यात तथा नेपालमा विदेशी लगानी प्रवर्धन गर्न संसारका धेरैजसो देशहरुसंग दोहोरो कर तिर्नु नपर्ने सम्बन्धि सन्धि (Double Taxation Avoidance Agreement),  लगानी प्रवर्धन सम्बन्धि सन्धि (Investment Promotion Agreement) हरु गर्न नेपाल सरकारलाई यो बैठक आग्रह गर्दछ।

    ५. नेपाल पर्यटन बोर्ड र नेपाल सरकारले अगाडि सारेको ‘पर्यटन पुनरुत्थान रणनीति’ अनुसार नेपालमा पर्यटनक्षेत्रको पुनरुत्थानका लागि एउटा भरपर्दो साझेदारको रुपमा काम गर्न गैर आवासीय नेपाली संघ तत्पर रहेको बताउंदै उक्त रणनीतिमा आन्तरिक पर्यटनसंगै एनआरएन पर्यटनको विषयलाई पनि अरु स्पष्टरुपमा  उल्लेख गर्न यो बैठक अनुरोध गर्दछ।

    ६. विगत केही वर्ष देखि युरोपले नेपाली राष्ट्रिय ध्वजावाहक लगायत सबै नेपाली वायु सेवालाई युरोपको आकाशमा उड्नमा प्रतिबन्ध लगाइ रहेकोमा यथाशिघ्र सो प्रतिबंध हटाइ युरोपेली आकाश खुला गर्न हाल भैरहेका कूटनीतिक प्रयासलाई तीव्र पार्न यो बैठक नेपाल सरकारलाई आग्रह गर्ने निर्णय गर्दछ।

    ७. नेपालीहरुको बढ्दो संख्यालाई ध्यानमा राखी युरोपका माल्टा, पोल्याण्ड र पोर्चुगलमा नेपाली राजदूतावास स्थापना गर्न यो बैठक आह्वान गर्दछ । कूटनीतिक नियोगहरु स्थापना नहुँदासम्म ती मुलुकहरुमा सहज र नजिक हुने कूटनीतिक नियोगमा हस्तान्तरण गराउन समेत यो बैठक अनुरोध गर्दछ। युरोपस्थित नेपाली नियोगहरु तथा युरोपमा रहेका नेपाली समुदायबीच निकट सहकार्य गर्दै मिलेर अगाडी बढ्न यो बैठक आह्वान गर्दछ ।   

    ८. युरोपस्थित गैरआवासीय नेपाली संघ महिला फोरमले महिलाहरुको उद्यमशीलता विकास तथा लगानी अभिवृद्धिका लागि आवश्यक सहयोग गर्ने, महिला फोरमको सकृयतामा शुरु भएको सीप विकास तालिमलाई निरन्तरता दिने र गैरआवासीय नेपाली अभियानको हरेक क्षेत्रमा महिलाहरुको सहभागितालाई अरु वृद्धि गर्दै जाने निर्णय गर्दछ । ’कोभिड १९’ का कारण महिलाहरु अत्यधिक प्रभावित भएको  र महिला बेचबिखन तथा नेपाल भित्रै देहव्यापारमा महिला, बालवालिकालाई संलग्न गराउने प्रवृत्ति बढ्दै गएकाले जनचेतना जगाई यस्ता विकृति नियन्त्रण गर्न प्रभावकारी कार्यक्रममा ल्याउन यो बैठक माग गर्दछ  ।

    Leave a Reply