एनआरएनएमा अनलाइन भोटिङ र सदस्यता नि:शूल्क गर्ने प्रस्ताव पारित

  • ७ भाद्र २०७७, आईतवार १८:२५ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ (एनआरएनए) को सांगठानिक पुर्नरसंरचना तथा विधान संसोधन प्रस्ताव सर्वसम्मतीले पारित भएको छ । गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समिति ( आइसीसी ) को शनिवार सम्पन्न अनलाइन कन्फ्रेन्स कल मार्फत भएको बैठकले सदस्यता शुल्क, राष्ट्रिय तथा अन्तराष्ट्रिय परिषदको निर्वाचन प्रकृया, इलोक्ट्रोनिक्स मतदान, महाधिवेशन प्रतिनिधि चयन लगायतका क्षेत्रमा हुने पुनर्संरचनाको सम्वन्धी प्रस्ताव सर्वसम्मतले पारित गरेको हो ।

    बैठकमा संघका सचिव गौरी राज जोशीले एमआइएस सिस्टम, कोषाध्यक्ष महेश श्रेष्ठले आर्थिक प्रस्ताव र संघका अध्यक्ष कुमार पन्तले निःशुल्क सदस्यता, महासचिव डा हेम राज शर्माले विधानसंसोधन प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

    संघका अध्यक्ष कुमार पन्तका अनुसार संघद्धारा पारित भएको प्रस्तावलाई आगामी विशेष साधारणसभामा प्रस्तुत गरिने छ ।

    बैठकले विश्वभर छरिएका सबै राष्ट्रिय समितिमार्फत वितरण हुने पन्जिकृत सदस्यता निःशुल्क गर्ने निर्णय गरेको छ । संघले यसअघि स्थापना कालदेखि ५ डलर अनिवार्य लिदै आएकोमा अब सो प्रावधान खारेज गर्ने भएको छ ।

    बैठकको निर्णय अनुरुप संघका सबै राष्ट्रिय समितिको निर्वाचन प्रकृया केन्द्रीय प्रणाली अनुरुप हुने छन् । संघको राष्ट्रिय समितिमा उम्मेदवार बन्न र मतदान गर्न केन्द्रीय प्रणाली (एमआईएस) मा नाम दर्ता गर्नुपर्ने वैधानिक व्यवस्था गरिन लागिएको छ । बैठकमा बोल्ने वक्ताहरुले संघको राष्ट्रिय समितिको निर्वाचन र केन्द्रीय समितिको नेतृत्व चयन एउटै मितिमा एकै पटक गर्न सुझाव दिएका थिए ।

    बैठकले गैर आवासीय नेपाली संघको केन्द्रीय महाधिवेशनको लागि लाग्ने २ सय अमेरिकी डलर खारेज गर्ने निर्णयलाई अनुमोदन गरेको छ ।

    बैठकमा उपाध्यक्ष मन केसी र रविना थापाले संघका प्रस्तुत प्रस्तावमा थप छलफल आवश्यक रहेको धारणा राख्नुभएको थियो । संघको गत हप्ता सम्पन्न पदाधिकारी बैठकले पारीत गरेको प्रस्तावको पक्षमा अधिकांशले समर्थन गरेका थिए ।

    सचिव जोशीले संघका सदस्यहरुको व्यक्तिगत विवरणको सुरक्षाको ग्यारेन्टी गरिने स्पष्ट पार्नुभएको थियो । बैठकमा संघका पदाधिकारीहरु लगायत १ सय भन्दा बढी केन्द्रीय सदस्यहरुको उपस्थिती थियो ।

    निर्वाचनमा झोलाभरि पैसा बोक्ने र पैसा प्रयोग गरेर निर्वाचन आफनो हातमा पार्ने चुनावी प्रणालीको अन्त्य भयो -अध्यक्ष पन्त

    प्रस्ताव पारित भएसँगै अध्यक्ष पन्तले प्रतिक्रिया दिनुहुँदै अनलाइन भोटिङ र सदस्यता निशूल्क गर्नु अहिलेको मुख्य आवश्यकता रहेको बताउनुभयो । नेपालमा प्रतिनिधिहरु गएर चुनाव गर्दा विभिन्न समस्याहरु देखिएको बताउँदै ठूलो खर्च गरेर आउनुपर्ने बाध्यताको अन्त्य गरिएको स्पष्ट पार्नुभयो ।

    ‘अनलाइन प्रविधिमा रुपान्तरण गर्दा नेपालमा गएर लाइन बसेर भोट हाल्नुपर्ने अवस्थाको अन्त्य भएको छ । जो जहाँ हुनुहुन्छ, त्यहीँबाट अनलाइन प्रणालीमार्फत भोट हाल्न सकिन्छ’, उहाँले भन्नुभयो, ‘अनलाइनबाट भोट हाल्ने भएपछि नेपालमा जानु परेन ।’

    निर्वाचनमा देखिएका विकृतिप्रति सचेत नभए एनआरएनएको भविष्यमाथि प्रश्नचिन्ह्र खडा हुने भएकाले पनि निर्वाचन प्रणालीमा सुधार गरिएको बताउनुभयो ।

    उहाँले निर्वाचनमा झोलाभरि पैसा बोक्ने, पैसा प्रयोग गरेर निर्वाचन आफनो हातमा पार्ने वर्तमान निर्वाचन प्रणालीलाई परिवर्तन गरेरै छाड्ने आफनो प्रतिबद्धता कार्यान्वयन आउँन थालेकोमा खुसी समेत ब्यक्त गर्नुभयो । यो खबर आजको बिश्वसंदेश.कममा छापिएको छ ।

    Leave a Reply