
वसन्त अनुभव
नेपालमा आज थप २८८ जना संक्रमण भएको पुष्टि भएको छ । पुष्टि हुनेमा पुरुष २७० जना र महिला १८ जना रहेका छन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलका प्रवक्ता डा विकास देवकोटाले मन्त्रालयको नियमित मिडिया व्रिफिङ कार्यक्रममा बिगत २४ घण्टामा २८८ जना कोरोना संक्रमित थपिएको जानकारी दिएका हुन । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ ।
जसमध्ये पुरुष १९४९ जना र महिला १५० जना रहेका छन । मङ्गलवार सङ्क्रमण पुष्टि हुनेमध्ये काठमाण्डूमा कार्यरत चार स्वास्थ्यकर्मी पनि रहेका छन्।
नेपालका ७७ जिल्लाहरु मध्ये ६१ जिल्लामा कोरोना सङ्क्रमण फैलिएको डा. देवकोटाले बताएका छन्। डा. देवकोटाका अनुसार आज संक्रमित भएको पुष्टि हुनेमा गण्डकी प्रदेशका थप १० जनामा कोभिड- १९ सङ्क्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा स्याङ्जाका ५ जना र पर्वतका ५ जनामा भाइरसको सङ्क्रमण पुष्टि भएको हो।
त्यस्तै प्रदेश नं २ का १२० जना व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार रौतहटमा ७४ जना, सर्लाहीमा २१ जना, सिराहामा १७ जना, धनुषामा ४ जना, महोत्तरीमा २ जना, सप्तरी जिल्लामा १ जना र बारा जिल्लामा १ जनामा सङ्क्रमणको पुष्टि भएको हो।
त्यस्तै कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार गएको २४ घण्टामा त्यहाँ ६४ नयाँ सङ्क्रमण पुष्टि भएको छ। जसमध्ये सुर्खेतमा २७ जना, दैलेखमा नौ जना, सल्यानमा १८ जना र अछाममा १० जना रहेको बताइएको छ।
नेपालमा कोरोना पुष्टि भएका सङ्क्रमितहरु मध्ये आठ जनाको मृत्यु भइसकेको छ भने २६६ जना उपचारपछि निको भई घर फर्किसकेका छन ।
नेपालमा हालसम्म पीसीआर विधिबाट ७५ हजार ३ सय ४३ वटा नमुना स्याम्पल परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । त्यस्तै क्वारेन्टाइन रहनेको संख्या १ लाख ४५ हजार ३ सय ७५ जना रहेको छ । त्यस्तै आईसोलेसनमा रहेका संक्रमितको संख्या १ हजार ८ सय २५ रहेको छ ।
मङ्गलवारसम्मको स्थितिमा नेपालको कुल सङ्क्रमण सङ्ख्या दक्षिण एशियाली मुलुकहरू भूटान, माल्दिभ्स र श्रीलङ्कामा भन्दा धेरै भएको छ।
भूटानामा ४७ जना, श्रीलङ्कामा १,६४३ जना र माल्दिभ्समा १,८२९ जनामा सङ्क्रमण पुष्टि भएको छ।
भारतमा एक लाख ९९ हजारभन्दा बढीमा सङ्क्रमण देखिएको छ भने पाकिस्तानमा ७६ हजार ३ सय ९८ जनामा, बाङ्ग्लादेशमा ४९ हजार ५ सय ३४ जनामा र अफगानिस्तानमा १६ हजार ४ सय ९२ जनामा सङ्क्रमण पुष्टि भएको छ।

