
दाङ, घोराही, २० जेठ / दाङ जिल्लामा मंगलवार थप ८ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ । योसंगै दाङमा संक्रमितको संख्या ५१ पुगेको छ । साथै प्युठान जिल्लामा पनि थप १ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
आज थप संक्रमण भएको पुष्टि हुनेमा बंगलाचुली गाउँपालिका वडा नं. ५ का वडाध्यक्ष सहित ६ जना, राप्ती गाउँपालिकाका २ जना र स्वर्गद्वारी नगरपालिकाका १ जना रहेका छन । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान दाङ घोराहीमा गरिएको नमुना स्वाब परिक्षणमा यी सबैमा कोरोना पुष्टि भएको हो ।
थप कोरोना संक्रमितहरु मध्ये बंगलाचुली गापा वडा नम्बर ५ का १९, २७, ३१, ३२ र ५४ बर्षीय पुरुष रहेका छन । त्यस्तै बंगलाचुली गापा वडा नम्बर ७ का २९ बर्षीय पुरुष पनि संक्रमित भएको प्रतिष्ठानले जनाएको छ । निजहरु सुधा मावी झेल्नेटा र सरस्वती मा.वि. जबरकोटको क्वारेन्टाइनमा रहदै आएका थिए ।
त्यस्तै राप्ती गाउँपालिका वडा नम्बर ९ का ५५ बर्षीय र वडा नम्बर १ का १८ बर्षीय पुरुष कोरोना पोजेटिभ भएको प्रतिष्ठानका कायम मुकायम रजिष्टार कैलासप्रसाद देवले जनाएका छ्न । उनिहरु नव प्रतिभा आ.वि.को क्वारेन्टाइनमा रहदै आएका थिए ।
त्यसैगरी आजै प्रतिष्ठानमा गरिएको स्वाव परिक्षणमा प्युठानका एक ब्यक्तिमा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा स्वर्गद्धारी नगरपालिका वडा नं. ४ का ५९ बर्षीय पुरुष रहेको प्रतिष्ठानले जनाएको छ । उनी अमर क्याम्पस प्युठानको क्वारेन्टाइनमा रहेका थिए ।
दाङमा हालसम्म पुष्टि भएका कोरोना संक्रमितहरु मध्ये १ जना उपचार पछि निको भएर डिस्चार्ज भइ घर फर्किएका छन् ।


