राप्ती आयुर्वेद चिकित्सालयद्वारा क्वारेनटाईनमा बसेका व्यक्तिहरुलाई योगाभ्यासका साथै जडिबुटिजन्य औषधी वितरण

  • ३१ बैशाख २०७७, बुधबार ०७:०९ मा प्रकाशित
  • वसन्त अनुभव

    तुलसीपुर, ३० बैशाख
    दाङ जिल्लाको तुलसीपुरमा अवस्थित राप्ती आयुर्वेद चिकित्सालयले तुलसीपुर उपमहानगरपालिका द्वारा गुरुजजुर मावि रक्षाचौरमा स्थापित क्वारेनटाईनमा बसेका ब्यक्तिहरुलाई योगाभ्यासका साथै जडिबुटीजन्य औषधि वितरण गरेको छ ।

    कोरोनाका कारण हुने मानसिक तनाव व्यवस्थापन गर्न र शरीरमा रोग प्रतिरोध क्षमता अभिवृद्धि गर्ने उद्वेश्यले क्वारेन्टाइनमा बसेका १८ जना ब्यक्तिलाई मंगलबार योगाभ्यास सहित गुडुची लगायत जडिबुटिजन्य औषधि वितरण गरिएको हो ।

    प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, बुटवलद्वारा कोरोना नियन्त्रण तथा रोकथाम सम्बन्धमा जारी निर्देशिका बमोजिम क्वारेन्टाइनमा बसेकालाई योगाभ्यास र जडिबुटीजन्य औषधि वितरण गरिएको राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा. मदनकुमार बिसिले जानकारी दिनुभयो ।

    साथै उहाँले यस किसिमको योग, ध्यानले कोरोना संक्रमण वा संक्रमणको आशंका तथा डरका कारण उत्पन्न हुने मानसिक तनाव कम गर्न सहयोग मिल्ने र जडिबुटीजन्य औषधिले शरीरमा रोग प्रतिरोध क्षमता वृद्धि गर्ने भएकोले कोरोना रोगको रोकथाम तथा नियन्त्रणमा कोशेढुंगा सावित हुने बताउनु भयो ।

    साथै उहाँले विश्वमा कोरोना भाइरसलाई मार्ने औषधि बनिनसकेको अवस्थामा यस किसिमको जडिबुटीजन्य औषधिले पनि कोरोना भाइरसलाई सिधै मार्ने नभई रोग प्रतिरोधात्मक क्षमता बढाउने मात्र भएकोले कोरोनालाई शतप्रतिशत निको पार्छ भनी भ्रममा नपर्न सर्वसाधारणलाई आग्रह गर्नुभयो ।

    तसर्थ जडिबुटीको प्रयोगबाट रोग प्रतिरोधात्मक क्षमता बृद्धि गर्ने, योग, प्राणायाम, ध्यानबाट तनाव व्यवस्थापन गर्ने उद्देश्यले रक्षाचौर क्वारेन्टाइन स्थलमा यस किसिमको कार्यक्रम संञ्चालन गरिएको र अन्य क्वारेन्टाइन स्थलमा पनि कार्यक्रम गर्दै जाने जानकारी उहाँले दिनुभयोे ।

    यसका साथै राप्ती आयुर्बेद चिकित्सालय दोघरेले कोरोना संक्रमणबाट बच्न जनचेतना मुलक पर्चा पम्पलेटहरु वितरण गर्दै आएको पनि उहाँले बताउनु भयो ।

    कार्यक्रममा राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डा मदन कुमार बिसी, कैलाश न्यौपाने, आश्मा केसी, शारदा पोख्रेल, महेश वली लगायतका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

    Leave a Reply