
सिंगापुरबाट शनिबार राति सिल्क एअरको जहाजमा काठमाडौं आएका ९८ यात्रुलाई विमानस्थलबाट सोझै क्वारेन्टाइनमा पठाइने भएको छ। तीमध्ये ९७ नेपाली नागरिक र एक जना विदेशी छन्।
शनिबार राति साढे ८ बजे अवतरण गरेको उक्त जहाजमा एक जना नेपाली यात्रु नेदरल्यान्ड्सबाट सिंगापुर हुँदै आएको फेला परेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निकै बेर अलमल भएको थियो। जहाजमा रहेका यात्रुलाई ओर्लिन दिने कि नदिने भनेर नागरिक उड्डयन प्राधिकरणले मात्र निर्णय गर्न नसकेपछि पर्यटनमन्त्रीको समेत परामर्श लिइयो।
यात्रुहरूलाई काठमाडौं अवतरण गरिएको तीन घन्टापछि राति साढे ११ बजेतिर बल्ल जहाजबाट ओरालिएको छ। उनीहरू सिधै क्वारेन्टाइनमा बस्न जानेछन्। उनीहरूलाई खरिपाटी क्वारेन्टाइनमा लैजान विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा छ।
‘नेपालमै आइसकेका आफ्ना नागरिकलाई विदेश फर्काउन गाह्रो भयो। एक जनाको गल्तीले ९७ जनालाई फर्काउनु उचित नहुने हामी सबैको निष्कर्ष रह्यो,’ प्राधिकरणका महानिर्देशक राजन पोखरेलले भने।
उनका अनुसार, जहाजमा रहेका एक जना विदेशी सरकारले प्रतिबन्ध लगाएको मुलुकका होइनन्।
सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, मलेसिया, इरान, दक्षिण कोरिया र जापानबाट कुनै पनि यात्रु नेपाल आउने नपाउने गरी प्रतिबन्ध लगाएको छ। अन्य मुलुकका यात्रु यी देशलाई ट्रान्जिट बनाएरसमेत आउन पाउने छैनन्। भारत, चीन, थाइल्यान्ड, सिंगापुर र हङकङबाट आउने यात्रुलाई भने प्रतिबन्ध लगाइएको छैन।
सिंगापुरबाट आएको सिल्क एअरको ड्रामा जहाज आकाशमै छँदा सुरू भएको थियो।
उक्त जहाजमा नेदरल्यान्ड्सबाट आइरहेका एक जना यात्रु छ भन्ने थाहा भएपछि अवतरण गर्न दिने कि नदिने दुबिधा भयो। पछिल्लो समय युरोपेली मुलुकहरूमा कोरोना भाइरसको संक्रमण बढ्दो छ। युरोपेली मुलुकहरू सरकारले जारी गरेको प्रतिबन्धित सूचीमा पर्छ।
यही कारणले एअर ट्राफिक कन्ट्रोलले जहाज अवतरण नगराएर ‘डाइभर्ट’ गर्न निर्देशन दिएको थियो। जहाजका पाइलटले ‘तेल भरेर फर्किन्छु’ भनेपछि अवतरण गर्न दिइयो।
यसबीच सिल्क एअरको यही जहाजबाट सिंगापुर जान लागेका १ सय ६७ जना यात्रुलाई घर फर्कायो।
जसै जहाज अवतरण गरी तेल भरेर फर्किन लागेको थियो, यात्रुहरूले विरोध गरे। यही विरोधका कारण धावनमार्ग पुगिसकेको जहाज फेरि फर्काएर ल्याइयो। त्यसपछि पनि सबै यात्रुलाई ओर्लिन दिने कि नदिने भन्नेबारे करिब तीन घन्टा निर्णय हुन सकेन।
आखिरमा प्राधिकरणले सबै यात्रुलाई ओर्लिन दिने र क्वारेन्टाइनमा पठाउने निर्णय गरेको छ। सिल्क एअरको यो जहाज शनिबार काठमाडौंमै बसेर आइतबार मात्र फर्कनेछ।
जहाजमा रहेका एक जना विदेशीलाई यहीँ क्वारेन्टाइनमा राख्ने कि आइतबार फिर्ता पठाउने भन्नेबारे विमानस्थलको अध्यागमनले निर्णय गर्ने स्रोतले बतायो। स्रोतका अनुसार संक्रमित देशको नागरिक भए मात्र उनलाई फिर्ता पठाइनेछ।
शभार :सेतो पाटी

