काठमाडौं । नेपालमा सवारीसाधनको मूल्य निकै महंगो रहेको छ । अन्तर्राष्ट्रिय बजारमा ५ हजार डलर पर्ने कार नेपालमा करिब २० देखि २२ लाखसम्म पर्ने गरेको छ । यसो हुनुमा सरकारले लिने राजस्व मूख्य कारण रहेको छ ।
अहिले सवारीसाधनमा सीसी क्षमताको आधारमा अन्तःशुल्क लाग्छ भने भन्सार शुल्क ७८ प्रतिशत लाग्दै आएको छ । अन्तःशुल्क कम्तीमा ४० देखि १०० प्रतिशतसम्म रहेको छ ।
त्यसको साथै १३ प्रतिशत भ्याट र ८ देखि १० प्रतिशतसम्म सडक दस्तुर सुरुमै गाडी किन्दा तिर्नु पर्ने नियमले नेपालमा सबै किसिमका सवारीसाधन महंगा भएका हुन् ।
यस्तोमा पछिल्लो समय नेपाल राष्ट्र बैंकले मासिक कमाइको ५० प्रतिशतभन्दा ज्यादा हुनेगरि सवारीसाधनमा कर्जा दिन निषेध गरेकाले गाडीको बिक्रीमा उच्च गिरावट आएको छ ।
अहिले बैंक तथा वित्तिय संस्थाले बढीमा ७ वर्षसम्मको लागि कर्जा प्रबाह गरिरहेका छन् । सुरुवातमा ५० प्रतिशत डाउन पेमेन्ट तिरेर बाँकी रहेको रकमलाई अहिले चलेको ११ प्रतिशत व्याजदरले हिसावगर्दा करिब १९ हजार मासिक किस्ता तिरेर किन्न सकिने सवारीसाधनको बारेमा जानकारी दिने उदेश्यले यो रिपोर्ट तयार गरेका हौं ।
हुन्डाई सेन्ट्रो इरा
हुन्डाईले एक वर्ष अगाडि नेपाल ल्याएको सेन्ट्रोको इरा मोडलको मूल्य २२ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । कम्पनीले दिने विभिन्न अफरहरु हिसाव गर्दा यसलाई २२ लाख रुपैयाँ भित्रै किन्न सकिन्छ ।
यदि यो गाडीको मूल्य २२ लाख ९६ हजारमा नै हिसाव गर्ने हो भने सुरुमा डाउन पेमेन्टको रुपमा ११ लाख ४८ हजार रुपैयाँ तिर्नु पर्ने हुन्छ । त्यति नै बराबरको रकमलाई ७ वर्षको अवधिमा तिर्नेगरी ऋण लिदाँ मासिक किस्ता वापत १९ हजार ६५६ रुपैयाँ तिर्दा पुग्छ ।
रेनो क्विड
फ्रान्सेली गाडी उत्पादक कम्पनी रेनोको इन्ट्री लेवल कार क्विडको ३ भेरियन्टको मूल्य २३ लाखभन्दा कम रहेका छन् । नेपाली बजारमा एड्भान्स अटोमोबाइलले बिक्री वितरण गर्दै आएको क्विडको सुरुवाति मूल्य २१ लाख ९६ हजारदेखि २२ लाख ७३ हजारसम्ममा तीन भेरियन्ट ग्राहकले किन्न सक्ने छन् ।
यी गाडीको मासिक किस्ता १९ हजार तिरेर ग्राहकले किन्न सक्ने छन् ।
रेडी गो
डाट्सनको कार कम मूल्यको कारण नेपालमा चर्चामा रहने गरेको कार हो । कम्पनीले १.० लिटर क्षमताको इन्जिन भएको रेडी गो २१ लाख ९९ हजारमा बिक्री वितरण गर्दै आएको छ ।
यो गाडी किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्टगर्दा करिब ११ लाख रुपैयाँ बुझाउनु पर्नेछ भने ११ लाख रुपैयाँ कर्जा लिनु पर्नेछ । यो गाडी किन्ने ग्राहकले १९ हजार हाराहारी पर्नेछ ।
मारुती सुजुकी अल्टो
मारुती सुजुकीको चर्चित अल्टो किन्न चाहनेले १८ लाख ९९ हजारदेखि २२ लाख ९९ हजारसम्म मूल्य तिरेर किन्न सक्ने छन् । यी तिनवटै भेरियन्ट मध्य कुनै एक मोडल किन्दा ग्राहकले १७ देखि १९ हजारसम्म मासिक किस्ता तिर्ने गरेर खरिद गर्न सक्ने छन् ।