• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: सुरेशकुमार पाण्डे

युवराज भण्डारीको ‘आफन्त र आँसु’सँग साक्षात्कार गर्दा

  • ३१ श्रावण २०८३, आईतवार १३:४५ मा प्रकाशित
  • पाठकीय दृष्टिकोण

    सुरेशकुमार पाण्डे

    आजभन्दा करिब ३५ वर्ष पहिले २०४८ माघ १० गते पिता भिउसीन भण्डारी र माता ठइकुमारी भण्डारीको कोखबाट नौबहिनी गाउँपालिका- ८, प्युठानमा जन्मिएका युवराज भण्डारी एक सक्रिय साहित्यकार हुन् । यस अघि नै २ वटा एकल कृति प्रकाशित गर्न सफल भण्डारीको ‘आफन्त र आँसु’ उपन्यास तेस्रो कृति बन्नपुगेको छ ।
    प्रस्तुत उपन्यास ‘आफन्त र आँसु’मा कभर पृष्ठबाहेक कुल ९६ पृष्ठ रहेका छन् भने जसमध्ये केवल ८६ पृष्ठभित्र उपन्यासको कथा बुनिएको छ ।

    फ्रन्ट कभर पेजमा शीर्षक, बिचमा तीन जना महिला भिन्दाभिन्दै मुद्रामा र एउटा पुरुषको तस्बिर रहेको छ । सबैभन्दा तल लेखकको नाम आकर्षक ढङ्गले लेखिएको छ भने ब्याक कभर पेजमा लेखकको परिचय साथै उपन्यासभित्रको सटिक गहन शब्दहरू र फ्रन्ट कभर फोटो रहेको छ ।
    ‘आफन्त र आँसु’ मानसिक शान्ति र आत्मबलका लागि जीवन दर्शनसम्बद्ध विषयवस्तुमा लेखिएको एक सशक्त, कारुणिक उपन्यास हो । व्यक्तिलाई जीवनको दर्शनसँग एकाकार गराउनु नै उपन्यासको सार हो ।

    यस कृतिको लोकार्पण वि.स. २०८३/०४/२४ गते लुम्बिनी प्रदेशको राजधानी अवस्थित दाङ जिल्लाको राप्ती गा.पा.मा अवस्थित भृकुटी महिला विकास वचत तथा ऋण सहकारी संस्थाको हलमा भएको थियोे । भृकुटी महिला विकास सहकारी संस्था आयोजनक र देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च प्रायोजक रहेको थियो।

    यस पुस्तकभित्र प्रवेश गर्नुपूर्व यसको लोकार्पणको परिवेशलाई थोरै भए पनि उल्लेख गर्न चाहान्छु । यो भृकुटी महिला विकास बचत तथा ऋण सहकारी संस्थाले जसरी यस उपन्यासकै माध्यमबाट साहित्यिक यात्रामा पाइला टेकेको छ । यो अत्यन्तै सान्दर्भिक लाग्यो । सयौँको सङ्ख्यामा महिलाहरूको उपस्थिति, महिलाद्वारा नै कार्यक्रम उद्घोषण, सभाध्यक्ष र समीक्षक लगायत प्रमुख अथिति पनि महिला नै हुनुले कार्यक्रमको ओझ बढाएको । यसले के देखाएको छ भने महिला पुरुषको तुलनामा कत्ति पनि कम छैनन् । पुरुषप्रधान समाजले महिलामाथि गरेका अन्याय, अत्याचारको विरुद्धमा महिलाहरू जुर्मुराउँदै छन् ।

    यद्यपि यस कृति समीक्षा तीन जनाले गरेका थिए । जेहोस् कार्यक्रम राम्रो भयो । महिलाहरू भित्रभित्रै कुण्ठित भएको बेला, देश विदेशमा महिलाहरूले नारकीय जीवन व्यतित गरिरहेकोबेला, तीज पर्वको संघारमा यो कृति आएको छ । जसले महिलाहरूलाई नयाँ सोचले नयाँ ढङ्गले उर्जा थप्ने काम गरेको छ ।

    पुस्तक महिलाद्वारा सुनाएको वियोगान्त कथावस्तुमा आधारित छ । त्यसैले यो महिलाको लागि उपयोगी हुनसक्छ भन्ने अनुमान गरिए पनि यो पुस्तक महिला र पुरुष दुवैको लागि उत्तिकै उपयोगी भएको मेरो ठम्याई छ ।

    परिवारभित्र कसरी मानसिक रोग पैदा हुन्छ र डिभोर्स सम्मको अवस्था सृजना हुन्छ र अझै झ्यागिँदै जान्छ । न कसले यो रोगलाई रोक्नका लागि कुनै उपाय नै अवलम्बन गरेका हुन्छन् । यस्तै विषयवस्तु आधारित यो उपन्यासले कतै ज्ञान दिएको छ त कतै पीडाले हृदय छोएको छ, भावुक गराएको छ ।

    यसमा लेखक आफू पुरुष भए पनि महिलाभित्र पसेर उनीहरूभित्रको पीडा, उनीहरूको मर्मलाई समाजमा डोराउन सफल देखिन्छन् । त्यतिमात्र होइन समाजलाई सचेत बन्न नवीनतम् सन्देशसँगै झकझकाएका छन् ।

    यसमा म पात्र, जसले आफैँ प्रेमको मूल्य चिन्न नसकेको पछुतो मानी आफ्नै प्रेमिकाको कथा लेख्न हिँडेका छन् । उनी हिँड्दा हिँड्दै सुदुरपश्चिमको एउटा चिया बगानमा पुग्छन् । त्यहाँ उनले चिया बगानमा काम गर्दै गरेका केही महिलाहरूको बिचमा एउटी यस्ती पात्र भेटाउँंछन् जसले उनलाई उसको बारेमा बुझ्नलायक बनाइदिन्छ ।

    यहीँबाट सुरु हुन्छ उपन्यासको कथा उनी सुनाउँदै जान्छिन् आफ्नै बारेमा । लेखकले यहा अर्कै महिला पात्र खडा गरेर समाजमा महिलाको वर्तमान अवस्थामा दर्शाउछन् । उनीहरू निर्दोष हुँदाहुँदै पनि कसरी दोषी ठहर हुन्छन् ?
    पुरानो पुस्ता र नया पुस्ताको बिचमा भएको वास्तविक समस्या एकले अर्काको मर्म बुझ्न नसक्दा जन्मिएको झिनामसिना रोगहरू भित्रभित्रै गुम्सिदा भयानक बन्न पुग्छन् । जब त्यो रोग मात्रात्मक अवस्थाबाट गुणमा प्रवेश गर्छ, त्यसलै आफ्नै घनिष्ठ मानिनेहरू द्वारा नै त्यो फैलिन्छ । हाँस्दो खेल्दो सुन्दर परिवारमा दरार पैदा हुनसक्छ ।

    यसलाई लेखकले अत्यन्तै सतहमा पुगेर गहन विचारद्वारा समाजलाई सन्देश दिने प्रयास भएको छ । एउटी सानी छोरी जब बाआमा छुट्टिन थालेका हुन्छन्, त्यतिबेला बच्चामा के बित्छ ?आमाको काखबाट चिच्याएर छोरीले ‘बाबा भोक लाग्यो’ भन्छे । त्यो शब्दले धेरैका आँखामा आँसु र मन मष्तिकलाई झकझकाइदिन्छ।

    त्यो बेला सामान्य जस्तो लाग्छ किनकि त्यो अबोध बालिकालाई के थाहा के भइरहेको छ ? तर त्यो पछि ठूली भएपछि उसले पनि यसबारेमा बुझ्ने छे । न बाको दोष, न आमाको, न छोरीको तर छोरीलाई बा आमाको स्नेहको आवश्याकता नभइनहुने अवस्थामा उनिहरू छुट्टिएका छन् । त्यो बालिकालाई उसको अधिकारबाट वञ्चित गरेका छन् । यस्तो दु:खको घडीमा पनि आफन्तिहरू उनीहरूलाई छुट्टाउन लागिपरेका हुन्छन् । कहिले सम्पत्तिकोलागि लडेका हुन्छन् । यस्तो घडीमा म पात्र चुप लाग्न सक्दैनन्, उनले आफूलाई केही पनि चाहिँदैन भनेर एउटा सकारत्मक सन्देश दिएकी छन् । आजको यो पुँजीवादी समाजमा उनले धन सम्पत्तीभन्दा परिवारको संझना बोकेर जान्छिन् ।
    यहाँ अत्यन्तै मार्मिक क्षण पैदा भएको छ तर आफन्तिहरू लाखपाखा लागिसकेका छन् । एउटी चेली घरबाट माइत फर्किदा पनि उनीहरू खुसी छैनन् । जसरी भए पनि उसलाई कतै बिहे गराइदिने प्रयासमा हुन्छन् ।
    वास्तवमा माइत पनि बाआमा छँदासम्म पनि हुँदैन बरु बाआमाले घरको नेतृत्व समाल्दासम्म छोरी माइतमा बस्नसक्ने वातावरण हुनसक्छ तर त्यसपछि बाबा आमापनि आँसु बगाउने सिवाय केही गर्न सक्दैनन् । लाचार र असहाय हुनेरहेछन् भन्ने उनीहरूको व्यवहारले प्रष्ट पारेको छ ।

    सासू, ससुरा, स्वामी, नन्द, आमाजू, दाइभाइ, बुहारी, भाउजू लगायतका सहायक पात्रहरू छन् र दुवैजनाकी एउटी छोरी पनि छन् । मुख्य पात्र महिला, उनको श्रीमान, सासू आमा र स्वयम् लेखक नै हुन् । लेखकले आफ्नो लेखकीयमा पुस्तकको बारेमा आफैँले प्रष्ट पारेका छन् ।

    उपन्यास राम्रो र सन्देशमुलक छ ।पठनीय र सङ्ग्रहणीय पनि छ । अन्तिममा लेखकले पछि सवालजवाफमा केही झिनामसिना त्रुटी पनि गरेका छन् । कति महिलाले बोल्दा उनी र उसले भनेका शब्दहरू पनि भेटिन्छन् । सवालजवाफ गर्दा लेखकद्वारा कथालाई अलिक लम्बाउने प्रयास गरेको जस्तो देखिन्छ। तर पनि उपन्यास अत्यन्तै राम्रो, पठनीय छ ।सामान्य टेक्निकल कमिकमजोरीका बावजुद पुस्तक पारिवारसँगै बसेर अध्ययन गर्न सकिने रहेको छ ।

    २०८३/०४/२६

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged युवराज भण्डारी, वसन्त अनुभव, समीक्षा, सुरेशकुमार पाण्डे

    झिल्का कवितासङ्ग्रह ‘आँगन’को समीक्षा कार्यक्रम सम्पन्न

  • २९ श्रावण २०८३, शुक्रबार २३:४३ मा प्रकाशित
  • झिल्काकार सुरेशकुमार पाण्डेको झिल्का कवितासङ्ग्रह ‘आँगन’को शुक्रवार समीक्षा कार्यक्रम सम्पन्न भएको छ । राप्ती साहित्य परिषद् दाङ शाखाको नियमित कृति समीक्षा कार्यक्रमको २०० औँ शृङ्खला अन्तर्गत आयोजित कार्यक्रममा कार्यक्रममा कृतिका सम्पादकसमेत रहनुभएका साहित्यकार एवम् झिल्का साहित्य समाज नेपालका अध्यक्ष वसन्त अनुभवले उक्त झिल्का काव्यकृतिको समीक्षा गर्नुभएको थियो ।
    समीक्षाको क्रममा समीक्षक वसन्त अनुभवले आँगन एउटा पुस्तक मात्र नभएर सामाजिक, राजनैतिक, सांस्कृतिक चेतना ल्याउने महत्वपूर्ण दस्तावेज हो भन्नुभयो । आँगनले देशमा विद्यमान सामाजिक, राजनीतिक एवम् सांस्कृतिक कुरुपता मात्र नदर्शाई सुधारका लागि आह्वान पनि गरेको उहाँले बताउनुभयो ।

    कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले शुभकामना मन्तव्य दिनुहुँदै झिल्काकार पाण्डे बहुमुखी प्रतिभाको धनी भएको उल्लेख गर्नुभयो । पाण्डेका हरेक सृजना अत्यन्त गहन र मर्मस्पर्शी हुने गरेको बताउनुभयो । पाण्डेको अन्य कृतिहरूमा झैँ यस कृतिमा पनि वर्गसंघर्ष, विद्रोह र सामाजिक, राजनैतिक द्वन्द्व, चेतनाका कुरा रहेकोे उल्लेख गर्नुभयो ।

    एउटा हिन्दी भाषाको सहित ३ वटा लघुकथासङ्ग्रह, २ वटा गजल सङ्ग्रह र एउटा झिल्का कवितासङ्ग्रह प्रकाशन गराइसक्नुभएका पाण्डेका थुप्रै संयुक्त सङ्ग्रहहरू प्रकाशित छन् । ‘आँगन’ उहाँको छैटौँ एकल कृति हो ।

    कार्यक्रममा विशिष्ट अतिथि पुरुषोत्तम खनालले शुभकामना मन्तव्य राख्नुका साथै कृतिकार सुरेशकुमार पाण्डेले कृतिका बारेमा बोल्नुभएको थियोे । साथै परिवारका तर्फबाट धन्यवाद मन्तव्य साहित्यकार हरिप्रसाद पाण्डेले दिनुभएको थियोे ।

    कार्यक्रममा पदम प्रसाद शर्मा, डा.टिकाराम उदासी, दीपक शर्मा समीर, सविन प्रियासन, नरेशजङ्ग राणा लगायत ३ दर्जन बढी साहित्यकारहरू एवम् सर्जकका पारिवारिक सदस्यहरूको उपस्थिति रहेको थियोे ।

    परिषद्का अध्यक्ष यम रेग्मीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन सचिव घनश्याम के.सी. गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged झिल्का कविता, यम रेग्मी, राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    लुम्बिनी वाङ्मय प्रतिष्ठानको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन सम्पन्न, पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन

  • ९ श्रावण २०८३, शनिबार २०:३३ मा प्रकाशित
  • लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन शनिवार देउखुरी दाङको रातोडाँडामा सम्पन्न भएको छ। देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको सभा हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथिमा देउखुरी बहुमुखी क्याम्पसका उपप्राध्यापक तथा साहित्यकार हरेकृष्ण ज्ञवाली हुनुहुन्थ्यो।


    संस्थाकी उपाध्यक्ष राधा गौतमको स्वागत मन्तव्यसँगै सुरु भएको कार्यक्रम प्रमुख अतिथि ज्ञवालीले लुम्बिनी वाङ्मय प्रतिष्ठानको अतीत कोट्याउँदै लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठानको स्थापना गर्ने उद्देश्यले स्थापना हुन पुगेको संस्थाले सो उद्देश्य पूरा नहुने देखिएपछि लुम्बिनी वाङ्मय प्रतिष्ठानको रूपमा दर्ता हुन पुगेको उल्लेख गर्नुभयो।
    राज्यले साहित्य कला क्षेत्रको उपेक्षा गरेको बताउनुहुँदै उहाँले साहित्यकारहरूले कानुनको दफा दफा केलाएर तहाँ कला साहित्यका सन्दर्भमा उल्लेख भएका कुराहरूको अध्ययन गरेर आफ्नो अधिकार सुनिस्चित गर्न सामुहिक रूपमा डटेर लाग्नुपर्ने पनि बताउनुभयो।


    कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजाद, केन्द्रिय उपाध्यक्ष तिलक लामिछाने, झिल्का साहित्य समाज, नेपालका अध्यक्ष वसन्त अनुभव, राप्ती साहित्य परिषद दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डे सम्मानित व्यक्तित्व सन्ध्या रेग्मी लगायतका महानुभावहरूले शुभकामना मन्तव्य दिनुभएको थियोे।
    उक्त अवसरमा लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय कोषाध्यक्ष एवम् लघुकथाकार लक्ष्मण ज्ञवाली, वरिष्ठ साहित्यकार एवम् लघुकथाकार खगेन्द्र बस्याल, साहित्यकार एवम् शिक्षक जगतराम यादव, राप्ती साहित्य परिषद दाङ शाखा सहसचिव वीणा रोका, रिमा गौतम, देवेन्द्र रिजाल, कपिल किशोर घिमिरे, युवराज भण्डारी, एक्लो क्षितिज, आर एल संगीता, शेषमणि घिमिरे, सूर्यराज गौतम, हृदय लेकाली लगायतका साहित्यकारज्यूहरूले आ-आफ्नो रचना वाचन/गायन गर्नुभएको थियोे।


    कार्यक्रममा तिलक लामिछाने, दामोदर भण्डारी, छवि ज्ञवाली, लोकराज पोख्रेल, दिपा खत्री, वालमुकुन्द शर्मा आचार्य, रेशम बि.सी., सुभाष पाण्डे, गिरिराज खनाल, शनिराम चौधरी, विश्व प्रकाश अधिकारी, धर्मराज शर्मा, केशव शर्मा लगायत ३ दर्जन बढी अतिथि एवम् साहित्यानुरागीहरूको उपस्थिति रहेको थियोे।
    कार्यक्रममा लुम्बिनी वाङ्मय प्रतिष्ठान, दाङ कार्यसमिति सचिवको संगठनात्मक प्रगति प्रतिवेदन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन संस्थाका अध्यक्ष श्री नीम बहादुर थापाले प्रस्तुत गर्नुभएको थियोे। साथै उक्त कार्यक्रममा साहित्यकार/पत्रकार सन्ध्या रेग्मीलाई राप्ती रत्न सम्मानद्वारा सम्मान गरिएको थियो।


    अपरान्ह सवा १२ बजेदेखि सुरु भएको कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका दाङ जिल्ला अध्यक्ष निम बहादुर थापाले गर्नुभएको थियोे भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव केशव दिपक शर्माले गर्नुभएको थियोे।

    नयाँ कार्यसमिति गठन तथा सपथग्रहण

    साधारण सभापश्चात चलेको अधिवेशनले साहित्यकार सुरेशकुमार पाण्डेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति गठन गरेको थियो।

    जसको उपाध्यक्षमा राधा गौतम, सचिवमा वसन्त अनुभव, सहसचिवमा रिमा गौतम, कोषाध्यक्षमा कपिल किशोर घिमिरे र सदस्यहरूमा वीणा रोका, विश्व प्रकाश अधिकारी, नारायण योगी, केशव दिपक शर्मा, शनिराम चौधरी र संगीता बि.क. रहनुभएको छ। नवगठित कार्यसमितिलाई लुम्बिनी वाङ्मय प्रतिष्ठानका केन्द्रिय अध्यक्ष ऋषि आजादले शपथग्रहण गराउनु भएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लुम्बिनी वाङ्मय प्रतिष्ठान दाङ, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृति विमोचन तथा समीक्षा सम्पन्न

  • १ असार २०८३, सोमबार ०५:३६ मा प्रकाशित
  • घाेराही, जेठ ३१। साहित्यकार माधवप्रसाद न्यौपानेद्वारा लिखित ‘मनका उद्गार’ कृतिको विमोचन तथा समीक्षा कार्यक्रम आइतबार नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार एवं पत्रकार नारायणप्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया र प्रा. डा. लेखनाथ आचार्य विशिष्ट अतिथिका रूपमा सहभागी रहेका थिए।

    कार्यक्रममा प्रमुख अतिथि नारायणप्रसाद शर्मा, विशिष्ट अतिथिहरू तथा अन्य अतिथिहरूले संयुक्त रूपमा कृतिको विमोचन गरेका थिए। कार्यक्रमको प्रमुख आकर्षणका रूपमा रहेको कृतिको समीक्षा साहित्यकार पदमप्रसाद शर्माले प्रस्तुत गरेका थिए।

    कृतिको समीक्षा गर्दै साहित्यकार पदमप्रसाद शर्माले ‘मनका उद्गार’ केवल एउटा पुस्तक मात्र नभई लेखकको जीवनभोगाइ, पारिवारिक इतिहास, वंशपरम्परा, सामाजिक अनुभव र भावनात्मक अभिव्यक्तिको दस्तावेज भएको बताए। उनले पुस्तकको शीर्षकदेखि संरचना, आवरण र विषयवस्तुसम्मले पाठकलाई आकर्षित गर्ने उल्लेख गर्दै यस कृतिले लेखकको मनभित्रका अनुभूति, स्मृति र जीवनदर्शनलाई शब्दमार्फत अभिव्यक्त गरेको धारणा राखे।

    उनले कृति दुई खण्डमा विभाजित रहेको जानकारी दिँदै पहिलो खण्डमा धौलु वंशको इतिहास, पिता बलभद्र उपाध्यायको जीवनी, मावली पक्षको परिचय तथा वंशवृक्षसम्बन्धी सामग्री समेटिएको बताए। दोस्रो खण्डमा समावेश २५ वटा कविताले पारिवारिक मूल्य, मातृभूमिप्रेम, प्रकृतिप्रेम, शिक्षा, राष्ट्रियता, स्वाभिमान, सामाजिक उत्तरदायित्व तथा मानवीय संवेदनाका विविध पक्ष उजागर गरेको उनको भनाइ थियो।

    समीक्षक शर्माले लेखक माधवप्रसाद न्यौपानेलाई कर्मशील, निष्ठावान, साहसी र समाजप्रति उत्तरदायी व्यक्तित्वका रूपमा चित्रण गर्दै शिक्षण, सामाजिक आन्दोलन तथा राजनीतिक चेतनाको क्षेत्रमा उनले पुर्‍याएको योगदानको समेत चर्चा गरे। उनले पुस्तकलाई लेखकको मात्र नभई समग्र परिवार, आफन्तजन तथा लेखकलाई चिन्ने सबै व्यक्तिहरूको साझा अनुभूति र भावनाको अभिलेखका रूपमा व्याख्या गरे।

    कार्यक्रममा आफ्नो धारणा राख्दै कृतिकार माधवप्रसाद न्यौपानेले पुस्तक प्रकाशनमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग, प्रेरणा र हौसला प्रदान गर्ने सबैप्रति हार्दिक आभार व्यक्त गरे। उनले आफ्ना दिवंगत पिता–माताप्रतिको श्रद्धा, सम्मान र भावनात्मक सम्बन्ध नै पुस्तक लेखनको मुख्य प्रेरणा बनेको बताए।

    उनले साहित्य, भाषा र संस्कृतिको महत्वबारे चर्चा गर्दै शिक्षा, ज्ञान, अध्ययन, चिन्तन र विश्लेषणबाट मात्रै व्यक्तिको बौद्धिक तथा नैतिक विकास सम्भव हुने धारणा व्यक्त गरे। आफ्नो जीवनका अनुभव, पारिवारिक इतिहास, सामाजिक गतिविधि तथा मनका भावनालाई समेटेर कृति तयार गरिएको उल्लेख गर्दै पुस्तकलाई आफ्ना पिता–माताप्रति समर्पित गरेको बताए।

    प्रमुख अतिथि वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले पूर्वीय सभ्यताको मूल आधार नै पुर्खा, परिवार र संस्कृतिप्रतिको सम्मान भएको उल्लेख गर्दै ‘मनका उद्गार’ ले त्यसै मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। उनले भौतिक विकाससँगै मानवीय मूल्य, नैतिकता र पारिवारिक सम्बन्धलाई जोगाउनुपर्ने आवश्यकता औँल्याउँदै यस्ता कृतिहरूले समाजलाई सकारात्मक दिशातर्फ डोर्‍याउने विश्वास व्यक्त गरे।

    उनले माधवप्रसाद न्यौपानेले आफ्नो परिवार, समाज, शिक्षण पेशा, सामाजिक योगदान र जीवनका विविध पक्षलाई समेटेर नयाँ पुस्तालाई प्रेरणा दिने काम गरेको बताए। परम्परागत मूल्य र आधुनिक सोचको सन्तुलन कायम गर्दै उन्नत समाज निर्माणमा साहित्यको महत्वपूर्ण भूमिका रहने उनको भनाइ थियो।

    कार्यक्रमका सभाध्यक्ष तथा राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीले परिषद्ले नियमित रूपमा एकल रचना वाचन, कृति विमोचन, पुस्तक समीक्षा, छन्द संरक्षण तथा विभिन्न साहित्यिक कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिए। साहित्यिक सृजनालाई प्रोत्साहन गर्ने, नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने तथा साहित्यिक वातावरण सुदृढ बनाउने उद्देश्यका साथ परिषद् निरन्तर सक्रिय रहेको उनले बताए।

    कार्यक्रममा बाेल्दै अन्य वक्ताहरूले ‘मनका उद्गार’ कृतिले परिवार, पुर्खा, संस्कार, शिक्षा र सामाजिक मूल्यलाई जीवन्त रूपमा प्रस्तुत गरेको बताए। कृतिले लेखक माधवप्रसाद न्यौपानेका जीवनअनुभव र भावनालाई समेट्दै नयाँ पुस्तालाई सकारात्मक सन्देश दिएको उल्लेख गर्दै वक्ताहरूले लेखकलाई बधाई तथा आगामी साहित्यिक यात्राको सफलताको शुभकामना व्यक्त गरेका थिए।

    कार्यक्रममा साहित्यकार, पत्रकार, शिक्षक, समाजसेवी, लेखकका आफन्तजन तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। 

    राप्ती साहित्य परिषद् दाङ शाखाका उपाध्यक्ष सुरेश कुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन परिषद्की कोषाध्यक्ष सुशीला आचार्यले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    ‘भावनाका लहर’ मुक्तक सङ्ग्रहको विमोचन

  • १० जेष्ठ २०८३, आईतवार १९:५३ मा प्रकाशित
  • जेठ १० दाङ
    दाङको घोराहीमा एक विशेष साहित्यिक समारोहका बीच साहित्यकार शरद गौतमद्वारा रचित मुक्तक सङ्ग्रह ‘भावनाका लहर’को भव्य रूपमा विमोचन गरिएको छ। राप्ती साहित्य परिषद्, जिल्ला शाखा दाङको आयोजनामा पत्रकार महासङ्घ दाङको सभाहलमा उक्त विमोचन समारोह सम्पन्न भएको हो।
    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैया प्रमुख अतिथिका रूपमा रहनुभएको थियो। कार्यक्रममा विशिष्ट अतिथिका रूपमा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल उपस्थित हुनुहुन्थ्यो।

    विमोचित कृति ‘भावनाका लहर’ माथि टिप्पणी गर्दै प्रमुख समीक्षक डा. हिमलाल पन्थीले सङ्ग्रहभित्रका मुक्तकहरूले समसामयिक समाजको यथार्थ ऐना प्रस्तुत गरेको बताउनुभयो। समीक्षक डा. पन्थीले भन्नुभयो,
    “यी मुक्तकहरूमा सामाजिक विकृति र विसङ्गतिमाथि कडा प्रहार गरिएको छ। वर्तमान समयमा पारिवारिक विखण्डन र आध्यात्मिक चेतनाको कमीका कारण मानिसहरू कसरी मानसिक तनाव अवस्थासम्म पुगिरहेका छन् भन्ने कुरालाई यस कृतिले बडो मार्मिक ढङ्गबाट उजागर गरेको छ। लेखकले जीवनका आफ्ना भोगाइ र अनुभूतिहरूलाई सरल तर गम्भीर रूपमा समेट्नुभएको छ।”

    कार्यक्रममा उपस्थित विभिन्न क्षेत्रका व्यक्तित्वहरूले कृतिको सफलता र स्रष्टाको साहित्यिक यात्राको निरन्तरताका लागि शुभकामना व्यक्त गर्नुभएको थियो । पत्रकारहरूको तर्फबाट राप्ती पोष्ट राष्ट्रिय दैनिकका प्रधान सम्पादक शरद अधिकारीले
    साहित्यकारहरूको तर्फबाट लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपानेले बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो। त्यस्तै अन्य अतिथिहरू राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पदमप्रसाद शर्मा तथा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका प्रमुख डा. टीकाराम उदासीले कृतिको साहित्यिक मूल्य र समाजमा यसले दिने सकारात्मक सन्देशबारे चर्चा गर्नुभयो।
    संस्थाको तर्फबाटराप्ती साहित्य परिषद्का उपाध्यक्ष सुरेश कुमार पाण्डेले पनि स्वागत तथा शुभकामना मन्तव्य राख्नुभएको थियो।
    कार्यक्रमको समापन गर्दै अध्यक्ष यम रेग्मीले दाङको साहित्यिक श्रीवृद्धिमा शरद गौतमको यो कृतिले महत्त्वपूर्ण इँटा थपेको उल्लेख गर्नुभयो। कार्यक्रममा परिवारका तर्फबाट उमङ्ग अधिकारीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन संस्थाका सचिव घनश्याम केसीले गर्नुभएको थियो।
    उक्त विमोचन समारोहमा उल्लेख्य सङ्ख्यामा पत्रकार, साहित्यकार, साहित्य अनुरागी, शिक्षाप्रेमी, समाजसेवी तथा मानवअधिकारकर्मी लगायतको गरिमामय उपस्थिति रहेको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    साहित्यकार अधिकारीको ‘रचना कुसुम’ विमोचन

  • २७ बैशाख २०८३, आईतवार ११:२० मा प्रकाशित
  • ​घोराही, दाङ
    राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
    ​घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो।
    ​विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ‘रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ। पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डोर्‍याउने सामर्थ्य राख्दछ। भाषाको शुद्धता र भावको गहिराइले गर्दा यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ।”

    ​कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गर्नुभएको थियो। वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताउनुभयो।
    ​लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।
    ​राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद्, सुरेशकुमार पाण्डे

    कवि घनश्याम अस्तित्वको कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा सम्पन्न

  • २६ बैशाख २०८३, शनिबार ०८:५९ मा प्रकाशित
  • ​दाङ, २५ बैशाख ।
    राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि घनश्याम अस्तित्वको नवीनतम् कविता सङ्ग्रह ‘चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा कार्यक्रम सम्पन्न भएको छ। परिषद्को नियमित १९९ औँ शृङ्खला अन्तर्गत पत्रकार महासङ्घ दाङको सभाहलमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका साहित्यकार, पत्रकार तथा साहित्यानुरागीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
    ​राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल प्रमुख अतिथि रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा नेपाल संस्कृत विश्वविद्यालय, संस्कृति विभागका निर्देशक डा. टीकाराम उदासी रहनुभएको थियो ।

    ​समीक्षाका क्रममा समीक्षकद्वय यज्ञबहादुर डाँगी प्रमोद धितालले वि.सं. २०८० मा प्रकाशित यस सङ्ग्रहभित्रका ६६ वटा कविताहरूमाथि गम्भीर चिरफार गर्नुभयो। उहाँहरूले अस्तित्वका कविताहरू वैचारिक र कलात्मक दुवै दृष्टिले अब्बल रहेको बताउनुभयो। समीक्षकहरूका अनुसार सङ्ग्रहले वर्तमान समयको स्वार्थी प्रवृत्ति र सामाजिक विसङ्गतिमाथि कडा प्रहार गर्दै भुइँमान्छेका आवाजलाई सशक्त ढङ्गले मुखरित गरेको छ। सरल भाषाशैली, मार्मिक बिम्ब विधान र नवीन शिल्पका कारण ६६ वटै कविताहरूले पाठकलाई गम्भीर आत्मचिन्तन गराउन सफल भएको टिप्पणी उहाँहरूले गर्नुभयो।
    ​कार्यक्रममा शुभकामना मन्तव्य राख्दै मुख्य अतिथि पुरुषोत्तम खनाल, विशिष्ट अतिथि डा. टीकाराम उदासी र विभिन्न साहित्यिक संस्थाहरूको तर्फबाट राप्ती साहित्य परिषद्का सल्लाहकार एवं केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’ ले नेपाली साहित्यको श्रीवृद्धिमा यस कृतिले महत्वपूर्ण इँटा थपेको चर्चा गर्नुभयो। वक्ताहरूले कविको लेखनमा रहेको इमानदारिता र समाजप्रतिको जिम्मेवारीबोधको प्रशंसा गर्नुभएको थियो।

    उपाध्यक्ष सुरेश कुमार पाण्डेले स्वागत मन्तव्यद्वारा सहभागीहरूलाई स्वागत गर्नुभएको थियो।
    ​परिषद्का सचिव घनश्याम केसीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको समापन गर्दै अध्यक्ष रेग्मीले यस्ता समीक्षात्मक बहसले सर्जकलाई थप निखारिन र नेपाली साहित्य परम्परालाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो।

    Posted in ताजा अपडेट, मुख्य खबर, समाज, साहित्यTagged यम रेग्मी, राप्ती साहित्य परिषद, सुरेशकुमार पाण्डे

    लघुकथाकार पाण्डेकृत लघुकथासङ्ग्रह ‘आवाज’को परिचर्चा कार्यक्रम सम्पन्न

  • ३० चैत्र २०८२, सोमबार २३:१८ मा प्रकाशित
  • लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को आइतबार परिचर्चा कार्यक्रम सम्पन्न भएको थियो । स्रष्टा साँझ अमेरिकाको आयोजनामा नेपाली समयानुसार यही चैत २९ गते आइतवार अपरान्ह सवा ६ बजे जुम प्रविधिमार्फत् भएको उक्त कार्यक्रममा परिचर्चाकारहरू सत्या अधिकारी, डा. कुसुमाकर शर्मा गौतम, दीपक लोहनी र खेमराज पोखरेलले कृतिमाथि परिचर्चा गर्नुभएको थियो ।

    परिचर्चाकार सत्या अधिकारीले कृतिभित्रबाट समीक्षा शीर्षकको लघुकथा वाचन गर्नुकासाथै वाचित लघुकथाको टिप्पणी गर्नुभयो । उहाँले शैक्षिक बेथितिमाथि बुलन्द आवाज उठाएको, समस्या देखाउने तर समाधान नखोज्ने मानवीयप्रति कटाक्ष गरेको टिप्पणी गर्नुभयो ।
    कृतिका भूमिका लेखक र कार्यक्रमका परिचर्चाकार डा. कुसुमाकर शर्मा गौतमले आवाज लघुकथासङ्ग्रह कालखण्ड दोषमुक्त सङ्ग्रहकारूपमा आएको बताउनु भयो । छोटाकथा र लघुकथाको बीचमा भिन्नता पहिचान गर्न लघुकथामा देखिनु पर्ने लघुत्व , क्षणिकता र प्रभावकारिताको विचार प्रस्तुत गर्नुभयो ।

    परिचर्चाकार दीपक लोहनीले आवाज लघुकथाकृतिले उठाएका विचारप्रति आफ्ना धारणा प्रस्तुत गर्नुभयो । कृतिभित्रका १२२ वटा लघुकथाहरूमा कृतिकारले समाचार, सामाजिक घटनाहरू र जीवन भोगाइका विविध अनुभवलाई लघुकथामा पस्केको र समाजमा व्याप्त अन्धविश्वास, कुप्रथा, विभेद, नारी चेतना, बाल र पुरुष मनोविज्ञान, वैदेशिक रोजगारका पीडाहरूका विरूद्धमा सशक्त आवाज उठाएका बताउनुभयो । ग्रामिण परिवेश, आञ्चलिक र स्थानीय लवजहरूको सन्तुलित प्रयोग गर्नुले लघुकथामा मिठास रहेको बताउनुभयो । अभिधाको अर्थमा लघुकथाहरू बढी रहेका छन् भने लक्षणाका आधारमा न्यून र व्यञ्जनाका आधारमा प्रमुखरूपमा आएको धारणा प्रष्ट पार्नु भयो । नियमितरूपमा लघुकथा लेख्ने स्रष्टा पाण्डेको लेखनप्रतिको सक्रियता लोभलाग्दो छ तर पनि कृतिकारले धैर्य र चिन्तनमनन गरेर लेख्ने हो भने एउटा सफल लघुकथाकारको रूपमा स्थापित हुन सक्ने विचार राख्नुभयो ।

    परिचर्चाकार खेमराज पोखरेलले लघुकथाहरूमा पाइने सवल र दुर्वल पक्षबारे बिहङ्गम दृष्टि प्रस्तुत गर्नुभयो । आमाप्रतिको सम्मान भाव, अर्गानिक भाषा, विविध विषय, स्वैरकल्पना र व्यङ्ग्यको प्रयोग, लघुत्व र क्षणिकता पाइनु , लघुकथाका सबल पक्ष हुन् भने कौतुहलताको क्षय, विषयको दोहोरोपन, परम्परावादी विचार, प्राभवकारिता कम हुनु, कथ्य चयनमा कमजोरी, केही लघुकथामा समापनको बिस्तार र छोटोकथा बनेको बताउँदै आगामी दिनमा सचेत रहन सुझाव दिनुभयो ।

    कार्यक्रममा उपस्थित हुनुभएका कृतिका सम्पादक वसन्त अनुभवले कृतिकारले जे जस्तो लवजमा बोल्नुहुन्छ, उस्तै लेख्नुहुन्छ तसर्थ पनि केही कमीकमजोरी देखिनु स्वभाविक हुने गर्छ । औपचारिक शिक्षा नलिएका भए पनि स्रष्टाले छिटो र नियमितरूपमा लेख्ने गर्नुहुन्छ जुन लोभलाग्दो पक्ष रहेकोे भन्दै स्रष्टाको कलमको प्रशंसा गर्नुभयो ।

    प्रा. विश्वराज अधिकारीले सञ्चालन गर्नुभएको सो कार्यक्रममा लता के. सी. र राप्ती साहित्य परिषद दाङका अध्यक्ष यम रेग्मीले कृतिगत सफलताको लागि कृतिकारलाई शुभकामना र बधाई दिनुभयो ।

    कार्यक्रमको अन्त्यमा कृतिकारले सबैलाई धन्यवाद दिँदै लघुकथा लेखनको प्रेरणा , लेखनयात्राका अनुभूति र प्रभावबारे आफ्नो धारणा राख्नु भयो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    परिषदको ८४औँ एकल वाचन कार्यक्रम, मनोजले पस्किए दुई दर्जन बढी गजल

  • २८ चैत्र २०८२, शनिबार ०७:१६ मा प्रकाशित
  • दाङ चैत्र २७
    राप्ती साहित्य परिषद् दाङ शाखाले हरेक तीनतीन महिनामा नियमित रूपमा गर्दै आएको एकल रचनावाचनको ८४ औँ श्रृङ्खला युवा गजलकार मनोज थापा मगरलाई स्थान दिएको थियो ।
    राप्ती साहित्य परिषद् दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यता तथा केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाको विशिष्ट आतिथ्यता कार्यक्रम सम्पन्न भएको थियो ।
    एकल रचनावाचन कार्यक्रममा सष्टा मनोज थापा मगरले डेढ दर्जनभन्दा बढी गजलहरू प्रस्तुत गरेका थिए। उनका गजलहरूमा मायाप्रेम पाइनुका साथै समाजमा रहेका विकृति र विसङ्गतिमाथि उनले चोटिलो प्रहार गरेका थिए ।

    लेखक सङ्घ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्यकार नगेन्द्रगुरु, रुकुम पूर्व शाखाका पूर्व अध्यक्ष कमानसिंह बिष्ट, विशिष्ट अतिथि कमलमणि देवकोटा, प्रमुख अतिथि पुरुषोत्तम खनाल लगायतले स्रष्टा मनोज थापा मगरलाई सफलताको शुभकामना दिनुभएको थियो।

    कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर,’ नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, झिल्का साहित्य समाजका अध्यक्ष एवम् झिल्का प्रवर्तक वसन्त अनुभव, प्रगतिशील लेखक सङ्घ दाङका सचिव पुराण शर्मा, अध्ययन मञ्च दाङका अध्यक्ष सूर्य बिसी, कान्तिपुर टेलिभिजनका दाङ समाचारदाता अमर क्षितिज भण्डारी, गोरखापत्र दैनिकका दाङ समाचारदाता लिलाधर ओली, नयाँ युगबोध राष्ट्रिय दैनिकका समाचारदाता गोविन्द खड्का, रेडियो भरोसाका समाचारदाता भरत ओली , साहित्यकारहरू रामप्रसाद जैसी , कपिल किशोर घिमिरे, मधुसुधन गौतम, डम्बर प्रसाद निरौला, हरिप्रसाद रिजाल, महेश कुमार न्यौपाने, रिमा गौतम, देवेन्द्र रिजाल, नारदप्रसाद भण्डारी, शरद गौतम, दामोदर पौडेल, अनुजा शर्मा ‘संस्कृति’, शंकर घर्ती मगर, सुष्मा पुन, शर्मिला पुन, लगायतका विभिन्न संघसंस्था तथा साहित्यकारहरूकोहरूको गरिमामय उपस्थित रहेको थियो।
    राप्ती साहित्य परिषद् दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सहसचिव वीना रोका क्षेत्रीले गर्नुभएको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    पाण्डेको लघुकथाकृति ‘आवाज’को विमोचन

  • ९ फाल्गुन २०८२, शनिबार २२:३२ मा प्रकाशित
  • फागुन ०९, घोराही, दाङ ।

    लघुकथाकार सुरेशकुमार पाण्डेको तेस्रो लघुकथा कृति ‘आवाज’को शनिवार विमोचन भएको छ । राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा नेपाल पत्रकार महासंघ दाङ शाखाको सभाहलमा आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार/पत्रकार एवम् पूर्व सभासद्, शताब्दी पुरुष नारायण प्रसाद शर्माले उक्त कृतिको विमोचन गर्नुभएको थियोे ।
    विमोचित कृतिका कृतिकार सुरेशकुमार पाण्डे आयोजक संस्थाको उपाध्यक्ष समेत हुनुहुन्छ । उहाँको यो पाँचौ एकल साहित्यिक कृति हो । यसअघि उहाँका ‘अन्धकार चिर्ने दीयो’ र ‘देशभक्ति आवाज’ नामक दुई गजलसङ्ग्रह, ‘अनुभव’ (हिन्दी) र ‘जेईको सम्झना’ (नेपाली) नामक दुई लघुकथासङ्ग्रह प्रकाशित भइसकेका छन् ।

    कार्यक्रममा विमोचित कृतिको समीक्षा झिल्का साहित्य समाजका अध्यक्ष/झिल्का प्रवर्तक एवम् लघुकथाकार वसन्त अनुभवले गर्नुभएको थियोे ।

    कार्यक्रम परिषदका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार/पत्रकार नारायण प्रसाद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियोे ।

    कार्यक्रमको विशिष्ट अतिथिमा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, भाषा आयोगका पूर्व सदस्य एवम् वरिष्ठ साहित्यकार/समालोचक डा.अमर गिरी र वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयालगायत अतिथिहरूमा परिषदका सल्लाहकार पद्मप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, नेपालकै सर्वाधिक दोस्रो धेरै उपन्यास लेख्नेको सूचीमा उभिन सफल उपन्यासकार एवम् नेपाल पत्रकार महासंघका सचिव सविन प्रियासन, नेपाली लेखक संघका अध्यक्ष डा. हिमलाल पन्थी, राप्ती साहित्य परिषदका केन्द्रिय अध्यक्ष कमलमणि देवकोटा, राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष डा.टिकाराम उदासी, सर्वोदय पुस्तकालय एवम् वाचनालयका अध्यक्ष सुशील गौतम, युवा संघका पूर्व अध्यक्ष एवम् समाजसेवी काशीनाथ पोख्रेल, विश्व नेपाली साहित्य प्रतिष्ठान दाङ शाखा अध्यक्ष डा.कृष्णराज डि.सी., राप्ती साहित्य परिषद दाङका पूर्व अध्यक्ष दीपक समीर लगायत ५ दर्जन बढी लेखक, साहित्यकार, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।

    कार्यक्रममा बोल्दै प्रमुख अतिथि नारायण प्रसाद शर्माले सुरेशकुमार पाण्डेका लघुकथाकृति आफूले पढेको, उहाँ राम्रो लेख्नुहुन्छ । दाङले एक उत्कृष्ट साधक पाएको उल्लेख गर्दै लघुकथा पाण्डेको सक्रियता, क्रियाशिलताको प्रशंसा गर्नुभयो ।

    कार्यक्रममा पुस्तक लेखनका अनुभवका बारेमा कृतिकार सुरेशकुमार पाण्डेले प्रकाश पार्नुभएको थियो भने पुरुषोत्तम खनाल, उत्तमकृष्ण मजगैँया, डा.अमर गिरी, खगराज न्यौपाने, सविन प्रियासन, काशीनाथ पोख्रेल लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो । कार्यक्रममा कृतिकार पाण्डेकी बुहारी मनिषा रेग्मी पाण्डेले उपस्थित सम्पूर्ण व्यक्तित्वहरूमा धन्यवाद प्रकट गर्नुभएको थियोे ।

    परिषद्की सहसचिव विना रोकायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण राप्ती साहित्य परिषदका जिल्ला सचिव घनश्याम केसीले गर्नुभएको थियो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged राप्ती साहित्य परिषद, लघुकथा विमोच, लघुकथा विमोचन, वसन्त अनुभव, सुरेशकुमार पाण्डे

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P