
घोराही, दाङ
राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा साहित्यकार एकराज शर्मा अधिकारीको चौथो कृति ‘रचना कुसुम’ (असतोमा सत्गमय) एक विशेष समारोहका बीच विमोचन गरिएको छ।
घोराहीस्थित नेपाल पत्रकार महासङ्घको सभाहलमा आयोजित उक्त कार्यक्रममा प्रमुख लोकसाहित्य अनुसन्धानकर्ता डा. गोविन्द आचार्य प्रमुख अतिथिको रूपमा रहनुभएको थियो भने राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनाल विशिष्ट अतिथिको रूपमा रहनुभएको थियो।
विमोचित कृतिमाथि समीक्षात्मक टिप्पणी राख्दै पदमप्रसाद शर्माले ‘रचना कुसुम’ लाई नेपाली साहित्यको एउटा ओजिलो प्राप्तिको रूपमा चित्रण गर्नुभयो। उहाँले भन्नुभयो, “लेखक अधिकारीको यो कृतिले मानवीय संवेदना र आध्यात्मिक चेतलाई सरल तर गहिरो ढङ्गले प्रस्तुत गरेको छ। पुस्तकको उपशीर्षक ‘असतोमा सद्गमय’ ले भनेझैँ यसले पाठकलाई असत्यबाट सत्यको मार्गतिर डोर्याउने सामर्थ्य राख्दछ। भाषाको शुद्धता र भावको गहिराइले गर्दा यो अत्यन्तै सुन्दर र प्रेरणादायी पुस्तक बनेको छ।”
कार्यक्रममा राप्ती साहित्य परिषद् केन्द्रका वरिष्ठ उपाध्यक्ष दीपक शर्मा ‘समीर’, सिस्नोपानी नेपाल दाङका अध्यक्ष डा. लोकराज पराजुली, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव सबिन प्रियासनले शुभकामना मन्तव्य राख्दै कृतिको सफलताको कामना गर्नुभएको थियो। वक्ताहरूले लेखकको लामो साधना र अनुभवको निचोडका रूपमा यो कृति आएको बताउनुभयो।
लेखकका तर्फबाट सुपुत्र ईश्वरीप्रसाद शर्मा अधिकारीले कृतिको पृष्ठभूमिबारे चर्चा गर्दै धन्यवाद ज्ञापन गर्नुभएको थियो।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गर्नुभएको थियो। कार्यक्रममा दाङका प्रतिष्ठित साहित्यकार, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उत्साहजनक उपस्थिति रहेको थियो।



