
साप्ताहिक झिल्का लेखन अभ्यासको ३६ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६१ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे । यो उत्साहपूर्वक सहभागिताका लागि सम्पूर्ण सहभागीहरूमा संयोजक म्यामराज राईले हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर नभएमा उत्तम मानिन्छ ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- ३६ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
उसको आज आएन
भोलिले जुग खायो
गाइएको गीत गाएन ।
२,
लम्बेतान कहानी कह्यो
कसले देख्यो अरुण ?
अनगिन्ती पानी बह्यो ।
३,
आजले भोलि ठेलिरह्यो
पहाडको दु:ख सम्म्याउन
हिजोले आज पेलिरह्यो ।
- म्यामराज राई
…
१,
रहरले होकी करले
बाँचेका खाना नपाई
गरिब दुःखी तरले ।
२,
आँसु कसैले नदेखोस्
अर्काको खोसेर नखानु
दुःख सधैँ मेटोस् ।
३,
हजार सपना देख
कर्म गरेर देखाऊ
झिल्का सधैँ लेख । - अम्बिका अधिकारी, झापा बिर्तामोड
…
१,
टुप्पोबाट पलाउने नासिन्छ
घमण्ड बढ्छ मनमा
उचालिँदै तल भासिन्छ । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
तिम्रो वचन कस्तो
बिजाई मुटुमा चसक्क
किन गर्यो यस्तो ?
२,
कसरी भुलौँ अतितलाई?
कोशिस जारी राखें
सकिएन बस्न रमाई ।
३,
भुल्न प्रयास गरेँ
त्यही भएर ठाउॅं
छोडी अन्तै सरेँ । - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१
हालः-क्यानडा,क्यालगरी।
…
१,
मलाई भेट्न बोलाएर
केही कुरा नबोली
चुपचाप बस्यो टोलाएर ।
२,
पहाडमा दिनदासा सुरु
विकासको काम छैन्
पहिरो खस्छ खुरुखुरु।
३,
मायाको कुरा गर्यो
सॅंगै बस्छु भन्दा
ऊ पछाडि सर्यो । - ललिता गिरी सिन्धुली
…
१,
माफी माग्नुपर्ने मैले
बिनासित्ती तिमी झुकिदियौ
आफ्नैले सताउँछन् ऐले।
२,
हिॅंड्यौ बिरालोको चालमा
घचाडेर लडाए साथीहरूले
जुवाडे, फटाहाहरूको खालमा। - चुडामणी देबकोटा, पुरानोनैकाप काठमाण्डौ
…
१,
संविधानभन्दा पनि माथि
कोही हुन सक्दैनन्
होइन त साथी!
२,
संविधानमा मौलिक हक
छ उल्लेख गरिएको
लाग्छ बोल्नलाई धक।
३,
वीर योध्दाको योगदान
भन्दछन् फेरि सबै
उत्कृष्ट नेपालको संविधान। - सतीश पण्डित, भानु -६, चुँदी, तनहूँ (हाल चनपा ६ मातातीर्थ)
…
१,
हिजोआज प्रेममा परे
थाहा छैन खोइ !
मैले के गरे ?
२,
बाउले गर्छन् गाली
हिजोपनि कुटेका हुन्
उचालेर हलोको फाली ।
३,
दिमाग घुम्छ किन ?
मैले सक्दिन तिमीलाई
चोखो माया दिन । - लक्ष्मण देउवा डोटी
…
१,
बतास यहाँ चल्दैछ
होसियार दलाल हो
तिम्रो सत्ता ढल्दैछ ।
२,
यहाँ भाँड्नसम्म भाँडिसके
नभएको सपना देखाइ
यहाँ ढाँट्नसम्म ढाँटिसके ।
३,
यहाँ खोला तर्दैछ
जीवन गइसक्यो फेरि
यिनकै भर पर्दैछ । - दीप गोले तामाङ, रौतहट
…
१,
लगाएको ढाका टोपी
कति राम्रो सुहाएको
कालो कपाल छोपी ।
२,
बसिन् उनी थचक्क
आइ मेरो काखैमा
भयो मन चसक्क।
३,
भाषण एउटा कुरा
मख्खै पारी बोल्छन्
भित्र चलाई छुरा । - अनुग्रह राना मगर ‘पुष्प’, पाँचखपन न. पा. ६ संखुवासभा
…
१,
देश बेचेर खायो
जनता चुपचाप छ
नेता धेरै रमायो।
२,
लिम्पियाधुरा नेपालको भन्छ
खाना पाए चुपचाप
अनि देश बन्छ?
३,
शरणार्थी काण्ड कता ?
सुनिन्दैन आवाज अहिले
भ्रष्टाचारी गए जता। - एवाइ प्रभात, सहिदभुमि, धनकुटा
…
१,
जिन्दगी त्यसै चल्दैन
मेहनत नगरे कसैले
चुलोमा आगो बल्दैन ।
२,
नाजिक बनेर आयो
आफू राम्रो भएर
मलाई नराम्रो बनायो । - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
मन सकिँदैन सिउन
सङ्घर्षले सिकाउँछ यहाँ
साहसिक जीवन जिउन ।
२,
बेकार जगमा लुकेर
तरुवर बृहत् भए
आखिरमा जाने सुकेर ।
३,
बाधा हुनेछ बेअसर
नित्य चिन्तन गरेमा
जीवनमा नरहने कसर । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
फुरफुर नगर नासिन्छ
घमण्डी चालको विचार
आफै यहाँ भासिन्छ।
२,
कस्तो रहेछ चाला
अरूलाई मारेर जिउने
पर्ला अरूको पाला। - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
भ्रम मात्र छर्छन्
पुरा गर्छु भन्दै
झुटा आश्वासनले भर्छन् ।
२,
गर्दै कुरा खासखुस
यताउता मिलेन भन्दै
नेताहरूले खाइरहन्छन् घुस ।
३,
निकाल्न सक्नुपर्छ जुक्ति
यो घुसखोरी नेताबाट
कसरी पाइन्छ मुक्ति ? - हिरामाया श्रेष्ठ, गजुरी -१, धादिङ
…
१,
प्रेम अचम्मको हुने
एकैछिन बोल्न नपाउँदा
मन धेरै रुने ।
२,
टुप्पोबाट पलाएको मातिन्छ
बढ्छ अहङ्कार धेरै
आखिरमा छिनैमा मासिन्छ।
३,
मनको कुरा लेखेर
भविष्य आफै बनाऊ
सुन्दर सपना देखेर । - राज कुमार राजभण्डारी खोटाङे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
जनताको राज भन्छन्
आफै टन्न खाई
भोट मात्रै गन्छन् ।
२,
नेताको भ्रष्ट मति
जनताको ॲाखामा आँसु
हाम्रो देशको गति ।
३,
सम्पतिको भण्डार गन्छ
जनतालाई चाहिन्न केही
छादुन्जेल खाएर भन्छ । - राजेशराज गड्तौला, कॅाडाघारी, काठमाण्डौ
…
१,
सम्भावनाको घर
विदेश दौड़ने बाध्यता
हातमुख नजोरिने डर ।
२,
माटो सुहाउँदो रोजगारी
मजबुत समृद्धिको बाटोमा
भरौँ सिर्जनाले खेतबारी । - ममता पौडेल, बुढीगङ्गा -२,मोरङ
…
१,
हिजोआज अनि भोलि
आजको सदुपयोग गरौ
अवश्यै भरिनेछ झोली।
२,
जीवन एक यात्रा
हिडेँ चोटि पुगिन्छ
न हिडेँ जात्रा। - बिके मुखिया, दार्जिलिङ भारत।
…
१,
परेको छ गारो
पाखुरीले साथ दिँदादिँदै
नहेप यति सारो ।
२,
लेख्नु धेरै थियो
अधिकार आउला भनेर
हेर्दाहेर्दै संसदले पियो ।
३,
शिक्षक आन्दोलन आयो
सहमतिलाई जेल पठाउँदा
कसले के पायो ? - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर (हाल- एनेलकुटी, सिरहा)
…
१,
जो अन्याय अत्याचारी
अधोगति देख्छौ देख्दैनौ
ए काला भ्रष्टाचारी । - प्रेम थापा “मन”, बागलुङ
…
१,
संविधान देखाउने लेखियो
न्याय छैन गरिबलाई
हत्यारा बाहिर देखियो ।
२,
रास्ट्रको अपमान गर्दै
नेता राजनीति गर्छन
आफ्नो झोला भर्दै । - रबि पौडेल, दक्षिण भारत पाण्डेचरी ।
…
१,
श्रमिकले पाउने अधिकार
दिन गाह्रो मालिकलाई
गर्छौ किन प्रतिकार ?
२,
रुझिभिजि रोज कमाएको
मालिकलाई नाफा पुर्याएर
पाउने हक जमाएको ।
३,
सङ्घर्ष भएर पहिले
आफ्नो अधिकार पाउनलाई
चाडपर्वको मुखमा जहिले । - मोती योन्जन सुब्बा, दार्जिलिङ।
…
१,
धोका दिन्न भनेर
हिसाब चुक्ता गरायो
पाई पाई गनेर ।
२,
विश्वासघात भयो भन्दै
पश्चात्ताप गर्छ ऊ
दुःखले विह्वल बन्दै !
३,
सुन्दर फूल देखियो
लोभि नजर दौडाई
काँडा मात्रै टेकियो। - विवश पारदर्शी, झापा
…
१,
हेर सारा गगन
बादल वर्षालाई हाँस्दै
सकेको पीडा सहन ! - आर्त अकुलीन
…
१,
दु:खको घैलो फोडिॅंदैन
कुनै काम नभएपछि
हातमुख पनि जोडिॅंदैन ।
२,
नगर्दा हुन्छ रहर
गधा धोएर गाई
बनाउन सक्दैनौ जिन्दगीभर ।
३,
भ्रममा रुमलिन्न मित्र
लाग्न थाल्यो तिम्रो
नेताको जस्तो चरित्र । - पृथक प्रकृति ,झापा
…
१,
दुःख सम्झी नरुनु
सुख अवश्यै आउँछ
सधैँ सकारात्मक हुनु। - अरुण कुमार भुजेल, दार्जीलिङ्ग भारत।
…
१,
ठोकेर मुटुमा किला
खोज्दैछे ओठमा मुस्कान
छन् आँखा रसिला ।
२,
सपना अपूरो अधुरो
चारैतिर छ अन्धकार
जीवनको ज्योति मधुरो ।
३,
कालोनिलो निस्पट्ट सगर
लाग्दैछ आजकल मलाई
जिन्दगी मरुभूमि बगर । - वसन्त अनुभव, घोराही, दाङ
…
१,
भन्नलाई स्वयम् मेरो
सिन्दुर लगाई जग्गेमा
घुमाइदिनु उसलाई सातफेरो ।
२,
दिन पनि खुलेको
आहा! दशैँको बहार
धान पनि झुलेको ।
३,
घाम लाग्यो घमाइलो
दिनमा गर्मी भएपनि,
लाग्छ साह्रै रमाइलो । - अमृत कोइराला, पोखरा
…
१,
कोही नपाएर खान
भोको यहाँ सबै
सन्तुष्टि खोज्न जान। - सुनगाभा पोखरेल, हाल: नेपालगन्ज
…
१,
कसरी खोलूँ बह ?
चम्किलो रातमा देखिन्छ
जमिएला सुखको दह ! - जनक बिसी, दक्षिणभारत कोचिन
…
१,
आयो महिमा शारदको
धरती अति शोभायमान
भयो अन्त्य मेघको ।
२ ,
झुल्यो धानबाला खेतमा
सयपत्री मखमली हाँस्यो
रम्यो तनमन उल्लासमा । - हरिगोपाल न्हुच्छेँप्रधान, काभ्रे, बनपा १४ साँगाबजार
…
१,
उजाड भएपछि पाखाहरू
सुख्खा रहे यहाँ
हेर्ने पनि आँखाहरू ।
२,
आउँदैछन् हाम्रा चाडपर्व
सुखद बनून् क्षणहरू
लागोस् सबैलाई गर्व ।
३,
सुनौलो रहोस् बिहान
अन्तिम गन्तव्य हाम्रो
केवल हो चिहान । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
चाड पर्वको भेल
चामल छैन घरमा
कसरी पकाउने सेल ?
२,
विदेशिएको छोरा टाढा
दिलमा स्नेहको भावले
बल्झन्छ घाउ गाढा ।
३,
सुचना संचारको नाउमा
प्रवेश भएर आजकल
छाडा केटाकेटी गाउॅंमा । - हिरालाल न्यौपाने, बानपा ८ काेटमाैला सल्यान
…
१,
देश बेथितिले चल्छ
अराजक जातततै देख्दा
युवाको मन जल्छ।
२,
खेत बाँझो देखिन्छन्
बन्द छन् उद्योगहरू
युवा जति बेचिन्छन् ।
३,
नेताको झगडा हुन्छ
जनताले दुःख पाउने
गुनासो कसले सुन्छ? - कृष्ण बजगाई, भक्तपुर
…
१,
भित्रिँदै छन् चाडपर्व
महङ्गी आकाशियो झनै
लागेन खासै गर्व ।
२,
खेतबारी बाँझो राखेर
लहैलहैमा हिँडेका युवा
फर्किन्छन् दु:ख चाखेर ।
३,
नभुलौँ भाषा भेषलाई
गरेर पौरख यहीँ
स्वर्ग बनाऔँ देशलाई । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
सत्य कहाँ गएछ
यो धर्तीमा कसैलाई
फूल काँडा भएछ ।
२,
जात्रा देखाए धेरै
असल आफू मात्रै
हारेर जित मेरै । - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
सुखमा खुसी हुन्छ
सम्हाल्न जानेन भने
दुःखमा परेर रुन्छ !
२,
खास कोही भेटिएन
भ्रममा पार्ने मात्रै
अन्योलको वातावरण मेटिएन !
३,
परिक्षा लिँदा दिँदा
जीवनले मोड फेर्छ
बेला बेला झुकिॅंदा ! - अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
…
१,
रङ्गिॅंदै छन् गाउँघर
चाडपर्वले छोएर होला
रित्तिॅंदै छन् शहर ।
२,
सुनसान परदेशको बसाइँ ,
याद आउँछ गाउँघरको,
बस्नुछ आँखा रसाई । - भुपेन्द्र राना मगर, धादिङ
…
१,
सुन्दर जीवनको पाटो
अकालमै चुँडेर यसलाई,
नबनाऔॅं माटोको धुलो ।
२,
जीवन कर्कलाको पानी
सुख दुःखसॅंग जुधेर,
सबैले कटाऔॅं जिन्दगानी ।
३,
मन बनेमा निराश
दिक्क लाग्ने बाँच्नलाई,
खुसीको नहुने आस । - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
जोडी राधाकृष्ण जस्तै
देखियो हजुरको पनि
प्रसंशा चौतर्फी प्रशस्तै ।
२,
दुरी बढ्यो अचेल
हामीबिचको आज किन ?
हुनुपर्ने देखियो सचेत ।
३,
कहानी राम सिताको
लेख्नुपर्ने भयो फेरि
आउॅंछ यो युगबिनाको । - ईश्वर साउद(भिक्षु), रामारोशन गाउँपालिका ६ सुदुरपश्चिम अछाम
…
१,
पाउन छोड्यो रासन
अहोरात्र रुन्छ देश
निरङ्कुश भयो शासन !
२,
मत्स्य न्याय भयो
खोसिए मौलिक हक
आशा भरोसा गयो । - ऋजु दिल्पाली, ईटहरी १ सुनसरी
…
१,
जताततै घेरेको अभावले
गरी खाने ठाउँबाट
हटाइएछ राजनीति दबाबले।
२,
अधिकार पाउने आसमा
खान छैन पेटभरि
फर्के चरी बासमा।
३,
कहिले पाउने अधिकार
लडाइँको मैदान खाली
गर्छ कस्ले प्रतिकार । - दुर्गा आचार्य, मोरङ
…
१,
बादलले पानी पार्दछ,
दुखलाई बाँडेर नलिए
सहर्ष आँसु झार्दछ।
२,
रुखमा कोइली करायो,
वसन्त आएको देखेर
वर्षाद ऋतु डरायो। - होमप्रसाद नेउपाने, धरान, सुनसरी
…
१,
समयमै सोच्नुपर्छ अब
पछुतो मानेर हुदैन,
बिग्रन सक्छ जब।
२,
मान्छे भन्न डराउॅंछ
आखालाई दोष किन,
मनले मन पराउॅंछ।
३,
मन पराउनु राम्रो
धोका नदिनु कसैलाई,
बैगुनी बानी हाम्रो। - शंकर कार्की
…
१,
केहि लेख्न खोजे
शवहरूको माला उनेर
झिल्का कविता रोजे ।
२,
भावना पोख्ने ठाउँ
साहित्यमा कविता हेर
तीन लाइनको नाउँ । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाई ४ झापा
…
१,
आँशुले मुख धोएर
समस्या झनै बल्झिन्छ
हुँदैन समाधान रोएर!
२,
चाहना थिएन भन्ने
आशा लागेर हो
तिम्रो नजिक बन्ने! - मन्दिरा सेढाई, मलेखु,धादिङ
…
१,
राष्ट्रिय नेता रमाए
निर्दोषको पसिनामा
कस्तरी हैकम जमाए।
२,
सदमा हल्ला चल्दैछ
भ्रष्टाचारी नेताले आज
निर्दोसको आँखा छल्दैछ।
३,
भयो सबैलाई थाहा
नेताको भाषण शैली
सबैलाई भयो चाहा। - कला ढकाल, झापा
…
१,
स्वार्थी मानिसको जात
बेकम्मा बन्दैछ आफू
उठाउन नजान्दा हात। - कोपिला अधिकारी, गोरखा
…
१,
बढायौ अचेल दुरी
नढाँटीकन भन लौ
के पर्यो मजबुरी?
२,
मायाप्रीतिको सुँइको पाए
अबदेखि तिमीसँग भेट्न
घरमै प्रतिबन्ध लगाए l
३,
नबस्नु कत्ति पिरमा
मायाको जित हुनेछ
रहेछ भने तक्दिरमा l - बाबुराम गौतम, गुल्मी
…
१,
जनता दुःखमा घेरेको
छैन अलिकति फिकिर
नेता टुलुटुलु हेरेको। - बिरेन्द्र चौधरी, इटहरी, सुनसरी
…
१,
देखाउनेको भिड लाग्छ
भित्री कुरा बुझ्दैनन्
उसकै पछि भाग्छ। - शोभा आचार्य गौतम, काठमाडौँ
…
१,
मनैबाट निकालौँ तितोपिरो
एकैबारको जिन्दगी बाँच्दा
बनाऔॅं सबैले सुवासिलो। - विष्णु पंगेनी(पाण्डे ), वालिङ -स्याङ्जा
…
१,
शरद् महिना आयो
गाउँ घरमा रमाइलो
चाडपर्वमा खुसी छायो ।
२,
साहुले दिएको ऋण
हुन्छ होला अप्ठ्यारो
हुनेछ तिर्न घृण !
३,
खर्चमा नहौसनु पर्वमा
एक छाक अन्न
अघाएर परौँ गर्वमा - बेदु न्यौपाने
…
१,
भ्रष्टले मृत्यु देख्दैन
लुट्छ जीवनभर देशलाई ,
इज्जतले नाम लेख्दैन।
२,
इमानीले गर्छ कर्म
अँगाल्छ सेवाको धारणा ,
गर्छ ठूलो धर्म।
३,
भोलि बिहान हुनेछ
उदाउनेछन् कोही इमानी ,
दुःखीको मन छुनेछ। - सुस्मिता अधिकारी, काठमाडौँ
…
१,
मेटिन्छ कहिले आशा,
लासको श्वासमा अडी ,
चाडमा नखेल्नु पासा ।
२,
रुपैया खल्तीमा भए
भइन्छ पीडामा हेर
आवेग भेलमा गए ।
३,
त्यसैले समय गति,
बुझेर मानिस हिॅंडे ,
सुध्रिन्छ उसको मति । - जी.वि.कश्यप, घोराही, दाङ
…
१,
आफ्नो कर्तव्य बुझौँ
कान छाम्ने गर्नुपर्छ
समयमै सबै सुझौँ ।
२,
धानको बाला लहराएको
परिश्रमी किसान हर्षित
दसैँको तरङ्ग तरङ्गाएको । - धनमाया चौधरी, कैलाली
…
१,
समयले फन्को मार्यो
उकाली ओराली गर्दै
अघि बाटो सार्यो ।
२,
भर्न खोजीमा रहेछु
हरेक इच्छाका झोलीहरू
सबै कुरा सहेछु ।
३,
भत्किन्छ सपनाको महल
बनाउने कोसिसमा हुन्छु
खुसीको गर्छु पहल । - पुष्पा राई, बादेल, खाेटाङ ।
…
१,
मुटुको हुन्छ चिरफार
प्रेमको घारीमा पसेपछि
नहुने रहेछ उपचार ।
२,
हरपल उसैको चाहना
बुझ्नेले नबुझ्नेपछि बेकार
मुटुभरि गुम्सिएका भावना ।
३,
गर्छु आज वारपार
निकाली फाल्छु उसलाई
ठानी काँडे झार। - रुना कर्माचार्य दाहाल, चितवन
…
१,
गर्छौँ हामी गर्व
राम्रो लाग्छ हामीलाई
हाम्रै आफ्ना चाडपर्व ।
२,
हाम्रो संस्कृति बचाऔॅं
मौलिकता बचाई राख्न
सारा विकृति हटाऔॅं ।
३,
आचार विचार हाम्रो
सादा जीवन जिउँदा
हुन्छ सधैँ राम्रो । - जयनारायण नेपाल, इलाम ,सूर्य विनायक २, बालकोट ,भक्तपुर ।
…
१,
दसैँ पनि आयो
नेपाली मनहरूमा सधैँ ,
हर्ष खुसीले छायो ।
२,
आउँदैछन् देशमा चाडपर्व
नेपाली हुनामा मलाई ,
लाग्छ सधैँ गर्व । - श्रीकृष्ण धामी, बझाङ
::::::::जय झिल्का साहित्य ! ::::::::::










