• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साताका तीन लघुकथा

साताका तीन लघुकथा- ६५

  • २ मंसिर २०८१, आईतवार ०८:४४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६५औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘स्वर्गको बाटो’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘निर्देशन’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘अपाहिज’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    लघुकथा: स्वर्गको बाटो

    ✍️ खगेन्द्र बस्याल
    -“तपाईँको घरमा आएर दिक्क पारिरहने नन्दकृष्ण आज आएको देखिनँ, कता गएछन् ?”
    दैलातुङ्ग फाँटबाट आएका थिरलालले आफ्ना साथी दयारामलाई सोधे ।

    दयारामले जिज्ञासा राखे,
    -“के गरेर हामीलाई सताएको देख्नुभएको थियो र ?”
    थिरलालले जानकारी दिए,
    -“रक्सीले झल्लिँदै आउने, बोल्न नमिल्ने शव्दहरू प्रयोग गर्ने, फेरि धोक्नका लागि पैसा मागेर मरिहत्ते गर्ने गरेको कहाँ बिर्सेको छु र !”

    -“उनी त स्वर्गको बाटो लागे नि !”
    दयाराम बताए । थिरलाल भावुक हुँदै बोले,
    -“उनको आत्माले शान्ति पावस् । उनी गएपछि परिवारले पनि शान्तिको स्वास फेरे होलान् ।”
    दयारामको भनाइ रह्यो,
    -“उनी स्वर्गको बाटो लिएपछि परिवारको मात्र होइन सारा गाउँको मनमा बेग्लै शान्ति र कान्ति उदाएको छ।”
    थिरलालले  सोधे,
    -“कहिले गए उनी स्वर्गतिर ? परिवारले आफ्नो हैसियत अनुसार दानपुण्य त गरे ?”

    -“उनी स्वर्गमा पुगिसकेका छैनन् । परिवारले कुनै दानपुण्य पनि गर्नु परेन ।” दयारामले झस्काए । थिरलालले भने,
    -“पढेलेखेका छोराछोरी भएर पनि सडेका रहेछन् । पितृको आशिर्वादले नै सबैको मनोकामना पूर्ण हुन्छ भन्ने कुरा उनीहरूलाई थाहा रहेनछ।”

    दयारामले स्पष्ट पारे,
    -“कुलतलाई तिलाञ्जली दिँदै आफैँबाट नमूनायोग्य काम गरी सबैको आँखाको नानी बन्न लाग्नु नै यथार्थमा स्वर्गको बाटो हो । सबैले राम्रो काम गरे स्वर्ग यहीँ छैन त !”

    * तिलोत्तमा ९ सरस्वती पथ,रुपन्देही ।०८१ कात्तिक २९
    **************

    लघुकथाः निर्देशन

    ✍️ मित्र ‘उराठी’ गौतम
    कुनै आश्चर्यको कुरा भएन । हाम्रो देशमा वर्ष, डेढवर्षमा भइरहन्छ।
    सरकार फेरियो । प्रधानमन्त्री, मन्त्री नयाँ बने । नयाँ पनि के भन्नु ? ‘रक्सी पुरानै, बोतल नयाँ’ भने जस्तै ।
    सपथ ग्रहण भयो । पदवहाली गरेकै भोलिपल्ट प्रधानमन्त्रीले सचिवहरूको बैठक बोलाए ।
    -“अब पुरानो ढर्राले हुन्न । केही नयाँ गर्नुपर्छ । यो भएन, त्यो भएन, म जान्दिनँ । हो, ऐन नियमावली नयाँ बन्नसकेका छैनन्, पुरानै छन्, त्यो जगजाहेर छ । त्यो संसदको काम हो, बन्दै गर्छन् । तर तपाईँहरूको कुनै बहानाबाजी मलाई सुन्नु नपरोस् । मलाई परिणाम चाहिन्छ।”
    कडा निर्देशनका साथ उनी कड्किए ।

    अर्कोदिन सचिवहरूले मातहतका विभागिय प्रमुखहरू, निर्देशकहरूको बैठक बोलाए । प्रधानमन्त्रीको निर्देशन सुनाउँदै अझ कडारूपमा प्रस्तुत भए ।
    विभागिय प्रमुखहरू, निर्देशकहरूले पनि त्यसैगरि आफू मातहतकालाई झन् झन् कडा निर्देशन दिए । परिणाम दिन नसके कार्यसम्पादन मूल्याङ्कन बिगारिदिने, बढुवा रोकिदिने समेत चेतावनी दिए ।

    बैठक सकेर बाहिरिने क्रममा भूपध्वजले जीवनारायणसँग साउति मार्दै भने,
    -“अहिलेसम्म त निर्देशन नपाएर पो ! विकासले गति लिन नसकेको । अब त छलाङ्ग मार्ने भो नि साथी !”
                 अमरपुर–गुल्मी,हालःतिलोत्तमा न पा -२,रुपन्देही
    **************

    लघुकथा: अपाहिज

    ✍️ सुरेशकुमार पाण्डे
    -“थोरै पैदल हिँड्ने बानी पनि बसाल्नुपर्छ । जहाँ पैदलको बाटो हो, त्यहाँ पैदल हिँड्नुपर्छ । अलि टाढा भएपछि मात्र बाइक, रिक्सा वा अटोको प्रयोग गर्नुपर्छ ।”
    रवीले आफ्नो छोरा सग्रामलाई सम्झाउँदै थिए ।
    छोरा सग्राम कत्ति पनि पैदल हिँड्न मान्दैनथ्यो । परिणाम उसको शरीर अस्वाभाविक रूपमा मोटाउँदै गएको थियो । रवी, उसको स्वास्थ्यलाई लिएर अत्यन्तै चिन्तित् थिए ।
    -“बाबा म पैदल हिँड्नै सक्दैनँ, म के गरूँ ?” सग्रामले असमर्थता जतायो ।
    -“ट्याङ् .. ट्याङ् “
    डोरबेलको आवाजले बाबुछोरा नै झस्किए ।
    -“छोरा, सग्राम ! बाहिर हेर त ! सायद सामान आयो कि ?”
    रवीले सग्रामलाई हेर्न लगाए ।

    नभन्दै दैलो खोल्दा बाहिर रिक्सावाला समान लिएर खडा थियो।
    -“बाबु ! यो तोरी मगाउनुभा’को साहुजीले । सात बोरा छ, कहाँ राखौँ ?”
    रिक्सावालाले सोध्यो ।
    -“बोरी, यहाँ होइन माथिल्लो तलामा रख्नुहोस् !”
    सग्रामले उसलाई  दोस्रो तलामा राख्न लगायो । उमेरले बाउ बराबरको रिक्सावाला चुपचाप बिस्तारै सातवटै बोरी माथिल्लो तलामा पुरायो ।
    -“हजुरको खुट्टामा केही भएको छ ?”
    सग्रामले उसलाई खोच्याएको देखेर सोध्यो । उसले सटिकमा उत्तर दियो,
    -“हजुर !”
    -“के भएको हो ?”
    -“एक्सिडेन्ट भएको थियो, केही वर्ष पहिले ।”
    उसले आफ्नो दायाँ खुट्टा झिकेर देखाउँदै भन्यो । त्यो देखेर सग्राम झसङ्ग भयो र मनमनै भन्यो,
    -“उफ् ! वास्तवमा अपाहिज त म पो ! रहेछु ।”

    दाङ घोराही १८
    १३-११-२०२४(२८-०७-२०८१)
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा

    साताका तीन लघुकथा- ६४

  • १२ आश्विन २०८१, शनिबार १८:३१ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६४औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार रञ्जुश्री पराजुलीको लघुकथा ‘मर्निङ्ग वाक’, लघुकथाकार खगेन्द्र बस्यालको लघुकथा ‘गहना’ र लघुकथाकार ध्रुवराज थापा ‘पुरूष’को लघुकथा ‘उच्च सम्मान’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: मर्निङ्ग वाक

    ✍️ रञ्जुश्री पराजुली
    दिनमा कम्तीमा पनि पाँच हजार पाइला हिँड्नुपर्छ । हिँडाइ पनि एकप्रकारको उपचार नै हो भन्ने भनाई आजभोलि यत्रतत्र सुनिन्छ । हिँडाइले अनेकौँ रोग निको पार्छ भनेको सुनिन्छ । त्यसैले अझ कोही त सातदेखि दस हजार पाइलासम्म हिँड्नुपर्छ भनेर नाडीमा बाँधेको वाकिङ्ग सेस्टेप देखाउने घडी हेर्दै हिँड्छन् । एकदिन लौ त भनेर म पनि बिहान छ बजेतिर हिँड्न निस्किएँ । पिच सडकमा बिहानको स्कुलको बसहरू हुइकिरहेका देखिन्थे ।

    पेटीमा वृद्ध, युवा आदि हिँड्नेको लर्को नै थियो । ठूलाठालुहरू सडकको पेटीमा आफ्ना पाल्तु कुकुरलाई हगाउन ल्याउने पनि निकै देखिन्थे ।
    उनीहरू मध्ये एउटाले अर्को कुकुर मालिकसँग उसको कुकुर सुम्सुम्याउँदै ‘राम्रो रहेछ । कुन ब्रीडको हो ? कति पर्यो ?’ भनेर सोध्यो ।
    “यो ल्याब्रे सेपर्ड हो । पचास हजार पर्‍यो ।” तपाईँको के ब्रीडको सानो लामो कान भएको कालो सेतो रङ्गको राम्रो रहेछ ।”
    “यो बर्नी डुडल मिनी हो । यस्को साठी हजार पर्‍यो । मेरी छोरीले यही चाहियो भन्न थाली ।”
    यसरी ती दुई सम्भ्रान्त नवधनाड्यहरूले आफ्ना मूल्यवान पाल्तु कुकुरहरूको प्रशंसा गर्दै कुकुरलाई सडकमा हगाएर ‘बाई बाई’ भन्दै आ-आफ्ना आलिसान बङ्गलोतिर लागे । अरूको कुरा सुन्नु त राम्रो होइन तर उनीहरूभन्दा पछि परेकोले नसुनुभन्दा पनि मैले उनीहरूको सबै सम्वाद प्रत्यक्ष सुनेँ ।

    हिँडदा हिँडदै एउटाले सडकको बिचमा थुप्रिएको एक रास ठूलै कुकुरको आची टेक्यो । छि: छि: र दुर्दुर गर्दै “छोराले आमेरिकाबाट भर्खर पठाइदिएको लेटेस्ट ब्रान्डेडे मेरो नयाँ महङ्गो दुई सय डलर पर्ने स्पोर्ट्स सु …” भन्ने चीत्कार उस्को मुखबाट निस्कियो ।
    ——————-<•>——————

    २)
    लघुकथा: गहना

    ✍️ खगेन्द्र बस्याल
    -“गहनाले झकिझकाउ हुँदा कति राम्री तिमी त !” शारदाले विमलालाई भनिन् ।
    विमलाको भनाइ रह्यो, -“मेराभन्दा राम्रा गहना तिमीसँग छन् ।”

    शारदाले प्रतिक्रिया जनाइन्, -“के भनेकी, तिमीसँग जति गहना छन्, त्यसको एक चौथाइ पनि छैन मसँग ।”
    विमलाले हाँस्दै भनिन्, -“सासूआमाले मेरी बुहारीसँग एक नम्बरी सुन, चाँदीको अतिरिक्त हिरामोतीका गहना समेत प्रयाप्त छन् भनेर फाइँफुट्टी लगाउनु भएको थियो र !”

    शारदाको कथन रह्यो, -“मैले भनेको होइन, देखेको मात्रै कुरा पत्याउँछु । कहिलेकाहीँ कसैको केहीबेरलाई लगाएको गहना देखेर झुक्किनु भयो कि ?”
    शारदाले हँसाइन्, -“आफ्नो वा अरूको लगाएको हो, अनुहारले नै बताउँछ नि !”
    विमलाले जिज्ञासा राखिन्, -“उसो भए ल भन त मेरा गहना के के देखेकी छ्यौ ?”

    शारदाले स्पष्ट पारिन्, -“बोल्ने कला, कसैलाई दुःख परेको बेला सम्झाउन सक्ने क्षमता, नाच्न गाउनमा विलक्षण प्रतिभा, सामाजिक कार्यमा अग्रसरताको कारण तिमी समाजकै गहना बन्न सफल भएकी छ्यौ। वास्तवमा त्यो सक्कली गहना मसँग छ त !”

    तिलोत्तमा ९ सरस्वती पथ, रुपन्देही
    ——————-<•>—————–
    ३)
    लघुकथा: उच्च सम्मान

    ✍️ ध्रुवराज थापा ‘पुरूष’
    -“भाइ साहब ! हम आपके साथ एक फोटो ले सकते हैँ ?”
    शैक्षिक सम्मेलनमा सहभागी एक भारतीय शिक्षकले मलाई अनुरोध गरे ।
    -“अरे भाइ, क्योँ नहीँ ! आइए न लिजिए ।” भारतको राजस्थानस्थित शान्तिवनमा आयोजित शैक्षिक सम्मेलनमा सहभागीता जनाउन पुगेको मैले सहजै स्वीकारोक्ति जनाएँ ।

    उनले मसँग टाँसिएरै फोटो खिचे । उनका समूहका साथीहरूले पनि मसँग उत्साहकासाथ फोटो खिचाए । ग्रुप फोटो पनि प्रसस्तै खिचे । उनीहरू मसँग फोटो खिचाउन पाउँदा दङ्ग थिए । म पनि फुरूङ्ग परेँ ।

    बिहानीको नास्ताको समयमा खाली समयको सदुपयोग गर्दै सम्मेलनमा सहभागी भारतीयहरूको अरू धेरै समूहले मेरो साथमा त्यस्तै सद्भाव प्रकट गरे । पर्याप्त फोटो खिचे । महिलाहरूले पनि त्यसै गरे । मिलाइमिलाइ फोटो खिचाए । देख्नेहरूलाई लाग्थ्यो होला ‘म ठूलै सेलिब्रेटी हुँ ।’
    भिडले उत्साहपूर्वक यो दृष्य नियालिरहेको थियो । म भने गर्वले दङ्ग थिएँ ।
    मेरो महत्त्व बढेको देखेर फोटो सेसनको समयपछि सम्मेलनमा सहभागी हुन आएका अर्का एक नेपाली साथीले मसँग जिज्ञासा राख्नुभयो,
    -“आज हाम्रा छिमेकी मित्रहरूले तपाईँको निकै सम्मान गरे, खै हामीसँग त त्यस्तो गरेनन् !”
    मैले उत्तर दिएँ, -“उनीहरूले मलाई सम्मान गरेका हैनन्, न म कुनै चर्चित मान्छे, न मैले उनीहरूलाई चिनेको नै छु ।”

    -“त्यसो भए त्यत्रो सम्मान केको लागि थियो त ?”
    साथिले सोधे । मैले प्रतिउत्तर दिएँ,
    -“मेरो शिरमा उच्च सगरमाथा समान ढाका टोपी सजिएको छ नि त !”

    काभ्रे, पनौती, टौखाल
    हाल: कपन,काठमाडौँ
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा3 Comments on साताका तीन लघुकथा- ६४

    साताका तीन लघुकथा- ६३

  • २३ भाद्र २०८१, आईतवार १२:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६३औँ) शृङ्खलालाई बा विशेष मानी बुबाको मुख हेर्ने विषय समेटिएका मध्ये लघुकथाकार धनसिंह विश्वको लघुकथा ‘बुबाको मुख’, लघुकथाकार मोहन पोखरेलको लघुकथा ‘आवरण’ र लघुकथाकार प्रार्थना खनाल जोशीको लघुकथा ‘अपुग महसुस’ उत्कृष्ट तीनमा छनोट गरी प्रकाशन गरिएको छ ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुबाको मुख

    ✍️ धनसिंह विश्व
    बेलुका अफिस छुट्टी भएपछि एकजना साथीको घरमा हुस्की रक्सी तान्दै तिन पत्तीको खेल खेल्न थाल्यौँ । आठदस हजार रुपैयाँ गोजीमा बोकेर बसेको के थिएँ, खेल नसकिँदै गोजी रित्तो भएपछि आधारातमा चुपचाप घर गएर सुतेँ।

    मेरी आठ वर्षकी छोरी रेश्मा र तेह्र वर्षको छोरो राकेश बिहान सातै बजे ओछ्यानमा आएर कम्मल तान्दै भने,
    -“बुबा ! उठ्नुहोस् । ‘हेप्पी फादर्स डे’ बुवा !”
    म झसङ्ग भएँ । राकेशकी आमा गीताले भान्साबाटै कराउँदै भनिन्-
    -“रेश्मा, बुबा राती अबेला सुत्नुभा’छ, त्यहाँ हल्ला नगर ।”
    म निदाएको नाटक गर्दै सुतिरहेँ, अनि मनमनै सोचेँ,
    -‘ओहो ! आज बुबाको मुख हेर्ने दिन । कुसेऔँसी । आफ्नो त बुबा बितेको पनि बीस वर्ष भैसक्यो । अब कस्को मुख हेर्ने र ?’ के के सोचेँ । मनले मानेन अनि उठेँ ।

    नानीहरू आएर फेरि मलाई प्रणाम गर्दै भने, -“हेप्पी फादर्स डे, बुवा !”
    दुवै आएर मेरो काखमा बसे अनि बिस्तारै छोरोले कानमा भन्यो,
    -“उफ् ! बुबा, मुख गनाउँदैछ ।”
    छोरीले पनि नाक समाउँदै भनी,
    -“छि: बुवा ! अझै रक्सी गनाउँदैछ । खोइ ! बिहानै रक्सीले बिग्रिएको मुख पनि के हेर्नु र !”
    गेजिंग प० सिक्किम।
    ——————-<•>——————

    २)
    लघुकथा: आवरण

    ✍️ मोहन पोख्रेल
    जीवनप्रसादजीका एक छोरा र एक छोरी थिए । श्रीमतीलाई उमेरमै रोगले लग्यो । दु:खजिलो गर्दै छोराछोरी हुर्काए । छोरी पढनमा तेज थिई, खर्च गरेर राम्रैसँग पढाए । छोरा पनि सामान्य पढेर कमाउनतिर लागी ।

    हुर्केकी छोरी गतिलै कुटुम्ब हेरेर बिहे गरिदिए । राम्रो कुटुम्ब र भाइबन्धुका अगाडि छोरासँग सल्लाह गरी ऋण धन गरी बिहेमा गतिलै खर्च गरे ।
    अनि मधुमेह र रक्तचापका पीडित जीवनजीका बाउछोरा मेहनत गर्दै रिन उतार्दै निर्वाह गर्नतर्फ लागे ।
    केही समयपश्चात् जीवनजी रोगले काम गर्न नसक्ने भएपछि घरव्यवहार र बाबुको उपचारको भार समेत छोरा योगेनको काँधमा पर्‍यो, तैपनि हरेस नखाई धान्न पछि हटेन । दिदी कहिलेकाहीँ चिहाएर जान्थिन ।
    कुसेऔँसी आयो । दिदी आफ्नै मोटरमा फलफूल, मिठाइ, केही लुगा लिएर आइन् र बाबुको अगाडि राखिन् । जीवनजीले भने,
    -“नानी यी मिठाइ, म के गरुँ ? सुगर, प्रेसरको रोगी खानुहुँदैन ।”
    -“अँ बुबा ! हजुर पनि, बल्ल आएको बाबुको मुख हेर्ने दिन, म बुबा खुसी भएको हेरेर खुसी हुन आएकी, आज त मेरो मन राख्दिनुस् । अनि बाबुसँग बसेर सामान सहित सेल्फी लिएर फेसबुकमा पोष्ट गरिन् । क्याप्सन थियो,
    -“बाबाको खुसी नै मेरो खुसी । बाबाको सुस्वास्थ्य र दिर्घायुको कामना !”

    सम्पन्न दिदी आएकीले उपचार र घरव्यवहारले चेपेको योगेशलाई आशा पलायो र भन्यो,
    -“दिदी ! यी बाबाले खान नमिल्ने मिठाइभन्दा बरु बाबाको औषधी सकिएको थियो, दुई हप्तापछि डाइलाइसिस गर्नुपर्ने थियो ।” आसलाग्दो नजरले दिदीको मुख हेर्‍यो ।
    दिदीले कुरो बुझिन र जङ्गिइन्,
    -“अँ, बाको कमाइ खाने, अंश खाने तँ, उपचार गर्ने म ? के त्यो तेरो दायित्व हो, मलाई के दिएका छौ र ?”
    तब बाले आँखा टिल्पिलाउँदै भने,
    -“हो छोरी ! केही दिन सकिनँ, म रोगीले । बरु यी कपडा पनि लैजाऊ, कति खर्च गर्छ्यौ बाँचे भने अर्को साल फोटो खिच्न काम लाग्छ । मिठाइ पनि मेरा नातिनातीनाले खान्छन्, लैजाऊ छोरी ! फोटो खिचिहाल्यौ, म यसै खुसी छु !”
    ——————-<•>—————–


    ३)
    लघुकथाः अपुग महसुस

    ✍️ प्रार्थना खनाल जोशी
    आज सबै जम्मा भए एकसाथ । सबैले आफूले ल्याएका उपहार अगाडि राखेर दर्शन गरे । एकआपसमा छलफल गरी उहाँको आवश्यकता पूरा हुने र मनपर्ने मिठाइ, फलफूल उपहार सबैले ल्याए । उहाँलाई मनपर्ने मनोरञ्जनका क्रियाकलाप गरी नातिनातिनालगायत छोराबुहारीहरू र छोरीज्वाइँ प्रस्तुत भए ।

    अरू दिन आफ्नै कर्ममा व्यस्त भए पनि आज सपरिवारमा एकैठाउँमा बसेर खाना खाए । सबै दिनभर साथ रहे । उहाँलाई खुसी देख्न कुनै कसर बाँकी राखेनन् ।
    -“बुवा ! हजुरलाई हामी सबै जम्मा भएर कुसेऔँसी मनाएकोमा केही त खड्केको छैन नि ?”
    कान्छो छोरोले सोध्यो । बुवाको तत्काल जवाफ दिए,
    -”जेठा छोराका परिवार पनि भएकाभए अझ सुनमा सुगन्ध हुन्थ्यो ।”
    सुकेधारा, काठमाडौँ
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ६३

    साताका तीन लघुकथा- ६२

  • १६ भाद्र २०८१, आईतवार १६:५४ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६२औँ) शृङ्खलाका लागि लघुकथाकार बाबुकाजी सुवाल ‘विकेश निराशी’को लघुकथा ‘बुढो हड्डी’, लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘विवश’ र लघुकथाकार प्रतिज्ञा प्रतिज्ञाको लघुकथा ‘झोला’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    ——————-<•>——————

    [१]
    लघुकथा: बुढो हड्डी

    ✍️ बाबुकाजी सुवाल ‘विकेश निराशी’
    एक महिनाअघि विदेशबाट फर्केको नाति सहनीलाल चार पाँच जना मान्छे जम्मा पारेर आएको देखेर खरको छाप्रोबाहिर आँगनमा राखेको मेचमा घाम तापेर बसेकी नथुनी बज्यै अचम्ममा परिन् ।
    -“बाबु माइला, किन मान्छे ल्याएको ? के गर्न लाग्यौ ?” नथुनीले नातिलाई सोधिन् ।
    -“परको त्यो बारीको आँपका बोटहरू काट्न लागेको । अब त्यहाँ घर बनाउनु पर्छ, हजुरआमा ।” सँगै आएका मान्छेहरूलाई बन्चराहरू र डोरी सुम्पिँदै सहनीलालले भन्यो ।

    -“त्यो आँपबारी हाम्रा बाआमा समान छन् बाबू ! नमास्नू, त्यसलाई । हाम्रा बाजेबराजुदेखि हामी सबैलाई पालेको छ, त्यसले । त्यही बारीको आँप तिमीहरूले खायौ, बढ्यौ, पढ्यौ र आज पुगिसरी भयौ । अब मास्यौ भने पाप लाग्छ, बा ! नमास ।”
    नथुनी बज्यैले गहभरि आँसु पारेर गला अवरुद्ध गर्दै भनिन् ।
    -“अब ती आँपका रुखहरू बुढा भइसके । फल पनि राम्रो दिँदैन, तिनको के काम, हजुरआमा ?” सहनीलालले बज्यैलाई सम्झायो ।
    -“हो त नि है ! यो बुढो हड्डीको के काम ?” नथुनी बज्यैले आँखाबाट बर्र आँसु झारिन् र बर्बराउँदै मेचबाट भुइँमा ढलिन् अनि पर्लक्क आँखा पल्टाइन् ।

    २०८१ भाद्र १० गते श्रीकृष्ण जन्माष्टमी
    ——————-<•>——————


    २)
    लघुकथा: विवश

    ✍️ सुरेशकुमार पाण्डे
    -“साहुजी ! मेरो छोरी बिमार छिन् । कृपया मलाई पाँच हजार ऋण दिनुहोस्; मेरो तलबबाट चुक्ता गरुँला ।” सेरुले साहु मुरलीधरसँग बिन्ती बिसायो ।
    -“हेर सेरु ! मसँग एउटा फुटेको कौडी छैन यो वेला । तँलाई कसरी दिउँ ? अरू यता सुन् तँ काम नसकिकन नजानू नि ।” मुरलीधरले सहयोग दिनुको सट्टा उल्टै रोक्यो ।
    -“तर साहुजी मेरो छोरीको जिन्दगी दाउमा छ । उनलाई एक सय चार डिग्री जरो छ । अस्तिदेखि पैसा नभएर सदरमुकाम ठूलो अस्पतालमा लैजान सकेका छैनौँ । कृपया मलाई सके त थोरै रुपियाँ ऋण दिनु, नसके मलाई नरोक्नु । दुई दिनको बिदा दिनुहोस् ।” सेरुले फेरि दुवै हात जोड्यो ।

    -“तीन दिनदेखि नमरेकी तेरी छोरी आजै मर्छे ? काम नसक्दै तँलाई म छुट्टी दिन सक्दैनँ । काम सकेर जा, अनि फेरि भोलि कामको बेला आइपुग नि । नत्र काममा नआए पनि हुन्छ बुझिस् ।” मुरलीले आफ्नो अडान छाडेन ।

    उता सेरु अत्यन्तै चिन्तित थियो । पाँच वर्षकी छोरी बिरामी भएकोले ‘कहाँ लिएर जाने’ भन्ने चिन्ता थियो । साहुले पैसा दिन पनि मानेन ।
    ऊ आँगनीमा व्याकुल अवस्थामा उभिएको थियो । साहु मुरलीधर कुर्सीमा विराजमान थियो ।
    -“साहुजी नमस्ते !” प्रदिप टुप्लुक्कै आइपुग्यो ।
    -“सेरु ! अर्को कुर्सी ले त भित्रबाट ।” साहुले आदेश गर्यो । सेरुले कुर्सी ल्याइदियो ।
    -“पर्दन सर ! म बस्न लाग्दैन । बरु यो दशहजार रकम राख्नुस्, अरू पछि हिसाब गरौँला ।” प्रदिपले दशहजार रुपैयाँ मुरलीधरलाई थमायो र फर्कियो ।

    सेरु मनैमन खुसी भयो । साहुसँग रुपैयाँ आयो । ‘अब मेरो छोरीको उपचार हुन्छ ।’
    -“साहुजी ! पैसा आइहाल्यो । अब मलाई मेरो तलब दिनुहोस् ।” फेरि हात जोड्दै ऊ मुरलीधरको अगाडि उभियो ।
    -“सेरु ! यो पैसा अर्कै कामको लागि हो, दिन मिल्दैन । अरू पैसा सुको छैन ।” मुरलीधरले फेरि पनि बहाना बनायो ।

    सेरुको सहनशिलताको बाँध टुट्यो । उसले मुरलीधरको हात मरक्क मर्क्याइदियो र सबै पैसा खोस्यो । घरमा अरू कोही पनि थिएनन् । त्यसपछि सेरु फटाफट घर गयो र छोरीलाई अस्पताल लगेर भर्ना गर्यो । केहीबेरमै प्रहरी लिएर मुरलीधर अस्पताल पुग्यो ।
    -“सर ! सेरुले मसँग एकपल्ट छोरी बिमार छ भनेको भए म आफैँ अस्पताल पुराइदिन्थेँ । तर यो डाँकाले मलाई मार्नै खोज्यो । यसलाई छोड्नु हुँदैन ।” मुरलीधरले छाती चौडा गराउँदै भन्यो । उता सेरुले प्रहरीलाई मोबाइलमा रिकार्ड गरेको सुनाउँदै थियोे ।

    दाङ घोराही १८
    २८-०८-२०२४(१२-०५-२०८१)
    ——————-<•>—————–


    ३)
    लघुकथा: झोला

    ✍️ प्रतिज्ञा प्रतिज्ञा
    -“जाने बेलामा हाँसेर बिदा गर्नु है ” उनले भने तर उनको आँखाहरू भरिएका थिए । आँसु खस्नलाई हतार गरिरहेका थिए ।

    बुढी आमाले सकी नसकी छोराको निधारमा रातो टीका टाँस्दै आशिर्वाद दिइन् ।
    -“भगवानले तेरो सधैँ रक्षा गरुन् !”
    उनलेे श्रीमती र आमासँग बिदा मागेर जान आँटेका थिए, आमाले प्रश्न गरिन् ।
    “बाबु ! झोला गरुङ्गो छ, कसरी लग्छस् ?”

    उनले दुखी हुँदै भने ।
    -“योभन्दा त पीरको झोला बोक्न गाह्राे हुँदोरहेछ, आमा !”

    मेहेलकुना सुर्खेत
    २०८१/५/१३
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव, साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ६२

    साताका तीन लघुकथा- ६१

  • ५ श्रावण २०८१, शनिबार १५:५८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (६१औँ) शृङ्खलाका लागि लघुकथाकार दीपक लोहनीको लघुकथा ‘युद्ध’, लघुकथाकार मित्र ‘उराठी’ गौतमको लघुकथा ‘दोष कस्को’ र लघुकथाकार आचार्य प्रभाको लघुकथा ‘हरियो मौसम’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    ——————-<•>——————

    [१]
    लघुकथा: युद्घ

    ✍️ दीपक लोहनी

    उनीसँग आँखा र मसँग मन थियो । अफसोच यी दुई बिच भीषण युद्घ थियो । उनी भन्थिन् ।
    -“तिम्रो मन डरपोक छ ।”
    म भन्थेँ ।
    -“तिम्रा नयन नशालु छन् ।”

    -“तिम्रो मनमा भावनाहरू छैनन् ।”
    -“तिम्रो आँखामा सपनाहरू छैनन् ।”

    -“तिम्रो मन कठोर र जड झैँ छ ।”
    -“तिम्रो आँखा भोको र प्यासी छ ।”
    हैरान भएर, मैले मेरो मनलाई ढुङ्गा बनाएँ र उनको हृदयमा जोडले हानिदिएँ ।
    उनले त्यसलाई च्याप्प समाइन् र आँखाकै झ्यालखानामा थुनिदिइन् ।
    हाम्रो युद्ध अझै जारी छ ।

    कुरिलो घर, काठमाडौँ ।
    ——————-<•>——————

    [२]
    लघुकथाः दोष कस्को ?

    ✍️ मित्र ‘उराठी’ गौतम
    “आफ्नो त यस्तै सानो छ । तैपनि जसोतसो निर्वाह चलाइएको छ ।” साथीसँग दुखेसो पोख्यो घनश्यामले ।
    “तिमीले त यही भए पनि बनायौ । आफू त उपत्यका छिर्नै सकिएन । छोइनसक्नुको जग्गा कसरी किन्नु ? जेनतेन किने पनि घर कसरी बनाउनु ? ” ज्ञानहरिले विवशता प्रकट गर्यो ।

    बिहानी हिँडाइमा गफ गर्दै उनीहरू उकालो चढिरहेका थिए ।
    “त्यो बेला ऋणधन गरिवरि भर्खर प्लटिङ्ग गरेको एक टुक्रा लिइयो । पछि पहाडतिर भएको घरखेत बेचेर मुस्किलले त्यही सानो घर ठडाइयो । बाआमा त गाउँ छोड्न मान्दै मान्नुभएको थिएन । बल्लतल्ल फकाएर ल्याएको ।” घनश्यामले सङ्क्षेपमा विगतको कथा सुनायो ।
    “बाआमाको कुरा ठिकै त हो नि ! बुढेसकालमा आफ्ना साथीसङ्गती, इष्टमित्र छोडेर आफूले पसिना बगाएर जोरेको श्रीसम्पत्ति छोडेर पराइ भूमिमा बसाइँ सर्न कहाँ मान्छ त मनले ? आफ्नो गाउँको प्राकृतिक हावापानीमा स्वतन्त्र भै खेली खाएका बुढाबुढीलाई सहरको बन्द कोठामा ल्याएर राख्नु त जेल हाल्नु जस्तै त हो नि !” मनमा लागेको कुरा सर्लक्क सुनायो ज्ञानहरिले
    ।
    असिनपसिन भएका उनीहरू डाँडोमा पुगेर सुस्ताए ।
    “हेर ! खत्तमै पारे नि, दलेहरूले ।भएको सबै उब्जाऊ भूमि प्लटिङ्ग गरेर कङ्क्रिटको जङ्गल बनाए । अलिकति पारिलो घाम ताप्नु र स्वच्छ हावा खानु पनि दुर्लभै भयो, यो सहरमा । कसरी टिक्ने हो अब ?” डाँडोबाट तलतिर नियाल्दै लाजै पचाएर दलेलाई सराप्यो घनश्यामले ।
    अमरपुर, गुल्मी । हाल तिलोत्तमा-२,रुपन्देही
    ——————-<•>——————

    [३]
    लघुकथा: हरियो मौसम

    ✍️ आचार्य प्रभा
    म कौँसीमा केही सब्जी, तरकारीहरूको बिरूवा रोप्दै थिएँ । अचानक पछाडिबाट आएको मायाको आवाजले झस्किएँ । ऊ भन्दै थिई ।
    -“रिना बजार जाने होइन ? हरिया चुरा र मेहन्दी लाउँन ।”
    मैले भने।
    -“किन लाउँनु पर्यो, हरियो चुरा र मेहन्दी ?”
    उसले भनी।
    -“ए लाटी ! यो श्रावणको महिना होइन ? यो महिनामा हरियो पोते, चुरा र मेहन्दी लाउँदा श्रीमानको आयु बढ्छ रे ! फेरि यो त चाड पनि हो नि !”

    जवाफमा मैले भनेँ ।
    -“यस्तो फजुलको कुरा मसँग नगर । त्यो हरियो पोते, चुरा र मेहन्दी लाउँने पैसाले त घरमा हरियो सागसब्जी, फलफूल ल्याऊ र घरमा सबैलाई खुवाऊ न ! शरीर तन्दुरुस्त हुन्छ । दीर्घायु बन्नलाई त खानपानमा पो ध्यान दिनु पर्छ ।”
    मेरो कुरा सुनेर उसले मुख बटार्दै भनी । -“खाकै छन् नि ! रेष्टुरेन्टबाट मगाउँदै म:म:, चाउमिनहरू । किन खाइराख्नुपर्यो फलफूल ? पेट भर्नु त हो ।”
    मैले जवाफमा भनेँ ।
    -“यस्तै हाम्रो कुबिचारले त ! हामी दिनप्रतिदिन कुपोषणको शिकार बन्दै जाँदैछौँ नि !”
    फेरि उसले जिद्दी गरी।
    -“हिँड न रिना जाऊँ । कमसेकम मेहन्दी त लाउँ ।”
    मैले मेरो करेसाको मेहदीको बोट देखाउँदै भनेँ ।
    -“मेरै बारीमा मेहन्दीको बोट छ । म किन पैसा फालूँ ? यही टिपेर लाउँछु नि !”

    उसले झर्किंदै भनी।
    -“तिमीसँग विचारै मिल्दैन र त ! तिमी एक्ली हुन्छौ । सबै साथीहरू गइसके । म पनि गएँ ।” भन्दै ऊ अगाडि बढी ।
    मैले रोक्दै भनेँ ।
    -“ल ! साँच्चै हरियै बस्तु लाउँने चाड हो भने यो हरियो साग लैजाऊ र परिवारलाई पकाएर खुवाऊ । तिमीहरूलाई साउन महिनाको यही कोसेलीसहित शुभकामना ।”
    ऊ, साग बोकेर बाटो लागी ।
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथा4 Comments on साताका तीन लघुकथा- ६१

    साताका तीन लघुकथा- ५९

  • २६ जेष्ठ २०८१, शनिबार १८:२८ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५९औँ) शृङ्खलाका लागि लघुकथाकार बासुदेव तिमल्सिनाको लघुकथा ‘सेता दारी’, लघुकथाकार श्रीप्रसाद पोखरेलको लघुकथा ‘छोइछिटो’ र लघुकथाकार सविता भट्टराईको लघुकथा ‘प्रतीक्षा’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~
    ——————-<•>——————

    [१]
    लघुकथा: सेता दारी

    ✍️ बासुदेव तिमल्सिना
    “ल ! अब यो सिक्री तानौँ र ऊ त्यो बुढालाई दोष लगाऔँ ।”
    ट्रेनको एउटा कोचमा एउटा बुढो मानिस र केही उदण्ड केटाहरू यात्रा गरिरहेका बेला एउटा उदण्ड केटाले साथीहरूसँग प्रस्ताव राख्यो । सबै केटाहरू हाँसे र सही थापे ।

    अर्को उदण्डले सावधान गरायो- “विनाकारण चेन तान्नेलाई रु.पाँचसय जरिवाना र ६ महिनाको कैद हुन्छ नि ।”
    अर्कोले जुक्ती निकाल्यो- “हामी सबैजनाले पचास/पचास निकालौँ पाँचसय पुगिहाल्छ नि । त्यसमाथि पनि दोष त त्यो बुढालाई लाउने हो नि ! इनकेस तिर्नुपर्यो भने तिरौँला ।”
    बुढाले हात जोडेर धेरै बिन्ती गर्यो तर कसैले एक सुनेनन् ।

    सबैजनाले पचास/पचास उठाए, पाँचसय भयो । त्यसमध्येको एउटाले सबै रुपैयाँ जम्मा गरेर गोजीमा हाल्यो । चेन खिचियो । ट्रेन रोकियो । एकैछिनपछि टी.टी. र केही प्रहरी आएर सोधखोज गरे । ती बदमास केटाहरूले एकै स्वरमा बुढालाई देखाए ।
    “ए बुढा ! तँलाई यो उमेरमा यस्तो हरकत गर्न लाज, डर केही लागेन ?” टी.टी. ले सोध्यो ।
    “साहेब ! चेन खिँच्नु मेरो बाध्यता थियो । मसँग भएको सबै पाँचसय रुपैयाँ यिनीहरूले लुटेर लगे । त्यो पेैसा ऊ त्यो केटाको त्यो चैँ खल्तीमा राखेको छ । मेरा नोटहरू सबै पचासका छन् ।”

    प्रहरीले खल्ती चेक गर्यो । नभन्दै बुढाले भनेझैँ नोटहरू भेटिए । अर्को स्टेसनमा सबै केटालाई कारबाहीको लागि पुलिसले ओराल्यो । ओर्लदै गर्दा सबै केटाले बुढालाई खाउँलाझैँ गरेर हेरे ।

    उनीहरूको हेराइको जवाफमा बुढाले आफ्नो दारीमा हातले मुसार्दै भन्यो- “केटा हो ! मेरा यी दारी घामले डढेर मात्रै सेता भएका होइनन्, बुझ्यौ ?”
    लालबन्दी, सर्लाही
    ——————-<•>——————

    [२]
    लघुकथा: छोइछिटो

    ✍ श्रीप्रसाद पोखरेल
    आज आफ्नै हातले पकाएर मीठो पारेर खाने सोचेर म मसला पिस्न बाहिर निस्किएँ । सिलौटो दुखी मुद्रामा देखेर ठिङ्ग उभिएँ ।
    “के भद्रो हेरेको ? मनमोजी दल ।” सिलौटोले भन्यो । मसला त पिस्नै थियो । छेउमा बसेँ ।
    टिठलाग्दो हेराइले हेर्दै सिलौटोले भन्यो- “सँगैका साथीहरू खोलामा रमाएर बसेका छन्; आफूभने रातोदिन पिसिनुपरेको छ ।”

    मसला पिस्न मेरा हातै लागेनन् । सिलौटो भन्दै थियो- “तिमी मानिसहरू कसैलाई शालिग्राम भनेर पुज्छौ, कसैलाई सिलौटो बनाएर दल्छौ । आखिर हामी एकै आमाका सन्तान त हौँ नि !” सिलौटोले मानिसले गरेको विभेद प्रस्ट्याउन खोज्यो ।

    म एकोहोरो भएर सुनिरहेको थिएँ । त्यसै समयमा लोहोरोले भन्यो- “हुन्देऊ आमा ! यी आफैँ कुजात हुन् । आफ्नै सजातीयलाई त छोइछिटो गर्छन्; हामीलाई के बाँकी राखुन् ?”
    ——————-<•>——————

    [३]
    लघुकथा: प्रतीक्षा

    ✍️ सविता भट्टराई
    “डाक्टर साप ! म कहाँ छु। म किन मरिनँ ? कसरी बाँचेँ ?” अस्पतालको बेडबाट चिच्याउँदै शर्मिलाले भनिन् ।
    “तपाईँको दुवै मृगौला फेलको रिपोर्ट आएदेखि तपाईँको बुढाले छोडेर जानुभयो; फर्केर पनि आउनुभएन l तर हाम्रो अस्पतालको सिक्युरिटी गार्ड जगते बि.क. दाइले आफ्नो एउटा मृगौला दिएर तपाईँलाई बचाउनुभयो ।” डाक्टरले भन्नुभयो ।
    “मलाई किन बचाएको ? मलाई मेरो बुढाले पनि छोडिदिनु भयो । अब म कहाँ जाउँ ?” शर्मिलाले बिलौना गरिन् ।

    “हेर सरु ! जातीय भेदभावका कारण तिमी र म छुट्टिएको आज तीस वर्ष भएछ । तर हाम्रो निश्चल मायाको शक्तिले आज हामी फेरि भेट भयौँ । प्रतीक्षा पनि कहिलेकाहीँ यति सुखद हुँदोरहेछ ।” जगते दाइ भित्र पस्दै भन्नुभयो ।
    “आज प्रणय दिवसको दिन हजुरले आफ्नो अङ्ग, मलाई दिएर अर्धाङ्गिनी बनाउनुभयो । मायामा जातपात ठूलो हुँदोरहेनछ ।” भन्दै शर्मिला भावविह्वल भइन्।
    जनकपुरधाम
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथा1 Comment on साताका तीन लघुकथा- ५९

    साताका तीन लघुकथा- ५८

  • १९ जेष्ठ २०८१, शनिबार २१:११ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५८औँ) शृङ्खलाका लागि लघुकथाकार वत्सराज कोइरालाको लघुकथा ‘भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी’, लघुकथाकार चूडामणि नेपाल ‘अकिञ्चन’को लघुकथा ‘छुइछाइ’ र लघुकथाकार त्रिपूरा खरेलको लघुकथा ‘गणतन्त्र’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    [१]
    लघुकथा: भुलक्कड प्रोफेसरकी असली धर्मपत्नी

    ✍️ वत्सराज कोइराला
    निकै भुलक्कड थिए, प्रोफेसर खड्काजी । कलेजतिर हिँड्ने बेलामा कहिले पर्स बोक्न बिर्सन्थे, कहिले मोबाइल । हत्तपत्त उनकी पत्नीले ‘यो छुट्यो, त्यो छुट्यो’ भन्दै ती चीज ल्याएर उनलाई थमाइदिन्थिन् ।

    बुढीले सधैँ आफूलाई बुद्धू र भुलक्कड भनेर गिज्याइरहेपछि एकदिन प्रोफेसर खड्काजीको दिमागमा एउटा आइडिया फुर्‍यो ।

    भोलिपल्ट बिहान कलेज जानुअघि आफूले लैजानुपर्ने पेन, पर्स, मोबाइल, ब्याग, चस्मा, डायरी आदिको लिस्ट बनाए । त्यसपछि चिनो लगाउँदै ती सामान खल्तीमा, ब्यागमा राखे ।

    त्यसपछि ढोकाबाट निस्केर आँगनमा रहेको मोटरसाइकल स्टार्ट गर्न लाग्दा ढोकामा बुढीलाई देखेपछि मुसुक्क हाँस्दै भने- “देख्यौ बुढी ! आजबाट म भुलक्कड होइन नि !”

    अनि पत्नी नजिकै आइन् र बिस्तारै भनिन्- “मेरो प्यारो भुलक्कड पतिदेव ! हिँड्नुस् भित्र, आज शनिवार हो ।”

    यो सुनेर खड्काजी लाजले पानी पानी हुँदै भने- “धन्यवाद बुढी ! आज बल्ल धर्मपत्नीको असली महत्त्व बुझेँ ।”

    [२]
    लघुकथा: छुइछाइ

    ✍️ चूडामणि नेपाल ‘अकिञ्चन’
    “भनेको मान्दिनस् ? पर समालिएर बस है ।” बिहानैदेखि घरमा भ्याइ नभ्याइ थियो । हजुरआमालाई पूजामा बसेपछि एक घण्टा लाग्थ्यो । पेटको शल्यक्रिया गरेर आएकी आमा सकि नसकी काममा व्यस्त हुनुहुन्थ्यो ।
    “भाउजूको छुइछाइ चारदिन भएको, अझै छुन हुँदैन रे ! लु फटाफट रोटी पकाउनुहोस् त भाउजू ! ओइ बुने तँ आइज तरकारी काट । दुईदिन होस् कि तीनदिन, म डयुटी बस्छु; कसले के गर्दो रैछ, के हुँदोरैछ हेर्छु । कसैलाई यता आउनै दिन्नँ । शरीरको नियमित एउटा प्राकृतिक कुरालाई अपराध बनाउन हुन्न । यो सामान्य कुरा हो । जानु आमा कुर्सीमा बसेर आरामा गर्नु ।” जेठी नातिनी सुधा बोेली ।

    “हाम्रो परिवार र समाज कहिले बदलिन्छ दाइ ? तपाईँहरू पनि त बोल्नु पर्‍यो नि !”
    “खै हजुरआमा, आमासँग कसले सक्ने बहिनी ? बुवा र मैले त बोलेकै छौँ । जबसम्म सम्पूर्ण महिलामा चेतना आउँदैन तबसम्म यस्तै होला बहिनी । हामी लोग्नेमान्छेभन्दा महिलाहरूमा नै परम्परा र धार्मिक कट्टरता बढी देखिन्छ बहिनी !”

    हजुरआमा भटभटेभन्दा ठूलो स्वरमा भटभट्याउँदै पूजा सकेर भर्‍याङ ओर्लनुभयो । फेरि अवस्था परिवर्तन भयो । आमा आएर पिठोमा हात चोब्नुभयो । बहिनी उठेर अर्कैतिर लागी ।
    पूजा सकिँदा तीन बज्यो । आमा एकपटक बेहोस हुनुभयो । हजुरआमा त्यसै रिङ्गटा लाग्यो भनेर ढल्नुभयो । हामीले जीवनजल खुवायौँ ।
    “कुन चाहिँ मोरामोरीले छुइछाइको बेला के बिगार गरे, आज भगवान् रिसाउनुभयो । यस्तो मलाई कहिल्यै भएको थिएन ।”
    “भगवान् होइन, नातिनी रिसाई हजुरआमा ! दक्षिणा कम भयो ।” कोठामा हजुरआमा बाहेक सबै हाँस्न थाल्यौँ । हामीले देखेका पूजा कोठाका र भित्तामा टाँगिएका भगवानहरू पनि हाँसीरहनु भएको थियो ।
    विराटनगर १

    [३]
    लघुकथा: गणतन्त्र

    ✍️ त्रिपुरा खरेल
    जङ्गलमा आमसभा बस्यो । सभालाई हात्ती र स्यालले सञ्चालन गरेका थिए । सभा राख्नुको उद्देश्य थियो, जङ्गलको राजालाई सिंहासनबाट हटाउनु ।

    “हामीले सिंहलाई सत्ताच्युत गर्नुपर्छ । एउटै वंशले राजसत्ता चलाउनु प्रजाहरूका लागि घोर अन्याय होब।” स्यालले टेबल ठटायो ।

    “हामी पनि कमजोर छैनौँ । आफूमात्र खाने अरूको भोकप्यासको वास्ता नगर्ने राजाका विरुद्धमा हामी सबै मिलेर विद्रोह गर्नुपर्छ।” हात्ती गर्जियो ।
    “जङ्गलको राजालाई हटाउनै पर्छ । हामीलाई राजतन्त्र होइन गणतन्त्र चाहिन्छ।” सभामा उपस्थित सबैले नारा लगाए ।
    “शान्त, शान्त ! पहिले हामीले सिंहलाई गद्दीबाट हटाउने उपायबारे सोच्नुपर्छ । त्यसपछि उसले अन्याय गरेर जेलमा थुनेका निर्दोष बाघहरूलाई जेलबाट निकाल्नुपर्छ । यसपछि मात्र हामी प्रजाहरूले सुशासन चलाउनुपर्छ ।” हात्तीले सबैलाई चुप गरायो ।

    “हामीलाई आफ्नो पेट भरेर मस्त सुत्ने अविवेकी अल्छे राजा चाहिँदैन । गरीबलाई गाँस, बास, कपास दिने नेता चाहिन्छ ।” स्यालले पनि हात्तीले जस्तै प्रजातन्त्रको पक्षमा भाषण दियो ।
    सबै मिलेर सिंहलाई जालमा पारेर सत्ताबाट हटाए । जेलको सजाय भोगेका बाघहरूलाई कैदबाट मुक्त गरिदिए । जङ्गली जानवरहरूले हात्तीलाई राजा र स्याललाई जम्बु मन्त्रीको पदभार सम्हाल्ने अनुमति दिए ।


    हात्ती र स्याल खादा माला लगाएर आआफ्नो कुर्सीमा बस्न जाँदै थिए । जेलबाट मुक्त भएका बाघहरूले ती दुईलाई मारेर सत्ता हत्याए ।
    मामरिङ्ग, दक्षिण सिक्किम

    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged नमस्ते आधुनिक लघुकथा मञ्च, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५८

    साताका तीन लघुकथा- ५७

  • १३ जेष्ठ २०८१, आईतवार ०७:०२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५७औँ) शृङ्खलाका लागि लघुकथाकार ललिता ‘दोषी’को लघुकथा ‘तब त बुद्ध’, लघुकथाकार यमुना प्रधानाङ्ग ‘मुना’को लघुकथा ‘भागबन्डा’ र लघुकथाकार सविता भट्टराईको लघुकथा ‘रहर’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १.
    लघुकथा: तब त बुद्ध

    ✍️ ललिता ‘दोषी’
    धनपति बर्बराउँदै आफ्नै सुरमा हिँडिरहेका थिए । बुद्ध भगवान्ले धनपतिलाई रोक्दै भन्नुभयो ।
    “कस्तो उल्झनमा छौ र भक्त ! मलाई पनि देखेनौ ?”
    धनपतिले आँखाभरि आँसु पार्दै बुद्धलाई ढोग्दै भने-
    “कृपया मलाई माफ गर्नुहोस् भगवान् ! मनमा औडाहा भएकाले हजुरप्रति मेरो ध्यान नै गएन । मूर्ख बालकहरूलाई कति भनिसकेँ, ‘गँगटोको बीभत्स हत्या नगर’ भनेर पटक्कै मानेनन् । पिटेको, गाली गरेको पनि हो; केही सीप नै लागेन भगवान् । सधैँ बाटोमा गँगटो मारेको देख्छु ।”

    बुद्ध भगवान्ले नम्र स्वरमा भन्नुभयो-
    “तिम्रो प्राणीप्रतिको प्रेम देखेर खुसी लाग्यो । ल हिँड भक्त, हामी त्यहाँ जाऊँ ।”
    धनपतिको मनमा आशाको किरण उदायो । दुवै त्यहाँ पुगे । दुईजना आठ/नौ वर्षका बालक गंँगटोलाई टुक्राटुक्रा पार्दै रमाइरहेका थिए । बुद्धलाई देखेर दुवैले नमस्कार गरे । बुद्धले आँखाभरि आँसु पार्दै भन्नुभयो-
    “प्रिय बालक ! मलाई तिमीहरूले गँगटो मार्न ल्याएको त्यही लट्ठीले पिट, म सहन्छु ।”
    बालकहरूले एकै स्वरमा भने- “हजुरलाई दुखिहाल्छ नि भगवान् !”
    बुद्धले दुवैको कपाल मुसार्दै भन्नुभयो-
    “जाबो पिट्दा त दुख्छ भन्ने थाहा रहेछ । यी गँगटोहरूको खुट्टाहरू जीउबाट नै अलग्याउँदा कति असह्य पीडा भयो होला भन्ने कुरा किन बुझेनौ बालक ?”

    एउटा बालकले आँखाभरि आँसु पार्दै भन्यो-
    “हामीलाई यसरी बुझाउने कोही नै भएन भगवान् ! हामीलाई माफ गर्नुहोस् । अब हामी कहिल्यै यस्ता पाप कर्म गर्दैनौँ ।”
    अर्को बालकले पनि आँसु पुछ्दै स्वीकृतिसूचक मुन्टो हल्लायो । धनपतिले बुद्धको चरणमा घोप्टिँदै भने-
    “हजुरको प्रशंसा गर्न योग्य शब्द मसँग छैन । तब त हजुर बुद्ध भगवान् हुनुभयो ।”
    बुद्धनगर काठमाडौँ
    ——————-<•>——————-

    २.
    लघुकथा: भागबन्डा

    ✍️ यमुना प्रधानाङ्ग ‘मुना’
    हिमानी धेरै दिनपछि माइत आएकी थिइन् । उनलाई ‘माइतीघर वरपर छरछिमेकमा के भइरहेको छ’ भन्ने बारेमा जान्ने इच्छा भयो । त्यसैले आफ्नी आमासँग सबैको बारेमा जिज्ञासा राख्दै भनिन्-
    “गोमा काकी र श्यामल काका, सन्चै त हुनुहुन्छ नि आमा ?”
    त्यति छोरीले के सोधेकी मात्र थिइन्; आमा चाहिँको आँखा सररर रसाए ।

    “आमा ! के भयो ? तपाईँको आँखामा आँसु ?”
    “कुरा गहिरो छ, छोरी !”
    “भनेपछि पो ! थाहा हुन्छ, आमा ! के हो ? भन्नू न !”
    “तिमीलाई थाहा छ नि छोरी ! ती जोडी समाजमा नमूनाका रूपमा थिए । सबैले भन्थे, ‘चखेवाचखेवीको जोडी’ ।”
    “हो आमा ! थाहा छ ।”

    “विवाह भएको पाँच/छ वर्षपछि पाएका उनीहरूका छोराहरू लाडप्यारमा हुर्किएका थिए । मलाई अझै पनि गोमाले भनेको कुरा सम्झना छ, छोरी ! ‘यी दुई छोरा हाम्रो मुटुको टुक्रा हुन् , राम र लक्ष्मण । दुवै खुब मिल्छन् । अब दुवै हुर्किसके, आफ्नो खुट्टामा उभिइहाले; यसो पढेलेखेका घरानाको छोरी तपाईँको नजरमा छैनन् दिदी ? एउटै लगनमा विवाह गराइदिन्छु’ ।”

    “कुरा निकै मार्मिक होला जस्तो छ । अनि के भयो आमा ?”

    “छोराहरूको विवाह धुमधामका साथ गरे । सब राम्रै थियो । ‘अब ढुक्कसँग हाम्रो जीवन बित्छ दिदी ! नातिनातिना पनि हुर्काइदिइहाल्यौँ ।’ भनेका थिए । ‘साउँको भन्दा व्याजको माया’ खुब सेवा गरेका थिए नातिनातिनाका दुवैले ।”
    “अनि ?”
    “अनि के हुनु नि ! परम्परादेखि चलिआएको रीति, छोराहरूले सम्पत्ति भाग लगाउनेक्रममा आमाबाबु नि भागबन्डा गरे ।”
    मितिः २०७५/०२/०६
    वीरगञ्ज, पर्सा
    ——————-<•>——————-

    ३.
    लघुकथा: रहर

    ✍️ सविता भट्टराई
    “बाबु ! मेरो औषधी सकिएको छ। भरे अफिसबाट आउँदा ल्याइदिनु है ।” औषधीको खाली खोल दिँदै बुवाले भन्नुभयो ।
    “ल ल हुन्छ बुवा ! भरे आउँदा ल्याइदिनेछु ।” भन्दै रमेश अफिसतिर लागे ।
    “बुढा ! हेर्नुस् त छोरालाई औषधी भनेको त अरू पनि केही कुरा ल्याइदिएजस्तो छ ।” आमाले बेलुका घर फर्केको छोराको हातमा भएको पोको देखेर भनिन्।
    “ओहो बुवा ! मैले त तपाईँको औषधी ल्याउन भुसुक्कै बिर्सेछु । भोलि त नबिर्सी ल्याइदिनेछु ल ! यो त शेरूको सामान सेम्पु, बिस्कुट, खानेकुरा हो ।” भन्दै रमेश कोठातिर लागे।

    केही दिनपछि आमाले छोरालाई भन्नुभयो- “बाबु ! बुवालाई डाक्टरकोमा लानुपर्छ कि क्या हो ? रातभरि निद्रामा के के भन्नुहुन्छ, म त कान पनि सुन्दिनँ के गर्नु ?”
    आमाको कुरा सुनेर रमेश राति बुवाको कोठाबाट आएको आवाज सुन्न बुवाको कोठातिर लागे। “प्रभु ! मलाई अर्को जन्ममा शेरू बनाइदेऊ ! पशु भए पनि मलाई शेरूको जस्तै जीवन चाहियो । छोराको माया पाउन मन छ । लुटुपुटु गर्न मन छ ।” बुवाले निद्रामा भनेको शब्दले रमेश नि:शब्द भए । ‘मैले शेरूलाई बढी माया गर्दा बुवाको माया ओझेलमा परेछ ।’ भन्दै पश्चातापको आँसु खसालिरहे ।
    जनकपुरधाम
    ——————-<•>——————-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५७

    साताका तीन लघुकथा- ५६

  • २२ बैशाख २०८१, शनिबार २१:४० मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५६औँ) शृङ्खलाका लागि लघुकथाकार श्रीकृष्ण पौडेलको लघुकथा ‘भातृत्व प्रेम’, लघुकथाकार लक्ष्मी रिजालको लघुकथा ‘फल’ र लघुकथाकार बिष्णु उप्रेतीको लघुकथा ‘सुझाव’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~


    १.
    लघुकथा: भातृत्व प्रेम

    ✍️श्रीकृष्ण पौडेल
    मोबाइलमा घण्टी बज्दासाथ उठाउँदै “हेलो दाइ, नमस्कार ! आराम हुनुहुन्छ ? म भाइ नारन ।”
    “ठीकै छु कान्छा ! यता सुन न, अमेरिकन नागरिकहरूले विभिन्न माध्यमबाट अमेरिका प्रवेश गरी पिआर पाएका/ नपाएका सम्पूर्ण विदेशी नागरिकहरूलाई आफ्नै देशमा फिर्ता पठाउन दबाबस्वरूप आन्दोलन चलाइरहेका छन् । यहाँ कतिबेला के हुने हो थाह छैन । यहाँ त बस्न पनि गाह्रो होला जस्तो पो छ त !”
    भावुक हुँदै अवधेशले गरेको लामो गथासोले नारन पनि भावुक भयो र केही क्षणको मौनतापछि लुकेर आँसु पुछ्दै बोल्यो- “दाइ, कत्ति पीर नगर्नुहोस् है ! हाम्रो पैतृक सम्पत्ति छैन र ? यही आउनुहोस् न ! आफ्नै जन्मभूमिमा, दाजुभाइ मिलेर बसौँला, हुँदैन ?”

    एक हप्ताभित्रै अवधेशको परिवार घर आइपुग्यो । भोलिपल्ट बिहानै नारन सहर हुँइकियो । एउटा बोझिलो सुटकेस बोकेर घर आयो अनि सुटकेस खोलेर “यो दाइ, भाउजुले अमेरिकाबाट ल्याएको मिठाई भन्दै घरमा आएका सबैलाई बाँड्यो ।

    “अवधेश ! अब कहाँ बस्छस् त ? घरबारी, जग्गाजमिन त सबै बेचेर अमेरिकै लगिस् रे भन्ने सुन्थेँ ।” बोल्न पाएपछि कोखैमा मुख फाटेका माईला बाले प्याच्च बोले ।

    “आधा पो बेचेको हो त माइला बा ! आधा त छँदै छ नि । त्यसमा पनि हामी दाजुभाइ कहिले छुट्टिएका थियौँ र ? हामी आठ जनाको एउटै परिवार हो । एउटै घरमा बस्छौँ, कसो ठाइला बा ?” नारनले माइला बाको कुरामा असहमती जनाउँदै बोल्यो ।

    आफूले अमेरिकाको ग्रिनकार्ड पाएपछि आफ्नो अंशमा परेको सबै अचल सम्पत्ति आफ्नै भाइलाई नदिएर महङ्गो थैलीको निहुँमा अर्कैलाई बेचेर गरेको अन्याय र अहिलेको सङ्कटपूर्ण अवस्थामा पाएको भातृत्व सागरामृत बिचको अन्तरले अवधेशले आफैँलाई धिकाऱ्यो र भाइलाई गम्लङ्ग अँगालो मार्दै क्वाँ क्वाँ रुन थाल्यो । आरीसा र उजेलीले ट्वाल्ल परेर अवधेश र नारनलाई हेरिरहे ।
    पोखरा

    २.
    लघुकथा: फल

    ✍️लक्ष्मी रिजाल
    “मनुष्य ! तेरो मनमा भएको कुरो सफल हुने वरदान दिन्छु ।” उसले टाउको उठाउँदा देवी मुस्कुराउँदै थिइन् । चार वर्षसम्म सूर्योदय पूर्व आएर उठबस गरेको फल ठान्यो उसले ।

    यद्यपि उसको मनले विगतका कर्तुत उल्टाउँदै थियोे-

    • लेनदेन नमिलेर आधा दर्जनको ज्यान लिएको घटना ।
    • पाँच वटी सुकुमारीको कुमारीत्व नष्ट गरेर घाँटी छिनालेको कुरो ।
    • बाबुले अङ्कुश लगाउँदा ज्यान लिएर आत्महत्यामा बदलेको अवस्था ।

    साराको आँखामा ऊ पानीमाथिको ओभानो थियोे । कानुनको नजरमा न्यायको सम्राट थियोे । यद्यपि आफ्नै मनले नै उसलाई नरकमा जाकिदिएको थियोे । उसको आँखामा जमेको पश्चतापको आँसु देवी स्वयम्ले पुछिदिँदै थिइन् । देवीकै बलले मनको कालो धब्बालाई सेतो पोतो लगाउने दाउमा थियोे ।

    तत्क्षण इन्स्पेक्टरले कान बटारेर उठाउँदा पो उसले आफूलाई मूर्तिसामु चेतनावस्थामा पायो । नजिकै कुकुर रगत, मासुले मात्तिएका भेट्यो ।
    उसको हातमा हत्कडी परिसकेको थियोे । छुटाउन देवी आइनन् । बरु चिल्लो कुकुर अघि सरेर भन्दै थियोे- “कर्मको फल भोग्न जुनी फेर्नै पर्दैन । फल दिलाउन सबैले सबैतिरबाट सहयोग गर्छन् ।”
    रूपनगर, सप्तरी ।

    ३.
    लघुकथा: सुझाव

    बिष्णु उप्रेती
    “हेर्न कान्छी, यत्रो रमाइलो कार्यक्रम छ, हाम्राे घरमा । तँ जसरी भए पनि आइज् न है कान्छी । तँ आउँदा कति रमाइलो हुनेथियो । दिदीबहिनी घुमिघुमी नाँचिने थियाे। एक दिनलाई त हाे, जसरी भएपनि फुर्सद मिला न !”
    आमाकाे कुरा नसकिँदै छाेरी सुजाता आइपुगी र साेधी- “कस्को फाेन आमा ?”
    “हेर्न सुजु, तेरी सानीमा आजकाे कार्यक्रममा नआउने अरे । भ्याउँदिनँ दिदी ! नरिसाउनु है भन्दै छे ।”
    “आँ हाेस् आमा, त्यस्ता गरिब दुखी, झत्तेमत्ते नआएकै राम्राे । स्तर नमिल्नेले मनैमन डाहा, आरिसमात्रै गर्छन् । ‘अलि राम्रो चिज देखे माग्नु, असन्तोकी हुनु’ यी गरिबहरूकाे त स्वभावै हाे । तपाईँकी बैनीकाे एउटा गतिलाे साडी त छैन हाेला । अनि के आओस् !”

    छाेरीकाे कुरा सुनेर आमा छक्क पर्दै थिइन् । उनकाे माेबाइलमा फेरि फाेन आयाे । बहिनीकै फाेन थियाे। बहिनी भन्दै थिईन् ।

    “दिदी ! एउटा सुझाव दिँदैछु, अन्यथा नमान्नु हाेला है । जहिले पनि फाेन गरिसकेपछि फाेन स्वीच अफ गरेर मात्र अरूसङ्ग बाेल्नु हाेला है । अघि तपाईँले मसङ्ग कुरा गरेपछि फाेन बन्द गर्न नै बिर्सनु भएछ।”
    भक्तपुर राधेराधे।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५६

    साताका तीन लघुकथा- ५५

  • १६ बैशाख २०८१, आईतवार ०७:१६ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५५औँ) शृङ्खलाका लागि लघुकथाकार मुक्ति गौतमको लघुकथा ‘डर’, लघुकथाकार राजेश भट्टराईको लघुकथा ‘जात’ र लघुकथाकार रबि पौडेलको लघुकथा ‘युवाविहीन समाज’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~


    १.
    लघुकथा: डर

    ✍️ मुक्ति गौतम
    आज धेरै दिनपछि पुतली फुरफुर उड्दै आयो र एउटा गुलाबको बोटलाई परिक्रमा गर्दै भन्यो– “के भयो गुलाब दाई ? अनुहार पनि निन्याउरो छ । सुनसान छ खोई त जहान, छोराछोरी ? एक्लै हुनुहुन्छ ?”

    बोटले हल्लिँदै हल्लिँदै भन्यो- “खै के भनुँ ! भनिसाध्यै छैन, पुतली ! कहाँ हो कुन्नि ठ्याक्कै शिवजी जस्तै देउता उत्पत्ति भए अरे । फूल चढाउने भनेर असतीहरूले निमिट्यान्नै पारेर जम्मै फूल चुँडिहाले नि ।”

    पुतलीले फेरि भनी- “तिमी काँडाहरूको के काम घोचिदिनु नि ! के हेरेर बस्यौ तिमीहरू ?
    काँडाहरूले गम्भीर भएर भने- “के गर्नु र पुतली ! मान्छे सारै चतुरो ! हामीसँग तर्की तर्की भएभरका फूलका मुन्टाहरू चुँडिहाले । हाम्रो त ट्वाल्ल परेर हेर्ने बाहेक कुनै विकल्प थिएन ।”

    भँवरो घुनुन घुनुन गर्दै भन्न थाल्यो- “कोमल फूल भएर जन्मिने दिन गए, अब कठोर ढुङ्गा भएर जन्मनु पर्छ । किनकी मान्छे ढुङ्गासँग डराउँछ……।”
    अनि त फूल चढाउँछ ।

    काला पहाड, मणिपुर

    २.
    लघुकथा: जात

    ✍️ राजेश भट्टराई
    “तँ किन जहिले पनि मेरो सामुन्ने पर्छेस् ?”
    “पर्छु भनेर होइन, आफ्नो खेतमा जाँदा जम्काभेट भएको ।”
    “बुढेसकालमा मलाई एक्लो बनाएर मुखमुखै लाग्छेस् ?”
    “धेरै गाली नगर्नुस् । तपाईँकै छोरा मेरो पछि लाग्नुभएको हो ।”
    “अरू सन्तानहरू विदेशिए । बुढी झुन्डिएर मरी । त्यही कान्छो छोरा थियो, बुढेसकालको सहारा; त्यसले पनि तँ पानी नलाग्ने जातको छोरी भगायो र छुट्याइदिएँ ।”
    “मलाई जस्तै आमालाई पनि नराम्रो भनेर सहन नसकेर मर्नुभयो ।”
    “अझ बढ्ता बोल्छेस् ? मेरो खेतमा नटेकिकन गएस् आफ्नो खेतमा । तेरो पाइला पर्‍यो भने त, माटो पनि मर्छ ।”
    गाँठो पर्‍यो मुटुमा । भक्कानिइन् र ‘टेक्दिनँ हजुरको खेतमा, अरूकोमा टेकेर पनि पुग्छु, आफ्नो खेतमा ।’ भन्दै धरधरी रुँदै गइन् ।

    आँफै पकाएर खान्थे उनले । पछि भने बुढेसकालले समात्यो । नसक्ने भए । तर छोराबुहारी कसैले पकाएको खाएनन् । भोकै बसे । एकदिन भने धेरै गाह्रो भयो । बल्लबल्ल उठेर झ्याल बाहिर हेरे । देखे बुहारी छिमेकीसँग गफ गरिरहेको । कचौराले झ्याल हानेर आवाज निकाले । बुहारीले हेरेपछि आउन इसारा गरे, आइन् । भने- “बुहारी पानी खानदेऊ ।”
    झसङ्ग हुँदै भनिन्- “मैँले छोएको त चल्दैन नि बुवा !”
    “नचलाई सास गएन, देऊ ।”
    नजिकै भएको बेलामा पानी सारेर ख्वाइदिइन् । दुई घुट्को निलेपछि टाउको हल्लाए । छोडिन् ख्वाउन । बुहारीको हात समाते र भने- “बुहारी ! जस्ले जीवनको अन्तिम समयमा साथ दियो, उसैलाई जिन्दगीभर दुत्कारेँ । मलाई माफ ग…….l” गयो प्राण ।
    सैनामैना११,रुपन्देही

    ३.
    लघुकथा: युवाविहीन समाज

    ✍️ रबि पौडेल
    गाउँघर अहिले शून्य छ । छन् त वृद्ध अवस्थाका आमाबाबाहरू । गाउँमा काम गर्ने बल भएको मानिस छैन । खनजाेत,भारी बाेक्नेदेखि कुनै अप्रिय घटना घटेमा सहयोग गर्ने मानिस छैन ।

    चमेलीकाे घरदेखि सन्तोषकाे घर धेरै टाढा छ । दिउँसो करिब एक बज्दै थियाे । मोबाइलमा रिङ बज्यो । उठाउनेबित्तिकै चमेलीले सहयोग चाहियो भनिन् । ‘के सहयोग हाेला ?’ सन्तोषले विनम्रतापूर्वक कुरा राखे । उनले गाउँमा एक जनाकाे मृत्यु भएको र लास उठाउन मानिस नभएको कुरा राखिन् ।

    समाज अहिले यस्तै छ । ‘हुन्छ, म व्यवस्था मिलाउँछु भन्दै अरू दुई जना साथी खाेजेर सन्तोष चमेलीकाे गाउँतर्फ लागे ।
    दक्षिण भारत पाण्डेचरि

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ५५

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P