• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: साताका तीन लघुकथा

साताका तीन लघुकथा- ५४

  • १८ चैत्र २०८०, आईतवार ०७:५२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५४औँ) शृङ्खलालाई होली विशेष गराएका छौँ । जसमा लघुकथाकार अवधेश सिंहको लघुकथा ‘होलिका दहन’, लघुकथाकार रमेन्द्र कोइरालाको लघुकथा ‘होली’ र लघुकथाकार गंगा खड्काको लघुकथा ‘परिवर्तन’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १. होलिका दहन

    प्रा. अवधेश सिंह
    हिजो, फागुन पूर्णिमाको रात । होलिका दहनका लागि गाउँको चोकमा दाउराको थुप्रो लगाइएको थियोे । एउटा विशेष काठमा होलिकाको आवाहन र प्राणप्रतीष्ठा गरेर त्यसलाई दाउराको थुप्रोमाथि उभ्याइको थियोे । डम्फु, ढोलक, झ्याली, मञ्जिराको तालमा मान्छेहरू होलीको गीतसँगै गाउँदै नाँच्दै भगवान् विष्णु र त्यस दाउराको थुप्रोको पूजा गर्दै थिए । प्रसाद लिएर आउनेहरूले त्यस दाउराको थुप्रोमाथि प्रसाद चढाउँदै थिए ।

    पूजा सकियो । होलिका दहन गर्ने शुभ मुहूर्त आयो । दाउराको थुप्रोमा आगो सल्काउन थालियो । आगो सल्किएन । घ्यू हालेर आगो सल्काउने प्रयास गरियो । आगो सल्किएन । आगो सल्काउने सत्पात्र भएन कि भनेर पात्र फेरियो । एक होइन, अनेक पात्र फेरिए । आगो सल्किँदै सल्किएन ।

    यी सब हेरिरहेको एक युवकले एक बोतल पेट्रोल ल्याएर दाउरामाथि खन्यायो र आगो सल्कायो । आगो दनदनी बल्यो । पेट्रोल ह्वार्ह्वार्ती जलेर सिद्धियो । आगो फेरि निभ्यो । होलिका दहन भएन ।

    होलीको गीत बन्द भयोे । मानिसहरूको उमङ्ग चिसियोे । अनिष्टको आशङ्काले मानिसहरू संत्रस्त भए । तिनीहरूले सोध्न थाले,
    -“आगो किन सल्किन सकेन ? होलिकाको दहन किन हुन सकेन ?”

    दाउराको थुप्रोमाथि ठडिएको काठबाट आवाज आयो,
    -“ए मनुवाहरू हो ! मलाई जलाउन यो दाउराको थुप्रोमा आगो सलकाउन सक्ने सत्पात्र तिमीहरू मध्ये कोही पनि छैनौ । अनि तिमीहरूले नै बनाएका विधाताहरूबाट रक्षा कवच चुनरीको वरदान प्राप्त छ मलाई । जबसम्म तिमीहरू कामी, लोभी, अहङ्कारी्, अन्यायी, अत्याचारी, दुराचारी, भ्रष्टाचारी, विश्वासघातीहरूलाई विधाता बनाइरहन्छौ; तबसम्म म सुरक्षित रहनेछु, हिरण्यकश्यपुको साम्राज्य फैलिरहने छ र प्रह्लादहरू प्रताडित भइरहनेछन् ।”

    लक्ष्मीपुर गा. पा. ४, ब्रह्मपुरी, सिराहा
    हाल नागार्जुन न.पा. २, साकेत मार्ग , शान्ति टोल, काठमाडौं
    २०८०/१२/१२

    २. होली

    रमेन्द्र कोइराला
    उसले पर्सबाट उनको तस्बिर निकाल्यो । तस्बिर हेर्दाहेर्दै ऊ स्मृतिको सागरमा पौडिन थाल्यो । उनको भाग्दै गरेको चित्र प्रष्ट आउन थाल्यो । मानौँ उनी चित्रबाट बाहिरी संसारमा आएकी हुन् ।

    वास्तवमा उनी खेतमा भाग्दै थिइन् । ऊ चाहिँ हातमा रङ, अबिर लिएर पछ्याउँदै थियो । उनी भाग्दाभाग्दै खेतबाट टाढा जङ्गलतिर पुगिन् । केही दूरीमा ऊ पनि रङ दल्न लखेट्दै थियो । केही क्षणमा उसले भेटिकनै छाड्यो । एकछिन दुवैले सास नियन्त्रित गरे । भेट्न सकेकोमा दुवै एकअर्कालाई हेर्दै हाँस्न थाले ।

    मौका पारेर उसले रङ, अबिर दल्न थाल्यो । उनले पनि दल्न थालिन् । दुवैले इच्छा बमोजिम रङ, अबिर दले । खुब मजा आयो । दुवै आनन्दित भए । करीब दुई घण्टा त्यतै बिताएपछि कहिले नछुट्टिने भनेर वाचाबन्धन पनि गरे ।

    आज होलीको दिन बिहानैदेखि त्यो दृश्य शूल बनेर उसको ह्र्दयमा गढेको थियो । किनभने त्यसैदिन बेलुका उनको कुरा अर्कैसँग छिनिएको रहेछ ।
    कारण ऊ आफू तल्लो जातको थियो ।

    इनरुवा -९ बबिया, सुनसरी
    ०८०/१२/१२

    ३. परिवर्तन

    गंगा खड्का
    भरतको आँगनभरि होली खेल्नेको रमझम थियो । रङले पोतिएर प्रायः मान्छे रङ्गीबिरङ्गी भएका थिए । कोही नाचमा मस्त थिए भने कोही रङसँगै आफ्ना सपनालाई रङ्गीन बनाउँदै थिए । भुमिका भने आँखाबाट खसेका आँसुको रङलाई झन्झन् बेरङको बनाउँदै थिइन् ।
    -“अन्टी !” भुमिकालाई जेठाजुकी छोरी अंशुको आवाजले झसङ्ग बनायो ।

    -” हजुर !” उनले यतिमात्रै के बोलेकी थिइन् , अंशुले उनलाई तान्दै बसेको ठाउँबाट उठाइन् । उनलेे थालभरि राखेका थरीथरीका रङमध्ये रातोतर्फ हात लम्काइन् । गम्म मुठ्ठाएर रङ हजुरआमालाई दिँदै भनिन् -“हजुरआमा ! लिनुहोस् रङ अनि उमेरमै सिउँदो उजाडिएकी अन्टीको फुङ्ग उडेको अनुहारमा दलिदिनुहोस् । नारीप्रति हुने सकारात्मक परिवर्तन घरबाटै सुरु हुनुपर्छ ।”

    बूढानीलकण्ठ ,काठमाडौँ
    २०८०-१२-११

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५४

    साताका तीन लघुकथा- ५३

  • ४ चैत्र २०८०, आईतवार ०८:०२ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५३औँ) शृङ्खलाका लागि लघुकथाकार प्रा.डा. प्राज्ञ खेमराज खनालको लघुकथा ‘बोतल’, लघुकथाकार ढाकामोहन बरालको लघुकथा ‘स्वामित्व’ र लघुकथाकार सुरेशकुमार पाण्डेको लघुकथा ‘छिमेकी’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १. लघुकथा: बोतल

    ✍️ प्रा.डा. प्राज्ञ खेमराज खनाल
    ठाकुर चारतारे होटल गए । यसपटक मुनाफा धेरै भएकाे थियो । श्रम मारेर मजदुरको खुबै शोषण गरेका थिए । मुनाफा थोरै देखाएर राष्ट्रलाई मनग्गे ठगेका थिए । राजनीतिक पार्टीलाई केही मन्साउँथे । पत्रकारहरूलाई अलिकति चढाउँथे । आज उनको हर्कबढाइँकाे दिन थियो । परिवारका साथ दुईचार बोतल महँगो रक्सी रित्याए ।

    श्रमिक छाप्रे भट्टीमा पस्यो । साहुले मजदुरीबाट निकालिदिएकाे थियो । नेताहरूले उसका कुरा सुनेनन् । पत्रकारहरूले उसको गुनासो बुझेनन् । स्वास्नीकाे सारी झुत्रिन लागेको थियो । छोरी सरकारी स्कुलमा फेरि पनि फेल भई । मनभरि पिर बह भरिएको थियो । साथीका साथ दुईचार बोतल ठर्रा घुट्क्यायो ।

    दुवैले बोतल रित्याएका थिए । मात्र बोतलकाे स्रोत, क्वालिटी, दाम, उद्देश्य र मात्रा फरक थिए । ठाकुरको बोतलमा गरिबको रगत भरिएको थियोे । श्रमिकको बोतलमा आफ्नै श्रम भरिएको थियो । ठाकुरको बोतल महँगो रक्सीले भरिए पनि दुषित थियो । श्रमिकको बोतल सस्तो ठर्राले भरिए पनि पवित्र थियोे ।
    धरान, नेपाल
    २०८०/०९/२३

    २.लघुकथा: स्वामित्व

    ✍️ ढाकामोहन बराल
    राम्रो र लामो खालका सुगन्धित अगरबत्ती बालिएको थियो । वातावरणमा यसको बास्ना छरिएको थियो ।
    “आज कति भए ?” हरिप्रसादले सोधेको सुनियो । निरुले टाउको उठाएर हेरिन् र पहिलाजस्तै मुन्टो निहुराएर बसिन् ।
    “भोलि त पाँचै दिन हुन्छ्न् ।” नित्यानन्दले हरिप्रसादलाई जवाफ दिए ।

    “अघिल्लो जुनीमा धर्म गरेका रहेछ्न् बाले, त्यसैले तँ जस्ती छोरी पाए यो जुनीमा ।” गान्धारी आमैले भन्नुभयो ।
    “बाको सेवा यसले जसरी कसले गर्‍यो होला र ! झरी, बादल, वर्षा, चर्को घाम र ठिहिर्‍याउने जाडो केही भनिन । बालाई लिएर अस्पताल दौडिई ।” जमुनाले पनि भनिन् ।
    “धन्य घरका पनि सहयोगी रहेछ्न् र बालाई केही भएको थाहा पाउनेबित्तिँकै टाउकाले टेकेर भए पनि आइहाल्थ्यौ ।” गान्धारीले भनिन् ।
    “अब त बिग्रन्छ पनि होला ।” निरुले सुस्तरी भनी ।

    “के गर्ने बाबै ! जिउँदामा तैँले जतिसुकै गरे पनि मरेपछि दाइ नआई उठाउन नमिल्ने ।” जमुनाले भनिन् ।
    गेट बाहिर एउटा मोटर रोकियो । आँगनमा जम्मा भएका मान्छेहरू सलबलाए । घरको समाचार सुनेपछि छ वर्षमा छोराहरू घर आएका थिए । निरु जुरुक्क उठी । आउँदै गरेका दाइहरूको अगाडि गई । उसले चार दिनदेखि अन्तिम संस्कार हुन नपाएको निरुको बुबाको पार्थिव शरीरजस्तै सबैजना स्तब्ध हुने गरेर भनी- “दाइ ! मैले हजुरहरूका बुबालाई बचाउन सकिनँ ।”
    पोखरा ७ मासबार , कास्की ।

    ३. लघुकथा: छिमेकी

    ✍️ सुरेशकुमार पाण्डे

    “अस्ति पनि आएको थियो । हिजो पनि आएको थियो । अचेल रुपलाल राधिकाको घरमा खुबै आउनेगर्छ।” लिखुरीले आफ्नो लोग्नेलाई बिस्तारै भनी।
    “होला केही काम ! तिमीले किन टाउको दुखाउनुपर्‍यो, बित्थामा ? अर्काको घरमा को आउछ को जान्छ ।” नरे आफ्नो स्वास्नीसँग झर्कियो ।

    “हजुरसँग त बोल्नै हुँदैन ।” उसले रिसाएझैँ आफ्नो नाक मुख बिगारी।
    “लिखुरी ! यसमा तिमी रिसाउँनै पर्ने कुरा के छ ? अर्काको घरमा को आयो, किन आयो ? त्यो उनिहरूको समस्या हो । तिम्रो हाम्रो चिन्ताको विषय होइन ।” नरेले लिखुरीलाई सम्झाउँन खोज्यो ।
    “हामी छिमेकी भएपछि छिमेकमा महिला मात्र भएको बेला पुरुष आइरहँदा चिन्ता त गर्नैपर्छ ।” लिखुरी अलि चर्को बोली ।

    “हो हामी छिमेकीको नाताले राधिकाको हालचाल सोध्नुपर्छ तर चियोचर्चा गरेर आफ्नो समय खेरा फाल्नुहुँदैन । तिमी कतिपटक गयौ, तेस्का घर भन त ?” नरेले सोध्यो।
    “ऊ पनि एक सातादेखि आएकी छैन । ऊ नआएपछि म पनि किन जाम् ?”- लिखुरीले भनी ।
    “बरू उस्को घरमा सञ्चो विसञ्चो के छ बुझेर आऔँ, हिँड ।” नरेले लिखुरीलाई सम्झाउँदै भन्यो।

    केही समयपछि दुवैजना राधिकाको घरमा गए । राधिकाको एउटा खुट्टामा प्लास्टर गरिएको थियो।
    “यो कसरी भयो ?”
    “घरमै लडेर खुट्टा भाँचियो । हजुरहरूको नम्बर पनि थिएन । महेशको रुपलाल दाइसँग चिनजान रहेछ । उहाँले नै विदेशबाट फोन गरेर पठाइदिनु भयो।” राधाले आफ्नो बारेमा जानकारी गराई।
    दाङ घोराही १८
    १५-०३-२०२४, (०२चैत्र२०८०)

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथा5 Comments on साताका तीन लघुकथा- ५३

    साताका तीन लघुकथा- ५२

  • २७ फाल्गुन २०८०, आईतवार ०९:०४ मा प्रकाशित
  • यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: बगैँचाको फूल

    ✍️ शुक्रराज कुँवर
    घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
    “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”

    बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”

    उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”

    “खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।

    त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।

    “अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।

    “हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।

    नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
    बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
    बलभद्रपथ , धरान १०
    २०८०/११/२०

    २) लघुकथा: सन्तान

    ✍️ प्रभादेवी पौडेल
    “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
    यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।

    आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्‍याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
    मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
    बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
    भरतपुर ९ , चितवन
    २०८०/ ११/ २६

    ३) लघुकथा: हतारो

    ✍️ सविता के.सी.
    उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
    “गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
    “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
    “आजै”
    “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
    उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
    दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
    म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !

    साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५२औँ) शृङ्खलाका लागि लघुकथाकार शुक्रराज कुँवरको लघुकथा ‘बगैँचाको फूल’, लघुकथाकार प्रभादेवी पौडेलको लघुकथा ‘सन्तान’ र लघुकथाकार सविता के.सी.को लघुकथा ‘हतारो’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: बगैँचाको फूल

    ✍️ शुक्रराज कुँवर
    घरकी बुहारी नानीले ‘खाना खाने बेला भयो’ भनेर सासू ससुरालाई जनाउ गरिन् । दुई बुढाबुढी जसै खाना खाने टेबुलनेर आए बुढालाई हेर्दै बुढी गनगनाइन्-
    “कुकुरलाई जस्तो फ्यात्त राखेर जान्छन् ।”

    बुढीको कुरा सुनेर बुढा बा ले भने- “भो भो धेरै गनगन नगर् । यत्ति भएपनि खान लाउन दिएका छन् । मलाई पनि छोराबुहारी नातिनातिनासङ्गै बसेर खान मन छ नि ! तर के गर्नु, आफूले केही गर्न सकिने होइन । चित्त बुझाउनुपर्छ ।”

    उता भान्सामा बुहारी नानीले सबै कुरा सुनिरहेकी थिइन् । उनले आफ्ना पतिलाई भनिन्- “धेरै दिनदेखि बाआमाले सङ्गै बसेर खाना खाउँ भनिरहनुभएको छ । म त सक्दिनँ है ! आफैँ जान्नुस् ।”

    “खै ! के भएका यी बुढाबुढी, बनाई तुलाई खानदिएकै छ । सङ्गै खान बस्यो, ख्याँक ख्याँक र खुँक खुँक गर्छन् । खाँदै गयो र्याल झार्दै गर्छन् । कस्तो घिन लाग्छ मलाई त । आँ ! छोड्देऊ भयो, गनगन गर्दै गर्छन् ।” पतिले आफ्नी पत्नीको काँध थाप्दै भने ।

    त्यसैबेला खेल्न गएका केटाकेटी दगुर्दै आए । “ल ल हात सात धोएर खाना खान बस ।” बुहारी नानीले छोराछोरीलाई स्नेहपूर्वक भनिन् ।

    “अरूबेला त स्कूल जाने हतार हुन्छ । छुट्टीको दिन, हजुरबुवा हजुरआमासङ्गै बसेर खाने हामी त !” भन्दै नातिनातिना हजुरबुवा हजुर आमाको छेउमा गएर बसे ।

    “हजुरआमालाई त खान पनि आउँदैन, मुखबाट कति र्याल झारिसेको हजुरले ।” नाति केटोले माया जताउँदै हजुरआमाको मुख पुछिदियो ।

    नाति केटोको माया देखेर हजुरआमा पुलकित भइन् र बुढा तर्फ फर्केर मधुर मुस्कान छाडिन् ।
    बुढीको पुलकित हाउभाउ देखेर बुढा बा ले भने- “देखिस् त ! कति सुवासित छ बगैँचाको फूल ?”
    बलभद्रपथ , धरान १०
    २०८०/११/२०

    २) लघुकथा: सन्तान

    ✍️ प्रभादेवी पौडेल
    “बुढा ! म अब धेरै बाँच्दिनँ होला । एकपटक छोराहरूको मुखसम्म हेरेर मर्न पाए हुन्थ्यो ।” भनेर हस्पिटलबाट भर्खर डिस्चार्ज भएर घर आएकी कौशल्याले पुण्यलाई भनिन्।
    यो सुनेर उनी निकै दुःखी हुँदै आफ्ना अमेरिका भएका दुवै छोरालाई पालैपालो फोन लगाए । सायद कामको व्यस्तता हो या समयको फरकले गर्दा हो बुढी बिरामी भएदेखिनै उनले पटकपटक फोनमा प्रयास नगरेका होइनन् तर ‘कहिले निद्रा त कहिले काममा छु पछि कुरा गरौँला’ भन्दै अरू कुरै नसुनी उनीहरुले फोन राख्दै आए ।

    आमाको अवस्था नाजुक छ भन्ने खै कसले खबर पुर्‍याएछ कुन्नि ! जेठो आमाको अन्तिम अवस्थामा मुखमा पानी हाल्न टुप्लुक्क आइपुग्यो ।
    मर्ने बेलामा ‘कान्छा ! कान्छा !’ भन्दै आमाको श्वास रोकियो । यो देखेर बाले जेठालाई सोधे- ” ठुले ! भाइ खै त ?”
    बाको कुरा सुनेर जेठाले सजिलै उत्तर दियो- “म पनि त्यति सजिलै कहाँ आउँन पाएको हुँ र ? अनेक ताल बिन्ती गर्दा बल्लतल्ल मालिकले दस दिनको छुट्टी दियो । परदेशको बसाइँ, घरको लोन, केटाकेटीको पढाइ, एकदिन काममा नगए मुखमा माड लाग्दैन । पटकपटक एउटै मान्छे नेपाल आइरहन अनुकूल नमिल्न सक्छ, त्यसैले हामीले त पालो गरेका बा !”
    भरतपुर ९ , चितवन
    २०८०/ ११/ २६

    ३) लघुकथा: हतारो

    ✍️ सविता के.सी.
    उनी डाँको छाडेर रोइरहेकी थिइन् । मैले सोधेँ- “तिमी किन यसरी रोएकी ?”
    “गुरुबा त बित्नुभयो ।” उनले भनिन् ।
    “ला, हो र ! कहिले बित्नुभयो ?” मैले सोधेँ ।
    “आजै”
    “अजम्बरी त को छ र संसारमा ? तर उहाँ अमर हुनुहुन्छ । उहाँको कृतिले उहाँलाई अनन्तकालसम्म अमर बनाउने छ ।” म भनिरहेको थिएँ । उनी रोइरहेकी थिइन् । “यति धेरै मन नदुखाऊ । कर्म पो गर्ने हो ।”
    उनले भनिन्- “म स्टेजमा उभिएर माइकमा चिच्याइरहेकी थिएँ । उहाँको उपचारको लागि सहयोग मागिरहेकी थिएँ । जसले सहयोग गर्छु भनेन, एकपटक हालखबरसम्म सोधेन । पार्थीव शरीर अस्पतालबाट निकालेको पनि छैन । तर उसले फेसबुकमा फोटो सहित हार्दिक श्रद्धाञ्जली राखेछ । अनि त ! कम्ता मन दुखेन मेरो ।”
    दाहसंस्कार नगरी श्रद्धाञ्जली लेख्ने चलन नै थिएन । म पनि झसङ्ग भएँ । “स्वार्थी मानिसहरू यस्तै हुन् । नाम चाहन्छन् । यस्तै बेला हो मानिसको व्यवहार चिन्ने । अब नरोऊ ।”
    म पनि मन भारी पारेर हिँडे । मानिसको व्यवहार यस्तो पनि हुन् नि !

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, वसन्त अनुभव, साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५२

    साताका तीन लघुकथा- ५१

  • १९ फाल्गुन २०८०, शनिबार १६:१४ मा प्रकाशित

  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।

    यस साताको (५१औँ) शृङ्खलाका लागि लघुकथाकार ललिता दोषीको लघुकथा ‘गोप्य कुरा’, लघुकथाकार सत्या अधिकारीको लघुकथा ‘धरातल’ र लघुकथाकार कमला देवकोटाको लघुकथा ‘एक नारी ब्रह्मचारी’ उत्कृष्ट तीनभित्र परेका छन् ।
    ~<•>~

    १) लघुकथा: गोप्य कुरा

    ✍️ ललिता ’दोषी’
    रमोलाले आँसु झार्दै भनिन्- “नानी ! मलाई यो कालकोठरीबाट आजै निकाल । बुहारीले लुकाईलुकाई दुधमा घोलेर मन्द विष दिन्छे । अस्ति मैरै आँखाले देखेँ । कृष्णा बजैलाई पनि त्यसै गरी मारेका हुन् अरे, उनका छोराबुहारीले । नपत्याए हेर, तिनीहरूले फ्याँकेको विषको खोल लुकाएर राखेकी छु ?’’

    सुलोचनाले आमाको औषधि राखेको बट्टा हेरिन् । साँच्चै त्यो औषधि मात्र थिएन । भाउजूको कोठामा पस्दै चर्किन्- “मलाई थपक्क आमाको कार्ड दिनुहोस् ।’’
    बिनिताले बोली लरबराउँदै भनिन्- “कार्ड मसँग छैन । दाइ काजबाट आएपछि उहाँसँग नै माग्नुहोस् ।’’

    सुलोचनाले ‘अहिल्यै पुलिस केस गरिदिन्छु बुझ्नुभयो’ भन्दै आफैँले बक्स पलङको घर्रा खोलिन् । कार्ड पाएपछि आमालाई लिएर निस्किइन् । नर्भिकका डा. मणिले कार्ड हेर्दै भने- “आज तपाईँ आउनुभएछ । आमालाई अलि गाह्रो भयो कि ?’’
    रमोलाले भनिन्— “गाह्रै हुन्छ डाक्टर बाबू ! छोराबुहारीको पेटमा हरि छैन ।’’

    डा.मणिले नम्र स्वरमा भने— “खोइ ! मलाई त उहाँहरू देवताझैँ लाग्छ । हजुरलाई केही हुँदैन । एकैछिन बाहिर जानुहोस् । म बहिनीसँग कुरा गर्छु ।“
    रमोला बाहिर निस्किइन् । सुलोचना औषधिको खोल देखाएर बोल्न लागेकी थिइन् । सोही समय डक्टरलाई रमेशको फोन आयो । फोन राखेर उनी भन्दै थिए- “यो दुखाइ कम गर्ने खाने औषधि हो । आमालाई क्यान्सर भएको गोप्य राख्नु अरे ।“
    २०८०।२।१२
    बुद्धनगर, बानेश्वर, काठमाडौँ
    ~<•>~

    २) लघुकथा: धरातल

    ✍️ सत्या अधिकारी
    सबैको शीतल छहारीजस्तै थियो, डाँडाको बुढो पीपल । गर्मीयाममा बटुवाहरू थकाई मेटाउन यहीँ आउने गर्दथे । पोहोरको बर्खायाममा एउटा लहरो आश्रय खोज्दै आयो र त्यै बुढो पिपलमा लपक्क टाँसियो । उसँगको साथले हलक्क बढेर लहरोले छिटै नै पीपलको टुप्पो छोयो ।

    “पिपल दाइ ! हजुर कति वर्षको हुनुभयो ?” लहराले सोध्यो ।
    “खै, सय वर्षको भएँ कि ?”
    लहरोले हाँस्दै भन्यो- “हैन, तपाईँले बढ्न जान्नुभएन के रे ! म त यति छोटो समयमा नै तपाईँजत्रै भएँ ।”
    पिपलले गम्भीर हुँदै लहरालाई सोध्यो- “तिमीले जाडो, गर्मी भोगेका छौ ?”
    “छैन ।” लहराले जवाफ दियो ।
    “आँधी तुफानको झोक्का महसुस गरेका छौ?”
    “छैन” लहरा बोल्यो।

    पिपलले सत्य ओकल्यो- “हेर ! ती भनेका जीवनका कठिन समय हुन् । यस्ता विपदमा ज्यान जोगाउन गाह्रो हुन्छ । मेरो यो उमेरसम्म आइपुग्दा तिमीजस्ता लहराहरू त कैयौँ आए । सबैलाई मैले जोगाएँ ।”

    चौतारीमा बसेको बटुवाले उनीहरूको कुरा सुनिरह्यो । मनमनै सोच्यो- ‘बर्खामा उम्रने र हिउँदमा सुक्ने लहराहरूले आफ्नो धरातल बिर्सेर पिपलको उचाइ मापन गर्न सक्छन् र ?
    ~<•>~

    ३) लघुकथा: एक नारी ब्रह्मचारी

    ✍️ कमला देवकोटा
    पत्नीको शव जलेको ठाउँमा झल्लु छट्पटिँदै यताउता गरिरहेका थिए । दाजुभाइ, इष्टमित्र कुरामै मस्त थिए । केही महिलाहरू आपसमा दिवङ्गत नानी बारे भए नभएका कुरा गर्दै थिए- ‘मरेकै जाती, तेस्ती रोगी । केही गर्न नसक्ने, पतिलाई पनि बोझ, खर्चको बाढी ।

    यत्तिँकैमा एक लमी झोला बोकेर फटाफट आए । झल्लुनेर बसेर चेपारो पारे- ‘ओहो, कस्तो दु:खद !’
    यसो हात समातेर पर लगेर भने- “हेर भाइ ! बल्ल अब छुटकारा पायौ । अब बिहे गरेर नयाँ जीवनको सुरुआत गर ।”

    “के रे ? लाज छैन, यस्तो अवस्थामा सान्त्वना दिनु त कता कता हो, उल्टै यस्तो बोल्ने, पागल । जा तँ किन यहाँ आएको ?”
    “म त तिम्रै हितको लागि बोलेको । अन्यथा नलेऊ, यत्रो जीवन कसरी जिउँछौ ?”

    झल्लुले आक्रोशित हुँदै भने- “मलाई तेरो सङ्गतको खाँचो छैन । नत तेरो सल्लाह नै लिन्छु । म त एक नारी ब्रह्मचारी, बुझिस् ?”
    पाल्पा
    ~<•>~

    facebook sharing button
    twitter sharing button
    messenger sharing button
    whatsapp sharing button
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged साताका तीन लघुकथा2 Comments on साताका तीन लघुकथा- ५१

    साताका तीन लघुकथा- ५०

  • ६ फाल्गुन २०८०, आईतवार ११:२१ मा प्रकाशित
  • साताका तीन लघुकथा हिमालयन दृष्टि र नमस्ते आधुनिक लघुकथा मञ्च बिचको सहकार्यमा सञ्चालित साप्ताहिक स्तम्भ हो । यस स्तम्भमा नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा साताभर प्रेषित लघुकथाहरू मध्ये मञ्चले छानेर पठाएका उत्कृष्ट तीन लघुकथाहरू प्रकाशन हुने गर्दछन् ।
    यस साताको (५०औँ) शृङ्खलाका लागि लघुकथाकार अमर त्यागीको लघुकथा ‘वृद्धालय’, लघुकथाकार रुद्र अधिकारीको लघुकथा ‘विषमता’ र लघुकथाकार धनसिंह बिश्वको लघुकथा ‘सङ्गत’ उत्कृष्ट तीनभित्र परेका छन् ।

    १) लघुकथा: वृद्धालय

    ✍️ अमर त्यागी
    मेरो जन्म हुनुपूर्व नै मेरो देशले अशिक्षा नियुक्त गरेको थियो । त्यही अशिक्षाद्रोहको अभियोग लगाएर देशले मेरी निर्दोष र निहत्था आमाको निर्ममतासाथ हत्या गऱ्यो र त्यही अशिक्षाद्रोहको आरोप लगाएर देशले मलाई पनि घरबाट निकालिदियो ।

    घरबाट निकालिएको निरीह बालक म अनेक पीडा र प्रताडना सहँदै अशिक्षाविरूद्धमा घोर युद्धको प्रारम्भ गरेँ र जवानीकालसम्म लडिरहेँ । अन्त्यमा अशिक्षा मसँग पराजित भयो ।

    अशिक्षा पराजित भएपछि देशले फेरि बेरोजगारी नियुक्त गऱ्यो । बेरोजगारीसँग पनि कठोर सङ्घर्ष थालेपछि बेरोजगारीद्रोहको आरोप लगाएर मलाई मेरै देशले देशनिकाला गरिदियो ।

    त्यही बेरोजगारीद्रोहको अभियोगमा हरेक दिन हजारौँ युवाहरू देशनिकाला भइरहेका छन् र देश वृद्धालय बनिरहेको छ । अनि यो वृद्धालय विदेशीले चलाइरहेका छन् ।

    २) लघुकथाः विषमता

    ✍️ रुद्र अधिकारी
    “माँ ! भुइँतला कसलाई भाडामा दिनु भएको छ ?” विदेशबाट आएको छोरोले जिज्ञासा राख्यो ।

    “कार्कीका ‘मिजन्तो मिसा’, सारै ‘बाँला’ छन् ।” आमाले जवाफ दिइन् ।

    आमाले सारै राम्रा श्रीमान् श्रीमती बस्छन् भन्नुभएकोले एकछिन कुराकानी गर्न छोरो भुइँतलामा गयो । संयोगवश उसले आफ्नो कलेज पढ्दाको साथीलाई देख्यो । दुवैले हात मिलाए र अङ्गालो मारे । साथीले उसलाई श्रीमतीसँग पनि परिचय गरायो ।

    साथीकी श्रीमतीले अचम्मित भावमा “हजुर यहाँ के कति कामले पाल्नुभयो त ?” भनेर सोधिन् र चिया पकाउन थालिन् ।

    उसले हाँस्दै भन्यो- “यो मेरो घर हो । हामी विदेशमा बस्छौँ । माँ र बालाई पनि विदेश लान खोजेको, जान नै मान्नु हुँदैन ।”

    जवाफ सुनेपछि साथीकी श्रीमतीले ग्यास बन्द गरिन् र फुत्त बाहिर निस्किइन् । उसले के भयो भन्ने मेसो पाएन ।

    साथीले गम्भिर मुद्रामा हात जोड्दै भन्यो- “हामीलाई माफ गरिदेऊ । दलित भएको कारणले काठमाण्डौमा डेरा पाइएन । थरमा भएको कार्की डोलीको डोली लुकाएपछि बल्ल डेरा पाइयो । बिडम्बना ! आफ्नै साथीको घर परेछ । हामीबाट तिम्रा बाआमा माथि ठुलो पाप र अन्याय हुन गयो । अब कसरी मुख देखाउनुँ ?”

    उसले जवाफमा भन्यो- “भाउजूलाई बोलाऊ; चियामा दुध र चिया रङ्ग थपेर ग्यास पुन: बाल्न लगाऊ । माँ र बालाई लिएर म चिया पिउन आउँछु ।”
    ईटहरी-१९, सुनसरी (हालः लन्डन)

    ३) लघुकथा: सङ्गत

    ✍️ धनसिंह बिश्व
    बाटोमा मौरी र झिँगोबिच घनिष्ठ मित्रता भयो । मौरीले साथी झिँगोलाई आफ्नो घर लग्यो । मौरीको घरभित्र पस्ने बित्तिँकै झिँगोले रिसाउँदै भन्छ- “मलाई त निसास्सिएझैँ भयो नि । उफ ! के गनाएको साथी ? तिम्रो यो मधु गनाएर टाउको दुख्यो, रिङ्गटा लाग्यो । बान्ता आउनै आँट्यो। अब म बस्न सक्दिनँ, साथी । म बाहिर जान्छु, साथी ! तिम्रो घरमा एकक्षण बस्न सक्दिनँ ।” झिँगो रिसाउँदै र लर्बरिँदै मौरीको घारबाट बहिर निस्कियो ।

    मौरी पनि आफ्नो घारबाट बहिर निस्केर भन्यो- “पर्ख न साथी ! केही त खाएर जाऊ । मेरो घरमा आएर केही भएन ।”
    “के छ र खानूँ ? म गएँ ।” झिँगो रिसाउँदै हिँड्यो ।
    केही समयपछि फेरि भेट भयो । झिँगोले खातिरदार गर्दै भन्यो- “ओहो मित्र ! आज मेरो घर जाऊँ । अतिथि सत्कार कसरी गरिन्छ ? म सिकाउँछु ।”
    झिँगो साथीलाई आफ्नो घर लिएर हिँड्यो। उड्दै गएर कुनै मरेको, गनाउने सिनो माथि पुर्‍यायो । मौरी बस्नु त के छेउमा नपुग्दै बान्ता गरी नाक छोप्दै भाग्यो ।
    गेजिङ प० सिक्किम।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged साताका तीन लघुकथाLeave a Comment on साताका तीन लघुकथा- ५०

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P