• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: लघुकथा समीक्षा

पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

  • ५ आश्विन २०८१, शनिबार ०८:१६ मा प्रकाशित
  • कृतिकार: मुक्ति गौतम
    समीक्षक: डा. शंकरप्रसाद गैरे

    ‘चाक चारब्रा’ लघुकथासङ्ग्रहका लेखक मुक्ति गौतम भारतीय मुलका नेपाली हुन् । मणिपुरको कालापहाडमा जन्मिएका गौतमले माध्यमिक तहको अध्ययन गरेका छन् ।
    लामो समय शिक्षण सेवामा संलग्न रहेर सेवा निवृत्त भएका गौतमले निबन्ध विधामा कलम चलाएका छन् भने विभिन्न कृति तथा पत्रपत्रिकाको सम्पादन समेत गरेका छन् ।

    आधा दर्जनभन्दा बढी कृतिका लेखक गौतमले सन् १९८० को दशकमा गुवाहाटीबाट प्रकाशित हुने ‘हाम्रो ध्वनि’ पत्रिकामा एक मिनेटका कथा नामबाट प्रकाशित भएका छोटा कथाबाट प्रभावित भएर लघुकथा लेखनमा लागेको देखिन्छ ।

    विभिन्न पत्रपत्रिका र नमस्ते आधुनिक लघुकथा मञ्चको पेजमा आफ्ना लघुकथा प्रकाशित गर्दै आएका गौतमको ‘चाक चारब्रा’ पहिलो लघुकथासङ्ग्रह हो । सानासाना आकारका एकचालीसवटा लघुकथा समेटिएको यस सङ्ग्रहको नाम मणिपुरे भाषामा राखिएको छ । चाक चारब्राको अर्थ खाना खानुभो ? भन्ने लाग्छ । कृतिको अठ्ठाइसौँ क्रममा यही शीर्षकको लघुकथा समाविष्ट छ ।

    सामाजिक यथार्थ र आदर्शलाई प्रस्तुत गरिएको यस कृतिमा समाविष्ट लघुकथाहरूले विषयगत विविधतालाई प्रस्तुत गरेको पाइन्छ । केही भारतीय परिवेश, केही नेपाली परिवेश र केही दुवै देशलाई मिल्ने परिवेशमा आधारित यिनका लघुकथामा समस्यालाई प्रस्तुत गर्दै तिनको समाधान खोज्ने कार्य गरेको पाइन्छ । शहर र गाउँका विशेषता र समस्या, मान्छेका मनोभावना, स्वार्थ, मानवेतर प्राणी, शरीरका अङ्गको मानवीकरण, गरिएका लघुकथाहरू सरल र सुन्दर छन् ।

    शीर्षक चयनलाई अभिधेय तुल्याइएकाले सरल बनेको देखिन्छ । युवा वर्गमा देखिएको विकृति, उद्दण्डपन, बृद्धप्रतिको अनुदारपना, गाउँको विशालता र शहरको साँघुरोपन, अमानवीय हत्याहिंसा, ठट्टामा हुने दुर्घटना, सासूससुराको सम्मान र सेवा गर्ने आदर्श बुहारी, स्वार्थी र झुटो बोल्ने नेताप्रतिको वितृष्णा, कोरोना कहर, दुर्घटना, पुत्र तथा सन्तानमोह र पत्नीको अपहेला, आदर्श छोरा, आदर्श छिमेकी, सङ्घर्ष र मानवता, बिग्रिएको नयाँ पुस्ता, अधिकारका नाममा विकृति, लोभ, अकर्मण्यता, घमण्ड, लगायतका विषयलाई विभिन्न विषयप्रसङ्गका माध्यमबाट प्रस्तुत गरिएको छ ।

    विषयमा वैविध्य प्रस्तुत गर्ने गौतमका लघुकथाहरू सरल र रैखिक ढाँचामा लेखिएका छन् । केही रचनामा व्यङ्ग्य चेतना देखिन्छ भने अत्यधिक रचनामा आदर्श चेतना देखिन्छ ।

    पछिल्लो समयको एकल परिवारको प्रभावले आमाबाबुलाई बिचल्लीमा पारेका मार्मिक सन्दर्भ प्रस्तुत गर्ने गौतमका लघुकथा समयको प्रतिध्वनिका रूपमा देखापरेको छ ।

    २०८१ वैशाखमा प्रकाशित लघुकथासङ्ग्रह `चाक चारब्रा´को प्रकाशन आधुनिक लघुकथा मञ्चले गरेको हो ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव1 Comment on पुस्तक परिचयात्मक समीक्षा; लघुकथासङ्ग्रह ‘चाक चारब्रा’

    ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको परिचयात्मक समीक्षा

  • २ आश्विन २०८१, बुधबार ०८:४१ मा प्रकाशित
  • कृतिकार: सुरेशकुमार पाण्डे

    समीक्षक: डा.शंकरप्रसाद गैरे

    ‘जेईकाे सम्झना’ लघुकथासङ्ग्रह वि. सं २०८० फागुनमा प्रकाशित कृति हो । यसका लेखक सुरेशकुमार पाण्डे साक्षर व्यक्ति हुन् । यद्यपि लामाे समय भारतमा पेशा गरेका पाण्डेले साहित्य साधनामा लामै समय व्यतित गरेको देखिन्छ ।

    लघुकथा, कविता, गजल आदि विधामा कलम चलाउँदै आएका पाण्डेका दुईवटा गजलसङ्ग्रह प्रकाशित छन् भने सन् २०२१ मा ‘अनुभव’ नामक हिन्दी भाषाको लघुकथासङ्ग्रह प्रकाशित छ ।

    ‘जेईकाे सम्झना’ नेपाली भाषामा लेखिएको उनको पहिलाे लघुकथासङ्ग्रह हाे । दाङ जिल्लाको घाेराही उपमहानगरपालिकामा बस्दै आएका पाण्डेले आफ्नो कृतिकाे नाम स्थानीय बाेलीकाे प्रचलित शब्दबाट राखेका छन् । जसमा जेईको अर्थ आमा हुन्छ ।

    कृतिको बाह्रौँ क्रममा यही शीर्षकको लघुकथा समाविष्ट छ, जसमा आमाप्रति अगाध श्रद्धा गर्ने छाेराकाे आमाप्रतिकाे आस्थालाई प्रस्तुत गरिएको छ । प्रस्तुत कृतिको नाम ‘जेईकाे सम्झना’ रहनुमा त्यही शीर्षकको एउटा कथामात्र आधार नभएर सङ्ग्रहभित्र आमालाई विषय बनाइएका थुप्रै लघुकथा समावेश हुनुले शीर्षक सार्थक भएको देखिन्छ ।

    लेखक पाण्डेले कतै आदर्श आमाका कथा प्रस्तुत गरेका छन् भने कतै व्यक्तिगत स्वार्थ र सुखसुविधाका लागि सन्तानको हत्यासम्म गर्ने स्वार्थी ममताहीन आमाका कथा पनि प्रस्तुत गरेका छन् । जसरी आमाका आदर्श रूपका साथै कुरूप रूपको प्रस्तुति यिनका लघुकथामा पाइन्छ त्यसैगरी छाेरा वा सन्तानका पनि आदर्श र कुरूप स्वार्थी रूप यिनका लघुकथामा पाइन्छ । यसबाट पाण्डेले परिवार र समाजका एकपक्षकाे नभएर बहुपक्षकाे प्रस्तुति गरेकाे पाइन्छ ।

    पाण्डेले सङ्ग्रहमा समावेश अत्यधिक रचनामा आमालाई केन्द्रीय विषय बनाएको भए पनि अन्य विविध विषयलाई समेत प्रस्तुत गरेका छन् ।

    वेश्याको समाजसेवी रूप र भूमिका, जातीय विभेद गलत हो भन्ने तर आफूले अवलम्बन नगर्ने आडम्बरी प्रवृत्ति, बालश्रम बन्द गर्दा श्रमिक बालकको समस्या, आदर्श तथा स्वार्थी लोग्ने, डाक्टरको लापरबाही, वैदेशिक रोजगारीमा जानेका विविध समस्या, भविष्यवाणीका नाममा ठगी धन्दा चलाउनेहरू, आफन्त बनेर झुक्याउने चोर, जोगी बनेर बालबच्चा चोरी गर्ने, घुसखोर कर्मचारी, पशुप्रेम, ऋण लिएर नतिर्ने आफन्त, मित्रता, जुवाको लत, रक्सीको लत, पर्वलाई भड्किलो बनाउन नहुने सन्देश यिनका लघुकथामा प्रस्तुत भएको छ ।

    सरल भाव र भाषाशैलीको प्रयोग गरेर सामाजिक चेतनामूलक लघुकथा लेख्न मन पराउने पाण्डे कुशल लघुकथा शिल्पी हुन् । उनको कुशल लेखनको परिचय दिने लघुकथासङ्ग्रहका रूपमा जेईको सम्झना प्रस्तुत भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा2 Comments on ‘जेईको सम्झना’ लघुकथासङ्ग्रहको परिचयात्मक समीक्षा

    वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’मा एक नजर (परिचयात्मक समीक्षा)

  • १ आश्विन २०८१, मंगलवार ०७:३४ मा प्रकाशित

  • कृतिकार: वसन्त अनुभव

    समीक्षक: लक्ष्मण अर्याल

    वसन्त अनुभव रेडियो नेपालबाट प्रसारित हुने बाल कार्यक्रम सुनेर हुर्किएका अनि त्यसैको प्रभावले साहित्यतिर आकर्षित भएका स्रष्टा हुन् । विष्णुबहादुर र भीमाकुमारी खत्रीका कान्छा सुपुत्र हुन् उनी । उनको जन्म वि. सं. २०३५ साल वैशाख १० गते दाङ जिल्लाको साविक हापुर २ मा भएको हो । हाल उनी जन्मिएको त्यो ठाउँ दाङको घोराही उपमहानगरपालिका १२ गुर्जेमा पर्छ । स्वास्थ्य शिक्षा विषयमा स्नातकोत्तर गरेका अनुभव हाल सरकारी सेवामा कार्यरत छन् ।

    वसन्त अनुभवको दुई व्यक्तित्व छ, सम्पादक र लेखक । व्यङ्ग्य कन्तुर (संयुक्त टुक्का कवितासङ्ग्रह), लघुकथाको सुगन्ध स्मारिका (अङ्क ४ र ५) अनि ऐतिहासिक यात्रा (संयुक्त टुक्का कवितासङ्ग्रह) मा उनको सम्पादन क्षमता देख्न सकिन्छ भने लघुकथाको सुगन्ध १२ फूल १०८ सुगन्ध (२०७९ संयुक्त लघुकथा सङ्ग्रह) र नेपाली नस्ल (लघुकथा सङ्ग्रह)मा उनको लेखनकौशल झल्कन्छ । २०५४ सालबाट लघुकथा यात्रामा लागेका उनको पहिलो लिखित लघुकथा ‘महिला स्वतन्त्रता’ हो । यस विषयमा उनी आफैँले यो लघुकथा डायरीमा सुरक्षित छ भनेकाले उनको पहिलो लिखित लघुकथा कतै प्रकाशित नगरिएको भन्ने बुभिन्छ ।

    बीचमा निकै लामो समय लघुकथा नलेखी मौन बसेका उनले २०७८ सालदेखि लघुकथा लेखमा रफ्तार बढाएर त्यो मौनता तोडेका छन् । २०८० चैतमा ‘नेपाली नस्ल’ लघुकथा सङ्ग्रह प्रकाशित गराएर आफू लघुकथामा सक्रिय भएको उनले पुुष्टि गरेका छन् ।

    वसन्त अनुभवको नेपाली नस्ल सङ्ग्रहभित्र ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । ३४ वटा लघुकथाका शीर्षकहरू एकपदीय छन् भने बाँकी २० वटा लघुकथाका शीर्षकहरू द्विपदीय छन् ।

    उनका लघुकथाहरूमा नेपाली समाज मुखरित भएका छन् । पात्र स्थापनामा विविधता र लेखनमा प्रगतिशीलता छ । सङ्ग्रहमा भुइँमान्छेहरूका समस्याहरू असरल्ल छन् । कतिपय लघुकथाले अभिधेयार्थको बाटो हिँडेका छन् भने कतिपय लघुकथाले प्रतीकात्मक र ध्वन्यात्मक अर्थको फेरो समाएका छन् । मानव र मानवेतर दुबै खाले पात्रहरूको उपयोग गरिएको छ । कतिपय लघुकथामा मान्छेका शारीरिक अवयव (पेट, मुख, हात, टाउको) पनि पात्र बनेर आएका छन् भने कतिपय लघुकथामा त मानवीय भावनाहरू (वेदना)ले पनि पात्ररूप धारण गरेका छन् । जसले गर्दा लघुकथालाई रोचक र पठनीय पनि बनाएको छ ।

    यस सङ्ग्रहका लघुकथाहरू रैखिक ढाँचाका नै छन् । उद्देश्य र आशय प्रष्ट छन् । सामाजिक, राजनैतिक, शैक्षिक बेथितिमाथि गरिएका प्रहारहरू निकै बलिया छन् । लघुकथाहरू भाषागत रूपमा सरल भएर पनि अर्थगत रूपमा गहन छन् । सम्वादमा मिठास छ । सम्पादनमा भने केही थोरबहुत कमीकमजोरी देखिएका छन् । लघुकथाको एकाध ठाउँमा एउटै आशय दिने वाक्यहरूको पुनरावृत्ति भएको छ । प्रकाशनमा हतारो नगरी यी पक्षहरू माथि सामान्य दृष्टि पुर्‍याउन सकेको भए यो लघुकथा सङ्ग्रहको ओज अझै बढ्ने थियो । यद्यपि, व्यङ्ग्यधर्मिता प्रखर रूपमा प्रकट भएको यो सङ्ग्रह आजकल प्रकाशित भएका लघुकथा सङ्ग्रहहरूमध्ये उम्दा सङ्ग्रह हो भन्न सकिने ठाउँ भने यथेष्ट छ ।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, समाज, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on वसन्त अनुभव र उनको ‘नेपाली नस्ल’मा एक नजर (परिचयात्मक समीक्षा)

    सरल भावकाे लघुकथासङ्ग्रह ‘भेटी’ (परिचयात्मक समीक्षा)

  • ३० भाद्र २०८१, आईतवार १५:३५ मा प्रकाशित
  • ✍️ डा.शंकरप्रसाद गैरे
    विष्णु पन्थी `विनु´द्वारा लेखिएको `भेटी´ लघुकथासङ्ग्रह २०८१ वैशाखमा प्रकाशित भएको हाे ।
    साहित्यका साथै शिक्षण र समाजसेवामा संलग्न विनु पेशाले प्राध्यापक हुन् ।


    नेपाली विषयमा स्नातकोत्तर गरेकी ‘विनु’ साहित्य लेखनका साथै सम्पादन कार्यमा संलग्न देखिन्छिन् ।
    काेभिड १९ का बेलादेखि विशेष सक्रियताका साथ लघुकथा लेखनमा लागेकी विनुकाे पहिलाे प्रकाशित कृतिका रूपमा `भेटी´ लघुकथासङ्ग्रह देखापरेको छ ।

    यसमा उनले विभिन्न समयमा सिर्जना गरेका चालीसवटा लघुकथाहरू समाविष्ट छन् ।
    सरल भाषाशैलीकाे प्रयोग गरी लघुकथा लेख्ने विनु आफ्ना लघुकथाहरूमा वर्तमान नेपाली जनजीवनका वास्तविक यथार्थलाई प्रस्तुत गर्न मन पराउँछिन् ।

    घर परिवारका समस्या, आमाबुबाप्रति सन्तानको दायित्व र त्यसबाट विमुख हुने प्रवृत्ति, परिवार र जीवनसाथीप्रति बेइमानी गर्ने श्रीमान् श्रीमतीको दुर्घटित जीवन, सम्बन्ध बिच्छेद, शिक्षा, अनुशासनहीन विद्यार्थी, आर्थिक अभावले पढ्न नपाएका बालबालिका तथा तिनका अभिभावकका शारीरिक र मानसिक पीडा विनुका लघुकथाका महत्त्वपूर्ण विषय हुन् ।

    -सन्तानलाई विदेश पठाउन गर्व गर्ने तर पर्वका बेला पछुताउने बाआमा,
    -आफ्ना सन्तानलाई विदेश पठाउन बल गर्ने र मञ्चमा स्वदेशप्रेम,
    स्वराेजगारका चर्का भाषण गर्ने अभियन्ता,
    साइबर लत,
    -टिकटकमाेह,
    -गलत नियतका छिमेकी,
    -नेपाली पर्वसँग जाेडिएका विभिन्न पक्ष,

    -गरिबी, देखावटीपन, विभेद,
    -तीजमा दरका नाममा विकृति,
    -वृद्धाश्रममा बस्ने बुढाबुढीका पीडा,
    -एकल नारीका जीवनका जाेखिम र समाजले लगाउने लाञ्छना,
    -आफूले अन्याय गर्ने र अरूलाई सहनुपर्छ भनी आदर्श सिकाउने प्रवृत्ति जस्ता विषय विनुका लघुकथामा कथ्य बनेकाे देखिन्छ ।

    लापरबाहीका कारण हुने दुर्घटना, महान् भाषण गर्ने तर प्रवृत्ति खराब भएका नेताप्रति व्यङ्ग्य र सामन्तवादी तानाशाही स्वभाव, गलत बाबुको गलत सन्तान, बाहिर देखाउन चन्दा दिने तर बाआमाकाे ख्याल नगर्ने सन्तान, गलत न्यायप्रणाली, प्रशंसा खाेज्ने अभियन्ता, अपाङ्गलाई गर्ने अपमान, अभाव लगायतका समाजमा देखिने विषयलाई नै विनुले प्रस्तुत गरेकाे देखिन्छ । सरल भाव वहन गर्ने यिनका लघुकथा बाैद्धिक पाठकको नभएर सामान्य पाठकको अपेक्षा गर्छन् । प्रतीकात्मक शीर्षक चयन, प्रचलित पदपदावली यिनका लघुकथाकाे वैशिष्ट्य हाे । विष्णु पन्थी ‘विनु’ सम्भावना बाेकेकी लघुकथा साधक हुन् । यसकाे परिचायक बनेर `भेटी´ लघुकथासङ्ग्रह देखापरेकाे छ ।

    *********
    कृति : भेटी
    विधा : लघुकथा
    लेखक : विष्णु पन्थी `विनु´
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१, वैशाख
    मूल्य : २९०/-
    ***********

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा1 Comment on सरल भावकाे लघुकथासङ्ग्रह ‘भेटी’ (परिचयात्मक समीक्षा)

    ‘सुन्दरी‘ लघुकथाको सौन्दर्य चेतना (परिचयात्मक समीक्षा)

  • २९ भाद्र २०८१, शनिबार १९:२८ मा प्रकाशित
  • शंकरप्रसाद गैरे, समीक्षक
    ‘सुन्दरी‘ लघुकथासङ्ग्रह मीठू कुमारी (पाठक) डल्लाकोटीको नवीनतम कृति हो। पेसाले शिक्षक र शैक्षिक प्रशासकको परिचय बनाएकी डल्लाकोटीले २०७५ सालबाट लघुकथा लेख्न थालेको पाइन्छ। विभिन्न समयमा लेखिएका २५ लघुकथा समाविष्ट ‘सुन्दरी‘ लघुकथासङ्ग्रह आकारका दृष्टिले सानो भए पनि अत्यन्त कलात्मक र सुन्दर रचनाहरू समाविष्ट छन्। पाठकको मनमा गहिरो प्रभाव पार्न सक्ने क्षमता राख्ने सुन्दरी लघुकथासङ्ग्रहका लघुकथाहरू विषयका दृष्टिले विविध विषयमा आधारित छन्।

    आकारका दृष्टिले अत्यन्त सन्तुलित सुन्दरीका लघुकथाहरू ज्यादै लामाछोटा नभएर समान आकारका छन्। अनमेल विवाहले निम्त्याउने समस्या, वृद्धवृद्धाका जीवनशैली, नयाँ पुस्ताको ग्रामीण जीवनप्रतिको विकर्षण, उचित शिक्षाले बिग्रिएका बालबालिकालाई पनि परिवर्तन गर्न सकिन्छ भन्ने सन्देश, डल्लाकोटीका लघुकथामा पाइन्छ।

    त्यसैगरी अपाङ्ग भनिएका नै क्षमताका कारण विशेष हुन सक्छन् भन्ने सन्देश यिनका लघुकथाले दिएको छ। बालबालिकाको दुष्टता, नकारात्मक दृष्टि हुनेहरू, नबुझेरै अरूलाई आरोप गर्ने बानी, पारिवारिक सामाजिक समस्या, कोरोनाले निम्त्याएका अनेक अवस्था, नेताहरूको स्वार्थी प्रवृत्ति, जातीय विभेद, गरिबीले थिचिएका बालबालिकाको मनोविज्ञान, पृत्तिक अंशले निम्त्याएको समस्या, अपाङ्गप्रति आफ्नैले गर्ने विभेद, स्वार्थी र जिम्मेवारविहीन सन्तान डल्लाकोटीका कथाको महत्त्वपूर्ण पक्ष र विषय हुन्।

    विषयको बिस्तारै उठान गरेर उत्कर्षमा पुर्‍याउने शैली र अन्त्यमा ‘सम्झना नै कुलको अस्तित्व हो’ जस्ता उत्कर्ष वाक्यमा पुर्‍याएर कथाको अन्त गर्ने कथाकौशल महत्त्वपूर्ण देखिन्छ। संवाद, र वर्णनात्मक शैली अवलम्बन गर्ने डल्लाकोटी सरल भाव र संरचनाका लघुकथा लेख्न मन पराउँछिन्। थोरै तर शक्तिशाली लघुकथा लेख्ने डल्लाकोटी विशिष्ट सम्भावना भएकी लघुकथाकार हुन्।

    Posted in कला /जीवनशैली, ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on ‘सुन्दरी‘ लघुकथाको सौन्दर्य चेतना (परिचयात्मक समीक्षा)

    सरल संरचनाका लघुकथा ‘नमस्ते’ भित्रका लघुकथा (परिचयात्मक समीक्षा)

  • २८ भाद्र २०८१, शुक्रबार २३:२२ मा प्रकाशित
  • ✍️ डा.शंकरप्रसाद गैरे
    `नमस्ते´ लघुकथासङ्ग्रह भूमिका गैरे तिमिल्सिनाद्वारा लेखिएको हाे । पेशाले शिक्षक गैरेले स्नातकोत्तर तहसम्मको अध्ययन गरेकी छन् ।
    गैरे शिक्षणका साथै समाजसेवा र साहित्य साधनामा सक्रिय छन् । २०८० सालबाट लघुकथा लेखनमा लागेकी गैरेले छ महिनाको छाेटाे अवधिमा पाँच दर्जन लघुकथा लेखेर आफ्नो प्रतिभाकाे परिचय दिएकी छन् । लघुकथा लेखनकाे अध्ययन तथा अभ्यासमा सक्रियतापूर्वक लागेकी गैरेकाे लेखन निरन्तर परिष्कृत हुँदै गएको प्रतीत हुन्छ ।

    भूमिका गैरेकाे `नमस्ते´ लघुकथासङ्ग्रहमा सैँतिसवटा लघुकथाहरू समाविष्ट छन् । सानासाना लघुकथाहरूमा विषयगत विविधता देखिन्छ । यिनका लघुकथाले घर परिवार, छरछिमेक, समाज, संगीसाथी, शिक्षा, विद्यार्थी, शिक्षक, अभिभावक, दाजुभाइ बीचको सम्बन्ध, लगायतका विषयकाे उठान गरेकाे देखिन्छ । बालमनाेविज्ञान, कुरीति, कुसंस्कार, साैतेलाे सन्तानको समस्या, भूकम्प, काेराेनाजस्ता दैवीप्रकोप, सामाजिक सेवामा प्राप्त हुने सम्मान प्रतिष्ठा यिनका लघुकथामा उठाइएका विषय हुन् । स्वार्थी श्रीमानले  श्रीमतीमाथि गर्ने छल र वैदेशिक राेजगारीमा गएका व्यक्तिका श्रीमतीको तडकभडकजस्ता विषयलाई अत्यन्त जीवन्त रूपमा प्रस्तुत गरिएको छ । मित्रका मित्रप्रतिका इमानदारी र दायित्व तथा मित्रतामाथि गर्ने धाेका आफन्तले गर्ने अपमानकाे पीडा, छाेराछाेरीमाथि हुने भेदभाव, क्षमताबिनाकाे जिम्मेवारीले गर्दा हुने समस्या, भावुकतामा गरिएको निर्णयले गर्दा हुने पछुतो गैरेका लघुकथाका विषय हुन् ।

    पदीय रवाफ, भनसुन गर्ने प्रवृत्ति र याेग्यताकाे अवमूल्यन, यथार्थ लेख्ने पत्रकारमाथि हुने दुर्ववहार, नेताहरूका चुनावी भाषण, कर्म र भाग्यमाथिकाे दृष्टिकोण, शिक्षकको दायित्व, मेडिकल क्षेत्रमा देखिएको लापरबाही, दाइजो प्रथाकाे बिराेध भूमिका गैरेका लघुकथाकाे महत्त्वपूर्ण कथ्य हाे । व्यङ्ग्य पक्ष कम र सरल रैखिक कथ्यपद्धतिलाई अवलम्बन गरिएका `नमस्ते´ लघुकथासङ्ग्रहभित्रका लघुकथाका आधारमा गैरे सम्भावना बाेकेकी लघुकथाकार हुन् जाे निरन्तर साधनारत छन् भन्ने देखिन्छ । उनीबाट भाेलिका दिनमा अझ शक्तिशाली लघुकथाकाे अपेक्षा गर्न सकिन्छ ।

    कृति : नमस्ते
    विधा : लघुकथा
    लेखक : भूमिका गैरे तिमिल्सिना
    प्रकाश : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१ वैशाख
    मूल्य : २७५/-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on सरल संरचनाका लघुकथा ‘नमस्ते’ भित्रका लघुकथा (परिचयात्मक समीक्षा)

    पहिलो नजरमा कुमार काफ्ले र उनको ‘सपना कतिपय’- परिचयात्मक समीक्षा

  • २७ भाद्र २०८१, बिहीबार २०:५६ मा प्रकाशित
  • ✍️ लक्ष्मण अर्याल, समीक्षक
    कुमार काफ्ले लिखु गाउँपालिका ५, यसम, ओखलढुङ्गामा वि.सं. २०४१ चैत २३ मा जन्मिएका स्रष्टा हुन् । पिता रुद्रबहादुर र माता गोमादेवीका चार सन्तानमध्ये जेठा छोरा कुमारले मानविकी र शिक्षाशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तहसम्मको अध्ययन गरेका छन् । अर्थात् उनी २ वटा सङ्कायमा स्नातकोत्तर उपाधिप्राप्त व्यक्ति हुन् । उनको खास पेशा शिक्षण हो । उनी आफूले अपनाएको पेशालाई ‘साँच्चिकै रमाइलो र गर्व गर्न लायक’ ठान्छन् । यसैले उनमा पेशाप्रतिको इमान्दारिता पनि पर्याप्त छ । उनी श्री अमर कल्याण नमुना मा.वि.मा पढाउँछन् । यो विद्यालय इलामस्थित नयाँवजारमा अवस्थित छ । उनको आबद्धता ओखलढुङ्गाकै सिद्धिचरण पुस्तकालयसँग पनि रहेको छ ।

    कुमार काफ्लेसँग सम्पादक र साहित्यिक व्यक्तित्व छ । उनले ‘शिशिर वसन्त साहित्यिक मासिक’, ‘हातेमालो साहित्य सङ्गम’ लगायतका पत्रिकाहरूको सम्पादन गरेका छन् । साहित्यिक व्यक्तित्वभित्र उनका कवि तथा आख्यानकार व्यक्तित्व पनि छ । त्यसो त उनको साहित्य लेखनको सुरुवात नै कविताबाट भएको हो । उनले लेखेको पहिलो कविताको शीर्षक ‘कलम’ हो । जुन सर्वप्रथम मध्यान्ह राष्ट्रिय दैनिकमा प्रकाशित भएको थियो । आख्यानमा काफ्लेले ३ वटै प्रविधामा कलम चलाएका छन् । उनको पहिलो प्रकाशित कृति नै उपन्यास हो जुन २०७२ सालमा ‘हजार सपना’ शीर्षकमा प्रकाशित छ । २०७३ मा प्रकाशित मोलुङ लघुकथा सङ्ग्रहमा पनि उनका केही लघुकथा प्रकाशित भएका भेटिन्छन् । २०८१ वैशाखमा काफ्लेले ‘सपना कतिपय’ शीर्षकको लघुकथासङ्ग्रह प्रकाशनमा ल्याएका छन् । आख्यानको दोस्रो तथा मझौलो प्रविधा कथामा भने उनका आजसम्म सङ्ग्रह प्रकाशित भएका छैनन् तर पनि उनका कथाहरू पत्रिकाहरूमा फुटकर रूपमा बाक्लै प्रकाशित भइरहेका छन् । आशा गरौँ – उनी छिट्टै नै कथासङ्ग्रह पनि लिई आउनेछन् ।

    कुमार काफ्लेलाई सरसर्ती पढेपछि लाग्यो – कुमार सम्भावना भएका लघुकथा लेखक हुन् । हुनत उनका एकदुई कथा पनि पढेको छु मैले । कथालेखनमा पनि उनी माझिएका छन् । कथाको प्रस्तुतिमा पाठकलाई ध्यानाकृष्ट गरिरहने कला छ उनीसँग ।

    कुमारका लघुकथामा समसामयिकता छ । उनका रचनाभित्र वर्तमान समाजको प्रतिबिम्ब छ । विकृति र विसङ्तिलाई सुकृति र सुसङ्गतिमा हिँडाउन प्रयास गरेका छन् उनले । यसो त उनले आफ्ना कुरामा भनेका पनि छन् – “लघुकथा लेखनको मेलोमा मैले भेट्टाएका, देखेका र भोगेका अनुभूतिहरूलाई, समाजमा वर्षौँदेखि रहेका पीडा र उत्पीडनलाई सहेर संघर्ष गरिरहेका जुधारु मान्छे र मानवताका कथाव्यथालाई, समस्त प्राणी र वातावरण संरक्षणका सवाललाई उधिन्ने कोशिस गरेको छु ।” सपना कतिपय भित्र उनले भनेझैँ नै छन् विषय र प्रस्तुतीकरण पनि ।

    ‘सपना कतिपय’ सङ्ग्रहका लघुकथाहरूमा वर्णनमा मनग्गे सरलता छ । छोटा वाक्यहरूको प्रयोग गरिएका छन् । लघुकथाहरू रैखिक ढाँचाका नै छन् । आदर्शभन्दा यथार्थता नै बलिया छन् लघुकथाहरूमा । सम्वादमा मनोहारिता छ । लघुकथाहरू व्यङ्ग्यात्मक छन् । सङ्ग्रहका केही लघुकथाहरूलाई छाड्ने हो भने लघुकथाकारले अन्त्यव्यवस्थापनको प्रभावकारितामा ध्यान दिएका छन् भन्न सकिने ठाउँ छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव1 Comment on पहिलो नजरमा कुमार काफ्ले र उनको ‘सपना कतिपय’- परिचयात्मक समीक्षा

    ‘हतकन्डा’ लघुकथामा साइबर र व्यङ्ग्य

  • २२ फाल्गुन २०८०, मंगलवार १३:४३ मा प्रकाशित
  • समीक्षा

    ‘हतकन्डा’ लघुकथामा साइबर र व्यङ्ग्य

    🔸डा.शंकरप्रसाद गैरे

    लेखक परिचय


    ‘हतकन्डा’ वसन्त अनुभवद्वारा लेखिएको लघुकथा हो । २०३५ सालमा दाङ जिल्ला हापुर २ वसन्तपुरमा जन्मिएका अनुभवको वास्तविक नाम वसन्तबहादुर के सी हो । स्नातकोत्तर तहसम्मको अध्ययन गरेका अनुभव निजामति सेवामा कार्यरत छन् ।
    २०५४/५५ सालतिरबाट साहित्यमा लागेका अनुभवले साहित्यका कविता, गजल, गीत, लघुकथा, मुक्तक, कथा लगायतका विधामा कलम चलाएको पाइन्छ । उनले हालसम्म करिब ५०० लघुकथाहरू लेखेका छन् । उनको लघुकथाको सुगन्ध संयुक्त लघुकथासङ्ग्रह प्रकाशित छ ।

    मूलपाठ

    “वाह ! तिम्रो उपाय त साँच्चिकै कारगार रह्यो यार ! क्या कन्ट्रोभर्सी क्रियट गर्‍यौ ।” खुसी हुँदै नयनले भन्यो ।

    “म त्यत्तिकै भन्छु त ! आजभोलि सबैले गर्ने भनेकै यही हो । सोझो औँलाले घ्यु आउँछ?” काजल मस्किई ।

    “पुराना थन्किएर रहेका भिडियो पनि एकाएक भाइरल भए, ट्रेन्डिङ्गमा छन् अचेल । यसको पुरै श्रेय तिमीलाई जान्छ ।” नयनले खुसी प्रकट गर्‍यो ।

    “के फाइदा तिमीलाई मात्र भएको छ र ? म पनि त उत्तिकै चर्चामा छु नि ! नचिन्नेले चिनेका छन् ।” काजल पनि खुसी देखिई ।

    “त्यो त ठिक छ । तर हुँदाखाँदाको सम्बन्ध मिडियाबाजी गरेर तहसनहस पारियो । छताछुल्ल भएको सम्बन्ध कसरी सपार्ने ? कसले सुधारिदिन्छ ?” नयनले चिन्ता व्यक्त गर्‍यो ।

    “यी यहाँले ।” एक पत्रकारलाई देखाउँदै काजलले अगाडि भनी- “कसो पत्रकार महोदय ! हिजो हामीसँगै मिलेर, हाम्रो सम्बन्ध उछाल्नुभयो । राम्रै टिआरपी कमाउनुभयो । अझै टिआरपी बढाउने होइन त ?”

    ‘निकै आरोह अवरोहपछि कलाकार दम्पती नयन र काजल बीचको विवाद, यसरी भयो साम्य ।’ अर्को दिन सञ्जाल पुनः तात्यो ।

    लघुकथाको विश्लेषण

    पहिलोपटक नमस्ते आधुनिक लघुकथा मञ्चको भित्तोमा २०८० साल फागुन २० गतेका दिन प्रकाशित वसन्त अनुभवको‘हतकन्डा’ शीर्षकको लघुकथा व्यङ्ग्यचेतनाप्रधान चरना हो । यस लघुकथामा दुई कलाकारले चर्चा बटुल्न र लोकप्रियता पाउनकै निम्ति आफ्नो जीवनका विभिन्न सन्दर्भहरूलाई वा त्यस्ता कपोलकल्पित घटनाहरूलाई मिडियामा ल्याउने गरेको विषयलाई प्रस्तुत गरिएको छ ।

    लघुकथामा एकातिर कलाकारहरूले सस्तो लोकप्रियता र शीघ्र चर्चाका लागि साइबरको उपयोग गर्ने गरेको विषय प्रस्तुत गरिएको छ । त्यसकारण लघुकथाले साइबरसाहित्यको विषयलाई उठान गरेको देखिन्छ । लघुकथाको अन्त्यमा प्रायोजित रूपमै गरिएको भए पनि त्यसले जनसाधारणका दृष्टिकोणमा बिग्रिन गएको सम्बन्धका विषयमा चिन्ता प्रकट गर्नु र उपायका रूपमा पत्रकारलाई प्रयोग गरेर पुनः सम्बन्ध सुधार भएको समाचार सम्प्रेषण गरेर टिआरपी बढाउने सम्बन्धमा गरिएको चर्चाले युटुब पत्रकारहरूले यस्ता समाचार युटुबबाट फेसबुकमा सम्प्रेषण गर्ने गरेको विषय उठान गरिएको देखिन्छ । पछिल्लो समयमा कलाकारहरूको सस्तो र शीघ्र लोकप्रियताको मुख्य आधार नै सामाजिक सञ्जाल, फेसबुक, युटुब बन्ने गरेको विषयलाई यस लघुकथाले सङ्केत गरेको पाइन्छ । यसरी प्रस्तुत रचना साइबर विषयक लघुकथा बन्न पुगेको छ ।

    ‘हतकन्डा’ लघुकथाको मुख्य उद्देश्य व्यङ्ग्य देखापर्दछ । त्यसकारण यो लघुकथा व्यङ्ग्य रचनाका रूपमा प्रस्तुत भएको छ । लघुकथाको शीर्षक‘हतकन्डा’ले छिटो चर्चामा आउने, लोकप्रिय हुने प्रलोभनमा विभिन्न विषय क्षेत्रका व्यक्तिहरूले अयथार्थ र कपोलकल्पित हल्लाहरू फैलाउने गरेको विषय रचनामा अभिव्यक्त भएको छ । रातारात सेलीब्रेटी हुने लोभ, जसरी भए पनि आफ्नो पेसा व्यवसायलाई बेच्ने लोभमा जस्तोसुकै काम गर्ने वर्तमान समयको मानवीय प्रवृत्तिप्रति लघुकथाले व्यङ्ग्य गरेको छ ।

    लघुकथामा कलाकारिता क्षेत्रमा लागेका दम्पती नयन र काजललाई पात्रका रूपमा चयन गरिएको छ । दुईको सम्बन्ध बिग्रिएको विषय पत्रकारलाई प्रयोग गरी चर्चामा ल्याएको र त्यही कारण उनीहरूका बिक्री नभएर थन्किएका भिडियो सामग्रीहरू एकाएक बिक्री भएको, उनीहरू रातारात भाइरल भएको विषय नै लघुकथामा प्रस्तुत गरिएको छ । काजलले निकालेको उपायले आफूहरू भाइरल भएकोमा दङ्ग पर्दै नयनले“वाह! तिम्रो उपाय त साँच्चिकै कारगार रह्यो । क्या कन्ट्रोभर्सी क्रियट ग¥यौ” भन्छ । जवाफमा काजल“आजभोलि सबैले गर्ने यही हो । सोझो औँलाले घ्यु आउँछ?” भन्छे ।

    गरिएको काम के हो भन्ने कुरालाई लघुकथामा स्पष्ट नपारेर अमूर्त नै राखिएको भए पनि उनीहरू लोग्नेस्वास्नी हुन् र नचलेका कलाकार हुन् भन्ने बोध हुन्छ । काजलले गरेको उपायले उनीहरू भाइरल भएको र उनीहरूका थन्किएका पुराना क्यासेटहरू समेत धमाधम बिक्री भएको सन्दर्भ कथामा प्रस्तुत भएको छ । यस कुराले प्रसन्न भए पनि आफ्नो पारिवारिक सम्बन्ध बिग्रिएको कुराले चिन्तित नयनलाई काजल उपाय सुझाउँछे । जुन पत्रकारले हिँजो सम्बन्ध बिग्रिएको समाचार प्रशारण गरेर टिआरपी कमाउँछ, उसैले पुनः“निकै आरोह अवरोहपछि कलाकार दम्पती नयन र काजल बीचको बिवाद, यसरी भयो साम्य” शीर्षकमा समाचार प्रशारण गर्छ । त्यस समाचारले पुनः सञ्जाल तात्छ ।

    प्रस्तुत लघुकथामा पछिल्लो समयमा आफ्नो काम र क्षमताले चर्चामा आउन नसकेका कलाकारले पत्रकारहरूलाई प्रयोग गर्ने र विभिन्न व्यक्तिहरूसँगका सम्बन्ध, झगडा, लगायतका विषयमा समाचार सम्प्रेषण गरेर आफू लोकप्रिय बन्ने तथा पत्रकारले टिआरपी बटुल्ने गरेका सन्दर्भलाई प्रस्तुत रचनाले व्यङ्ग्य गरेको छ । जनसाधारण पाठक, स्रोता, द्रष्टाहरू त्यस्तै हल्लाका पछाडि दौडने र त्यस्तै सामग्री खोजी गर्ने गरेको प्रवृत्तिलाई समेत यस लघुकथामा व्यङ्ग्य गरिएको छ ।

    प्रस्तुत लघुकथाले विभिन्न क्षेत्रका व्यक्तिले चर्चामा आउन मिडिया प्रयोग गर्ने गरेको विषयलाई उठाएकाले साइबरनिकट देखिन्छ भने त्यसका माध्यमबाट सम्बन्धित क्षेत्रलाई व्यङ्ग्य गरिएकाले व्यङ्ग्य कथाका रूपमा देखापरेको छ । यसरी‘हतकन्डा’ लघुकथा साइबर र व्यङ्ग्य रचनाका रूपमा प्रस्तुत भएको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on ‘हतकन्डा’ लघुकथामा साइबर र व्यङ्ग्य

    Posts navigation

    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P