• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Tag: लघुकथा समीक्षा

‘अखबार’ र ‘मरजाद’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १ चैत्र २०८१, शनिबार २२:१३ मा प्रकाशित
  • काठमाडौँ, चैत २ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रहहरू ‘अखबार’ र ‘मरजाद’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा जुम प्रविधिबाट भएको उक्त कार्यक्रम अपरान्ह ७ बजेदेखि अढाई घन्टासम्म चलेको थियोे ।

    ‘अखबार’ लघुकथासङ्ग्रह, लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको दोस्रो लघुकथा कृति हो । उहाँको यसभन्दा पहिले एउटा लघुकथासङ्ग्रह प्रकाशित भइसकेको छ ।
    त्यस्तै ‘मरजाद’ लघुकथासङ्ग्रह लघुकथाकार अवधेश सिंहको पहिलो लघुकथा कृति हो ।

    परिचर्चा कार्यक्रमका प्रमुख अतिथि एवम् वरिष्ठ समालोचक गोपाल अश्कले नआलमद्वारा वि.सं. २०८१ मा प्रकाशित सम्पूर्ण लघुकथासङ्ग्रहहरूमा शैली वैज्ञानिक सूत्रको प्रयोग भएको उल्लेख गर्नुभयो ।
    उहाँले मरजाद शब्दको अर्थ मर्यादा मात्र नभएर तराईमा बिहेमा गरिने एक संस्कृति भएको र जुन आजकल बिस्तारै हराउँदै गएको बताउनुभयो ।
    ‘आजका परिचर्चाकारले खास परिचर्चा नगरी प्रभावी परिचर्चा मात्र गर्नुभयो । कम्तिमा परिचर्चाकारले सर्जकको शैली, राम्रा पक्षको उजागरसँगै सुधार गर्नुपर्ने कुराहरू पनि राख्नुपर्ने थियोे’ प्रमुख अतिथि अश्कले भन्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार एवम् समालोचक ध्रुव मधिकर्मीले कार्यक्रमको पहिलो चरणमा लघुकथाकार गङ्गा कर्माचार्य पौडेलको लघुकथा कृति ‘अखबार’को परिचर्चा गर्दै लघुकथासङ्ग्रह अखबारमा विविध विषयवस्तुहरू समेटिएका ३० उत्कृष्ट लघुकथाहरू रहेकोे बताउनुभयो । ‘साहित्यका विविध विधाहरूमा कलम चलाई तत् तत् विधामा आफ्नो दह्रो उपस्थिति जनाउनुभएकी लघुकथाकार पौडेलले ‘अखबार’मा पनि आफ्नो बलियो उपस्थिति जनाउनुभएको छ ।’ उहाँले भन्नुभयो । सङ्ग्रहका लघुकथाहरूमा कोरोनाकालमा भोग्नुपरेका दु:ख, पीडा एवम् तीता भोगाइदेखि वर्तमान समयको चित्रण, समाजमा विद्यमान भेदभाव एवम् सामाजिक कुरीति, विकृति आदिप्रति व्यङ्ग्य पाउन सकिन्छ । साथै ‘अखबार’मा पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको एउटा लघुकथालाई बीज विन्दु मानेर लघुकथाहरू सङ्ग्रहित रहेकोे बताउनुभयो ।

    कार्यक्रमको दोस्रो चरणमा लघुकथाकार अवधेश सिंहको लघुकथा कृति ‘मरजाद’ बारे परिचर्चा गर्नुहुँदै परिचर्चाकार, वरिष्ठ समालोचक एवम् कृति सम्पादक डा.विदुर चालिसेले लघुकथाकार सिंहको लघुकथासङ्ग्रह ‘मरजाद’भित्र पूर्णप्रसाद ब्राह्मणको झिल्का लघुकथासङ्ग्रहभित्रको ‘नाटक’ लघुकथालाई बीज विन्दु मानेर लेखिएका ५४ वटा फरकफरक विषयका लघुकथाहरू रहेकोे उल्लेख गर्नुभयो । साथै उहाँका लघुकथाहरूमा स्थान वैशिष्ठ्यता रहेको र तराईको माटोको सुगन्ध रहेको बताउनुभयो । उहाँको लघुकथाको शीर्षकले नै पाठकको ध्यान आकृष्ट गर्ने, कौतुहलता, जिज्ञासा पैदा गर्ने खालको भएको उल्लेख गर्नुभयो । समाजमा विद्यमान रहेका विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गर्ने लगायत प्रश्न उठाउने पनि काम गरेको बताउनुभयो ।

    कार्यक्रममा ‘अखबार’ लघुकथासङ्ग्रहको तर्फबाट बोल्नु हुँदै कृतिकार एवम् लघुकथाकार गङ्गा कर्माचार्य पौडेलले छोटो समयमै सङ्ग्रह निकाल्नुपरेको हुँदा कमिकमजोरी भएको स्वीकार गर्दै परिचर्चाकारज्यूले दिएको सुझावलाई ग्रहण गरेर अगाडि बढ्ने बताउनुभयो । सङ्ग्रह प्रकाशन लगायत परिचर्चा कार्यक्रम आयोजना गरिदिएकोमा आयोजक संस्थाप्रति आभार प्रकट गर्नुभयो ।

    त्यस्तै कृतिकारको तर्फबाट बोल्नुहुँदै ‘मरजाद’ लघुकथासङ्ग्रहका कृतिकार अवधेश सिंहले आफू लघुकथाको सामान्य विद्यार्थी रहेको उल्लेख गर्दै नमस्ते आधुनिक लघुकथा मञ्चले निकालेका लघुकथाको सुगन्ध स्मारिका हेरेर पढेर लघुकथा लेखनमा सुधार गर्दै आएको बताउनुभयो । परिचर्चाकारले दिएका सुझावहरूलाई सहर्ष स्वीकार गर्दै उहाँले परिचर्चा कार्यक्रमको आयोजना गरिदिनुभएकोमा आयोजकप्रति आभार प्रकट गर्नुभयो ।

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा गोपाल अश्क, ध्रुव मधिकर्मी, गङ्गा कर्माचार्य पौडेल, अवधेश सिंह, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, डा.विदुर चालिसे, वसन्त अनुभव, हिमलाल श्रेष्ठ, ललिता दोषी, डा.शेखर कुमार श्रेष्ठ, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, कर्ण दयाल, इन्दिरा चापागाईँ, म्यामराज राई, कुमार काफ्ले, निर्मला, चन्द्रा न्यौपाने, कमल पौडेल, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण कुशल कार्यक्रम सञ्चालक एवम् रेडियो सारथिका स्टेसन म्यानेजर कमल पौडेलले गर्नुभएको थियोे भने प्राविधिक संयोजन आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा, लघुकथा समीक्षा

    ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहको परिचर्चा कार्यक्रम सम्पन्न

  • ६ माघ २०८१, आईतवार १८:२१ मा प्रकाशित
  • माघ ५ गते/वसन्त अनुभव
    लघुकथा महासङ्ग्रह ‘शताब्दम् महाशक्ति’को शनिवार परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा वरिष्ठ लघुकथाकार डा.विदुर चालिसेकृत उक्त पुस्तकको परिचर्चा गरिएको थियोे । अपरान्ह ३ बजेदेखि भर्चुअल प्रविधि जुम मार्फत् सञ्चालित उक्त कार्यक्रम झन्डै ३ घन्टासम्म चलेको थियोे ।
    कार्यक्रमका प्रमुख अतिथि प्रा.डा. दयाराम श्रेष्ठले आफ्नो मन्तव्य राख्दै आजभोलि लघुकथाको बाढी आएको र अधिकांस लघुकथाहरू लघुकथा बन्ननसकेको बताउनुभयो ।

    “हामीले विशुद्धता(purity) तर्फ ध्यान नै दिन सकिरहेका छैनौँ, त्यसैले लघुकथा विशुद्ध हुन सकिरहेको छैन ।” चिन्ता व्यक्त गर्दै उहाँले अगाडि भन्नुभयो- “हुन त ! म लघुकथालाई छुट्टै विधा नै मान्दिनँ । कथामा जे जे हुनुपर्छ, सबै कुरा/तत्वहरू यसमा भएकोले यसलाई कथा नै भन्दछु ।”

    “म प्रायः कार्यक्रममा त्यति जाने गर्दिनँ, सम्भवतः यस्तो कार्यक्रममा उपस्थित भएको पहिलोपटक होला ।” भन्दै उहाँले खुसी व्यक्त गर्नुभयो । शताब्दम् महाशक्ति बारे बोल्दै उहाँले ‘लघुकथा महासङ्ग्रह’को सट्टा ‘वृहत् लघुकथासङ्ग्रह’ या ‘लघुकथा सागर’ राखेको भए राम्रो हुने विचार राख्नु भयो ।

    कार्यक्रममा परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा. कपिल लामिछानेले ‘शताब्दम् महाशक्ति’ लघुकथा महासङ्ग्रहमा रहेका लघुकथाहरू प्रायः सबै लघुकथाकै सिद्धान्त र संरचनाभित्र रहेको उल्लेख गर्नुभयो ।
    “लघुकथाहरू अढाई सय/ तीन सय शब्द वा डेढ पेजसम्मका रहेका छन्, जुन लघुकथाको संरचनागत कसीभित्र नै पर्दछन् । लघुकथाहरूमा आकस्मिक उठान, विस्तार, संवाद, आकस्मिक एवम् झड्कादार अन्त्य रहेका छन् । साथै लघुकथामा पृथक शैलीको प्रयोग गरिएको छ ।” भन्दै उहाँले डा.चालिसेका लघुकथाहरू अत्यन्त बौद्धिक रहेको र आम पाठककालागि बोधगम्य नरहेको बताउनुभयो ।

    कार्यक्रमका अर्का परिचर्चाकार, वरिष्ठ लघुकथाकार, समालोचक, भाषा आयोगका सदस्य गोपाल अश्कले पनि ‘शताब्दम् महाशक्ति’ सिद्धान्तगत एवम् संरचनागत दृष्टिले उपयुक्त रहेको उल्लेख गर्नुभयो । परिचर्चाकार प्रा.डा.कपिल लामिछानेको कुरामा सहमति जनाउँदै उहाँले भन्नुभयो, “लघुकथाहरू बौद्धिक रहेका छन्, एकपटक पढेर भाव बुझ्न सकिँदैन, दोहोर्‍याएर, तेहर्‍याएर पढ्नुपर्ने हुन्छ । आम पाठककालागि बोधगम्य छैनन् ।”

    लघुकथा महासङ्ग्रह भनिएकोमा असहमति राख्दै उहाँले ‘भोलि कसैले यस सङ्ग्रहको भन्दा धेरै लघुकथाहरू समेटेर सङ्ग्रह निकालेमा त्यसलाई के भन्ने ? वृहत् महासङ्ग्रह भन्ने वा अरू कुनै ?” महासङ्ग्रहको मापदण्ड के हो ?” उल्टै प्रश्न गर्नुभयो ।

    “शताब्दम् महाशक्ति आफैँमा ऎतिहासिक सङ्ग्रह बन्न सफल भएको छ । कृतिकारले ‘अलिफ लैला’ वा ‘अरेवियन नाइट्स’सँग यसलाई जोड्ने मोह किन देखाउनुभएको होला ?” बुझ्न नसकिएको परिचर्चाकारहरूको मत रहेकोे थियोे ।

    परिचर्चा कार्यक्रममा परिचर्चाकारहरूले दिएको सुझावलाई ग्रहण गर्दै कृतिकार डा.विदुर चालिसेले सबैप्रति आभार प्रकट गर्नुभयो । कृतिकारले शताब्दम् महाशक्तिलाई उपन्यासको दर्जा दिन खोजेको भन्ने कुरालाई खण्डन गर्दै उहाँले भन्नुभयो, “मैले उपन्यास नभनी उपन्यासको छ्नक दिने गरी शताब्दम् महाशक्ति आएको भन्ने उल्लेख गरेको हुँ, उपन्यास भनेको छुइनँ ।”

    ‘लघुकथा वन्दना’ प्रशारणसँगै शुरु भएको कार्यक्रममा हरिप्रसाद भण्डारी, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, प्रा.डा.खेमराज खनाल मीठू कुमारी पाठक, गुप्त बहादुर श्रेष्ठ, सुरेशकुमार पाण्डे, भुमिका तिमल्सिना, दिनेश गुप्ता, शान्ता तिमल्सिना, आयुष बडाल, अनिष पाठक लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको बाक्लो उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षता सञ्चालित कार्यक्रमको सहजीकरण वरिष्ठ लघुकथाकार डा. शंकरप्रसाद गैरेले गर्नुभएको थियोे । जुम प्रविधिको ह्यान्डलिङ भने आयुष बडालले गर्नुभएको थियोे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव

    अनुग्रह राना मगर ‘पुष्प’को ‘तमासा’ हेर्दा

  • २६ आश्विन २०८१, शनिबार ०७:५७ मा प्रकाशित
  • – गोपाल अश्क, समीक्षक
    – अनुग्रह राना मगर ‘पुष्प’, सर्जक

    नेपाली लघुकथाको फाँटमा अहिले लभगभ दिनहुँ कुनै न कुनै कथाकारको लघुकथा प्रकाशित भइरहेको घटनालाई नेपाली लघुकथाको विकासको राम्रो सङ्केत मान्न सकिन्छ । २०८१ साल नेपाली लघुकथाका लागि निकै नै उर्वर तथा समृद्ध साल रहेको भान हुन्छ। यस सालमा उल्लेख्य मात्रामा लघुकथासङ्ग्रहहरू प्रकाशित भएका देखिन्छन् । यिनै लघुकथाहरूको प्रकाशनको दुनियाँमा आफ्नो स्थान सुरक्षित गरेको लघुकथासङ्ग्रह हो- ‘तमासा’ । अनुग्रह राना मगर ‘पुष्प’ द्वारा लिखित ४२ वटा लघुकथाहरूको यस सङ्ग्रहमा अन्तर्वाता, अप्रिल फुल, आमाको माया, आहुति, औकात, कर्तव्य, परिवर्तन, खोई, गुनको मूल्य, छिमेकीको मन, हिम्मत, तमासा, तालमेल, दायित्व, दुलही, धनको लोभ, धाक, पालो, पुतली, बूढो रूख, माया बसेपछि, मुसुक्क, भेदभाव, रोकिने मन्त्र, साथी, सुन्दरता, सोच, स्वभाव, हँसिलो मान्छे, ज्ञानी छोरा, फरक, खोट, हैसियत, आशाको दियो, सङ्गत, देशको माया, डिमाण्ड, बिटुलो, स्वीकार, भाकल र विचार शीर्षकका लघुकथाहरू सङ्गृहीत छन् ।

      यस लघुकथाकृतिका लघुकथाहरूको अध्ययनोपरान्त के भन्न सकिन्छ भने प्रत्येक लघुकथाले आफ्नो विषयवस्तुको प्रकटीकरण गर्नमा सफलता प्राप्त गरेको छ र लघुकथाकारले प्रत्येक लघुकथामा उनले समाजमा व्याप्त रहेको यथार्थको जीवन्त चित्रण गरेका छन् । हाम्रो समाजमा अहिले बेरोजगारी बढेको र रोजगारको क्रममा हाम्रा युवायुवतीहरू विदेसिन बाध्य भइरहेको अवस्था रहेको छ । जागिर गर्नका लागि शैक्षिक योग्यताको जति आवश्यकताका साथसाथै एकअर्कालाई सहयोग गर्ने मानवीय गुणको आवश्यकता पनि हुने गरेको यथार्थको चित्रण ‘अन्तर्वार्ता’ शीर्षकमा गरिएको पाइन्छ । ‘अप्रिल फुल’मा अङ्ग्रेजी वर्षको अप्रिल महिनाको पहिलो दिनलाई साथीभाइलाई कुनै न कुनै झुटो कुरो भनेर मूर्ख बनाउने पश्चिमी संस्कृतिलाई आख्यानकृत गरी प्रस्तुत गरिएको छ भने ‘आमाको माया’ नामक लघुकथामा विदेसिएको छोराप्रति उमडेको आमाको मायालाई संवेदनशीलतापूर्वक रेखाङ्कित गरिएको छ । ‘आहुति’ शीर्षकको लघुकथाले देशमा भएको सशस्त्र द्वन्द्वको बेला देशका सपुतहरूले आआफ्नै सोच तथा विचारले द्वन्द्वमा लागेर देशमा आमूल्य परिवर्तनका लागि प्राणको आहुति दिएको कारुणिक यथार्थलाई चित्राङ्कित गरेको छ। त्यसैगरी ‘औकात’ नामक लघुकथाले आजका नव पिँढिमा पलाएको घमण्ड संस्कृति र एउटी घमण्डी केटीले एउटा गरिब केटोलाई आफ्नो धन सम्पत्तिको औकात देखाएर मर्मान्त बनाएकी तर दुर्घटनामा परेर घाइते हुँदा त्यही केटोबाट रगत दान पाएर मर्नबाट जोगिएको घटनाको सजीव प्रकटीकरण भएको पाइन्छ । 
    
      समग्रमा भन्नु पर्दा कथाकार ‘पुष्प’ को प्रस्तुत लघुकथासङ्ग्रहले समाजमा रहेको सङ्गति-विसङ्गित, आशा-निराशा, उच्च-नीच, धनि-गरिब, भेदभाव आदि विषयलाई चित्राङ्कित गरेर एउटा राम्रो तमासा देखाएको छ । आकर्षक आवरण र उचित मूल्य रहेको ‘तमासा’ लघुकथासङ्ग्रह पठनीय रहेको छ, सङ्ग्रहणीय रहेको छ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on अनुग्रह राना मगर ‘पुष्प’को ‘तमासा’ हेर्दा

    ‘लोपाञ्जन’को भावभूमि’

  • २५ आश्विन २०८१, शुक्रबार १५:०८ मा प्रकाशित
  • –गोपाल अश्क, समीक्षक
    -श्रीकृष्ण पौडेल, सर्जक

    श्रीकृष्ण पौडेलद्वारा लिखित र नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनद्वारा २०८१ मा प्रकाशित, ५१ वटा लघुकथाहरूको सङ्ग्रहको नाउँ हो- ‘लोपाञ्जन’ । यस लघुकथासङ्ग्रहमा ‘देवदूत र म’, ‘दुखेको देश’, मूर्दाको बिहे, शहीद, सपना, लोपाञ्जन, आमा, ज्येष्ठ नागरिक, तमसुक, लङ्गडी, ह्विलचियर, आश्रम, हाम्रा बा, बुबा, लालपुर्जा, अंशबण्डा, कोरोनासुर, असारे पन्ध्र, लेखापरीक्षक, चोर, संविधान र कार्यान्वयन, व्रत, सुनकरे टपरी, मार्सीको भात, आक्रोश, दर खाने, चुङ्गी, दाइजो, तेलको गरियो, मेहन्दी, भुँडी, पेसा, बाको मुख हेर्ने दिन, भेडी गोठालेको बिहे, कुटिल सहयात्री, गुमानेको पाडो, गुन्द्रुक र बेथेको साग, भोकहड्ताल, पण्डितिनी बज्यै, एक घुट्को पानी, एमसीसी, तरबुजाको चिन्ता, मनोरोगी, राहत, नाटक, कुण्डली, फूल, बिरेको जन्मोत्सव, ज्योतिष बा, कराई र आशीर्वाद शीर्षकका लघुकथाहरू सङ्गृहीत रहेका छन् ।

    प्रस्तुत लघुकथासङ्ग्रहमा समाविष्ट रहेका लघुकथाहरूमा विषयगत विविधता रहेको पाइन्छ । कुनै लघुकथा (देवदूत र म) मा मानवले मानवको हत्या र प्रकृतिको विनाश गरिरहेको भाव वर्णित रहेको छ भने कुनै लघुकथा (दुखेको देश) मा देशमा व्याप्त रहेका विभिन्न विसङ्गतिबाट आहत आम नेपालीको मनोदशाको भाव वर्णित रहेको छ। कुनै लघुकथा (मूर्दाको बिहे) मा प्रेमलाई स्वीकार नगरी अर्कोसँग बिहे गर्दा प्रेमिका भागेकी र त्यसपछि गाउँको केटीलाई बिहे गरेको र त्यस्तो बिहेलाई मूर्दाको बिहे भन्ने भाव वर्णित रहेको छ भने कुनै लघुकथा(शहीद) मा देशको लागि लड्दालड्दै आफ्नो दाजु शहीद भएको तर शहीदहरूको सूचीमा उनको नाउँ नलेलिएकोले भाइको मनमा उत्पन्न भएको पीडाको भाव वर्णित रहेको छ । ‘लोपाञ्जन’ लघुकथाले सबैले देख्‍ने ‘लोकाञ्जन’ नै अत्याचार हो भन्ने भाव वर्णित गरेको छ भने ‘आमा’ शीर्षकको लघुकथाले पढेलेखेकी बुहारीले सासु सिकिस्त परेकी बेला हेरचाह नगरेको तर अशिक्षित छोरोले चाहिँ आफ्नी आमाको हेरचार गरेको भाव व्यक्त गर्दै बुहारीहरूले सासुको सेवा हेरचार नगर्ने गरेको भाव चित्राङ्कित गरेको छ।

    वर्तमान समयमा सामाजिक मूल्य मान्यतामा ह्रास आएको र छोराछोरीहरूले आफ्ना वृद्ध भइसकेका आमाबुबाको हेरचाह नगरेको यथार्थलाई ‘जेष्ठ नागरिक’ नामक लघुकथाले प्रकट गरेको छ। साँच्चि भन्ने हो भने आजभोलि जेष्ठ नागरिकको जीवन कहालिलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । छोराछोरी हुँदासमेत उनीहरूको जीवनयापन तथा औषधोपचार आदिको व्यवस्था उनीहरूको सन्तानबाट भइरहेको पाइँदैन। आजका जेष्ठ नागरिक कहीँ कुनै वृद्धाश्रममा आफ्नो जीवनको अन्तिम घडी बिताउन बाध्य भइसकेका छन् । यस्तै कारुणिक भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ। ‘तमसुक’ नामक लघुकथाले आज पनि गाउँघरमा धनिहरूले गरिबहरूलाई ऋण दिएर ब्याजको नाममा मनपरी लुट्ने गरेको भाव वर्णित रहेको छ । भर्खरै देशमा मिटरब्याजसम्बन्धी भएको जनआक्रोश र त्यसपछि सरकारले अख्तियार गरेको रवैयाले पनि यस ज्वलन्त मुद्दालाई सम्बोधन गरेको सन्दर्भमा प्रस्तुत लघुकथाको सार्थकता सिद्ध हुन जान्छ । यस प्रकार के भन्न सकिन्छ भने प्रस्तुत लघुकथासङ्ग्रका प्रत्येक लघुकथाले कुनै न कुनै सामाजिक, राजनीतिक, आर्थिक समस्यालाई विषयवस्तुको रूपमा चित्राङ्कित गरेर समाजलाई स्वस्थ र इमानदार बनाउने सन्देश दिएको छ । यस लघुकथासङ्ग्रहको आवरण र आन्तरिक सेटिङ आकर्षक छ र यसको मूल्य ठीक देखिन्छ। यो पुस्तकले आधुनि नेपाली लघुकथाको क्षेत्रमा आफ्नो स्थान सुरक्षित गर्नेछ भनी आशा लिन सकिन्छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव2 Comments on ‘लोपाञ्जन’को भावभूमि’

    होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ मा विचरण गर्दाको अनुभूति

  • २४ आश्विन २०८१, बिहीबार १८:५९ मा प्रकाशित
  • पुस्तक परिचयात्मक समीक्षा :


    –गोपाल अश्क, समीक्षक
    -होमप्रसाद नेउपाने, सर्जक

    वि. सं. २०१७ वैशाख २१ गते माता लक्ष्मी देवी नेउपाने र पिता श्रीप्रसाद नेउपानेको सुपुत्रका रूपमा लेखर्क, भोजपुरमा जन्मेर धरान उपमहानगरपालिका-११, सुनसरीमा स्थायी बसोबास गर्दै तर वर्तमानमा बुढानिलकण्ठ-१२, काठमाडौँमा बस्दै आउनुभएका होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ (२०८१) नामक लघुकथासङ्ग्रह प्रकाशनमा आएको छ। नमस्ते आधुनिक लघुकथा मञ्च, चितवनले प्रकाशित गरेको प्रस्तुत लघुकथासङ्ग्रहमा जम्मा २७ वटा लघुकथाहरू सङ्गृहीत रहेका छन् । लभग प्रत्येक लघुकथाले एउटा नयाँ विषयलाई चित्राङ्कित गरेको छ । भनाइको अर्थ के हो भने ‘नेउपाने’का लघुकथाहरूमा विषयको पुनरावृत्ति देखिँदैन । यस कथाकृतिमा रहेको पहिलो लघुकथा ‘भेट’ले देशमा व्याप्त रहेको दलगत विसङ्गतिलाई उजगर गरेको पाइन्छ । देशमा जे जति राजनीतिक दलहरू छन्, ती सबैले आ-आफ्नो दलको मात्र स्वार्थ सिद्धिमा लागेका हुन्छन् । जति राम्रो विकास योजना भए पनि, आफ्नो दलको स्वार्थ पूरा नहुने छाँट देखेमा त्यो योजना लागु गर्दैनन् । यही भाव प्रस्तुत लघुकथामा वर्णित रहेको छ । हाम्रा नेताहरूले हाम्रो देशलाई एउटा प्रयोगशाला बनाइदिएका छन् । देश बनाउने नाममा समय-समयमा भएको क्रान्ति र त्यस क्रान्तिका संवाहकहरूमा देखिएको विचलनलाई ‘प्रयोगशाला’ नामक लघुकथामा सजीव ढङ्गले चित्रण गरिएको छ ।

    प्रस्तुत लघुकथामा सङ्गृहीत रहेका अन्य लघुकथाहरू यथा ‘अदुभूत गोजी’, ‘चिठी’, ‘आक्रोश’, ‘मयल’, ‘बीउ’, ‘प्रेम’, ‘मलामी’, ‘विषादी’, ‘आभास’, ‘कोट‘, ‘मणि’, ‘निवृत्ति’, ‘प्रतिघात’, ‘रोजगारी’, ‘भैँसीको ढाड’, ‘स्वभाव’, ‘गुनासो’, ‘आँकलन’, ‘आलोक’, ‘जोखिम’, ‘अचानो’, ‘धनको सुगन्ध’, ‘गन्तव्य’, ‘हाँसो’ र ‘स्नेह’ले विभिन्न विषयवस्तुको प्रकटीकरण गरेका छन् । जहाँ ‘चिठी’ मा घर छाडेर गएकाहरूको आफ्नो गाउँ घर फर्किनका लागि मार्मिक सन्देश वर्णति रहेको छ भने ‘आक्रोश’मा इमान्दार व्यक्‍तिलाई उसको घर परिवार, श्रीमती, छोराछोरी सबैले गिज्याउने गरेको कटु यथार्थ वर्णित रहेको छ । त्यसैगरी जहाँ ‘प्रेम’ नामक लघुकथामा श्रीमान श्रीमतीबाहेक अरू कोही सच्चा साथी नहुने भाव चित्राङ्कित रहेको छ भने ‘मलामी’ नामक लघुकथाले देशमा न्याय मरिसकेको र त्यसको अन्तिम दाह संस्कार गर्न हिँडेको भन्ने भाव वर्णित रहेको पाइन्छ । वर्तमान समयमा देशको कुनै पनि अङ्ग विशुद्ध छैन, हरेक क्षेत्रमा विषादीको प्रयोग भएहरेको अवस्था छ । किसानले बढीभन्दा बढी उत्पादन गर्ने सोचमा विषादी खाद्यको प्रयोग गरिरहेको अवस्थाको चित्रण गर्दै यस्तै रहने हो भने एक दिन विषादी प्रयोग गर्ने किसान पनि आफ्नै विषादयुक्त खाद्यानको प्रयोगले मृत्युवरण गर्ने पुग्नेछ भन्ने भाव वर्णित रहेको छ ‘विषादी’ नामक लघुकथामा । ‘कोट’ शीर्षकको लघुकथामा एउटा बुबाले आफ्नो छोरालाई राम्रो शिक्षा दीक्षा दिननसकेको, चाहे अनुसारको जीवनशैली दिन नसकेको, राम्रो खुवाउन नसकेको, राम्रो लाउन दिन नसकेको भाव चित्राङ्कित रहेको छ । जागिरे मान्छेको जीवनमा ‘निवृत्ति’ भन्ने अध्याय आउँदो रहेछ र त्यो अध्यायले बाँकी रहेको जीवनलाई नराम्री प्रभावित गर्दो रहेछ भन्ने भाव ‘निवृत्ति’ नामक लघुकथामा वर्णित रहेको छ । यसरी के भन्न सकिन्छ भने यस लघुकथासङ्ग्रहका प्रत्येक लघुकथाहरूले कुनै न कुनै सामाजिक यथार्थलाई सजीव ढङ्गले चित्राङ्कित गरेको पाइन्छ । यस कथाकृतिको आवरण आकर्षक तथा मूल्य उचित रहेको छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभव2 Comments on होमप्रसाद नेउपानेको ‘प्रयोगशाला’ मा विचरण गर्दाको अनुभूति

    नेपाली लघुकथा क्षेत्रलाई यमुना प्रधानाङ्ग ‘मुना’को रसिलो ‘उपहार’

  • २३ आश्विन २०८१, बुधबार २०:३४ मा प्रकाशित
  • यमुना प्रधानाङ्ग ‘मुना’, सर्जक

    गोपाल अश्क, समीक्षक

    यमुना प्रधानाङ्ग ‘मुना’ (२०२१) नेपाली लघुकथा क्षेत्रकी प्रतिभासम्पन्न हस्ताक्षार हुन् । यिनको व्यक्‍तित्व कविता, गीत र कथा सिर्जनमा विस्तारित रहेको छ । ‘आमा’ (कवितासङ्ग्रह, २०६७) प्रकाशन गराएर विधिवत् रूपमा नेपाली साहित्यमा प्रवेश गरेकी ‘मुना’ का ‘बुद्धको देश’ (गीतसङ्ग्रह, २०७०), लघुकथाको सुगन्ध, १२ फूल १०८ सुगन्ध (सहलेखन, २०७९) र ‘उपहार’ (लघुकथासङ्ग्रह, २०८१) प्रकाशित रहेका छन् । यस कृतिमा आशा, चुँडियो सपना, मानेको भए ?, कप्लक्कै खायो ! कोरोना महामारी, पूजा, सोच्न बाध्य, नेतृत्व, विद्रोह, आँट, धरातल, छोरा मान्छे, उपहार, घमण्ड चुर, विकृत फागु, वचन, भागबण्डा, सीप प्यारो, परिणाम, अझै पनि !, को ठूलो ?, मेहनतको फल, बृहत् नक्सा, सकारात्मक, डर, व्यवहारिक ज्ञान, व्यवस्था, जिम्मेवारी, पानी, साथ, स्थान, बाध्यता र सन्तान प्राप्ति शीर्षकका ३३ वटा लघुकथाहरू सङ्ग्रहीत छन् ।

    अधिकांश लेखकहरू वर्तमान समयलाई नै लेख्‍नै गरेको पाइन्छ । यसको कारण के हो भने वर्तमान समयलाई रेखाङ्कित गर्ने क्रममा लेखक आफ्नै भोगाइको सेरोफेरोमा घुमिराखेका हुन्छन् । यस प्रकारको घुमाइमा लेखकलाई आफ्ना रचनाहरूलाई साहित्यिक बनाउनका लागि धेरै दिमागी कसरत गर्नु पर्देन किनभने जीवनमा अनुभूत गरिएका कुराहरूको सजीव वर्णनले नै पाठकलाई आफूतिर आकर्षित गर्नमा सफल हुन्छन् । तर वर्तमान समयलाई रेखाङ्कन गर्ने काम जोखिमपूर्ण पनि हुने गर्दछ किनभने आफूले रेखाङ्‍कन गरेका भावहरू अन्य लेखकहरूसँग ठ्याक्क मिल्न जाने खतरा हुन्छ । यहाँनिर लेखकमा उसको निजी कला कौशल हुनु अति आवश्कय हुन जान्छ ।

     यस अर्थमा कथाकार ’मुना’ अलिक पृथक देखिन्छन् । यिनका लघुकथाहरूमा वर्तमान समयमा व्याप्त रहेका सङ्गति-विसङ्गतिको चित्राङ्कन भए पनि अलि अलग्गै किसिमले भएको पाइन्छ । विश्वलाई आफ्नो पाशमा लिएको कोरोना महामारीबाट उत्पन्न भएको सामाजिक, आर्थिक, राजनीतिक तथा मानसिक अवस्थाको प्रतीकात्मक चित्रण गर्नमा यिनी सफल भएको देखिन्छ । यिनका ‘आशा’, ‘चुँडियो सपना’, मानेको भए?’, ‘कप्लक्कै खायो’, ‘कोरोना महामारी’, ‘सकारात्मक’ शीर्षक लघुकथाहरूमा ‘कोरोना महामारी’ विषयवस्तु बनेर आएको देखिन्छ भने ‘पूजा’ शीर्षकको लघुकथामा साहित्य र मानव सेवा नै पूजा हो भन्ने भाव वर्णित रहेको देखिन्छ । ‘सोच्न बाध्य’ नामक लघुकथामा यिनले आफ्नो देशका केही भूभाग नक्सामा रहेपनि वास्तविक रूपमा आफ्नो भोग चलनमा नरहेको कटु यथार्थको भाव वर्णित रहेको छ । नेपाली समाजमा अहिले कहीँ-कहीँ देखा परेको छोराको मृत्युपछि बुहारीको बिहे गरिदिने अनुकरणीय संस्कृतिको रेखाङ्कन यिनको ‘आँट’ भन्ने लघुकथामा वर्णित रहेको पाइन्छ । यिनको ‘उपहार’ नामक लघुकथाले श्रीमान् श्रीमतीबीचको सम्बन्ध एकअर्काप्रतिको विश्वास र मायाले मात्र दिगो रहने भाव प्रकट गर्दै श्रीमतीलाई पूर्ण रूपमा बुझेर माया गर्ने श्रीमान् नै यथार्थमा जीवनको अमूल्य उपहार हो भन्ने भाव वर्णित रहेको पाइन्छ । यिनका लघुकथाहरूमा विषयगत विविधता पाइन्छ । यो नै यिनको प्रस्तुत लघुकथासङ्ग्रहको प्राप्ति हो । 
    
    आकर्षक आवरण तथा ७८ पृष्ठको लघुकायामा सजिएको यो ‘उपहार’ नामक लघुकथासङ्ग्रहलाई ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ले प्रकाशमा ल्याएको छ । यसको मूल्य रू. २७५ राखिएको छ ।
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on नेपाली लघुकथा क्षेत्रलाई यमुना प्रधानाङ्ग ‘मुना’को रसिलो ‘उपहार’

    किरात धर्मको मिथकीय शीर्षक ‘बुन्छत’ लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

  • १५ आश्विन २०८१, मंगलवार ०६:५८ मा प्रकाशित
  • म्यामराज राईकाे लघुकथासङ्ग्रह ‘बुन्छत’ २०८१ साल वैशाखमा प्रकाशित कृति हाे । हतुवागढी- ६ हाेम्ताङ भाेजपुरमा जन्मिएका राई जाेगबहादुर र आशबुङका छाेरा हुन् । स्नातक तहसम्मको अध्ययन गरेका राई पछिल्लो समय जापानमा बस्दै आएका छन् । साहित्यमा विशेष रूचि र लगाव भएका म्यामराज राई जापानमा बसेर पनि निरन्तर साहित्य साधनामा सम्लग्न छन् । नमस्ते आधुनिक लघुकथा मञ्चसँग प्रत्यक्ष रूपमा जाेडिएर काम गर्दै आएका राई समितिकाे सक्रिय सदस्य छन् । उनले लेखन तथा सम्पादन कार्य गरेकाे पाइन्छ । मूलतः कविता तथा लघुकथा सिर्जनामा सक्रिय राईका ‘हाम्रो बाटो'लघुकथासङ्ग्रह (२०७९), ‘बुन्छत’ लघुकथासङ्ग्रह (२०८१) का साथै ‘महक'टुक्का कवितासङ्ग्रह (२०८०) प्रकाशित छन् । यिनले खिम्दुङ् काेसेली साहित्यिक द्वैमासिक हवाई पत्रिकाका साथै लघुकथाकाे सुगन्ध अङ्क ४ र ५ काे सम्पादक भई काम गरेको देखिन्छ ।

    म्यामराज राईकाे पछिल्लो प्रकाशित कृति `बुन्छत´ लघुकथासङ्ग्रहमा ५४ वटा फघुकथाहरू समाविष्ट छन् । विविध समसामयिक विषयकाे प्रधानता रहेकाे यस सङ्ग्रहका कतिपय लघुकथाले अत्यन्त पृथक विषयलाई समेत प्रस्तुत गरेको देखिन्छ । यसको एउटा महत्त्वपूर्ण नमुना ४४ औं क्रममा रहेकाे ‘बुन्छत’ हाे । किराँत मिथकमा आधारित यस लघुकथाले किराँत जातिको बुन्छतप्रतिकाे आस्था विश्वासलाई प्रस्तुत गरेको छ । बुन्छतका तीन आकृतिमा ज्ञान, शक्ति र सुरक्षाको प्रतीक रहेको आस्थापूर्ण भाव लघुकथामा प्रस्तुत गरिएको छ ।

    बुन्छत लघुकथासङ्ग्रहमा समाविष्ट रचनाहरूमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सन्दर्भका लघुकथाहरू समाविष्ट छन् । विषयगत विविधता रहेका यस सङ्ग्रहका लघुकथामा नैतिक अनैतिक सन्दर्भ, राजनीतिका सकारात्मक नकारात्मक क्रियाकलापहरू, मित्रताका सकारात्मक तथा नकारात्मक पक्षजस्ता विषयहरू समावेश गरेका छन् । अरूका देशको अनुशासित वातावरण देखेर प्रशंसा गर्ने तर आफूमा त्यसप्रकारकाे परिवर्तन नल्याउने नेपालीको प्रवृत्ति, जड्याहालाई स्वास्थ्य भन्दा नसाकाे माया हुने, आर्थिक अभावले दिने भय र पीडा, अरूलाई गुर्जाेकाे गफ लगाउने तर काेराेना लागेपछि हस्पिटल पुग्ने व्यापारी, डिग्री गरेर पनि शुद्ध नेपाली बाेल्न नसक्ने अवस्थाप्रतिकाे व्यङ्ग्य राईका लघुकथामा पाइन्छ । गीत सङ्गीतका क्षेत्रमा विवादित भए पनि नाफा हुने गरेको वास्तविकता, वनका पशु समस्या, नेपालीले प्रकृतिको दाेहन गर्ने गरेकाे यथार्थका माध्यमबाट व्यङ्ग्य प्रहार गरेको पाइन्छ । टिकटकका कारण हुने गरेका दुर्घटना, नारीहरूकाे गहना कपडाको आशक्ति, नयाँ पुस्ताको शहर माेह, गाउँ फर्कनु पर्दा आत्महत्या गर्ने प्रवृत्तिजस्ता मार्मिक सन्दर्भलाई राईले आफ्ना लघुकथामा उठाएको पाइन्छ ।

    सरल भाषाशैलीकाे प्रयोग गरि सहज र बाेधगम्य लघुकथा सिर्जना गर्ने राईले आफ्ना लघुकथाका माध्यमबाट कतै विकृति विसङ्गतिप्रति व्यङ्ग्य प्रहार गरेको पाइन्छ भने कतै नैतिक उपदेश तथा सकारात्मक सन्देश सम्प्रेषण गरेकाे पाइन्छ । लघुकथा लेखनमा समर्पित भएर लागेका राईका लघुकथाहरू उत्तराेत्तर परिष्कृत हुँदै गएका छन् ।

    समीक्षक : डा.शंकरप्रसाद गैरे
    लेखक : म्यामराज राई
    कृति : बुन्छत
    विधा : लघुकथा
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१, वैशाख
    मूल्य : ३३३/-

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged म्यामराज राई, लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on किरात धर्मको मिथकीय शीर्षक ‘बुन्छत’ लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

    पहिलो नजरमा अवधेश सिंह र उनको ‘मरजाद’

  • १४ आश्विन २०८१, सोमबार २०:२५ मा प्रकाशित
  • सर्जक- अवधेश सिंह
    समीक्षक- लक्ष्मण अर्याल

    लघुकथाकार अवधेश सिंहको जन्म २०१४ सालमा सिराहा जिल्लाको लक्ष्मीपुर गाउँपालिका ४, ब्रह्मपुरीमा भएको हो । गणपति सिंह र अञ्जनदेवी दनुवारका कनिष्ठ पुत्ररत्न हुन् उनी । हाल उनको बसोबास काठमाडौँको नागार्जुन गाउँपालिका २, शान्तिटोलमा रहेको छ । त्रिभुवन विश्वविद्यालयबाट अङ्ग्रेजी साहित्यमा र यु.एस.ए.बाट Teaching English to the Speakers of Other Languages विषयमा स्नातकोत्तरसम्मको औपचारिक शिक्षा आर्जन गरेका सिंहको मुख्य पेसा प्राध्यापन भए पनि हाल उनी अवकाशप्राप्त जीवन व्यतीत गरिरहेका छन् । वि.सं. २०३६ सालतिर ‘दुपहरिया मे डुबैत सूर्य’ शीर्षकको कथा प्रकाशित गराएर साहित्ययात्रामा लागेका सिंहको ‘अवोध अभिलाषा’ शीर्षकको लघुकथा नै पहिलो लघुकथा हो जुन ‘नमस्ते आधुनिक लघुकथा मञ्च’ नामक लघुकथाप्रधान फेसबुक पत्रिकामा २०७६ सालमा प्रकाशित भएको देखिन्छ ।

    ‘मरजाद’ लघुकथाकार सिंहको पहिलो प्रकाशित लघुकथासङ्ग्रह हो । प्रकाशन संस्था नमस्ते आधुनिक लघुकथा मञ्च र प्रकाशन वर्ष २०८१ वैशाख रहेको यो कृति एक मात्र प्रकाशित साहित्यिक पुस्तकका रूपमा दखिएको छ । हुनत सिंहका ‘मरजाद’का अतिरिक्त अन्य ४ वटा कृतिहरू पनि प्रकाशनमा आएका छन् । उनका साहित्येतर ४ कृतिमध्ये ३ वटा अङ्गेजी भाषामा र एउटा नेपाली भाषामा लेखिएको छ । अङ्ग्रेजी भाषामा लेखिएका पुस्तकहरू अङ्ग्रेजी भाषा सम्बद्ध नै छन् भने नेपाली भाषामा लेखिएको कृति दनुवार संस्कृतिको चिनारीसँग सम्बन्धित छ । आफ्नो भाषा र संस्कृति मासिए पहिचान पनि बिलाउँदै जान्छ । पढेलेखेका मानिसहरूले आफ्नो भाषा अनि संस्कृतिलाई बिर्सिंदै गएको आजको सन्दर्भमा दनुवार संस्कृतिसँग सम्बन्धित यो पुस्तक निकै उदाहरणीय पनि रहेको छ ।

    ‘मरजाद’मा ५४ वटा लघुकथाहरू सङ्ग्रहित छन् । यी मध्ये एकपदीय र द्विपदीय संरचनाका शीर्षकहरू २६/२६ वटा छन् भने चतुष्पदीय संरचनाका शीर्षक २ वटा छन् । मर्यादा अर्थ बोकेर आएको कृतिको मूल शीर्षक आकर्षक छ तर यो शब्द प्रयोगमा अचाक्ली आइरहने शब्द भने होइन । यो शब्द लेखकको गाउँठाउँतिर बढी प्रयोग गरिने पनि हुनसक्छ । आयामका दृष्टिले ५३ वटा लघुकथाहरू २/२ पेजका र एउटा १ पेजको छ । भूमिका, विषयसूची (लघुकथा क्रम भनिएको) र अन्यका लागि १२ पेज र लघुकथाको पाठ्य रूपका लागि १०७ पेज खर्चिएको छ । लघुकथाका विषयहरू हाम्रै समाज वरपरका नै छन् । लेखकले कोरा कल्पनालाई यथार्थिक कल्पनालाई नै बढी महत्व दिएका छन् ।

    ‘मरजाद’भित्रका लघुकथाहरूलाई सर्सर्ती हेर्दा कुनैमा शीर्षक प्रभावी छ भने कुनैमा विषयवस्तु प्रभावी छ । कुनैमा सामाजिक यथार्थ बलियो बनी आएको छ भने कुनैमा आदर्शतिर ढल्किएको स्थिति छ । कुनैमा परिवेशको सजीव वर्णन छ भने कुनैमा स्थानीय भाषासंस्कृतिको रङ्गीन तस्बिर छ । कुनैमा कर्मवादी चिन्तन हावी छ भने कुनैमा शैक्षिक जागरणको स्वरलाई बुलन्द बनाइएको छ ।

    अन्त्यव्यवस्थापनका दृष्टिले अधिकांश लघुकथाहरू सशक्त नै छन् । लघुकथाहरूमा व्यङ्ग्य सघन छ । सम्वाद प्रभावकारी छन् । भाषा सरल र कताकति स्थानीय रङ घोलिएका छन् । लघुकथामा नेपालीमा कमै प्रयोग गरिने तत्सम शब्द पनि यदाकदा टुप्लुकिन्छन् । यस्ता शब्द प्रयोग गर्दा लेखकले निकै ध्यानपूर्वक प्रयोग गरेकाले पढ्दा ती बिझाउने खालका भने छैनन् । लेखकले सङ्ग्रहका लघुकथालाई त्यत्तिकै लहडमा नलेखी सोची–बुझी–संझी लेखेका हुन् भन्न सकिने ठाउँ छ । लेखनमा परिपक्वता झल्किएको छ । लेखकमा अन्तर्निहित बौद्धिक व्यक्तित्वले लघुकथा लेखनमा उनलाई राम्रै सघाएको छ । तर यति हुँदाहुँदै पनि ठाउँ ठाउँमा मुद्राराक्षसले भने बिछट्टै सताएको भने छ ।

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, साहित्यTagged लघुकथा समीक्षा, वसन्त अनुभवLeave a Comment on पहिलो नजरमा अवधेश सिंह र उनको ‘मरजाद’

    छाेटा आख्यानकाे सुन्दर गुम्फन ‘दाेपानी’ लघुकथासङ्ग्रह (परिचयात्मक समीक्षा)

  • १२ आश्विन २०८१, शनिबार २३:१२ मा प्रकाशित
  • कृतिकार: कर्ण दयाल
    समीक्षक: डा.शंकरप्रसाद गैरे

    दाेपानी´ कर्ण दयालसाेराडी´ काे पहिलो एकल लघुकथासङ्ग्रह हाे । यसअघि लघुकथाकाे सुगन्ध´ संयुक्त लघुकथासङ्ग्रह प्रकाशित गरेका दयालले गजल, कविता, मुक्तक विधामा सशक्त रूपमा कलम चलाउँदै आएका छन् । बैतडीमा जन्मिए हुर्केका दयाल उच्च शिक्षा हासिल गरेर केही समय शिक्षण पेसामा लागे भने पछिल्लो समय मानवअधिकारकर्मी तथा सामाजिक अभियन्ताकाे परिचय बनाएका छन् ।

    हालसम्म आधादर्जनभन्दा धेरै कृति प्रकाशित गरिसकेका दयालले २०७३ सालतिरबाट लघुकथा लेख्न थालेका हुन् । विदुर चालिसे, शंकरप्रसाद गैरे, कपिल लामिछाने लगायतका अग्रज स्रष्टाका लघुकथाबाट प्रभावित दयाल मूलतः मानवीय मूल्य मान्यता स्थापित गर्ने पक्षमा आफ्ना लघुकथाहरूलाई केन्द्रित गर्न मन पराउँछन् । पानी बार्ने नेपाली समाजकाे परम्परागत मान्यतामा आधारित रहेर दाेपानी शीर्षक राखिएको दयालकाे लघुकथासङ्ग्रहमा चउन्नवटा लघुकथा समावेश गरिएका छन् । सरल भाव सुन्दर शिल्पशैलीका यिनका लघुकथाहरूले नेपाली समाजमा देखिने विविध विषय र समस्यालाई उठान गरेका छन् भने कतै व्यङ्ग्य गरेका छन् त कतै सुधारका लागि सन्देश सम्प्रेषण गरेका छन् ।

    जातीय विभेद, आर्थिक विभेद, लगायतका विभेद दयालका लघुकथाकाे मुख्य कथ्य हाे भने मान्छेका साथै मानवेतर प्राणीप्रति पनि दया माया देखाउनुपर्छ भन्ने सन्देश यिनका लघुकथामा सम्प्रेषण गरिएको छ । मानवेतर प्राणीका साथै विभिन्न समय र प्रहरलाई मानवीकरण गरी पात्र चयन गरेकाे पाइन्छ ।

    बालबालिकाप्रति अभिभावककाे दायित्व, पशुअधिकार र मान्छेकाे क्षुद्र र स्वार्थी प्रवृत्ति, पशुमा दया देखिने तर मान्छे क्रूर हुने गरेकाे यथार्थ, पशुमाथि मान्छेले गर्ने छल, काम गर्नेलाई अधिकार नदिने विभेदकारी नीति, मजदुर अधिकार, लैङ्गिक विभेदजस्ता विषय दयालका लघुकथामा प्रस्तुत भएका छन् । छाेरीलाई शिक्षा दिनुपर्ने र उमेर नपुग्दै बिहे गरिदिन नहुने सन्देश, कर्मचारीकाे भ्रष्ट आचरण, प्रकृतिको दाेहन, विभेदयुक्त समाज, अरूलाई आराेप लगाउने तर आफै लापरबाही गर्ने प्रवृत्ति, राजनीतिमा नयाँ पुस्तालाई अगाडि बढाउनुपर्ने मान्यता, कर्मचारीले गर्ने भ्रष्टाचार र जनप्रतिनिधिले राज्यकोषकाे दाेहन गर्ने प्रवृत्ति, मर्दै गएको मानवीय संवेदना, विदेशिनुपर्ने विवशता, काेराेनाका विविध सन्दर्भ, माेबाइलकाे लत, अन्धविश्वास, चाकरी खाेज्ने प्रवृत्ति, यिनका लघुकथामा प्रस्तुत भएका विषय हुन् । सामाजिक विकृति, विसङ्गति, गतिहीनता, बेमेल, भ्रष्ट राजनीति लगायतका विषय प्रस्तुत गरेर दयालले सामाजिक विषयका लघुकथा लेख्ने लघुकथाकारकाे परिचय बनाएका छन् । नेपाली समाजमा देखिने, सुनिने र भाेगिने गरेका आम विषयलाई नै चयन गरेर सुन्दर ढङ्गले आख्यानीकरण गर्ने दयाल कुशल लघुकथा स्रष्टा हुन् । यिनका लघुकथा क्रमशः परिष्कृत हुँदै गैरहेका छन् । दयाल बलियो सम्भावना बाेकेका लघुकथाकार हुन् भन्ने कुराकाे पुष्टि उनकोदाेपानी´ लघुकथासङ्ग्रहले गरेको छ ।

    कृति : दाेपानी
    विधा : लघुकथा
    लेखक : कर्ण दयाल `साेराडी´
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    प्रकाशन वर्ष : २०८१ वैशाख
    मूल्य : ३३३/-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षा1 Comment on छाेटा आख्यानकाे सुन्दर गुम्फन ‘दाेपानी’ लघुकथासङ्ग्रह (परिचयात्मक समीक्षा)

    लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

  • ८ आश्विन २०८१, मंगलवार ०६:३० मा प्रकाशित
  • सर्जक: ज्यो. नानी बिवु
    समीक्षक: डा.शंकरप्रसाद गैरे

    ‘इज्जत' लघुकथासङ्ग्रहकी लेखिका नानी बिवु पेसाले ज्याेतिष हुन् । ज्याेतिषशास्त्रमा स्नातक गरी यही पेसामा आवद्ध भएकी बिवु साहित्य लेखनमा विशेष सक्रिय छन् । २०७६ सालमाअनुक्राेश´ उपन्यास प्रकाशित गरेपछि घनश्याम डल्लाकाेटीकाे सुझाव र सल्लाहमा लघुकथा लेखनमा लागेकी बिवु आख्यान लेखनमा विशेष सक्रिय देखिन्छिन् । `इज्जत´ लघुकथासङ्गग्रह उनकाे दाेस्राे प्रकाशित कृति हाे ।

    ३२ वटा लघुकथा समाविष्ट गरेर तयार पारिएको प्रस्तुत `इज्जत´ लघु आकारको कृति हाे । समान आकारका लघुकथा समाविष्ट यस कृतिका लघुकथाहरू विषयगत दृष्टिले विभिन्न प्रकारका छन् । बालबालिकादेखि वृद्धवृद्धासम्मका विविध अवस्था विषय सन्दर्भलाई प्रस्तुत गरिएको यस कृतिका रचनामा प्रेमप्रणय, प्रेममा हुने धाेका, प्रेमकाे देखावटीपन, लैङ्गकि विभेद, आर्थिक विभेद र सामन्ती चरित्र, बालमनाेविज्ञान, याेग्यताकाे अपहेलना गर्दै भनसुनका आधारमा काम दिनेलिने प्रवृत्ति, भ्रमपूर्ण बुझाइका कारण हुने घटना/दुर्घटना, विभिन्न दिवसका नाममा चलेका फेसन र विकृति जस्ता विषयलाई बिवुले प्रभावकारी रूपमा प्रस्तुत गरेको पाइन्छ । काेराेना र प्रणयसन्दर्भ, सरकारी कर्मचारीकाे जिम्मेवार नहुने प्रवृत्ति, कुनै पनि विषयलाई एकपक्षबाट मात्र हेरिनु हुँदैन भन्ने सन्देश, अरूका कुरा काट्ने तर आफ्नो कमजोरी नदेख्ने प्रवृत्ति, सङ्कटका बेला अनावश्यक सञ्चय गर्नाले निम्तिने समस्या, सङ्कीर्ण बुझाई र दृष्टिकोण, लाेभ, उपदेश, विशिष्ट र महान् व्यक्तिको परिचय, संस्कृतिमा देखिएकाे भड्किलो पन, दाइजो प्रथाप्रतिकाे लेखकीय दृष्टिकोण र असन्तुष्टि, लैङ्गकि विभेद, हीनताबोध, पश्चात्ताप, ईर्ष्या, अपाङ्गताका विभिन्न पक्ष प्रस्तुत कृतिमा समाविष्ट रचनाले प्रस्तुत गरेका विषय हुन् । विकृति विसङ्गतिलाई प्रस्तुत गर्नु, नैतिक उपदेश दिनु, सामाजिक यथार्थकाे प्रस्तुति गर्नु बिवुका लघुकथाकाे उद्देश्य देखिन्छ ।

    लघुकथा साधनामा निरन्तर लागिपरेकी बिवु सम्भावना बाेकेकी लघुकथाकारका रूपमा देखापरेकी छन् । व्यङ्ग्यकाे प्रधानता नरहे पनि सन्देश सम्प्रेषणका दृष्टिले यिनका लघुकथा महत्त्वपूर्ण देखिन्छन् ।

    कृति : इज्जत
    स्रष्टा : ज्याे. नानी बिवु
    प्रकाशन वर्ष : २०८१ वैशाख
    प्रकाशक : नमस्ते आधुनिक लघुकथा मञ्च
    मूल्य : २०५/-

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यTagged लघुकथा समीक्षाLeave a Comment on लघुकथाकाे कसीमा इज्जत लघुकथासङ्ग्रह(परिचयात्मक समीक्षा)

    Posts navigation

    Older posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P