
काठमाडौँ । साप्ताहिक ‘टुक्कामाथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खला सम्पन्न भएको छ ।
अभ्यासमा नेपाल लगायत विश्वका ५७ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।
टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।
टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।
टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको १७८ औँ शृङ्खलाको लागि प्रतिनिधि टुक्काको रूपमा समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।
~~~~~<•>~~~~~
सहभागी टुक्काकारहरूका सुन्दर टुक्का कविताहरू-
१//
रङ भनी फोहोर छ्याप्दै आउनोस् खेलौँ होली
आज त ! मस्ती नगरिहुन्न चाहे जे होस् भोलि ।
✍️ वसन्त अनुभव
घोराही, दाङ
२//
मस्तिमा चल्छ जीवन फाेहाेरी खेल खेलेर
चाेख्याउने शक्ति हुँदा बढ्छन् कानुन पेलेर ।
✍️ ताराप्रसाद चापागाईँ
३//
आज रमाऔँ रङ्ग दलेर हाेली
चिन्ता नलिऔँ जे पर्ला पर्ला भाेलि ।
✍️ केसर बाेहरा ( सङ्घर्ष )
सुदूरपश्चिम अछाम । हाल भारतबाट ।।
४//
मनमस्तिष्क गर होलीको रङ्ग खेलेर
जिन्दगी धान्नु छ सुखदु:ख सबै झेलेर ।
✍️ बिबा तामाङ
दार्जिलिङ
५//
रङ्ग छर्नुस् है मजाले याे हाे पर्व हाेली
फरक केही पर्दैन जति भिजाेस् चाेली।
✍️ नवराज भट्ट
कञ्चनपुर
६//
कानुन विपरीत भए भन्दिउँला होली
आझै गरौँ मोजमस्ति कुर्नु पर्दैन भोलि ।
✍️अच्युत घिमिरे, सर्पाङ, भुटान🇧🇹
७//
भोलिको परवाह नगरी गर्दा मस्ती रमाइलो
त्यही रमाइलो पछि गएर हुनसक्छ बाइलो ।
✍️ पुष्पा सुवेदी
नेपालगन्ज, बॅाके।
८//
जम्मा भई साथीभाइ गर्ने हो आज मस्ति
रमाउन पाइएको छैन है हिजो अस्ती ।
✍️ सरिता सेढाई धादिङ
९//
होलीको निहुँ खेल्ने घोटुवा पिई रङ फालेर
मस्ती गर्ने मौका मिल्दैन भोलि ढुकुटी छानेर ।
✍️ इन्दु श्रेष्ठ, चितवन
१०//
होली भन्दैमा फोहरी रङ छ्याप्दा, आफ्नै बेइज्जत होला
राजनीतिमा चतुरो तिमी, छिनमा मासा छिनमा तोला ।
✍️ राजेशराज गड्तौला
काँडाघारी, काठमाण्डौ
११//
पुर्खादेखि नै आएको पर्व होली चलेर
इच्छाको हो, हुन्न जबर्जस्ती रङ दलेर ।
✍️ शंकर कार्की, मकवानपुर
१२//
छरेर खुसीको रङ्ग
मानिस भएका दङ्ग !
✍️ आर्त अकुलीन
१३//
फाेहाेर रङ मिसाएर हान्छौ अबिर लाेला
आपसमा झगडा गर्दा बेइज्जत पाे हाेला ।
✍️ राज कुमार राजभण्डारी खाेटाङ्गे
ऐसेलुखर्क ३ खाेटाङ हाल भक्तपुर ।
१४//
हाेलीमा रङ्ग र फाेहर सबै खेल्ने गर्छन्
माैकापरस्तबाट निर्धा पेलाइमा पर्छन् ।
✍️ प्रमोद नेपाल
वीरगञ्ज । हालः काठमाडौँ -५
१५//
होलीसँगै नफेरियोस् जीवनको रङ्ग
सधैँ बनी बस्नुपर्छ हामी एकै अङ्ग ।
✍️
विष्णु पंगेनी (पाण्डे )
वालिङ् -स्याङ्जा
१६//
हाम्रो धर्म संस्कृति भन्दै सबले गर्थे गर्व
यस्ताले गर्दा हो बनेको यो विकृतिको पर्व ।
✍️ प्रतिज्ञा प्रतिज्ञा
मेहेलकुना सुर्खेत
१७//
कुनै रङ्ग छैन हातमा खेलिन होली मैले
उमेरले होला सायद बिरक्त लाग्छ ऐले ।
✍️ चुडामणी देबकोटा
पुरानो नैकाप काठमाण्डौ
१८//
आलिसान महलमा मस्ती गर्दै छलकपटमा नखेलौँ होली
मानव जीवन यो बुझ्ने गरौँ बाच्नुपर्छ है हामी सबैले भोलि ।
✍️ वेदु न्यौपाने
१९//
होली रङ्गको सनातनी पर्व
सत्यको जीतमा नै मानौँ गर्व ।
✍️ कार्की डिबी माकुम
२०//
अब के नै बाँकी रह्यो र यी रङ्गिन बनिसके
छिमेकीले पनि चरित्रहिन नेता भनिसके ।
✍️ कोपिला समिक्षा
खार्पा खोटाङ
२१//
कृष्णजीको उपहार होली मानेर नगरौँ फोहोर
आदरणीय लाग्दछ आज पनि, हुनुहुन्थ्यो पोहोर ।
✍️ मोती योन्जन सुब्बा, दार्जिलिङ
२२//
अचेल हेर कस्तो विकृत भैदियो होली
होली खेल्ने निहुँ पारी झगडा गर्छन् टोली ।
✍️ बेल थोकर तामाङ
बकैया , ८ / बस्तिपुर // मकवानपुर
२३//
रङ्गमा बेरङ्ग कसैले नि नभरौँ
संस्कृति संस्कारमा विकृति नछरौँ ।
✍️ कला ढकाल, झापा
२४//
जताततै होलीको, रङ्ग खेल्ने टोली
के देख्छन् के सुन्छन् ठेगान छैन बोली ।
✍️ होमप्रसाद नेउपाने
धरान,सुनसरी ।
२५//
कसलाई थाहा सुन्दर रङ्गमा कस्तो पानी घोलेँ
काम जे गरे पनि जनताका मनकै कुरा बोलेँ ।
✍️ पुष्पा राई, खाेटाङ
२६//
रमाइलोको नाम गर्दै नहान्नु कसैलाई लोला
जबर्जस्ती रङ्ग दलेमा कानुनको फन्दामा होला ।
✍️ रुना कर्माचार्य दाहाल
चितवन
२७//
रङको पर्व सद्भाव बाँडेर मनाइने होली
रूप बदलेर कुरूप नै पो भयो आजभोलि ।
✍️ राज बहादुर बडुवाल
कनकासुन्दरी-५,जुम्ला
२८//
फोहोर हान्यौ रङ्ग दल्यौ मस्तसँग खेल्यौ
गठबन्धन ठूलो दल पेल्नसम्म पेल्यौ ।
✍️ बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो )
कनकाई ४ झापा
२९//
यो होली पर्व सबैको दिलमा भरौँ
मायाको परिभाषा सबैलाई छरौँ ।
✍️ निमा छिरिङ भोटिया
जलढका कालेबुङ
३०//
नेपालीहरूलाई विषाक्त शब्द घाेली धाेका दिन्छन् नेता आजभाेलि
राजनीति गर्नेहरू राष्ट्रिय धनकाे जनता खेल्छन् रङ्गको हाेली ।
✍️ रामप्रसाद पुरी,बादेल, खाेटाङ ।
३१//
अश्लीलता झन् बढ्दै गएको देखिन्छ आजभोलि
रङ्गहीन बन्दै गयो रङ्गहरूको पर्व होली ।
✍️ बिके मुखिया
दार्जिलिङ,भारत।
३२//
स्वेच्छापूर्वक विभिन्न रङ रेलेर
तनाव कम गरियो होली खेलेर l
✍️ बाबुराम गौतम, गुल्मी
३३//
दिल खोली खेलौँ होली, मरिलानु के नै छ र भोलि ?
प्रेमको भिख मागी फैलाउँ झोली भिजे भिजोस् चोली ।
✍️ विवश पारदर्शी
झापा
३४//
मनै फुरुङ्ग भएर खेलौँ हामी होली
साथीसँग आजै भेटौँ खै के हुन्छ भोलि ?
✍️ शशीश्री आचार्य
बौद्ध कुमारीगाल काठमाडौं
३५//
यो मनले आफ्नोपन र मायाको पो हो नि सधैँ खोजी गरेको
चाहिँदैन कोही देखावटी मुस्कान र मनमा स्वार्थ भरेको ।
✍️ सुशीला शिखा
काठमाडौं कागेश्वरी
३६//
होली खेली आज देश बनाए पछाडि
जनतालाई मारी बने आफू अगाडि ।
✍️ नेत्रबहादुर श्रेष्ठ
ठुलो सिरुवारी, सिन्धुपाल्चोक -१३
३७//
नेपाली संस्कृतिलाई जोगाउँदै खेलौँला होली
कतिबेला कसलाई के हुन्छ थाहा छैन भोलि ।
✍️ सुनगाभा पोखरेल
कपिलवस्तु
३८//
अचम्मै छ मान्छेको मन जहाँ पनि घुम्ने
भोलिको भर हुन्न हजुर, आजै हो झुम्ने ।
✍️ दीपा गुरुङ समभाव
दुबेकोल खोटाङ
३९//
यो हाम्रो जिन्दगी त आज हो कि भोलि
वर्षदिनमा आउने पर्व हो होली !
✍️ दीप गोले तामाङ – रौतहट
४०//
बाहिर बाहिर एउटा कुरा
भित्रबाट हान्ने रहेछ छुरा ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर कटुञ्जे
४१//
नेपालीहरूको संस्कार संस्कृति रीतिरिवाज राम्रो
मानिस बहकिँदै भावना बिग्रिएको छ आज हाम्रो ।
✍️ घनश्याम पन्त हरिवन सर्लाही
४२//
गयो होली यसपालिको रङ्गमा रमेर
अर्को साल फेरि आउँला रङ्गमै जमेर ।
✍️ ध्रुव श्रेष्ठ
खोटाङ
४३//
भोलिको यहाँ छैन है राम्रोसँग टुङ्गो
अगुवा नै त्यस्तै हुन् कि हामी लाटोबुङ्गो ।
✍️ पवनकुमार बुढाथेाकी
काठमाडौँ
४४//
यसपालि खडेरी लाग्यो सुकिसके पूरा खोच
फोहोर छ्यापेर मस्ति गर्ने अपूर्ण होला सोच ।
✍️ कृष्णकुमार वैद्य
बनेपा ९, काभ्रे
४५//
होलीको रङ्गोलीमा सबै नै मस्त भएर
सारा संसार बिर्सी भाँङ धतुरो खाएर ।
✍️ रमा गुरुङ्ग
सालुगडा सिलीगुडी
४६//
सद्भाव राखी एक अर्कामा खेल्नुपर्ने होली
विकृतिकै पो राज हुँदैछ आजभन्दा भोलि ।
✍️ त्रिलोचन भण्डारी
४७//
गाउँ वा सहर सबैतिर छायो होलीको उमङ्ग
हिजोको बित्यो भोलि था छैन अहिले ल्यायो तरङ्ग
✍️ सतीश पण्डित
भानु६ चुँदी तजहूँ । हाल चनपा६ मातातीर्थ
४८//
रङ्गको हाेलीमा झगडा नगर्नु छ पाेलिसकाे गस्ती
दुई जनालाई लाठीचार्ज नै गरे देखेनाै र अस्ति ।
✍️ रबि पाैडेल
दक्षिण भारत पाण्डेचरी ।
४९//
खेल्ने हो जीउ मायामार यसपालि होली
वर्ष दिनको पर्व बरु भिझेँ भिझोस् चोली ।।
✍️ भगवती दवाडी ,झापा
५०//
बोकेर हिँड्न परे परोस् झोली
धमिलो पानीमा खेल्ने हो होली ।
✍️ साबित्री प्याकुरेल ,धादिङ्ग।
५१//
भाङ खाएर नखेल्नू होली
शरीर बिसन्चो होला भोलि ।
✍️ देव स्याङ्देन,
कालेबुङ
५२//
संस्कृति मानौँ हामी सद्भाव र प्रेम छरेर
मनाऔँ होली पर्व थरीथरी रङ्ग भरेर ।
✍️ सुस्मिता अधिकारी ,काठमाडौँ
५३//
होलीले सिकायो एक हर्ष
समानता ल्यायोस् यसै वर्ष ।
✍️ प्रेम थापा “मन”बागलुङ
५४//
देखाउने एउटा गर्ने गर्छन् अर्को
छलछामको खेलले लगायो झर्को ।
✍️ प्रदीप के रिमाल
इटहरी, सुनसरी
५५//
रङ्ग लगाउदा नगरौँ कसैलाई दुर्व्यवहार
मनाऔँ फागुपूर्णिमा सभ्य भएर हुन्छ यो सार ।
✍️ शोभा आचार्य गौतम
काठमाडौँ
५६//
बोसो भएकोले मोसो लिएर आए पनि
सहर्ष स्वीकार गर्यौँ रङ्गको पर्व भनी ।
✍️ अरुण कुमार भुजेल
गोरूबथान , भारत
५७//
लुकीलुकी किन हान्छौ लोला फोहोर पानीमा रङ्ग घोली
सांस्कृतिक पर्वमा विकृति आए के जवाफ दिने भोलि ।
✍️ राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ ।