–माधव अधिकारी-
नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लघंनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी अग्रपंक्तिमा थिइन् ।उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोध मात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदांगो पारिन् । पीडकलाई कÞानूनको कठघरामा ल्याउने र पीडितलाई न्याय दिने हेतलेु उनी प्रयासरत छन् ।उनी हुन् ह्युमन राइट्स वाचकी दक्षिण एसिया क्षेत्रीय निर्देशक मीनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकट रुपमा बुझेकी अधिकारकर्मी हुन् । उनी आबद्ध संस्था ह्युमन राइट्स वाचले विश्वका करिब १०० देशमा मानवअधिकार हननका घटनाको अनुसन्धान गर्ने गर्दछ ।
हाल विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ फैलिएको सन्दर्भमा नेपालमा आम नागरिकको मानव अधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छन् । हालै उनले कोरोनाभाइरसको जोखिमबाट आफ्ना नागरिकलाई जोगाउन भन्दै नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन गर्न नमिल्ने बताएकी थिइन् ।उनीद्वारा जारी वक्तव्यमा भारत, खाडी देशहरू र मलेसियामा नेपाली आप्रवासी कामदारहरू कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै संस्थाले पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन नहुँदा नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाइएको थियो ।
नेपालमा लकडाउनको अवस्था भएसँगै विदेशमा काम गरिरहेका तर रोजगारी गुमाएका नेपाली अलपत्र परेको भन्दै उनले नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनुले आधारभूत मानवअधिकारको उल्लंघन भएको बताएकी थिइन् ।साथै भारतीय भूमिमा रहेका नेपाली श्रमिकलाई भारत सरकारले सहयोग गर्न लागेकामा स्वागत पनि गरेकी थिइन् । नेपालप्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिविम्वित हुन्छ ।गांगुलीले न्याय, गरिमा, करुणा र समानतको पक्षमा वकालत गर्दै आएकी छन् । उनले विगतमा नेपालस्थित भुटानी शरणर्थीको हकहितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।
नेपालले मानव अधिकारको बाटो छाड्नु हुँदैन भन्ने उनको विचार छ । नेपालमा राज्यपक्षबाट पत्रकारमाथि अनलाइन ठगी रोकथामका लागि तर्जुमा गरिएको विद्युतीय कारोबार ऐन (२००६) को भाग ४७ को दुरुपयोग गरेर ज्यादती गर्ने गरेकोमा उनको आपत्ति छ । सरकारले विश्वसनीयता र विधिको शासनलाई नियतपूर्वक कटौती गरेको र दण्डहीनतालाई बढावा दिइरहेको उनको ठम्याई छ ।
अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले धार्मिक तथा जातीय विभेद र यौन हिंसाका विरुद्धमा सशक्त आवाज उठाउँदै आएकी छन् । महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छन् । भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको अभाव, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा सरोकार व्यक्त गरेकी थिइन् ।जम्मु, कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानवअधिकार उल्लघंनका घटनामा उनको चासो थियो । उनले माओवादी संघर्षबाट प्रभावित व्यक्ति सहित भारतका कमजोर समुदायको सुरक्षा विफलता तथा मणिपुर एवं जम्मू र कश्मीरमा संघर्षसँग जोडिएका उत्पीड़नमाथि शोध गरेकी छन् । भारतको विदेश नीतिमा मानव अधिकार दृष्टिकोणको वकालत पनि गांगुलीले गरेकी छन् । श्रीलंकामा युद्धको समाप्तिपश्चात् उनले श्रीलंकाली सेना र तमिल टाइगर्सका सदस्यलाई मानव अधिकारको हनन्मा जिम्मेवार ठह¥याइन् ।
भुटानमा बसोबास गर्ने नेपाली नागरिकमाथि गरिने भेदभावका विषयमा उनले अनुसन्धान गरेकी छन् । उनले बंग्लादेशमा मानव अधिकार उल्लंघनको दस्तावेजीकरण गरेकी छन् । श्रम अधिकारको उचित संरक्षणमा जोड दिने गांगुलीले सशस्त्र संघर्षका दौरान बालबालिकाको सुरक्षा, एचआईभी र एड्स संक्रमित व्यक्तिमाथि हुने भेदभाव,समलैंगिक पुरुषको अधिकार जस्ता मुद्दामा काम गरेकी छन् । उनका लेख रचना विभिन्न समाचार पत्र, वेबसाइट र पत्र–पत्रिकामा प्रकाशित छन् ।
अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कुल अफ इकोनोमिक्सबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छन् । सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनुअघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् ।ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एसिया संवाददाताको रुपमा कार्य गरेकी थिइन् । त्यसबेला उनको कार्य क्षेत्र अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, बांग्लादेश र श्रीलंका थियो ।











