• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

रबि लामिछानेले जेलबाटै आफ्ना सांसदहरुलाई भने,सांसदबाट राजिनामा दिन पर्ने हुन्सक्छ तयारी रहनुस

  • २३ भाद्र २०८२, सोमबार २३:४१ मा प्रकाशित
  • Gen Z को आजको आन्दोलनमा सरकारले गरेको क्रुर दमनप्रती दुख व्यक्त गर्दै नक्खु जेलबाट एक सन्देश दिदै आफ्ना सांसदहरुलाइ सांसदबाट राजिनामा दिन तयार रहन अनुरोध गरेका छन्

    आदरणीय दाजुभाई तथा दिदीबहिनीहरू,

    आज भदौ २३ गते कुशासन र भ्रष्टाचारका नाइकेहरुले १९ भन्दा बढी कलिला विद्यार्थीको रगत पिए र सयौँलाई घाइते बनाए।

    यी आततायीहरुलाई अब कुनै माफी दिन सकिँदैन, न अब बाँकी एक मिनेट पनि यिनलाई सत्तामा झेल्न सकिन्छ ।

    आफ्नै बिन्दास संसारमा रमाउने उमेर का Gen Z लाई सडकमा आउन कसले बाध्य पाऱ्यो? यिनै आततायीका सनक, कुशासन र भ्रष्टाचारले । यिनीहरु अयोग्य, भ्रष्ट मात्र होइन अत्यन्त क्रुर पनि छन् भन्ने तथ्य स्कुले पोशाक लगाएका ती निर्दोष, निरपराध र अबोध बालबालिकालाई के थाहा? सिपालु सिकारीले चरा मारेझैँ यिनीहरुले कलिला केटाकेटीहरुलाई ताकि-ताकि गोली हानेर मारे।

    म स्तब्ध र विक्षिप्त भएको छु, यो नेपाली इतिहासको सबैभन्दा कालो दिन हो ।

    Gen Z र सिंगो देशलाइ मेरो अपिल छ, अब आततायीहरुलाई एक मिनेट पनि सत्तामा रहन दिनुहुन्न ।

    यिनीहरुकै वर्चस्व रहेको संसदसँग पनि अब जनादेशको वैधता छैन । आफ्नै अपराधबाट तर्सिएर बनेको र तर्साएर जोगाएको यो सरकार इतिहासकै कलंकित बनेर सकिएको छ ।

    कालकोठरीबाट भएपनि जिम्मेवार राजनीतिक नेताका रूपमा यो विषम परिस्थितिमा मैले देशलाई केही समाधान सुझाउनैपर्छ।

    ती यस्ता छन् :

    १) सकेसम्म छिटो Gen Z सहितको अन्तरिम नागरिक सरकार गठन होस् ।

    २) ०४६ सालपछिका सबै नीतिगत निर्णयको समीक्षा होस् । त्यसयताका सबै उच्चपदस्थ र तीनका परिवारको सम्पत्तिको छानबिन गर्ने गरी आयोग गठन होस् ।

    ३) आगामी संसदबाट अनुमोदन हुने गरी संविधान संशोधन, परिमार्जन वा पुर्नलेखन लागि विज्ञहरुको उच्चस्तरीय समिति बनोस् ।

    ४) आजको हत्याकाण्डको छानबिनका लागि न्यायिक आयोग बनोस् र त्यसले प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्मका अपराधहरुको अनुसन्धान गरोस् ।

    यी आततायीलाई अझै यो देश लुट्न र जनताका सन्तानको हत्या गर्न दिन सकिन्न । देशलाई ३८ वर्षसम्म लुटेका यिनको अनुहार अब त निर्दोष, निरपराध र अबोध केटाकेटीका रगतले समेत राताम्य भइसकेको छ । यिनीहरु शासन होइन, दण्डका भागेदार हुन् ।

    सबै Gen Z शहिदका परिवारप्रति मेरो हार्दिक समवेदना छ। सबै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। इतिहासले एक दिन यो बलिदानको हिसाब र न्याय खोज्नेछ ।

    देश आन्दोलन होइन, क्रान्तिमा प्रवेश गर्दैछ भनेर हामीले शान्तिपूर्ण रुपमा उपस्थिति जनाएका थियौँ। यिनले सुनेनन् , टेरेनन् बरु उल्टो नागरिक आवाज बन्द गर्नतिर लागे । अझै पनि क्रान्तिलाई संयमित र शान्तिपूर्ण बनाउन सकिन्छ र म सबैलाई संयमित हुन हार्दिक अपिल गर्दछु । यो क्रान्ति केवल यी आततायीहरुलाई दण्डित गर्न मात्र होइन, देश बदल्ने तहमा पुग्नुपर्छ । नत्र Gen Z को बलिदान खेर जानेछ । मेरो हातमा हत्कडी लागे पनि तपाईँहरुका हातले यिनका हातबाट तस्करले दिएको घडी खोस्नुहोला । यिनले जोगाएका आफ्ना पार्टीका अपराधीहरू र यिनले बन्द गरेका फाइलहरूको धुलो टक्टक्याउनु होला। गृह मन्त्रालयको एउटा दराजमा मैले अनुसन्धान गर्ने भनी संसदमा प्रण गरेको २५ वटा काण्डको लिस्ट छ। खोज्नु होला, खोस्नु होला। नबिर्सनु होला, ममाथि लागेका सबै मुद्दाहरु रमेश लेखक गृहमन्त्री भएपछि मात्रका हुन् ।

    प्रिय रास्वपाका सांसदहरू,

    उल्लेखित मागहरू पूरा नभए संसदबाट राजीनामा दिन पर्ने हुनसक्छ। तयार रहनुहोला।

    रवि लामिछाने
    सभापति
    नक्खु कारागार, ललितपुर

    (आज दिउँसो नक्खु कारागारबाट निजी सचिवालयसँगको टेलिफोन वार्ता पश्चात्, आज दिनभरि भेटघाट बन्द गरियो, ५ बजेपछि टेलिफोन सम्पर्क समेत बन्द गरिएको छ: सचिवालय)

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति

    जेनजी प्रदर्शन – मन्त्रीपरिषद बैठकमा प्रधानमंत्रीको ब्रिफिङ जेनजी प्रदर्शनमा घुसपैठ

  • २३ भाद्र २०८२, सोमबार २१:४० मा प्रकाशित
  • काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले जेनजी प्रदर्शनमा भएको हिंसात्मक घटनाका विषयमा ब्रिफिङ गरेका छन्। बालुवाटारमा सोमबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शनमा घुसपैठ भएको निष्कर्ष सुनाएका थिए।

    स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जेनजी प्रदर्शन घुसपैठ हुँदा अप्रिय घटना घट्न पुगेको हो। प्रधानमन्त्री ओलीले जेनजी पुस्तालाई दुरुपयोग गरेर हिंसा भड्काएको बताएका थिए।

    जेनजी पुस्ताको प्रदर्शनमा घाइते भएकामध्ये हालसम्म १९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ।

    मन्त्रालयका अनुसार सिभिल अस्पतालमा उपचार गर्ने क्रममा तीन जनाको मृत्यु भएको छ भने एक सय जनाको उपचार भइरहेको छ। यस्तै वीर अस्पतालमा ६ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना उपचाररत छन् भने उपचारका क्रममा ८ जनाको मृत्यु भएको छ।

    यसैगरी बानेश्वरस्थित एभरेष्ट अस्पतालमा एक सय दुई जना घाइतेको उपचार भइरहेको छ भने  तीन जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। यस्तै ८ जनालाई अन्यत्र रेफर गरिएको छ । 

    यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने उपचाररत दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अस्पतालले जनाएको मन्त्रालयले उल्लेख गरेको छ। यसैगरी, नर्भिक अस्पतालमा तीन जनाको उपचार भइरहेको छ।

    मन्त्रालयले त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको र एक जनाको मृत्यु भइसकेको जनाएको छ। 

    काठमाडौं उपत्यकाबाहिर गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना, दमक अस्पतालमा सात जनाको उपचार भइरहेको पनि स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। यसैगरी धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जनाको मृत्यु भएको छ।

    त्यस्तै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर गृहमन्त्री लेखकले राजीनामा बुझाएका हुन्। 

    यसअघि गृहमन्त्री लेखकले नैतिकताका आधारमा आफूले राजीनामा दिने बताएका थिए। ‘यत्रो मानवीय नरसंहार भएपछि मैले नैतिकताका आधारमा पनि राजीनामा दिनुपर्छ। कांग्रेस बैठकमा पनि मैले राजीनामा दिन्छु भनेको छु,’ अन्नपूर्णसँगको कुराकानीमा उनले भनेका थिए।

    कांग्रेस पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले राजीनामा दिएर मार्ग प्रशस्त गर्न निर्देशन दिएका थिए। त्यसपछि ‘राजीनामा दिन्छु’ भन्दै गृहमन्त्री लेख बालुवाटार हिंडेका थिए।

    साभार : अन्नपुर्णा पोस्ट

    Posted in राजनीति

    बहुबिबाह सम्बन्धमा मिडियाहरुमा समचार आएपछि डा. लेखजंगले दिए स्पष्टिकरण

  • १७ भाद्र २०८२, मंगलवार १२:१३ मा प्रकाशित
  • रुपन्देही क्षेत्रनम्बर ३ मा हुन लागेको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवारमा चयन भएका डा. लेखजंग थापाको बहुबिबाह सम्बन्धमा बिभिन्न मिडियाहरुमा आएपछि थापाले पहिलो श्रीमतीसँग डिभोर्स भइसकेको कागजात सार्वजनिक गरेका छन् ।

    डा. थापाले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्ध विच्छेद गरी मिलापत्र गरेको कागज सार्वजनिक गर्दै भ्रम श्रृजना नगर्न पनि आग्रह गरेका छन्.

    उहाँको भनाई जस्ताको त्यस्तै ;- 

    रूपन्देही- ३ मा ९६ वर्षकी मेरी‌ बुढी आमा बस्नुहुन्छ, पहिलो फ्लाइट लिएर आमालाई आफू उम्मेदवार भएको खुसी बाँडेर आशीर्वाद लिने मन थियो। सोचेको थिएँ एउटा चिकित्सकका रूपमा मैले गर्न खोजेका सत्कर्मका कुराहरू हेडलाइन बन्छन् होला र म आमालाई त्यही कुराहरु देखाएर राजनीति अब सङ्लो हुन्छ है, परिवर्तनको छनक हजुरले आफ्नै पालामा देख्नुहुन्छ है भनेर विश्वास दिलाउँछु।

    खैर जिन्दगी सोचे जस्तै कहाँ हुन्छ‌ र मलाई आशीर्वाद दिन भैरहवामा मेरी आमा मलाई कुर्दै गर्दा म काठमाडौँमा मेरो निजी जीवनमाथि प्रश्न गर्नेहरू लाई उत्तर दिँदैछु।

    प्रश्न गर्ने सबैजनालाई हेक्का होस्, मेरो पारिवारिक जीवन न गैरकानुनी छ, न समस्यापूर्ण। म व्यक्ति लेखजङ थापामाथि आक्रमण भएको भए सायद म जवाफ पनि दिन्थिन होला। तर मैले बुझेको छु यो आक्रमण म‌ माथि होइन ,यो बेथिति र विसङ्गतिमा रमाउनेहरू बाट समाजलाई कञ्चन बनाउन सुसंस्कृत राजनीति गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी माथि भएको सुनियोजित आक्रमण हो। त्यसैले मैले आफ्नो वैयक्तिक कुराहरु पनि राख्नुपर्छ।

    आदरणीय आमाबुबा दाजुभाई र दिदीबहिनीहरू,एउटा व्यक्तिको जीवनमा परिस्थितिजन्य धेरै कुराहरू हुन्छन्। व्यक्तिको नियत के कुरामा भर पर्छ भने उसले त्यस्ता कुराहरूलाई लुकाउँछ वा पारदर्शी भएर सम्बन्धित सबैलाई भन्दछ। परिस्थितिका कारण मैले जीवनमा दुई पटक बिहे गरेको कुरा जति सत्य हो त्यति नै सत्य मेरो एकजना श्रीमतीसँगको सम्बन्ध विच्छेद पनि हो। र त्योभन्दा ठूलो सत्य सम्बन्ध विच्छेद भएकी मेरी श्रीमतीसँगको मेरो सन्तान हो जसको म बाबा पनि हो।

    मेरो निजी जीवनको यो आयामबारे मैले पार्टीलाई जानकारी दिएको र पार्टी नेतृत्वले लिएको कानुनी परामर्श समेतलाई उम्मेदवार छनोट प्रक्रियामा संलग्न गरिएको मेरो बुझाइ छ।

    एउटा कालखण्डमा जीवन बिताउने वाचा गरेका सम्बन्धहरू कुनै कारणले टुट्दै गर्दा त्यस पछाडिको सम्बन्ध तितो हुनुपर्छ भन्ने मलाई लाग्दैन। दुई व्यक्तिहरू असल हुँदाहुँदै पनि कहिलेकाहीँ सम्बन्धहरू टुट्छन्। तर ती टुटेका सम्बन्धहरूले बच्चाहरूको जीवन बर्बाद हुनु हुँदैन भन्ने मेरो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

    न्युरोचिकित्सकका रुपमा १४ वर्ष लामो मेरो यात्रामा मैले हजारौँ बालबालिकाहरूलाई नजिकबाट नियालेको छु र एउटा परिवार बिग्रँदा उनीहरूको सुसुप्त बाल मनोविज्ञानमा पर्ने असर महसुस गरेको छु। यसका आधारमा पारिवारिक सम्बन्धको असर बच्चामा पर्नु हुँदैन भन्ने कुरामा म सचेत छु।

    सन्तानको भविष्यका लागि उसलाई जन्म दिने आमासँग मिलेर साझा अभिभावकत्व दिनका लागि यदि मेरो सम्बन्ध सौहाद्रपूर्ण छ र त्यो यदि मेरो गल्ती हो भने मलाई त्यसमा ग्लानी छैन। सम्बन्धविच्छेद भन्ने बित्तिकै के एकअर्कालाई गाली गर्नैपर्ने हो, के अर्काको अस्तित्व स्वीकार्न नहुने हो, के एकअर्कासँग भेट्नै नहुने हो वा उसँग मित्रभाव राख्नै नहुने हो? यदि मेरो छोराले उसको बाबाको सम्बन्ध आमासँग सुमुधर होस् भन्ने चाहन्छ भने ऊ नाबालिग हुँदासम्म मात्र होइन म बाचुन्जेल सम्बन्धको त्यो पक्ष दरिलो बनाउन चाहन्छु। त्यसमा मलाई कसैको अनुमति लिनु पर्दैन।

    राष्ट्रिय स्वतन्त्र पार्टीका साथीहरू, मेरो व्यावसायिक र सामाजिक जीवन खुला किताबझैँ सार्वजनिक छ। पेशागत सफलताले पूर्ण सन्तुष्ट भएपनि नागरिकका रुपमा म देशमा झाङ्गिँदै गएको विकृतिबाट असन्तुष्ट भएर राजनीतिमा आएको हुँ। देश निर्माणमा योगदान दिन सक्छु भनेर कुनै कालखण्डमा एउटा पार्टीसँगको मेरो आबद्धतालाई कानुनी विधि अनुशरण गरी टुङ्ग्याएर राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्य बनेको हुँ। मेरो यात्रा औसत राजनीतिभन्दा माथि रूपान्तरणकारी परिवर्तनका लागि हो। विराट लक्ष्य लिएर हिँडेको व्यक्ति यस्ता कुनै खाले आक्रमणबाट डराउनु हुँदैन , तर मेरो व्यक्तिगत कारणले पार्टीमाथि सानो दाग पनि लागोस् भन्ने म किन्चित चाहन्न ।

    म नेता बन्न होइन,देश बदल्ने अभियानको सहयात्री बन्न आएको हुँ। त्यो रूपान्तरणमा म बल हुन चाहन्छु, कमजोरी होइन । यो देशमा कति ठूलो राजनीतिक सुनामी आउँदैछ रुपन्देहीले सुनाउँदै छ । कसले भन्यो रूपन्देही -३ को उम्मेदवार म हो भनेर? रुपन्देही -३ को उम्मेदवार त पुनम,जेबी ,रचना,सुलभ, ज्ञानु, मधु, पार्थिवेन्द्र, कुसुम अनि यो देशलाई माया गर्ने सबै नेपाली हो। अस्ति नक्खु कारागारमा सभापतिले हामी सबैलाई भन्नुभएको कुरा म अहिले सम्झिरहेको छु। तपाईँहरु उम्मेदवार हुनुहोस् मेरो शुभकामना छ ,यदि बन्नुभएन भने पनि यो देश एउटा सौम्य र शान्तिपूर्ण क्रान्तिका लागि अब तयार छ र तपाईँहरू त्यसको संवाहक बन्नुपर्छ।

    म त्यही यात्रामा अगाडि बढेको छु। रूपान्तरणको सुनामी ल्याउन हिँडेको मान्छे जस्तोसुकै त्यागका लागि पनि तयार छ। नेपालकै राजनीतिक इतिहासमा अभूतपूर्व अभ्यास मानिएको ‘उम्मेदवार छनोट विधि’ अन्तर्गत ३५ दिन लामो बहुआयामिक प्रक्रियाबाट छनोट भई उम्मेदवार घोषित भएको तथ्य अवगत नै छ‌। तथापि मेरो पार्टीले गर्ने कुनैपनि निर्णयलाई म सहर्ष स्वागत ,स्वीकार र पालना गर्नेछु ।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति

    प्रधानमन्त्री के.पी. शर्मा ओलीले चिनका राष्ट्रपति शी जिनपिङसँगको भेटमा के कुरा राख्नुभयो त?

  • १५ भाद्र २०८२, आईतवार ०१:४७ मा प्रकाशित
  • ३० अगस्ट २०२५,

    २०२५ को सांघाई सहयोग संगठन शिखर सम्मेलन र जापानी आक्रामकता विरुद्ध चिनियाँ जनताको प्रतिरोध युद्ध र विश्व फासिस्ट विरोधी युद्धको विजयको ८० औं वार्षिकोत्सवको स्मृतिमा भाग लिन चीन पुगेका नेपालका प्रधानमन्त्री के.पी. शर्मा ओलीसँग राष्ट्रपति सी जिनपिङले तियानजिन गेस्ट हाउसमा भेट गरेका छन् ।

    उक्त भेटका क्रममा राष्ट्रपति शीले बताउनुभयो कि चीन र नेपाल पहाड र नदीद्वारा जोडिएका छिमेकी देशहरू हुन् र दिगो मित्रता कायम राख्छन्। दुवै देश शान्तिप्रिय र आत्मनिर्भर छन्। कूटनीतिक सम्बन्धको ७० वर्षको अवधिमा, दुवै देशका जनताहरूले कठिनाइ र सुखदुःखमा एकअर्कालाई साथ दिई मित्रता र राम्रो छिमेकी सम्बन्धको ऐतिहासिक अध्याय लेखेका छन्। हाल चीन र नेपाल उच्च गुणस्तरको बेल्ट एण्ड रोड सहयोगमा स्थिर प्रगति गरिरहेका छन् र दुवै देशका जनताहरूबीच नजिकको सम्बन्ध बनेको छ। चीन नेपालसँग मिलेर परम्परागत मित्रतालाई अघि बढाउन र दिगो मित्रता, विकास र समृद्धिका लागि चीन-नेपाल रणनीतिक साझेदारीलाई नयाँ उचाइमा पुर्‍याउन तयार छ।

    राष्ट्रपति शीले जोड दिनुभयो कि दुवै पक्षले आपसी रणनीतिक विश्वास बढाउनुपर्छ र हाम्रा क्रमशः मूल हित र प्रमुख चासोका विषयहरूमा एकअर्कालाई दृढतापूर्वक समर्थन गर्नुपर्छ। हामीलाई आपसी लाभकारी सहयोगलाई गहिराइ दिनुपर्छ, बेल्ट एण्ड रोड सहयोगलाई संयुक्त रूपमा अघि बढाउनुपर्छ, र बन्दरगाह, सडक, विद्युत् ग्रिड, हवाई सेवा र दूरसञ्चार मार्फत सम्पर्क सुदृढ गर्नुपर्छ। हामीलाई उद्योग, कृषि र पशुपालन, नयाँ ऊर्जा, वातावरण संरक्षण, तेल र ग्यास, कृत्रिम बुद्धिमत्ता, शिक्षा, स्वास्थ्य, कानून लागू गर्ने निकाय र सुरक्षा जस्ता क्षेत्रहरूमा सहयोग बढाउनुपर्छ। हामीलाई कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवको सफल गतिविधिलाई निरन्तरता दिनुपर्छ। संयुक्त राष्ट्रसंघ र शंघाई सहयोग संगठन जस्ता बहुपक्षीय मञ्चहरूमा संवाद र समन्वय बढाउनुपर्छ, स्वतन्त्र व्यापार र दिगो विकासको संयुक्त समर्थन गर्नुपर्छ, र अन्तर्राष्ट्रिय निष्पक्षता र न्यायको रक्षा गर्नुपर्छ।

    सम्माननीय प्रधानमन्त्री ओलीले भन्नुभयो कि नेपाल-चीन सम्बन्धले धेरै परीक्षणहरू पार गरेको छ र यो मात्र बलियो बनेको छ। दुवै पक्षले सधैं एकअर्काको सम्मान र विश्वास गरेका छन् र एकअर्काको चासोको ख्याल गरेका छन्। चीनसँगको सहयोगले नेपालको आर्थिक र सामाजिक विकासमा उल्लेखनीय योगदान पुर्‍याएको छ। नेपाल एक चीन नीतिप्रति दृढ प्रतिबद्ध छ, “ताइवान स्वतन्त्रता” को कडा विरोध गर्छ, र कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गरेर चीनको हितलाई हानि पुर्‍याउन दिँदैन। नेपाल निरन्तर विकास हासिल गर्न प्रतिबद्ध छ र बेल्ट एण्ड रोड पहलको सन्दर्भमा चीनसँग सहयोगलाई गहिरो बनाउन चाहन्छ। हामी व्यापार, लगानी, कृषि, विज्ञान र प्रविधि, पर्यटन, जलवायु प्रतिक्रिया र अन्य क्षेत्रहरूमा चीनसँग सहयोग बढाउनेछौं र थप सकारात्मक नतिजा हासिल गर्नेछौं। नेपालले चीनद्वारा प्रस्तावित विश्व विकास पहल, विश्व सुरक्षा पहल र विश्व सभ्यता पहलको समर्थन गर्छ, शंघाई सहयोग संगठनको भूमिकालाई महत्त्व दिन्छ, “शंघाई आत्मा” लाई सक्रिय रूपमा समर्थन गर्छ, र अन्तर्राष्ट्रिय मामिलामा चीनले अझ ठूलो भूमिका खेलोस् भन्ने आशा राख्छ।

    सम्माननीय प्रधानमन्त्रीले नेपालको विकास प्रयासमा चीनको निरन्तर सहयोगको लागि धन्यवाद व्यक्त गर्नुभयो। उहाँले शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तमा आधारित नेपाल-चीन सम्बन्ध समस्यारहित रहेको बताउनुभयो। प्रधानमन्त्री ओलीले २०२५ मा हुने सांघाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनको सफलताको शुभकामना व्यक्त गर्नुभयो र एससीओमा नेपालको सदस्यताको आकांक्षालाई समर्थन गर्न चीनका राष्ट्रपतिलाई अनुरोध गर्नुभयो।

    बीआरआई अन्तर्गत लगायत पहिले नै सहमति भइसकेका परियोजनाहरूको कार्यान्वयनलाई तीव्रता दिने आशा व्यक्त गर्दै उनले मल, पेट्रोलियम अन्वेषण, मानव संसाधन विकास, जलवायु लचिलोपन र जनता-जनता सम्बन्ध जस्ता क्षेत्रहरूमा सहयोगको लागि अनुरोध गरे। लिपुलेक पास हुँदै सीमा व्यापार गर्ने सम्बन्धमा भारत र चीनबीच हालै भएको समझदारीलाई उल्लेख गर्दै माननीय प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र नेपाल सरकारले यसमा कडा आपत्ति जनाएको बताउनुभयो।

    सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओली र उहाँको प्रतिनिधिमण्डल आज दिउँसो जनवादी गणतन्त्र चीनको भ्रमणको क्रममा तियानजिन आइपुग्नुभएको छ। तियानजिन बिन्हाई अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेपछि, सम्माननीय प्रधानमन्त्रीलाई चीनको भन्सार सामान्य प्रशासनको चिनियाँ कम्युनिष्ट पार्टी समितिकी मन्त्री तथा सचिव श्रीमती सुन मेइजुन, तियानजिन जन काँग्रेसका अध्यक्ष श्री यु युनलिन र चीनका लागि नेपालका राजदूत महामहिम डा. कृष्णप्रसाद ओलीले न्यानो स्वागत गर्नुभयो।

    माननीय प्रधानमन्त्रीले एससीओ शिखर सम्मेलनको छेउमा केही विश्व नेताहरूसँग भेटघाट गर्ने र भोलि चीनका राष्ट्रपति महामहिम श्री सी जिनपिङ र म्याडम पेङ लियुआनले आयोजना गर्ने स्वागत भोज र गाला प्रदर्शनमा भाग लिने कार्यक्रम छ।

    यो भेटमा कै ची, वाङ यी, र चेन मिनर, लगायतका व्यक्तिहरू उपस्थित थिए।

    समचार श्रोत चिनियाँ जनगणतन्त्रको विदेश मन्त्रालय

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    साउदीको ताबुक क्षेत्रबाट ठूलो संख्यामा रास्वपामा प्रवेश

  • १४ भाद्र २०८२, शनिबार २१:१६ मा प्रकाशित
  • ताबुक (साउदी अरब)।

    साउदी अरबको ताबुक क्षेत्रमा कार्यरत नेपाली श्रमिकहरुको ठूलो संख्यामा एकैपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

    देशमा परिवर्तन चाहनुहुने नेपाली दाजुभाई तथा दिदिबहीनीहरु देखि बिदेश सम्मबाट दिनानुदिन ठुलो संख्यामा रास्वपा प्रवेश गर्ने क्रममा साउदि अरबमा कार्यरत श्रमिरहरुपनि दिनानुदिन रास्वपा प्रवेश गरिरहेका छन् । यस्तो सामूहिक प्रवेशलाई प्रवासी नेपाली समाजभित्र परिवर्तनप्रतिको आकर्षण र विश्वासको ठोस उदाहरणका रूपमा हेरिएको रास्वपा प्रवास समिती साउदीका उप सभापति प्रेम आचर्यले जनाएका छन् ।

    रास्वपा प्रवेश कार्यक्रमका संयोजक नर बहादुर खतिवडाले गरेका थिए । खतिवडाको सक्रियता, समन्वय र नेतृत्व क्षमताले ताबुक क्षेत्रमा बसोबास गर्ने नेपालीहरूलाई एउटै छातामुनि ल्याई पार्टीप्रतिको विश्वास अझै प्रगाढ बनाउन सहयोग पुगेको सहभागीहरूले दर्साएका थिए ।

    कार्यक्रममा बोल्ने नेताहरूले भने :
    “परिवर्तन अब रोकिँदैन।
    यो उत्साह, विश्वास र एकताको लहर प्रवास नेपाली समुदायबाट सुरु भई, नेपालका प्रत्येक शहरदेखि गाउँ–गाउँ, बस्ती–बस्ती र कुनाकप्चासम्म पुग्नेछ। विश्व समुदायलाई पनि परिवर्तनको जनाउ घण्टी बन्नेछ।”

    रास्वपामा प्रवेश गर्नेहरूले पार्टीले बोकेको “स्वच्छ राजनीति, जनमुखी सेवा र पारदर्शी नेतृत्व” प्रति आफ्नो आस्था प्रकट गर्दै, यही बाटोले मुलुकको समृद्धि र सुशासनको ग्यारेन्टी गर्ने विश्वास व्यक्त गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा बोल्ने नेताहरूले भने, “परिवर्तन अब रोकिँदैन। यो उत्साह, विश्वास र एकताले प्रवासी नेपाली समुदायबाट सुरु भएको यो लहर मुलुकको प्रत्येक कुनामा फैलिने छ।” रास्वपाको बढ्दो लोकप्रियता केवल नेपालको सीमाभित्र मात्र नभई, विदेशमा रहेका नेपाली समुदायबीच पनि व्यापक रूपमा फैलिँदै गएको प्रष्ट देखिएको छ। ताबुक क्षेत्रबाट सुरु भएको यो कदमलाई विदेशमा रहेका नेपालीहरूको ठूलो समर्थनको संकेतका रूपमा लिइएको पनि संयोजक खतिवडाले जानकारी गराए ।

    साउदी अरबको ताबुक क्षेत्रबाट भएको यस सामूहिक प्रवेशले रास्वपाको ऊर्जा, जनसमर्थन र भविष्यप्रतिको विश्वासलाई अझ सबल बनाएको छ। परिवर्तनको यो लहर अब संसारका हरेक कुनाबाट फैलिँदै नयाँ आशा र ऊर्जाका साथ अघि बढ्ने प्रष्ट सन्देश दिएको छ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, राजनीति

    भिजिट भिसा प्रकरण : रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभा बहिष्कार

  • १३ भाद्र २०८२, शुक्रबार १८:२३ मा प्रकाशित
  • काठमाडाैं। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाले प्रतिनिधिसभामा विरोध कायमै राखेका छन्।

    शुक्रबार बसको बैठकमा पनि दुई दलका सांसदहरुले आफ्नो धारणा राखेर बाहिरिएका थिए। त्यसअघि संसद सुरु हुनेबितिकै दुई दलका सांसदहरुले उठेर जनाएका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले आफ्ना केही कुरा राखेर रास्वपा सांसद गणेश पराजुलीलाई बोल्न दिए।

    सांसद पराजुलीले भिजिट भिसा प्रकरणमा संसदीय छानविन समिति गठन भएसम्म आन्दोलन जारी रहने बताए। उनले प्रधानमन्त्रीको चीन भ्रमणअघि सदनबाट राष्ट्रियताका सवालमा साझा अपधारणा बनाउन आग्रह गरे।

    साझा अवधारणकै आधारमा छिमेकी दुवै राष्ट्र प्रमुखसँग केबल शिष्टाचार मात्रै नभई दृढ परिणाममुखी, शान्तिपूर्ण र कूटनीतिक प्रभावकारी संवाद गर्नुपर्ने उनले बताए। उहाले अन्तर्राष्ट्रिय सीमा र राष्ट्रियताको मुद्दामा जनताले मौनता नभइ सरकारको स्पष्ट जवाफ माग गरेको बताए।

    त्यस्तै राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले भारत र चीनबिच लिपुलेकलाई समेटेर भएको सहमतिप्रति आपत्ति जनाउदै संयुक्त राष्ट्र संघमा कुरा राख्न माग गरे। शाहीले भारत र चीनसँग प्रधानमन्त्रीस्तरीय वार्ता गर्न अपिल गरे। उनले भिजिट भिसा प्रकरणमा सरकारले संसदीय छानबिन समिति गठन नहुँदासम्म आन्दोलन जारी राख्ने जिकिर गरे।

    पराजुली र शाहीले धारणा राखेपछि दुबै दलका सांसदहरुले सदन बहिष्कार गरेका थिए। भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानविन समिति गठन गर्नुपर्ने माग राख्दै रास्वपा र राप्रपाका सांसदहरुले जेठ १३ गतदेखि सदनमा निरन्तर विरोध जनाउँदै आएका छन्।

    Posted in राजनीति

    सरकारद्वारा सात दिनभित्र सामाजिक सञ्जाल दर्ताका लागि सार्वजनिकरूपमा आह्वान

  • ११ भाद्र २०८२, बुधबार १९:०१ मा प्रकाशित
  • नेपाल सरकारको हालैको निर्णय अनुसार, सामाजिक सञ्जाल दर्ता अनिवार्य हुने भएको छ।

    👉 मुख्य बुँदाहरू:

    • सरकारले ७ दिनभित्र दर्ता (सूचीकरण) गर्न सामाजिक सञ्जाल सञ्चालकलाई आह्वान गरेको छ।
    • यो निर्णय मन्त्रिपरिषद्को भदौ ९ गतेको बैठकपछि सार्वजनिक गरिएको हो।
    • निर्देशिका २०८० र सर्वोच्च अदालतको आदेश अनुसार सामाजिक सञ्जाललाई जिम्मेवार र जवाफदेही बनाउन यो कदम चालिएको हो।
    • निर्धारित अवधिमा दर्ता नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई नेपालभित्र निष्क्रिय (बन्द) गरिँदै जानेछ।
    • तर, दर्ता भएपछि सञ्चार मन्त्रालयमार्फत नेपाल दूरसञ्चार प्राधिकरण (NTA) ले ती सञ्जाल पुनः सक्रिय गर्न सक्नेछ।

    यसले फेसबुक, टिकटक, युट्युब, एक्स (Twitter), इन्स्टाग्राम जस्ता लोकप्रिय प्लेटफर्महरूलाई समेत नेपालभित्र दर्ता वा सूचीकरण प्रक्रियामा आउन बाध्य पार्ने देखिन्छ।

    Posted in मुख्य खबर, राजनीति, समाज

    ऊर्जामन्त्री खड्का र कोरियाली राजदूतबीच शिष्टाचार भेट,जलविद्युत द्विपक्षीय सहकार्यका विषयमा चर्चा

  • १० भाद्र २०८२, मंगलवार १८:५५ मा प्रकाशित
  • काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्का र नेपालकालागि दक्षिण कोरियाली राजदूत पार्क ताइ योङबीच शिष्टाचार भेट भएको छ भेटका क्रममा द्विपक्षीय सहकार्यका विषयमा चर्चा गरियो ।


    भेटवार्तामा आगामी सेप्टेम्बर १६-१८ मा हुने ग्लोबल इन्फ्रास्ट्रक्चर कर्पोरेशन कन्फरेन्स (GICC) २०२५ को तयारीसम्बन्धी विषयमा विशेष छलफल भएको थियो। राजदूत योङले हालसम्म ३५ देशले उक्त कार्यक्रममा सहभागिता सुनिश्चित गरिसकेको जानकारी दिँदै नेपालका ऊर्जा परियोजनाहरूलाई अन्तर्राष्ट्रिय जगतमा प्रस्तुत गर्न यसलाई महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्न सकिने विश्वास व्यक्त गर्नुभयो।


    सो अवसरमा अपर त्रिशुली–१ जलविद्युत आयोजना र प्रसारण लाइन आयोजनासहित नेपालमा कोरियाली सहयोगमा अघि बढिरहेका विभिन्न परियोजनाका बारेमा समेत विस्तृत कुराकानी भयो।
    मन्त्री खड्काले नेपालमा भइरहेको कोरियाली सहयोग र लगानीप्रति आभार व्यक्त गर्दै प्रसारण लाइन र अन्य ऊर्जा पूर्वाधार परियोजनामा भइरहेको सहकार्यलाई सकारात्मक मोडमा अघि बढाइरहन प्रतिवद्धता जनाउनुभयो।


    उहाँले नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रमा अझ थप कोरियाली लगानी आकर्षित हुने विश्वास व्यक्त गर्नुभयो।
    दुवै पक्षले GICC 2025 मार्फत नेपालको जलविद्युत क्षेत्रका सम्भावना तथा लगानी अवसरलाई उजागर गर्न सकिने र यसले द्विपक्षीय ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरेका छन् ।

    Posted in राजनीति

    पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ : शंकर पोखरेल

  • ४ भाद्र २०८२, बुधबार १७:५२ मा प्रकाशित
  • नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुने कुरा बुझ्न जरूरी रहेको बताएका छन्।

    बुधबार काठमाडौंमा स्व. प्रदीप गिरीको स्मृति सभामा बोल्दै उनले नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवालाई कति पटक प्रधानमन्त्री भएको भनेर प्रश्न सोधिने गरेको भन्दै यो उदेकलाग्दो रहेको जिकीर गरे।

    लोकतन्त्रमा पार्टी र कार्यकर्ताको विश्वासको जगमा नै प्रधानमन्त्रीको नेतृत्व गर्न पाइने कुरा बुझ्न जरूरी रहेको उनले बताए।

    ‘कहिलेकाहीँ नेपाली कांग्रेसभित्रै बहस चलेको सुन्दछु म। उदेकलाग्दो छ। नेपाली कांग्रेसकै एक जना महामन्त्रीले भनेको सुनेँ। शेरबहादुर दाइ कति पटक प्रधानमन्त्री हुने? अब अरू मलाई दिनुपर्दछ। यो प्रधानमन्त्री भन्ने कुरा पालोको कुरा हो र? विश्वासको कुरा हो। पार्टीको विश्वास र कार्यकर्ताको विश्वासको जगमा प्रधानमन्त्रीको नेतृत्व प्राप्त हुन्छ। यति कुरा त लोकतन्त्रमा बुझ्नुपर्‍यो यो नि,’ उनले भने।

    कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सभापति देउवा अब प्रधानमन्त्री बन्न नहुने कुरा पार्टी केन्द्रीय समिति बैठकमै भनेका थिए। त्यसप्रति लक्ष्य गर्दै महासचिव पोखरेलले उक्त कुरा बताएका हुन्।

    Posted in मुख्य खबर, राजनीति

    रास्वपाका सभापति रवि लामिछानेलाई काठमाडौं नख्खु कारागारमा गर्यो अड्डासार

  • ३२ श्रावण २०८२, शनिबार २१:४२ मा प्रकाशित
  • तस्विर श्रोत सामाजिक संजाल

    बिगत केहि महिनादेखि रूपन्देही जिल्ला कारागारमा राखिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागारबाट अड्डासार गर्दै शनिबार बुद्ध एयरको फ्लाइटमा काठमाडौं ल्याएर ललितपुरको नख्खु कारागारमा लगिएको छ । उनलाई अहिले ‘सीआरसी’ ब्लकमा राखिएको छ, जहाँ विगतमा रौतहट विस्फोटका आरोपी अफताब आलम पनि राखिएका थिए। आलमलाई पछि उच्च अदालतले सफाइ दिएपछि थुनामुक्त गरिएको थियो।

    रुपन्देही जिल्ला कारागारको थुनामा रहेका रास्वपा सभापति लामिछानेकै मन्जुरीनामा अनुसार नक्खु कारागार सरुवा गरिएको हो । कारागार स्रोतका अनुसार उनलाई ‘सीआरसी’ ब्लकमा राखिने छ जसमा करिब ४ सय कैदीबन्दी छन्। तर लामिछानेलाई भने आन्तरिक प्रशासनले छुट्टै कोठामा राख्ने तयारी गरेको छ। नख्खु कारागारका एक अधिकारीले भने, “अरु कैदीबन्दीलाई जस्तै सुविधा उहाँलाई पनि दिइनेछ। संरचनाका हिसाबले नख्खु भैरहवा कारागारभन्दा सहज र सुरक्षित रहेकोछ।”

    गत जेठ १४ गते लामिछानेले रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए। अदालतले जेठ १६ गते अनुमति दिए पनि तत्काल सरुवा हुन सकेको थिएन। गृह प्रशासनले पछिल्लो निर्णयपछि उनलाई आज भैरहवाबाट काठमाडौं ल्याई नख्खु कारागारमा पूर्याएको हो।

    कारागार सरुवाको निवेदन दिदा समेत बेवास्ता गरिएपछि रास्वपा सांसदहरूले पार्टी सभापति रविको हकमा कारागार सरुवामा फरक नियम किन भन्दै प्रश्न उठाउदै आएका थिए ।शनिबार विदाको दिन भएपनि रुपन्देही कारागार, सीडीओ कार्यालय र प्रशासनले प्रक्रिया पूरा गरेर कारागार सरुवा गरेका हुन्

    लामिछानेलाई कारागारमा पुर्याउँदा रास्वपा समर्थकहरूको उल्लेख्य भीड पनि रहेको थियो।

    Posted in ताजा अपडेट, मुख्य खबर, राजनीति

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P