२२ भदौ, जनकपुरधाम । प्रदेश २ सरकारले जनलोकपाल आयोग गठन गरेको छ । आयोगको अध्यक्षमा रामसहाय यादवलाई नियुक्त गरेको छ । यस्तै शोभा महतो र राजकिशोर साह आयोगको सदस्य नियुक्त भएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले मंगलबार उनीहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएका छन् । प्रदेशमा आर्थिक सुशासन कायम गर्ने उद्देश्यले प्रदेश जनलोकपाल आयोग गठन गरिएको प्रदेश सरकारले जनाएको छ । आयोगको कार्यालय जनकपुरधामको मुजेलियास्थित ग्रामीण प्रशिक्षण केन्द्रभित्र राखिएको छ । नवनियुक्त पदाधिकारीले मंगलबारै कार्यालय पुगेर पदभार ग्रहण गरेका छन् ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालको अगुवाइमा एमाले समाप्त पार्ने अभियान चलिरहेको बताएका छन् । मंगलबार पोखरामा कास्कीमा आयोजित वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमाले समाप्त पार्न प्रदेशहरुमा पनि मन्त्री बाँड्दै हिँडेको बताए । स्थानीय तहमा पनि मेयरको टिकट दिउँला भनेर प्रलोभनमा पार्ने प्रयास भइरहेको भन्दै उनले अघि भने, ‘ कांग्रेसले लड्ने आँट गरेको छैन, माधव नेपालको प्युसो !’ हिजोको दिनमा नेकपा रहँदा पनि प्रचण्ड र माधव नेपालले आफूलाई प्रधानमन्त्री र अध्यक्षबाट हटाउने र पार्टी कब्जा गर्ने प्रयास गरेको उनले बताए । अध्यक्ष ओलीले भने, ‘थुप्रै नेताहरु जाउँ कता जाउँ भनेर बसेको बेला युवा, विद्यार्थी साथीहरु मसाल बोकेर निस्किनुभयो । एमाले कब्जा हुँदैन भनेर उठ्नुभयो ।’
२१ भदौ, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पनि आसन्न १४ औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने तयारी गरेका छन् । केन्द्रीय सदस्य गगनकुमार थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् भने प्रवक्ता विश्वप्रकाश शर्माले पनि महामन्त्रीकै लागि तयारी गरेका छन् । पौडेलले पनि महामन्त्रीका लागि तयार गरेको बताएका छन् । उनले भने, ‘महामन्त्रीका लागि तयारी गरेको छु, केही दिनमा औपचारिक घोषणा हुन्छ ।’ कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका गगन, विश्वप्रकाश र प्रदीप तीनै जना विद्यार्थी राजनीतिबाट आएका नेताहरु हुन् । विश्वप्रकाश र प्रदीप नेविसंघको पूर्वसभापति पनि हुन् । प्रदीप सिटौलातिर, गगन कता ? मंसिर ९ का लागि तय भएको कांग्रेस महाधिवेशनले सभापति र दुई महामन्त्रीसहित १३ पदाधिकारी निर्वाचित गर्नेछ भने कोषाध्यक्ष मात्र मनोनित हुनेछ । सभापतिमा संस्थापन समूहबाट सभापति शेरबहादुर देउवा र उपसभापति विमलेन्द्र निधि, रामचन्द्र पौडेल समूहबाट वरिष्ठ नेता पौडेलसँगै महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाले सभापतिको आकांक्षी छन् । १३ औं महाधिवेशनपछि तेस्रो धारको नेतृत्व गर्दै आएका पूर्वमहामन्त्री कृष्ण सिटौला पनि सभापतिका आकांक्षी हुन् । अहिले पनि संस्थापन इतरको साझा उम्मेदवार बनाउने प्रयास रहेको नेताहरुले बताएका छन् । पौडेल समूहका चार आकांक्षीले १७ भदौमा पत्रकार सम्मेलन गरेर एउटै उम्मेदवारी रहने बताएका थिए । नेताहरुका अनुसार जिल्ला अधिवेशन सकिएपछि संस्थापन इतरका एउटै उम्मेदवार बनाउन निर्णायक पहल हुनेछ । एक नेताका अनुसार संस्थापन इतरबाट एउटै मात्र उम्मेदवार बन्दा गगन महामन्त्रीका उम्मेदवार रहन्थे । अरु सहमहामन्त्रीको उम्मेदवार बन्ने अवस्था आउँथ्यो । तर सहमति जुट्ने भन्दा चार.पाँच जना सभापतिका उम्मेदवार बन्ने सम्भावना बढ्दा युवा नेताहरु पनि विभाजित भएका छन् । ‘सभापतिमा धेरै उम्मेदवार हुँदा सबैले महामन्त्रीमा हाम्रो पुस्तालाई समेट्न खोज्छन्’ एक नेता भन्छन्, ‘यसले हामी पनि विभाजित हुने अवस्था आउने सम्भावना देख्दैछु ।’ महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा रहेका प्रदीप पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला निकट छन् । सिटौला सभापतिको उम्मेदवारी बन्दा उनले महामन्त्रीमा उम्मेदवारी दिने निश्चित रहेको यो समूहका नेताहरु बताउँछन् । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका गगन पनि १३ औं महाधिवेशनमा सिटौला समूहबाटै महामन्त्रीको उम्मेदवार बनेका थिए । अहिले पनि उनी यो समूहका छलफलहरुमा जाने गरेका छन् । तर रामचन्द्र पौडेल समूहमा पनि उनी जान्छन् । सभापतिका सबै आकांक्षीसँग छलफलमा रहेका उनले कुन समूहबाट लड्ने भन्ने खुलाएका छैनन् । संस्थापन समूहबाट विश्वप्रकाश कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले पनि आसन्न महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । नेविसंघको नेतृत्व गरेर आएका उनी पार्टी सभापति शेरबहादुर देउवासँग निकट छन् । उनले केही दिनमै महामन्त्रीमा उम्मेदवारी घोषणा गर्ने तयारी गरेका छन् । संस्थापन समूहमा उनीसँगै सहमहामन्त्री डा. प्रकाशशरण महत, गृहमन्त्री बालकृष्ण खाँड, कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र केन्द्रीय सदस्यद्वय रमेश लेखक र एनपी साउद पनि महामन्त्रीका दावेदार हुन् ।
२० भदौ, काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा आफैंले हेर्ने भएका छन् । आइतबार पेसी तोक्ने क्रममा उक्त रिट जबराले आफ्नै इजलासमा राखेका हुन् । निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले नियुक्ति बदरको माग गर्दै ३२ साउनमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । रिटमा शाक्यले आफूलाई गैरकानूनी रुपमा प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको दाबी गर्दै त्यसलाई बदर गरी आफूलाई यथावत राख्नुपर्ने माग गरेका छन् । रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, ऊर्जा मन्त्रालय, ऊर्जामन्त्री, नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति र कार्यकारी निर्देशक कुलमान घिसिङलाई विपक्षी बनाइएको छ ।
नेकपा एमाले ठोरीले वडा नं. ४ आठघरेमा वडा कमिटी आज गठन गरेको छ । नवगठित वडा कमिटीको अध्यक्षमा दिल बहादुर श्रेष्ठ र सचिबमा रामकाजी स्याङ्बो चयन भएका छ्न । जिल्ला अध्यक्ष सहितको उपस्तिथिमा सम्पन्न भेलाले १०१ सदस्यीय कमिटी चयन भएको एमाले ठोरीका कार्यदल सदस्य तिलक श्रेष्ठले बताउनु भयो ।साथै भेलाले नीर बहादुर बोम्जनको अध्यक्षतामा १०१ सदस्यीय राष्ट्रिय युवा संगठन र गठन गरेको कार्यदल सदस्य राजेश लामाले बताउनु भयो । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि २०० जना भन्दा बढी एमालेमा प्रबेश गरेको एमाले ठोरीका सह-इन्चार्ज लाल बहादुर श्रेष्ठले बताउनु भयो । बिजयबस्तीका अगुवा नर बहादुर श्रेष्ठ, हार्डवेयर ब्यबसायी लाल बहादुर श्रेष्ठ, मिलचोकका अगुवा राम बहादुर पाख्रीन, शरणटोलका अगुवा मोहन सिजाली मगर, निर्मलबस्तीका लकालाल गोले, सुक बहादुर पाख्रीन, ठोरी २ का दिल बहादुर गुरुङ लगायतका एमाले प्रबेश गरेका नवप्रबेशीहरुलाई प्रमुख अतिथी तथा एमाले पर्साका अध्यक्ष प्रभु हजरा, संविधान सभा सदस्य जयप्रकाश थारु लगायतले टीका तथा खादा लगाएर सम्मान गर्नु भएको थियो ।
एमाले वडा नं. ४ का अगुवा शरण मगरको सभापतित्व तथा एमाले पर्सा अध्यक्ष प्रभु हजराको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बिशिस्ट अतिथीहरुमा संबिधान सभा सदस्य जयप्रकाश थारु, एमाले पर्साका सचिब मनोज कुमार गुप्ता, नेता लेखमान थापा, एमाले ठोरी इन्चार्ज गंगा बहादुर खड्का, सह-इन्चार्जहरु ठाकुर न्यौपाने, लाल बहादुर श्रेष्ठ र एमाले ठोरीका अध्यक्ष खगेन्द्र श्रेष्ठ रहनु भएको थियो भने अतिथिहरुमा आशिष सामाजिक सेवा नेपालका संयोजक रोशन सुनार, नेराशिसं ठोरी अध्यक्ष गोपिलाल श्रेष्ठ, सचिव निमा तामाङ , पत्रकार ओम प्रकाश चौधरी लगायत एमाले ठोरीका कार्यदल सदस्यहरू तथा पार्टीका बिशिस्ट ब्यक्तित्वहरु रहनु भएको थियो । कार्यदल सदस्य तारानाथ ढुङ्गेलले संचालन गरेको कार्यक्रममा अतिथि लगायत एमाले ठोरी ४ का अगुवा कार्यकर्ता हरुको उपस्थिति रहेको एमाले ठोरी गाउँपालिका का नेकपा एमालेका अध्यक्ष खगेन्द्र श्रेष्ठले जानकारी दिनुभो।
एमाले अध्यक्ष केपी शर्मा ओलीले अमेरिकासँग भएको एमसीसी सम्झौता झुक्याएर पास गर्न खोजेको भन्दै वर्तमान सत्तारुढ गठबन्धनप्रति आशंका व्यक्त गरेका छन् ।
संघीय संसद्को प्रतिनिधिसभामा लामो समयदेखि रोकिएको एमसीसी सम्झौताबारे पछिल्लो समय चर्चा बढेको बेला पूर्वप्रधानमन्त्री ओलीको टिप्पणी आएको हो। ‘कांग्रेस र माओवादी भएको बेला एमसीसी सम्झौता गरे। अहिले एमसीसीबारे बोल्दैनन्। झुक्याएर पास गर्न खोजेका होलान्,’ ओलीले भने, ‘बोल्दैनन्। के गर्ने हो? भन्दैनन्।’
प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल एमसीसीबारे बोल्नुपर्ने ओलीले बताए। ‘जनताका अगाडि यिनीहरूले गरेको एमसीसी के गर्ने हो भन्नु पर्दैन? शेरबहादुर देउवाजीले भन्नु पर्दैन एमसीसी के गर्ने? अनि प्रचण्डजीले बोल्नुपर्दैन एमसीसी के गर्ने?,’ उनले थपे, ‘हिजो साइन गर्नुभएको थियो त !’
एमसीसीबारे देउवा र दाहाल चुपचाप रहेको ओलीले बताए। ‘यस्ता अनगिन्ती कुराहरू उहाँहरूले गोप्य राखेर, नेपाली जनतालाई छक्याएर विकास निर्माण विकासको गतिलाई रोकेर’ राखेको ओलीको आरोप थियो।
जसपाको बिबाद पश्चात् निर्वाचन आयोगमा दर्ता भएको लोकतान्त्रिक समाजबादी पार्टीको केन्द्रिय नेतृत्व तय भैसके पछि अहिले जिल्ला जिल्लामा जनप्रतीनिधि हरुको सनाखत भैरहदा जिल्लाको नेतृत्व कस्को ब्यक्ति को हाथमा जाने बारे कार्यकर्ता हरु बिच व्यापक चर्चा परिचर्चा शुरु भएको छ।
प्रदेश न.२ को महत्वपूर्ण जिल्ला मा पर्ने पर्सा जिल्ला को नेतृत्व कस्को हाथमा पर्ने बारे जिल्लामा व्यापक चर्चा संगै कोठे बैठक निरन्तर भैरहेको लोसपा समर्पित नेताहरु बताउछ्न ।
जसपा को लागि महत्त्वपूर्ण जिल्ला को रुपमा चिनीएको पर्सा जिल्ला मा लोसपा को लागि पुरानो, सकृय, पुर्णमधेसबादी,जेलनेल भोगेका ब्यक्ति मध्येका एक असल ब्यक्तित्व राजेस कुमार शाह को नाम ब्यापक चर्चामा रहेको बुझिएको छ।
बिगत १८ बर्श देखि निरन्तर मधेस मुद्दा को लागि सकृय भुमिका निर्वाह गर्दै आएका जसपा पर्सा का तत्कालीन सचिव शाह लाई लोसपा पर्सा को नेतृत्व दिने अधिक्तम लोसपा का कार्यकर्ता हरु को मान्सिकता रहेको लोसपा का एक नेताले बताए।
तत्कालीन नेपाल सद्भावना पार्टी ,सद्भावना पार्टी, रास्ट्रिय जनता पार्टी हुँदै जसपा पर्सा को सचिव भइ निरन्तर १५ बर्ष देखि सकृय नेता शाह केन्द्र्मा राजेन्द्र महतो सङ्ग नजीक भए पनि पर्सा जिल्लामा हरेक पक्ष का नेता कार्यकर्ता लाई एक्ताबध बनाई अगाडि बढाउने क्षमता भएको ले वहा लाई नै जिल्ला को अध्यक्ष बनाउन पहल भैरहेको एक पुर्ब जिल्ला सदस्य ले बताए। भाद्र २१ गते सम्म निर्वाचन कार्यालय मा जनप्रतिनिधि हरुको सनाखत भएपश्चात् जिल्ला को नेतृत्व बारे खुलमखुला बैठक हुने र बैठक बाट सर्बसहमति ले नेतृत्व चयन हुने बताइन्छ।
तुलसीपुर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनको औपचारिक सुरुवात भईसकेको छ । साढे पाँच वर्षपछि हुन लागेको महाधिवेशनमा वडा अधिवेशन आजबाट सुरु भएको हो । वडा अधिवेशन केहि जिल्लामा भने तयारी नपुगेको हुदा केहि पर सरेको छ । यता दाङमा पनि वडा अधिबेशन भदौ २१ गते हुने भएको छ । अधिबेशनको मिति नजिकिएसगै चुनावि माहोल तात्तीदा भेटघाट तथा प्रचार प्रसारले तिव्रता पाएका छन । नेताहरु चुनावि प्रचार प्रसारमा ब्यस्त देखिन्छन ।
सवै वडामा चुनावि गतिविधी बढ्दै जादा तुलसीपुर उपमहानगरपालीका वडा नम्बर ११ मा पनि नेतृत्वको लागी निकै रस्साकस्की सुरु हुन थालेको छ । उक्त वडामा खास गरि दुई वटा समुहले प्रचार प्रसारलाई यतीवेला ब्यापक बनाएका छन । वडाबाट प्रतिनिधित्व गर्ने तुलसीपुरकै प्रतिष्ठित उद्योगपति डिल्लीबहादुर बस्नेत र संविधान सभाका सदस्य बुद्धिराम भण्डारीको अलग/अलग गुट खडा भएको छ । उनिहरु आँफु पक्षधरलाई निर्वाचित गराउन घर दैलोमा पुगेका छन ।
भण्डारीको समुहले वडा सभापतिको उम्मेदवार जसपुरका हेमबहादुर वलीलाई बनाएको छ । त्यस्तै बस्नेतको समुहले मोतिपुरका तिर्थबहादुर बस्नेत (महेन्द्र) लाई उम्मेदवार बनाएको छ । श्रोतका अनुसार हेमबहादुर लाई कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरी र लुम्बिनी प्रदेशका ग्रामिण तथा सहरी विकाश मन्त्री डिल्ली बहादुर चौधरीको साथ रहेको छ । त्यसैगरी रमेशबहादुर भण्डारी, निर्वाचन क्षेत्र नं. ३ (ख) का सभापति खिमबहादुर वली, होमप्रकाश गौतम, नेपाल तरुण दलका जिल्ला उपाध्यक्ष धुर्व आचार्य, क्षेत्र नं. ४ का क्षेत्रीय सभापति रमेश मल्ल, वडा सदस्य सुवास डाँगी लगायत खुलेरै आफ्नो पक्षमा भोट माग्दै हिडेको छन ।
यस्तै तिर्थ बहादुरलाई भने गेहेन्द्र गिरीको साथ रहेको श्रोतले बताएको छ । यो समुहमा वडाध्यक्ष चित्रबहादुर वली, नेपाली काँग्रेसका पूर्व वडा इकाई सभापति अर्जुनबहादुर केसी, लगाएका नेताहरु भोट माग्दै हिडेका छन् । वडामा दिपक गिरी र डिल्ली बहादुर चौधरीकोको बलियो पकड भएको हुदा हेमबहादुर सभापतीको बलियो प्रतिष्पर्धीको रुपमा रहेको नेताहरु बताउछन
यद्यपी पश्चिम भेगमा तिर्थबहादुरको पनि उत्तिकै माहोल खडा भएको हुदा केहि भन्न नसकिने वडाका नेताहरु टिप्पणि गर्दछन । यो वडामा खास गरि पहिले देखि नै भण्डारी खलक र बस्नेत खलकका विच चुनावि प्रतिष्पर्धि हुदै आएको छ ।
१७ भदौ काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै कांग्रेसका एक नेता रिट लिएर सर्वाेच्च अदालत पुगेका छन् । कोरोना महामारीका बेला महाधिवेशन गर्नु जनस्वास्थ्यका दृष्टिले प्रतिकुल हुने भन्दै बागमती प्रदेश सभाका सांसदसमेत रहेका नरोत्तम बैद्य रिट लिएर सर्वोच्च पुगेका हुन् । उक्त रिट सर्वोच्चमा दर्ता भने भइसकेको छैन । कांग्रेस महाधिवेशनको प्रक्रिया शुक्रबारदेखि सुरु हुँदैछ । १४ औं महाधिवेशन अन्तर्गत भदौ १८ बाट वडा अधिवेशन सुरु हुँदैछ । प्रदेश सांसदले बैद्यले कोरोनाको जोखिम कायमै रहेकाले महाधिवेशन रोक्न आफूले रिट दायर गरेको अनलाइनखबरसँग बताए । ‘कोभिडको महामारी कायमै छ । कोरोना कारण महाधिवेशन केहि समय पर सारौं, कोभिडको जोखिम कम भएपछि महाधिवेशन गर्दा सकारात्मक सन्देश जाला भन्ने मेरो भनाइ हो,’ उनले भने, ‘कांग्रेसको महाधिवेशनले कोरोनाको अर्काे जोखिम नहोस् भन्ने हो । नागरिकको जीवन सर्वाेपरी हो । नागरिकको जीवन रक्षका लागि मैले यो गरेको हुँ ।’ उनले सबै नागरिकले खोप लगाइसकेपछि मात्रै कांग्रेस महाधिवेशन हुनुपर्ने आफ्नो माग रहेको बताए । ‘कांग्रेसको वफादार कार्यकर्ता हुनुको नाताले महाधिवेशन हुनुहुँदैन भन्ने मेरो चाहना होइन तर कोरोनाको खोप सबै नागरिकले लगाइसकेपछि महाधिवेशन गरौं भन्ने मेरो माग हो,’ उनले भने । कांग्रेस महाधिवेशन मंसिर ९–१३ सम्म काठमाडौंमा हुँदैछ । त्यसअघि वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला र प्रदेश गरी विभिन्न तहको अधिवेशन हुने कांग्रेसको विधानको व्यवस्था छ ।
१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बतायो । नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन । निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।