१७ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । प्रचण्ड र नेपालबीच माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा बिहीबार बिहान छलफल भएको हो । करिब २० मिनेटजति भएको छलफल सरकारमा सहभागिता र सरकारका काममा केन्द्रित रहेको प्रचण्ड निकट स्रोतले बतायो । नेकपा एमालेबाट अलग भएका माधव नेपालले दर्ता गराएको नेकपा एकीकृत समाजवादीले निर्वाचन आयोगबाट मान्यता पाएपछि मन्त्रिपरिषदलाई पूर्णता दिने भनिए पनि अझै टुंगो लागिसकेको छैन । निर्वाचन आयोगले विभाजित पार्टीका जनप्रतिनिधिहरुलाई दल रोज्ने विकल्प भदौ २२ गतेसम्म दिएको छ । त्यसैले भदौ २२ पछि मात्रै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् । हाल एमालेबाट अलग भएको नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)बाट अलग भएको लोकतान्त्रिक समाजवादी पार्टीका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुको सनाखत गर्ने क्रम जारी छ ।
पटेर्वासुगौली गाउँपालिकाको वडा नम्बर २को बेल्वा टोलको थारु धर्मशालामा ने.का.पा.(एमाले)को पालिका स्तरीय सभा वडा नम्बर १को वडा अध्यक्ष फरमान मियाको सभापतित्वमा पालिका स्तरिय सभा सम्पन्न भएको छ ।पालिका स्तरीय सभा कार्यक्रमको प्रमुख अतिथिमा ने.क.पा.(एमाले)केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटा रहेको थियो भने विशिष्ट अतिथिहरुमा जिल्ला कमिटी अध्यक्ष प्रभु हजरा,राष्ट्रिय पार्सद सदस्य सम्बिधान सभा सदस्य राजकुमार गुप्ता,राष्ट्रिय पार्सद सदस्य एवम सम्बिधान सभा सदस्य जयप्रकाश थारु,रा.प.स.एवं माहानगर कमिटी अध्यक्ष डा.बिश्वमबर शर्मा,प्रदेश कमिटी सदस्य तेज प्रकाश निषाद,अतिथिहरुमा जिल्ला कमिटी सचिव एवं छिपरमाई गाउँपालिका प्रमुख मनोज गुप्ता,पटेर्वा सुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरी,युवा संघ नेपाल केन्द्रिय सदस्य रबि गुप्ता,युवा संघ नेपाल जिल्ला अध्यक्ष महमद निजाम सञचारकर्मीहारुको उपस्थिति रहेको थियो।सभाका उदघोसक लक्षमी खरेलले गरेका थिए।सभालाई केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटाले दिप प्रज्जवल गरि कार्यक्रमलाई सुरु गरेका थिए।पटेर्वासुगौली गाउँपालिका अध्यक्ष हरिनारायण चौधरीले मन्तव्यमा पटेर्वासुगौली गाउँपालिका सम्पुर्णस्थानीयवासीहरुमा स्नेह प्रेम रहने छ जो मलाई भोट दिएका वा भोट नदिएका पनि एक समान रहेको र रहने छ उहाँका भनाई रहेको थियोे।मन्तव्यमा बोल्दै सम्बिधान सभा सदस्य राजकुमार गुप्ताले ने.क.पा.(एमाले) फुटेको छैन हामी पार्टी भित्र मात्रै मन्मोटाउ भएको हो।उहाँले पन्द्र महिना पछि हुने चुनावमा ने.क.पा.(एमाले) बहुमतले सरकार बनाउने छ मन्तव्यमा राखेका थिए।त्यसै गरि डा.बिशम्बर शर्मा,छिपरमाई गाउँपालिका अध्यक्ष मनोज गुप्ताले मन्तव्य दिएका थिए।कार्यक्रमका प्रमुखअतिथिमा रहेका केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटाले बुडापाखा युवाहरुले भुपु.प्रधानमन्त्री के.पी.ओलीलाई आई लव यु भनेगरेकाछन।उहाँको कामप्रती धेरै खुशी छन।अन्तमा वडा १ का अध्यक्ष एव सभा अध्यक्ष फरमान मियाले मन्तव्य राखी समापन गरेका थिए।
१६ भदौ, काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक अपराह्न चार बजे बोलाइएको छ । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
१५ भदौ, काठमाडौं । राष्ट्रियसभा अन्तर्गतको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले विगतका ऐतिहासिक सन्धि-सम्झौताहरुको अभिलेख राख्न सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएको गरेको छ । समितिको मंगलबार बसेको बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सम्बन्धित निकायहरुलाई नेपालको ऐतिहासिक सन्धि-सम्झौताको अभिलेख राख्न निर्देशन दिएको हो । समितिका सभापति रामनारायण बिडारीले लिपुलेक, लिम्पियाधुरा, कालापानी समेटिएको नेपालको चुच्चे नक्सा समेत अभिलेखालयमा अद्यावधिक गरेर राखिनुपर्ने बताए । ‘अभिलेखालयमा नेपालको सन्धि-सम्झौता छ कि छैन, अहिलेसम्म भएका सन्धि-सम्झौताको लिष्ट हुनुपर्यो । चुच्चे नक्सा हाम्रो अभिलेखालयमा त हुनुपर्यो नि । नेपालमा अन्त कहीं नभए पनि त्यहाँ हुनुपर्यो । राजनीतिक नक्सा, भौगोलिक नक्सा हुनुपर्यो । अपडेट गरिराख्न समितिको तर्फबाट आग्रह छ ।’ समिति सभापति बिडारीले नारायणहिटी संग्रहालयमा आवश्यकताभन्दा बढी नेपाली सेनालाई राखिएको भन्दै अनावश्यक संख्यामा रहेका सेनालाई फिर्ता गर्नुपर्ने बताए । त्यहाँ रहेका घोडा, तबेलालाई पनि हटाउनुपर्ने उनको भनाइ छ । ‘नारायणहिटीमा बसेको नेपाली सेना बढी भो । ठिक्क सेना सुरक्षाको निम्ति मात्र राखेर त्यसलाई संग्रहालय बनाउनुपर्छ । त्यहाँ घोडा, तबेला पनि राख्नुभएन । त्यहाँ आवश्यकताभन्दा बढी सैनिक पनि राख्नुभएन ।’
सरकार विस्तारमा भएको ढिलाइको असर उखु किसानको आन्दोलनमा समेत परेको छ । उखु किसान संघर्ष समितिले भदौ ५ गतेदेखि काठमाडौं केन्द्रीत तेस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेको थियो । तर माग सुनुवाई गर्ने मन्त्रालय नेतृत्वविहीन भएपछि पीडित किसान आन्दोलनबाट पछि हटेका छन् । किसानको माग सुनुवाई गर्ने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलमा मन्त्री नभएका कारण घोषित आन्दोलन स्थगन गरिएको उखु किसान संघर्ष समिति सर्लाहीले जनाएको छ । माग सम्बोधन गर्ने मन्त्री नै नभएपछि आन्दोलन हाललाई रोकिएको संघर्ष समितका सचिव हरिश्याम राय यादवले बताए । ‘चिनी उद्योगबाट बक्यौता उठाउन भदौ ५ गतेबाट गर्ने भनिएको आन्दोलन हाललाई अनिश्चित भएको छ, माग सम्बोधन गर्ने मन्त्री नहुँदा चुप लागेका हौं,’ संघर्ष समितिका सचिव यादवले भने । आन्दोलनका लागि कोरोना महामारी पनि कारक बनेको उनले बताए । संघर्ष समितिकाअनुसार अझै पनि किसानले चिनी मिलबाट २१ करोड बढी बक्यौता उठाउन बाँकी छ । चिनी मिलले करिब ५ वर्ष अघि देखिको भुक्तानी नदिएको भन्दै साउन १४ गते काठमाडौं आएका किसान प्रतिनिधिले सरकारलाई भदौ ५ सम्मको अल्टिमेटम दिएका थिए । संघर्ष समितिका सचिव यादवका अनुसार अन्नपूर्ण चिनी मिलबाट ९ करोड, श्रीराम सुगर मिलबाट ८ करोड, इन्दीरा चिनी मिलबाट २ करोड र लुम्बिनी चिनी मिलबाट तीन करोड रुपैयाँ बक्यौता उठाउन बाँकी छ । सर्लाहीको अन्नपूर्ण चिनी मिलले गत शुक्रबारदेखि भुक्तानी गर्ने भन्दै किसानसंग समन्वयन गरिरहेको यादवले बताए ।
काठमाडौं। सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको फाइदा उठाउँदै देशकै ठूलो पार्टी नेकपा एमाले र चौथो शक्ति जनता समाजवादी पार्टी फुटेको केही दिनमै अब विवेकशील साझा पार्टी पनि फुट्ने अवस्थामा पुगेको छ ।
स्रोतका अनुसार पार्टी अध्यक्ष रवीन्द्र मिश्र छुट्टिने पक्षमा छन् । उनी पार्टीलाई सकेसम्म कम क्षति गरेर विभाजित हुने पक्षमा छन् तर पूर्व विवेकशील पक्षमा नेताहरुले भने पार्टी विभाजन गर्न मानिरहेका छैनन् । ‘रवीन्द्रजी पार्टीलाई लेस ड्यामेज हुनेगरी छुट्टिने पक्षका हुनुहुन्छ तर अरु साथीहरुले मानिरहनुभएको छैन’ स्रोतले भन्यो ।
अहिले पार्टी विभाजन गर्ने वा नगर्ने भन्ने विषयमा छलफल गर्नको लागि बैठक बसिरहेको छ । केही दिनअघि रवीन्द्र मिश्रले ल्याएको धर्म र राजतन्त्रको पक्षको अवधारणाका कारण पार्टीमा फुटको बीउ रोपिएको मानिएको छ । पार्टीका अन्य नेताहरु रवीन्द्रलाई त्यो अवधारणा फिर्ता लिन दबाब दिइरहेका छन् ।
यही बीचमा पार्टीकी नेतृ तथा बागमती प्रदेश संयोजक रञ्जु दर्शनाले ट्वीट गर्दै रवीन्द्र मिश्रको पार्टी विभाजन गर्ने चाहना अब खुलस्त भएको बताएकी छिन् । मिश्रको अनैतिक कदम, अव्यवसायिक व्यवहार र आफैंले हस्ताक्षर गरेको सहमतिबाट पछि हट्नुले आफूलाई आक्रोशित बनाएको बताउँदै उनले यो समय आफू दिक्क भएको बताएकी छिन् ।
काठमाडौं १४-भदौ/ नेपाली कांग्रेसका नेता गगन थापाले आउँदो महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । काठमाण्डौ निर्वाचन क्षेत्र नम्बर ४ मा आज सोमबार भएको कार्यक्रममा नेता थापाले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै तयारीमा लागिसकेको बताएका हुन् ।
आफूले अघिल्लो महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेको स्मरण गर्दै थापाले गौरवका साथ आउँदो महाधिवेशनमा पनि उम्मेदवारी दिने घोषणा गरेका हुन् । उनले आफू सकभर सर्वसम्मत उम्मेदवार हुने कोसिसमा रहेको र सर्वसम्मत हुन नसके प्रतिस्पर्धाका लागि पनि तयार भएको बताए ।
यसअघि १३ औँ महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिएका थापा डाक्टर शशाङ्क कोइरालासँग पराजित भएका थिए । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आउँदो मंसिरको ९ गतेदेखि काठमाण्डौमा हुँदैछ ।
कपिलवस्तु , कपिलवस्तु मायादेबी गाउपालिका वडा नंबर ८ का वडा अध्यक्ष कृष्णनारायण तिवारी नबोलिकन काम गर्ने निर्वाचित जनप्रतिनिधिको रुपमा चिनिन्छ। मायादेवी गाउपालिका वडा नंबर ८ विजुवा गाविसवाट विकसित नयाँ वडा भएको कारण पनि वडा अध्यक्ष तिवारीलाई विकास निर्माणका कार्यमा धेरै चुनौति रहेको थियो। ती चुनौतिलाई पनि सहज ढंगवाट कार्य सम्पादन गर्न सिपालु वडा अध्यक्ष तिवारीसंग हिमाल दृष्टिले लिएको विशेष अन्तरवार्ताको सार–संक्षेप यहाँ प्रस्तुत छ । यहाँको करिब ५ वर्षको कार्यकाल सकिन लागेको छ, पक्कै पनि विभिन्न खालका योजनाहरु अघि सारेर निर्वाचित हुनुभएको थियो, यसरी समुदायलाई जुन प्रतिबद्धता व्यक्त गरेर निर्वाचित हुनु भयो, ती योजनाहरु कति हदसम्म पूरा भएको अनुभव गर्नु भएको छ ? –केही योजनाहरु पुरा हुन बाँकी छ । मुख्य काम भनेको सडक चौडा गर्ने काम शुरुवात भएको छ । खानेपानी वितरणमा समस्या भएर बोरिङ गर्ने काम भएको छ, भने शिक्षा र स्वास्थ्यका काम सम्पन्न भएको छ ।
वडाले गर्ने काम भनेको ढल व्यवस्थापन पनि हो ढल निर्माणको काम कहाँनिर पुग्यो ? –हुन त निर्वाचन गर्ने समयमा ढल निर्माणको काम योजनामा थिएन, यहाँका जनताको मुख्य समस्या मध्ये ढल निर्माण पनि एक हो । त्यसै कारण हामीले यसलाई पनि मुख्य समस्याका रुपमा राखेका छौं । जति विकास निर्माणका कुराहरु यहाँले अघि सार्नु भएको थियो, जुन उपलब्धीहरु हासिल भएको छ , त्यसप्रति कत्तिको सन्तुष्ट हुनुहुन्छ ? –आफ्नो काम प्रति सन्तुष्ट नहुने त कुरै भएन । तर, जति सन्तुष्ट हुनुपर्ने हो– त्यति चाँहि भएको छैन् । नयाँ वडा भएको हुनाले भौतिक पूर्वाधारको कुरा धेरै छन्। गर्न चाहेर पनि कतिपय कतिपय काम गर्न नसकिएको अवस्था छ । जनताको चाहना कस्तो हुन्छ भने अहिले नै गर्नु पर्छ तुरुन्तै हुन पर्छ भन्ने छ। एकै ठाउँमा बजेट खर्च गर्न सकिदैन र गर्न पनि हुँदेैन । काम धेरै भएको छ तर, देखिएको छैन । आफ्नो कार्यकालको जति अवधि छ । अब यो अवधिमा कस्ता विकासका मुद्दाहरु प्राथमिकतामा राखेर अघि बढ्नु भएको छ ? –हामीले अबको योजनामा शिक्षा र स्वास्थ्यलाई जोड दिदै भौतिक पूर्वाधार, चौडा बाटो निर्माण, त्यसै गरी हाम्रो जमिन भनेको भूक्षय बढी हुने खालको छ। त्यसलाई प्राथमिकता दिएर काम गर्ने योजना छ । अब कार्यकाल सकिएपछि फेरि यहाँको विचार के छ ? यही पदमा उठ्ने कि के गर्ने ? फेरि आफू निर्वाचित हुन के जनताको मन जिते जस्तो लाग्छ ? –जनताले के भन्छन् , जनताको कुरा हो, पार्टीको कुरा हो । तर, सेवामा निरन्तर रुपमा लागिरहन्छु । पार्टी र जनताको निर्णय नै हामी आत्मसाथ गछौं । अब निर्वाचित भएर जनताको मन जित्ने कुरा चाहिँ के हो भने दुईवटा मुख्य काम एउटा जनतालाई सेवा दिने र अर्को विकास निर्माणको काम हो । हामीले वडामा जनतालाई कुनै पनि सेवामा कन्जुस्याई गरेका छैनौं । जनतालाई निरास पनि बनाएका छैनौं। मेरो विचारमा जनता खुशी छन् । यस्तो खालको काम गरिरहँदा चुनौति पनि धेरै हुन सक्छन्, यसको सामना र समाधान कसरी गर्नु भएको छ ? चुनौती हरेक काममा हुन्छन् । धेरै वर्ष सम्म स्थानिय निर्वाचन नहुँदा मान्छेहरुमा बढी स्वतन्त्रता भए । जसले गर्दा मानिसहरु सबै बिज्ञ भए । सबै जान्ने भए, यसको मतलब तँ भन्दा म जान्ने छु भन्ने भावनाको विकास भयो । राम्रो काम गर्ने जनप्रतिनिधिलाई पनि अप्ठ्यारो अवस्था आयो । सोचे अनुरुपको काम गर्न सकिएन । चुनौतीको कुरामा जहाँ जस्तो चुनौती आउँछ। चुनौतीको अध्ययन गरेर त्यही अनुरुप समाधान गर्दै जान्छौ।
काठमाडौँ । सरकार जान चाहने सत्तारुढ गठबन्धन दलहरुभित्र मन्त्रालय भागबण्डामा सहमति जुट्न सकेको छैन । यही भागबण्डाबारे छलmल गरेर टुंगो लगाउन आज पनि सत्ता–गठबन्धनको बैठक जारी छ ।
शनिबार र आइतबार पनि मन्त्रिपरिषद विस्तार र मन्त्रालयहरुको भागबण्डाका लागि सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र तथा नेकपा एकीकृत समाजवादीका शीर्ष नेताहरुबीच छलफल भएको थियो ।
आज प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा बिहानैदेखि जारी बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्मकमल दाहाज प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई सहभागी रहेको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको नेतृत्व सम्हालेको डेढ महिनामा पनि मन्त्रिपरिषदले पूर्णता पाएको छैन । गठबन्धनमा आबद्ध दलहरुबीच मन्त्रालय भागबण्डामा सहमति हुन नसक्दा पछिल्ला बैठकहरुले पनि निकास दिन सकेन । आज चाहिँ सहमति जुटाएर मन्त्री बन्नेहरूको नाम टुंगो लगाउने र सम्भवतः आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी रहेको जनाइएको छ ।
१३ भदौ, बुटवल । लुम्बिनीमा नयाँ सरकार बनेको १५ दिन बितिसक्दा पनि मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन । नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको समर्थनमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी साउन २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री केसीले त्यसै दिन नेपाली कांग्रेस र माओवादी केन्द्रका एक-एक जना, जसपाका तीनजना र स्वतन्त्र सांसद अजय शाही मन्त्री बनाए पनि त्यसपछि मन्त्रिपरिषद् विस्तार गरेका छैनन् । विश्वासको मत लिएर सरकार विस्तार गर्ने भनेका उनले भदौ ७ गते विश्वासको मत लिएको पनि एक साता पुगिसक्यो । गठबन्धनभित्रै मन्त्रीको संख्या र मन्त्रालय नटुंगिदा मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको हो । हालका ६ मन्त्रीमध्ये माओवादी केन्द्रका कृष्णध्वज खड्काले आर्थिक मामिला तथा योजना र नेपाली कांग्रेसका डिल्लीबहादुर चौधरी ग्रामीण तथा सहरी विकास मन्त्रालय र जसपाका सहषराम यादवले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका थिए । जसपाका पुरमती ढेंगा र सुमन शर्मा रायमाझी तथा स्वतन्त्र सांसद अजय शाहीको मन्त्रालय तोकिएको छैन । अब विस्तार हुने मन्त्रिपरिषदमा नेपाली कांग्रेस र माओवादी केन्द्रबाट तीन/तीनजना मन्त्री र एक-एकजना राज्यमन्त्री नियुक्त गर्ने गठवन्धनका दुई दलबीच सहमति भइसकेको छ । तर दुवै पार्टीमा आकांक्षी धेरै जना हुँदा मन्त्री छान्न सकस भएको छ । मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्रालयको संख्या पनि थप गर्ने तयारी छ । शंकर पोखरेल मुख्यमन्त्री हुँदा मन्त्रिपरिषद् ११ सदस्यीय थियो । तर अहिले गठवन्धनलाई भाग पुर्याउन मन्त्रिपरिषद् १५ सदस्यीय पुर्याइँदैछ । मन्त्रालय टुक्र्याउन मन्त्रालयको नामाकरणसहित मन्त्रिपरिषद्बाट कार्यविधि पारित गर्नुपर्छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मुख्य सचिव सरुवा भएका र नयाँ मुख्य सचिव आएको एक-दुई दिन मात्र भएकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक फखरुद्दिन खानले बताए । ‘संविधान र कानुनको सीमाभित्र रहेर मन्त्रालय थप गरी बढीमा एक हप्ताभित्रै मन्त्रिपरिषद विस्तार हुन्छ,’ खानले बताए । सरकारका प्रवक्तासमेत रहेका आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले गठवन्धनका तर्फबाट सरकारको न्यूनतम साझा कार्यक्रम बनाउन केही समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भएको बताए । भदौ १७ गते प्रदेशसभाको बैठक बस्दासम्म मन्त्रिपरिषद्ले पूर्णता पाउने नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्ती मगरले बताए । कोरोना महामारीको जोखिम कायमै रहेका बेला प्रदेशमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेतृत्वविहीन छ । यसअघि सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य तथा जनसंख्या मन्त्रालय छुट्टै बनाइएको थियो । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय दुवैको केही कामलाई मिलाएर ग्रामीण तथा सहरी विकास मन्त्रालय थप गरिएको थियो । त्यसैगरि भौतिक पूर्वाधार मन्त्रालयमा राज्यमन्त्री समेत राखिएको थियो । अब युवा तथा खेलकुद, उद्योग र पर्यटन मन्त्रालय बनाउन सकिने एक नेताले बताए । तर, कुन कुन मन्त्रालय बनाउने भन्नेबारेमा भने अझै टुंगो लागिसकेको छैन । मन्त्री थप हुने भएपछि उनीहरुलाई आवास र गाडीको व्यवस्थापन गर्न पनि समय लागेकाले मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुन गएको हो । नियुक्तिका लागि आकांक्षी धेरै भएपछि मुख्यमन्त्री केसी र प्रदेश प्रमुख अमिक शेरचनको निजी सचिवालयले पनि पूर्णता पाउन सकेको छैन ।