विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले साझासँग एकीकरण गर्नु गल्ती भएको भन्दै माफी मागेका छन् । सोमबार एक विज्ञप्ति जारी गर्दै गत मंसिरमा विवेकशील र साझा पार्टीको एकीकरण हुँदा नेतृत्वको हिसाबले आफूबाट गल्ती भएको बताए ।
पछिल्लो समय विवेकशील साझामा अध्यक्ष रवीन्द्र मिश्र र पाण्डे समूहबीच वैचारिक मतभेद छ । मिश्र समूहले संयोजक पाण्डेको अधिकार खोसेर भूमिका विहीन बनाएको छ । मिश्र समूह सङ्घीयता र धर्म निरपेक्षता खारेजीको पक्षमा उभिएपछि उनले भने, ‘आज दुःखको कुरा के भयो भने सुसंस्कृत राजनीतिमा अर्को पक्षले लेखेकै र भएकै सहमति मान्नु मेरो गल्ती भयो भन्नुपरेको छ।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएका १३ जनासँग पाण्डेले माफी समेत मागेका छन् । ‘आज वैकल्पिक राजनीतिमा लप्पनछप्पन नजान्दा यो परिस्थिति आएको हो। तसर्थ, तत्कालीन हिसाबबाट विवेकशील र साझाको एकीकरणको नेतृत्व मैले गरेको हुँदा म तपाईँहरू १३ जनासँग माफी माग्छु।’
साझासँग एकीकरण हुँदा विवेकशीलबाट छुटिएकाहरुले नयाँ दल दर्ता गरेपछि बधाइ दिँदै विवेकशील आन्दोलनलाई न्याय गर्नेमा विश्वास व्यक्त गरे ।
वैकल्पिक राजनीतिको अभियान र साङ्गठनिक रूपमा पनि छिट्टै भेट हुने पाण्डेले बताए । ‘छिट्टै अभियानमा भेट हुने नै छ। साङ्गठनिक रूपमा पनि छिट्टै नै हामी संगै नै हुनेछौँ । फेरि पनि, तपाईँहरूलाई शुभकामना छ। उज्वल दाइले र हामी सबैले देखेको सपना मर्ने छैन। हामी सबै मिलेर हाम्रो त्यो सामूहिक सपना साकार गर्नेछौँ,’ उनले भने ।
भारतले ७३औं गणतन्त्र दिवस समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवासहित बंगालको खाडीको बहुपक्षीय आर्थिक तथा प्राविधिक सहकार्यको प्रयास (बिमस्टेक) का राष्ट्र वा सरकार प्रमुखलाई प्रमुख अतिथि बनाउने तयारी गरेको छ । भारतले जनवरी २६ मा गणतन्त्र दिवस मनाउने गरेको छ ।
भारतीय सञ्चार माध्यमहरूका अनुसार गणतन्त्र दिवसमा आयोजना हुने मुख्य परेडको अतिथिका लागि प्रधानमन्त्री देउवासहित बिमस्टेक देशका नेताहरुसँग सम्पर्क गरिएको छ। भारतीय विदेश मन्त्रालयले सबै देशलाई कार्यक्रममा सहभागी हुन समय उपलब्ध हुने वा नहुने भन्ने विषयमा कूटनीतिक च्यानलबाट सम्पर्क गरेको इन्डियन एक्सप्रेसले जनाएको छ। सबै देशका नेताबाट कार्यक्रममा सहभागी हुने निश्चित भएपछि मात्रै भारतले अतिथिको सूची सार्वजनिक गर्नेछ। यसअघि नेपालबाट सन् १९५१ मा राजा त्रिभुवन र सन् १९९९ मा राजा विरेन्द्र गणतन्त्र दिवसको प्रमुख अतिथि बनाइएको थियो।
भारतसहित नेपाल, बंगलादेश, भुटान, श्रीलंका, म्यान्मार र थाइल्यान्ड बिमस्टेकका सदस्य देश हुन्। सन् २०१८ मा भारतले आसियानका सरकार तथा राष्ट्र प्रमुखलाई प्रमुख अतिथिका रूपमा बोलाएको थियो। भारतले आफ्नो रणनीतिक तथा कूटनीति चासो, व्यापारिक स्वार्थ, अन्तर्राष्ट्रिय भूराजनीतिलाई ध्यानमा राखेर गणतन्त्र दिवसको प्रमुख अतिथि बनाउने गरेको छ।
समारोहमा म्यानमारका सैनिक शासक जनरल मिन आङ ह्लाइङलाई पनि बोलाइनुलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ। गत फेब्रुअरीमा कुमार्फत सत्ता हत्याएका जनरल मिनलाई विश्वका धेरै राष्ट्रले मान्यता दिएका छैनन्। यस्तो अवस्थामा मिनका लागि भारतीय नेतृत्वसँगको भेट महत्त्वपूर्ण अन्तर्राष्ट्रिय समर्थनका रूपमा लिन सकिने कूटनीतिज्ञहरू बताउँछन्।
यसअघि सन २०१९ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो कार्यकालको शपथग्रहण समारोहमा पनि बिमस्टेकका नेताहरुलाई अतिथिको रुपमा निम्त्याइएको थियो ।
नेपालबाट पनि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भवनमा भएको सपथग्रहण समारोहमा सहभागी भएका थिए। सन् २०२० मा ब्राजिलका राष्ट्रपति जायर बोल्सोनारोलाई प्रमुख अतिथि बनाइएको थियो भने गत वर्ष कोरोना महामारीका बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले आफ्नो भ्रमण रद्द गरेका थिए।
दाङ । दाङमा फेरि कांग्रेस नेताबीच कुटाकुट भएको छ । तरूण दल दाङका अध्यक्ष टीका घर्तीले काँग्रेस दाङका सचिव शंकर डाँगीलाई कुटेका छन् ।
आज अपरान्ह तुलसीपुरको अञ्जु स्विट हाउसमा चिया पिइरहेका सचिव डाँगीलाई घर्तीले कुटेका हुन् । प्रत्यक्षदर्शी हरि बस्नेतका अनुसार डाँगीले चिया पिइरहेका बेला घर्ती त्यहाँ पुगेका थिए ।
बस्नेतले भने, ‘शंकरजीले के छ ? टीका आराम छौ, भन्दै हालखबर सोध्नुभयो । त्यसपछि मलाई चुनावमा हराउने तैँ हो भन्दै कुर्सी उठाउनु भयो अनि झमाझम मुक्का बर्साउनु भयो ।’
घर्ती दाङ क्षेत्र नम्बर ३ (ख) को सभापतिका लागि लडेका थिए । उनी खिमबहादुर वलीसँग पराजित भएका थिए । घर्ती गृहमन्त्री बालकृष्ण खाँड निकट हुन् भने सभापतिमा विजयी वली केन्द्रीय सदस्य दिपक गिरी निकट हुन् ।
घर्तीले कुटपिट गरिरहेका बेला पुगेका कांग्रेस तुलसीपुरका नगर सभापति सुरेस हमालले घर्तीलाई रोकेका थिए । काँग्रेसका नेताबीच झडप भएको खवर पाएसँगै इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्याललको टोली घटनास्थल पुगेको थियो ।
डीएसपी अर्यालले भने, ‘झगडा भएको खवर पाएपछि म त्यहाँ पुगेको थिँए । उहाँहरूले हाम्रो पार्टीको आन्तरिक लफडा हामी आफैं मिलाउछौँ भन्नुभयो अनि म फर्केर आएँ ।’
डाँगी र घर्तीले आफूहरूबीच सामान्य चुनावी लफडा भएको प्रतिक्रिया दिएका छन् । डाँगी निकट एक काँग्रेस कार्यकर्ता अनुसार घर्तीले आफूलाई कुटपिट गरेको पार्टीको केन्द्रीय सदस्य दिपक गिरीलाई उनले रिपोर्टिङ गरेका छन् ।
साउदी नेतृत्वको गठबन्धनले यमनको राजधानी सानामा हुथी मिलिशियाद्वारा नियन्त्रित सैन्य शिविरमा हवाई आक्रमण गरेको हुथीद्वारा सञ्चालित अल–मासिराह टिभीले जनाएको छ ।
हवाई आक्रमणबाट उत्तरी र दक्षिणी सानामा रहेको धाबान र अल–नहदयन शिविरमा आक्रमण गरेको टेलिभिजनले प्रसारण गरेको छ । साउदीको स्वामित्वमा रहेको अल–अरेबिया टिभीले गठबन्धनले साउदी अरेबियाको आभा अन्तर्राष्ट्रिय विमानस्थलमा लक्षित बमले भरिएको ड्रोनलाई रोकेको केही घण्टापछि हवाई आक्रमण भएको हो ।
इरान समर्थित हुथी मिलिसियाले हालै सीमापार क्षेप्यास्त्र र ड्रोन आक्रमणलाई तीव्र पारेको छ । फेब्रुअरीमायमन विद्रोही समूहले मध्य यमनको अत्यधिक तेल रहेको प्रान्त मारिब कब्जा गर्न साउदी समर्थित सरकारी सेना विरुद्ध ठूलो आक्रमण सुरु गरेको थियो ।
‘सदस्य शुल्क नतिर्ने एनसीसीले महाधिवेशनमा सहभागी हुन नपाउने’
गैरआवासीय नेपाली संघ (एनआरएनए) को चुनाव आगामी डिसेम्बर १५मा हुने भएको छ भने महाधिवेशन १९-२०मा हुने भएको छ! विवाद र राजनीतिले उग्ररूप लिएपछि अनिश्चत बनेको महाधिवेशनको नयाँ मितिबारे जानकारी दिँदै अध्यक्ष कुमार पन्तले डिसेम्बर १९र २० काठमाडौंमा महाधिवेशन हुने बताएका हुन्।
यसअघि अक्टोबर २३ देखि २५ सम्म नेपालमा आयोजना हुनुपर्ने महाधिवेशन राजनीतिक हस्तक्षेपले अनिश्चितकालका लागि रोकिएको थियो।
विधि र विधान सबैलाई समान हुने भन्दै उनले शुल्क नपठाउने मुलुलाई अब अन्तिम पटक पत्र पठाउने बताए। ‘अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत र अन्य दुई देशले शुल्क उठाएर पनि केन्द्रमा बुझाउनुभएको छैन। हामीले धेरै पटक पत्राचार गरिसकेका छौं, अबको पत्र अन्तिम हुनेछ,’ पन्तले विधानको पालना नगर्नेलाई कडाइका साथ प्रस्तुत हुने चेतावनीसमेत दिए।
सदस्यता शुल्क नतिर्नुका साथै २५ प्रतिशत महाधिबेशन प्रतिनिधि छनोटमा विधान विपरित काम गर्ने मुलुकमा अस्ट्रेलिया, अमेरिका र बेलायत छन्।
यसैबीच निर्वाचन समितिका सदस्य सचिव भुषण घिमिरेले निर्वाचनको मिति तोक्न अध्यक्ष कुमार पन्तले पत्राचार गरेको र बिहिबार निर्वाचन समितिको बैठक द्वारा मिति बारे फैसला गरियको बताएका छन्।
वीरगञ्ज, १ मंसिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत पर्सा जिल्लास्थित जिराभवानी गाउँपालिकाको वडा नं. २ को वडा सभापतिमा सरोज चौरसिया विजय भएका छन् ।
बुधबार सम्पन्न वडा अधिवेशनमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापतिमा चयन गरिएको हो ।
गाउँपालिकाको वडा नं. २ स्थित सेढवामा आयोजित अधिवेशनमा कांग्रेसका क्रियाशील सदस्यहरुको उपस्थितिमा चौरसियालाई सर्वसम्मतबाट वडा सभापति चयन गरिएको निर्वाचन अधिकृत रामबाबु प्रसाद कानुले जानकारी दिए ।
चौरसिया नेतृत्वमा गठन भएको वडा समितिको उपसभापतिमा ललिता देवी, बालेश्वर यादव, सचिवमा खेमराज प्रसाद महतो, अमृत चौधरी, सह-सचिवमा विरेन्द्र महरा र सत्म्वा चौधरी थारु रहेका छन् । वडा सभापतिमा विजयी चौरसिया विद्यार्थी राजनीतिको पृष्ठभूमि बोकेका व्यक्ति हुन् । उनले लामो समयसम्म विकास र सामाजिक क्षेत्रमा पनि काम गरेका छन् । चौरसिया लामो समयदेखि गाउँपालिकामा बसेर सामाजिक र राजनीतिक कार्यमा सक्रिय छन् ।
वीरगञ्ज १ मंसिर तेस्रो राष्ट्रिय महाधिबेशनको संघारमा रहेको नेपाल परिवार दलको प्रदेश नं. दुईको अधिवेशन जनकपुरधाममा सम्पन्न भएको छ। कार्तिक २३ मा सम्पन्न अधिवेशनले १०१ सदस्यीय समिति सर्बसम्मत चयन गरेको छ । अधिबेशनले प्रदेश संयोजकमा सन्तोष कुमार पौडेल , सहसंयोजक सन्तोष दास र अब्दुल कयुम शाहलाइ चयन गरेको भने सचिवमा मनोजलाल कर्ण तेसैगरी कोषाध्यक्षमा रीता महतोलाई चयन गरेको छ।
प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै पार्टिका प्रवक्ता एवं प्रदेश दुइका संयोजक पौडेलले देशलाई पश्चगामी र यथास्थितिबादीहरुबाट मुक्त गर्न सम्पूर्ण शान्ति तथा विकास प्रेमी नागरिकहरु एकजुट भएर अघि बढ्नु पर्ने बताउनु भयो । नेता पौडेलले पटक पटक जनादेशको अपमान गर्नेहरुलाइ जनताले अस्विकार गरि नयाँ सोच र विचार बोकेको शक्तिलाई स्थापित गरि मुलुकको विकास र समृद्धिको यात्रालाइ तिब्रता दिनु पर्ने उल्लेख गर्नु भयो ।
पौडेल ले भन्नु भयो प्रतिशोधको राजनीतिले नागरिकले दुख पाउने र देशको अमुल्य समय खेर जाने हुँदा सबै नागरिकलाई समयमै निशुल्क खोप प्राकृतिक बिपत्ति पिडितलाई तुरुन्त उचित राहत, नेपालको हित केन्द्रित आर्थिक कुटनीति तथा युवाहरुलाई रोजगारीको ग्यारेन्टी जस्ता बिषयहरुमा सर्बपक्षीय सहमति गरेर राष्ट्रिय ध्यान केन्द्रित गर्नु आवस्यक रहेको बताउनु भयो ।
देशमा पर्ने आर्थिक भारलाई ध्यान दिँदै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन संगै सम्पन्न गर्न पनि देशका प्रमुख राजनैतिक दलहरुबीच समझदारी आवश्यक रहेको बताउँदै कोभिड–१९ को महामारीले थलिएको नेपाली अर्थतन्त्रलाई माथि उकास्न विज्ञहरु सम्मिलित एक राष्ट्रिय अर्थ व्यवस्था विकास आयोग गठन गर्न सरकारलाई सुझाब समेत दिनु भयो । प्रबक्ता पौडेल ले आगामी निर्वाचन अघिनै वर्तमान निर्वाचन प्रणालीमा व्यापक सुधार गरि प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक संसद लगायत ब्यबस्था गर्न र संविधानलाई सर्ब स्वीकार्य बनाउन नेपाली उत्पीडित समूदायको हक अधिकार थप सुनिश्चित गर्न आवस्यक पर्ने सुधारको लागी एक संबिधान सुधार सिफारिस आयोग गठन गर्नु पर्ने ठहर नेपाल परिवार दलको रहेको पनि बताउनु भयो ।
सह संयोजक अब्दुल कैयुम शाह ले जनताले दूई तिहाई मत दिदा पनि देशले स्थीर सरकार पाउन नसकेको तथ्य उल्लेख गर्दै पार्टीले दिने जस्तोसुकै जिम्मेवारी पनि पुरा गर्न तयार रहेको बताउदै आगामि निर्वाचनमा नेपाल परिवार दलको प्रतिनिधित्व स्थानीय तह देखि संघिय संसद सम्म सुनिश्चित गरिने प्रतिबद्धता ब्यक्त गरे । यहि मङ्सिर चार र पाँच गते परिवार दलको तेस्रो राष्ट्रिय महाधिवेशन नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्पन्न हुँदै छ ।
वीरगंज ,कात्तिक, नेपाल परिवार दल जिल्ला कार्य समिति पर्साको अधिवेशन सोमबार एक कार्यक्रमका बीच सम्पन्न भएको छ । ओम होटल एण्ड पार्टी प्यालेस वीरगंजमा भएको अधिवेशनमा प्रमुख अतिथि प्रदेशसभा सदस्य रमेश कुर्मीले गरिब, दलित, सिमान्तकृत समुदायको बृति विकासको लागि पार्टीका सम्पूर्ण नेता कार्यकर्ताहरु एकजुट भएर लाग्नु पर्नेमा जोड दिएका थिए । सो अवसरमा प्रदेशसभा सदस्य कुर्मीले अधिवेशनको पूर्ण सफलताको कामना गर्दै सर्वसहम्मत रुपमा नयाँ नेतृत्व चयन गर्न सुझाव समेत दिएका थिए । अधिवेशनको बन्दशत्रले पुनः पल्टन पटेलकै अध्यक्षतमा नयाँ कार्य समिति चयन भएको छ । जसको उपाध्यक्षमा सुबा यादव, सचिवमा दुधनाथ चौहान, कोषाध्यक्षमा बलीस्टर पटेल त्यसैगरी सदस्यहरुमा दिलीप मण्डल, सुदिश पटेल, जनक राउत, सिनोध राय, बिरेन्द्र साह चयन हुनु भएको जनाईएको छ । सो कार्यक्रमको स्वागत केन्द्रिय सदस्य रामचन्द्र चौधरी र डोमाई साह सोनारले गर्नु भएको समाचारमा जनाईएको छ ।
दमाैली । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल बन्द गराउन सडकमा खटिएका नेकपाका ११ जना कार्यकर्ता दमौलीबाट पक्राउ परेका छन् । आज बिहानैदेखि नेपाल बन्द गराउन सडकमा खटिएका विप्लव निकट सो पार्टीका ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
ट्राफिक चोकबाट जिल्ला सेक्रेटरी एटम, व्यास नगर इन्चार्ज ओम पन्त, मजदुर जिल्ला अध्यक्ष हिमाल खड्का, अखिल क्रान्तिकारी जिल्ला सचिव शिव सदाशङ्करलगायत पक्राउ परेको सो पार्टीका जिल्ला इञ्चार्ज पूर्णजित पुनले जानकारी दिनुभयो । पक्राउ परेका नेता कार्यकर्तालाई तत्काल रिहा गर्न उहाँले माग गर्नुभयो । नेपाल बन्दका कारण दमौली बजार बिहानैदेखि सुनसान छ ।
काठमाडौँ– काठमाडौँस्थित अमेरिकी राजदूत र्याण्डी बेरी रारा तालको भ्रमणमा छन् । उनले राराको मनमोहक प्राकृतिक सौन्दर्यको आनन्द लिइरहेका छन् । उनले राराकै किरानाबाट नमस्ते भन्दै जलवायु परिवर्तन्बारे सन्देश दिएका छन् ।
उनले भनेका छन्, ‘विश्वका विभिन्न देशका नेताहरूको सहभागितामा हालै भएको कोप२६ सम्मेलनमा नेपाल सरकारले वनक्षेत्र बढाउने र मिथेन ग्याँस घटाउने लगायतको महत्वाकांक्षी प्रतिवद्धताहरू व्यक्त गरेको छ। अमेरिका, संयुक्त अधिराज्य, तथा अस्ट्रेलियाले पनि विश्वको तापक्रम १.५ डिग्री सेल्सियस भन्दा बढ्न नदिनेगरी विभिन्न कदमहरू चाल्ने प्रतिवद्धताहरू व्यक्त गरेका छन्, जुन कदमहरू संसारलाई अपूरणीय क्षतिबाट बचाउन महत्वपूर्ण हुनेछ।’ उनले यात्राका क्रममा फोहोर नगर्ने, प्लास्टिकको प्रयोग नगर्ने र शाकाहारी भोजनमात्र गर्ने प्रतिवद्धतासमेत गरेका छन् । उनले भनेका छन्, ‘मसँगै आउनुभएका साथीहरू र म यो यात्रामा एकपटक मात्रै प्रयोग हुने प्लास्टिक प्रयोग नगर्ने, फोहोरमैला घटाऊने र शाकाहारी भोजन मात्रै गर्ने कुरामा प्रतिवद्ध छौं।’
उनले जलवायु परिवर्तनको असरलाई कम गर्न हरेक व्यक्तिले सोच्नुपर्नेसमेत उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘कहिलेकाहीं म झसङ्ग भएर सोच्ने गर्छु – हामीले साँच्चै केही गर्न सकिएला त ? सँगै के एउटा मात्रै देशको ग्रीनहाउस ग्याँस घटाउने प्रतिवद्धताले खासै ठुलो फरक पर्ला त ? मलाई लाग्छ यी दुईवटै प्रश्नको उत्तर सकिंदैन हुन्छ होला। कम्तिमा अहिलेको समय जहाँ हामी जलवायु परिवर्तनको यो मोडमा आइपुगेका छौं, मा त पक्कै नकारात्मक उत्तर होला।’
उनले पृथ्वी जोगाउने काम व्यक्तिगत र सरकारी तह दुबैमा हुनुपर्ने बताएका छन् । उनी भन्छन्, ‘हामी सवै यो पृथ्वी नामको घरमा सँगै बस्छौं, र यो घर साह्रै गजबको र दर्शनीय छ। त्यसैले हाम्रा प्रयासहरू पनि दुवै तहमा हुनुपर्यो, हाम्रो दैनिक जीवनमा एक व्यक्तिको रूपमा तथा विश्वस्तरमा देशको रूपमा। त्यसैले अबदेखि म प्लास्टिकका बोतलहरू प्रयोग भएका पेय पदार्थहरू प्रयोग गर्नेछैन, मलाई विश्वास छ कि हामीले गर्ने सक्दो प्रयास जलवायु परिवर्तनको विश्वव्यापी असर कम गर्न महत्वपूर्ण छ।