— राजनीतिक संकट र संस्थागत मर्यादाको प्रश्न

✍️तुल्सीराम आचार्य
काठमाडौं ।
हालै देशभर चर्चित “२३ र २४ गतेका घटना” लाई लिएर सामाजिक सञ्जालमा तीव्र बहस चलिरहेको छ। कतिपयले “२३ गते गलत” त कोहीले “२४ गते गलत” भन्दै आफ्नो पक्ष पुष्टि गर्न खोजिरहेका छन्। तर यी दुवै घटनाबाट देशले पाएको क्षति — १९ जनाको ज्यान र सार्वजनिक सम्पत्तिको विनाश — कुनै पनि अर्थमा औचित्यपूर्ण ठहरिन सक्दैन।
२३ गतेका घटनामा निर्दोष युवाहरूले ज्यान गुमाउनु नैतिक र राजनीतिक दुवै दृष्टिले गम्भीर विषय हो। त्यसका लागि तत्कालीन राज्यसत्ता प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उत्तरदायी ठहरिन सक्छ, यद्यपि यो निष्कर्ष अनुसन्धान र समयसापेक्ष प्रतिवेदनले दिनेछ। तर यसका साथै, ती युवाहरूलाई उक्साउने, तोडफोडमा संलग्न गराउने, संसद भवनमा प्रवेश गराई आगजनी र विध्वंसकारी गतिविधिमा संलग्न गराउनेहरू नै सबैभन्दा ठूला दोषी हुन्।
२४ गतेका घटनाहरूमा देखिएको अराजकता, लुटपाट र हिंसक गतिविधि कुनै पनि दृष्टिले क्षम्य हुन सक्दैन। ती कार्यमा संलग्नहरूलाई देशद्रोही, अराजकतावादी र गुण्डागर्दी प्रवृत्तिका व्यक्ति मान्न कुनै द्विविधा रहँदैन।
तर सबैभन्दा चिन्ताजनक पक्ष भनेको देशको उच्च सुरक्षा संयन्त्रका प्रमुख स्वयंले प्रधानमन्त्रीलाई नै “हामी तपाईंलाई सुरक्षा दिन सक्दैनौं, तत्काल राजीनामा दिनुहोस्” भन्ने आशय प्रकट गर्नु हो। विधि र पद्धतिमार्फत स्थापित प्रधानमन्त्रीविरुद्ध यस्तो अभिव्यक्ति आउनु लोकतान्त्रिक प्रणालीकै आधारभूत मूल्यमा प्रश्न उठाउने घटना हो।
यदि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली हाम्रा मनपर्ने पात्र होइनन् भनेर मानौं, र त्यस घटनाले हाम्रो भावनालाई सन्तुष्ट गर्यो भने पनि—भोलि हाम्रै मनपर्ने प्रधानमन्त्रीविरुद्ध त्यस्तै आदेश जारी भए भने के हामी त्यसलाई पनि स्वीकार गर्न तयार हुनेछौं?
यो प्रश्न केवल आजका पात्रहरूसँग सम्बन्धित छैन; यो देशको लोकतान्त्रिक संरचना, राज्यसंस्थाको मर्यादा र भविष्यको राजनीतिक दिशासँग जोडिएको गम्भीर चेतावनी हो।
















