• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: विचार

मीनाक्षीको नेपाल प्रेम !

  • २१ बैशाख २०७७, आईतवार १३:२२ मा प्रकाशित


    –माधव अधिकारी-
    नेपालमा सशस्त्र द्वन्द्वको अवधिमा मानव अधिकार उल्लघंनका घटनाका सम्बन्धमा अभिव्यक्ति दिनेमध्ये एक भारतीय अधिकारकर्मी  अग्रपंक्तिमा थिइन् ।उनले ज्यादतीमा संलग्न सरकारी तथा सुरक्षा अधिकारीको चर्को विरोध मात्र गरिनन्, तत्कालीन माओवादीका चरम हिंसात्मक गतिविधिलाई समेत उदांगो पारिन् । पीडकलाई कÞानूनको कठघरामा ल्याउने र पीडितलाई न्याय दिने हेतलेु उनी प्रयासरत छन् ।उनी हुन् ह्युमन राइट्स वाचकी दक्षिण एसिया क्षेत्रीय निर्देशक मीनाक्षी गांगुली । उनी भारतमा रहेर नेपाललाई अत्यन्त सुक्ष्म र निकट रुपमा बुझेकी अधिकारकर्मी हुन् । उनी आबद्ध संस्था ह्युमन राइट्स वाचले विश्वका करिब १०० देशमा मानवअधिकार हननका घटनाको अनुसन्धान गर्ने गर्दछ ।
    हाल विश्वव्यापी महामारीका रुपमा कोभिड–१९ फैलिएको सन्दर्भमा नेपालमा आम नागरिकको मानव अधिकारको रक्षाका लागि उनले निरन्तर खबरदारी गरिरहेकी छन् । हालै उनले कोरोनाभाइरसको जोखिमबाट आफ्ना नागरिकलाई जोगाउन भन्दै नेपाल सरकारले आफ्ना नागरिकको स्वदेश फर्कन पाउने हक हनन गर्न नमिल्ने बताएकी थिइन् ।उनीद्वारा जारी वक्तव्यमा भारत, खाडी देशहरू र मलेसियामा नेपाली आप्रवासी कामदारहरू कठिन परिस्थितिमा रहेको उल्लेख गर्दै संस्थाले पर्याप्त क्वारेन्टाइनको व्यवस्थापन नहुँदा नेपालले आफ्ना नागरिकलाई स्वदेश फर्काउन खासै पहल नगरेको आरोप लगाइएको थियो ।
    नेपालमा लकडाउनको अवस्था भएसँगै विदेशमा काम गरिरहेका तर रोजगारी गुमाएका नेपाली अलपत्र परेको भन्दै उनले नागरिकको आवश्यकतालाई सम्बोधन नगरी घर फर्कनबाट प्रतिबन्ध लगाइनुले आधारभूत मानवअधिकारको उल्लंघन भएको बताएकी थिइन् ।साथै भारतीय भूमिमा रहेका नेपाली श्रमिकलाई भारत सरकारले सहयोग गर्न लागेकामा स्वागत पनि गरेकी थिइन् ।  नेपालप्रतिको उनको प्रेम उनका वक्तव्यमा प्रतिविम्वित हुन्छ ।गांगुलीले न्याय, गरिमा, करुणा र समानतको पक्षमा वकालत गर्दै आएकी छन् । उनले विगतमा नेपालस्थित भुटानी शरणर्थीको हकहितका बारेमा पनि अनुसन्धान गरेकी थिइन् ।

    नेपालले मानव अधिकारको बाटो छाड्नु हुँदैन भन्ने उनको विचार छ । नेपालमा राज्यपक्षबाट पत्रकारमाथि  अनलाइन ठगी रोकथामका लागि तर्जुमा गरिएको विद्युतीय कारोबार ऐन (२००६) को भाग ४७ को दुरुपयोग गरेर ज्यादती गर्ने गरेकोमा उनको आपत्ति छ । सरकारले विश्वसनीयता र विधिको शासनलाई नियतपूर्वक कटौती गरेको र  दण्डहीनतालाई बढावा दिइरहेको उनको ठम्याई छ ।

    अभिव्यक्ति स्वतन्त्रताका पक्षमा जोडदार आवाज उठाउने गांगुलीले  धार्मिक तथा जातीय विभेद र  यौन हिंसाका विरुद्धमा सशक्त आवाज उठाउँदै आएकी छन् । महिला र बालबालिकामाथि हुने हिंसाका विषयमा उनले विशेष पैरवी गर्दै आएकी छन् । भारतमा उनले गुजरातको साम्प्रदायिक दंगा, पञ्जावमा न्यायको अभाव, माओवादी प्रभावित सर्वसाधारण लगायतका विषयमा सरोकार व्यक्त गरेकी थिइन् ।जम्मु,  कश्मिर र मणिपुर क्षेत्रमा भएका गम्भीर मानवअधिकार उल्लघंनका घटनामा उनको चासो थियो ।  उनले माओवादी संघर्षबाट प्रभावित व्यक्ति सहित भारतका कमजोर समुदायको सुरक्षा विफलता तथा मणिपुर एवं जम्मू र कश्मीरमा संघर्षसँग जोडिएका उत्पीड़नमाथि शोध गरेकी छन् ।  भारतको विदेश नीतिमा मानव अधिकार दृष्टिकोणको वकालत पनि गांगुलीले गरेकी छन् ।  श्रीलंकामा युद्धको समाप्तिपश्चात् उनले श्रीलंकाली सेना र तमिल टाइगर्सका सदस्यलाई मानव अधिकारको हनन्मा जिम्मेवार ठह¥याइन् ।  
    भुटानमा बसोबास गर्ने नेपाली नागरिकमाथि गरिने भेदभावका विषयमा उनले अनुसन्धान गरेकी छन् । उनले बंग्लादेशमा मानव अधिकार उल्लंघनको दस्तावेजीकरण गरेकी छन् ।  श्रम अधिकारको उचित संरक्षणमा जोड दिने गांगुलीले सशस्त्र संघर्षका दौरान बालबालिकाको सुरक्षा, एचआईभी र एड्स संक्रमित व्यक्तिमाथि हुने भेदभाव,समलैंगिक पुरुषको अधिकार जस्ता मुद्दामा काम गरेकी छन् ।  उनका लेख रचना विभिन्न समाचार पत्र, वेबसाइट र पत्र–पत्रिकामा प्रकाशित छन् ।
    अत्यन्त सरल, सहज र मृदुभाषी गांगुलीले भारतको दिल्ली स्कुल अफ इकोनोमिक्सबाट समाजशास्त्र विषयमा स्नातकोत्तर तहसम्मको औपचारिक अध्ययन गरेकी छन् । सन् २०१० मा ह्युमन राइट्स वाचको दक्षिण एसिया क्षेत्रीय निर्देशक पदमा नियुक्त हुनुअघि उनी सोही संस्थाको दक्षिण एसिया अनुसन्धाकर्ताका रुपमा कार्यरत थिइन् ।ह्युमन राइट्स वाचमा आबद्ध हुनुअघि उनले टाइम म्यागेजिनमा दक्षिण एसिया संवाददाताको रुपमा कार्य गरेकी थिइन् । त्यसबेला उनको कार्य क्षेत्र अफगानिस्तान, पाकिस्तान, नेपाल, भारत, बांग्लादेश र  श्रीलंका थियो ।

    Posted in अन्तर्राष्ट्रिय, विचारLeave a Comment on मीनाक्षीको नेपाल प्रेम !

    नेपालमा तत्काल तेस्रो शक्तिको आवश्यकता ।

  • २१ बैशाख २०७७, आईतवार ११:३४ मा प्रकाशित


    -राकेश कुमार शर्मा-
    नेपालमा राजनीतिक दलहरुका नेताहरू असफल कोरोना भाइरसको महामारीमा मुलुकको हित भन्दा ठुलो सत्ता लिप्सा, सत्ता स्वार्थ र व्यक्तिगत स्वार्थ रहेको छ ।

    मुलुक सरकार विहीन भएको छ । जनताहरुको गुनासो सुन्न नेपालमा सरकार नै छैन  ? सरकार भएपनि सरकारको कान छैन कसरी सुन्नु ? यसकारण भन्न बेकार छ । अब मुलुकमा तेस्रो शक्ति छ भने तत्काल उदयको आवश्यकता छ।

    कोरोना भाइरसको महामारीको समयमा भ्रष्टाचार गर्नेले अरु समयमा भ्रष्टाचार गर्न के बाँकी राख्लान ? कोरोना भाइरसको नाममा पनि राज्यकोष ढुकुटी दुरुपयोग भएको अवस्था छ।द्वन्द्वकालमा सत्र हजार निर्दोष नागरिकहरुको हत्या भएको छ।यस्तै राज्यकोष ढुकुटीबाट पुरानो वाइडबोडी विमानमा चार अर्ब पच्पन्न करोड भ्रष्टाचार, नेपाल टेलिकमको फोर जी वी सेवा विस्तार ठेक्कामा १२ अर्ब भ्रष्टाचार, बालुवाटारको जग्गा बेचबिखन,सेक्युरिटी प्रीन्टिग प्रेसमा अर्बौं रुपियाको भ्रष्टाचार र ओम्नीमा भ्रष्टाचार भएको छ।यस्ता अर्बौं रुपियाको भ्रष्टाचार कति हो कति भनी साध्य छैन । कोरोना भाइरसको महामारीमा  सुलभ अग्रवालले स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको अवस्था पनि छ । नेताहरुले भुकम्प आएको बेलामा पनि बाहिरी मुलुकहरुबाट आएको बिदेशी सहयोगहरु, सर सामानहरु र राहतहरुको व्यापक दुरुपयोग गरे।

    नागरिकहरुलाई कोरोना भाइरसको दशा लागेको छ।तर नेता र मन्त्रीलाई चाडपर्व आए जस्तो र लुटन सके लुट कान्छा लुटन सके लुट जस्तो भएको छ।अब कोरोना भाइरसको नाममा मेडिकल सामग्री खरिदमा मन्त्रीले डेढ अर्बको घोटाला भ्रष्टाचार गरेको समाचारहरु आइरहेको थियो।

    कोरोना भाइरस भन्दा पनि खतरा हाम्रो लागि हाम्रो मुलुकका केही भ्रष्ट नेताहरू र मन्त्रीहरु खतरनाक भाइरस हुन।यसकारण तत्काल तेेस्रो शक्तिको आवश्यकता देखापरेकोछ र घोटाला गर्नेहरुलाई शीघ्र कार्वाही गरि सम्पत्तिहरु राष्ट्रियकरण गरी मुलुकको विकास निर्माणमा लगाउनुपर्छ।

    नेपाल सरकारले के नै गरेको छ ? राहतकोषमा जम्मा भएको रकम विभिन्न दातृ संघ संस्थाहरु, बैंक  र बाहिरी मुलुकहरू बाट प्राप्त भएको हो ।

    बाहिरी मुलुकहरुले आपनो नागरिकहरुको लागी अनेकौं राहतका प्याकेजहरु ल्याएका छन । हाम्रो मुलुकको कतिपय ठाउँहरुमा दिनदिनै ज्यालादारी गरी छाक टार्ने मजदुर हरुले राहत पाउनका लागी चाकरी गर्नुपर्ने अवस्था आएको छ ।

    बाहिरी मुलुकहरूले आफ्नो नागरिकहरुलाई उडान मार्फत लगेको अवस्था छ । हाम्रो मुलुकमा शायद सरकार नभएकोले होला बाहिरी मुलुकमा रहेका नेपाली नागरिकहरु र मुलुक भित्र रहेका बिचल्लीमा परेका नागरिकहरुको उद्दार गर्न सकिरहेका छैनन । नेपाली नागरिकहरुको अवस्था बिजोग छ ।

    बाघको छालामा स्यालको रजाइँ जस्तो हतार हतार कोरोना भाइरसको महामारीमा सुकुम्बासी आयोगको अध्यक्ष र सदस्य पदहरुको गठन गर्नुपर्ने आवश्यक थियो र ?

    र्यापिड किटको परिक्षण भरपर्दो छैन भने पी सी आरको माध्यम बाट स्वाब परिक्षण गरे हुन्न ? दोहोरो परिक्षण गर्नुपर्ने किन ?

    क्वारेन्टाइन व्यवस्थित छैन भन्ने कुराहरु सुन्नमा आईरहेको छ । क्वारेन्टाइनमा पाउनुपर्ने सेवा सुविधाहरू व्यवस्थित नभएकोले पनि क्वारेन्टाइनमा बस्दा झन कोरोना भाइरस सर्ने हो की भन्ने डरले मानिसहरू क्वारेन्टाइनमा बस्न नमानेका हुन जस्तो मलाई लाग्छ ।

    हाम्रो मुलुकमा विगतमा पनि संघीयताको आवश्यकता थिएन र वर्तमान अवस्थामा पनि संघीयताको आवश्यकता छैन । आफ्नो कार्यकर्ताहरु पाल्नको लागी मात्र संघीयता हो । उपमहानगरपालिका र नगरपालिकाले उठाएको करहरु मध्ये केही प्रतिशत रकम प्रदेश सरकारलाई तिर्नुपर्ने हुन्छ । उपमहानगरपालिका र नगरपालिकाको खर्चले प्रदेश सरकार चलेकोले प्रदेश सरकारहरुको आवश्यकता बिल्कुल देखिदैन । कोरोना भाइरसको महामारी पश्चात हाम्रो मुलुकले आर्थिक अवस्था थेग्न सक्दैन यसकारण हाम्रो मुलुकमा संघीयताको आवश्यकता पनि छैन । अब हाम्रो मुलुकमा मुलुकको हित र जनहितका लागी तत्काल तेस्रो शक्तिको आवश्यकता रहेको छ ।

    लेखक को निजि विचार भएकोले एस संग एस मीडिया जवाबदेहि हुने छैन !

    Posted in राजनीति, विचारLeave a Comment on नेपालमा तत्काल तेस्रो शक्तिको आवश्यकता ।

    बहुमतको ट्रफी ओलीको हो तर यो अरू सबैको पनि उत्तिकै हो !

  • १८ बैशाख २०७७, बिहीबार २२:१५ मा प्रकाशित


    नारायण गाउँले

    ओलीकै अनुहार हेरेर जनताले बहुमत दिएका हुन् भन्ने तर्क सत्य हो ।
    तर यो बहुमत दुई वर्षभित्रै बेजिंग-काठमाडौं चल्ने चुच्चे रेलका लागि हो । दुई वर्षभित्र घरघरमा पाइपबाट आउने ग्यासका लागि हो । दुई वर्षभित्र उत्तरतिर सातवटा नाका खोल्नका लागि हो । दुई वर्षभित्र हावाबाट बिजुली निकाल्ने र स्याटेलाइटबाट बेचेर धनी बन्नका लागि हो । दुई वर्षभित्र सात वटा स्मार्ट सिटी बनाउन र देशभर विद्युतीय बस चलाउने भाषणका लागि हो । यो बहुमत एकता, स्थायित्व, विकास र समृद्धिका लागि हो । अलिकति बढ़ी नाकाबन्दीको विरोधका लागि हो ।

    तर भयो के ? प्रचण्ड बहुमत हुँदाहुँदै नाकाबन्दी मैले नै गरेको हो भन्ने उपेन्द्र यादव उपप्रधानमन्त्री बने । यो जनमतको गालामा पहिलो झापड़ थियो । चीन र भारतसँग सम्बन्ध सुमधुर राख्नु जरूरी छ तर धेरै अघि बढेर मोदीको ‘नागरिक अभिनन्दन’ जरूरी थिएन । त्यो पनि नाकाबन्दीको पीड़ा नसेलाउँदै र भारतले औपचारिक रूपमा नाकाबन्दी स्वीकार नगर्दै । साझा विवेकशीलले आफ्नो पार्टी कार्यालयमा राखेको ‘मोदीलाई स्वागत छ : तर नाकाबन्दी भुलेका छैनौं’ भन्ने सामान्य ब्यानर पनि पुलिसले च्यातेर लग्यो । यो स्वतन्त्र र सभ्य देशको गालामा अर्को झापड़ थियो ।

    दुई वर्षसम्म ओलीले हरेक भाषणमा पानी जहाजको बखान र पार्टीभित्र-बाहिरका विपक्षीहरूमाथि क्षुद्र गाली गरेर बिताए । टिकट काट्ने मिति तोके । जब मिति आयो, अचानक उनको मुखबाट पानी जहाज गायब भयो । कहिल्यै संसदमा उभिएर देशको माइक्रो इकोनोमी या सामाजिक समस्याका बारेमा तथ्यपूर्ण छलफल गरेनन् । कहिल्यै संसदभित्र उभिएर प्रश्नउत्तर गर्न सकेनन् । एउटा पुरस्कारको लोभमा सिङ्गो राज्यशक्ति प्रयोग भएर होली वाइन कार्यक्रम भयो । लाजमर्दो ढङ्गले देशको प्रधानमन्त्री कार्यक्रम अवधिभर आयोजक र अतिथिसँग होटलमा बसे । देशका सबै जनप्रतिनिधिलाई होली वाइन पिउन उपस्थित हुने परिपत्र गरिएको थियो ।

    उनले विष्णु पौडेलदेखि गोकुल बाँस्कोटासम्मलाई छानबिन हुन दिएनन् । वाइडबड़ी काण्डमा संसदीय समितिको निर्देशन लत्याएर अलग्गै छानबिन समिति बनाए तर रिपोर्ट कहिल्यै सार्वजनिक गरेनन् । न निर्मला पन्तले न्याय पाइन् । संस्थागत भ्रष्टाचारले सीमा नाघेको त विपक्षीले होइन, आफ्नै दलका नेताले स्वीकार गरेकै छन् । दुई वर्षको धेरै जसो समय त उनकै स्वास्थ्य र पार्टी एकीकरणकै नाममा बित्यो । र बाँकी समय पनि यति देखि ओम्नीसम्मका काण्डले बिताए ।

    अहिले सिङ्गो देश कोरोनाभारससँग लड्दै थियो । जनता लकडाउनमा थिए । लाखौं युवाले वैदेशिक रोजगारी गुमाउन सक्ने देखिएको थियो । रेमिट्यान्स डेढ़ खर्बले घट्ने रिपोर्टहरू आएका थिए । विश्वभर नेपालीहरू विभिन्न कारणले रोकिएर देश फिर्तीको प्रतीक्षामा थिए ।
    सबै पक्षलाई साथ लिएर आसन्न आर्थिक, सामाजिक र स्वास्थ्य समस्याबारे बृहत् छलफल र आकास्मिक नीति तय गर्नुपर्ने अवस्थामा उनी थिए । यो नायकत्व पुष्टि गर्ने गतिलो अवसर थियो । तर उनले पहिलो काम चीनबाट राजदूत फिर्ता बोलाए । उनी बिरामी भएर बाहिर आएदेखि मन्त्री पदको लोभ बाँड्दै पार्टी फुटाउने षड्यन्त्रमा व्यस्त पो रहेछन् । यसका लागि उनले देशको संविधान नै परिवर्तन गर्ने र राष्ट्रपति कार्यालयसम्म बदनाम गराउने खेल गरे ।

    अहिले बालुवाटारमा हुने बैठक आर्थिक समृद्धिका लागि होइन, बामदेवलाई प्रधानमन्त्री कसरी बनाउने भनेर हुन्छ । समाचारका पाना होउन् या कार्यकर्ताका फेसबुक पेज मजदुरको आँसू र पसिनाले होइन, भागबण्डा र घोचपेचले भरिएको छ । लकडाउन बढाउने कि नबढाउने भनेर एकपल्ट मन्त्रिपरिषदको बैठक बस्छ, त्यत्ति हो ।

    तोकिएको समयमा पानी जहाज आएन, किन आएन भन्ने बताउनु या माफी माग्नु उनलाई जरूरी लाग्दैन । पाइपमा ग्यास या चुच्चे रेलको प्रगति जनतालाई बताउन भनेर कुनै पत्रकार सम्मेलन भएको छैन । अहिले देश नै ठप्प हुने गरी अध्यादेश प्रकरणमा उनी उत्तानो परे । तर पनि नम्रतापूर्वक गल्ती स्वीकार गर्न उनी सक्दैनन् । पत्रकारलाई बोलाएर उनी विकास र गरिबीबारे बोल्दैनन्, मलाई तपाईं नभनेर किन तिमी भनेको भन्दै गुनासो गर्छन् ।

    क्याप्टेनलाई मञ्चमा बोलाएर दिइने ट्रफी सिङ्गो टीमको हुन्छ भन्नेसम्म पनि नमान्ने उनको बानी अनौठो छ । बहुमतको ट्रफी उनको हो तर यो अरू सबैको पनि उत्तिकै हो । यो उनको निजी सम्पत्ति या जे पनि गर्न मिल्ने लाइसेन्स होइन ।

    उसो त सिङ्गो विश्व जनता र अर्थतन्त्र कसरी बचाउने भनेर लागिरहेको यो क्षण लोकतन्त्र, सिङ्गो प्रणाली र जनमतको हदैसम्म अपमान गर्दै वामदेवलाई प्रधानमन्त्री बनाउने विषयमा अल्झिएको हाम्रो बहस देश र जनताकै भलाइका लागि हो भन्ने तर्क गर्ने कार्यकर्ता होउन्जेल उनी सुध्रिनुपर्ने पनि के नै छ र ?

    Posted in राजनीति, विचारLeave a Comment on बहुमतको ट्रफी ओलीको हो तर यो अरू सबैको पनि उत्तिकै हो !

    गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्काल अत्यावश्यक राहत सामग्री व्यवस्था गर्न ५-५ हजार डलर निकासा गर्ने निर्णय गरेको छ “राजेन्द्र अर्याल”

  • १३ बैशाख २०७७, शनिबार २१:५२ मा प्रकाशित

    विश्वनै नोबेल भाइरस CoViD-19 को संक्रमण बाट ग्रसित छ। वर्तमान समयमा उच्च शिक्षा र वैदेशिक रोजगारका लागी ५० लाख भन्दा बढी नेपाली नागरिकहरू विश्वको विभिन्न राष्ट्रमा छन्।यति बेला कोरोनाको विश्वव्यापी महामारीले दैनिक जीवन प्रभावित भएको छ । यसै सन्दर्भमा १५ लाख भन्दा बढी नेपाली श्रमिकहरू रहेको मध्यपूर्वका देशहरूमा नेपाली नागरिकलेको  के कस्तो अवस्था रहेको छ भनि बुझ्न हिमालयन दृष्टिका संपादक शुक्र मोक्तानले एनआरएनए आईसिसी मध्य पूर्व सह-संयोजक राजेन्द्र अर्याल संग गरेको कुराकानीको संपादित अंश:

    – नमस्ते हिमालयन दृष्टिमा यहाँलाई स्वागत छ।

    • नमस्कार मलाई आमन्त्रण गरि मध्यपूर्व क्षेत्रमा (कोभिड-१९) सम्बन्धित कुरा राख्ने अबसर दिनु भएकोमा हिमालयन दृष्टि लाई धन्यबाद !

    – सबै भन्दा पहिलो कुरा यति बेला मध्य पूर्व लगायत अधिकांश विश्व नै लकडाउनमा छ ,यसतो अवस्थामा तपाईको दिनचार्यको रूटिन् कस्तो छ ?

    • तपाईँ बुझ्न सक्नु हुन्छ, अहिलेको भयाबह अबस्थामा बाक्लो उपश्थिति रहेको नेपाली समुदाय कार्यरत रहेको मुलुक साउदि अरब मेरो कार्य क्षेत्र पनिहो त्यसैले दैनिक जसो बिहान देखि राति सम्म पिडितहरूको फोन रिसिभ गर्ने र सहजिकरण गर्नमै भ्याइ नभ्याइ हुन्छ, म मध्य पुर्बको सह संयोजक भएको कारणले गर्दा पनि खाडिका अन्य मुलुकहरूबाट फोन संपर्कमै समय बित्ने गरेको छ ।

    – हिजो आज मध्य पूर्वमा देखिएको कोरोना संक्रमितहरूको संख्या र साउदी लगायत मध्यपूर्वका सरकारले निजी कम्पनीहरूलाई दिएको अधिकारहरू हेर्दा अबको केही दिन पछी नेपाली श्रमिकहरूले व्यहोर्नु पर्ने समस्याहरू भयावह हुन सक्ने देखिन्छ त्यसको व्यवस्थापनको लागी एनआरएनए मध्य पूर्व के कस्तो तयारी गर्दै हुनुहुन्छ?

    • कोभिड-१९) बिश्वब्यापी रूपमा महामारी फैलिरहेको परिपेक्ष्यमा मध्यपूर्व ब्यपारिक हब भएकोले संक्रमण नहुने कुरै भएन । १५ लाख भन्दा बढी नेपालीहरु कार्यरत यस क्षेत्रमा भाईरसको कारण धेरैले रोजगारी गुमाउनु पर्ने र धेरै भन्दा धेरै नेपालीहरु अलपत्र पर्न सक्ने संकेतहरु देखिन थालेका छन्। साना तथा मझौला अधिकांश कम्पनीहरु बन्द छन् भने क्रमिकरूपमा बन्द हुने क्रम जारी छ। फलत: ती कम्पनीहरुमा कार्यरत नेपालीहरु बिचल्लीमा परिसकेका छन्/हुँदैछन्। समग्र मध्यपूर्वमै जो बैधानिक स्टाटस (लिगल बसाइमा) हुनुहुन्छ, उहाँहरुमा त्यती समस्या छैन तर जो ईलिगल हुनुहुन्छ नेपाल फर्किन बहिर्गमन भिसाको पर्खाईमा हुनुहुन्छ, उहाँहरूमा समस्या देखिएको छ।विशेष गरेर युएईमा अलि धेरै यस्ता समस्या देखिएको छ अहिले देखिएको समस्या भनेको खान या बस्न नपाउनु नै हो । यसमा गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषदहरुले आआफ्नो क्षेत्रमा वास्तविक पिडित पहिचान गरि मानवीय आधारभूत आवस्यकताको राहत सामग्री पुर्याउँदै आएको छ र गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्काल अत्यावश्यक राहत सामग्री व्यवस्था गर्न साउदी अरेबिया, कुवेत र युनाइटेड अरब इमिरेट्समा ५-५ हजार डलर निकासा गर्ने निर्णय भएको छ।

    – मध्यपूर्वमा कोरेना संक्रमित नेपाली नागरिकको तथ्यांक कति र कस्तो छ? उनिहरूलाई उद्धार गर्नु पर्ने अवस्था आएमा एनआरएनएले कसरी सहयोग गर्ने तयारी गर्दै हुनुहुन्छ?

    • मध्यपूर्व क्षेत्रमा अहिले सम्म ८४ जना बिरामी हुनुहुन्छ जसमा ५ जना उपचार गरि फर्किसकेका छन् २ जनाको मुर्त्यु भएको छ र ७७ जना थप उपचारमा हुनुहुन्छ। संक्रमित नेपाली नागरिकको उपचार यहाँका सरकारले नै राम्रो संग गरेको छ ।

    – दूताबासले समस्याको सुनुवाई नै गर्दैन भन्ने आम गुनासो पनि छ । विपत्तिको बेलामा गुनासो स्वभाविक भएपनि अवस्था त्यस्तो हो कि होइन?

    • यस्तो विपत्तिको बेलामा गुनासो आउनु स्वभाविक हो दुतावासले हर संभब सुनुवाई गर्दै आएको छ मध्यपूर्व क्षेत्रका राजदूताबासहरुले नेपाली समुदायलाई कोरोना संक्रमणबाट बच्न स्वास्थ्य सम्बन्धी सचेतना र जानकारीहरू दैनिक रुपमा सेयेर गर्ने गरेको छ विशेष रुपमा नेपाली राजदुतावास रियाद, साउदी अरबलले सचेतना गराउन समय समयमा सामाजिक संजाल मार्फत सुचना दिएर सुसुचित गर्ने कार्य गरिरहेकोछ। जुन प्रसंसनिय छ यहाँको प्रशासन बाट औपचारिक जानकारी हुनासाथ दुतावासले सेयर गर्ने गरेको छ ।

    – मध्यपूर्ब कार्यरत नेपालीहरुको बर्तमान अबस्था र अब नेपाल सरकार, दुतावासले तत्काल गर्न सक्ने र पर्ने कामहरु के के हुन् ?

    • लकडाउनको क्रम संगै उत्पादन र बजार एक साथ बन्द हुँदा प्राय कम्पनिहरू बन्द भै प्रबासि नेपाली कामदारहरू क्याम्प मै बसेकाछन, प्राप्त जानकारी अनुसार ठुलो हिस्सामा नेपालिहरू स्वदेश फर्किने भनेर सरकारको निर्णय पर्खेर बसेकाछन । सप्लाइ कंपनिमा कार्यरत कामदारहरू आबासबाट समेत निकालीएकाछन् । यसर्थ सम्बन्धित मुलुकमा रहेका नेपालिराजदुताबासले अविलम्ब तपसिलका जिम्मेबारि पुरा गर्नुपर्ने देखिन्छ।

    १) क्याम्पबाट निकालिएका कामदारहरूलाइ तत्काल शेल्टरको ब्यबस्था गरि खान बस्ने प्रबन्ध मिलाउनु पर्दछ।

    २) नेपाल सरकार र साउदि सरकार संग कुटनैतिक समन्बय गरि मुलुक फर्कन चाहने र जान तयार भएका नेपालीहरूलाइ स्वदेश फर्काउन पहल गर्नुपर्दछ।

    ३) रोजगार गुमाएका कामदारहरूको डाटा संकलन गरी जान चाहने र बस्नेहरूको रेकर्ड अनुसार जानेलाइ ट्राभलको बन्दोबस्त मिलाउनु पर्दछ।

    – अन्त्यमा मेरो प्रश्नमा छुटेका तर भन्नै पर्ने केही कुरा छ की?

    • अहिले मलाई पनि दैनिक जसो फोन कल आउने गरेको र प्राय प्रस्न एकै हुने गर्छ नेपाल कहिले जान पाईन्छ मध्य पूर्वमा रहेका दाजु भाई दिदीबहिनी हरुमा अनुरोध गर्न चाहन्छु नचाहेर पनि रोजगार गुमाइसकेपछि प्रबासमा अलपत्र भएर बस्नुभन्दा आफ्नो मुलुकमा जान खोज्नु नौलो कुरा भएन, अहिले हामी आफ्नो आवास नछोडौँ जहाँ छौं केहि समय त्यहि सुरक्षित बस्नु उचित हुन्छ कोरोना भाइरसको संक्रमण सबैभन्दा बढि यात्राबाट फैलिएको छ, संक्रमण नभएको व्यक्ति पनि अन्य मुलुकबाट नेपाल जाने क्रममा संक्रमित हुने सम्भावना बढि हुन्छ त्यसैले अहिलेको अवस्थामा नेपाल जाँदा हामी सुरक्षित हुँदैनौ बरु केहि कठिनाई भए पनि केहि समय धैर्यता गरौं सावधानि अपनाऔँ,कोरोनाबाट आफु पनि बचौं र अरुलाई पनि बचाऊँ येही भन्न चाहन्छु।
    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीति, विचारLeave a Comment on गैरआवासीय नेपाली संघ (NRNA) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले तत्काल अत्यावश्यक राहत सामग्री व्यवस्था गर्न ५-५ हजार डलर निकासा गर्ने निर्णय गरेको छ “राजेन्द्र अर्याल”

    कोरोना प्रतिरोधी जडीबुटीहरू

  • १२ बैशाख २०७७, शुक्रबार १०:४७ मा प्रकाशित
  • विश्व आज कोरोना महामारीको चंगुलमा फस्दै गईरहेको छ। रोगलागेका मध्ये ३ प्रतिशत विरामी हरूको मृत्युवरण भईसकेको र रोगको खास रोकथाम, नियन्त्रण एवं उपचार का कुनै पनि औषधि  एवं भ्याक्सिन बनिनसकेकाले अझै कति मान्छेहरू यो रोगले मर्ने भन्ने टुंगो छैन।

    यो रोगको संक्रमणको कारणले मर्ने हरूको तथ्यांक हेर्दा अधिकांश ९९% मान्छेहरू को प्रतिरक्षा प्रणाली अत्यन्त कमजोर रहेको र अन्य रोगहरू जस्तै मधुमेह, मृगौला रोग, क्यान्सर, दम खोकी मोटोपन, मुटुरोग, अनियन्त्रित कोलेस्टेरोल, वात, अटोईम्यून जस्ता समस्याले ग्रस्त भएको पाईयो र यो तथ्यले के पनि पुष्टि गर्दछ भने जसको प्रतिरक्षा प्राणाली कमजोर छ उसैलाई कोरानाको समस्या ले ज्यादा आक्रान्त पार्दछ र मृत्यु हुन सक्दछ ।

    यस परिपेक्षमा यो रोगलाई जित्नको लागि हाम्रो प्रतिरक्षा प्रणालीलाई मजवुत पर्नुपर्ने  हुन्छ।  प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन र कोरोना संक्रमण लाइ रोक्न निम्न लिखित जडिबुटी हरूलाई निम्न लिखित विधिले उपयोग गर्न सकिन्छ।

    के के हुन ती जडिबुटीहरू ?

    गुर्जो, दालचिनी, जीरा, धनिया, बेसार, लसुन, ज्वानो, असुरो, तुलसी, अमला, आदि मध्य कुनै एकको  उपयोग गर्न सकिन्छ ।

    यी जडिबुटीहरूको उपयोग कसरी गर्ने ?

    क.  गुर्जोको उपयोग गर्दा आफ्नो  भित्ताले एक भित्ता (१० देखि १५ से.मी.) लामो ताजा गुर्जोको डाँठ लाई राती सिलौटोमा कुटेर एक गिलास पानीमा हालेर छोडिदिनुहोला र यो पानीलाई भोली पल्ट बिहान कपडाले छानेर पिउनु होला। गुर्जोको धुलो (गुडूची चुर्ण)प्रयोग गर्नुहुन्छ भने ५ ग्राम गुडूची चुर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । 

    ख. तीन ग्राम दालचिनीको धुलोलाई एक गिलास तातो पानीमा हालेर पिउदा वा बजारमा उपलब्ध दालचिनीको एउटा क्यापसुल राती सुत्ने बेलामा खादाँ पनि रोग प्रतिरोधक क्षमता बढ्दछ ।

    ग. जीरा, धनिया, बेसार, लसुन, ज्वानो जस्ता मरमसला एवं जडिबुटीहरूलाई खानामा समाबेस गरौ ।

    घ. जडिबुटी काँडाको प्रयोग:  आधा लीटर पानीमा १ ग्राम (एक चुट्की) मरिच, १ ग्राम सूठो, १ ग्राम दालचिनी, एवं १ चिया चम्चा सख्खर हालेर उमाल्नुहोस । सबै जडिबुटीहरू मजाले पाकीसके पछि १० वटा तुलसीको पातलाई त्यस घोलमा हालेर ढाकी दिनुस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुस । यो काढाले प्रतिरक्षा प्रणलीलाई मजबुत पार्नुका साथै कफ फटाउने एवं गला  बसेको, घाटी दुखेको, निको पार्दछ ।

    ङ. अचानक रुघामर्की ले सताई हाल्यो भने मरिच, सूठो र सख्खरलाई एकसाथ उमालेर चूल्होबाट निकालीसके पश्चात तातौ घोलमा एउटा असूरोको पातलाई राम्रो संग धोएर स साना टुक्रा बनाएर उक्त घोलमाहालेर छोपि दिनुहोस । यसरी बनेको काढालाई ५ मिनेट पश्चात तात्तातौ पिउनुहोस ।

    च. ५ ग्राम अमलाको चुर्णलाई वा त्रिफला चूर्णलाई एक गीलास तातो पानीमा हालेर छोपिदिनुहास । छोपेको ५ मिनेट पश्चात यो औषधिलाई बिस्तारै स्वाद लिदै पिउनु होस । यसरी बनाएको औषधि दैनिक २ देखि ३ चोटी पिउनुहोस।

    छ. एक गिलास दुधमा १ देखि २ ग्राम शुद्घ बेसार हालेर राती सुत्ने बेलामा पिउनुहोस । यो विधिले पनि प्रतिरक्षा प्रणालीलाई मजबुत पार्दछ ।   

    ज. आधा आधा घण्टामा एक – एक गिलास मनतातो पानी पिउदै रहनु होला ।

    झ. ज्वानोको झोल:  तात्तातो ज्वानोको झोलले पनि मुख एवं  घांटीमा रहेका व्याक्टेरिया एवं भाइरस मार्न मद्धत गर्दछ।
    #सोसल मिडियामा शेयर

    Posted in ताजा अपडेट, मुख्य खबर, लोकप्रिय, विचारLeave a Comment on कोरोना प्रतिरोधी जडीबुटीहरू

    होम डेलिभरी सेवा – कतै कोरोना सार्ने माध्यम नबनोस

  • ४ बैशाख २०७७, बिहीबार १७:५० मा प्रकाशित
  • हामी नेपाली कहिले सिरियस हुने होला । त्यसकोलागी हामीले ईटाली, स्पेन आदि राष्ट्रको झै अवस्था नहोउन्जेल कुर्नु पर्ने हो ? होइन भने छिमेकी मुलुक भारतमा कोरोनाको प्रकोप बढिरहेको थाहा पाउदा पाउदै लुकिछिपी तरकारी, फलफूल लगायत सामग्री किन भित्राउदैछौ ।

    -वसन्त अनुभव-

    दाङ, घोराही, ४ बैशाख २०७७
    विश्व यतिबेला नोबेल कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट ग्रसित हुँदै गइरहेको छ । दिनदिनै कोरोनाका संक्रमितहरुको संख्या थपिदै गएको देखिन्छ । यसबाट मर्नेहरुको संख्या पनि वृद्धि हुँदै गएको छ ।

    नेपालमा पनि कोरोना भाइरसको संक्रमणको कारण हालसम्म मृत्यु भएको पुष्टि नभएपनि संक्रमितहरुको संख्या थपिदै गएको छ । कोरोना भाइरसको संक्रमणको रोकथाम र नियन्त्रणका लागि सरकारले विभिन्न उपायहरु अपनाउदै गएको छ । ती उपायहरु मध्ये लकडाउन पनि एक हो । गत चैत्र ११ गते देखि जारी लकडाउनको अवधिमा सरकारले हालसम्म चारपटक निर्णय गरि बैशाख १५ गतेसम्म पुर्‍याएको छ ।

    तर हामिले होम डेलिभरीको नाममा कतै कोरोना भाइरस डेलिभरी गरिरहेका त छैनौ । हाम्रो अहोभाग्य दाङमा हालसम्म कोरोना भाइरस संक्रमित फेला नपरेपनी के हामी सुरक्षीत छौ त ?

    लकडाउनको अवधिमा जनतालाई आवश्यक पर्ने दैनिक उपभोग्य बस्तु खरिदका लागि पसल खोल्दा कोरोना संक्रमण झनै फैलने कुरालाई मध्यनजर गर्दै दाङ जिल्ला उद्योग वाणिज्य संघ लगायत सरोकारवाला निकायले खाद्यान्न लगायत दैनिक उपभोग्य सामग्री होम डेलिभरी मार्फत जनताको (उपभोक्ताको) घरदैलोमा पुर्‍याउने जुन काम गरेको छ, साह्रै प्रशंसनीय एवं तारिफयोग्य छ ।

    तर हामिले होम डेलिभरीको नाममा कतै कोरोना भाइरस डेलिभरि गरिरहेका त छैनौ । हाम्रो अहोभाग्य दाङमा हालसम्म कोरोना भाइरस संक्रमित फेला नपरेपनी के हामी सुरक्षीत छौ त ? यो भनेर उद्योग वाणिज्य संघले गरेको पवित्र कार्यको कुनै आलोचना गर्न खोजेको हैन । मैले त होम डेलिभरीका क्रममा देखा पर्न गएका केही कमिकमजोरी औल्याउने चेष्टा मात्र गर्न खोजेको हुँ ।

    होम डेलिभरीमा बिक्री गरिने बिशेषत फलफूल र तरकारीजन्य बस्तु क्रेताले छान्न नपाउने, तौलेर ठिक्क पारेको किन्दा सडेको, सड्न थालेको तरकारी तथा फलफुल पनि परेको केहि उपभोक्ताहरुको गुनासो सुनिन्छ । जुन दु:खद कुरो हो । त्यस तर्फ ख्याल राख्नु पर्ने देखिन्छ ।

    साथै होम डेलिभरी सेवा प्रदान गर्न आउने सबैले त होइन केही ब्यक्तिहरुले मास्क नलगाएको वा लगाएपनी मुख र नाक नछोपी चिउडोमा लगाएको पाइयो । त्यस्तै सामान बिक्री गर्दा सावधानी नअपनाएको र सामाजिक दुरि कायम गरि सामान लिने र दिने गर्नुपर्नेमा भिडभाड हुन पुगेको देखियो । जसमा बिक्रेता र क्रेता दुवैले लापरबाही गरेको देखियो । सामान बाड्ने बिक्रेताको हात कतै कोरोना सार्ने माध्यम त बन्दैन ? यस्तो परिस्थितिमा हामी आजसम्म सुरक्षीत रहेपनी भोलि सुरक्षित रहन सकौला ?

    हामी नेपाली कहिले सिरियस हुने होला । त्यसकोलागी हामीले ईटाली, स्पेन आदि राष्ट्रको झै अवस्था नहोउन्जेल कुर्नु पर्ने हो ? होइन भने छिमेकी मुलुक भारतमा कोरोनाको प्रकोप बढिरहेको थाहा पाउदा पाउदै लुकिछिपी तरकारी, फलफूल लगायत सामग्री किन भित्राउदै छौ । राम्रो मुनाफा कमाउने नाममा कोरोना पनि भित्रन्छ भन्ने खै हामिले बुझेको ।

    पुलिस आउदा घरभित्र दगुर्ने अनि अलिक पर पुलिस पुगेपछि रोडमा जम्मा भएर गफ छाट्ने । पुलिस कसका लागि खटेको छ, हामिले पुलिसलाई झुक्याएकोमा गर्व गर्नेले वास्तवमा कसलाई झुक्याएको हौला । सरकारले गरेको लकडाउन लगायत कार्यहरू कसका लागि र केका लागि हो हामीले कहिले सोच्ने ?

    कोरोनाबाट आफु पनि वच्न र अरुलाई पनि बचाउन होम डेलिभरी सेवा प्रदान गर्दा अपनाउनु पर्ने केही सुझावहरु :

    -तरकारी, फलफूल, खाद्यान्न लगायत दैनिक उपभोग्य वस्तुहरुको होम डेलिभरी गर्ने बिक्रेताले मास्क, पन्जा चस्मा लगायत पुरै शरीर ढाक्ने रेनकोट (पिपिई भए राम्रो) लगाउने।

    -ग्राहकले पनि सामान लिन जादा अनिवार्य मास्क र पन्जा लगाउने ।

    -बिक्रेताले सामान दिदा र पैसा लिदा सामान लगायत लिने दिने दुबैको हातमा स्यानिटाइजरले स्प्रे गर्ने ।

    -लिने दिने कारोबार गरिने पैसामा समेत स्यानिटाइजर स्प्रे गर्ने ।(कोरोना भाइरस सार्ने माध्यम पैसा पनि हो )

    -सामान किन्ने ग्राहकहरु घरबाहिर निस्कदा देखि नै ब्यक्ति ब्यक्ति बिचको सामाजिक दुरि कायम गर्दै सामान खरिद गर्ने ।

    -सुलभ मुल्यमा गुणस्तरीय सामान उपलब्ध गराउने ।
    भारतबाट आउने तरकारी र फलफूल निषेध गरि स्थानीय उत्पादनलाई समेटी होम डेलिभरी गर्नुपर्ने । स्थानीय उत्पादनले बजार नपाई फ्याँक्नु परेको ब्यापक गुनासो सामाजिक संजालमा आइरहेको छ त्यसको सम्बोधन जरुरी छ ।

    -सामान खरिद तथा बिक्री गर्दा भिडभाड हुन नदिने र नगर्ने ।

    -सामान खरिद गरि घरभित्र पस्दा साबुनपानीले हातखुट्टा मिचिमिची धुने ।

    – डेलिभरी सेवा सदा उपभोक्ताको हितमा छ भन्ने कुराको सरोकारवाला निकायले सधै ख्याल राख्नु पर्ने ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचार, समाजLeave a Comment on होम डेलिभरी सेवा – कतै कोरोना सार्ने माध्यम नबनोस

    जिन्दगीमा पहिलो पल्ट साह्रै पिडाबोध महसुस गरे- वसन्त केसी

  • ३० चैत्र २०७६, आईतवार १२:२२ मा प्रकाशित
  • जिन्दगीमा कतिपय कुराहरू मनै देखि गर्ने ईच्छा हुदाहुदै पनि गर्न नसकिदो रहेछ । आफुबाट संभव हुने कुराहरू विविध कारणवश गर्न नसक्दा साह्रै पिडाबोध हुदो रहेछ ।

    हालाकी सधै आयुर्वेदको उपहास उडाउने, फुटेको आखाले समेत हेर्न समेत नचाहनेहरुको मुखबाट कोरोनाबाट बच्न आयुर्वेदिक जडिबुटी प्रयोग गर्ने कुरा सुन्दा र सामाजिक संजालमा पढ्न पाउँदा अनौठो लागे पनि खुशी लागेर आउँछ ।

    एलोप्याथिक जनशक्ति झै कोभिड १९ को महामारी रोकथाम तथा नियन्त्रणमा जिम्मेवार भुमिका नपाए पनि आयुर्वेद चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आआफ्नो कार्यालयमा बसेर आआफ्नो भुमिका निभाईरहेका छन । स्वयं ब्यक्तिगत तवरले आफ्नो सुरक्षा अपनाउदै विरामीको उपचार गर्दै आईरहेका छन ।

    कुरो केही दिन मात्र पहिलाको हो । म कुनै आयुर्वेद संस्थाको आपतकालीन कक्षमा कार्यरत थिए । म ड्युटीमा रहेको समयमा एक जना महिला घाँटी दुखेको समस्या लिएर आउनु भयो । पानी पिउदा घाटिमा केही बिझे झै पीडा भएको उहाँको गुनासो थियो ।

    कोभिड १९ को महामारीका कारण सारा विश्व नै पीडित र त्रसित भएको छ यतिबेला । नेपालमा पनि लकडाउन जारी रहेको छ । कोरोना संक्रमणको डर र आशंकाको बादल मडारिइ रहेको विद्यमान अवस्थामा घाँटी दुखेको समस्या लिई आउनु भएकी उक्त महिलाको स्वास्थ्य जाँच गर्न मलाई समस्या पर्‍यो । ठुलाठुला नेता, उच्चपदस्थ ब्यक्तिहरुले भाषणमा मात्र विकास गर्न रुचाउने तर ब्यवहारमा सधैं उपेक्षा गर्ने निरीह आयुर्वेद क्षेत्रको कर्मचारी मैले विना मास्क, पन्जा, पिपिई सेट यस्तो महामारीको सन्त्रासको बेला उक्त बिरामी जाँच गर्ने दुस्साहस कसरी गर्न सक्थे । कुनै स्वास्थ्य समस्या नदेखिएको, लक्षण तथा चिन्ह देखा नपरेको ब्यक्तिलाई समेत कोरोना पोजिटिभ भएको पुष्टि भएको कुरा थाहा पाउँदा पाउदै म कसरी आगोमा हामफाल्ने गल्ती गर्न सक्थे ।

    हो हजुर म स्वार्थी भए किनकि मलाई मेरो ज्यानको माया लाग्यो । कर्तव्य र उत्तरदायित्वको नाममा मैले आत्महत्याको प्रयास कसरी गर्न सक्छु । हो मलाई दु:ख लाग्यो, अत्यन्त पिडाबोध भयो तर मलाई मेरो ज्यानको माया लाग्यो, परिवारको माया लाग्यो । तपाईं नै भन्नोस यसमा मेरो के गल्ती छ? गल्ती छ भने म कार्वाही भोग्न तयार छु ।

    मैले उहाँलाई विना पिपिई यस्तो समयमा नजिक गइ स्वास्थ्य जाँच गर्न नसक्ने तर लाक्षणिक आधारमा औषधि तथा सल्लाह दिन सक्ने बताए । तर उहाँले घाटीभित्र जाँच गरि हेरेर मात्र उपचार लिने ढिपी गर्नुभयो । यस्तो समयमा उपचार गर्दा स्वास्थ्यकर्मी र विरामी दुवैका लागि राम्रो नहुने । विरामीबाट स्वास्थ्यकर्मीमा र स्वास्थ्यकर्मीबाट विरामीमा पनि कोरोना सर्न सक्ने भनेर संझाउदै उहाँको उपचार गर्न नसकेकोमा अत्यन्त पिडाबोध महसुस गर्दै उहाँलाई संभावित पिपिई उपलब्ध हुनसक्ने ठाउँमा जान सल्लाह दिए ।

    माथिको दृष्टान्त पश्चात् तपाईहरुलाई लाग्नसक्छ कस्तो स्वार्थी स्वास्थ्यकर्मी रहेछ, आफ्नो उत्तरदायित्व पूरा गर्न सकेन । हो हजुर म स्वार्थी भए किनकि मलाई मेरो ज्यानको माया लाग्यो । कर्तव्य र उत्तरदायित्वको नाममा मैले आत्महत्याको प्रयास कसरी गर्न सक्छु । हो मलाई दु:ख लाग्यो, अत्यन्त पिडाबोध भयो तर मलाई मेरो ज्यानको माया लाग्यो, परिवारको माया लाग्यो । तपाईं नै भन्नोस यसमा मेरो के गल्ती छ? गल्ती छ भने म कार्वाही भोग्न तयार छु ।

    सारा मुलुकमै कोरोनाको यस्तो त्राहिमानको अवस्था हुदा पनि सरकारले उक्त रोगको बारेमा हुने गरेका ओरिन्टेसन, गोष्ठी आदिमा आयुर्वेद स्वास्थ्यकर्मीलाई एकपटक समावेश गर्न उचित ठानेन । सुरक्षा सामग्रीका नाममा पिपिई त परै जावस मास्क र ग्लोब्स समेत उपलब्ध गराउन आवश्यक संझेन । एन ९५ मास्क किन्न समेत नपाएर कपडाको असुरक्षित मास्क स्वयं किनेर लगाई सेवा प्रदान गरिरहनु पर्ने अबस्थामा आयुर्वेद स्वास्थ्यकर्मी गुज्रिरहेका छन । आयुर्वेद स्वास्थ्यकर्मी भन्दा उच्चपदस्थ कर्मचारी जो बिरामी उपचारमा संलग्न हुदैनन र जनप्रतिनिधिहरुलाई सायद N95 मास्क र PPE set आवश्यक थियो होला । त्यो कुरो आयुर्वेदले कसरी बुझोस ।

    हालाकी सधै आयुर्वेदको उपहास उडाउने, फुटेको आखाले समेत हेर्न समेत नचाहनेहरुको मुखबाट कोरोनाबाट बच्न आयुर्वेदिक जडिबुटी प्रयोग गर्ने कुरा सुन्दा, सामाजिक संजालमा पढ्न पाउँदा अनौठो लागे पनि खुशी लागेर आउँछ ।

    आयुर्वेद स्वास्थ्यकर्मीहरुको सुरक्षा लागि कसैले सुरक्षा सामग्री उपलब्ध गराउनु त परै जावस पहल समेत गरेन । सरकारीस्तर बाट त भएन भएन सहयोगी संघ संस्थाहरु जो यस विषम परिस्थितिमा मास्क, पिपिई लगायत सामग्री सहयोग गरेको भनेर भाइरल भइरहेका संघसस्थाहरुले आयुर्वेदलाई किन चाहियो भनेर उपहास गरेको सुन्दा दु:ख लाग्छ । जबसम्म सरकारको आयुर्वेद र एलोप्याथीलाई हेर्ने चश्मा एउटै हुन सक्दैन तबसम्म अरुबाट के आशा राख्नु ।

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on जिन्दगीमा पहिलो पल्ट साह्रै पिडाबोध महसुस गरे- वसन्त केसी

    मास्कः रोचक तथ्य, प्रयोग र भ्रम

  • २९ चैत्र २०७६, शनिबार १४:५१ मा प्रकाशित
  • महेन्द्र गिरी


    मास्क लगाउने प्रचलन कहिलेदेखि सुरु भयो भन्ने वास्तविक मिति अहिलेसम्म भएका कुनै पनि अध्ययनहरुले बताउन सकेका छैनन्। तथापी, मानवजातिले मास्कको प्रयोग प्राचिन युगदेखि नै गर्दै आएको भेटिन्छ।

    प्राचिन समयमा विश्वका सबै क्षेत्रतिरका मानिसहरु धार्मिक तथा सांस्कृतिक प्रयोजन, शिकार खेल्ने प्रयोजन, खेलकुद तथा युद्ध जस्ता गतिविधिहरुमा मास्क लगाउने गर्दथे।

    पोलिस सर्जन जन मिकुलिक्ज रेडेक्किले सन् १८९७ मा गरेको व्याख्याअनुसार मानव स्वास्थ्यलाई मध्यनजर गरेर मास्क लगाउने चलनको सुरुवात सन् १८९० को दशक तिरबाट सुरु भएको देखिन्छ।

    अहिले आएर विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९, (कोरोना भाइरस)का कारण मास्क, यसको प्रकार अनि प्रयोगका बारेमा आम मनिसमा चासो अझ बढेको छ। यहाँ हामी आम मनिसहरुको यस्ता जिज्ञासा मेटाउने प्रयासमा जुटेका छौं।

    सर्जिकल मास्क

    चिकित्सा विज्ञानमा मास्क लगाउने चलनको विकास सन् १८९० को दशक तिरबाटै सुरुआत भएको थियो। तात्कालीन समयमा स्वास्थ्यकर्मीहरुले मास्क शल्यक्रिया गर्ने क्रममा तथा नर्सिङ सेवा प्रदान गर्ने क्रममा सुक्ष्म जिवाणु तथा मसिना थुकका छिटा मास्क लगाउने व्यक्तिको नाक मुखबाट बाहिर जान छेक्ने उद्येश्यका साथ लगाउने गर्दथे। सोही कारण यस्तो मास्कलाई सर्जिकल मास्क भनेर नामाकरण गरीएको हो।

    यसलाई कतैकतै फेस मास्क पनि भन्ने गरिन्छ। उक्त समयमा कपडाबाट बनेको एक तहको पत्र भएको मास्क नै चिकित्सा क्षेत्रमा प्रयोग हुने गर्दथ्यो। तर हाल पुनः प्रयोगमा ल्याउन नमिल्ने गरी पोलिमरबाट निर्मित तीन तहको पत्र भएको मास्क प्रयोगमा रहेको पाइन्छ।

    तथापि अल्पविकसित देशहरुमा कपडाबाट बनेको मास्कको प्रयोग अझैँ पनि उच्च रहेको छ। सर्जिकल मास्कहरु लगाउने व्यक्तिलाई श्वास फेर्दा हावामा भएका ब्याक्टेरिया, भाइरस जस्ता सुक्ष्म जीवाणुबाट हुने संक्रमणबाट रोक्न तयार पारिएको होइन।

    पूर्वि-एशियाका देशहरु जस्तै चाइना, ताइवान, जापान तथा दक्षिण कोरियामा सर्वसाधारण जनताहरुले समेत वर्षभरी नै सामान्य अवस्थामा पनि सर्जिकल मास्क लगाउने गर्दछन् र पछिल्लो समयमा उक्त देशहरुमा मास्क लगाउने एक फेसन नै बनेको छ। जसको प्रभाव युवाहरुमा अझ व्यापक रुपमा रहेको छ र अन्य देशहरुमा पनी यो फेसनको रुपमा विस्तार हुँदै गएको पाईन्छ।

    यस प्रकारको मास्क खुकुलो प्रवृत्तिको हुने हुँदा मास्क लगाउने व्यक्तिलाई बाहिर हावामा भएको ब्याक्टेयिा, भाइरस जस्ता सुक्ष्म जिवाणुहरुबाट रोक्न सक्दैन। तर लगाउने व्यक्तिको नाक मुखबाट आउने थुकका छिटा सोही मास्कमा टाँसिने हुँदा हावामा फैलिन पाउँदैन, जसले गर्दा अन्य व्यक्तिमा ब्याक्टेरिया भाइरस सर्नबाट बचाउँछ।

    फिल्टरिङ फेसपिस रेस्पिरेटर्स (एफएफआर)

    सुरुआती समयमा सर्जिकाल मास्क एक पत्रको गज कपडाबाट बनाउने प्रचलन थियो। यस्तो मास्क खुकुलो हुने कारण श्वास-प्रश्वासको माध्यमबाट सर्ने रोग, वातावरण प्रदुषणका कारण हावामा भएका सुक्ष्म तथा जैविक विषाक्त कण जस्ता चिजबाट बचावट गर्न सक्दैनथ्यो।

    पछिल्ला समयहरुमा मानव स्वास्थ्यमा श्वासप्रस्वास जन्य रोगको महामारी फैलिने, वातावरणमा प्रदुषण बढ्ने जस्ता समस्याका कारण फरक प्रकारका मास्कहरु बनाउने र लगाउने प्रचलनको विकास सन् १९६० को दशक तिरबाट सुरु भयो। यस्तो प्रकारको बाहिर वातावरणमा रहेको सुक्ष्म जैविक कणबाट मास्क लगाउने व्यक्तिलाई सुरक्षा प्रदान गर्ने मास्क ई फिल्टेरिङ फेसपिस रेस्पिरेटर्स भनिन्छ।

    यो एक विशेष प्रकारको मास्क हो। यो मुख्य गरी तीन प्रकारको हुन्छ। १) एनः चिल्लो पदार्थबाट बचाउन नसकिने, २) आरः चिल्लो पदार्थबाट केही मात्रामा बचाउन सकिने र ३) पिः पूर्णरुपमा चिल्लो पदार्थबाट बचाउन सकिने। एफएफआरलाई भिन्दाभिन्दै निकायहरुले भिन्न गुणस्तर कायम गरेका छन्।

    उदाहरणका लागि संयुक्त राज्य अमेरिकाले एन-९५, युरोपमा एफएफपी-२, चाईनाले केएन-९५, अस्ट्रेलिया/न्युजिल्याण्डले पी-२, कोरियाले कोरिया फस्ट क्लास र जापानले डिएस।

    एफएफआरहरुको बनावट र प्रविधिहरु करिब उस्तै भएका कारण सबैलाई बराबर मन्यता दिइएको छ। यस्तो मास्क विशेषगरी रोगको महामारी तथा स्वास्थ्यको आकस्मिक अवस्थामा स्वास्थ्यकर्मीहरुले लगाउन सिफारिस गरिन्छ।

    एफएफआर आफ्नो अनुहारको आकारअनुसार राम्रोसँग कसिने गरी लगाउन सके रोगको महामारीमा खटिने स्वास्थ्यकर्मीहरु स्वास्थ्य आकस्मिकताको समयमा हावामा भएको ब्याक्टेरिया, भाइरस, विभिन्न जैविक तथा विषाक्त कणहरु छिर्न बाट ९४–९५ प्रतिशतभन्दा माथिसम्म बच्न सक्दछन्।

    सर्वसाधारणहरुका लागि मास्क र यसको सही प्रयोग गर्ने तरिका

    सामान्यतया घरमा र समुदाय स्तरमा मास्क प्रगोगलाईभन्दा हातको सरसफाईलाई नै रोगबाट बच्ने उत्तम उपायको रुपमा सिफारिस गरिन्छ। विषेशगरी पूर्वि एशिया तिर सर्जिकल मास्क लगाउने चलन अत्यन्तै लोकप्रिय छ।

    पछिल्ला समयमा नेपाल, भारत लगायत दक्षिण एशियाली राष्ट्रहरुमा पनि वायु प्रदुषणको प्रभावबाट बच्न मास्क लगाउने सर्वसाधारणहरुको संख्या उल्लेख्य रुपमा वृद्धि भएको छ। यसै परिपेक्षलाई मध्यनजर गर्दै हालैका दिनहरुमा मास्क उत्पादकहरु पनि हावामा भएको प्रदुषणलाई छान्ने प्रविधियुक्त मास्क उत्पादन र वितरणमा तल्लीन रहेको पाइन्छ।

    अहिले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ (कोरोना भाइरस)का कारण मानिसहरु यसबाट बच्न मास्क उपयुक्त हुने विश्वासका साथ मास्कको प्रयोग बढाईरहेका छन्। विश्व स्वास्थ्य संगठन (संयुक्त राष्ट्र संघको स्वास्थ्य नियामक निकाय)ले सर्वसाधारणका लागि मास्क प्रयोग गर्ने उपयुक्त अवस्था र उचित तरिका सुझाएको छ र यो अत्यन्तै व्यवहारिक तथा वैज्ञानिक छ, जुन निम्नानुसार छनः

    १. सर्जिकल मास्कले हावामा भएका कुनै पनि सुक्ष्म जिवाणुहरुलाई छेक्न सक्दैँन। यस्तो मास्क केवल हातको सही सरसफाई सहित प्रयोग गरेमा मात्र प्रभावकारी हुन सक्छ। अतः साबुनपानीले मिचिमिचि हात धुने, साबुन पानि उपलब्ध नभएमा अल्कोहल मिसिएको स्यानिटाइजरले हात धुनु नै उत्तम उपाय हो।

    २. तपाई स्वस्थ्य हुनुहुन्छ भने मास्क लगाउन जरुरी छैन।

    ३. तपाईलाई रुघाखोकी लागेको र कोरोनाको शंका लागेको व्यक्तिको नजिक जानु परेमा वा हेरचाह गर्नु परेमा मास्क लगाउन सक्नुहुन्छ।

    ४. तपाईलाई रुघाखोकी लागेको छ, हाच्छ्यूँ आएको छ भने मास्क लगाउनुहोस्।

    ५. मास्क लगाउँदा निम्न कुराहरुमा ध्यान दिनु जरुरी छः

    क) मास्क लगाउनु पुर्व साबुन पानी वा अल्कोहल युक्त स्यानिटाइजरले हात धुने।

    ख) मास्क लगाउँदा नाकमुख पूर्णरुपमा छोपिने गरी लगाउनुहोस् र यसो गर्दा कतैबाट पनि चर नपर्ने गरी टम्म मिलाउनुहोस्।

    ग) लगाएको मास्कलाई हातले नछुनुहोस, यदि छोइएमा तुरुन्त साबुन पानी वा अल्कोहलयुक्त स्यानिटाइजरले हात धुनुहोस्।

    घ) मास्क भिजेपछि (थुकका छिटाबाट) छिटोभन्दा छिटो नयाँ मास्क फेर्नुहोस्, यसो गर्दा मास्कको डोरीमा समाएर खोल्नुहोस् अनि सुरक्षित तरिकाले उचित स्थानमा विसर्जन गरी हात धुनुहोस्।
    सेतोपाटी

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on मास्कः रोचक तथ्य, प्रयोग र भ्रम

    कोरोना भाइरस महाँमारी सम्बन्धमा अनुभब र अनुभुती

  • २७ चैत्र २०७६, बिहीबार १५:४८ मा प्रकाशित
  • डिल्ली के.सी., जनस्वास्थ्य निरिक्षक

    बिषय प्रबेश:
    चाइना बाट शुरु भएको कोरोना भाइरसले हाल बिश्व भरीनै संकट पैदा गरेकोछ । जसको प्रभाब हाम्रो देश नेपालमा पनि परेको छ ।

    हाल नौ जना संक्रमित मध्ये एक जना निको भइ सकेको र आठ जना उपचारको क्रममा रहेको अबस्था छ । बिभिन्न मुलुक बाट स्वदेश आएका नेपाली नागरिक बाट स्थानिय संक्रमण देखा पर्न शुरु गरेको छ जसको शुरुवात सुदुर पश्चिम बाट शुरु भई सकेको छ। स्थानिय संक्रमण फैलन्छकी भन्ने सन्त्रासमा छ, हाम्रो देश । आशा गरौ यो स्थानिय संक्रमण शुरु र अन्तिम बनोस ।

    अग्र पंक्तीका सेवा प्रदायकहरुलाइ जोखिम र उनिहरु नै कोरोना भाइरसको बाहक बन्ने खतरा:

    कोरोना संक्रमण नियन्त्रणका लागी र बिबिध समस्या समाधानका लागी तिन तहका सरकारहरु आ आफ्नो क्षेत्रमा सक्रियता पूर्वक लागीरहेका छन । सरकारका बिभिन्न अबयबहरु क्रियाशिल छन ।

    चिकित्सक स्वास्थ्यकर्मि, सुरक्षाकर्मि सन्चारकर्मि, जनप्रतिनिधीहरु अग्र पंक्तीमा काम गरिरहेको अबस्था छ । यो अग्र पंक्तिमा काम गर्ने समुहहरु उच्च जोखिममा छन र संक्रमण फैलाउने सम्बाहकको काम पनि यही समुहबाट हुने खतरा पनि उत्तीकै छ ।

    चिकीत्सक तथा स्वास्थ्यकर्मिहरु सबै भन्दा अग्र पंक्तिका सेबक हुन अर्थात कोरोना भाइरस बिरुध्द लड्ने सिपाही हुन । पर्याप्त मात्रामा ब्यक्तीगत सुरक्षा सामाग्री हुँदा या नहँदा पनि बिरामी लाई सेवा दिनुपर्ने बाध्यता छ ।

    स्वास्थ्यकर्मि तथा चिकीत्सकहरुले आफू जोखिममा रहेर गरेको सेवाको उच्च मुल्यांकन त गर्नै पर्छ तर एउटा कोरोना संक्रमित चिकित्सक वा स्वास्थ्य कर्मि बाट अन्य बिरामीहरु लाई रोग सर्ने दर उच्च हुन सक्दछ । यस बाट के बुझ्नु पर्छ भने एउटा चिकित्सक लाई सुरक्षीत गर्नु भनेको चिकित्सकको मात्र सुरक्षा नभई आम सर्बसाधरणको सुरक्षा गर्नु हो।

    कोरोना संक्रमण नियन्त्रणमा सुरक्षाकर्मिहरुको पनि उल्यख्य योगदान रहेको छ । सुरक्षाकर्मी लाई पुर्ण साबधानीका लागी न त ज्ञान प्रदान गरिएको छ न त ब्यक्तिगत सुरक्षा सामाग्री प्रयोग गरेको पाईन्छ ।

    लक डाउन पालना नगर्ने तथा क्वारेन्टाइनमा बस्न नमान्ने लाई सिधै हातले पकडेर समातेर कार्बाही गरेको देखिन्छ। यस्तो अवस्थामा नन टच बिधिबाट परामर्श वा कार्बाही गर्ने उपाय अपनाउनु पर्ने हुन्छ । एक जना प्रहरी वा सेना संक्रमित भयो भने परै फौज संक्रमीत भई सुरक्षा क्षेत्रमा गम्भीर असर पर्न सक्छ।

    राज्यको चौथो अंग मानिने सन्चारकर्मी कोरोना सम्बन्धी सूचना सचेतना कार्यमा अहोरात खटेको देख्न सकिन्छ,त्यसैले यतिबेलाा सन्चारकर्मीहरु पनि धन्याबाद्का पात्र हुन ।

    पत्रकारहरु समाचार संकलन गर्दा ब्यक्ती देखी टाढा बसेको देखिन्छ तर अन्तरबार्ता लिदा माईक्रोफोन मुख नजिकै राखेको देखीन्छ । सबैले के बुझ्न जरुरी छ भने मानिसको शरिर बाट सब भन्दा वढि भाइरस निस्कने मुख बाट नै हो । त्यसैले यति बेला ब्यक्ति बाट अन्तरवार्ता लिने कार्य कम गर्ने वा साबधानी अपनाएर अन्बार्ता लिने काम गर्न जरुरी छ ।

    कोरोनाको स्थानिय संक्रमण फलाउन सहायक हुने अर्को क्षेत्र हो राहत बितरण कार्य । स्थानिय तह वा बिबिध संघ सस्था बाट राहत बितरण कार्य भएको छ । जो काम प्रशंसनिय छ भने कोरोना संक्रमण फैलने जोखिम पनि छ ।

    यसो भन्दै गर्दा सोसल दुरि कायम गरेको छ केही हुदैन भन्ने कुरो पनि आउला तर संक्रमीत ब्यक्तीको थुक, सिगान, दिशा, पिसाब बाट भाइरसहरु वाताबरणमा फैलन सक्छ । त्यसैले राहत बितरणको उत्तम उपाय भनेको वास्तबिक पिडितहरुको तथ्यांक संकलन गरि होम डेलिभरी सर्भिस नै हो।

    केश डिटेक्सन तथा उपचारका उपाय :
    प्रत्येक स्थानिय तहले आ आफ्नो ठाउँमा बिदेश बाट आएका ब्यक्तीहरुको तथ्यांक संकलन गरी RDT KIT दु्रत गतिमा जाँच गर्ने यदि पोजेटिभ देखिएमा Contact Tracing गरी संक्रमण बारे सुनिश्चित गरिनुपर्दछ । कोरोना पोजेटिभ देखिएका बिरामी लाई उपचार एलोपेथिक पद्यती बाट मात्र नभई आयूर्बेदिक बिधी बाट पनि उपचार गर्ने ब्यबस्था मिलाउन उपयुक्त हुने देखिन्छ ।

    कोरोना देखीको डर त्रास ले बिरामी को मनोबल घट्न गई मनोसामाजिक समस्या पैदा हुने र शरिरको प्रतिरक्षा प्रणाली कमजोर हुनसक्ने भएकोले उचित मनोबिमर्शको ब्यबस्था मिलाउन आबश्यक छ। (लेखक राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सूचना अधिकारीका रुपमा कार्यरत हुनुहुन्छ )

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on कोरोना भाइरस महाँमारी सम्बन्धमा अनुभब र अनुभुती

    डराएको डाक्टर

  • २७ चैत्र २०७६, बिहीबार १०:५४ मा प्रकाशित
  • म एक डाक्टर। अचेल म बिरामीदेखि डराउँछु, साथीहरू देखि, सहयात्रीदेखि र सबै मानिसहरुदेखि डराउँछु।

    करिब दस वर्षको चिकित्सा विज्ञान अध्ययनमा मलाई कसैले यो सिकाउनु भएन कि, बिरामीको उपचार गर्दा सुरक्षाकवचको अभावले, औजार र उपकरणको अभावले मैले आफ्नो ज्यानको बाजी मार्नुपर्ने हुनसक्छ।

    त्यति धेरै विशेषज्ञताहरुमा मलाई कसैले छुट्टै महामारीसँग जुध्ने विशेषज्ञता हुन्छ र अध्ययन गर्नुपर्छ भनेर सिकाउनु भएन। न त कहिल्यै बिरामीको उपचार गर्दा जानीजानी आफ्नै ज्यानको हानिनोक्सानी पनि बेहोर्नुपर्छ भनेर सिकाइयो।

    विश्वभरि, अझ हाम्रो जस्तो देशमा त स्वास्थ्यकर्मीले लगाउनुपर्ने सुरक्षाकवच (पिपिई)को चरम अभाव भएको अवस्थामा, धेरैभन्दा धेरै स्वास्थ्यकर्मीहरु बिना सुरक्षा उपचारमा होमिनुपर्ने अवस्था आउन सक्छ।

    विगत एक/दुई महिनादेखि साथीहरूबीच, अग्रजहरुबीच ड्युटीको कुरा हुँदा, ओपिडिमा बस्ने वा इमर्जेन्सीमा राउन्ड लिने कुरा हुँदा कुनै युद्धमा जान लागेको जस्तो महसुस हुन्छ।

    डाक्टरको लापरबाही भन्दै हातपात र गालीगलोजको घटना बग्रेल्ती देखिने हाम्रो देशमा अचेल पोसाकको स्वास्थ्यकर्मीलाई अभार प्रकट गरिरहेको, धन्यवाद दिइरहेको फाट्टफुट्ट देख्न थालिएको छ। यस्ता दृश्यहरुले भने मेरो डरलाई केही कमी गराइदिन्छ।

    मनै त हो,अदृश्य भाइरस कति खेर मेरो शरीरमा प्रवेश गर्ने हो! कतै मैले अरु बिरामीलाई त सार्ने हैन, अरु कुनै सहकर्मीलाई त सार्ने हैन? यी र यस्ता प्रश्नहरू फेरि सल्बलाउन थाल्छन्। किनकी मलाई थाहा छ, संक्रमण भएको सबैलाई लक्षण नदेखिन पनि सक्छ।

    हप्तामा बल्लबल्ल बढीमा दुई पटक पूरा शरीर नुहाउने म अचेल ड्युटीपछि घर पुगेपछि पूरा शरीर नुहाउँछु। अस्पताल जाँदा लगाएको कपडा सरफपानीमा भिजाइहाल्छु। घरका अन्य सदस्यहरुको नजिक सकेसम्म नजाने कोसिस गर्छु। ढोकाहरुको लक समात्न, धाराको टुटी खोल्न, पानी पिएको जुठो ग्लास नपखाली छाड्न डर लाग्छ।

    मेडिकल कलेजको पहिलो वर्षमा हुँदा कलेजको जर्नलको लागि गरिएको पोलमा एउटा प्रश्न राखिएको थियो, सियोको टुप्पो जति ठाँउमा पनि करोडौं जीवाणु अटाउन सक्छ भनेर विश्वास लाग्छ कि लाग्दैन? भन्ने। त्यसै बेलाको त्यो ज्ञानको असर अहिले पूरा परेको छ।

    अस्पतालको कुना कुनामा, नर्सिङ स्टेसनमा, बिरामीको बेडमा, मेसिनहरुमा, औषधिको बट्टाहरुमा, बिरामीको चार्टहरुमा त्यो म भन्दा करोडौं गुणा सानो अदृश्य सत्रु कुरिराखेको जस्तो लाग्छ। कहिलेकाहीं त हात सफा गर्ने स्यानिटाइजरको माथिपटि बसी मलाई छलेर गिज्याइरहेको त छैन जस्तो हुने! त्यसैले कति पटक थोरै लिएर पहिला टाउको नुहाइदिएपछि आफ्नो हातमा रगडेको पनि छु।

    राम्रो डाक्टर हुन बिरामीको सम्पूर्ण इतिहास राम्ररी लिनुपर्छ भन्ने भनाइ चिकित्सा विज्ञानमा स्थापित छ। बिरामीको इतिहास लिनु एउटा कला पनि हो। बिरामीले कुनै लक्षण भनेपछि त्यो लक्षणको धेरै पाटो केलाउनु पर्ने हुन्छ, रोग पत्ता लगाउन।

    आजभोलि ज्वरो, थकान महसुस, खोकी वा श्वासप्रश्वासमा समस्या जस्ता लक्षणहरु जुनकुनै रोगको बिरामीले भने पनि उसको शरिरभरि कोरोना भाइरस सल्बलाइरहेजस्तो भान हुन्छ। नजिक जान अप्ठ्यारो लाग्छ। औंलाले बिरामीको छाती छुन त झन् साह्रै डर लाग्ने!

    यति धेरै डरहरु मनमा उब्जिए पनि भलै कोही डाक्टर होला, जो बिरामीलाई सहयोग नगर्न यो पेसा रोजेको होस। ड्युटीमा हुँदा थोरै मात्र बिरामीको श्वासप्रश्वासमा समस्या आओस् वा मुटुको चाल बढोस्, शरीरको कुनै भाग दुखेको बताओस्। खै त्यो डर कहाँ भाग्छ। दौडँदै बिरामीको नजिक पुग्छु, बिर्सन्छु कुन मास्क लगाएको छु। बिर्सन्छु कतै मैले भाइरसलाई मतिरको बाटो त देखाइरहेको छैन!

    अचेल सोसल मिडियाको जमाना छ। डाक्टरहरुको पनि ग्रुप छ फेसबुकमा। हामी त्यहाँ आफ्नो सुरक्षा पहिला भन्छौं। राजनीति गर्ने मानिसहरु र सरकारले आफूहरुको महत्वलाई नबुझेको वा बुझ्न अस्वीकार गरेकोमा दुखेसो पोख्छौं। तर जब काममा जान्छौं, बिरामी पहिला भन्ने मान्यतामा हुर्किएको हामी सब थोक बिर्सन्छौं।

    हाम्रो बानी नै हो, कोहीलाई गाह्रो परे टाढा भाग्ने हैन नजिक जाने हो। कथंकदाचित हाम्रो देशमा पनि महामारी फैलिइहाले (प्रार्थना गर्छु त्यस्तो नहोस) डराएको म र म जस्ता डाक्टरहरुलाई हौसला, प्रोत्साहनहरु दिन सक्नुभएन भने पनि कम्तीमा गालीगलोज नगरिदिनुहोला। हतोत्साहित नपारिदिनुहोला। इतिहास र समयको यो कालखण्डले मागेको हाम्रो भूमिकाबाट हामी कदापि भाग्दैनौं।
    स्वास्थ्यखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, विचारLeave a Comment on डराएको डाक्टर

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P