भदौमा हुने नेपाली कांग्रेसको महाधिवेशनका लागि सभापतिको उम्मेदवार कसलाई बनाउने भन्ने सहमति जुटाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले छलफल सुरू गरेको छ।
संस्थापन पक्षबाट सभापति शेरबहादुर देउवा फेरि सभापतिमा उठ्ने तयारी गरिरहेका छन् भने उपसभापति विमलेन्द्र निधि पनि सभापतिका लागि तयारी गरिरहेका छन्।
यसैबीच पौडेल पक्षबाट पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेताहरू शेखर कोइराला र सुजाता कोइराला पनि सभापतिका लागि दाबी प्रस्तुत गरिरहेका छन्।
१३ औं महाधिवेशनमा सभापति उठेर पछि देउवालाई सघाएका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिका लागि तयारी गरिरहेका छन्।
यस्तो बेला पौडेल पक्षबाट एक मात्र सभापतिको उम्मेदवार बनाउनका लागि छलफल सुरू भएको छ। यसको नेतृत्व भने केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले गरेका छन्। उनकै संयोजनमा शुक्रबार अपरान्ह अनुपम फुडल्याण्ड बत्तिसपुतलीमा छलफल सुरू भएको छ।
छलफलमा पौडेल पक्षबाहेक पूर्वमहामन्त्री सिटौलालाई पनि खबर गरिएको छ। केसीको स्वकीय सचिव निराजन थापाका अनुसार भर्खरै बैठक सुरू भएको छ।
छलफलका लागि केसीले महामन्त्री कोइराला, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, रामशरण महत, शेखर कोइराला र सुजाता कोइरालालाई पनि बोलाएका छन्।
सभापतिका आकांक्षीहरूबीच छलफल गरी एक जना उम्मेदवार बनाउने तयारी रहेको एक नेताले बताए। देउवाविरूद्ध एक जना मात्रै उम्मेदवार दिन सके जितिने पक्षमा पौडेललगायत उनी पक्षका नेता छन्।
काठमाडौं: नेकपा (एमाले) का उपाध्यक्ष भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन्। ओलीकै आग्रहमा रावलले ओलीलाई बालुवाटारमा भेटेका हुन्। वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनालको प्रतिनिधिको रुपमा ओलीसँग संवादका लागि बालुवाटारमा ओली-रावल भेट भएको ओली निकट एक नेताले बताए।
अहिले दुई नेताबीच कुराकानी भइरहेको ओली निकट नेताले बताए। ‘उहाँहरुबीच एक्ला-एक्लै कुरा भइरहेको छ। हामीले एकताका लागि जुन पहल थालेका थियौँ। त्यसैको वरिपरि कुरा हुने हो,’ ती नेताले भने।
दोस्रो तहका नेताहरुले ओली र नेपालबीच संवाद गराउने पहल गरे पनि नेपाल सकारात्मक नभएपछि ओली आफैँले रावललाई संवादका लागि बोलाएका हुन्। आइतबार बिहान नेपालकै निवासमा गएर आफूहरुले ओली-नेपालको भेटका लागि प्रयास गरे पनि सफल नभएको स्थायी कमिटी सदस्य सुवास नेम्बाङले बताए।
नेपालले कार्यदलमार्फत औपचारिक वार्ता अगाडि बढाउनुपर्ने प्रस्ताव गरेका थिए। सर्वोच्च अदालतमा नेपाल समूहका २३ सांसदले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र प्रतिनिधिसभा विघटनलाई वदरको माग राखी रिट निवेदन दर्ता गरेका थिए। ओली समूहले उक्त हस्ताक्षर भने फिर्ता लिनुपर्ने शर्त राखेको छ। जसलाई नेपाल समूहले अस्वीकार गरेको थियो।
ओली नेपालबीच सहमति गराउनका लागि दुबै समूहका नेताहरु सम्मिलित कार्यदल बने पनि हाल भने निष्क्रिय अवस्थामा छ। नेपाल समूहबाट कार्यदलको नेतृत्व रावलले गरेका थिए। नेपाल, रावलसहितका नेतालाई ओलीले कारबाही गरेपछि कार्यदल निष्क्रिय बनेको थियो। हाल भने कारबाही फुकुवा भइसकेको छ।
कोभिड १९ को दोस्रो लहरका कारण हवाई उडान असार १७ गतेदेखि सञ्चालन हुदैछ । नेपाल सरकारले आन्तरिक उडान खुला गर्ने घोषणा गरिसकेको छ । कोभिड महामारी नियन्त्रण गर्न सरकारले २०७८ वैशाख २० देखि आन्तरिक तथा वैशाख २३ देखि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको थियो । कोभिडका सङ्क्रमित बढेसँगै सरकारले गत वैशाख १६ देखि देशका विभिन्न जिल्लामा निषेधाज्ञा जारी गरेको थियो । यो सँगै दाङको टरिगाउँ एयरपोर्टबाट पनि नियमित हवाई उडान सञ्चालन हुने अपेक्षा गरीएको छ । हाल नेपाल एरलान्सले १७/१८ जना यात्रु क्षमताको दैनिक दुई उडान भर्दै आएको छ । पटक पटक बिभिन्न बाहना गर्दै अवरुद्ध हुने दाङको टरीगाँउ एरपोर्टबाट हुने हवाई सेवा कुनैपनि बेला रोकिने अबस्थामा छ । एरपोर्ट सञ्चालनमा अवरोध हुने मुख्य कारण हवाई मैदानको धावनमार्ग कम हुनु,ईन्धन भराउने ब्यबस्था नहुनु,यात्रुको चापक कम हुनु, महँगो भाडा लगायतका भन्ने गरीएको छ । तर यहाँका नागरिकहरुले त्यतिले मात्र टरीगाँउ एरपोर्ट ओझेलमा परेको हो भन्ने बिषयमा स्वीकार गर्दैनन् । निर्णय तहमा बसेका राजनीतिक नेतृत्वको भूमिका सकारात्मक हुन सके टरीगाँउ एरपोर्टले रुप परिवर्तन गरी भौतिक बिकासमा छोटो समयमा गर्न सक्छ भन्ने छ ।
दवाव दिन मानवबहादुरको सामाजिक संजाल ग्रुप
ब्रिटिस आर्मीका सेवा निबृत्त मानबहादुर थापा मगरले अन्य बहानालाई पुरै अस्वीयकार गर्नुहुन्छ । बेलायतमै बसेर एरपोर्ट सञ्चालन र सुधारका लागि सामाजिक संजाल फेसबुक मार्फत अभियान सञ्चालन गर्दै आएका थापामगरले राजनीतिक चासो टरिगाँउ एरपोर्टमा नभएको बताउनुहुन्छ । उहाँले भन्नुहुन्छ,आर्थिक बर्ष २०७८/७९ को नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट बक्तब्यमा समेत तुलसीपुर एरर्पोटलाई उपेक्षा गरीएको छ । टरिगाँउ एरपोर्ट लाई बजेट बिनियोजन गरीएन घोराही उपमहानगरपालिकामा बैकल्पीक एरपोर्ट सञ्जालनको लागि आबश्यक प्रक्रियामा बिनियोजन गरीयो,सामाजिक सञ्जाल फेसबुकमा दाङ टरिगाँउ बिमानस्थल सरोकार समूह जिल्लाकै सम्बृद्धि र विकासका लागि स्थरउन्नती गरौ भन्ने समूह बनाएका थापामगरको गुनासो छ । टरीगाँउ एरपोर्टको धावनमार्गको लम्बाई साढे ७ सय मिटर मात्रै छ । चौडाई ३० मिटर छ ।
कालोपत्रे पछि जहाज २०७१ असारबाट शुरु
२०७१ असार १८ गते तारा यएरलायन्सको नाईन एन ए वि एम बिमानले टरिगाँउ एरपोर्टमा परीक्षणका लागि अवतरण भएको थियो । धावनमार्ग कालोपत्रे उडान परीक्षण गर्नुभन्दा दुई बर्ष अघि नै बनिसकेको थियो । त्यसका लागि झण्डै ८ करोड ८७ लाख खर्च भएको थियो । बिमानस्थल कालोपत्रे गर्ने कार्य सम्पन्न भएपनि नियमित उडानको भने टुङ्गो थिएन । त्यसअघि एरपोर्ट गौचरणमा परिणत भईनै सकेको थियो ।
१२५० मिटरको कपडामा ध्यानाकर्षण बुझाए
तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको महोत्वसको उद्घाटनका लागि आईपुगेका तत्कालिन पर्यटन मन्त्री योगेश भट्टराईलाई २०७६ माघ १० गते शुक्रबार टरीगाँउ विमानस्थल स्तरउन्नति हाम्रो अभियानका लागि ११९ पेजको ज्ञापन पत्र र १२५० मिटर कपडामा नागरिकहरुको हस्ताक्षर बुझाएको थियो । टरीगाँउ विमानस्थल स्तरउन्नति हाम्रो अभियानका अभियान्ता एबम तुलसीपुर उद्योग बाणिज्य संघका पूर्ब अध्यक्ष बिमल रिजालका अनुसार मन्त्री भट्टराईलाई टरीगाँउ एरपोर्टको नियमित हवाईसेवा सञ्चालन,ईन्धन डिपो स्थापना र धावनमार्ग स्तरन्नोतिको माग गरीएको छ । टरीगाँउ एरपोर्ट सञ्चालनका लागि २०६४ सालदेखि तुुलसीपुर उद्योग बाणिज्य संघले दवावमुलक कार्यक्रम गर्दै आएको छ ।
क–कसलाई ध्यानाकर्षण
तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र बिष्ट र जिवनबहादुर शाही लगायत दाङ र छिमेकी जिल्ला आगमन हुने प्रधानमन्त्री,पूर्बमन्त्री,मन्त्री,सांसद,उच्च अधिकारीलाई एरपोर्टमै लगि स्तरोनन्ती र सञ्चालनका लागि अनुरोध गरेको थियो । हाल सम्म २ जना राष्ट्रपति , ५ जना प्रधानमन्त्री तथा पूर्बप्रधानमन्त्री,१२ जना बिभागिय मन्त्री,३० जना अन्य मन्त्री र शिर्ष नेता,मन्त्रालय,बिभागका बिशिष्ठ श्रेणिका कर्मचारी गरि १४ जनालाई तुलसीपुर उद्योग बाणिज्य संघले पटक पटक ज्ञापन पत्र बुझाईएको छ ।
कस्ले कति सालमा हवाई जहास सञ्चालन गरे
टरिगाँउ बिमान स्थलमा पहिलो पटक झग्गु प्रसाद शर्माको पहलमा २०११ साल मंसिर २३ गते जहाज अवतरण भएको थियाो । भमकेका शर्माले जहाज सञ्चालन नुहदा सम्म आफ्नो दारी नफाल्ने प्रतिज्ञा गर्नुभएको थियो । २०११ सालबाट नियमित सञ्चालनमा आएको टरीगाँउ एरपोर्ट हवाई मैदान र ईन्धन आपुर्ति लगायतका समस्या देखाउदै २०४५ सालबाट बन्द भएको थियो । २०६० सालदेखि २०६६ सालबाट पुन ः नियमीत भएको हवाई सेवा २०६८ सालदेखि २ हप्ता सम्म सञ्चालन आएको थियो । २०७२ साल जेठ १४ गतेदेखि नीजि हवाई कम्पनिसगँ सम्झौता गरि सञ्चालन भएको थियो । २०७४ पुस २० गतेबाट सञ्चालनमा आएको अर्को नीजि हवाई कम्पनिको प्लेन २०७५ जेठ ६ गते सम्म सञ्चालन भएको थियो ।
स्थानीय सरकारले पुन ः नियमित
स्थानीय तहको निर्वाचन पछि तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे पहलमा सानो वडीको नेपाल एरलाईन्सको बिमान सञ्चालन आएको हो । बिगतमा हप्तामा एक पटक, त्यसपछि २ दिन र हाल दैनिक २ पटक हवाई सेवा सञ्चालन आएको छ । तर एरपोर्टको धावनमार्ग स्तरन्नोति र ईन्धन डिपो सञ्चालन नहुदा हवाई सेवाको प्रभाबकारीता अझै राम्रो हुन सकेको छैन् । कम्तीमा साढे १२ सय मिटर लम्बाई धावन मार्ग बनाएर ४५ सिटे बिमानहरुलाई नियमीत उडाउन सकिने प्राबिधिकहरुले बताउदै आएका छन् भने ईन्धन डिपो आबश्यक रहेको बताएका छन् ।
आपुर्ति सचिब डाक्ट अर्याल आएको १७ महिना पछि
२०७६ माघ २३ गते बिहिबार ईन्धन डिपो स्थापनाका बारेमा स्थलगत अध्ययन गर्न आपुर्ति मन्त्रालयका सचिब डाक्टर बैकुण्ठ अर्याल नेतृत्वको उच्च अधिकारीको टोली टरीगाँउ एरपोर्टमा आएको हो । झण्डै १७ महिना पछि २०७८ असार १२ गते अपरान्ह् टरिगाउँ एयरपोर्टका लागि रिफिलिङ ट्याङ्की आइपुगेको छ । भारतहुँदै नेपालगञ्ज नाकाबाट ल्याइएको ट्याङ्की शनिबार बिहान तुलसीपुर बजारमा आइपुगेको हो । टरिगाउँ विमानस्थलका प्रमुख कैलाश शर्माका अनुसार रिफिलिङ ट्याङ्की र त्यससँग सम्बन्धित अन्य उपकरणहरू आइपुगेको छ । भारतको मुम्बईबाट ल्याइएको यो ट्याङ्की करीब एक डेढ महिना नेपालगञ्ज भन्सार नाकामै रोकिएको थियो । इन्धन डिपोका लागि तेल भण्डारण गर्न ठूलो ट्याङ्की र सम्बन्धित उपकरण आएकोले अब प्लेनमा इन्धन भर्न बाउजर लगायतका उपकरण आउन आवश्यक रहेको छ । हालसम्म दाङ एयरपोर्टमा प्लेनका लागि इन्धन रिफिलिङको सुबिधा थिएन ।
४५ सिट सम्मका प्लेन सञ्चालन गर्न सकिन्छ
पटक पटक टरिगाँउ हवाई मैदानको अध्ययनका लागि दाङ आईपुग्ने प्राबिधि टोलले छलफलका क्रममा वा सञ्चार माध्यमलाई भने अनुसार मौसम प्रतिकुल हुदा समेत अवतरण हुन सक्ने छ । भूगोलको हिसावले पनि टरिगाँउ हवाई मैदान ठिक छ । टरीगाँउ एरपोर्टको चार किल्ला अध्ययन गर्दा हवाई मैदानको बिस्तार,बिकास र सुरक्षाको दृष्टिकोणले दक्षिण, पूर्ब दक्षिण र पश्चिमको भूभाग ठिक छ । एरपोर्ट पश्चिमको भूभाग राप्ती राजमार्गको छेउ र बस्तीका कारण सम्भाबना कम हुन सक्ने अध्ययनका तत्कालिन अध्ययन टोलीले सुनाएका थिए ।
तीनै तहका सरकारको प्राथमिकतमा परेन टरिगाउ
नेपाल सरकारले टरिगाँउ एरपोर्टका लागि आर्थिक बर्ष २०७८/७९ का लागि बजेट विनियोजन नै गरेन । वातावरणीय प्रभाव मूल्यांकन सम्पन्न गरी दाङको नारायणपुरमा विमान स्थल निर्माण कार्य प्रारम्भ गरीने छ । आन्तरिक विमानस्थल तर्फ १ अर्व ३३ करोड रुपैया बजेट विनियोजन गरेको छ । तुलसीपुर स्थीत दाङ एरपोर्टका लागि स्तरोन्नती,नियमित हवाई सञ्चालन र अन्तराष्ट्रिय स्तरका पाईलट कोर्ष अध्ययन गर्न ,नीजि र सहकारीको सहयकार्यमा कार्य गर्न आवश्यक बजेट ब्यबस्था गरिएको छ भनिएको छ । गृह जिल्ला दाङ भएका नेपाल सरकारका पूर्ब सूचना तथा सञ्चारमन्त्री तथा हाल लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेल नेतृत्वमा रहेको प्रदेश सरकार भने टरिगाँउ एरपोर्टका सन्र्दभमा मौन छ । लुम्बिनी प्रदेशले प्रस्तुत गरेको बजेट बक्तब्यमा हवाई यातायातका लागि कुनैपनि शिर्षक राखिएको छैन ।
नियमित विमान सेवाले आन्तरिक पर्यटन
दाङ बाट नियमित हवाई सेवा संचालन हुनुपर्छ । हवाई सेवा बर्तमान र भबिष्यको आवश्यकता पनि हो । हवाई सेवालाई आमनागरिकले सहजरूपमा उपयोग गर्न सक्ने स्तरको हुनु पर्छ । यदि त्यसो हुन सके आन्तरिक पर्यटनको बिकास हुन्छ । पर्यटन प्रबर्द्धन हुन सके आर्थिक समृद्धिको ढोका खुल्न थप टेवा पुग्ने छ । होटल तथा रेस्टुरेन्ट संचालन हुने छ्न । अन्य ब्यापार ब्यबसायमा कारोबारमा वृद्धि हुने छ ।
मिश्रीत प्रतिक्रिया
टरिगाँउ एरपोर्टका लागि ३ तहका सरकारबाट प्राथमिकतामा परेन । यसकारण पश्चिम दाङबासीले सरकारले उपेक्षा गरेको भनेका छन् । तर नारायणपुरमा आन्तरिक विमान स्थल निर्माण शुरु गर्न नेपाल सरकारले बजेट समेत बिनियोजन गरेको सन्र्दभमा भने पूबी दाङबासी( घोराही क्षेत्र) हर्षित भएका छन् । सामाजिक सञ्जाल,अनौपचारिक कार्यक्रम वा अन्य औपचारिक कार्यक्रममा यस बिषयमा क्रियाप्रतिक्रिया सुन्ने र देख्ने गरीएको छ । दाङमा हवाई सेवाको आवश्यकता भने छ । दाङबाट नियमित हवाई सेवा सञ्चालन हुन गए छिमेकी जिल्ला सल्यान,पुर्बी रुकुम, रोल्पा, प्युठान, बाँके जिल्लाको पूर्बी क्षेत्र नागरिकका लागि बर्दान साबित हुने थियो ।
वीरगन्ज सहित देशभर सरकारको विरोधमा संयुक्त विद्यार्थी संगठनले मशाल जुलुश प्रदर्शन गरेको । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेको विरोधमा विपक्षी गठबन्धनका विद्यार्थीहरु आन्दोलित भएका हुन् । उनीहरुले आज वीरगन्जमा पनि प्रधानमन्त्रीराष्ट्रपतिको कदमको विरोधमा मशाल जुलश सहित प्रदर्शन गरेका छन् ।
नेपाल विद्यार्थी संघले घण्टाघरबाट, अखिल क्रान्तिकारीले मिनाबजार गल्लीबाट र समाजवादी विद्यार्थी युनियन र अनेरास्ववियुले माईस्थानबाट मशाल जुलुश सहित प्रदर्शन गरेका थिए । अनेरास्ववियुका केन्द्रीय सचिव अरुण यादव जिल्ला अध्यक्ष कबिराज पटेलको नेतृत्वमा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य प्रभाकर गुप्ता, समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सचिव सुजित गिरी तथा नेविसंघका कार्यवाहक जिल्ला अध्यक्ष विकेश पटेलले नेतृत्वमा जुलुश निकालिएको थियो ।
यसैबीच अखिल क्रान्तिकारीले मिना बजार गल्लीबाट निकालिएको मशाल जुलुश माईस्थानमा पुग्दा प्रहरीले खोस्न खोज्दा विद्यार्थी र प्रहरीबीच एकछिन झडप पनि भएको थियो । त्यसपछि विद्यार्थीहरुले केहीबेर माईस्थानमा नाराजुलुश गर्दै पुनःघण्टाघर आएका थिए ।
प्रहरीसँगको झडपमाएकजना विद्यार्थी घाईते भएका छन् । अखिल क्रान्तिकारीका महानगर अध्यक्ष विवेक कुमार साह प्रहरीले हानेको लाठी लागेर घाईते भएका हुन् । उनलाई उपचारका लागि नारायणी अस्पतालमा लगिएको अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज जुवैर आलमले बताए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीले राजनीतिक स्वार्थको व्यापार नगरी सिद्धान्तको पक्षपोषण गरेको बताएका छन्। जननेता भण्डारीको ७० औं जन्मजयन्तीका अवसरमा आज मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित विचार गोष्ठी तथा पुरस्कार कार्यक्रममा नेकपा (एमाले) का अध्यक्षसमेत रहेका ओलीले अहिलेको राजनीतिमा स्वार्थको किनबेचको महत्व बढी हुन थालेको बताउँदै आफूहरू मदनको ‘जनताको बहुदलीय जनवाद’ को विचारको आधारलाई सम्मान गर्दै अघि बढ्ने जनाए। उनले निहित स्वार्थका लागि आफ्नै पार्टीका अध्यक्ष र प्रधानमन्त्रीविरूद्ध हस्ताक्षर गर्दै विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन मुद्दामामिलामा समेत धाउनेहरूले लोकतन्त्र र देशको स्थिरतालाई खतरामा पार्ने स्थिति आएको पनि बताए। ‘उहाँहरू लोकतन्त्रका मूल्य मान्यता र दलीय व्यवस्थालाई सखाप पार्न अग्रसर हुनुहुन्छ, संसदलाई जनताको काम गर्ने थलो नबनाई पङ्गु बनाएर विघटन गर्न प्रेरित गरेर निर्वाचन तय भएपछि निर्वाचनको विरोध गर्दै हुनुहुन्छ, प्रधानमन्त्री चयन गर्ने थलो अदालतलाई बनाउँदै हुनुहुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘जननेता मदन भण्डारीको विचारसँग यी काम कत्ति पनि मेल खाँदैनन्, आफ्नो पार्टी ध्वस्त गर्ने र विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउने कसम खाएका माधवकुमार नेपाललगायतहरू विचारबाट पतित भएका छन्।’ प्रधानमन्त्री ओलीले संसद भवन (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) लाई संसदीय गतिविधिभन्दा अन्य काम (विपक्षी दल र नागरिक समाजको भेटघाट आदि) जस्ता गलत काममा प्रयोग गरिएकामा पनि असन्तुष्टि व्यक्त गरे।रासस
१३ असार, काठमाडौं । रुपन्देहीमा कालीगण्डकी–तिनाउ डाइभर्सन (नदी पथान्तरण) आयोजनाको कार्यालय खुलेपछि गण्डकी प्रदेशभर विरोध भएको छ । यो परियोजनाले नदी तटीय क्षेत्रमा प्रभाव पार्ने भन्दै स्थानीयवासी, स्थानीय तह, गण्डकी प्रदेश सरकार, राजनीतिक दलहरु सबैले विरोध गरेका छन् । सिँचाइ विभाग भने चर्चा सुरु हुँदैदेखि विरोध भएको कालीगण्डकी–तिनाउसहित डाइभर्सन आयोजनाहरु बनाउन कस्सिएको छ । विभागका महानिर्देशक मधुकर राजभण्डारी बहुद्देश्यीय प्रयोजनका सिँचाइसम्बद्ध डाइभर्सन आयोजना तराईका खेतीयोग्य जमिनलाई अत्यावश्यक भएको बताउँछन् । ‘कालीगण्डकीमा २० क्युमेकमिटर पानी नदीमा छोडेर ४२ क्युमेकमिटर पथान्तरण गर्न खोजिएको हो,’ उनले भने, ‘आवश्यक अध्ययन गरेर सकेसम्म तटीय क्षेत्रमा कम प्रभाव पर्ने गरी मात्रै डाइभर्सन आयोजनाहरु बनाउने हो ।’ हाल भेरी–बबई र सुनकोशी–मरिन डाइभर्सन आयोजना बनाइरहेको विभागले कालीगण्डकी निर्माण प्रक्रिया पनि अघि बढाएको छ । अब क्रमैसँग अन्य प्रस्तावित आयोजनाहरु बनाउँदै सिँचाइ सुविधा नपुगेका क्षेत्रलाई लाभान्वित गर्ने योजनामा सरकार छ । सिँचाइ विभागका उपमहानिर्देशक कृष्ण नेपाल लाभ र हानि दुवै पक्षको विश्लेषण गरेर अधिकतम लाभ हुने गरी डाइभर्सन परियोजना बनाउने गरिएको बताउँछन् । सकेसम्म परियोजना बनाउँदा हुने वातावरणीयसहितका अन्य प्रभाव कम गर्न पनि प्रयत्न भइरहेको उनको भनाइ छ । तमोरको पानी झापा र मोरङमा उपमहानिर्देशक नेपालका अनुसार तमोर–चिसाङ नदी डाइभर्सनको पूर्वसम्भाव्यता अध्ययन प्रतिवेदन यसै हप्ता सिँचाइ विभागमा पेश हुँदैछ । यो परियोजनाबाट तमोरको पानी २८ किलोमिटरको सुरुङ बनाएर मोरङको चिस्याङ खोलामा खसाइनेछ । ‘तमोरको पानीले झापा र मोरङको १ लाख २० हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउन सकिने पूर्व सम्भाव्यता अध्ययनमा देखिएको छ,’ उनले भने, ‘अब निकट भविष्यमै अघि बढाउन सकिने अर्को डाइभर्सन परियोजनाका रुपमा यसलाई लिएका छौं ।’ विभागले आगामी आर्थिक वर्ष २०७८/७९ मा यो परियोजनाको विस्तृत सम्भाव्यता अध्ययन सक्ने लक्ष्य लिएको छ । यो परियोजनाबाट ४५ मेगावाट बिजुली पनि उत्पादन हुनसक्ने देखिएको छ । कोशीको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रका लागि यो परियोजना अघि बढाउन खोजिएको हो । रोल्पाबाट दाङमा पानी माडी–दाङ नदी डाइभर्सन परियोजना पनि अध्ययनको चरणमा रहेको प्रस्तावित आयोजना हो । राप्ती नदीको सहायक नदी माडीको पानी दाङ ल्याउन यो परियोजना पूर्वसम्भाव्यता अध्ययन सकिएको छ । तर, १५६ मेगावाटको माडी जलाशयुक्त जलविद्युत आयोजना बनाउन सरकारी स्वामित्वको हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)ले अनुमतिपत्र पाएपछि पहिलेको अध्ययनअनुसार यो आयोजना नबन्ने निश्चित भएको छ । अब जलविद्युत आयोजनाले छाडेको पानी उपयोग गर्ने गरी तलबाट नदी डाइभर्सन गर्न अर्को पूर्वसम्भाव्यता अध्ययन गर्नुपर्ने भएको उपमहानिर्देशक नेपालले बताए । उनका अनुसार यो परियोजनाबाट दाङ उपत्यकाको ५० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्ने अनुमान छ । ‘दाङमा पानी लैजान आर्थिक–प्राविधिक रुपमा सम्भव छ, छैन भनेर आगामी वर्षभित्र प्रारम्भिक सम्भाव्यता अध्ययन गरिसक्छौं,’ उपमहानिर्देशक नेपाल भन्छन्, ‘सम्भव भयो भने दाङका खेतमा हिँउदमा पनि सिँचाइ सुविधा पुग्छ ।’ राप्तीको पानी कपिलवस्तुमा लुम्बिनी प्रदेशको अर्घाखाँची र प्यूठानको सीमानामा बनाउन प्रस्ताव गरिएको नौमुरे बहुद्देश्यीय आयोजनाबाट निस्किएको पानी उपयोग गर्न सकिने गरी सरकारले अर्को डाइभर्सन आयोजनाको पनि अध्ययन थाल्दैछ । पश्चिमसेतीको पानी कैलाली र कञ्चनपुरमा २४५ मेगावाटको नौमुरे बहुद्देश्यीय आयोजनाको टेलरेस सुरुङबाट निस्किएको पानीलाई डाइभर्सन सुरुङबाट कपिलवस्तुमा लैजाने योजना सरकारको छ । यसका लागि प्रारम्भिक सम्भाव्यता अध्ययन थाल्ने सिँचाइ विभागको तयारी छ । पानीको उपलब्धतासहित सबै पक्ष अध्ययनमा समेटिने उपमहानिर्देशक नेपालले बताए । पश्चिमसेती–कैलाली–पाण्डुल परियोजना पनि सिँचाइ विभागको प्राथमिकतामा परेको अर्को डाइभर्सन परियोजना हो । पश्चिमसेतीको पानी कैलाली–कञ्चनपुरमा उपयोग गर्ने यो परियोजना बनाउन सकिने सरकारी आँकलन छ । सिँचाइ विभागका उपमहानिर्देशक नेपालका अनुसार १० वर्ष यो परियोजनाबारे प्रारम्भिक अध्ययन भएको थियो । उनले भने, ‘अब खानेपानी र विद्युतमा पनि उपयोग गर्ने गरी यसको अध्ययन गर्ने योजना छ ।’ सुनकोशी–कमला बन्ला ? चर्चामा रहेको अर्को डाइभर्सन परियोजना हो सुनकोसी–तावा । भारतसँग कोशी उच्च बाँध परियोजनामा समेटिएको ‘सुनकोशी–कमला डाइभर्सन परियोजना’ यही हो । सुनकोशीको पानीलाई कमला नदीमा पुर्याउन दशकअघिदेखि चर्चा गरिएको परियोजना उच्चबाँधको सम्झौतामा राखेर अध्ययन गर्न जिम्मा दिइएको थियो । तर, भारतले उच्च बाँधमा सहमति नजुटी यो परियोजनाको अध्ययन प्रतिवेदन नेपाललाई नदिने देखिएको छ । त्यसैले, सिँचाइ विभाग यसलाई सुनकोशी–तावा परियोजनाका रुपमा अघि बढाउने पक्षमा छ । भारतीय पक्षसँग सहमति–समन्वय नगरी यसको काम अघि बढाउन भने समस्या छ । कोशीको पानी मेची लैजाने भारतीय योजना सुख्खायाममा कोशीको पानी आफ्नो भूमिको मेची नदीमा पुर्याएर सिँचाइ गर्ने भारतको महत्वाकांक्षी परियोजना पनि छ । भारतले यसलाई कोशी–मेची रिभर इन्टरलिंकिङ प्रोजेक्ट भनेको छ । नेपाल–भारत सीमाबाट बग्दै जाने मेची नदी भारतको महानन्दा बेसिन अन्तर्गत पर्छ । सो बेसिनमा सुख्खायाममा पनि पर्याप्त पानी पुर्याउने गरी कोशी ब्यारेजमा पानीको क्षमता बढाउने सिफारिस गर्ने निर्णय भारतको ‘इन्भेष्टमेन्ट क्लियरेन्स कमिटी’ बैठकले गरिसकेको छ । भारतको इच्छाअनुसार यो योजना अघि बढे नेपालमा कोशीको बाढीले पुर्याउने क्षति बढ्ने विज्ञहरु बताउँछन् । अहिले पनि कोशी ब्यारेजको ढोका समयमै नखोल्दा हरेक बर्खामा नेपालका विभिन्न ठाउँ डुबानमा पर्दै आएका छन् । ब्यारेजको क्षमता ५७३ क्युसेक बनाएर कोशीको पानीलाई हालको पूर्वी कोशी नहरबाट लैजाने भारतको योजना छ । त्यसको लागि हाल चालु ७६ किलोमिटर लामो पूर्वी कोशी नहरलाई थप ४१.३० किमि लम्बाएर मेची नदीसम्म पुर्याउने भारतको योजना छ । २०१९ अगस्टमा भारतको केन्द्र सरकारले यो परियोजना अघि बढाउने निर्णय गरेको थियो । मध्यप्रदेश र उत्तरप्रदेश जोड्ने केन–बेटवा नदी परियोजनापछिको यो दोस्रो ठूलो नदी जोड्ने परियोजना हुने भारतले बताउँदै आएको छ । प्रस्तावित कोशी–मेची रिभर लिंकिङ परियोजनामा ४९ अर्ब भारतीय रुपैयाँ लाग्ने अनुमान छ । अब यो रकम खर्चिन भारत सरकार तयार भएको देखिन्छ । यो परियोजनाबाट बिहार प्रान्तको अररिया, पूर्णिया, किसनगञ्ज, कटिहार लगायत जिल्लामा सिँचाइ सुविधा पुग्ने भनिएको छ ।
गृहमन्त्री विष्णु प्रसाद पौडेलले नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरूपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए।
शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूले मन्त्रीको रुपमा गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने भन्दै जवाफदेहि भएर आ–आफ्नो परिभाषित काम गर्न सबै स्वतन्त्र रहेको बताएका छन्। उनले आफूसहित गृह सचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने बताएका हुन्।
संवैधानिक व्यवस्था र कानुनी प्रवन्धका आधारमा आफ्नो जिम्मेवारी पुरा गर्न उनले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखि काम आफूले खोजेको पनि बताए।
‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास गर्दिनँ। हरेक व्यक्ति आफ्नो कामप्रति, परिभाषित जिम्मेवारीप्रति जवाफदेही हुनुपर्छ। कामप्रति जवाफदेही हुने, परिणामप्रति जवाफदेही हुने, त्यस हिसाबले अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छु। यहाँहरूले आ–आफ्नो परिभाषित जिम्मेवारी सम्पादन गर्नका निम्ति यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ। कुनै प्रहरी संगठनका प्रमुखलाई, सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन’, उनले भने, ‘गृह सचिवले हस्तक्षेप गर्दैन। संवैधानिक व्यवस्था, कानुनी प्रवन्ध र स्थापित प्रणालीहरु छन्, त्यसका आधारमा आ–आफ्ना जिम्मेवारी पुरा गर्न यहाँहरू सबै स्वतन्त्र हुनुहुन्छ । मलाई नतिजा चाहिन्छ। नतिजाप्रति जवाफदेही भएर, जिम्मेवार भएर यहाँहरुले काम गर्नुपर्छ भन्नेमा पनि मान्यता राख्छु।’
मन्त्री पौडेलले सरूवा, बढुवा तथा थमौतीका लागि एक जना प्रहरी पनि आफूकहाँ नआउन निर्देशन गरे। आफू मन्त्रीको हैसियतमा गर्नुपर्ने निर्णय र निर्देशनका लागि जिम्मेवार भएको भन्दै उनले प्रहरी प्रमुखका हैसियतले गर्ने काममा प्रमुख स्वतन्त्र भएर काम गर्न सक्ने बताए।
‘म कहाँ एउटा पनि पुलिस नआओस्। अन्याय भयो भनेर साच्ची नै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु । नभए प्रमोशनका निम्ति, थमौतिका निम्ति, सरुवा, बढुवाका निम्ति अथवा स्वदेश, विदेश पठाउने अवसरका निम्ति कुनै एउटा पुलिस म कहाँ नआओस्। प्रहरी संगठनका प्रमुखका हैसियतले गर्नुपर्ने कामका निम्ति उहाँहरु स्वतन्त्र हुनुहुन्छ । मेरो जिम्मेवारी सहजीकरणको हो । हामीले गर्नुपर्ने निर्णय, निर्देशनका लागि हामी जवाफदेही/जिम्मेवार छौँ, त्यस ढंगले गर्नेछौं। त्यसबाहेकका यावत् कामहरु यहाँहरुले गर्नुपर्दछ,’ मन्त्री पौडेलले भने।
उनले राजनीतिक परिस्थितिको प्रभाव गृह मन्त्रालयमा पर्न नहुने बताए। अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्नपनि उनले निर्देशन दिए। ‘राजनीतिक परिस्थितिको प्रभावचाहीँ गृह प्रशासनमा पर्नु हुँदैन । सुरक्षा निकायमा पर्नु हुँदैन। राजनीतिक परिस्थिति अलग चिज हो। त्यो आफ्नो ढंगले चल्दै गर्छ। त्यसबाट यहाँहरू प्रभाव नहुनुहोला। अदालतको मुद्दा, राजनीतिक परिस्थितिको प्रभावबाट गृह प्रशासन, सुरक्षा निकाय प्रभावित हुँदैन। शान्ति सुरक्षा, जिउधनको रक्षामा रम्भिरताका साथ ध्यान दिनुस्,’ उनले भने।
मन्त्री पौडेलले आफू मन्त्रालयको कामका साथै राजनीतिक काममा पनि लाग्नुपर्ने भएकाले मन्त्रालयमा समय दिन नसक्ने पनि बताए। उनले गृह सचिवसँग दिनमा एकपटक भेट गर्ने भन्दै प्रहरी प्रमुखलाई आवश्यक परे मात्रै भेट्न अन्यथा गृहसचिवसँगकै समन्वयमा काम गर्न निर्देशन दिए।
दण्डहीनतालाई प्रश्रय दिने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बसिरहन अयोग्य भएको विवेकशील साझा पार्टीले बताएको छ।
बबरमहलकी घरबेटीलाई छुटाउन मन्त्री श्रेष्ठ बुधबार प्रहरी कार्यालय नै पुगेका थिए।
‘जातीय विभेद तथा छुवाछुतको अभियोगमा अनुसन्धानका लागि प्रहरी नियन्त्रणमा रहेको व्यक्तिलाई जमानतमा छुटाउन संघीय सरकारका मन्त्री प्रहरी कार्यालय गएको र जसका कारण अनुसन्धान नै प्रभावित भएको भनी सार्वजनिक विवरणहरूप्रति विवेकशील साझा पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ,’ आज विवेकशील साझाले निकालेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री श्रेष्ठले अनुसन्धान नै प्रभावित पारेको स्वीकार्य हुन नसक्ने उक्त पार्टीले बताएको छ।
‘आरोपित व्यक्तिले जातीय विभेद गरे नगरेको निष्पक्ष छानबिन हुने सुनिश्चित गर्दै सरकार स्वयं वादी भएर मुद्दा लड्नुपर्नेमा मन्त्री कृष्णगोपाल श्रेष्ठ उल्टै झन्डावाल गाडीमा प्रहरीकहाँ पुगेर अनुसन्धान प्रभावित पार्नु कदापि स्वीकार्य हुन सक्दैन,’ प्रवक्ता शरदराज पाठकले निकालेको विज्ञप्तिमा उल्लेख छ।
मन्त्री श्रेष्ठ पदमा बस्न नमिल्ने उनले उल्लेख गरेका छन्।
‘कानुनतः दण्डनीय र सामाजिक रूपमा पूर्णतः अस्वीकार्य जातीय विभेदसँग जोडिएको भनिएको सो घटनाको गाम्भीर्यता मनन गर्न नसक्ने र राज्यशक्तिको दुरुपयोग गर्ने मन्त्री श्रेष्ठ उक्त पद बसिरहन नैतिक रूपमा अयोग्य साबित भइसकेका छन्,’ विज्ञप्तिमा उल्लेख छ।
काठमाण्डौंमा घर भाडामा लिने-दिने प्रक्रियामा आफूमाथि जातीय विभेद भएको भनी दिइएको जाहेरीको गम्भीर र निष्पक्ष छानबिन अघि बढाउन विवेकशील साझाले सरकारसँग माग पनि गरेको छ।
‘घटनाको कानुनी निरूपणमा विश्वास गर्न तथा कुनै पनि जात र समुदाय विशेषविरुद्ध विद्वेष फैलाउने गरी अभिव्यक्ति नदिन हामी सबैलाई अपिल गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।
सञ्चारकर्मी रूपा सुनारलाई थरकै आधारमा बबरमहलकी एक घरबेटीले कोठा नदिएपछि उनले प्रहरीमा उजुरी दिएकी थिइन्। घरबेटी बुधबार रिहा भइसकेकी छन्। उनलाई रिहाइ गर्नका लागि मन्त्री श्रेष्ठ पुगेका थिए। श्रेष्ठले आफ्नै गाडीमा राखेर उनलाई घर छाडिदिएका थिए।
९ असार, काठमाडौं । अधिवक्ता गोविन्द बन्दीले राष्ट्रपतिले जसरी पनि केपी शर्मा ओली नै प्रधानमन्त्री हुनुपर्छ भन्ने मानसिकता देखाएको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवासहित १४६ सांसदले हालेको रिटमा संवैधानिक इजलासमा सुरु भएको बहसमा भाग लिँदै बन्दीले चार प्रश्न उठाए । पहिलो, ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी परिसकेपछि त्यसलाई अस्वीकार गर्ने अधिकार राष्ट्रपतिलाई छ कि छैन ? दोस्रो, विश्वास गुमाइसकेको व्यक्तिले फेरि दाबी गर्न सक्छ कि सक्दैन ? तेस्रो, ७६(५) मा राजनीतिक दलको ह्वीप लाग्छ कि लाग्दैन ? चौथो, ७६(५) मा सरकार बनाउँदा पछि के हुन्छ भनेर राष्ट्रपतिले आकलन गर्न कसरी पाउँछ ? प्रधानमन्त्रीमा देउवाको दाबी अस्वीकृत गर्दा राष्ट्रपतिको कार्यालयले दोहोरो हस्ताक्षर पर्यो, नाम दोहोरियो, दलको निर्णय विपरीत हस्ताक्षर गरेको उल्लेख गरेको भन्दै अधिवक्ता बन्दीले भने, ‘बहुमत १३६ हो । १४९ सांसद हस्ताक्षर छ । १४६ त अदालत आउनुभएको छ । यो भन्दा बलियो आधार के चाहियो ?’ राष्ट्रपति संविधानभन्दा बाहिर गएको र राजनीतिमा प्रवेश गरेको उनले बताए । ‘संविधानको धारा ७६(५) मा राजनीतिक दलसम्बन्धी ऐन लाग्छ भनेर कुन कानुनमा लेखेको छ ?’ उनले अघि भने, ‘एमाले केन्द्रीय समितिमा माधवकुमार नेपाल र झलनाथ खनालको बहुमत पुग्दैन भन्ने राष्ट्रपति को ?’ जसरी पनि ७६(५) को प्रधानमन्त्री केपी शर्मा ओली नै हुनुपर्छ भन्ने मानसिकता राष्ट्रपतिमा देखिएको उनले बताए । त्यसकै लागि संविधानको म्याण्डेटभन्दा बाहिर गएको भन्दै उनले भने, ‘राष्ट्रपतिले संविधानको रक्षा गरेको हेर्न चाहेका छौं ।’ प्रधानमन्त्रीमा दाबी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति कार्यालयमा पेश गरेको सांसदहरुको हस्ताक्षर लिक भएको र यो राज्यविरुद्धको अपराध भएको अधिवक्ता बन्दीले बताए । साथै उनले जनता समाजवादी पार्टी (जसपा)का महन्थ ठाकुर र राजेन्द्र महतोको पत्र कार्यालय समय पछाडि दर्ता भएको र मध्यरातमा संसद भंग गरिएको बताए । उनले भने, ‘राष्ट्रपतिको नियत खराब देखियो, प्रधानमन्त्रीको दाबी राति नै किन खारेज गर्नुपर्ने के आइपर्यो ? राति निर्णय गर्नुपर्ने कारण के थियो ?’ बहस सकाउँदै गर्दा अधिवक्ता बन्दीले भने, ‘मलाई त्यही केटी चाहिन्छ भनेजस्तै राष्ट्रपतिले मलाई त्यही केपी प्रधानमन्त्री चाहिन्छ भनेजस्तो गर्नुभयो । त्यसकारण बहुमत दाबी प्रस्तुत गरेका शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश होस् ।’
८ असार २०७८ ! निर्वाचन घोषणा गरेपछि पनि मन्त्रिपरिषद पुनर्गठन गर्नुभएका प्रधानमन्त्री केपी ओलीको कदममा सर्वोच्च अदालतले मंगलबार मन्त्रिपरिषद् पुनर्गठन र विस्तारविरुद्ध अन्तरिम आदेश जारी गरेपछि २० जना मन्त्री पदमुक्त भएसंगै अब मन्त्रिपरिषद पाँच जनामा सीमित बनेको छ ।
प्रधानमन्त्री केपी ओलीले काम चलाउ हैसियतमा पुगिसक्दा पनि पछिल्लो समयमा दुई चरणमा मन्त्रिपरिषद विस्तार गर्नुका साथै नयाँ दललाई नै समावेश गराएका थिए । अदालतको आदेशसँगै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषदमा सहभागी २० जना मन्त्री स्वतः पदमुक्त भएका हुन्।
एमालेका उपप्रधान तथा परराष्ट्र मन्त्री रघुबीर महासेठ, गृहमन्त्री खगराज अधिकारी, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङ, सामान्य प्रशासन मन्त्री गणेश पहाडी, सञ्चार मन्त्री नैनकला थापा, कृषि मन्त्री ज्वालाकुमारी साह, वन मन्त्री नारदमुनी राना, प्रधानमन्त्री कार्यालयका मन्त्री मोहन बानियाँ, वन तथा वातावरण राज्यमन्त्री आशाकुमारी विक र जसपाका उपप्रधान तथा शहरी विकासमन्त्री राजेन्द्र महतो, उर्जा जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव, खानेपानी मन्त्री अनिलकुमार झा, भूमि व्यवस्था मन्त्री लक्ष्मणलाल कर्ण, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री विमल श्रीवास्तव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशङ्कर अरगरिया,महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री चन्दा चौधरी, युवा तथा खेलकुद मन्त्री एकवाल मियाँ, उर्जा राज्यमन्त्रीचन्द्रकान्त चौधरी , महिला तथा राज्यमन्त्री रेणुका गुरुङ हरुको एक महिना पुग्न नपाउँदै पदमुक्त भएको छ।
सर्वाेच्चको अन्तरिम २० मन्त्रीहरुको पदमुक्त पछि ५ जनाको मात्रै मन्त्रिपरिषद् बाँकी रहेको छ। अब प्रधामन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णुप्रसाद पाैडेल, भाैतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र कानुन, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मन्त्रिपरिषद्मा बाँकी रहेका छन्।