• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

दुई दलीय प्रणाली : एमालेको चुनावी कार्ड

  • ६ चैत्र २०७८, आईतवार ११:४७ मा प्रकाशित
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले दुई दलीय शासन व्यवस्थाको वकालत गरिरहेको छ । विषेशगरी एमाले महासचिव शंकर पोखरेलले दुई दलीय प्रणाली स्थापित गर्नुपर्ने बताउने गरेका छन् । कार्यकर्तामाझ उनले ‘दुई दलीय प्रणाली एमालेको अबको बाटो’ भन्ने गरेका छन् ।

    १५ फागुनमा एमाले दोलखा काठमाडौं सम्पर्क मञ्चको ११औँ सम्मेलनको उद्घाटन कार्यक्रम सम्बोधन गर्दै महासचिव पोखरेलले नेपाललाई दुई दलीय प्रणालीमा लैजानुपर्ने बताएका थिए । ‘जति धेरै पार्टी त्यति धेरै अस्थिरता, जति धेरै पार्टी त्यति धेरै झै–झगडा’, उनले भने, ‘यसलाई रोक्न अब नेपाली राजनीतिलाई, लोकतान्त्रिक प्रणाली टु पार्टी सिस्टमतर्फ लैजान जरुरी छ ।’

    एमाले र नेपाली कांग्रेसमा मुलुकलाई ध्रुवीकृत गरेर चुनावी अभियान चलाउन कार्यकर्तालाई महासचिव पोखरेलको निर्देशन छ । ‘अब साना पार्टीलाई स्वतन्त्र रुपमा रहने अवस्था दिनुहुन्न’ उनले भन्ने गरेका छन्, ‘यस अर्थमा नेपालको राजनीतिलाई दुई ध्रुवमा बाँड्ने कुरा र त्यसमध्ये कम्युनिस्ट ध्रुव एमाले बनाउने कुरामा ध्यान दिनुपर्छ ।’

    महासचिव पोखरेलको यो अभिव्यक्तिबाट साना दलहरु झस्किएका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुई दलीय प्रणालीको चर्चालाई विदेशी चलखेलको संज्ञा दिएका छन् ।

    फागुन २९ गते विराटनगर पुगेर प्रचण्डले भने, ‘आउँदो संघ, प्रदेश वा स्थानीय निर्वाचनमा हामी क्रान्तिकारीहरूलाई सिध्याउन र दुई दलीय सिष्टम स्थापित गर्न ‘इन्टरनेशनल रियाक्सन’ लागेको छ ।’ प्रचण्डले दुई दलीय प्रणालीको विरोधमा उत्रन निर्देशन नै दिए । तर एमाले महासचिव रोकिएका छैनन् ।

    ३ चैतमा अखिल नेपाल महिला संघ सातौं राष्ट्रिय कमिटीले काठमाडौंमा गरेको प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै एमाले महासचिव पोखरेलले भने, ‘अहिले थुप्रै (साना पार्टीहरु) छन् । तर ती पार्टीहरुलाई चुनाव जित्न नसक्ने तहमा पुर्यायौं भने बिलाएर जान्छन् । अब गर्ने यही हो ।’

    उनले ‘साना पार्टीहरुलाई चुनावमा हराइदिने र ती दलका नेता छाडेर कार्यकर्तालाई एमालेमा बोलाउने तरिका अपनाउन’ पार्टी पंक्तिलाई भनिरहेका छन् । ‘नेता जोडेर बलियो कम्युनिस्ट पार्टी बनाउन खोज्यौं सम्भव भएन । अब कार्यकर्ता जोडेर कम्युनिस्ट पार्टी बलियो बनाउनुपर्छ । त्यसका लगि साना पार्टीहरुलाई चुनावमा हराइदिने र कार्यकर्ताहलाई आफूसित ल्याउने हो’, महासचिव पोखरेलले भने ।

    २०७४ सालको प्रदेश र संघको चुनावमा चुनावी तालमेल गर्दै अघि बढेका नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते एकीकरण नै भएर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनेको थियो । तर, नेकपा लामो समय टिक्न सकेन ।

    ‘एमाले दुई दलीय शासन व्यवस्थाको पक्षधर हुन्थ्यो भने तत्कालीन नेकपाभित्रको विवाद फुटसम्म पुग्ने थिएन,’ लाभ भन्छन्, ‘नेकपाभित्रको अन्तरविरोध अन्तरविरोधकै रुपमा रहन्थ्यो ।’
    २०७७ साल फागुन २३ गते सर्वोच्चले नामसम्बन्धी विवादमा नेकपा एकता भंग गरिदियो । त्यो नेकपा अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको छ । अन्य साना कम्युनिस्ट पार्टीहरु छदैछन् ।

    राजनीतिक विश्लेषक सुरेन्द्र लाभ एमालेको दुई दलीय प्रस्तावलाई प्रस्तावकै रुपमा लिन नसकिने बताउँछन् । ‘एमाले दुई दलीय शासन व्यवस्थाको पक्षधर हुन्थ्यो भने तत्कालीन नेकपाभित्रको विवाद फुटसम्म पुग्ने थिएन,’ लाभ भन्छन्, ‘नेकपाभित्रको अन्तरविरोध अन्तरविरोधकै रुपमा रहन्थ्यो ।’

    केन्द्रीय समिति र संसदीय दलमा अल्पमतमा परेपछि केपी शर्मा ओलीले प्रधानमन्त्रीको हैसियतमा दुई पटक प्रतिनिधिसभा विघटनको निर्णय गरेपछि नेकपा विभाजित भएको थियो ।

    ओली दुई दलीय प्रणालीको पक्षमा भए नेकपाको विभाजन रोक्नसक्ने विश्लेषक लाभ बताउँछन् । ‘सबैखाले अन्तरविरोध पार्टीमा सह्य हुन्छ । बहुमतको निर्णय मानिन्छ,’ उनी भन्छन्, ‘अल्पमतमा परेपछि संसद भंग गरेर मुलुकलाई अस्थिरतामा लैजाने चरित्र राजनीतिक हुनै सक्दैन ।’

    आफ्नै विगत भुलेर जनमत तान्न एमालेले दुई दलीय शासन व्यवस्थाको प्रचार गरेको विश्लेषक लाभ बताउँछन् ।

    कमजोर आधार

    २०७२ को संविधानले बहुदलीय प्रणाली सुरक्षित गरेको छ । ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली, नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, बालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता तथा स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका र कानूनी राज्यको अवधारणा लगायतका लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्न’, संविधानको प्रस्तावनामै छ ।

    संविधानको धारा ५६ मा राज्यको संरंरचना र राज्यशक्तिको बाँडफाँट सम्बन्धी व्यवस्था छ । ‘संघ, प्रदेश र स्थानीय तहले नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, राष्ट्रिय हित, सर्वांगीण विकास, बहुदलीय प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रात्मक संघीय शासन प्रणाली, मानव अधिकार तथा मौलिक हक, कानूनी राज्य, शक्ति पृथकीकरण र नियन्त्रण तथा सन्तुलन, बहुलता र समानतामा आधारित समतामूलक समाज, समावेशी प्रतिनिधित्व र पहिचानको संरक्षण गर्ने छन्,’ उक्त धारामा लेखिएको छ ।

    ‘टु पार्टी सिस्टम सम्भवै छैन । यो असम्भव प्रस्ताव आफैंमा संविधान विपरित छ’, विश्लेषक लाभ प्रश्न गर्छन्, ‘आफैं संविधान बनाउने, आफैं बहुदलीय प्रतिस्प्रधा भनेर लेख्ने, आफैं बदलौं भन्ने एमालेको पेवा हो यो मुलुक ?’

    अर्का राजनीतिक विश्लेषक लोकराज बराल पनि अहिले दुई दलीय प्रणलीको विषयमा बहस गर्नु बेकार देख्छन् । एमाले प्रस्तावबारे उनका तीन निष्कर्ष छ ।

    एक– दुई दलीय प्रणालीमा जाने गरी यो प्रस्ताव एमालेले गरेकै होइन । केवल उसको चुनावी फण्डा हो ।

    दुई– ठूला पार्टी कसलाई मान्ने ? ठूला भएका दल साना पनि भएका छन् ।

    तीन– यो अन्तर्राष्ट्रिय स्तरमा असफल अभ्यास हो ।

    तर नेपालमा दुई दलीय प्रणालीको बहस सुसुप्त रुपमा भने लामो समयदेखि चलिरहेको विश्लेषक बराल बताउँछन् । ‘बेलायतमा हेरेर टु पार्टी सिस्टमको कुरा हुन्थ्यो, तर अहिले बेलायतमा पनि साना पार्टीको सहारामा मात्रै सरकार बनाउनसक्ने स्थिति भयो । यो भनेको तेस्रो पार्टी नभई नहुने रहेछ भन्ने हो नि !’, उनी भन्छन् ।

    युरोपमा पनि टु पार्टी सिस्टम अभ्यास भएर पनि फेल हुँदै गएको उनको भनाइ छ । ‘दुई दलीय प्रणाली काम लाग्दो रहेनछ भन्ने अनुभव विश्वव्यापी रुपमा स्थापित हुँदै गएको छ । अब यो व्यवस्था आउटेडेड अध्यास हो’, बराल भन्छन् ।

    अमेरिकामा अहिले ‘रिपब्लिकन’ र ‘डेमोक्रेटिक’ मुख्य दल छन् । तर ग्रिन पार्टी, कन्स्टीच्यूसन लगायत साना दल पनि छन् । चुनावमा ठूला पार्टीले साना दलको पनि साथ लिन थालेका छन् ।

    एमालेले चुनावी फण्डाको रुपमा दुई दलीय प्रणालीको विषय उठाएकाले त्यसबारे बहस गर्न आवश्यक नरहेको विश्लेषक बराल बताउँछन् ।

    ‘नेपालमा दुई दलीय प्रणाली सम्भव हुने कुरा छैन । पपुलर भएन भने ठूला पार्टी नै कोल्याप्स हुन्छन् । नेमकिपा हेरे हुन्छ । माओवादी कति चिरा परेको छ हेरे हुन्छ’, बरालले अनलाइनखबरसँग भने, ‘शंकर पोखरेलले भनिदिए । तर त्यो सम्भव छैन ।’
    सभार:-अनलाईन खबर डटकममा रघुनाथ बजगाईंले तयार पारेको लेख।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on दुई दलीय प्रणाली : एमालेको चुनावी कार्ड

    माओवादी केन्द्र कर्णालीका नेता विष्ट आज एमाले प्रवेश गर्दै

  • ६ चैत्र २०७८, आईतवार ११:३३ मा प्रकाशित
  • सुर्खेत । नेकपा माओवादी केन्द्रबाट अलग भएको घोषणा गरेका ठम्मरबहादुर विष्ट आज नेकपा एमाले प्रवेश गर्दै छन् ।

    उनी एमाले प्रवेश गर्नुअघि नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलका नेता महेन्द्रबहादुर शाहीले विष्टलाई दलको सदस्यबाट निलम्बन गरिएको प्रेस नोट सार्वजनिक गरेका छन् ।

    आज दिउँसो वीरेन्द्रनगरको सिटी हलमा आयोजित एक कार्यक्रममा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले विष्टलाई एमालेमा स्वागत गर्नेछन् ।

    विष्टले पनि आफू आज एमालेमा प्रवेश गर्न लागेको बताए । उनले भने, ‘आज मसहित अन्य नेता–कार्यकर्ताहरु एमालेमा समाहित हुँदैछौं ।’ उनले आज सांकेतिक रुपमा एमालेमा समाहित हुने र अन्य कार्यकर्ताहरुलाई समेट्दै अघि बढ्ने बताए ।

    सुर्खेतको क्षेत्र नम्बर १ (क)बाट प्रदेशसभा सदस्यमा निर्वाचित विष्ट कर्णाली प्रदेश संसदीय दलको प्रमुख सचेतक थिए ।

    पार्टीले एमसीसीलाई संसदबाट पास गर्न भूमिका खेलेको भन्दै उनले माओवादी पार्टी परित्याग गरेको घोषणा गरेका थिए ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on माओवादी केन्द्र कर्णालीका नेता विष्ट आज एमाले प्रवेश गर्दै

    ६ वटा महानगरपालिकामा तालमेलको तयारी

  • ५ चैत्र २०७८, शनिबार १०:०७ मा प्रकाशित
  • नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

    काठमाडौं, ललितपुरलगायतका ६ वटा महानगरपालिकामा गठबन्धन दलहरूबीच भागबण्डा गर्ने र बाँकी स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा निर्णय गर्नेगरी पार्टीका तल्लो तहलाई नै अधिकार प्रत्यायोजन गर्ने तयारी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताको रहेको स्रोतको दाबी छ । स्थानीय तह निर्वाचनमा महानगरपालिकासहित मुख्यमुख्य ठाउँमा चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘महानगरपालिकामा भागबण्डा गर्ने र अन्य स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने निर्णय बैठकले गर्नेछ।’ आजको नागरिक दैनिकमा समाचार छ ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on ६ वटा महानगरपालिकामा तालमेलको तयारी

    एनआरएनए चुनाव :महिला उपाध्यक्षमा यासमिन बेगम सैयद तथा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल निर्विरोध

  • ३ चैत्र २०७८, बिहीबार ००:०६ मा प्रकाशित
  • साउदीअरवबाट महिला उपाध्यक्षमा यासमिन बेगम सैयद तथा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल निर्विरोध चयन भएका छन्।

    नेतृत्वमा थापा र केसीबीच प्रतिस्पर्धा हुने निश्चित

    काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी नेतृत्वका वर्तमान उपाध्यक्षद्धय रवीना थापा र डा. बद्री केसीबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ। संघको निर्वाचन समितिले तोकेको समयसिमाभित्र दुई जनाको मात्र उम्मेदवारी कायम भएपछि उनीहरुबीच निर्वाचन हुने भएको पक्का हो।

    उम्मेदवारी दर्ताका लागि दिइएको समय ७ मार्चदेखि ११ मार्चसम्म एनआरएनएको विभिन्न ५१ पदका लागि ६१ जना भन्दा बढीले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये विभिन्न १५ पदमा निर्विरोध चयन भएका छन्।


    हाल संघको संसोधित विधानअनुसार उपाध्यक्ष पदमा एक महिला र एक युवासहित ६ जना रहने व्यवस्था गरिएको छ।

    उपाध्यक्ष खुलातर्फ ६ जनाको उम्मेदवारी परेको छ। खुला उपाध्यक्ष पदका लागि डा. हेमराज शर्मा (बेलायत), धर्मराज अधिकारी (अष्ट्रेलिया), डिबी क्षेत्री ( ओमन), जयप्रकाश गुरुङ (बेलायत), आरके शर्मा (कतार) र टंक गैरे (जापान) ले उम्मेदवारी दिएका छन्। यीमध्येबाट अत्याधिक मत ल्याउने ४ जना मात्रै निर्वाचित हुनेछन्।

    यस्तै महिला उपाध्यक्षमा साउदीबाट यासमिन बेगम सैयद र युवा उपाध्यक्षमा अफ्रिकाबाट रोशन थापाको उम्मेदवारी परेको थियो। दोहोरो उम्मेदवारी नपरेको कारण महिला र युवा उपाध्यक्ष निर्विरोध चयन भएका छन्।

    महासचिव पदको लागि अमेरिकाका गौरीराज जोशी र बेलायतका विनय अधिकारीबीच प्रतिस्पर्धा हुने भएको छ । यस्तै खुला सचिवतर्फ बेलायतबाट रामशरण सिम्खडा, जापानबाट ओम गुरुङ, अष्ट्रेलियाबाट अभिमासिंह बस्नेत, अमेरिकाबाट शंकर खड्का र क्यानाडाबाट चिरनजीवी घिमिरेको उम्मेदवारी परेको छ। यीमध्येबाट ३ जना निर्वाचित भएर आउनेछन्।

    महिला सचिवमा भने हङकङबाट राधिका गुरुङ (टिका) को एकल उम्मेदवारी परेकोले निर्विरोध चयन भएकी छिन्।

    यस्तै कोषाध्यक्षमा बेल्जियमबाट लोकप्रसाद दाहाल र नेदरल्याण्डबाट फडिन्द्र पन्तबीच चुनाव हुने पक्का भएको छ । यसैगरी दक्षिण कोरियाबाट यज्ञराज सुवेदी सहकोषाध्यक्षमा निर्विरोध चयन भएका छन्।

    त्यस्तै महिला सहकोषाध्यक्षको जिम्मेवारी अमेरिकाकी यमुना भट्टराइले पाएकी हुन्। त्यसैगरी महिला संयोजकमा संगीता मरहठ्ठा र युवा संयोजकमा रविन्द्र खड्का निर्विरोध चयन भएको निर्वाचन समितिले जनाएको छ।

    यता ५ जना,संयोजक पनि निर्विरोध चयन भएका छन्। जसमा मध्यपूर्व संयोजक राजेन्द्र अर्याल (जोन) (साउदी अरब), एसिया प्यासिफिकमा पारसमणि पोखरेल (जापान), युरोप संयोजकमा सन्तोष कुमार भट्टराई (जर्मनी), अमेरिकाज संयोजकमा प्रकाश सापकोटा (अमेरिका), अफ्रिका संयोजकमा राजकुमार थापा निर्विरोध चुनिएका हुन्।

    ओसेनिया क्षेत्रीय संयोजकका लागि भने ३ जनाले उम्मेदवारी दिएका छन्। न्यूजील्याण्डका लाल बहादुर केसी तथा अष्ट्रेलियाका दिपक शर्मा र दिनेश राज जोशीबीच प्रतिस्पर्धा हुने भएको हो।

    युरोप उपसंयोजक तीन पदको लागि ४ जनाको उम्मेदवारी परेकोमा सागर सुवेदीले आफ्नो उम्मेदवारी फिर्ता लिएपछि ललित कुमार न्यौपाने, डा. नवराज रोस्यारा, चित्र बहादुर सुवेदी निर्विरोध निर्वाचित भएका छन्।

    यस्तै एसिया प्यासेफिकमा दुई पदको लागि तीन जनाको उम्मेदवारी परेको छ । ददिवल खड्का (जापान), नविन विक (चीन) र हरि प्रसाद भट्टराई (मलेसिया) बीच निर्वाचन हुने भएको हो।

    त्यसैगरी अमेरिकाज क्षेत्रीय उपसंयोजकमा अभिमन्यु बस्नेत (क्यानाडा) र पुरुषोत्तम बोहोरा (अमेरिका) निर्विरोध निर्वाचित भएका छन्। मध्यपूर्वको दुई उपसंयोजक पदमा तीन जनाबीच चुनाव हुनेछ। लाल प्रसाद पुन (बहराइन), अमित राई (कुवेत) र कृष्ण बहादुर हमाल (यूएई) बीच भिडन्त हुने भएको हो।यता अफ्रिका क्षेत्रीय उपसंयोजकमा रामप्रसाद पन्त र ओसेनिया उपसंयोजकमा अशोक केसी र रामराज ओली निर्विरोध भएका छन्।

    यस्तै सबै क्षेत्रका महिला संयोजक निर्विरोध चुनिएका छन्। जसमा तृष्णा शर्मा अमेरिका, पान कुमारी मल्ल युरोप, शान्तिदेवी अधिकारी एसिया प्यासिफिक र उषा किरण बरिया ओसिनिया रहेका छन्।

    यस्तै क्षेत्रीय महिला उपसंयोजकमा इन्दिरा त्रिपाठी अमेरिकाज र डा. इन्दिरा तिवारी एसियामा निर्विरोध निर्वाचित भएका छन्। त्यस्तै क्षेत्रीय युवा संयोजकमा किरण गुरुङ  युरोप, स्वराज खाती , दिपक प्रसाद कंडेल

    एसिया प्यासिफिक, रोजनराज घिमिरे अफ्रिका र प्रदीप रुपाखेतीले ओसेनिया युवा संयोजकमा निर्विरोध चुनिए। संयोजकमा युरोपबाट रोबट लिम्बू र अमेरिका युवा उपसंयोजकमा ईश्वर खत्री निर्विरोध भएका छन्।

    संघको निर्वाचन आगामी २१ र २२ मार्चमा अनलाइनमार्फत हुँदैछ।

    साभार: प्रवास खबर बाट

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए चुनाव :महिला उपाध्यक्षमा यासमिन बेगम सैयद तथा मध्यपूर्व संयोजकमा राजेन्द्र अर्याल निर्विरोध

    भीम रावलको ‘दिमाग फुस्किएको’ देउवाको टिप्पणी

  • ३० फाल्गुन २०७८, सोमबार १३:४६ मा प्रकाशित
  • काठमाडौं, ३० फागुन । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित गर्दा नेकपा एमालेका नेता भीम रावल चर्को स्वरले बोलेको भन्दै कडा टिप्पणी गरेका छन् । आज नुवाकोटको किस्पाङ गाउँपालिकाको प्रशासनिक भवन उदघाटनमा पुगेका देउवाले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा पेस गरेको प्रस्ताव नै पास भएको जिकिर गर्दै त्यतिबेलाका रक्षामन्त्री रावलले ‘किन राजीनामा नदिएको’ भनी प्रश्न गरे ।केपी ओलीले पेश गरेको प्रस्ताव पास हुँदा भीम रावलको टाउको किन दुख्यो ? देउवाले कडा शब्दमा भने,‘किन दिमाग फुस्किएको थियो ?’ रक्षामन्त्री हुँदा एमसीसीबारे थाहा थियो कि थिएन भनी रावललाई प्रश्न गरे ।

    रावलले एमसीसीको विरोध गर्नु औचित्यहीन र नैतिकताले पनि नदिने बताए । पदमा बसेको बेलामा चुप लाग्ने र अहिले चर्को कुरा गरिरहेको भन्दै रावलको आलोचना गरे ।

    Posted in राजनीतिLeave a Comment on भीम रावलको ‘दिमाग फुस्किएको’ देउवाको टिप्पणी

    साउदी विदेशमन्त्री आज नेपाल आउँदै

  • ३० फाल्गुन २०७८, सोमबार १०:०४ मा प्रकाशित
  • काठमाडौं, फागुन ३० । साउदी अरब अधिराज्यका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउद नेपालको दुई दिने औपचारिक भ्रमणमा आज अपरान्ह काठमाडौं आउदैछन् ।

    सोमबार र मंगलबार दुई दिने नेपाल भ्रमणमा आउन लागेका विदेशमन्त्री राजकुमार फैसलले राष्टपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री डा नारायण खड्काले आफ्ना साउदी समकक्षीसँग भोली मंगलबार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । दुई देशका परराष्ट्र मन्त्रीबीचको भेटवार्तामा जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on साउदी विदेशमन्त्री आज नेपाल आउँदै

    सत्ता-गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने निर्णय चैत दोस्रो साता : गगन थापा

  • २९ फाल्गुन २०७८, आईतवार २१:२१ मा प्रकाशित
  • सुर्खेत : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता-गठबन्धन दलहरुसँग चुनावी तालमेल गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय नभएको बताएका छन्।

    कर्णाली उत्सव कुडा कर्णालीको वक्ताको रुपमा सुर्खेत आएका महामन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धन र चुनावी तालमेल फरक विषय भएको बताएका हुन्।

    ‘सत्ता गठबन्धनसँगै चुनावी तालमेल गर्ने या नगर्ने भन्ने विषयमा अहिले नै निर्णय भइसकेको छैन। अहिले हामीले जनताको बीचमा जाने गरी मात्र अभियान चलाएका छौं,’ महामन्त्री थापाले भने, ‘चैतको दोस्रो हप्ताभित्र यो विषयमा हाम्रो केन्द्रीय कार्यसमितिको बैठकबाट निर्णय हुन्छ। सत्ता गठबन्धन र चुनावी तालमेल फरक कुरा हो।’

    अन्य पार्टीहरुले बाहिर चर्चा जे गरे पनि चुनावबारे निर्णय गर्ने अधिकार कांग्रेसमा निहित रहेको उनले बताए।

    अहिलेको आवश्यकतामा यो गठबन्धनले स्थानीय तहको निर्वाचन गराउने भन्नेमा अलमल नभएको र तालमेलसँग यसले कुनै खास अर्थ नराख्ने थापाले उल्लेख गरे।

    २०५६ सालमा नेकपा एमाले र नेपाली कांग्रेसबीच सत्ता गठबन्धनको प्रसंग उठान गर्दै थापाले भने, ‘तत्कालीन समयमा नेकपा माओवादी केन्द्र सशस्त्र द्वन्द्वमा थियो। त्यो बेलाको आवश्यकता निर्वाचन गराउनुपर्ने भएकाले एमाले र कांग्रेसबीच गठबन्धन भयो। तर, निर्वाचनमा दुवै पार्टी अलग–अलग प्रतिस्पर्धा गरेर निर्वाचन लड्यौं।’

    तर, चुनावमा सहकार्य गरेर जाने वा नजाने भन्ने विषयमा कांग्रेसभित्रै दुई वटा मत देखिएकोले पार्टीभित्र छलफल सुरु भएको थापाले बताए।

    ‘अहिले जुन गठबन्धन कायम छ, यही गठबन्धनलाई चुनावमा लैजानुपर्छ भन्ने मत पनि पार्टीभित्र छ,’ उनले थपे, ‘पार्टीको आफ्नो स्वभाव, चरित्र, मतदाताहरुको मनोविज्ञान र आवश्यकता अनुसार एक्लै निर्वाचन लड्नुपर्छ भन्ने अर्को मत छ। यसबारे आधिकारिक निर्णयका लागि चैत दोस्रो साता पर्खनुपर्नेहुन्छ।’
    उकेरा डटकम बाट

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on सत्ता-गठबन्धनसँग चुनावी तालमेल गर्ने/नगर्ने निर्णय चैत दोस्रो साता : गगन थापा

    प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

  • २८ फाल्गुन २०७८, शनिबार २३:२४ मा प्रकाशित
  • २८ फागुन, काठमाडौं । गायक प्रकाश सपुतको नयाँ गीत ‘पिर’ विवादमा तानिएको छ । शुक्रबार युट्युवमा रिलिज भएको गीतविरुद्ध सत्तारुढ माओवादी केन्द्रका नेताहरू खनिएका छन् ।

    उक्त पार्टीको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहले गीतलाई तत्काल हटाउन चेतावनी दिएकी छिन् । उनले फेसबुकमा लेखेकी छिन्, ‘उक्त भिडियो आपत्तिजनक र निन्दनीय छ । दिदीबहिनीहरुमाथि अपमान हुने गरी बनाइएको ‘पिर’ नामक भिडियोबारे सार्वजनिक माफी मागेर तत्काल युट्युवबाट नहटाइए तपाईंको यस्तो गैरजिम्मेवारी हर्कत सहेर बस्न नसक्ने चेतावनी दिन चाहन्छु ।’

    माओवादी केन्द्रीय सदस्य तथा वाइसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखाले पनि गीतलाई लिएर आपत्ति जनाएका छन् । उनी लेख्छन्, ‘पिरको परिकल्पनाको समग्र पक्षमाथि राजनीतिको कोण नबनाऊँ तर माओवादी जनयुद्ध लड्ने एक महिला छापामारको अभावलाई उनले देह व्यापारमा लगेर जसरी चित्रण गरेका छन् –त्यो आपत्तिजनक मात्र छैन, दण्डनीय पनि छ ।’

    २४ घण्टा नबित्दै विवादमा मुछिएको उक्त गीत अहिले नेपालमा युट्युव ट्रेन्डिङको चौंथो स्थानमा छ । १६ मिनेट २५ सेकेन्ड लामो गीतले अहिलेको सत्तारुढ माओवादीले गरेको दशवर्ष लामो सशष्त्र द्वन्द्वको उद्देश्यमाथि प्रश्न गर्छ । परिवर्तनको सपना लिएर ज्यान हत्केलामा लिएर युद्ध लडेकाहरुको सपना अझै पूरा नभएको र उनीहरुको बिचल्ली भएको चित्रण गीतले गर्छ । तर, गीतको राजनीतिक पक्षलाई लिएर भने माओवादी नेताहरुले विरोध गरेको देखिएको छैन ।

    सशस्त्र युद्धमा सहभागी महिला छापामारहरु देह व्यापारमा संलग्न भएको दृश्य चित्रणप्रति उनीहरुको आपत्ति देखिन्छ । गीतमा चित्रण गरिएको यो दृश्यप्रति सामाजिक सञ्जालमा माओवादी दलमा आवद्ध अन्यले पनि विरोध गरिरहेका छन् ।

    सपुतकै शब्द तथा संगीत रहेको गीतमा उनीसहित सुरक्षा पन्त, लोकेन्द्र लेखक, केशु पुन केशरी, पुष्पा अवस्थी र विशाल घिमिरे फिचर्ड छन् । राजनीतिक विषयवस्तुलाई कटाक्ष गरिएको यो पहिलो गीत भने होइन । पशुपति शर्माको गीत ‘लुट्न सके लुट कान्छा’ले प्रधानमन्त्री निवास बालुवाटारमा खैलाबैला मच्चाएको थियो ।

    शर्माको सो गीतविरुद्ध २०७५ सालमा तत्कालीन एमालेले विरोध गरेका थिए । विरोध चर्किएपछि शर्माले युट्युवबाट गीत हटाएका थिए । तर, केही महिनापछि परिमार्जनसहित पुनः पोस्ट भएको थियो !

    Posted in अर्थ, कला /जीवनशैली, मुख्य खबर, राजनीतिLeave a Comment on प्रकाश सपुतको नयाँ गीत विवादमा, तत्काल हटाउन माओवादी नेताहरूको चेतावनी

    लोसपाको बीरगंज ७ मा स्तरीय वडा भेला एकाइ कमिटी सम्पन्न

  • २८ फाल्गुन २०७८, शनिबार १७:५१ मा प्रकाशित
  • उमेश कुशवाहा, वीरगंज
    फाल्गुन २८

    लोसपालाई वीरगन्जमा एक नम्बरको पार्टी बनाउने अभियान निरन्तर अगाडि बढदै ग़ईरहेको लोसपका नेताहरुले बताएका छन।


    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल को वीरगन्ज वडा न . ७ मा स्तरीय वडा भेला एकाइ अध्यक्ष जगु साहको अध्यक्षतामा रामटोलमा सम्पन्न भएको छ।

    कार्यक्रममा प्रमुख अतिथि प्रदेश सान्सद रमेश कुर्मी , जिल्ला अध्यक्ष पुरुषोत्तम लाल झा, नेताहरु सुरेन्द्र कुर्मी ,शशी कपुर मिया, रम्भा मिस्रा, जिल्ला बरिस्ठ उपाध्यक्ष सन्तोष तिवारी, वीरगन्ज महानगर अध्यक्ष ओमप्रकाश सरार्फ ,सचीव राजनरायण मिस्र, नगर उपाध्यक्ष शेख फिरोज,सचिव संजय पटेल , कोषाध्यक्ष जय प्रकाश साह( अग्रवाल ), सह- सचीव रेखा सरार्फ,युवा नेताहरु शेख अरसद,राहुल सर्मा, सागर सरार्फ लगायतको सहभागिता रहेको थियो ।


    कार्यक्रमको सहजीकरण जिल्ला उपाध्यक्ष राजेश साहले गरेका थिए।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on लोसपाको बीरगंज ७ मा स्तरीय वडा भेला एकाइ कमिटी सम्पन्न

    वीरगंज महानगरका मेयर बिजय सरावगी एमालेमा प्रवेश

  • २८ फाल्गुन २०७८, शनिबार १७:३९ मा प्रकाशित
  • वीरगंज,फागुन २८


    नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओलीले  एमाले पार्टी मुद्दा उठाएर मुद्रा कमाउने पार्टी नभएको बताएका छन।  आज वीरगंज २३ प्रसौनी बिर्तामा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले पार्टी देश बनाउने र जनताको दुखकष्ट समाधान गर्ने पार्टी भएको बताए । ओलीले मधेशबाट गरिबी हटाए मात्र देशबाट गरिबीको समस्या समाधान हुने तर्क गरे ।  ओलीले आफनो नेतृत्वको साढे तिनबर्षे कार्यकालमा हुलाकी राजमार्ग निर्माण, शहरी बिकाश ,स्मार्ट सिटीको अवधारण,कृषि सिंचाई लगायतको क्षेत्रमा काम गरिएको बताए । नागरिकता समस्या समाधानको लागि कानुन बनाए पनि गठबन्धन सरकाले त्यसलाई रोकेको बताए । उनले भेदभाव बिना सवै नागरिकलाई शिक्षा ,स्वास्थ्यको सुबिधा दिनुपर्ने धारणा राखे । ओलीले अहिले देशभरि नै एमाले प्रवेशको लहर चलिरहेको बताए । उनले एमालेमा प्रवेश गर्ने सवैलाई उचित स्थान  र जिम्मेवारी दिईने बताए । तत्कालिन जसपाबाट निर्वाचित वीरगंज महानगरका मेयर बिजय सरावगीको नेतृत्वमा १२ जना वडा अध्यक्ष सहित दर्जनौ नेता कार्यकर्ताहरु एमाले प्रवेश गरेका छन । पार्टी प्रवेश कार्यक्रममा पुर्वमन्त्री रघुबिर महासेठ,प्रभु साह, केन्द्रिय सदस्य तथा पर्सा ईन्र्चाज प्रभु हजार,संबिधान सभा सदस्य तथा पार्टीका केन्द्रिय सदस्य राजकुमार गुप्ता, निर्मला देवकोटा,अरबिन्द सिंह, बिचारी यादव, जयप्रकाश थारु लगायतको उपस्थिती रहेको थियो ।

    Posted in ताजा अपडेट, राजनीतिLeave a Comment on वीरगंज महानगरका मेयर बिजय सरावगी एमालेमा प्रवेश

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P