काठमाडौँ – ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएकी नेपाली कांग्रेसका सांसद् चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको मुत्यु भएको छ।
गएराति भएको सिलिन्डर विस्फोटबाट गम्भीर घाइते भएकी उनको कीर्तिपुर अस्पतालमा आज बिहान मुत्यु भएको हो। गएराति करिब १० बजेतिर भएको सिलिन्डर विस्फोटमा परी सांसद् भण्डारी र उनकी आमा घाइते भएका हुन्।
अस्पतालका अनुसार हाल चन्द्र भण्डारीको आइसियूमा उपचार भइरहेको छ । भण्डारीको शरीरको २५- ३० प्रतिशत भाग र आमाको ७० प्रतिशत भाग जलेको बताइएको छ।
चिकित्सकीय भाषामा शरीरको २० प्रतिशतभन्दा बढी भागमा जल्नुलाई गम्भीर अवस्था मानिन्छ।
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन्।
मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन्।
उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे। उनले देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताए।
एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने जिकिर गरे। उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताए।
‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म। हामीले पाँचदलिय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो। तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ। प्रशन्न हुनुपर्दछ। तर कथम कदाचित यो स्थिति फेरियो भने? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ। बहुमत कसैको छैन। हाम्रो पार्टीसँग बहुमत छैन। हामीसँग बहुमत भन्दा निकै तल सिट छ। र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन्। यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नपर्यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन। त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ। भइआएको छ। त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन। अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन्। अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन्। यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन्।’ उनले भने। अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाइ छ।
उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए। कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरुलाई आग्रह गरे।
अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गरेका छन्। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गरेका थिए। नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको उनको भनाइ थियो।
अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरेका छन्। उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताए।
काठमाडौँ । परराष्ट्रमन्त्री डा.विमला राई पौड्यालसँग नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबु हैमेदले आज मन्त्रालयमा भेटवार्ता गरेका छन् । भेटवार्तामा परराष्ट्रमन्त्री पौड्यालले विश्वभर फैलिएको कोरोना महामारीका बेला त्यहाँ रहेका ४ लाखभन्दा बढी नेपालीलाई सुरक्षित राखेकामा सरकारको साउदी अरबीया सरकारलाई नेपाल सरकारको तर्फबाट धन्यवाद व्यक्त गरिन् ।
यस अवसरमा मन्त्री पौड्यालले साउदी अरेबियाको विकासमा नेपाली श्रमिकको पनि उल्लेख्य योगदान रहेको उल्लेख गर्दै आगामी दिनमा श्रम सम्झौता गरेर दक्ष जनशक्ति उपलब्ध गराउन सरकार तयार रहेको बताइन् । भेटमा राजदूत हैमेदले साउदी अरेबियाको प्रगतिमा नेपाली श्रमिकको ठूलो योगदान रहेको उल्लेख गर्दै आफ्नो देशमा विकास निर्माणका काम तीव्र गतिमा अघि बढेकाले श्रम सम्झौता गरेर थप नेपाली श्रमिकहरु लैजाने प्रतिवद्धता जनाए ।
नेपाली कांग्रेसका नेता शशांक कोइरालाले भागवण्डा मिलेको खण्डमा नेपाली कांग्रेस यही सरकारमा सहभागी हुने बताएका छन् ।
शनिबार चितवनमा सन्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । यो गठबन्धनमा सम्मानजनक मन्त्रीहरु दिएको खण्डमा आफूहरु सरकारमा जान तयार भएको उनले बताएका छन् ।
उनले गृह मन्त्रालय अहिले खाली भएको र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई गृह मन्त्रालय अफर गरे आफूहरु सरकारमा जान तयार रहेको उनले बताएका छन् ।
उनले अब हुने राष्ट्रपति निर्वाचनमा नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेसको उम्मेदवारलाई सहयोग गर्ने दाबी गरेका छन् ।
‘गृहमन्त्री दिए भने अहिलेको सरकारमा नै कांग्रेस जान्छ,’ कोइरालाले भनेका छन् ।
उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठको उपस्थितिमा आज काठमाडौंमा फोरलेन सडकसम्बन्धी छलफल राखिएको छ ।
फोरलेन सडक निर्माणमा पहल गरिरहनुभएका निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष वलीभद्र रानाको पहलमा मन्त्री, आयोजना कार्यालयका प्रतिनिधि, ठेकेदारलगायतको उपस्थितिमा फोरलेन सडक निमार्णका विषयमा छलफल हुनेछ ।
आधिकारिक प्रतिनिधि भइसकेपछि घोराहीमा कार्यालय समेत स्थापना गरेर सुनिलजंग रायमाझीले काम गर्न शुरु गर्नुभएको छ । वलीभद्र रानाले निर्माण व्यवसायी महासंघको पहलमा काम शुरु गर्न लागेको बताउँदै ठेक्का रद्द भएमा दङालीले झन दुःख पाउने भएकोले पहल गरेर यो काम गर्न लागेको बताउनुभयो । ‘ठेक्का तोड्दा पाँच वर्ष विजोग हुने अवस्था हुन्छ । त्यसकारण सकेसम्म यसलाई सम्पन्न गर्नुपर्छ भन्ने हेतुले मैले पहल गरेर काम शुरु गरेको हो’– उहाँले भन्नुभयो– ‘काम शुरु गर्न प्राविधिक कुरा हेर्नुपर्छ । बालुवा गिट्टी थुपारेर मात्रै काम हुँदैन । पुराना पेटी ठेकेदारको सबै क्लियर गराएर मात्रै काम हुन्छ ।
त्यो भइरहेको छ ।’उहाँले पुराना ठेकेदारसँगको कारोबार मिलान गरेर नयाँढंगले काम शुरु हुने बताउनुभयो । ‘शुरुमा एकै चोटी २५ ठाउँबाट काम शुरु गर्ने इस्टिमेट भइसकेको छ, पाँच ठाउँ ग्राभेलको काम गर्ने र यस वर्ष असारसम्म बबईदेखि सर्रासम्म आधा पिच सक्ने अर्को आर्थिक वर्षको चैतसम्म सबै काम सक्ने गरी योजना बनेको छ’– उहाँले भन्नुभयो– ‘फोरलेन र टु लेनको सडकमा शुरुमा फोर लेन मात्रै काम गर्ने र बाँकी टु लेन पनि फोर लेन बनाउने गरी छ । हामीले बजेटको लागि पनि पहल गरिरहेका छौं । पैसा थप गर्न एक्जिम बैंक पनि तयार छ ।’
दाङ, मंसिर २०। लुम्बिनी प्रदेशको मुख्यमन्त्री कार्यालय बुटवलबाट दाङमा सारिएको छ। अस्थायी राजधानी बुटवलबाट मुख्यमन्त्री कार्यालयका सामग्रीहरू स्थायी राजधानी तोकिएको क्षेत्र दाङमा सारिएको हो। मुख्यमन्त्रीको कार्यालय र मुख्य सचिव कार्यालयका सबै सामग्रीहरू गए राति दाङ ल्याइएका हुन्। कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्रीहरू ट्रकबाट ढुवानी गरी दाङ ल्याइएका छन्। ‘मुख्यमन्त्री र मुख्य सचिवको कार्यालय सञ्चालनका लागि आवश्यक पर्ने फर्निचरलगायत सामग्री दाङ ल्याइएको छ,’ मुख्यमन्त्रीको सचिवालयका एक कर्मचारीले भने, ‘स्थायी राजधानी कार्यान्वयन गर्न अब अन्तिम चरणका काम भइरहेका छन्।’
मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा दाङबाट मुख्यमन्त्री कार्यालय सञ्चालनमा ल्याउन पहल गरिरहेका छन्। लुम्बिनीको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा अब नयाँ प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालनको तयारी पनि गरिएको छ। यहाँ प्रदेश सभा भवन निर्माण कार्य पूरा भइसकेको छ। स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) तोक्ने निर्णय गरे पनि पूर्वाधार अभावको कारण राजधानीको कामकाज अस्थायी मुकाम बुटवलबाटै हुँदै आएको थियो। प्रदेशसभा सदस्यको सपथ र सभा सञ्चालन स्थायी राजधानीमा निर्माण भएको प्रदेशसभा भवनबाट गर्ने योजना लुम्बिनी सरकारको छ। अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको पनि सपथग्रहण स्थायी राजधानीमै गर्ने तयारी थालिएको छ। अब नयाँ बन्ने मुख्यमन्त्री र मन्त्रीहरुको सपथ, प्रदेशसभा भवनमा सदन सञ्चालन गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको स्वास्थ्य मन्त्री इन्द्रजीत थारुले बताए। ‘प्रदेश सभाले निर्णय गरिसकेपछि कार्यान्वयन गर्ने जिम्मेवारी पूरा गर्न थालिएको हो,’ उनले भने, ‘प्रदेश सरकारका सबै काम दाङबाटै सुरू गर्ने अन्तिम तयारी भइरहेको छ।’ प्रदेश सभाको दुई तिहाइ मतले निर्णय गरेको विषय आफूहरुले कार्यान्वयन मात्रै गर्न लागेको उनले बताए। दाङमा यसअघि नै दुई मन्त्रालय आइसकेका थिए। तर काम भने बुटवलबाट हुँदै आएको थियो। निर्वाचन आचारसंहिता निस्कृय हुनेवित्तिकै औपचारिक कार्यक्रम गरेर स्थायी राजधानीलाई कार्यान्वयनमा ल्याउने तयारीमा सरकार जुटेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद बस्ने भवन मर्मतको काम भइरहेको छ। राप्ती प्राविधिक शिक्षालयले प्रशिक्षणको लागि प्रयोग गर्दै आएको भवनलाई मर्मत गरेर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय बनाउन लागिएको हो। प्रदेश पूर्वाधार विकास प्राधिकरणका इञ्जिनियर विष्णु केसीले मन्त्रिपरिषद्को कार्यालय तत्काल तयार पार्ने योजनाअन्तर्गत काम भइरहेको बताए। यहाँ साना ठूला गरी २४ वटा भवन तयारी अवस्थामा छन्। प्राविधिक शिक्षालय राप्तीपारिको गढवा गाउँपालिकामा स्थान्तरण गरिसकिएको छ। लुम्बिनी प्रदेशको नाम र स्थायी राजधानी सार्ने निर्णय २०७७ असोज २० गतेको प्रदेशसभा बैठकले गरेको थियो।
काठमाडौं । नेकपा माओवादी केन्द्रमा नयाँ सरकार गठन जोसुकैसँग मिलेर गर्न सकिने विकल्पलाई खुल्ला राख्नेबारे छलफल भएको छ । आज दिउँसो चुनावी समीक्षा र नयाँ सरकार गठनबारे छलफल गर्न बोलाइएको बैठकमा यस्तो छलफल भएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
बैठकपछि कुराकानी गर्दै महराले बर्तमान गठबन्धन छोड्ने निर्णय नगरेको तर सबै विकल्प खुला राख्ने निर्णय भएको बताउनुभयो । ‘बनाएको गठबन्धन छोड्ने निर्णय गरिएको छैन,’ उहाँले भन्नुभयो, ‘अन्य विकल्प पनि खुल्ला राख्ने निर्णय भएको छ ।’
एमालेसँग पनि मिलेर सरकार बनाउने विकल्प खुल्ला राख्नु भएको हो भन्ने प्रश्नमा महराले भन्नुभयो, ‘सबै विकल्प खुल्ला छ, तर, पुरानो गठबन्धनलाई छोड्ने, तोड्ने निर्णय हामीले गरेका छैनौं ।’
बैठकमा चुनावी नतिजाबारे भने प्रारम्भिक छलफल भएको थियो । अपेक्षा गरेजस्तो नजिता नआएको निष्कर्षमा बैठक पुगेको महराले बताउनुभयो।
चितवन १० मग्सिर २०७९, भर्खरै चुनावी माहोल सकिए लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टी का सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् । आफ्नो पार्टीको चुनावी खर्चमा पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब किताब बाहेक ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ खर्च भएको बताएका छन् ।
आफ्नो सामाजिक संजाल फेसबुक पेजबाट सम्पुर्ण चितवन दुई का नेपालीहरुले दिनु भएको मायाँ शुभकामनालाइ एकमुष्ट धन्यवाद दिदैं आजबाट बिजयी जुलुस कार्यक्रम नगरिने पनि बताएका छन् ।
सम्भव र समय भए सम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दै राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौं जाने र केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर चितवनबासिको सेवामा समर्पित हुने पनि सभापति लामिछानेले जनाएका छन् ।
उहाँले आफ्नो केही बाचाहरु बुँदागत राखेका छन् जुन जस्ताको त्यस्तै ।
१) मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन) २) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु। ३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन) ४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला। ५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ। ६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु। ७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला। ८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ” लेखिएको बाकसमा खसाउनु होला। १०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु। ,
लुम्बिनी प्रदेशमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारी बन्ने प्रयासमा रहेका दुई नेता प्रतिनिधिसभा अन्तर्गत चुनावी प्रतिस्पर्धामा थिए। त्यसमध्ये एक एमाले महासचिव शङ्कर पोखरेलले बेहोरेको हारले एमालेको आन्तरिक राजनीति र भावी नेतृत्व दौडमा कस्तो असर पार्न सक्छ?
कुनै पनि कम्युनिस्ट पार्टीमा महासचिवको पदलाई शक्तिशाली पदमा लिने परम्परा छ।
अझ अघिल्लो सालको महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले महासचिव बनाएका नेता शङ्कर पोखरेललाई उनको उत्तराधिकारीको रूपमा हेर्ने गरिएको थियो।
तर प्रतिनिधिसभा निर्वाचन अन्तर्गत दाङ क्षेत्र नम्बर दुईमा चुनाव लडिरहेका पोखरेल माओवादी केन्द्रकी नेतृ रेखा शर्माबाट पराजित भएका छन्।
साँघुरो मतान्तरले भएको पोखरेलको हारले नेकपा एमालेको पुस्तान्तरण प्रभाव पार्नसक्ने विश्लेषकहरू बताउँछन्।
ओलीपछिको नेता को?
नेकपा एमालेको विधानको धारा ६४ मा राखिएको व्यवस्था अनुसार अहिले पार्टीको नेतृत्व सम्हालिरहेका कतिपय नेता आगामी महाधिवेशनबाट अवकाश लिने अवस्थामा पुग्नेछन्।
पार्टी विधानको उक्त धारामा कुनै पनि पदमा दुई पटक रहन नपाउने र सबै तहको कार्यकारी कमिटीको पदाधिकारी वा सदस्य निर्वाचित वा मनोनीत हुन ७० वर्ष पूरा नभएको हुनुपर्ने उल्लेख छ।
तर ७० वर्ष नहुँदै निर्वाचित भएको व्यक्तिलाई अर्को महाधिवेशन नहुन्जेलसम्मको आफ्नो कार्यकाल पू रा गर्न बाधा नपुग्ने विधानमा जनाइएको छ।
अहिलेका एमालेका कैयौँ वरिष्ठ नेताहरू अबको चार वर्षपछि हुने महाधिवेशनअघि नै उमेरको उक्त समय सीमा नाघेका कारण कार्यकारी पदमा प्रतिस्पर्धा गर्नबाट वञ्चित हुनेछन्।
माओवादी केन्द्रकी रेखा शर्मा एमाले महासचिव शङ्कर पोखरेल भन्दा झन्डै २ सय मत धेरै ल्याएर विजयी भएकी हुन्
यस्तोमा अहिले पार्टीका महासचिव रहेका ५९ वर्षिय शङ्कर पोखरेल र ६२ वर्षको उमेरमा हिँडिरहेका उपाध्यक्ष विष्णु पौडेलबिच भावी नेतृत्वका लागि प्रतिस्पर्धा हुने धेरैले ठान्दै आएका थिए।
आफ्नो गृह नगर दाङको क्षेत्र नम्बर दुईमा डेढ सय मतभन्दा केही बढीले माओवादी केन्द्रकी उम्मेद्वार पूर्व मन्त्री रेखा शर्मासँग महासचिव पोखरेल पराजित भएपछि त्यसले नेकपा एमालेको पुस्तान्तरणबारे पनि सवाल उब्जाएको कतिपय विश्लेषकहरू बताउँछन्।
एक जना वामपन्थी विश्लेषक झलक सुवेदी नेपाली कांग्रेसका दुवै महामन्त्रीहरूले जितिरहँदा एमालेका महासचिवको पराजयले साङ्केतिक अर्थ राख्ने बताउँछन्।
उनले भने, “मेरो विचारमा नेपाली कांग्रेसमा पुस्ता हस्तान्तरणको एउटा सहज सोपान तयार भयो। शेरबहादुर देउवाहरू पछि को भन्दा अब गगन (थापा), विश्व प्रकाश (शर्मा) र प्रदीप (पौडेल) भन्ने एउटा प्रस्ट नेतृत्व देखियो।”
उनले थपे, “नेकपा एमालेमा ओली (केपी शर्मा ओली) ले जिते। तर उनीपछि त्यहाँ नेतृत्व गर्ने को हो भन्दा, विष्णु पौडेलले जित्लान्, पृथ्वी सुब्बा गुरुङले जिते तर पार्टीकै महासचिवले हारिसकेपछि ठ्याक्कै नेतृत्वको बारेमा प्रश्न उठ्न सक्छ।”
उनले एउटा चुनाव हार्दैमा पोखरेलको नेतृत्व क्षमतामाथि प्रश्न उठ्ने वा दलभित्रको आन्तरिक राजनीतिमा ठूलो प्रभाव नपर्ने नभएपनि त्यसले आकर्षण कम बनाउन सक्ने टिप्पणी गरे।
नेतृत्वको आकाङ्क्षाबारे पोखरेलले के भनेका थिए?
महासचिव पोखरेलले चुनावअघि बीबीसीलाई दिएको अन्तरवार्तामा एमाले सामूहिक नेतृत्वमा चल्ने पार्टी भएकाले आफ्नो आकाङ्क्षा भन्दा पनि चुनावी परिणामलाई प्राथमिकतामा राखेको बताएका थिए।
उनको भनाइ थियो, ‘यति बेला मुलुकको राजनीतिमा पार्टीको नेतृत्वकारी भूमिकाको खोजी हामीले गरिरहेका छौं। यो सामूहिक प्रयासको खोजी हो। कुनै व्यक्तिको कुरा होइन।”
उनले भनेका थिए, “म अहिले राष्ट्रिय राजनीतिको विषयलाई केन्द्रमा राखिरहेको छु। पार्टीको आन्तरिक विषय अहिले चर्चाको विषय होइन।”
लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री रहेका पोखरेलको प्रतिस्पर्धामा त्यही प्रदेशका एमाले नेता एवं पूर्व अर्थमन्त्री विष्णु पौडेल रहेका छन्।
अध्यक्ष केपी शर्मा ओली सहजै निर्वाचित भएपनि कैयौँ वरिष्ठ नेताहरूले कठिन चुनौती बेहोरिरहेका छन्
जारी मतगणनामा रुपन्देही क्षेत्र नम्बर दुईमा पौडेललाई राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले कडा चुनौती दिइरहेका छन्।
एक हजार भन्दा कम मतान्तरले पौडेल अघि छन्।
बीबीसीसँग कुरा गर्दै ६२ वर्षका पौडेलले दलको नेतृत्वमा आफ्नो स्वाभाविक दाबी रहने बताएका थिए।
महासचिव पोखरेलसँग नेतृत्वका लागि तपाईँको प्रतिस्पर्धा हुन्छ कि हुँदैन भन्ने बीबीसीको प्रश्नमा उनले भनेका थिए, “त्यो भोलिको विषय हो अहिले छलफल गर्नुपर्ने विषय नै होइन।”
को हुन सक्छन् भावी नेता?
एमालेका अध्यक्ष केपी ओली ७० वर्ष पुगिसकेका छन्। विधान अनुसार उनले फेरि पार्टीको नेतृत्व गर्ने सम्भावना छैन।
कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग पराजित भएका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल ६८ वर्ष पुगिसकेका छन्।
इलाममा आफ्ना प्रतिस्पर्धीबाट चुनौती सामना गरे पनि मतगणनामा केही अघि रहेका अर्का उपाध्यक्ष सुवास नेम्वाङ पनि उमेरका कारण नेतृत्व दौडमा रहने छैनन्।
अहिले ६४ वर्ष पुगेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ यो चुनावमा विजयी भएका छन्।
अर्का उपमहासचिव प्रदीप ज्ञवाली र उनका कांग्रेसका प्रतिस्पर्धी चन्द्र भण्डारीबिच कडा प्रतिस्पर्धा चलिरहेको छ।
एमालेका तीन जना सचिव टोपबहादुर रायमाझी, गोकर्ण विष्ट र योगेश भट्टराईले चुनाव जितेका छन्।
पार्टी नेतृत्वमा पुग्न विभिन्न परिस्थितिहरूले भूमिका खेल्ने बताएका विश्लेषक सुवेदी संसद्मा भूमिका खेल्ने नेताहरू सजिलै चिनिने ठान्छन्।
उनले भने, “विष्णु पौडेल र पृथ्वी सुब्बा गुरुङ वामपन्थी एकताको लागि जोड दिइरहेका नेताहरू हुन्। माधव नेपाल र प्रचण्डहरू पनि दबावमा छन्। ती दुई नेताको भूमिका बलशाली रह्यो भने पार्टी एकता वा वाममोर्चाको पक्षमा दबाव पनि सृजना होला। त्यस्तो भयो भने उनीहरूलाई नेतृत्वदायी भूमिकामा देखाउँछ भन्ने अनुमान गर्छु।”
यस पटकको चुनावमा ओली निकट मानिएका नेता राजन भट्टराईदेखि भानुभक्त ढकालसम्म पराजित भएका छन्।
खासगरी माओवादी केन्द्रसँगको एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी गठन भएका बेला उत्पन्न विवादमा खेलेका भूमिकाका कारण सुवेदी जस्ता केही विज्ञले एमालेका दोस्रो पुस्ताका कतिपय अनुहारहरू अहिले नै पार्टी नेतृत्वको लागि तयार नभइसकेको ठान्ने गरेका छन्। बिबिसीबाट
वीरगञ्ज, ७ मंसिर । बाराको निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका नेता कृष्ण कुमार श्रेष्ठ ( किसान ) विजयी भएका छन ।
श्रेष्ठले नेकपा एमालेका एकबाल मियाँलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन ।
श्रेष्ठले मियाँलाई दश हजार ६६ मतको अन्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन । पाँच दलीय गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका श्रेष्ठले २९ हजार ५०५ मत प्राप्त गर्न सफल भएका छन ।
जसपा एमाले गठबन्धनमा नेकपा एमालेको तर्फबाट उमेदवार बनेका मियाँले १९ हजार ४३९ मत प्राप्त गरेका छन ।
२०७४ को निर्वाचनमा कृष्ण कुमार श्रेष्ठ (किसान) तनहुँको क्षेत्र नंं १ मा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए । उनले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई पराजित गरेका थिए । यसपटक भने उनले आफू निर्वाचित भएको निर्वाचन क्षेत्र नेपाली कांग्रेसका नेत रामचन्द्र पौडेललाई छोडेर उनी बाराको क्षेत्र नं. ४ मा गठबन्धनको तर्फबाट साझा उमेदवार बनेका थिए ।