गठबन्धन भत्किनेप्रति आशंका !

  • २ फाल्गुन २०७९, मंगलवार १८:०६ मा प्रकाशित
  • नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका छन्।

    मंगलवार अनेरास्ववियुको २३ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वर्तमान सत्तारुढ गठबन्धन भत्किनेप्रति आशंका व्यक्त गरेका हुन्।

    उनले संसदको बनावट अस्थिरताको कारक हुनेखालको रहेको भन्दै गठबन्धन भत्किनेप्रति शंका व्यक्त गरे। उनले देशभित्रका र बाहिरका शक्तिहरु देशलाई बर्बाद पार्न लागेका बताए।

    एमाले देशलाई बर्बाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई प्रहार हुनसक्ने जिकिर गरे। उनले देशमा स्थिरता र स्थायित्व हुन नदिका लागि अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका बताए।

    ‘अहिले साथीहरु काफी प्रशन्न भएको देख्छु म। हामीले पाँचदलिय गठबन्धन तोडेर अर्को एउटा सरकार बनाएका छौँ। यो सफलताको कुरा हो। तर हाम्रा आम रुपमा पार्टीका साथीहरु प्रशन्न भएको देखिन्छ। प्रशन्न हुनुपर्दछ। तर कथम कदाचित यो स्थिति फेरियो भने? संसदको बनावट नै अस्थिरताको कारक हुनेखालको बनावट छ। बहुमत कसैको छैन। हाम्रो पार्टीसँग बहुमत छैन। हामीसँग बहुमत भन्दा निकै तल सिट छ। र अनेक प्रकारका, भित्रका, बाहिरका अनेक शक्तिहरु यो देश बर्बाद पार्न क्रियाशिल छन्। यो देश बर्बाद पार्न सबभन्दा पहिले यदी कुनै डाकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा (एमाले) यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन। त्यसकारण पहिले यसमाथि प्रहार हुनसक्छ। भइआएको छ। त्यसकारण फेरि पनि हुँदैन भन्न सकिँदैन। अनेक प्रकारका शक्तिहरु क्रियाशिल छन्। अनेक प्रकारका षड्यन्त्रहरु भइरहेका छन्। यहाँ स्थिरता, स्थायित्व हुन नदिने खालका प्रयासहरु भइरहेका छन्।’ उनले भने।
    अध्यक्ष ओलीले विगतमा नेपालको शिक्षालाई
    बुर्जुवा शिक्षाको उपमा दिएर बहिष्कार गर्न नभनेको भएपनि कुनै व्यक्तिको लहडको भरमा त्यसो भनिएको उनको भनाइ छ।

    उनले अनेरास्ववियुमा आवद्ध विद्यार्थीहरु राम्रोसँग पढेर राम्रो नतिजा ल्याउनेखालको हुनुपर्ने बताए। कुनैपनि बाहानामा आफ्नो पढ्ने काम नछोड्न उनले विद्यार्थीहरुलाई आग्रह गरे।

    अध्यक्ष ओलीले आगामी स्ववियु निर्वाचनमा अनेरास्ववियु विजयी हुनेकुरामा विश्वास व्यक्त गरेका छन्। उनले नेपाल विद्यार्थी संघले अनेरास्ववियुसँग प्रतिष्पर्धा गर्न नसक्ने र अन्य विद्यार्थी संगठनहरु भर्खरै सिक्दै गरेका भनि टिप्पणी गरेका थिए। नेविसंघलाई अनेरास्ववियुले जहिलेपनि छक्का हान्दै आएको उनको भनाइ थियो।

    अध्यक्ष ओलीले अनेरास्ववियुको नेतृत्वका लागि सहमतिको प्रयास गर्न आग्रह गरेका छन्। उनले अनेरास्ववियु उद्देश्य बोक्ने संस्था भएको भन्दै महत्वकांक्षा बोक्नु नहुने बताए।

    Leave a Reply