• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: अर्थ

‘डीजी साप, पीसीआरको लुट तुरुन्त बन्द गराउनुहोस्’

  • १३ कार्तिक २०७८, शनिबार १४:४५ मा प्रकाशित
  • दोहा, दुबई, मलेसिया जाने विमान शुक्रबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु कुरेर बसेका थिए । विमानस्थल बाहिर पार्किङमा संचालनमा ल्याइएका निजी ल्याबमा श्रमिकहरु आरटी–पीसीआरको रिपोर्ट कुरिरहेका थिए । नजिकिँदो तिहारको याममा खादा, माला र रातो बिदाइको टीकाले सजिएका नेपालीहरु हातमा पासपोर्ट र टिकट बोकेर पार्किङ क्षेत्रमा आइएमएस समूहले बनाएको भवनमा रहेका आधा दर्जन ल्याबमा लाइनमा देखिए ।

    निजी सुरक्षागार्ड पीसीआर गर्ने र रिपोर्ट लिने यात्रुको लाइन मिलाइरहेका थिए । ल्याबका कर्मचारी र्‍यापिड पीसीआर टेस्टका लागि नाम टिप्ने र प्रतिव्यक्ति २ हजार रुपैयाँ संकलन गर्दै स्वाबको स्याम्पल लिइरहेका थिए ।

    श्रम गन्तव्यमा जाने नेपाली युवायुवतीलाई बिदाइ गर्न आएका परिवारका सदस्यहरुको अनुहार मलिन देखिन्थ्यो । कतिपयका साना नानीबाबु केही घन्टामै जन्मभूमि छाड्नै लागेका तन्नेरी बा–आमाको छातिमा टासिएका देखिन्थे । केही हात समातेर विदेशिन लागेका अभिभावलाई छाडिरहेका थिएनन् ।

    र्‍यापीड पीसीआरका लागि नमुना दिनेहरु र रिपोर्ट लिनेहरुको भद्रगोल भीडमा एकाएक देखापर्छन् पर्यटनमन्त्री प्रेमबहादुर आले । उनी त्यहाँ प्रहरीलाई जानकारी नदिई केही संचारकर्मीसहित छड्केमा पुगेका थिए । मन्त्री गाडीबाट ओर्लिनेबित्तिकै र्‍यापीड पीसीआर गरिसकेका दुई जना युवाको हातबाट बिल लिन्छन् । ‘कति तिर्नुभयो ?’ ती युवाहरुले मन्त्रीलाई भन्छन् ‘दुई हजार रुपैयाँ ’ पार्किङको अर्को ठाउँमा अर्को समूहलाई उनी सोध्छन् । उनीहरुले पनि पर्यटनमन्त्री आलेलाई ‘दुई हजार रुपैयाँ तिर्‍यौं । पीसीआर गराउन साहै कष्ट र महँगो भयो !’ भन्छन् ।

    त्यही भिडबाट रुकुमका झुपकुमार मल्लले मन्त्री छड्केमा आएको थाहा पाएपछि गुनासो राखे । ‘कसैले यता भन्छ, कसैले उता भन्छ । सर हामीलाई यहाँ लुट्ने काम भइरहेको छ । दुख पाइयो,’ यात्रुहरुका कुरा सुनेपछि आलेले भने, ‘मैले वैदेशिक रोजगारमा जानेहरुबाट धेरै गुनासो सुनेर आएको हुँ । बाहिर १ हजारदेखि १२ सयमा हुने काम यहाँ २ हजारमा हुनु भनेको ठगी हो । म यसलाई समाधान गर्छु ।’

    ५ दिनअघि मात्रै नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका राजकुमार क्षत्रीलाई पनि साथै लिई पुगेका उनले यात्रुहरुलाई देखाउँदै र उनीहरुकै बीचमा त्यहाँका ल्याबहरुको मूल्य अनुगमन गरी तत्काल ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिए । ‘डीजी’साप पीसीआरमा भइरहेको लुट तुरुन्त बन्द गराउनुहोस् । आइतबारबाट १ हजारदेखि १२ सय रुपैयाँ कायम गराउनुहोस् । जुन ल्याबले मान्दैन कारबाही गर्नुहोस् ।’

    क्षत्रीले मन्त्रीको निर्देशनअनुसार आइतबारदेखि ल्याबमा भइरहेको जाचको अनुगमन गरी मूल्य घटाउने बताए । उनले विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीलाई आइतबार नयाँ मूल्य लागू गर्न पत्र पठाउने बताए । हाल काठमाडौंबाट दुबईका लागि हुने उडानमा नेपाली तथा विदेशी वायुसेवाहरुले उड्नुभन्दा २ देखि ६ घन्टाअघिसम्मको आरटी–पीसीआर जाँच गरेको रिपोर्ट अनिवार्य माग्छन् । त्यस्तै नेपाल वायुसेवा निगमले हङकङको उडानमा ६ घन्टा अगावैको आरटी–पीसीआर नेगेटिभ अनिवार्य गरेको छ । कोरोना संक्रमण कायमै रहेकाले विभिन्‍न मुलुकहरुले कोरोना जाँच र खोप लगाएको प्रमाणलाई यात्रामा अनिवार्य गरेका छन् । विमानस्थलमा नियमन नहुँदा प्रयोगशालाहरुले महँगो शुल्क लिई परीक्षण गर्दै आएका छन् ।

    आले यसअघि कात्तिक १ गते आन्तरिक विमानस्थलको निरीक्षणमा पुगेका थिए ।

    Posted in अर्थLeave a Comment on ‘डीजी साप, पीसीआरको लुट तुरुन्त बन्द गराउनुहोस्’

    पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

  • १३ कार्तिक २०७८, शनिबार १०:३४ मा प्रकाशित
  • काठमाडौं,

    पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

    नेपाल आयल निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

    आयल निगमका अनुसार पेट्रोल र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढेको छ । यस्तै आन्तरिक तथा बाह्य हवाई ईन्धनको मूल्य प्रतिलिटर १० रुपैयाँले बढेको छ ।

    Posted in अर्थLeave a Comment on पेट्रोलियम पदार्थको मूल्यमा बृद्धि

    सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

  • ११ कार्तिक २०७८, बिहीबार ११:४२ मा प्रकाशित
  • डाेटी – बाढी पहिरोका कारण ठाउँ ठाउँमा सडक बन्द हुँदा सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव हुन थालेको छ । औषधिको अभाव हुँदा अतिआवश्यक  उपचार सेवासमेत प्रभावित हुन थालेको छ ।

    एक हप्ता अगाडिको बाढीपहिराेले राजमार्ग तथा ठाउँठाउँका सडक बन्द हुँदा बझाङ, बाजुरा, बैतडी र अछाम लगायत जिल्लामा औषधिको अभाव हुन थालेको हो । 

    सडक बन्द हुँदा एक हप्तासम्म निकै सास्ती भोगेको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताउनुभयो । 

    उहाँकाअनुसार गएको १ गतेदेखि ६ गतेसम्म ढुवानी ठप्प हुँदा सुदूरपश्चिमका प्रायजसो सबै ग्रामीण क्षेत्रमा औषधिको अभाव भएकाे थियो । तर, अहिले केही ठाउँमा सडक खुल्न थालेकाले खुलेका ठाउँमा ढुवानी गर्न थालिएको छ । 

    बन्द भएका केही सडक खुले पनि अझै धेरै सडक ठप्प छन् । यसले गर्दा ग्रामीण क्षेत्रमा अझै औषधिको अभाव हुने देखिएको छ ।

    अहिलेसम्म जसोतसो काम चलाइरहेको भए पनि तत्काल ढुवानी नभएमा अवस्था गाह्राे हुन सक्ने जिल्ला अस्पताल बझाङका सूचना अधिकारी गंगाप्रसाद जोशीले बताउनुभयो । उहाँकाअनुसार सडक बन्द  हुँदा इन्धन आपूर्ति समेत रोकिएको छ । यसले गर्दा भिडियो एक्सरे, अक्सिजन प्लान्ट र कोरोनाको पीसीआर परीक्षण पनि बन्द भएको छ । यस्तै यातायात बन्द भएका कारण रेफर गर्नुपर्ने बिरामी बढी समस्यामा परेका छन् । 

    सडक बन्द हुँदा एक ठाउँबाट उपचारका लागि उनीहरु अर्को ठाउँमा जान पाएका छैनन् । यस्तै, जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले सडक बन्द  भएपछि केही  दिनयता औषधिको अभाव भएको बताउनुभएको छ । 

    Posted in अर्थLeave a Comment on सुदूरपश्चिमका पहाडी जिल्लामा औषधिको अभाव

    तीन दिन भित्र धानबालीको क्षति एकिन गर्ने

  • ५ कार्तिक २०७८, शुक्रबार १५:२६ मा प्रकाशित
  • घोराही
    ५-कार्तिक/ जिल्ला विपद् व्यवस्थापन समिति दाङले पानीले धानबालीमा पुर्‍याएको क्षतिको विवरण तीन दिन भित्र पारिवारीक संख्या सहित संकलन गर्न कृषि ज्ञान केन्द्रलाई जिम्मा दिएको छ । समितिको आज जिल्ला प्रशासन कार्यालयमा बसेको बैठकले असोज ३१ गते देखी कार्तिक ३ गते सम्म परेको अविरल बर्षाका कारण धानबालीमा ठूलो नोक्सानी भएको भन्दै तीन दिन भित्र पारिवारीक संख्या सहित क्षतिको विबरण संकलन गर्न केन्द्रलाई जिम्मा दिएको हो ।

    समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले जिल्लाका सबै स्थानिय तहका कृषि शाखाहरु सँग समन्वय गरेर पारिवारीक संख्या सहित क्षतिको एकिन गर्ने निर्णय भएको हो । कृषि ज्ञान केन्द्रका सूचना अधिकारी रुद्रमणि पौडेलले प्रस्तुत गरेको क्षतिको विवरण अनुसार धान उत्पादनमा साढे १६ प्रतिशत क्षति भएको अनुमान बैठकले गरेको छ । अब क्षतिको विवरणहरु संकलन भैसकेपछि राहतका लागि संघ, प्रदेश र स्थानिय सरकारलाई सिफारिस गर्ने निर्णय भएको छ ।

    दाङमा करिब १८ हजार विगाह जग्गामा लगाएको धानबाली नष्ट भएको अनुमान रहेको ज्ञान केन्द्रका सूचना अधिकारी पौडेलले जानकारी दिए । अहिलेसम्म दाङको बंगलाचुलीबाहेक नौवटा स्थानीय तहका कृषि शाखाले प्रारम्भिक विवरण संकलन गरेर ज्ञान केन्द्रमा पठाएका छन् । त्यही विवरणअनुसार घोराहीमा पाँच सय ९१ विगाह र तुलसीपुरमा आठ सय ८६ विगाह जग्गामा काटेर राखिएको धान नष्ट भएको छ ।

    त्यसैगरी, लमहीमा एक हजार नौ सय ५७ बिगाह, बबईमा चार सय ४३ विगाह, दंगीशरणमा सात सय ३९ विगाह, राजपुरमा आठ सय ८६ विगाह, राप्तीमा चार सय ८० विगाह, गढवामा छ सय ८० विगाह र शान्तिनगरमा चार सय ४३ विगाह क्षेत्रफलमा काटेर राखेको धान भिजेको सूचना अधिकारी पौडेलले जानकारी दिए । पानीले एक लाख ४४ हजार तीन सय क्वीन्टल धान भिजाएको अनुमान छ ।

    सरदर सरकारी मूल्यलाई आधार मान्ने हो भने दाङमा वर्षाले ३९ करोड ६८ लाख २५ हजार रुपैयाँको धान नष्ट गरेको छ । एक क्वीन्टल धानको मूल्य दुई हजार सात सय ५० रुपैयाँ कायम छ ।

    तुल्सिपुर अनलाईन बाट

    Posted in अर्थLeave a Comment on तीन दिन भित्र धानबालीको क्षति एकिन गर्ने

    कुशीनगर खुलिसक्यो, गौतम बुद्ध विमानस्थल कहिले ?

  • ५ कार्तिक २०७८, शुक्रबार १२:२९ मा प्रकाशित
  • २०७१ माघ १ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल शिलान्यास गर्दा भारतको कुशीनगरमा निर्माणको सुरसार पनि थिएन

    तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले २०७१ माघ १ मा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना शिलान्यास गर्दा यहाँबाट नजिकै भारतको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको सुरसार थिएन ।

    बुद्ध धर्मावलम्बीलाई लक्ष्य गरेर भैरहवाबाट करिब २ सय किमि दूरीमा रहेको कुशीनगरमा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । तर चार वर्षअघि निर्माण सकिनुपर्ने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कहिलेदेखि सञ्चालनमा आउने हो, कुनै टुंगो छैन । यहाँ आयोजनाको म्याद थप गरेर लम्ब्याउने काम भइरहेको छ । बौद्ध धर्मावलम्बी सीधै बुद्ध जन्मस्थल लुम्बिनी भित्र्याउन विमानस्थल निर्माण थालिएको हो । त्यो सपना कहिले पूरा हुन्छ, ठेगान छैन ।

    चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन र सहठेकेदारबीच विवाद, भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन हुँदै कोभिड संक्रमणले गौतम बुद्ध विमानस्थल आयोजना निर्माण पर धकेलिँदै आएको हो । आयोजना अहिले सातौं पटकको म्याद थपको पर्खाइमा छ । परीक्षण उडान (क्यालिब्रेसन फ्लाइट) को तयारीमा पुगेको विमानस्थल दोस्रो चरणको कोभिड संक्रमण र लकडाउनले फेरि पछाडि धकेलिएको आयोजनाको दाबी छ । यहाँ निर्माण पूरा भएका संरचना खेर जाने अवस्था सिर्जना भएको छ । परीक्षण उडान कहिले हुने भन्ने निश्चित हुन सकेको छैन ।

    सानातिना र परीक्षण उडानका क्रममा परिवर्तन हुन सक्ने सामान्य निर्माण कार्यबाहेक अन्य ठूला निर्माण र संरचना तयार रहेको विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीले बताए । ‘यो आयोजना अब क्यालिब्रेसन फ्लाइटमै केन्द्रित छ,’ उनले भने, ‘परीक्षण उडान भएर विमानस्थल सञ्चालनयोग्य हुने समयसम्म बाँकी निर्माण सकिनेछ ।’

    क्यालिब्रेसन फ्लाइट भएपछि अन्तर्राष्ट्रिय मापदण्डअनुरूप करिब तीन महिना सञ्चालनका लागि समय लाग्छ । त्यो अवधिसम्ममा गर्नुपर्ने बाँकी सबै निर्माण सकिनेछ । टर्मिनल भवनको फिनिसिङ, फर्निचर राख्ने, काउन्टर राख्ने काम जारी छन् । दोस्रो चरणको लकडाउनअघि आयोजना स्थलमा धमाधम उपकरण जडानका काम जारी थिए । गत वैशाख पहिलो सातामै मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेसम्बन्धी महत्त्वपूर्ण उपकरण जडान भइसकेका थिए । आयोजना अन्तिम चरणमा पुगेको थियो ।

    विमानलाई सुरक्षित ढंगले उडान र अवतरण गर्न जडित उपकरण ठीक भए/नभएको र ती उपकरणले सही काम गरे/नगरेकोबारे विशेष विमान ल्याएर परीक्षण उडान गर्ने अवस्थामा पुगेका बेला दोस्रो चरणको लकडाउनले आयोजनालाई फेरि प्रभावित बनाएको हो । आयोजनाको मौसम, सञ्चार र विमानको दिशा पत्ता लगाउनेलगायत निर्माणलाई आईसीबी टूअन्तर्गत व्यवस्थापन गरिएको छ । आईसीबी टूअन्तर्गतको उपकरण जडान सकिएको र परीक्षण उडानका लागि आन्तरिक तयारी भइरहेको आईसीबी टूका व्यवस्थापक तथा राष्ट्रिय गौरव आयोजनाका उपनिर्देशक प्रवीण न्यौपानेले जानकारी दिए ।

    परीक्षण उडानका लागि आवश्यक विशेष विमान ल्याउने काम आईसीबी टूको ठेक्का पाएको थाइल्यान्डको एरो थाई कम्पनीको हो । तर कोभिडका कारण देखाउँदै उसले समयमै विशेष विमान र प्राविधिक आयोजना स्थलमा ल्याउन चासो नदिँदा विमानस्थल सञ्चालनमा ढिलाइ भएको हो । कोभिड संक्रमण विश्वव्यापी रूपमा फैलिन सुरु भएको डेढ वर्षअघिदेखि नै विदेशीे प्राविधिक र सबै उपकरण आउन नसक्दा आयोजनाको उपकरण जडान अवरुद्ध हुन पुगेको थियो । क्यालिब्रेसन फ्लाइटका लागि विशेष विमान ल्याउन सम्झौता गरिएको थाइल्यान्डको एरो थाई कम्पनीले कोरोना संक्रमणको कारण देखाउँदै आउँदो नोभेम्बरसम्म आफू आउन नसक्ने जानकारी गराएपछि प्राधिकरणले त्यसको विकल्प खोजेको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षत्रीले बताए ।

    क्यालिब्रेसन फ्लाइटका लागि भारतको ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ सँग सम्झौताको तयारी गरिएको उनको भनाइ छ । ‘प्राधिकरणका निमित्त महानिर्देशक पदमा म आउनासाथ पहिलो बोर्ड बैठकमै क्यालिब्रेसन फ्लाइटको एजेन्डामाथि छलफल गरेका छौं,’ क्षत्रीले भने, ‘त्यो बैठकले परीक्षण उडानका लागि ‘एयरपोर्ट अर्थरिटी अफ इन्डिया’ बाट विमान ल्याउने लगभग निर्णय भइसकेको छ । त्यसलाई हस्ताक्षर गरेर आधिकारिकता दिन मात्र बाँकी छ ।’

    बोर्ड बैठकको उक्त निर्णयले आधिकारिकता पाउनासाथ साता/दस दिनभित्र एयरपोर्ट अर्थरिटी अफ इन्डियासँग सम्झौता गरिनेछ । सम्झौता गरेको सबै कुरा मिलेको ३०/४० दिनभित्र उसले परीक्षण उडान टुंग्याउनेछ । ‘परीक्षण उडान सकिनासाथ हामी गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको आन्तरिक गृहकार्यमा जुट्नेछौं,’ क्षत्रीले भने, ‘त्यसपछि कुन कुन एयरलाइन्सले कति उडान सञ्चालन गर्ने भनेर उडान तालिकाका लागि अनुरोध गरिनेछ ।’ आयोजनाको भौतिक प्रगति करिब ९७ प्रतिशत छ । कान्तिपुर पत्रिका बाट

    Posted in अर्थLeave a Comment on कुशीनगर खुलिसक्यो, गौतम बुद्ध विमानस्थल कहिले ?

    एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब कर तथा महसुल

  • ४ कार्तिक २०७८, बिहीबार १६:४४ मा प्रकाशित

  • ४ कात्तिक, काठमाडौं । गत आर्थिक वर्ष २०७७/७८ मा धेरै कर तिर्ने दूरसञ्चार कम्पनीमा एनसेल एजिएटा पहिलो नम्बरमा परेको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले गत वर्ष सरकारलाई विभिन्न कर र महसुल शीर्षकहरु अन्तर्गत झण्डै २७ अर्ब रुपैयाँ तिरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको गत आवको प्रतिवेदन अनुसार, एनसेलले दूरसञ्चार सेवा शुल्क, मूल्य अभिवृद्धि कर, रोयल्टी अन्य कर तथा महशुल र फ्रिक्वेसी शुल्क अन्तर्गत यो रकम तिरेको हो ।

    एनसेलले दूरसञ्चार सेवा शुल्क वापत ४ अर्ब ६९ करोड रुपैयाँ, मूल्य अभिवृद्धि कर अर्थात भ्याट वापत ५ अर्ब ५१ करोड, रोयल्टी २ अर्ब २१ करोड, अन्य कर र महसुल अन्तर्गत १२ अर्ब ९६ करोड रुपैयाँ र फ्रिक्वेन्सी शुल्क वापत १ अर्ब ५९ करोड रुपैयाँ सरकारलाई बुझाएको नेपाल दूरसञ्चार प्राधिकरणको उक्त प्रतिवेदनमा उल्लेख छ । यो सबै जोड्दा एनसेलले भुक्तानी गरेको रकम कुल २६ अर्ब ९६ करोड हुन्छ ।

    सरकारी स्वामित्वको नेपाल टेलिकमले भने सोही आवमा विभिन्न कर र महशुल गरी जम्मा १२ अर्ब ५६ करोड रुपैयाँ सरकारलाई बुझाएको छ । टेलिकमले प्राधिकरणमा बुझाएको अपरिष्कृत विवरण अनुसार, टलिकमले दूरसञ्चार सेवा शुल्क वापत ३ अर्ब ७४ करोड रुपैयाँ, भ्याट वापत ३ अर्ब १ करोड रुपैयाँ, अन्य कर र महसुल अन्तर्गत ४ अर्ब १० करोड, स्वामित्व कर बापत ५९ लाख १३ हजार, फ्रिक्वेन्सी शुल्क १ अर्ब ७१ करोड रुपैयाँ तिरेकोे छ ।

    इन्टरनेट सेवा प्रदायक तर्फ, सबैभन्दा बढी कर तथा महशुल वर्ल्डलिङ्क कम्युनिकेसनले बुझाएको छ । वर्ल्डलिङ्कले विभिन्न शीर्षक अन्तर्गत २ अर्ब ६८ करोड रुपैयाँ सरकारलाई भुक्तानी गरेको छ । उसले दूरसञ्चार सेवा शुल्क वापत ५३ करोड रुपैयाँ, भ्याट बापत एक अर्ब २१ करोड रुपैयाँ, अन्य कर र महशुल वापत ८२ करोड ४२ लाख रुपैयाँ तथा रोयल्टी बापत ११ करोड ७२ लाख रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरणको प्रतिवेदनले उल्लेख गरेको छ ।

    सुबिसुले ८७ करोड ५२ लाख रुपैयाँ सरकारलाई बुझाउँदै दोस्रो स्थानमा रहेको छ । सुबिसुले सेवा शुल्क १२ करोड ९८ लाख रुपैयाँ, भ्याट ५४ करोड १३ लाख रुपैयाँ, रोयल्टी ५ करोड ७० लाख, अन्य कर र महशुल अन्तर्गत १४ करोड ७१ लाख रुपैयाँ भुक्तानी गरेको छ । त्यसैगरी भायनेटले सरकारलाई ४६ करोड रुपैयाँ बुझाएको प्राधिकरणले जनाएको छ । भायनेटले भ्याट बापत ६ करोड ७१ लाख रुपैयाँ, रोल्यटी रकम बापत तीन करोड २० लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत २५ करोड ४३ लाख रुपैयाँ, अन्य कर र महसुल वापत १० करोड ७० लाख रुपैयाँ गरि कुल ४६ करोड भुक्तानी गरेको उल्लेख छ ।

    यसैगरी, मोफसलको इन्टरनेट सेवा प्रदायक टेक्माइण्ड्सले सरकारलाई गत आवमा भ्याट बापत ९ करोड ९५ लाख रुपैयाँ, रोयल्टी बापत २ करोड ५५ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ४ करोड ४२ लाख रुपैयाँ, अन्य कर र महसुल बापत ५० लाख रुपैयाँ भुक्तानी गरेको छ ।

    क्लासिक टेकले सरकारलाई गत आवमा भ्याट बापत ६ करोड ३४ लाख रुपैयाँ, दूरसञ्चार सेवा शुल्क बापत ४ करोड ७९ लाख रुपैयाँ र अन्य कर र महसुल वापत ३ करोड ९ लाख रुपैयाँ भुक्तानी गरेको प्राधिकरणको उक्त प्रतिवेदनमा उल्लेख छ । नयाँ इन्टरनेट सेवा प्रदायक सिजी नेटले दूरसञ्चार सेवा शुल्कको २ लाख ९१ हजार रुपैयाँ र अन्य कर र महसुल अन्तर्गत २६ लाख ४३ हजार रुपैयाँ सरकारलाई बुझाएको प्राधिकरण सो प्रतिवेदनमा उल्लेख छ ।

    Posted in अर्थLeave a Comment on एनसेलले सरकारलाई तिर्‍यो २७ अर्ब कर तथा महसुल

    बैंकहरूले बढाए ब्याजदर, मुद्दतीमा नाघ्यो ११ प्रतिशत

  • १ कार्तिक २०७८, सोमबार १५:४६ मा प्रकाशित
  • लगानीयोग्य रकमको अभावपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाए

    अधिकांश वाणिज्य बैंकले बचत तथा मुद्दती खातामा दिने ब्याजदर बढाएका छन् ।

    लामो अवधिका लागि स्रोत सुनिश्चित गर्न मुद्दतीमा ११ प्रतिशतभन्दा बढी ब्याजदर दिने घोषणा बैंकहरुले गरेका छन्।

    आजदेखि लागू हुनेगरी बचत तथा मुद्दती खातामा ब्याजदर बढेको सूचना बैंकहरुले सार्वजनिक गरेका छन्। लगानीयोग्य रकमको अभावपछि बैंकहरुले निक्षेपमा ब्याजदर बढाएका हुन्। पछिल्ला साता कर्जा प्रवाह निक्षेपभन्दा उच्च दरले बढेको छ, जसले गर्दा लगानीयोग्य रकमको अभाव देखिएको छ।

    असोजको सुरुआती तीन सातामा वाणिज्य बैंकहरुमा ८४ अर्ब निक्षेप थपिँदा १ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको नेपाल बैंकर्स एसोसिएसनको तथ्यांक छ। असोज २२ गतेसम्म आउँदा वाणिज्य बैंकहरुको कुल निक्षेप ४२ खर्ब ५५ अर्ब पुगेको छ भने कुल कर्जा ३९ खर्ब ८३ अर्ब पुगेको छ।

    कोरोनाको असर न्यून हुँदै गएकाले कर्जाको माग अझै बढ्ने अनुमानपछि बैंकहरुले स्रोत जुटाउन निक्षेपमा ब्याजदर बढाएका हुन्।

    एनआइसी एसिया बैंकले व्यक्तिगत मुद्दतीमा सबैभन्दा धेरै ११.१० प्रतिशत ब्याज तोकेको छ। सुपर चमत्कारिक मासिक निक्षेप खातामा बैंकले ११.१० प्रतिशत ब्याजदर तोकेको छ।

    त्यस्तै १ देखि १० वर्षसम्मका लागि सर्वश्रेष्ठ मुद्दती खातामा बैंकले त्यति नै ब्याजदर तोकेको छ।

    सिभिल बैंकले व्यक्तिगत मुद्दतीमा १ वर्ष बढी अवधिका लागि १०.११ प्रतिशत ब्याजदर तोकेको छ। एनएमबिले ३ महिनाभन्दा बढी अवधिका लागि व्यक्तिगत मुद्दतीमा ९.५७ प्रतिशत ब्याजदर तोकेको छ। कुमारीले ६ महिनाभन्दा बढी अवधिको लागि व्यक्तिगत मुद्दतीमा ९.८ प्रतिशत ब्याजदर दिनेछ। सिद्धार्थले ३ महिना बढी अवधिको लागि १०.३ प्रतिशत तोकेको छ।

    Posted in अर्थLeave a Comment on बैंकहरूले बढाए ब्याजदर, मुद्दतीमा नाघ्यो ११ प्रतिशत

    विदेशमै रहदापनि अनलाईनबाटै श्रमस्वीकृति कसरी लिने।

  • ३१ आश्विन २०७८, आईतवार २२:३३ मा प्रकाशित
  • वैदेशिक रोजगारीमा रहेका कैयौं नेपाली श्रमिकहरुलाई बिदेशमै रहँदा पनि अब श्रम स्वीकृति लिन सजिलो हुने भएको छ ।‌ तर त्यसकालागि विदेश जानुभन्दा पहिले वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिदा अनिवार्य रुपमा बायोमेट्रिक दर्ता गरेको हुनुपर्दछ । त्यो भनेको यसअघि श्रमस्वीकृति लिँदा वैदेशिक रोजगार विभागमा वा श्रमकार्यालयमा तपाईंको आँखा र औंठाछापको फोटो मेसिनले स्क्यान गरेर त्यहाँको अनलाइन सिस्टममा दर्ता गरेको हुनु पर्छ ।
    त्यसो गर्नुभएको छैन भने श्रमस्वीकृति नवीकरणको लागि तपाईं नेपालनै जानुपर्ने हुन्छ यदि यसअघि बायोमेट्रिक दर्ता गरेर श्रम स्वीकृति लिनुभएको थियो भने यससँगै राखिएको दिशा निर्देशलाइ पछ्याउँदै आफ्नो श्रमस्वीकृति लिन सक्नुहुनेछ।

    Posted in अन्तर्राष्ट्रिय, अर्थ, मुख्य खबरLeave a Comment on विदेशमै रहदापनि अनलाईनबाटै श्रमस्वीकृति कसरी लिने।

    निजी एयरलाइन्सको व्यापारमा वायुसेवा निगम रमिते मात्रै

  • २८ आश्विन २०७८, बिहीबार १६:०० मा प्रकाशित
  • काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो। निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को व्यापार भने सुस्त छ। अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ। किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ।

    यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले नेपाल वायुसेवा निगमलाई सबल र प्रभावकारी बनाउने उद्घोष गरेका थिए। यही असोज २२ गते सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहणका क्रममा मन्त्री आले भन्दै थिए, “वायुसेवा निगमका जहाज घाममा सुकिरहेका छन्। जहाज घाममा सुकाएर त पैसा आउँदैन। जनताले निजी एयरलाइन्सलाई विश्वास गर्ने तर सरकारी एयरलाइन्सलाई किन अविश्वास गरे यसको समाधान खोज्न जरुरी छ।”

    पर्यटनमन्त्री आलेले देशका पहाडी सबैजसो जिल्लामा रु १० देखि १५ करोड खर्चेर विमानस्थल बनेका भए पनि साना ट्विनअटर र एटीचार जहाजको अभावले सेवा सञ्चालनमा कठिनाइ भइरहेको भन्दै आफ्नो ध्यान त्यसतर्फ केन्द्रित हुने बताए।

    पर्यटनमन्त्रीले भनेजस्तै अहिले आन्तरिक उडानमा आम्दानी गर्ने महत्वपूर्ण अवसर पनि हो। पदयात्रा र पर्यटनका लागि उपयुक्त मौसमका साथै दसैँ, तिहार र छठजस्ता पर्वले आन्तरिक उडानमा यात्रु भरिभराउ छन्। एयरलाइन्सको व्यापार बढेको छ। दसैँका लागि ७० प्रतिशतभन्दा बढी टिकट बुकिङ छ। अहिले सर्वसाधरणले सामान्य तवरले सिट पाउनै मुस्किल छ। सोर्सफोर्सका भरमा मात्रै यात्रुले हवाई टिकट पाउँछन्। आन्तरिक हवाई यात्रुको माग बढिरहँदा सरकारी लगानीको वायुसेवा निगम निरीह बनेको छ। निजीले व्यापार ओगट्ने निगम रमिते जस्तो मात्रै बनेको छ।

    विडम्बना नै मान्नुपर्छ वायुसेवा निगमसँग अहिले मात्र १८ सिट क्षमताका दुई थान जहाज छन् । ती पनि बेलाबेला बिग्रिरहन्छन्। निगमसँग भएका दुई साना र चार थान वाई १२ जहाज बिक्रीको प्रक्रियामा छ। ती जहाज विमानस्थलमै थन्किएका छन्। निगमले राजधानी काठमाडौँ बेस भएर पूर्वी पहाडी जिल्ला ताप्लेजुङ, भोजपुर र खोटाङको लामिडाँडा र थामखर्क विमानस्थलमा साना जहाजले उडान सेवा दिँदै आएको छ भने पश्चिमी पहाडी सिमीकोट, बाजुरा, हुम्लालगायत जिल्लामा उडान गर्ने गरेको छ। उसै पनि निगमको हवाई टिकटका लागि माग बढ्दो थियो झनै दसैँको समयमा टिकट पाउन मुस्किल छ। जहाजको अभाव र यात्रुको माग बढेपछि निगमलाई हैरानी छ। निगमका जहाज चढ्न सर्वसाधरणले सक्दैनन्, मन्त्री, सांसद प्रहरीका ठूला मानिसले भनेपछि मात्रै टिकट मिल्ने एक सर्वसाधरणले गुनासो पाेखे।

    निगमको टिकटका लागि निगमका उच्च अधिकारीलाई माथिल्लो स्तरबाट ठूलै दबाब खेप्नुपरेको छ। निगमका एक उच्च अधिकारीका अनुसार दसैँमा सर्वसाधरणले टिकट पाउँदैनन् पावरवालाले सोर्सफोर्स गरेर मात्रै जहाज चढ्ने अवसर पाउँछन्। हुन पनि पूर्वी पहाडी भेगका गन्तव्यमा पुग्ने एक दर्जनभन्दा बढी यात्रुले टिकटका लागि भोगेको याचनाको पीडा कम दर्दनाक छैन। निगमले जहाज नभएरै यात्रुको माग सम्बोधन गर्न नसकेको हो। “आन्तरिक उडानमा हवाई यात्रुको माग बढी छ सोही अनुसार बजार विस्तार गर्न सकिएको छैन किनकि निगमसँग जहाजै छैन,” निगमका एक निर्देशकले भने।

    अन्तरराष्ट्रिय उडान र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भूमिस्त सेवा (ग्राउन्डह्यान्डलिङ) बापतको भरमा निगमले जीविकोपार्जन गरिरहेको छ। निगमलाई धानेकै ग्राउन्डह्यान्डलिङ सेवाले हो। झण्डै ५० अर्ब आर्थिक ऋणभार बेहोरिरहेको निगमसँग अन्तरराष्ट्रिय उडानका लागि दुई थान न्यारो बडी ए ३२० र दुई थान वाइड बडी ए ३३० जहाज छन्। यी जहाज पनि कोभिड महामारीका कारण कतिपय गन्तव्यमा पुग्नसकेका छैनन्। अन्तरराष्ट्रिय हवाई उडान क्षेत्रमा निगमले करिब २० प्रतिशत व्यापार हिस्सा ओगटेको एक अधिकारीको भनाइ छ। अहिले अन्तरराष्ट्रिय उडानको भरमा मात्रै निगम चलेको छ । आन्तरिकमा मात्रै उपस्थिति रहेको छ।

    निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले जहाज अभावका कारण यात्रुको माग बढे पनि निगको उडान विस्तार गर्न नसकिएको बताए। उनले निगमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने हो भने तत्कालै जहाज थपेर गन्तव्य विस्तार गर्नुको विकल्प नरहेको उल्लेख गरे। उनले भने, “निगमले आन्तरिकतर्फ साना जहाजले हिमाली तथा पहाडी भेगका विमानस्थलमा सेवा दिइरहेको छ, जम्मा साना दुई जहाज छन् कसरी सेवा दिने त्यसैले तत्कालै जहाज थप्नुपर्छ।”

    महाप्रबन्धक पौडेलका अनुसार आन्तरिक उडानतर्फ हिमाली क्षेत्रका लागि चार थान र तराई भेगका लागि चार गरी कूल आठ थान जहाज थप्नुपर्ने हुन्छ। त्यस्तै अन्तरराष्ट्रियतर्फ पनि कम्तीमा चार थान न्यारो बडी जहाज थप्नुपर्ने आवश्यकता छ। यसै पनि समस्याग्रस्त रहेको निगममा पछिल्लो पटक निगमभित्रका कर्मचारी ट्रेड युनियनको १०४ दिन लामो आन्दोलनले झनै अस्तव्यस्त पा¥यो। लामो आन्दोलनका कारण निगमको व्यवसायमा दूरगामी असर पार्ने महत्वपूर्ण काम कारबाहीहरु प्रभावित भएको जनाइएको छ।

    निगमलाई कम्पनी मोडलमा लैजाने प्रक्रिया अघि बढाइएसँगै निगमका कर्मचारीले गत असार १८ देखि निगम केन्द्रीय कार्यालयमा धर्नालगायत कार्यक्रम गर्दै आएका थिए। पर्यटनमन्त्री आलेको पहलमा यही असोज २५ गतेदेखि आन्दोलन स्थगित गरिएको छ।

    निजी एयरलाइन्सको बिजनेस बढ्दो

    निजी एयरलाइन्सलाई यतिखेर यात्रुको माग धान्नै मुस्किल छ। दसैँ तथा नजिकिएको तिहार र छठ पर्वले व्यापार मालामाल भइरहेको छ। ठूला एयरलाइन्सको दसैँका लागि ७० प्रतिशतभन्दा बढी बुकिङ छ दसैँका लागि केही उडान सङ्ख्या थपिने बुद्ध, यती र सौर्य एयरलाइन्सले जनाएका छन्। शरद ऋतुको सफा मौसममा हिमाल डाँडापखेराको दृश्यावलोकन गर्दै सहज र सुलभ यात्राका लागि यात्रुहरु पनि लालाहित छन्।

    आन्तरिक उडानका ठूला वायुसेवा प्रदायक बुद्ध एयर, यती एयरलाइन्स, सौर्य एयर, गुण एयरलाइन्स लगायतले दसैँ बिजनेसका लागि साबिकको उडान सङ्ख्या बढाएर यात्रुको मागअनुरुप सेवा दिइरहेका छन्। बुद्ध एयरलै दैनिक १४० भन्दा बढी उडान गरिरहेको छ। दुई साना र १३ एटिआर सहित कूल १५ जहाजमार्फत दैनिक आठ हजारभन्दा बढी यात्रुलाई सेवा दिइरहेको छ। यती एयरलाइन्सले हाल पाँचवटा एटिआर–७२ विमानमार्फत विभिन्न आठवटा गन्तव्यहरुमा उडान भर्दै आएको छ।

    श्री एयरलाइन्सले पनि आफ्ना ६ जहाजमार्फत उडान सञ्चालन गरिरहेको छ। गुण एयरलाइन्सले पाँचवटा जहाज उडाइरहेको छ। आन्तरिकतर्फ १० हेलिकोप्टरसहिन १९ वायुसेवा प्रदायकले उडान भर्दै आएका छन् भने अन्तरराष्ट्रियतर्फ तीन नेपालीसहित ३० वायुसेवा प्रदायकले उडान गर्दै आएका छन्।रासस

    Posted in अर्थLeave a Comment on निजी एयरलाइन्सको व्यापारमा वायुसेवा निगम रमिते मात्रै

    एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

  • १७ आश्विन २०७८, आईतवार १८:१० मा प्रकाशित
  • १७ असोज, काठमाडौं । एक महिनाको अवधिमा करीब १० हजार पर्यटक नेपाल भ्रमणमा आएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार सेप्टेम्बर २०२१ मा ९ हजार ८ सय ९८ जना पर्यटक नेपाल भ्रमणमा आएका हुन् ।
    सन् २०१९ को सेप्टेम्बरका ९२ हजार ६ सय ४ जना पर्यटक नेपाल आएका थिए । गत वर्ष २०२० मा भने यो महिनामा मात्र ५८४ जना मात्र पर्यटक आएका थिए । नेपाल पर्यटन बोर्डका अनुसार अप्रिलपछि घटेको पर्यटक आगमन ५ महिनापछि केही सुधारिएको हो । अगस्ट महिनामा ५ हजार ९ सय १७ जना पर्यटक आएको बोर्डको तथयांकमा उल्लेख छ ।
    नेपाल आएका विदेशीमध्ये सबैभन्दा बढी भारतीय छन् । भारतबाट एक महिनामा ३ हजार ५२३ जना पर्यटक नेपाल आएका छन् । अमेरिकाबाट १ हजार ८६४, बेलायतबाट ४३८ र चीनबाट २३३ जना पर्यटक नेपाल आएका छन् ।
    एक महिनाको अवधिमा सार्क मुलुकबाट ३ हजार ७३४, सार्कबाहेक एसियाली मुलुकबाट ५८५, यूरोपबाट १ हजार ७३३, अष्ट्रेलिया–न्यूजिल्याण्डबाट ८१, अमेरिकी महादेशबाट २ हजार १२५ र अन्य क्षेत्रबाट १ हजार ६४० जना पर्यटक नेपाल आएको बोर्डले जनाएको छ ।
    यो वर्ष (सन् २०२१) कुन महिनामा कति पर्यटक आए ?

    जनवरी : ८,८७४ जना

    फेब्रुअरी : ९,१४६ जना

    मार्च : १४,९७७ जना

    अप्रिल : २२,४५० जना

    मे : १,४६८ जना

    जुन : १,१४३ जना

    जुलाई : २,९९१ जना

    अगस्ट : ५,९१७ जना

    Posted in अर्थLeave a Comment on एक महिनामा करीब १० हजार पर्यटक नेपाल भित्रिए

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P