• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: राजनीति

देउवाको प्राथमिकता भारतसँग सम्बन्ध सुधार

  • १६ चैत्र २०७८, बुधबार १२:३१ मा प्रकाशित
  • प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा सीमा विवाद, ईपीजी प्रतिवेदन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, व्यापार घाटा, महाकाली नदीको तुइन प्रकरण, अपर कर्णाली ऊर्जा परियोजना, हुलाकी राजमार्गलगायत विषयमा छलफल गर्ने तयारी भइरहेको छ ।

    १६ चैत, काठमाडौं । नेपाल र भारतबीच एकआपसमा उच्चस्तरीय राजनीतिक भ्रमण नभएको आगामी वैशाखमा तीन वर्ष पुग्दैछ । सन्दर्भविना पनि बाक्लै आवतजावत भइरहने छिमेकीबीच यति लामो समयसम्म उच्चस्तरीय भ्रमण हुन नसक्नु दुई देशबीचको सम्बन्धमा सौहार्दता नभएको स्पष्ट संकेत हो । प्रधानमन्त्री शेरबहादुर देउवाले १८ देखि २० गतेसम्म गर्ने तीनदिने भ्रमणलाई सम्बन्ध सुधार गर्ने अवसरका रूपमा सदुपयोग गर्ने भएका छन् ।

    नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत प्रधानमन्त्रीको भ्रमण एकअर्काको कुरा सुन्ने र बुझ्ने अवसरका रूपमा लिइने बताउँछन् । ‘नेपाल र भारतबीच छलफल गर्नुपर्ने विषयहरू तमाम छन् । ती सबै विषयमा पनि छलफल होला,’ पूर्व परराष्ट्रमन्त्रीसमेत रहेका महतले भने, ‘तर, मुख्यतः केही समययता देखिएको दुई देशबीचका अप्ठ्याराहरूलाई चिर्ने र सौहार्दता कायम गर्ने विषय नै मुख्य हुनेछ ।’

    त्यस्तै परराष्ट्रविद गेजा शर्मा वाग्ले भारतसँग उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण वार्ता र संवादको ढोका खोल्नु देउवाको पहिलो प्राथमिकता हुने बताउँछन् । ‘नेपाल–भारत सम्बन्ध सुधार गरी उच्चस्तरीय राजनीतिक तथा कूटनीतिक संवादको माध्यमद्वारा सबै विवादित विषयहरू समाधान गर्न भारतलाई सहमत गराउनु प्रधानमन्त्रीको आसन्न भ्रमणको प्रमुख कार्यसूची हुनेछ,’ वाग्ले भन्छन्, ‘त्यसैले उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण वार्ता र संवादको ढोका खोल्नु देउवाको पहिलो प्राथमिकता हुनेछ ।’उच्चस्तरीय भ्रमणको लामो अन्तराल र देउवा प्रधानमन्त्री भएको आठ महिनापछि हुन लागेको यो भ्रमण दुई देशबीच उत्पन्न विभिन्न विवादित विषयको समाधान खोज्ने र खलबलिएको सम्बन्ध सुधार गर्ने महत्वपूर्ण अवसर हो । देउवा प्रधानमन्त्री भएको करिब आठ महिनापछि यो भ्रमण तय भएको छ । ७ जेठको मध्यरातमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक गरेको संसद विघटनलाई खारेज गर्दै सर्वोच्च अदालतले दिएको आदेशअनुसार देउवा २९ असारमा प्रधानमन्त्री बनेका थिए । तर ३ साउनमा संसदबाट विश्वासको मत लिएपछि मात्र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका थिए । त्यसलगत्तै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जाने आंकलन गरिएको थियो । गुजरात समिटका लागि तय भएको भ्रमण पनि भारतमा कोरोना महामारी बढेका कारण स्थगित भएको थियो ।घोषणा भइसकेको स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा भ्रमण तय गरेका प्रधानमन्त्री देउवाले यसपटक भारतसँग लेनदेनलाई भन्दा पनि सम्बन्धलाई हार्दिक बनाउने मनस्थिति बनाएका छन् । प्रधानमन्त्री देउवाको भ्रमण तयारीबारे जानकार परराष्ट्रविद् दिनेश भट्टराई मुख्य गरी द्वीपक्षीय सम्बन्ध सुधारलाई प्राथमिकतामा राखिएको बताउँछन् । ‘सम्बन्ध सुधार नै प्रधानमन्त्री देउवाको भारत भ्रमणको मुख्य उद्देश्य हो,’ भट्टराईले भने, ‘एक प्रकारले यो प्रधानमन्त्री भएपछिको पहिलो र नियमित भ्रमण हो । भ्रमणमा विशेष गरी दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनुपर्छ भन्नेमा बढी जोड रहेको छ ।’

    प्रधानमन्त्री देउवाको भ्रमण सुरु हुन दुई दिन मात्रै बाँकी रहँदा पनि उच्चस्तरीय राजनीतिक भेटघाटमा हुने छलफलका एजेन्डा अझै टुंगिएका छैनन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्री देउवाको भारत भ्रमणको तयारीबारे जानकारी दिँदै ‘एजेन्डाबारे छलफल चलिरहेको’ बताइन् । ‘भ्रमणमा छलफल हुने एजेन्डाका विषयमा छलफल जारी छ, अहिले नै केही भन्न सक्ने अवस्था छैन,’ उनले भनिन् ।

    भ्रमणका बेला प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच चैत १९ गते द्विपक्षीय वार्ता हुनेछ । देउवाले भ्रमणमा राष्ट्रियहितका आधारमा सीमा विवाद, इपीजी प्रतिवेदन, पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, व्यापार घाटा, महाकाली नदीको तुइन प्रकरण, अपर कर्णाली ऊर्जा परियोजना, हुलाकी राजमार्गलगायत विषयमा छलफल गर्ने तयारी भइरहेको छ । परराष्ट्र मन्त्रालय स्रोतका अनुसार विभिन्न मन्त्रालयबीच छलफल गर्ने र एजेन्डा तय गर्ने कार्य भइरहेको छ ।

    भारत भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले १९ चैतमै भारतका उपराष्ट्रपतिसँग शिष्टाचार भेट गर्नेछन् । भारतका विदेशमन्त्री एस। जयशंकर र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालले प्रधानमन्त्री देउवासँग शिष्टाचार भेट गर्नेछन् ।

    तीन वर्षपछि उच्च राजनीतिक भ्रमण

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ०७५ सालको वैशाख २८ मा नेपालको दुई दिने भ्रमणमा आएका थिए । मोदीको उक्त भ्रमण तत्कालीन प्रधानमन्त्री ओली भारतबाट फर्किएको करिब एक महिनापछि भएको थियो । त्यो मोदीको प्रधानमन्त्रीकालमा भएको तेस्रो नेपाल भ्रमण थियो । नेपालबाट भने सरकार परिवर्तन भएसँगै अधिकांश नयाँ प्रधानमन्त्री भारत भ्रमणमा पटक–पटक गइरहन्थे

    संविधान बनेपछि सम्पन्न ०७४ सालको आम निर्वाचनपछि ३ फागुनमा प्रधानमन्त्री नियुक्त भएका ओली २३ चैतमा तीनदिने भ्रमणमा भारत गएका थिए । उनकै निम्तो मानेर त्यसको एक महिनापछि मोदी नेपाल आए । तर, त्यसपछि दुवै तर्फबाट प्रयासहरू भएपनि उच्चस्तरीय राजनीतिक भ्रमण भने हुन सकेनन् ।

    त्यसबीचमा नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)भित्र विवाद बढेपछि तत्कालीन प्रधानमन्त्री ओलीले आधारभूत कूटनीतिक प्रोटोकललाई समेत बेवास्ता गर्दै केही भेट गरेका थिए । उनले ‘रअ’ का प्रमुख सामन्त गोयलसँग प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नै भेट गरेको सार्वजनिक भएको थियो । त्यसको केही समयपछि भारतीय प्रधानमन्त्री मोदीका दूतका रूपमा नेपाल आएका भारतीय जनता पार्टीका नेता विजय चौथावालसँग पनि ओलीले भेट गरेका थिए । दुई देशबीच विवाद चलिरहेको अवस्थामा रहस्यमय र अपारदर्शीरूपमा खुफिया एजेन्सीका प्रमुख र नेतालाई भेटेको भन्दै ओलीको व्यापक आलोचना भएको थियो ।

    परराष्ट्रविद् वाग्लेको भाषामा यो अवधि ‘दुई देशबीचको सौहार्दपूर्ण सम्बन्ध र संवादमा उत्पन्न गतिरोध’ थियो । त्यसपछि हुन लागेको यो नेपालका प्रधानमन्त्रीको पहिलो नयाँदिल्ली भ्रमण हो । प्रधानमन्त्री देउवाको आसन्न भारत भ्रमणले दुई देशबीच उत्पन्न यही गतिरोध अन्त्य गर्ने विश्वास व्यक्त गर्छन् वाग्ले । ‘भ्रमणमा देउवाले उच्च कूटनीतिक कुशलतापूर्वक विद्यमान चुनौतीलाई अवसरमा रूपान्तरण गर्न सक्नुपर्छ,’ वाग्ले भन्छन्, ‘नेपालका कुनै पनि प्रधानमन्त्री विदेश भ्रमण जाँदा ‘शपिङ लिस्ट’ बोकेर जाने र कति परियोजनामा हस्ताक्षर भए वा कति आर्थिक सहयोग हासिल भयो भनी नेपालमा गणितीय आधारमा मूल्यांकन गर्ने प्रवृत्ति छ । हरेक विदेश भ्रमणहरू चुनौतीपूर्ण र विवादित हुने गरेको कटु यथार्थलाई आत्मसात गरी देउवाले भ्रमणका कार्यसूची तय गर्नु श्रेयष्कर हुनेछ ।’ उनी देउवाको नयाँ दिल्ली भ्रमण ओलीको पालामा बिग्रिएको सम्बन्ध सुधार गर्नुपर्ने अवसरसँगै चुनौतीसमेत भएको बताउँछन् ।

    चीनका लागि पूर्व राजदूत टंक कार्की प्रधानमन्त्री देउवाको भारत भ्रमण अहिलेको बदलिंदो विश्व परिस्थितिमा छिमेकी मुलुकसँगको सम्बन्धलाई ‘वार्मअप’ गर्ने महत्वपूर्ण अवसरका रूपमा लिनुपर्ने बताउँछन् । ‘भारतसँग केही समययता सम्बन्धमा अलिकति खटपटजस्तो देखिएको छ । पछिल्लो समयको युक्रेन संकटपछि विश्व परिस्थति बदलिरहेको अवस्था छ । यस्तोबेला छिमेकीसँगको सम्बन्धलाई सुमधुर बनाउने कुरामा हामीले ध्यान दिनुपर्छ,’ कार्की भन्छन्, ‘भारतसँग हाम्रा सीमादेखि लिएर विभिन्न परियोजनाहरूका विषयमा समस्याहरू छन् । ती विषयमा पनि छलफल गर्नुपर्छ । तर, त्यससँगै सम्बन्धलाई पनि ध्यान दिनुपर्छ ।’

    नक्सा प्रकरणपछि सम्बन्धमा खटपट

    नेपाल र भारतबीच उच्चस्तरीय राजनीतिक भ्रमण र संवाद हुन नसक्नुको कारणका रूपमा कोरोना महामारीलाई देखाउने गरिएको छ । तर, नेपालको भूभागलाई समावेश गरेर भारतले नक्सा प्रकाशन गरेपछि दुई देशबीच उत्पन्न विवाद मत्थर हुन नसक्नु यसको मुख्य कारण थियो । भारतले १६ कात्तिक २०७६ मा पाकिस्तानसँगको विवादित क्षेत्र जम्मु, कश्मीर र लद्दाखलाई विभाजित भएको देखाउन नयाँ नक्सा जारी गरेको थियो । सोही नक्सामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई औपचारिक रूपमा भारतले आफ्नो भूमिका रुपमा समावेश गरेपछि दुई देशबीचको सम्बन्धमा दरार उत्पन्न भएको थियो । भारतको उक्त कदमको नेपालमा विरोध भएपछि तत्कालीन प्रधानमन्त्री ओलीको पालामा सर्वदलीय सहमतिमा संविधान संशोधनमार्फत उक्त क्षेत्रलाई समेटेर नेपालले पनि नयाँ नक्सा जारी गर्यो ।

    नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर नयाँ नक्सा जारी गरेपछि असन्तुष्ट बनेको भारत सौहार्दपूर्ण संवादमा आउन चाहेन । बरु नेपालको परराष्ट्र मन्त्रालय र विभिन्न च्यानलबाट पठाएका पत्र र कूटनीतिक नोटहरूको बेवास्ता गर्दै आयो । विवादित नक्सा प्रकाशन प्रकरणपछि ओली सरकारको कार्यकालमा उच्च राजनीतिक तथा कूटनीतिक तहमा सौहार्दपूर्ण संवाद करिब बन्दजस्तै भएको थियो ।

    उसो त यसअघि पनि दुई देशबीच उच्चस्तरमा संवाद नै नभएको भने होइन । बेलायतको ग्लास्गोमा गत कात्तिकमा आयोजित संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी संरचना महासन्धिका पक्ष राष्ट्रहरुको २६ औं सम्मेलन ९कोप–२६० मा सहभागी हुन गएकाबेला प्रधानमन्त्री देउवा र मोदीबीच साइडलाइन वार्ता भएको थियो । देउवा र मोदीबीच भएको उक्त भेटवार्ता भएपछि उच्च राजनीतिक तहको संवादमा बल्ल ‘आइसब्रेक’ भएको थियो ।

    सीमामा समस्या 

    भारतले आफ्नो रवाफ भने छाडेको छैन ।  मोदीले गएको पुस १५ मा मात्रै लिपुलेकमा सडक विस्तार गर्ने घोषणा गरेका थिए । पहिलोपटक उत्पन्न नेपालसँगको सीमा विवाद समाधानका लागि संवादलाई बेवास्ता गरेका मोदीले दोस्रोपटक सडक विस्तारको कार्य अगाडि बढाएका थिए । यसबारे नेपालमा विरोध भइरहेको छ । सडक विस्तारबारे छलफल गर्न नेपालले पटकपटक उच्चस्तरीय राजनीतिक बैठक बस्न भारतलाई आग्रह गरेपनि भारतले चासो देखाएको छैन ।

    त्यस्तै एकअर्काको सहमतिविना सीमा नदीको बहाव प्रभावित हुने संरचना निर्माण गर्न पाइँदैन । तर, भारतले दार्चुला सदरमुकाम नजिकै एकतर्फी पक्की तटबन्ध बनाएपछि स्थानीयस्तरमा विवाद भइरहेको छ ।

    यो विषयमा स्थानीयले लगातार गुनासो गर्दा पनि सरकारले भारतसँग संवादको पहल नगर्दा केही दिनअघि मात्रै निर्माण कार्यमा प्रयोग भइरहेको डोजरमाथि ढुंगामुढा भएको थियो । औपचारिक जानकारी नदिइकनै भारतले दार्चुला सदरमुकाम पारि महाकाली किनारमा पाँच किलोमिटर लामो तटबन्ध बनाइरहेको नेपाली पक्षको भनाइ छ ।

    Posted in राजनीतिLeave a Comment on देउवाको प्राथमिकता भारतसँग सम्बन्ध सुधार

    लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ घिमिरेलाई ज्यान मार्ने धम्की

  • १५ चैत्र २०७८, मंगलवार १७:३४ मा प्रकाशित
  • रुपन्देही । सोमबार राजीनामा बुझाएका लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।

    मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले ७ अर्बको लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रियामा मिलेमतोको पुष्टि गर्दै पदबाट राजीनामा दिएका घिमिरेले आफूलाई ज्यान मार्नेसम्मको धम्की आएको बताएका हुन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै सरकारले डेढ सय करोडभन्दा बढी राष्ट्रलाई घाटा पुर्‍याउने गरी ठेक्का प्रक्रिया अगाडि बढाएको समाचार सार्वजनिक भएपछि यो विषय बाहिर आएको हो ।

    मुख्यमन्त्री कुलप्रसाद केसीको विशेष प्रस्तावमा सिइओ बनेका घिमिरेले उनकै प्रस्तावमा आइतबार मात्र प्रदेश स्थायी राजधानीको गुरुयोजना बुझाएका थिए ।

    उनले प्राधिकरणको सिइओबाट राजीनामा मात्र दिएका छैनन् ०५६ सालदेखि आबद्ध रहेको नेकपा माओवादी पार्टीबाट समेत अलग भएको घोषणा गरेका छन् ।

    उनले भने, ‘कुरा १ सय ५० करोडको छ आफै बुझ्नुस् बाँचिएछ भने भेटेर सबै कुरा भन्नेछु । बाँचिएछ भने भेटेर अनियमितताका थप तथ्य सार्वजनिक गरौँला म असुरक्षित छु त्यति बुझ्नुस् ।’

    तर उनले आफूलाई कसले धम्की दियो भन्ने बारे खुलाउन चाहेनन् ।

    उनले भने, ‘मैले उहाँहरूले दिएको दबाब अनुसार काम नगरेकै हो, उहाँहरूले काम गर्न दबाब दिएकै हो काम गर्न नमानेपछि कारबाही गर्छु भनेकै हो, मैले त्यही दबाब नझेल्ने भनेर राजीनामा दिएकै हो, अरू बिस्तारै खुल्दै जाला ।’

    दलालको दलाल बन्दिन भनेर राजीनामा दिएर चर्चामा आएका घिमिरेको यो विषयमा मानवअधिकारवादीहरुले यथार्थ विषय छानबिन हुनुपर्ने बताएका छन् ।

    मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय अध्यक्ष गोविन्द खनालले घिमिरेले सार्वजनिक गरेको विषयमा यथार्थ छानबिन हुनुपर्ने बताएका छन् ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणका सिइओ घिमिरेलाई ज्यान मार्ने धम्की

    सिइओको राजीनामासँगै अर्बौं चलखेलको विवादमा मुछिए लुम्बिनीका मुख्यमन्त्री

  • १५ चैत्र २०७८, मंगलवार १३:४० मा प्रकाशित
  • कारबाही गर्ने थाहा पाएपछि सिइओले राजीनामाको नाटक गरेः सरकारका प्रवक्ता शर्मा

    रुपन्देही । साउन २८ मा लुम्बिनी प्रदेशको मुख्यमन्त्री बनेका माओवादी केन्द्रका नेता कुलप्रसाद केसीले प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यकारी निर्देशकमा आफूनिकटका अनन्तराज घिमिरेलाई नियुक्त गरे । तर सोमबार साँझ घिमिरेले पदबाट राजीनामा मात्र दिएनन्, अहिलेसम्म रहेको माओवादी पार्टीबाट समेत अलग रहेको घोषणा गरेर मुख्यमन्त्री केसीलाई थप विवादमा तानेका छन् ।

    नियुक्तकै समयमा घिमिरेले तेहेरो सुविधा लिएको भन्दै विवादमा तानिएपछि उनले त्योभन्दा अगाडि मध्यपश्चिम विश्वविद्यालय तथा नेपाल विद्युत् प्राधिकरणको जिम्मेवारी छाडेर प्राधिकरणको काम गरेका थिए । कार्यविधि फेरेर गठबन्धनमै सहभागी दलहरुबीच आलोचना खेप्दै मुख्यमन्त्री केसीले उनलाई सो पदमा ल्याएका थिए ।

    त्योभन्दा अगाडिका सिइओ धु्रव मजगैयाले सर्वोच्च अदालतबाट मुद्दा जिते पनि उनलाई काम गर्ने वातावरण नै नदिएकाले उनी आफै आजीत भएर छाडेका थिए । घिमिरेको राजीनामाले मुख्यमन्त्रीलाई केसीलाई झड्का मात्र लागेको छैन, राजीनामामा उनले उठाएका केही गम्भीर प्रश्नले मुख्यमन्त्री तथा सरकारप्रति नै औंला ठडिएको छ ।

    लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवन निर्माणका लागि आह्वान गरिएको ७ अर्बको टेण्डर विवादमा आएपछि उनले राजीनामा दिएका हुन् । अस्पतालको टेन्डरमा राज्यलाई नोक्सान पर्ने गरी कार्यविधि बनाएको भन्दै ठेकेदार कम्पनीहरुले विरोध गरेपछि यो विषय बाहिरिएको थियो ।

    निर्देशक घिमिरेले आइतबार विज्ञप्ती नै जारी गर्दै राजीनामा दिएका थिए । भवन निर्माणका लागि आह्वान गरिएको ठेक्का दुई कम्पनी मात्र छनोट गर्ने गरी स्पेसिफिकेसन तयार गरेर प्रक्रियामै सेटिङ गरेको भन्दै प्रदेश पूर्वाधार विकास प्राधिकरणले टेण्डर रद्द गरेको जनाएको छ ।

    निर्माण व्यवसायीहरुले २० देखि ३० प्रतिशतसम्म घटेर काम लिनुपर्ने अवस्था रहेकोमा यो परियोजनामा मिलिमतो गरेर कम्तिमा १० प्रतिशत मात्रै चलखेल हुँदा पनि राज्यको ४५ करोड हिनामिना हुने निर्माण व्यवसायीको दाबी छ । निर्माण व्यवसायीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नै यस्तो खालको स्पेसिफिकेसन राख्न लगाएर टेण्डर निकाल्न लगाएको आरोप लगाएका छन् ।

    विवादित टेण्डरबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि उजुरी परेको छ भने उच्च अदालत दाङमा व्यवसायीहरुले मुद्दा दायर गरेका छन् । प्राधिकरणले आह्वान गरेको ठेक्कामा रमेश शर्माको निर्माण कम्पनी शर्मा र रसुवा जेभी मात्र सहभागी भएका थिए ।

    उक्त ठेक्कामा उनीहरु मत्र कसरी परे ? र निर्देशक घिमिरेले के दबाब खेपे र राजीनामाको अवस्थामा पुगे भन्ने विषय छानबिन हुनुपर्ने र यथार्थ विषय बाहिर ल्याउनुपर्ने मानव अधिकार तथा शान्ति समाजका अध्यक्ष गोविन्द खनालले सार्वजनिक आव्हान गरेका छन् ।

    ‘लुम्बिनी प्रादेशिक अस्पताल निर्माणमा सात सय करोडको ठेक्का प्रकरणमा अनियमितता भएको भन्दै प्रदेश प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतद्वारा राजीनामा गरिएको र उनले राजीनामा पत्रमा उठाएको विषयलाई गम्भीररुपमा लिन जरुरी छ । यसको गहिरो छानबिन हुनुपर्दछ । सत्यतथ्य सार्वजनिक गरिनुपर्दछ । दोषीलाई कानूनसम्मत कारबाही गर्नुपर्दछ । भ्रष्टाचारको शिलशिलालाई जरैदेखि उखेल्नु पर्दछ’, अध्यक्ष खनाले भनेको छन् ।

    निर्देशक घिमिरेले राजीनामा घोषणा गर्दै २०५६ सालदेखि आवद्ध रहेको नेकपा माओवादी केन्द्रको सम्पूर्ण जिम्मेवारीबाट विश्राम लिएको घोषणा पनि गरेकाले यो विषय थप पेचिलो बनेको हो ।

    घिमिरेले प्रमुख कार्यकारी अधिकृतको रूपमा आफूलाई नियुक्ति गरिँदा उत्साहित भएको बताउँदै यो घटनाक्रमले दलाल बन्ने अवस्थामा पुर्याएको भन्दै राजीनामा दिनुपरेको उनका शब्दले प्रादेशिक अस्पताल भवन निर्माण प्रक्रियामा अनियमितता र मिलोमतोको पुष्टि गरेका छन् ।

    लुम्बिनी प्रादेशिक अस्पतालको भवन निर्माणको ठेक्का प्रक्रियामै सरकारले डेढ अर्बभन्दा बढी राष्ट्रलाई घाटा पुर्याउने गरी ठेक्का प्रक्रिया अगाडि बढाएको समाचार सार्वजनिक भएको थियो ।

    घिमिरेले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, ‘मलाई दलालको पनि दलाल बन्ने अवस्था नआओस् भन्ने उदेश्यले राजीनामा दिएको छु ।’

    घिमिरेले प्राधिकरणको सर्वोच्च निकाय प्रदेश पूर्वाधार विकास समितिले आफूले असहमति जनाउँदा जनाउँदै पनि लुम्बिनी प्रादेशिक अस्पतालको बोलपत्र प्रकाशन गरेको र आफूले त्यो बेला नै मिलोमतोको आशंका गरेको उल्लेख गरेका छन् ।

    टेण्डरमा आर्थिक चलखेलका लागि दुई निर्माण कम्पनीबाहेक अरूले प्रतिस्पर्धा गर्नै नपाउने गरी सरकारले स्पेसिफिकेसन बनाएर ‘सेटिङ’ मिलाइएको थियो । स्पेसिफिकेसनको मापदण्डले जेआईईसी–रसुवा–शर्मा जेभीबाहेक अरु सहभागी हुन नपाउने अवस्था थियो ।

    टेन्डर पनि रमेश शर्माको जेडआईईसी–शर्मा र रसुवाका कांग्रेस सांसद मोहन आचार्यको रसुवा जेभी मात्र टेण्डरमा सहभागी भएका थिए । मुख्यमन्त्री कुलप्रसाद केसी अध्यक्ष रहेको प्रदेश पूर्वाधार विकास प्राधिकरण समितिको निर्णयअनुसार टेण्डर गरिएको थियो ।

    १० जना अट्ने लिफ्ट, २ तले अण्डरग्राउण्ड (बेसमेन्ट) निर्माणको अनुभव, ठेकदारले काम गरेको सरकारी अस्पतालको कार्य अनुभव, १ अर्ब ७५ करोडको सर्टिफिकेट लगायतका विषय राखेर अरु कम्पनीहरुलाई प्रतिस्पर्धाबाट बाहिर राख्न खोजिएको ठहर खरिद अनुगन कार्यालयले गरेको थियो ।

    कारबाही गर्ने थाहा पाएपछि सिइओले राजीनामाको नाटक गरेः सरकारका प्रवक्ता शर्मा

    लुम्बिनी प्रदेश सरकारद्धारा गठित प्रदेश पूर्वाधार विकास प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनन्तराम घिमिरेले पदको दुरुयोग गरेको निष्कर्षसहित लुम्बिनी प्रदेश सरकाले थप पदीय एवं आर्थिक अनियमिताको अनुसन्धानसँगै कारवाहीको तयारी गरिहरको बेलामा आफ्नो कमजोरीलाई छाकछोप गर्न नाटकीय ढंगबाट चोखिन पहिले नै राजनीनामा दिएको सरकारको दाबी छ ।

    घिमिरेले विभिन्न निर्माण तथा ठेक्का पक्रियामा ठेकेदारहरुसँग आर्थिक बार्गेनिङ गर्ने, आफूलाई कमिसन नआएमा निर्माणको काममा प्रभावित नै हुने गरी पदको दुरुपयोग गरेको भन्दै लुम्बिनी प्रदेश सरकारले करिब दुई महिनायता उनका हरेक क्रियाकलाप नजिकबाट अनुसन्धान गरिरहेको सरकार प्रवक्ता तिलकराम शर्माले बताए ।

    अनुसन्धानमा आफै प्राधिकरण प्रमुख नै विभिन्न व्यावसायीसँग बार्गेनिङ गर्ने, आफूलाई आर्थिक लाभ नभएमा ठेक्का समेत प्रभावित गर्ने, नैतिक आचरणहीन काम गरेकोले उनलाई कारबाहीको तयारी गरिरहेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले बताएको छ ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on सिइओको राजीनामासँगै अर्बौं चलखेलको विवादमा मुछिए लुम्बिनीका मुख्यमन्त्री

    विमानस्थलमा राजेश हमालसँग ओलीको जम्काभेट हुँदा…

  • १५ चैत्र २०७८, मंगलवार ०४:४९ मा प्रकाशित
  • काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सोमबार कपिलवस्तु जाँदै थिए। स्वतन्त्र समूहबाट निर्वाचित रहेका कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का संघीय सांसद वृजेशकुमार गुप्ता र प्रदेशसभा सदस्यहरु पार्टीमा प्रवेश गराउन काठमाडौंबाट जम्बो टोली लिएर भैरहवा उडान हुँदै कपिलवस्तुको सदरमुकाम तौलिहवामा जाने तयारीमा थिए।

    एमाले नेताहरुकाअनुसार ओलीको टिकट ११ बजेको थियो। अरु नेताहरु समयमै विमानस्थल पुग्दा जहाज डिले भएकाले ओली साढे १२ बजेपछि मात्रै विमानस्थल पुगेका थिए। विमानस्थलमा आफ्नो गन्तव्यमा जान अभिनेता राजेश हमाल पहिले नै भीआईपी रुपमा वेटिइङमा थिए। भीआईपी कक्षमा हमालसँग ओलीको जम्काभेट भइहाल्यो।

    ओलीले हमाललाई के छ हालखबर भनेर सोधिहाले। हमालसँग भलाकुसारी हुँदा सँगै थिइन् करिश्मा मानन्धर। हालै एमाले प्रवेश गरेर पार्टीका कार्यक्रममा ओलीसँगै हिँडिरहेकी मानन्धर ओली-हमाल सम्वादको प्रत्यक्षदर्शी थिइन्।

    उनीहरुबीच राजनीतिक, सामाजिक, सांस्कृतिक र कलाकारिताको विषय कुराकानी भएको मानन्धरले बताइन्। ‘उहाँ (राजेश) मेरो को-स्टार हो। भेटेर खुसी लाग्यो। अध्यक्षज्यूले विकासको कुरा, टुरिजमको कुरा, चलचित्र क्षेत्रको विकासको कुरा गर्नुभयो। सञ्चोविसञ्चो भयो,’ उनले भनिन्।

    प्रत्यक्षदर्शी नेताकाअनुसार निस्किने बेला ओली र हमालबीच उभिएरै ३/४ मिनेट जति व्यक्तिगत कुराकानी भएको थियो। दुबैबीच ठट्टासमेत भएको थियो।

    ११ बजेको फ्लाइट डिले भएर एक बजेपछि भैरहवा उडेका ओलीका साथमा मानन्धरसँगै उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायत नेता साथमा थिए। त्यसैगरी पोखरा हिँडेका स्थायी समिति सदस्य खगराज अधिकारी पनि वेटिइङमा थिए।

    Posted in कला /जीवनशैली, मुख्य खबर, राजनीतिLeave a Comment on विमानस्थलमा राजेश हमालसँग ओलीको जम्काभेट हुँदा…

    एनआरएनए विवाद : ३ अध्यक्षको निर्णयविरुद्ध घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय (पत्रसहित)

  • १३ चैत्र २०७८, आईतवार १५:५७ मा प्रकाशित
  • आधिकारिक गैरआवासीय नेपाली संघ (एनआरएनए) आफू भएको दाबी गर्दै परराष्ट्र मन्त्रालयमा शेष घले पक्ष पुगेको छ । आइतबार अध्यक्ष विनोद कुँवरको नेतृत्वमा परराष्ट्र मन्त्रालयमा पुगेर काठमाडौंको याक एण्ड यतिमा सम्पन्न महाधिवेशनबाट भएको निर्णयलाई वैधानिकता दिन माग गर्दै निवेदन दर्ता भएको हो ।

    घले समुहका अध्यक्ष द्वारा जारी परराष्ट्र लाई पत्र

    याक एण्ड यतिमा मार्च २४ तारिखका दिन एनआरएनएका प्रमुख संरक्षक शेष घलेको अगुवाइमा १० औं विश्व सम्मेलन गरेर कुँवरलाई अध्यक्ष चयन गरिएको थियो । निवेदनमा संघको विधानका केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएकाले त्यसलाई प्रमाणीकरण गर्न भनिएको छ । जबकी संस्थापनले हाल कायम विधानको व्यवस्थालाई परिवर्तन गरी संस्थामा ३ अध्यक्ष बनाउने निर्णय गरेको थियो । शनिबार ललितपुरको होटल हिमालयमा भएको विश्व सम्मेलनले संघको विधान संशोधन गरेर भविष्यमा नजिर नपर्ने गरी तीन अध्यक्ष बनाउने निर्णय गरेको थियो । त्यसका लागि उपेन्द्र महतोको नेतृत्वमा ७ सदस्यीय निर्वाचन मण्डल समेत घोषणा गरिएको थियो ।

    सो निर्णयपछि घले समूहले आफूलाई आधिकारिक दाबी गर्दै संस्थापन समूहभन्दा पहिले परराष्ट्र मन्त्रालयमा पुगेर विधानमा एकभन्दा बढी अध्यक्ष चयन गरिनु अवैध हुने ठहरसहित निवेदन दिएको हो । संस्थापनले हलबाट गरेको निर्णय परराष्ट्र मन्त्रालयबाट प्रमाणीकरण गर्नुपर्ने भएकाले सो अघि नै घले पक्ष परराष्ट्रमा पुगेर बखेडा झिकेको हो ।

    दशौँ महाधिवेशनबाट उपस्थित प्रतिनिधिहरूबाट संघको विधान, २००३ (२०२१ संशोधितसहित) को केही व्यवस्थालाई संशोधन गर्ने निर्णय भएको निवेदनमा उल्लेख छ । सोअनुसार चैत १२ गते बसेको सचिवालय बैठकबाट विधानको दफा १९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु स्वीकृतिका लागि अनुरोध गरिएको छ ।

    पत्रमा भनिएको छ, ‘उपरोक्त सम्बन्धमा गैरआवासीय नेपाली संघको सन् २२ मार्च २०२२ देखि २४ मार्च २०२२ मा काठमाडाैं, दरबारमार्गस्थित याक एण्ड यति होटलमा सम्पन्न दशौँ अन्तर्राष्ट्रिय महाधिवेशनमा उपस्थित प्रतिनिधिहरूबाट गैरआवासीय नेपाली संघको विधान, २००३ (२०२१ संशोधित सहित) को केही व्यवस्थाहरुलाई संशोधन गर्ने गरी निर्णय पारित भएको हुँदा उक्त निर्णयलाई अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको मिति २०७८।१२।१२ को बैठकबाट सम्बोधन गरी विधानको दफा २९ बमोजिम विधानको संशोधित व्यवस्थाहरु त्यहाँ मन्त्रालयबाट स्वीकृति तथा प्रमाणीकरण गर्न हार्दिक अनुरोध गर्दछु ।’

    सचिवालयको तर्फबाट घले समूहले दर्ता लगायत सम्पूर्ण कार्य गर्न अधिवक्ता आशिष उप्रेतीलाई अख्तियारी दिएको दिएको छ । संस्थापन पक्षको शनिबारदेखि सुरु भएको १० औं सम्मेलन आइतबार नयाँ नेतृत्व चयन गर्दै सम्पन्न गर्दैछ । आइतबारको निर्णयअनुसार बद्री केसी, कुल आचार्य र रविना केसी अध्यक्ष बन्दैछन् ।

    त्यसका लागि संस्थापन समूहले समेत आजै परराष्ट्रमा विधान संशोधन गरिएको भन्दै पत्र बुझाएपनि प्रमाणीकरण भएको छैन । परराष्ट्रले यसअघि नै प्रमुख संरक्षकले चुनाव गराउने भनेर म्यान्डेट दिइसकेको र सोहीअनुसार याक एण्ड यतिमा सम्मेलन भएकाले शनिबारदेखि ३ अध्यक्ष बनाउने गरी भएको विश्व सम्मेलन अवैध भएको घले पक्षको जिकिर छ ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए विवाद : ३ अध्यक्षको निर्णयविरुद्ध घले पक्ष पुग्यो परराष्ट्र मन्त्रालय (पत्रसहित)

    शेखरलाई देउवाको प्रश्न- प्रचण्ड हार्ने चुनाव लड्छन्?

  • १३ चैत्र २०७८, आईतवार ०४:३५ मा प्रकाशित
  • नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल हार्ने चुनाव नलड्ने बताउँदै गठबन्धनका विरुद्ध धेरै नबोल्न आफ्ना नेताहरूलाई आग्रह गरेका छन्।

    काठमाडौंमा शनिबार बीपी स्मृति सामुदायिक सहकारी अस्पताल लिमिटेडको १४औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन गरेर चुनावमा जानुपर्नेमा जोड दिए। केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस एक्लै चुनावमा जानुपर्ने बताएपछि देउवाले गठबन्धन गरेर जानुपर्ने तर्क गरेका हुन्।

    अहिले पनि नेकपा (एमाले) कमजोर नभएको र फेरि पनि माओवादी र एमाले मिल्ने सम्भावना यथावत् रहेको जिकिर गरे। “माओवादी र एमाले फुटे, हामी जितिहाल्छौं भन्ने सोचिराख्नुभएको होला। फेरि मिलिदिए भने नि? उहाँहरूलाई मिल्न दिने इच्छा हो भने मिल्न दिऔं,” देउवाले भने, “उहाँहरू मिल्ने सम्भावना अझै घटेको छैन।”

    उनले अघिल्लो स्थानीय चुनावको पनि समीक्षा गरे। “कति ठाउँमा प्रचण्डजीका मान्छेले जितेका छन्, कति ठाउँमा माधव नेपालजीका मान्छेले जितेका छन्। स्थानीय तहमै हाम्रो भन्दा उनीहरूका मान्छेले धेरै जितेका छन्,” कांग्रेस सभापति देउवाले भने, “फेरि ओलीजीसँग मिले भने त हामी कसरी जित्छौं?”

    माओवादी अध्यक्ष दाहाल हार्ने चुनाव लड्ने मान्छे नभएको देउवाको भनाइ थियो। “ओली र प्रचण्ड फुटिहाले, हामी जितिहाल्छौं भन्ने आशै नगरे हुन्छ,” देउवाले भने, “प्रचण्ड हार्ने चुनाव लड्छन्? जहाँ सजिलो हुन्छ, मिलिदिन्छन्। त्यो पनि बुझ्नुस्, हामीले लखेट्यो भने कहाँ जान्छन्?”

    आफूले नैतिक रूपमा पनि माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) लाई गठबन्धन छोडेर जाऊ भन्न पनि नमिल्ने बताए। “अदालतले संसद् विघटन खारेजपछि सबैले सहयोग गरेर प्रधानमन्त्री बनिहालें। त्यही मेरो गल्ती थियो भने भन्नुस्,” प्रधानमन्त्री देउवाले प्रश्न गरे, “प्रधानमन्त्री बनाउने साथीहरूलाई ‘गेट आउट’ भन्ने मैले? त्यो कुरा भन्न मिल्छ मैले?”

    ओलीले संसद् विघटन गर्दा आफू चुनावको पक्षमा रहेको पनि देउवाले खुलाए। “ओलीले संसद् विघटन गर्दा म त चुनाव होस् भन्ने पक्षमा थिएँ। हामीले बनाएको संविधान अनुसार अदालतले फिर्ता गरिदियो,” देउवाले भने।

    आफू जित्नलाई नभएर पार्टीका सबै नेता जितून् भन्ने उद्देश्यले गठबन्धनको कुरा गरिरहेको उनको भनाइ थियो।

    “पार्टी नहारोस् भन्ने मेरो चिन्ता हो। मैले अब धेरै राजनीति गर्नु पनि छैन। उमेर पनि भइसक्यो,” एउटै मञ्चमा रहेका डा. कोइरालातर्फ हेर्दै देउवाले भने, “हिजो शेखरजी हारेका हुन्, पार्टी हारेको हो। मेरो कर्तव्य के हो भने पार्टीलाई जिताउने हो। सबै साथी जितून् भन्ने हो, शेखरजी जितून्।”

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on शेखरलाई देउवाको प्रश्न- प्रचण्ड हार्ने चुनाव लड्छन्?

    आक्रोशित हुँदै देउवाले भने- ठूला कुरा गर्ने ? गठबन्धन नगरी चितवनमा जित्ने हिम्मत छ ?

  • ११ चैत्र २०७८, शुक्रबार १८:३२ मा प्रकाशित
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले चुनावमा गठबन्धन गर्न हुँदैन भन्ने नेताहरूप्रति आक्रोश व्यक्त गर्दै ठूला कुरा नगर्न चेतावनी दिएका छन् ।

    केन्द्रीय कार्य समितिको शुक्रवारको बैठक समापन गर्ने क्रममा सभापति देउवा आक्रोशित मुद्रामा प्रस्तुत भएको बैठकबाट बाहिरिँदै गर्दा एक केन्द्रीय सदस्यले नेपाल प्रेसलाई बताए ।

    देउवाको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने- म नेविसंघ सभापति हुँदादेखि चितवनबारे थाहा छ । चितवनमा कहिले जित्या छ ? गठबन्धन नगर्दा चितवन जिताउने हिम्मत छ ? गठबन्धन नगर्ने हो भने फेरि हार्छ चितवन, मलाई थाहा छैन ?

    सभापति देउवाको भनाइबाट केन्द्रीय सदस्यहरू भने चकित भएका थिए । जबकि २०४८ देखि चितवनमा कांग्रेसले सधैँ जित्दै आएको छ । २०६४ र २०७४ मा मात्र पराजित भएको हो ।
    नेपाल प्रेस बाट

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on आक्रोशित हुँदै देउवाले भने- ठूला कुरा गर्ने ? गठबन्धन नगरी चितवनमा जित्ने हिम्मत छ ?

    एनआरएनएबाट ठूलो अपेक्षा छ, एक भएर काम गर्नुस् : अर्थमन्त्री शर्मा

  • ९ चैत्र २०७८, बुधबार ००:५६ मा प्रकाशित
  • ८ चैत, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर)ले नेपालको राजनीतिमा आएको विकृति एनआरएनएमा देखिएको बताएका छन् ।

    गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं विश्व सम्मेलन उद्घाटन समारोहलाई आज काठमाडौंमा सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।

    विधानलाई मिचेर काम नगर्न उनले सबै गैरआवासीय नेपालीलाई आग्रह गरे । टुटफुट नभई सबै एक भएर काम गर्नुपर्ने उनको भनाइ छ । ‘हामीले तपाईंहरूबाट ठूलो अपेक्षा गरेका छौं’ उनले भने, ‘तर तपाईंहरू नै एक हुनुहुन्न, तपाईंहरू एक हुनुस् विधान अनुसार काम गर्नुस् ।’

    नेपाली बैंकमा निक्षेप खाता खाेल्न आग्रह

    अर्थमन्त्री शर्माले देशमा संकट पर्दा एनआरएनएले महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे । मुलुकको विकासका लागि ग‌ैरआवासीय नेपालीहरुको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

    संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष शेष घलेकाे प्रशंसा गर्दै उनले सबै एनआरएनहरुलाई एउटै मञ्चमा ल्याउन आग्रह गरे । गैरआवासीय नेपालीहरुले विदेशमा सिकेकाे सिप र पुँजी नेपाल भित्र्याउन उनले आग्रह गरे । ‘आफ्नाे जन्मभूमिलाई तपाईंहरूले माया गर्नुपर्छ, जति लगानी आउनुपर्ने आएको छैन,’ अर्थमन्त्री शर्माले भने, ‘बाहिर कमाएको पुँजी र सिकेको सीप नेपालमा ल्याउनुपर्याे ।’

    गैर आवासीय नेपालीहरुले नेपालमा बैंक खाता खाेल्न सहज बनाइएको भन्दै उनले सबैलाई खाता खाेल्न आग्रहसमेत गरे । ‘मलाई विश्वास छ तपाईंहरुले १ हजार डलर राखेर बैंक खाता खाेलेरमात्रै जानुहुनेछ,’ उनले भने ।

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनएबाट ठूलो अपेक्षा छ, एक भएर काम गर्नुस् : अर्थमन्त्री शर्मा

    प्रचण्ड कचौरा लिएर कहिले बालुवाटार कहिले बालकोट गरिरहेका छन् : धनराज गुरुङ

  • ७ चैत्र २०७८, सोमबार २२:५६ मा प्रकाशित
  • काठमाडौं, ७ चैत : नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार गरिरहेको टिप्पणी गरेका छन् ।

    स्व. गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उपसभापति गुरुङले बृहत शान्ति सम्झौतामा एकपट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भए पनि आज उनको अवस्था भिखारीको जस्तो रहेको बताएका छन् ।

    ‘प्रचण्ड कहिले कचौरा थापेर देउवाको दैलो त कहिले बालकोट पुगेर छ्याइछ्याइ पारिरहनु भएको छ’ उनले भने ।

    प्रचण्ड यसरी हिँडे बैशाख ३० गते तय भएको स्थानीय तहको निर्वाचनमा कतै तालमेल नभएर माओवादी रित्तो हात फर्किन पर्ने अवस्थासमेत आउने उनको भनाइ थियो ।

    ‘कहिले शेरबहादुर देउवाकोमा माग्न जाँदा कहिले केपी शर्मा ओलीकोमा माग्न जाँदा कतैबाट सहयोग नमिलेर तपाईंको कचौरा ३० गतेपछि खालि नहोस् भनेर कामना गर्दछु,’ उनले भने । file photo

    Posted in मुख्य खबर, राजनीतिLeave a Comment on प्रचण्ड कचौरा लिएर कहिले बालुवाटार कहिले बालकोट गरिरहेका छन् : धनराज गुरुङ

    हेल्प मधेशी साउदीअरबको अध्यक्षमा राम दुलार मण्डल

  • ६ चैत्र २०७८, आईतवार १३:१४ मा प्रकाशित
  • साउदी अरबमा क्रियाशील हेल्प मधेशी साउदीअरबले हिजो शुक्रबार १८ मार्च साधारणसभा द्वारा राम दुलार मण्डलको नेतृत्वमा नयाँ कार्यसमिति गठन गरेको छ ।

    जसअन्तर्गत नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा श्यामकुमार महतो र उपाध्यक्षहरुमा क्रमस फिरोज राइन, सुरेश भुरेर, बब्लु साह, बिनय रौनियार, र मिथुन कस्यप चयन भएका छन् भने केन्द्रीय महासचिवमा काशिन्द्र पासमान चयन भएका छन्।हेल्प मधेशी साउदी अरबको बिधान-२०१६ बमोजिम प्रत्येक २ वर्षमा महाधिवेशन गरि नयाँ कार्य समिति घोषणा गर्नु पर्ने भए पनि बिबिध कारणबस दोश्रो कार्यकालका लागि साधारणसभाबाटनै पदपुर्ती गर्ने निर्णय अनुसार नयाँ कार्य समिति सर्ब सम्मतले चयन भएको बताईएको छ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on हेल्प मधेशी साउदीअरबको अध्यक्षमा राम दुलार मण्डल

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P