• गृह पृष्ठ
  • अन्तर्राष्ट्रिय
  • अर्थ
  • कला /जीवनशैली
  • खेल
  • बिज्ञान/प्रविधि
  • राजनीति
  • विचार
  • समाज
  • साहित्य

Category: मुख्य खबर

छोराछोरी लगायत श्रीमतीको हत्यापछि आत्महत्या।

  • १७ श्रावण २०७९, मंगलवार ०९:३१ मा प्रकाशित
  • भीमसेन थापा गाउँपालिका–६ गोरखा स्थायी घर भई तारकेश्वर नगरपालिका–२, पदमसालमा बस्दै आएका एकै परिवारका चार जना सोमबार बिहान घरैमा मृत भेटिए ।

    बिहान परिवारका कोही पनि बाहिर ननिस्केको र घरमा भित्रबाट चुकुल लगाएको पाइएपछि छिमेकीले प्रहरीलाई खबर गरे । प्रहरी ढोका फोडेर भित्र जाँदा ४१ वर्षीय दिनेश पाण्डे, उनकी पत्नी ३९ वर्षीया सुनीता, १३ वर्षकी छोरी आशिका र ८ वर्षीय छोरा आशिकको शव बीभत्स अवस्थामा भेटियो ।

    घटनास्थलमा फेला परेको सुसाइड नोटमा दिनेशले ‘श्रीमती र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गर्न बाध्य भएको’ उल्लेख गरेका छन् । १२ वर्ष कुवेत बसेर केही वर्षअघि मात्रै फर्किएका दिनेश र श्रीमती सुनीताको केही वर्षयता पारिवारिक सम्बन्ध राम्रो नभएको र त्यसबाटै उत्पन्न विवादले बीभत्स हत्याको रूप लिएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । सुसाइड नोटमा दिनेशले पत्नीसँग सम्बन्ध बिग्रिएको, माइती पक्षसँग मिलेर सम्पत्ति हडप्न खोजेको, आफूलाई घरेलु हिंसाको आरोपमा प्रहरीमा थुनाएको लगायत विषय उल्लेख गरेको अनुसन्धानमा संलग्न एक प्रहरीले बताए । उनले छोराछोरीलाई एक्लै राख्न नसकेर सँगै लानुपरेको उल्लेख गरेका छन् । अनुसन्धानमा संलग्न एक प्रहरीका अनुसार छोराछोरी र श्रीमतीलाई मार्न दिनेशले पेट, छाती र टाउकामा धारिलो हतियार प्रहार गरेका छन् ।

    प्रहरीका अनुसार पारिवारिक विवाद तीन पटक बालाजु प्रहरी र एक पटक महाराजगन्ज वृत्तसम्म पुगेको थियो । पछिल्लो पटक दिनेशले आफू बस्दै आएको घर पत्नीलाई थाहै नदिई बिक्रीको प्रयास गरेका थिए तर घर सुनीताका नाममा रहेको र उनले बेच्न नमानेपछि झनै विवाद बढेको थियो । मृतक सुनीता ‘सिजनल काम’ का लागि बेलायत जान भिसासमेत लगाएर बसेकी थिइन् । त्यसअघि छोराछोरीलाई माइतीको जिम्मा लगाउनेबारे कुराकानी भइरहेका बेला दिनेशले पत्नी र दुई छोराछोरीको बीभत्स हत्या गरेर आफैंले आत्महत्याको बाटो रोजेका हुन् ।

    काठमाडौं प्रहरी प्रवक्ता एसपी दिनेश मैनालीले प्रारम्भिक अनुसन्धानमा दिनेशले श्रीमती र दुई छोराछोरीको हत्या गरेर आत्महत्या गरेको हुन सक्ने देखाएको तर पोस्टमार्टम रिपोर्ट र प्रहरीको विस्तृत अनुसन्धानपछि मात्रै घटना कोबाट र कसरी भयो भन्ने यकिन हुने बताए । काठमाडौं प्रहरी प्रवक्ता मैनालीका अनुसार मृतक चारै जनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज लगिएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा कार्यरत फरेन्सिक विज्ञ डा. गोपाल चौधरीले दिनेशले परिवारका तीन जनाको हत्या गरेर आत्महत्या गरेको प्रारम्भिक जाँचमा देखिएको बताए । चौधरी सोमबार घटनास्थल पुगेका थिए । ‘घटनास्थलको अवस्था र सुसाइट नोट विश्लेषण गर्दा छोराछोरी र श्रीमतीको हत्यापछि दिनेश आफैंले आत्महत्या गरेको देखिन्छ, स्थलगत मुचुल्का र शवको अवस्थाले पनि त्यही देखाउँछ,’ चौधरीले भने, ‘बाँकी विषय पोस्टमार्टम रिपोर्टबाट आउला ।’

    पारिवारिक बेमेल र झगडा अनि सम्पत्तिसँग जोडिएको यो बीभत्स घटनाले श्रीमान्–श्रीमतीको विवाद व्यवस्थापन र समाधान नहुँदा मानिसलाई कतिसम्म क्रूर अपराधको बाटोमा पुर्‍याउँछ भन्ने देखाएको एक अनुसन्धान अधिकृतले बताए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाले पारिवारिक विवाद/बेमेल, आर्थिक अभाव, सम्पत्ति बाँडफाँट, आवेग र प्रतिशोध अनि आपसी अविश्वास आत्महत्याका कारण रहने गरेको बताए । तारकेश्वर घटना पनि पारिवारिक बेमेल, सम्पत्ति, आपसी अविश्वास र त्यसले निम्त्याएका अरू कारणबाट भएको प्रारम्भिक अनुसन्धानमा देखिएको उनको भनाइ छ ।

    प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो ५ वर्षमा ३१ हजारभन्दा बढीले आत्महत्या गरेका छन् । यसमध्ये कतिले परिवार तथा नातागोताको हत्या गरी आत्महत्या गरेको देखिन्छ । आत्महत्यामा आर्थिक अभाव, सम्पत्ति विवाद, घरायसी कलह, परपुरुष/महिलासँगका सम्बन्ध, नैराश्य, प्रतिशोध, मानप्रतिष्ठामा आँचजस्ता कारण देखिने गरेको छ । मनोविद् गोपाल ढकालले आत्महत्या दिनानुदिन बढ्दै गएको र यसले समाजमा विकराल रूप लिएको बताए । ‘आत्महत्याको मूल कारण त मानसिक समस्या नै हो, ७०/८० प्रतिशत आत्महत्या मानसिक समस्याबाटै घटेको देखिन्छ,’ उनी भन्छन्, ‘परिवार, नातागोता तथा साथीभाइ र चिनेजानेका बीच जति पनि आपसी कलह/बेमेल, मनमुटाव, आर्थिक अभाव, बेरोजगारी, व्यवसायमा नोक्सानी, अविश्वासजस्ता समस्या देखिन्छन्, त्यसबाट निम्तिने मानसिक समस्या नै हो, त्यसबाटै मानिसमा प्रतिशोध, आवेग, उत्तेजना हुँदै दिमागमा योजनाबद्ध रूपमा आपराधिक सोधको विकास हुने हो, हत्या र आत्महत्याका घटना पनि यसकै परिणाम हो ।’
    २०७७ भदौ २३ मा भक्तपुरको मध्यपुर थिमि नगरपालिका–९, निकोसेराका ३६ वर्षीय सुदीप अधिकारीले पत्नी ३४ वर्षीया सम्झना र छोरा १५ वर्षीय सुशान्तको हत्या गरी आत्महत्या गरेका थिए । उनले घरमा पालेको कुकुर पनि मारेर आत्महत्या गरेको प्रहरी अनुसन्धानबाट खुल्यो । आर्थिक अवस्था बिग्रिँदै गएपछि पारिवारिक तनावमा रहेका सुदीपले त्यही कारणबाट सिर्जित तनाव व्यवस्थापन नगर्दा परिवारका सदस्यको हत्या गरी आत्महत्या गरेको खुलेको थियो ।

    २०७६ माघ २७ मा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुना ललितपुरको सानेपास्थित निवासमा मृत भेटिइन् । घाँटीमा डोरीले बाँधेर टाउकोमा चोट लागेको अवस्थामा भेटिएकी कार्कीको अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । घरमा काम गर्ने दाङ (लमही) का विजय चौधरी झुन्डिएको अवस्थामा मृत फेला परेका थिए । प्रहरीले मुनाको हत्या विजयले गरेको र पछि उनले आत्महत्या गरेको निष्कर्ष निकालेको थियो ।

    २०७७ पुस २४ गते राति काठमाडौंको टोखामा एक दम्पती मृत फेला परे । सुर्खेत पुर्ख्यौली घर भएका उमेश केसी ओछ्यानमा र पत्नी सदीक्षा नजिकै भर्‍याङमा झुन्डिएको अवस्थामा भेटिएका थिए । अनुसन्धानमा उमेशको हत्या गरी सदीक्षाले झुन्डिएर आत्महत्या गरेको प्रहरी आशंका रहे पनि आइफोन अनलक गरेर अनुसन्धान अघि बढाउन नसकेपछि घटनामा बाहिरी पक्षको संलग्नता खोजबिन नै भएन ।

    २०७८ फागुनमा रामकोटमा एकै परिवारका चार जनाले आर्थिक अभावको कारण देखाएर विष सेवन गरी सामूहिक आत्महत्या प्रयास गरेका थिए । तीमध्ये एक जनाको मृत्यु भएको थियो । २०७८ असोज २२ मा धनुषाको नगराइन नगरपालिका–७ फूलगामाकी २४ वर्षीया गुडिया साहले २ छोरा ५ वर्षीय अभिषेक र ३ वर्षीय आदित्यको हत्यापछि आत्महत्या गरेकी थिइन् ।

    यी घटनाले आत्महत्या र हत्यापछि आत्महत्याजस्ता जघन्य अपराधमा मानिस कसरी संलग्न हुँदै गएका छन् भन्ने देखाउँछ ।

    आव २०७४/७५ देखि २०७८/७९ को ५ वर्षे विवरणमा हरेक वर्ष आत्महत्या गर्नेको संख्या बढ्दै गएको देखिन्छ । प्रहरीको ५ वर्षको तथ्यांकमा विष सेवन, आगोमा जलेर, झुन्डिएर, हाम फालेर, करेन्ट लगाएर, हातहतियार तथा औजार प्रयोग गरेर तथा नदी/खोला तथा पोखरीमा हाम फालेर आत्महत्या गरेको देखिन्छ । त्यसमध्ये झुन्डिएर र विष सेवन गरेर आत्महत्या गर्नेको संख्या ९८ प्रतिशतभन्दा बढी देखिन्छ । पछिल्लो ५ वर्षमा मात्रै आत्महत्या गरेर ज्यान गुमाउनेको संख्या ३१ हजार २ सय २१ पुगेको छ । आव २०७४/७५ मा ५ हजार ३ सय १७ जनाको आत्महत्याबाट ज्यान गएकामा आव २०७५/७६ मा करिब साढे ४ सय बढी अर्थात् ५ हजार ७ सय ५४ ले ज्यान गुमाएको देखिन्छ । आव २०७६/७७ मा आत्महत्याको संख्या बढेर ६ हजार २ सय ४१ पुगेकामा आव २०७७/७८ मा ७ हजार १ सय १७ र आव २०७८/७९ मा ६ हजार ७ सय ९२ जनाको आत्महत्याबाट मृत्यु भएको देखिन्छ ।

    मनोविद् ढकाल समस्या र चुनौतीको सामना गर्ने क्रममा झेल्नुपरेका कठिनाइले मानिसमा नैराश्य र आवेग/प्रतिशोधजन्य परिस्थिति उत्पन्न हुने बताउँछन् । ‘जसले आवेग र उत्तेजनाको सहज व्यवस्थापन गर्न सक्तैन, ऊबाट हो अकल्पनीय अवस्था आउने, जस्तो आवेग र उत्तेजनाले मानिसको विवेक गुम्छ, विवेक गुमेपछि संयम हराउँछ, धैर्य र संयम हरायो भने त्यसको नतिजा भनेको अपराध नै हो,’ उनी भन्छन्, ‘यस्तै बेला हत्या, आत्महत्या, बलात्कार, कुटपिटजस्ता घटना हुने गरेको देखिन्छ ।’ हरेक दिनजसो सामूहिक र एकल आत्महत्याका घटना घटिरहेका र यस्ता अपराध हुन नदिन सम्बन्धित व्यक्ति नै बढी संवेदनशील हुनुपर्ने उनको भनाइ छ ।
    साभार: कान्तिपुर दैनिक बाट

    Posted in मुख्य खबर, समाजLeave a Comment on छोराछोरी लगायत श्रीमतीको हत्यापछि आत्महत्या।

    राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न !!!

  • १६ श्रावण २०७९, सोमबार ०१:४७ मा प्रकाशित
  • नेपाली महावाणिज्य दूतावास जेद्दा ले ताबुकमा ३० जुलाई २०२२मा राहदानी नवीकरण घुम्ती सेवा सम्पन्न गरेको छ !
    यस कार्यक्रम अन्तर्गत राहदानी नविकरण फाराम संकलन तथा नविकरण भै-आएका राहदानी बितरण लगायतका सेवा सुबिधाहरु प्रदान गरिएको थियो ! सो कार्यको लागी नेपाली महावाणिज्य दूतावास जेद्दा बाट कन्सुलर भुवन पौड्याल, जेमलादीन इब्राहिम, मोहमत अटवाल्लाह साथै राजु बास्कोटा ज्युहरुबाट सहजीकरणको सेवा प्रदान गरिएको थियो !
    कार्यक्रममा ताबुक लगयात आसपासका दुबा,हाकल, शर्मा, सकाका सहित करिब ५००कि.मि. टाडा सम्मबाट उपस्थिति भई नेपाली दाजु भाइहरुले सेवाबाट लाभ लिनु भएको थियो !
    महावाणिज्यदूतावास जेद्दा द्वारा जारी पुर्व सूचना अनुसार राहदानी नविकरण फाराम संकलन एकदिने कार्यक्रम २९ जुलाइ २०२२ भनिए तापनि सेवाग्राहीको उच्च चाप लाई मध्यनजर गरि प्रावधिक समस्याका बाबजुत पनि महावाणिज्यदूतावासका प्रतिनिधि द्वारा बिहिवार बिहान १०:०० बजे देखि शनिवार बिहान ०९:३० बजे सम्म लगातार सेवा दिँदै महिला १ र पुरुष १५४ गरि कुल जम्मा १५५ जना सेवाग्राहीलाइ सेवा प्रदान गरिएको थियो।

    राहदानी नविकरणको घुम्ती सेवा सम्पन्न गर्न गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका सस्थापक तथा सल्लाहकार भक्त हमाल ज्यु, गैर आवासिय नेपालि संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाका उपाध्यक्ष अर्जुन थापा ज्यु, गैर आवासिय नेपाली संघ क्षेत्रीय समन्वय समिती ताबुकका पदाधिकारी ज्युहरु अध्यक्ष नर बहादुर खतिवडा, उपाध्यक्ष देवी बहादुर कार्की, सचिव युवराज पोख्रेल, कोषाध्यक्ष दिपक कार्की, सदस्यहरु शक्ति भट्ट र आइ बि गुरुङ द्वारा कार्यक्रम व्यवस्थित बनाउन समन्वयकारी भुमिका निभाउनु भएको थियो।

        ताबुक जस्तो टाढा दूरदराजबाट जेद्दा र रियाद नियोगहरुमा धाउनुपर्ने झन्झट र खर्चिलो यात्राबाट आफुहरु मुक्त भएको र आगामी दिनहरुमा पनि यस्तै सहजिकरणका कार्यक्रमहरु होस् भन्ने सेवाग्राही हरुको भनाइ रहेको थियो ,

    सम्पुर्ण सेवाग्राहिले आफ्नो पालो आउन निकै लामो समय पर्खनु परेकोले अब आउदा दिनहरुमा सेवालाइ अझै प्रभावकारी र चुस्त बनाइ, लामो समयको प्रतीक्षाबाट मुक्ति दिलाउन सुझाव दिएका थिए भने यसरी आफ्नै कार्यक्षेत्रमा बसेर कम खर्चमा सेवा लिन पाएकोमा सम्पुर्ण सेवाग्राहीहरु निकै हर्षित पनि देखिएका थिए।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on राहदानी नविकरण सेवा तथा श्रमिक अन्तर कृया सम्पन्न !!!

    एनआरएनए एनसीसी साउदी अरब द्वारा १५ औँ वार्षिकोत्सव धुमधामका साथ सम्पन्न।

  • १६ श्रावण २०७९, सोमबार ०१:०२ मा प्रकाशित
  • गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदीअरबले २९ जुलाई २०२२, शुक्रवारका दिन आफ्नो १५ औँ वार्षिकोत्सव मनाएको छ। साउदीअरबको राजधानी रियाद स्थित एक सभाहलमा एनआरएनए एनसीसी साउदीअरबका अध्यक्ष डमर कुमार यादवको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
    वार्षिकोत्सव कार्यक्रममा संघका संगठनिक कार्यप्रगती विवरण र आर्थिक प्रतिवेदन प्रस्तुत गरिनुका साथै श्रमिकहरूको समस्याको सुनुवाईका लागी अन्तर्क्रिया कार्यक्रम र विभिन्न सांगीतिक कार्यक्रम रहेको थियो ।कार्यक्रममा आर्थिक प्रतिवेदन संघका कोषाध्यक्ष मनिष कोईराला द्वारा प्रस्तुत गरिएको थियो भने कार्यप्रगती विवरण संघका महासचिव उमेश भट्टराई द्वारा प्रस्तुत गरिएको थियो । महासचिव भट्टराई द्वारा प्रस्तुत भएको कार्यप्रगती विवरण अनुसार गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद साउदीअरबको ३० जुलाई २०२१ मा सम्पन्न भएको आठौँ महाधिवेशन बाट गठन भएको कार्यसमितिले २९ जुलाई २०२२ सम्ममा बाहिरी र आन्तरिक स्रोत बाट विभिन्न सहयोग, उद्धार तथा सहजीकरणका कार्यहरू भएको उल्लेख गरिएको थियो ।

    महासचिव भट्टराईका अनुसार बाह्य स्रोतबाट कोरोना महामारी केन्द्रित रही संघले दम्माम, रियाद र जेद्धा गरी साउदीअरबका मुख्य ठूला सहरहरूमा समस्यामा परेका नेपाली श्रमिकहरूको लागि अस्थायी आवास गृह क्रियाशील रहेका छन्| जसबाट हालसम्ममा २ सय ३१ जना भन्दा बढीले लाभ लिएका छन् भने कोरोना प्रभावितहरु मध्ये स्वदेश फर्किन असमर्थ भएकाहरु ४४ जना पुरुष र ११ जना महिला गरी ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेश फिर्ता पठाईएको थियो भने स्वदेश फर्किएकाहरु मध्ये विमान स्थल काठमाडौँ देखी घरसम्म जान १० जनालाई संघले यातायात सेवा प्रदान गरिएको थियो ।
    कोरोना महामारीका दौरान अस्थायी आवास बाहिर विभिन्न स्थानहरुमा रहेका १ सय ६० जना नेपाली श्रमिकहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको र यसै अवधिमा ३८ जना नेपाली श्रमिकहरूलाई RT PCR परीक्षण सेवा उपलब्ध गराईएको थियो। यसका साथै विभिन्न साउदी सरकारी ऐन तथा कानुनको उलंघन गरी समस्यामा परेका ५ जना नेपाली श्रमिकहरूलाई सरकारी जरिवाना भुक्तान गरी बहिर्गमन भिषा उपलब्ध गरि दिएको उक्त विवरणमा भनिएको थियो ।

    साउदीअरबको दम्माम, जुवेल, अलकासिम, हायल र जेद्ध गरी ५ स्थानहरुमा नेपाली श्रमिकहरूको निःशुल्क स्वास्थ्य परिक्षण तथा स्वास्थ्य सचेतना कार्यक्रमहरु सञ्चालन गरिएको र जसबाट ६ सय ७२ जना नेपाली श्रमिकहरूले सेवाको लाभ लिएका थिए।

    भट्टराईका अनुसार संघले नेपाली दूतावासको आयोजना र संघको सहजिकरणमा साउदी अरबको पूर्वी क्षेत्रमा ४ अलकासिममा १, जिजान/आवाहमा २ ताबुकमा १ गरी ८ वटा राहदानी सहजिकरण शिविर सञ्चालन गरिएको र ३ हजार ३ सय ५८ जना नेपाली श्रमिकहरूले उक्त शिविर बाट लाभ उठाएको थियो ।त्यसैगरी उक्त कार्यप्रगति विवरणमा एक एनसीसी एक परियोजना अन्तर्गत सिराहा जिल्ला विष्णुपुर गाउँपालिका वडा नम्बर १ र ४ स्थित रहेको सामुदायिक विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई aama foundation USA र एनसिसी साउदी अरबको संयुक्त पहलमा २ लाख २० हजार बराबरको शैक्षिक सामग्री र विद्यालय पोशाक वितरण गरिएको उल्लेख गरिएको थियो ।

    संघका महासचिव द्वारा प्रस्तुत गरिएको विवरणमा एनसीसी साउदीको आन्तरिक स्रोतबाट एनआरएनए एनसीसी साउदीका पंजीकृत सदस्यहरू रविन्द्र थापा(SA0200472),
    चित्रबहादुर गुरुङ(SA070002009) र धनपति माझी(SA04000104) को कामको सिलसिलामा साउदीमा मृत्यु भएको हुँदा संघको विधानतः मृतकको परिवारलाई जनही नेपाली रुः ५० हजार सहयोग रकम हस्तान्तरण गरिएको थियो छ भने विभिन्न समस्यामा परी हवाई टिकटको आभावमा नेपाल फर्किन प्रतिक्षारत १० जना महिला र २ जना पुरुष गरी जम्मा १२ जनालाई हवाई टिकट उपलब्ध गरिदिएको उक्त विवरणमा उल्लेख गरिएको थियो ।

    प्रस्तुत प्रगति विवरण अनुसार संघले साउदी अरबको पूर्वी क्षेत्र दम्माममा नेपाली राजदूतावास रियाद र एनआरएनए एनसीसी साउदीअरबको संयुक्त सहकार्यमा संचालन गरिएको श्रमिक सचेतना कार्यक्रम बाट ६ सय २३ जना श्रमिकहरुले लाभ प्राप्त गरेका थिए। त्यसै गरी संघको आन्तरिक स्रोत बाटै नेपाली महावाणिज्य दूतावास जेद्धा र एनआरएनए साउदी अरबको संयुक्त सहकार्यमा साउदी अरबको अबाह र जिजानमा एक/एक गरी २ वटा राहदानी सहजीकरण कार्यक्रम सम्पन्न गरिएको थियो, जसबाट २ सय ४८ जना नेपाली कामदारहरु लाभान्वित भएका थिए।

    महासचिव भट्टराई द्वारा प्रस्तुत उक्त विवरणमा एनआरएनए एनसीसी साउदीअरबको उपाध्यक्ष रबिना अर्याल संयोजक रहेको लेभर टास्क फोर्स समिति र नेपाली नियोगहरु सँगको समन्वय र सहकार्यमा संघले विभिन्न समस्यामा परेका नेपाली श्रमिकहरूको उद्दार तथा पैरबी पहल गरिएको उल्लेख गरिएको थियो ।

    उक्त कार्यप्रगति विवरणमा एनसीसी साउदीअरब द्वारा संचालित श्रमिक अस्थायी आवसीय गृहमा रहेका १ सय २२ जना पीडित नेपाली कामदारहरुलाई खाद्यान्नको व्यवस्थापन गरिनुका साथै अस्थायी आवास बाहिर रहेका ४९ जना पीडितहरूलाई खाद्यन्न सहयोग गरिएको समेत उल्लेख गरिएको थियो ।

    त्यसैगरी खेलकुदमा एनआरएनएको सहभागिता अन्तर्गत एनसिसी साउदी अन्तर्गत रहेका RCC र LCC हरूले नेपाली खेलाडीहरूको खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्य अनुरुप साउदीको पूर्वी प्रान्तका दम्माम र कतिफमा एक/एक गरी दुई वटा भलिबल प्रतियोगिताहरु सम्पन्न गरिएको थियो ।

    संघको वार्षिकउत्सव कार्यक्रममा क्षेत्रिय समन्वय समिति दम्मामका अध्यक्ष विष्णु भण्डारी, अलकासिमका उपाध्यक्ष काजिमान कान्धाङ्वा र जेद्धाका सचिव चिरञ्जीवी बस्नेतले आआफ्नो सांगठनिक प्रगति प्रस्तुत गरिएको थियो भने सोही कार्यक्रममा अल अविर ईन्टर्नेशनल मेडिकल सेन्टरले निःशुल्क स्वास्थ्य शिविर संचालन गेको थियो, जस बाट कार्यक्रममा उपस्थित नेपाली नागरिकहरूले स्वास्थ्य परि़क्षणको लाभ लिएका थिए।

    वार्षिकोत्सब समारोह कार्यक्रमका दौरान नेपाली श्रमिकहरुसँग सम्बन्धित अन्तरकृयात्मक कार्यक्रम पनि संचालन गरिएको थियो। सोही चरणमा हलमा सहभागीहरु मध्येबाट विभिन्न ८ वटा शिर्षकमा श्रमिक गुनासा र समस्याहरुका बारेमा प्रतिनिधि जिज्ञासा राखिएको थियो । स‍ोहि चरणमा उठेका जिज्ञासा र गुनासाहरुलाइ नेपाली दूतावास रियादका श्रम काउन्सिलर देवेन्द्र कार्की, प्रथम सचिव ऋषि आचार्य, द्वितीय सचिव टिकाराम तिमलसीना लगायत नेपाली नियोगका प्रतिनिधिहरुले सम्बोधन गरिएको थियो । वहाहरुले विशेषगरी पछिल्लो समयमा नेपाली श्रमिकहरुले भोगि रहेका समस्या, समाधानका पहल र निराकरणका लागी नेपाली राजदुतावासले खेलेको भूमिकाका बारेमा प्रस्ट्याईएको थियो ।

    उक्त कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपाली दूतावास रियादका लागी कार्यवाहक राजदूत दिलिप कुमार पौडेल संगै विशिष्ट अतिथिको रूपमा दूतावासका प्रथम सचिव ऋषि आचार्य, श्रम सहचारी देवेन्द्र कार्की, द्वितीय सचिव टिकाराम तिमलसीना र पूर्वी प्रान्तका लागी नेपाली दूतावासका जनसंपर्क अधिकारी नारायण पासवानको उपस्थिती रहेको थियो । अतिथिहरूमा एनआरएनए आईसीसीका महिला उपाध्यक्ष यास्मिन वैगम, मध्यपूर्व संयोजक राजेन्द्र अर्याल, सदस्य तेज थापा संगै एनआरएनए एनसीसी साउदीअरबका राष्ट्रीय, क्षेत्रिय र स्थानीय तहका पदाधिकारीहरूको उपस्थिती रहेको थियो । अतिथिकै रूपमा साउदीअरब स्थित क्रियाशील विभिन्न राजनीतिक र सामाजिक संघ संस्थाका प्रतिनिधिहरू, व्यवसायी तथा वुद्धिजीवीहरू र विभिन्न संचार क्षेत्रमा आवद्ध संचारकर्मीहरूको उपस्थिती रहेको थियो ।

    Posted in अन्तर्राष्ट्रिय, मुख्य खबर, राजनीतिLeave a Comment on एनआरएनए एनसीसी साउदी अरब द्वारा १५ औँ वार्षिकोत्सव धुमधामका साथ सम्पन्न।

    पञ्चाङ्ग चित्रपट भाग – ३ सम्पन्न

  • १५ श्रावण २०७९, आईतवार १२:२७ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/१२

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल

    चित्र संकलन
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको तेस्रो अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

                 यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौं  ।

    पञ्चाङ्ग चित्रपट ( कुकुरको बारेमा )

    चित्रपट पञ्चाङ्ग   ०१
    कुकुर पनि ठुलो भन्दा सानो मनपर्छ मलाई  ।
    रातो कालो भन्दा त मान्ने कानो मनपर्छ मलाई  ।
    घरको पाले त्यो हो राती पहरा दिन्छ नसुतेर ,
    घरमा बस्ने कुकुरको रानो मनपर्छ मलाई  ।
    जति दियो उतिमै रम्ने मानो मनपर्छ मलाई ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”।

    चित्रपट  पञ्चाङ्ग   ०२
    जीवत चेतन प्राणीमा मित्र भाव झल्किन्छ,
    सके त बुझ्न यिनको प वित्र भाव झल्किन्छ ।
    बालक  साना  सम्झेर यिन सँग  रमाउँदा।
    फूलका झै साना कोपिला भित्र भाव झल्किन्छ ,
    म भित्र लेखेर राख्दछु चित्र भाव  झल्किन्छ ।

    🙏होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    चित्रपट पञ्चाङ्ग    ०३
    मानव पछि चेतन गनिने प्राणी  ।
    निन्द्रा छोडी घर रक्षा भनिने प्राणी ।
    काम इनाम मस्तिष्क उस्तै चलाख ,
    अनजान दुष्कर्मीमा खनिने प्राणी ।
    भैरव मानी पूजामा जनिने प्राणी ।

    ✍️जमुना आचार्य
      सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग    ०४
    चाेरबाट बच्न कुकुर पालिन्छ घरमा  ।
    पाल्न सजिल‌ै छ त गाँस हालिन्छ घरमा  ।
    शुरुमा कुकुर पाल्न सानाे बच्चा न‌ै पालौं ,
    फाेहर सहनु न‌ै पर्छ फालिन्छ घरमा  ।
    खाना नपाउँदा कुकुर झालिन्छ घरमा  ।

    🙏नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर ।

    चित्रपट पञ्चाङ्ग    ०५
    चेतनाको तुलनामा मान्छे भन्दा बाठो प्राणी
    घ्राण शक्ति प्रभु भक्ति हामी देख्छौं लाटो प्राणी
    हेलाँ गर्छौं ढुङ्गा हान्छौं हाम्रो बुद्धि पशु जस्तो
    भोको पेट लखर् लखर् चारैतिर घाटो प्राणी
    पेट अग्नी ज्वाला बल्दा फोहर् मैला चाटो प्राणी ॥

    🙏गुणनिधि घिमिरे
    खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग   ०६
    अहमता गरेको राम्रो हुन्न ।
    दम्भहरू भरेको राम्रो हुन्न ।
    आज्ञाकारी बनेर हिँड मित्र,
    रातो खोला तरेको राम्रो हुन्न ।
    आफैभित्र मरेको राम्रो हुन्न‌ ।

    🙏आर्त अकुलीन
    कैलाली ।

    चित्रपट पञ्चाङ्ग   ०७
    चेतनशील प्राणी मध्ये तिमीलाई धेरै गुणी छानेको छु  ।
    आफ्नै छोराछोरी जस्तै मुटुमा राखेर ज्ञानी नै मानेको छु  ।
    कहिल्यै चोट नपुर्‍याउनु परिवारमा पनि कसैलाई  ,
    पालेर सदाएर राख्न सबैभन्दा नजिकको जानेको छु
    मनको गहिराईमा पशु नसोची बफादार ठानेको छु।

    🙏अम्विका अधिकारी
    झापा विर्तामोड ।

    चित्रपट पञ्चाङ्ग    ०८
    घरको राम्रो सुरक्षा  गर्ने कुकुर  ।
    अपराधीको निर्मुल गर्ने कुकुर  ।
    सजग नभएमा रेबिजको डर ,
    अन्तरिक्षमा पहिले पुग्ने कुकुर  ।
    यमराजको द्वारमा कुर्ने कुकुर  ।

    🙏देबकी के .सी.
    दक्षिणकाली ,काठमाडौ ।

    चित्रपट पञ्चाङ्ग   ०९
    न लोभ देखाउँछ न लालचमा फस्छ घरको रक्षक  ।
    सधैं मालिकको अनुशासनमा बस्छ घरको रक्षक  ।
    आफू भन्दा बढी नै मालिकको सेवा गर्ने बानी उसको ,
    नदिनुस् खाना कहिल्यै बरु पेट कस्छ घरको रक्षक  ।
    ज्यानको बाजी राखेर शत्रुलाई डस्छ घरको रक्षक   ।

    🙏केशव न्यौपाने सानु।

    चित्रपट पञ्चाङ्ग    १०
    मान्छे भन्दा कुरा जानेका तिमीले छौ ।
    आफ्नाको चाहना मानेका तिमीले छौ  ।
    कसरी सुखदुःख साटेको देखिन्छ ,
    सबैको माया त तानेका तिमीले छौ  ।
    परे चौका दाउ हानेका तिमीले छौ ।

    🙏अनुप आचार्य
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ११
    लोभलाग्दो देखेर दायाँ राखौँ जस्तो  ।
    गर्मी धेरै अचेल छाया राखौँ जस्तो ।
    आहा कति सुन्दर पनि हो तिमी त ,
    लुकाउदै अब त बायाँ राखौँ जस्तो ।
    मनमा तिमीसँग माया राखौँ जस्तो  ।

    🙏दुर्गा आचार्य
    मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १२
    मान्छे भन्दा चेतनशील प्राणी ठानेको छ  ।
    आफ्नैं छोराछोरी झैँ समान मानेको छ  ।
    घर रक्षक इमान्दारी रुपमा हेरिन्छ  ,
    घरमा पाली शोभा बढाउन जानेको छ  ,
    यहाँ सबैभन्दा निस्वार्थि प्राणी छानेको छ  ।

    🙏दुर्गा भट्टराई
    मोरङ

    चित्रपट पञ्चाङ्ग    १३
    तालिम दिए बफादार हुन्छन् यी पशुहरू  ।
    अपराध गर्नेले यहाँ छुन्छन् यी पशुहरू  ।
    जे सिकायाे त्यहीँ कुरा राम्ररी बुझेर सिक्छन्   ,
    मालिकले जे सिकायाे त्यै सुन्छन् यी पशुहरू  ।
    केही नराम्रो हुने भए रुन्छन् यी पशुहरू  ।

    🙏ताेयानाथ सुवेदी
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १४
    ०१
    घ्राण शक्तिमा अद्भुत देखिन्छौ है धेर यहाँ  ।
    शत्रुताका निमित्त तिमी हौ प्राणी शेर यहाँ ।
    आशक्ति भेटिन्न तिमीमा रतीभर कहिले  ,
    अत्यन्त बफादार छौ स्वामी भक्त हेर यहाँ ।
    अपरिचित आए भुक्न गर्दैनौं बेर यहाँ  ।
    ०२
    आफैं बफादारीमा कुकुर सदा रमाएकाे छ ।
    अपराधीलाई सुँघ्ने शक्तिबाट समाएकाे छ ।
    गल्ली देखि ओहदामा पुग्न सक्ने तागत हेर, 
    अजीवकाे काम गरेर नै नाम कमाएकाे छ।
    चातुर्यले गर्दा आफ्नो स्थान यहाँ जमाएकाे छ ।

    🙏भवानी घिमिरे
    सर्लाही ।

    चित्रपट पञ्चाङ्ग    १५
    सानो सानो कुकुर हेर कति प्यारो लाग्ने हो
    यसलाई भोक लाग्दा यस्ले हो आफै माग्ने हो
    बफादार    हुन्छ ,  घरको  हेरचाह   गर्छ आफै
    सारै निन्द्रा पातलो यसको चाडै नै जाग्ने हो
    संग  सगै  रहे  यो  डर  चिन्ता  सबै भाग्ने हो ।

    🙏बुद्धिमान दनुवार
    सुरुङ्गा —-४ झापा।

    चित्रपट पञ्चाङ्ग   १६
    कुकुरलाई मायाले फुके पनि हुन्छ
    गएर कतै कुनामा लुके पनि हुन्छ
    मालिकलाई सजिलै चिन्दछ उसले
    नटोकेमा जतिसुकै भुके पनि हुन्छ
    उसको बफादारीमा झुके पनि हुन्छ।।

    🙏घनश्याम पौडेल
    पोखरा ।

    चित्रपट पञ्चाङ्ग    १७
    दुतको रूपमा पुजिन्छ कुकुर
    साथीको रूपमा बुझिन्छ कुकुर
    कुकुरको बच्चा सानो राम्रो हुन्छ
    केही बिराम् गरे कुटिन्छ कुकुर
    मालीकको पछी डुलिन्छ कुकुर।

    🙏सुमित्रा पोखरेल
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १८
    पाले पनि भोटे  कुकुर पाल्छु हेर
    जाइलागेमा त्यसैलाई ढाल्छु हेर
    घरको   पाले   बनेर पहरा दिन्छ
    नखाएर मालिकलाई दाल्छु हेर
    कराएर मान्छेको कान टाल्छु हेर ।

    🙏दुर्गा निरौला
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १९
    घरपालुवा जनावर मध्ये कुकुर राम्रो हुन्छ
    किनेर घर ल्याए पछि सधैंका लागि हाम्रो हुन्छ
    हुनत कुकुर मानिसको पुरानो मिल्ने साथी हो
    हेरचाह नपुर्याउँदा उस्को जीवन चाम्रो हुन्छ
    खुल्ला सडकमा छोडिदिए खुट्टा तिर काम्रो हुन्छ।

    🇳🇵अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    चित्रपट पञ्चाङ्ग   २०
    जात मात्र कुकुर हो  बफादारी हुन्छ।
    मान्छे भन्दा बरु उहीँ सदाचारी हुन्छ।
    अद्भुत  शक्ति  दिएछन्  ईश्वरले पनि।
    कुकुरको  आवाजले  सत्रु भारि हुन्छ।
    जिवात्मामा सदैव पालन हारी  हुन्छ।

    🙏मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार  बिर्तामोड झापा।

    चित्रपट पञ्चाङ्ग   २१
    कुकुरलाई आज्ञाकारी प्राणी मान्छौं हामीले।
    दुश्मनलाई तह लगाउने ठान्छौ हामीले।
    त्यसैले तिहार र भैरव रूपमा पुजिन्छ ,
    कहिले काँही भनेको नमान्दा हान्छौ हामीले।
    ज्ञानी भएर ऊसलाई घुम्न लान्छौं हामीले।

    🙏सुशीला पौडेल
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २२
    घरको हेरचाह गर्न प्राणी पालेको छु।
    म घर छोडी बाहिर पाइला चालेको छु।
    आज्ञाकारी प्राणी एक मानिसको कुकुर,
    यसको व्यवसाय सुरु गर्न थालेको छु।
    राम्रो घरमा तिनीहरूलाई हालेको छु।

    🙏ह्यारिस ह्यारिसन
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २३
    कुकुर जहिले पनि  बफादारी हुन्छ राम्रो
    मालिक आउँदा हात र खुट्टामा छुन्छ राम्रो
    घरको सुरक्षा गरी मालिकलाई रिझाइ
    राम्रो व्यवहार गरि मान्छेलाई  चुन्छ राम्रो
    केहि नराम्रो कुरा हुन छ भने रुन्छ राम्रो

    🙏आर्मित्मा थापा मगर
    स्याङ्जा।

    चित्रपट पञ्चाङ्ग    २४
    हामीले  पालेको कुकुर नै जाती हुन्छ
    बाहिर तिर कुकुर भाँती   भाँती हुन्छ
    घरमा सुरक्षाको लागि पाल्ने   कुकुर
    उनीहरूको   काम भनेको राती हुन्छ
    बाहिरका    कुकुर सारै नै काती हुन्छ ।

    🙏भावना न्यौपाने
    काठमाडौं ।

    चित्रपट    २५
    माया गर आँखा नतर है कसैले
    ढुङ्गा हान्न अघि नसर है कसैले
    स्वामीभक्त यी प्यारा प्राणीहरूलाई
    पशु भनि हेला नगर है कसैले
    मान्छे भन्दा तल नझर है कसैले।।

         🇮🇳 अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग    २६
    कोमल तन बचाउन   सास  त्यो  खोज्छ
    साङ्लोले बाधिएर पनि गाँस त्यो खोज्छ
    रात   दिन   घरको    हेर    विचार    गर्छ
    खाना  नपाएर  फोहर  रास त्यो खोज्छ
    मायाको  भोको बनी  भास त्यो खोज्छ ।

    🙏सरिता काफ्ले
    कोहलपुर बाँके।

    चित्रपट पञ्चाङ्ग   २७
    जहिले पनि बफादारी मानेका हुन्छौ तिमीले  ।
    खुसी छौ भने सधैंभरि मन नै छुन्छौ तिमीले ।
    गर्नेछौ घरको सुरक्षा अनि पुरै चौकिदार ,
    राम्रो व्यवहार गर्दा अनगिन्ती चुन्छौ तिमीले ।
    अशुभ हुनेछ भन्ने संकेतमा रुन्छौ तिमीले ।

    🙏पुजा शर्मा
    सुनसरी ।

    चित्रपट पञ्चाङ्ग    २८
    स्वमिभक्तमा निष्ठा भएकोमा  लाटो प्राणी ।
    फाेहर खाँदा र फाेहाेर गर्दा माटाे प्राणी ।
    माया गर्नु न हाे उसलाई राम्रो मानेर  ,
    नचिनेकाकाे लागि अत्यधिक फाटाे प्राणी ।
    आफैं खाई आफैं उखलेर नै चाटाे प्राणी ।

    🙏सहयात्री शाेभा अर्याल
    बुटवल-१४, रुपन्देही ।

    चित्रपट पञ्चाङ्ग    २९
    आजभोलि कुकुर मान्छे, मान्छे  कुकुर भएको छ  ।
    बरु सुध्रदै छ कुकुर, मान्छे  बौलाही रहेको छ  ।
    खाली डर एउटै, कतै रेबिज  लाग्ने त होइन ,
    भय, चिन्ता र त्रासले भित्रभित्रै पाकी सहेको छ ।
    कुकुर देखिन्छ निश्चिन्त, मान्छेले दुःख कहेकाे छ ।

    🙏वसन्त अनुभव
    घोराही, दाङ।

    चित्रपट पञ्चाङ्ग    ३०
    साथी ठानी घुमाउन लान्छाैँ हामी  ।
    कुकुर थियोे लाइका मान्छाैँ हामी ।
    गरी पूजा वर्षैपिच्छे तिहारमा  ।
    परम्परा संस्कृति नि धान्छाैँ हामी  ,
    कुत्तालाई स्वामी भक्त ठान्छाैँ हामी  ।

    🙏केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    चित्रपट पञ्चाङ्ग    ३१
    काम लाग्ने कुकुरहरू यहाँ देखिने मान्छेकाे  साथी  हो ।
    जनावरहरू मध्येमा कुकुर मान्छेका लागि जाती हो ।।
    सबैकाे घरमा एकएक पाल्तु पालेकै हुन्छन् गाउँमा ,
    धनजनको रक्षार्थ कुकुर नभै नहुने त राति हो ।
    कुकुर जस्तो सहयोगी जनावर मार्नेहरू घाती हो ।

    🙏रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    चित्रपट पञ्चाङ्ग    ३२

    इमान्दारी भक्त कुकुर बन्छ नबोले पनि  ।
    कसैसँग मनको पिर ब्यथा नखोले पनि  ।
    स्वामीभक्तिको पाठ सिकाउने कुकुर हाम्रो ,
    मान्छे भन्दा अब्बल भयौ गोडा नमोले पनि  ।
    स्वार्थमा लिप्त हुँदैन चिनी झैँ नघोले पनि  ।

    🙏पुष्पा नेपाल
    झापा ।

    चित्रपट पञ्चाङ्ग   ३३

    मेरो देश डुबिसक्यो बचाउनउ  ।
    यहाँका लुटेरालाई पछ्याउन आउ  ।
    असल नेतालाई टिक्न नदिने भयो ,
    बिगार्न लागेछन् देश सम्झाउन आउ  ।
    यहाँ रगत पसिना बगाउन आउ ।

    🙏कमला पाण्डे पराजुली
    झापा चारआलि

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on पञ्चाङ्ग चित्रपट भाग – ३ सम्पन्न

    डा.विदुर चालिसेकृत “लघुकथालय” कृतिकाे लोकार्पण

  • १५ श्रावण २०७९, आईतवार १०:३१ मा प्रकाशित
  • वसन्त अनुभव
    १४ श्रावण । नेपाली लघुकथा क्षेत्रकै भिमकाय ग्रन्थ “लघुकथालय (चिन्तन, मनन र लेखन)-२०७९” लोकार्पण भएको छ । शनिबार अपरान्ह साढे चार बजे जुम एप मार्फत आयोजित कार्यक्रममा वरिष्ठ साहित्यकार, समालाेचक, भाषाविद तथा लघुकथाकार डा.विदुर चालिसेद्वारा लिखित उक्त पुस्तकको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीज्यूले गर्नुभएको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा आयोजित उक्त पुस्तक लोकार्पण कार्यक्रम मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) काे अध्यक्षता एवम् नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेतीकाे प्रमुख अतिथ्यतामा सम्पन्न भएको थियो ।

    भर्चुअल माध्यमबाट सञ्चालित उक्त पुस्तक विमाेचन कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा.कपिल लामिछाने, वरिष्ठ साहित्यकार एवम् पत्रकार विजय चालिसे, साहित्यकार डा. दीनबन्धु शर्मा, साहित्यकार डा. शंकरप्रसाद गैरे, साहित्यकार डा. रविन्द्र समीर, साहित्यकार प्रा.पुष्कर लाेहनी, वरिष्ठ नियात्राकार कृष्ण बजगाईं र कृतिकार डा. विदुर चालिसेकाे विशिष्ट अतिथिकाे रूपमा उपस्थिति रहेकाे थियाे ।

    यसै गरी कृतिमाथि गहन समालाेचना गर्नु हुनेमा वरिष्ठ समालाेचक प्रा.डा.कुमार काेइराला, लाेक साहित्यका वरिष्ठ खाेजकर्ता प्रा.डा.रिन्कू बडेरा(भारत), वरिष्ठ साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल र साहित्यकार एवम् चिन्तक प्रा. कपिल अज्ञात हुनुहुन्थ्याे ।

    प्रज्ञा प्रतिष्ठानका कुलपति गंगा प्रसाद उप्रेती लगायत सबै वक्ताहरूले “लघुकथालय (लघुकथा चिन्तन, मनन र लेखन)” लघुकथाकाे सिद्धान्त र सिर्जनाकाे एक नयाँ प्रयाेगात्मक मानक पुस्तककाे रूपमा आएकाे कुरा उल्लेख गर्नुभयो ।

    साथै उक्त कार्यक्रममा पुष्कर लोहनी, प्रा.डा.कपिल लामिछाने, विजय चालिसे, दीनबन्धु शर्मा र कृष्ण बजगाईले शुभकामना मन्तव्य दिनुहुँदै कृतिबारे बोल्नुभएको थियो ।
    त्यस्तै कार्यक्रममा विभिन्न समालोचकहरूले अनेक काेणबाट समीक्षा गर्दै आ-आफ्नाे धारणा राखेका थिए ।
    धेरै वटा कृतिका पिता भइसक्नुभएका कृतिकार डा.विदुर चालिसेको यस कृतिमा विभिन्न आयाममा विभक्त गरी विविध नियम र सिद्धान्त सहित सृजना गरिएका २३६ वटा लघुकथा सङ्ग्रहित छन् । विभिन्न पाँचवटा आयाम (शीर्षक)मा ४५/४५ वटा र छैटौँमा लघुकथाको सिद्धान्त राखेर ११ वटा लघुकथा रहेका छन् ।

    लघुकथाको सागरको रुपमा रहेको यस भिमकाय ग्रन्थमा अधिकतम कुराहरू पुराना हुँदाहुँदै पनि नयाँ प्रस्तुतिको कारण उत्कृष्ट बन्न पुगेको केही समालोचकहरूको मत छ । यो सिकारु एवम् लघुकथा लेखनमा अभिरुचि राख्नेहरूका लागि अत्यन्त उपयोगी, लाभदायक र पठनिय रहेको छ । यस ग्रन्थमा नेपाली समाजमा हुने विविध विधि र व्यवहारलाई टपक्क टिपेर राख्नुभएको छ । प्रयोगवादी एवम् प्रयोगात्मक लघुकथा सिद्धान्तमा आधारित यस पुस्तकमा आख्यानमा हुनुपर्ने सम्पूर्ण तत्वहरू समावेश छन् ।

    यति उत्कृष्ट हुँदाहुँदै पनि यो पुस्तक सामान्य पाठकका लागि अबोधगम्य हुनसक्ने आशङ्का समालोचकहरूले व्यक्त गरेका छन् । साथै छोटो समयमा यस भिमकाय ग्रन्थको समीक्षा गर्न नसकिने तसर्थ यसको समीक्षाका लागि पर्याप्त समय चाहिने उल्लेख गरेका छन् ।
    यस्तै अतिथिहरूमा साहित्यकार शेखर अर्याल, वसन्त अनुभव, यमुना प्रधानाङ्ग ‘मुना’, कमल पाैडेल, म्यामराज राई, गणेश नेपाली, कृष्ण ढुङ्गेल, तुलमान गुरुङ, अनिल आचार्य, अनिष पाठक, दिपक बाेहरा, चन्दा थापा, अमित प्रधानाङ्ग, विश्वराज अधिकारी, कल्याण पन्त, गोपाल प्रसाद बस्याल, जनार्दन दाहाल, लता के.सी., मीठू कुमारी पाठक, रामहरि पौड्याल, रामकुमार पण्डित, सरोज, कुन्दन, शालिकराम पाण्डे, शिव गौतम, एस आर दुवाडी, मिसु श्रेष्ठ, तारा श्रेष्ठ, शान्ता शाक्य, छविलाल खड्का, नानी विबु, मनोहर पोखरेल, अवधेश सिंह, डा.अनुप श्रेष्ठाचार्य, रचना शर्मा, हेम पोखरेल, ज्योति पाण्डे खड्का, आई पि अधिकारी, शिव गौतम, आयुष बडाल लगायतकाे उपस्थिति रहेकाे थियाे ।

    आफ्नो व्यस्त समयका वावजुद पनि पुस्तकको लोकार्पण कार्यक्रममा उपस्थित हुनुभएकोमा खुसी प्रकट गर्दै कृतिकार डा. विदुर चालिसेले प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण लघुकथाप्रेमीहरू प्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले पुस्तक प्रकाशनको ठूलो अभिभारा बोकेर भव्य कार्यक्रम बिच पुस्तक लोकार्पण गरिदिएकोमा लघुकथा मञ्चका अध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) लगायत मञ्च परिवार प्रति हार्दिक आभार प्रकट गर्नुभयो ।

    साथै उहाँले आफ्ना केही लघुकथाहरू सामान्य पाठकका लागि अबोधगम्य, घुमाउरो, लाक्षणिक भएको स्वीकार्दै विज्ञ समालोचकहरूले दिएको गहन र महत्वपूर्ण परसेप्सन, सुझावलाई आगामी कृतिमा समेट्ने जानकारी दिनुभयो ।

    समापन मन्तव्य राख्नुहुँदै नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष कृष्णजी शर्मा (घनश्याम डल्लाकाेटी) ले हामीलाई विश्वास गरेर आफ्नो अमूल्य पुस्तकको प्रकाशन लगायत लोकार्पणको जिम्मेवारी दिनुभएकोमा कृतिकार डा.विदुर चालिसे प्रति हार्दिक धन्यवाद प्रकट गर्नुभयो ।

    पुस्तक लोकार्पण कार्यक्रममा उपस्थित प्रमुख अतिथि, विशिष्ट अतिथि, अतिथि लगायत सम्पूर्ण लघुकथाप्रेमीहरूलाई वरिष्ठ साहित्यकार एवम् मञ्चकी अभिभावक रन्जुश्री पराजुलीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने कार्यक्रमको उद्घोषण प्रतीक्षा पाैडेलले गर्नु भएकाे थियाे ।

    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on डा.विदुर चालिसेकृत “लघुकथालय” कृतिकाे लोकार्पण

    साउदी स्थित नेपाली राजदुतावासले आ.व. २०७८-७९ मा सम्पन्न गरेका २६ बुदेँ कार्यहरू

  • १५ श्रावण २०७९, आईतवार ०१:४१ मा प्रकाशित
  • ३० जुलाई २०२२! साउदी अरब रियादमा स्थित नेपाली दूतावासले आर्थिक बर्ष २०७८-२०७९ मा कार्य सम्पन्न गरेका केहि महत्त्वपूर्ण २३ बुदेँ कार्य प्रगति विवरण आफ्नो आधिकारिक फेसबुक पेजबाट सेयर गरेको छ ।

    1. १४-१५ मार्च २०२२ मा साउदी अरबका विदेशमन्त्रीले गर्नुभएको औपचारिक नेपाल भ्रमणको समन्वय गरिएको सो अवसरमा नेपाल सरकार र साउदी सरकारबीच द्विपक्षीय सहयोग सम्झौतामा हस्ताक्षर भएको ।
    2. रियादको कूटनीतिक क्वार्टरमा नेपाली राजदूतावासका लागि जग्गा खरिद गरिएको ।
    3. यस अवधिमा साउदी मन्त्रालयहरू , श्रम कार्यालयहरु र अध्यागमन कार्यालयहरूसँग गरी जम्मा १७ वटा उच्चस्तरीय भेटघाट भएका ।
    4. दुर्घटनामा परेर वा विविध कारणले निधन भएका २०६ जना नेपाली मध्ये १८० जनाको शव स्वदेश पठाइएको । १८ जनाको साउदी अरबमैं अन्तिम संस्कार भएको ८ जनाको शव पठाउन बांकी रहेको मृत्युको कारणमा प्राकृतिक कारण ( हृदयघात समेत ) ११२ जना , आत्महत्या ३४ जना , सडक दुर्घटना ३ ९ जना , कार्य दुर्घटना १४ जना , कोरोना संक्रमण १४ जना र हत्या ०१ जना रहेको ।
    5. मृतक नेपालीले कामदारले कम्पनीबाट लिन बांकी रहेको तलब र बोनस तथा सडक दुर्घटनामा परी मृत्यु भएका नेपाली कामदारको ब्लडमनी प्राप्त गरी मृतकको परिवारका नाममा पठाइएको रकम जम्मा साउदी रियाल ५० लाख ९ ० हजार ९ १८
    6.  ट्राफिक दुर्घटनामा मृत्यु भएका ३२५ नेपाली कामदारको ब्लडमनी सम्बन्धी मुद्दा अदालतमा दायरका लागि सम्बन्धित प्रहरी कार्यालयमा फलोअप गरिएको । त्यस मध्ये ५३ वटा केस अदालतमा दायर गरिएको ब्लडमनीको केसमा अदालतमा भएका १२६ वटा सुनवाईमा भाग लिएको । २८ वटा केसमा फैसला भएको । १८ वटा केसको ब्लडमनी प्राप्त भई मृतकका परिवारको नाममा पठाइएको २७ वटा ब्लडमनीको केस कार्यान्वयनका लागि फैसला कार्यान्वयन कोर्टमा दर्ता गरेको ।
    7. कार्य दुर्घटनामा परी मृत्यु / घाइते भएका नेपालीका परिवारले पाउने गोसी रकमका लागि मृतक / घाइतेका परिवारलाई सम्पर्क गरी परिवारले भरेका फाराम गोसी कार्यालयमा दर्ता एवं ताकेता गरिएको संख्या जम्मा ३१०
    8. गोसीका चेकहरु घाइते र मृतकका परिवारले पाउन निकै लामो समय लाग्ने गरेकाले राजदूतावासको अनुरोधमा गोसी अधिकारीहरुबाट फेब्रुअरी २०२२ बाट गोसी रकम वायर ट्रान्सफर कार्यको प्रकृया थालनी भएको । हालसम्म ५ जना परिवारले वायर ट्रान्सफरमार्फत सामाजिक सुरक्षाको पैसा प्राप्त गरेको ।
    9. साउदी श्रम कार्यालय र अध्यागमनबाट अकमा नभएका वा सकिएका र हुरूव लागेकाहरुको वहिर्गमन भीसा जारी भएको संख्या : २,३५७
    10. साउदी अरबका विभिन्न स्थानबाट उद्धार गरी राजदूतावासको शेल्टरमा लामो समय राखेर विभिन्न प्रक्रिया पूरा गरी स्वदेश पठाइएक महिलाको संख्या ३६
    11. वहिर्गमन भीसाका लागि राजदूतावासका कार्मचारी श्रम कार्यालय ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) गएको संख्या : – १ ९ ८
    12. घर फिर्तिकेन्द्र ( deportation centre ) ( रियाद , दम्माम , कसिम अल हासा , हायल , सकाका र अन्य स्थान ) भ्रमण संख्या २०५
    13. राजदूतावासको समन्वयमा विभिन्न घरफिर्तिकेन्द्रमा रहेका नेपालीलाई स्वदेश फर्काइएको संख्या : – १ ९ ३ ९ .
    14. समस्या समाधान कम तलव दिएका ३८ ९ , समयमा तलव नदिएका ५३४ , राजदूतावासको अनुरोधमा कम्पनीले वहिर्गमन भीसा लगाएका ४२५ , विदामा जान दिन अनुरोध ३६७ , नेपालीलाई कम्पनीले गरेका जरिवाना र अन्य समस्या समाधान ३६ ९ , कानूनी मानसिक एवं अन्य परामर्श ८ , ३४५
    15. कम्पनी भ्रमण एवं कम्पनीको व्यवस्थापनलाई राजदूतावासमा बोलाइ कामदारहरुको समस्या समाधान गर्न अनुरोध गरिएको संख्या ३१५
    16.  १२,२१ ९ माग पत्रहरुको प्रोसेसिङ गरी १०,८२५ मागपत्र प्रमाणिकरण गरिएको ।
    17. विभिन्न मितिका मागपत्रबाट साउदी अरब आएका नेपालीहरूको विवरण पठाउन ४६० भन्दा बढी रोजगारदाता र ४१३ भन्दा बढी म्यानपावर कम्पनीलाई इमेल पठाइएको ।
    18. नेपाली राजदूतावासले गैर आवासीय नेपाली संघको सहयोगमा दम्माम र रियादमा संचालनमा ल्याएका सेल्टरमा एक वर्षको अवधिमा पनि ५१३ कामदारलाई राखेर खान / बस्नको व्यवस्था गरेको
    19. विभिन्न अस्पतालमा विरामी अवस्थामा रहेका २५ जना विरामीहरुलाई भेटगरी उपचारमा थप सहयोगको लागि अस्पताललाई अनुरोध गर्नुका साथै स्वदेश फर्कने हालतमा भएकोलाई आवश्यक समन्वय गरी स्वदेश पठाइएको ।
    20. राहदानी जारी गरिएको संख्या १२,०४३ सशुल्क यात्रा अनुमतिपत्र जारी संख्या १२५७ निशुल्क यात्रा अनुमतिपत्र जारी- १४२३ ( जेल र घरफिर्ति केन्द्रका लागि )
    21. निजी कामदार पुनः फिर्ति कागजात जारी गरिएको संख्या १०६१
    22. विभिन्न स्थानमा कन्सुलर तथा राहदानी क्याम्प सञ्चालन संख्याः २४ •
    23. राजदूतावासको प्रांगण र साउदी अरबका विभिन्न स्थानमा गरी जम्मा ९ ३ वटा श्रमिक सचेतना कार्यक्रम सम्पन्न भएको जसबाट करीब ६०,००० हजार नेपाली कामदार लाभान्वित भएको ।
    24. कामदारहरुबाट आफ्ना समस्या लगायत विभिन्न विषयमा ३५,००० हजार भन्दाबढी ह्वाट्स एप सन्देश र ९ ५ हजार भन्दाबढी टेलिफोन प्राप्त गरेको ।
    25. राजदूतावासको वेभसाइट र फेसबूकमा पटक पटक गरी ११५ वटा विभिन्न सूचना पोष्ट गरिएको ।
    26. राजदूतावासको आधिकारीक फेसबुक पेजबाट फेसबुक लाईभमार्फत राजदूतावासले प्रदान गर्ने सेवाका बारेमा जानकारी गराउन शुरू गर्नुका साथै सोही माध्यमबाट श्रमिक सचेतना तथा श्रमिकका समस्या / गुनासो सम्बोधन गर्न प्रारम्भ गरेको ।

    दूतावास रियादको सूचना जस्ताको त्यस्तै तल हेर्नू होला ।

    Posted in अन्तर्राष्ट्रिय, ताजा अपडेट, मुख्य खबरLeave a Comment on साउदी स्थित नेपाली राजदुतावासले आ.व. २०७८-७९ मा सम्पन्न गरेका २६ बुदेँ कार्यहरू

    जब जापान उड्न लागेकी कोहलपुरकी सपनाको हातमा हत्कडी लाग्यो …

  • १४ श्रावण २०७९, शनिबार २२:५५ मा प्रकाशित
  • कोहलपुर नगरपालिका–२, बाँकेकी २१ वर्षीया सपना मल्ल वैदेशिक अध्ययनका लागि जापान जान लगेज बोकेर गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेकी थिइन् । साथीभाइ र आफन्तले खादा र माला लगाइदिएर बिदाबारी पनि गराइसकेका थिए ।

    बिहान ७ बजे उड्ने नेपाल एयरलाइन्सको विमानमार्फत काठमाडौं, दिल्ली हुँदै टोकियो पुग्ने टिकट थियो ।

    त्यही अनुसार ५ बजे नै बिदाइ सकेर उनी सुरक्षा जाँच पार गरिसकेकी थिइन् । जाँच पार गरेर लगेज जोखिसकेको अवस्थामा उनी उडानका लागि अन्तिम जाँच कक्षमा थिइन् ।

    तर उडान हुनु केही समयअघि मात्रै एकाएक सादा पोशाकका चाररपाँच जना प्रहरीले पुगेर उनलाई केरकार गर्न थाले । उड्ने बेलामा केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का प्रहरी हौं भन्दै सोधपुछ हुन थालेपछि उनी असिनपसिन भइन् ।

    ‘सुरुमा उनले आफूलाई केही कुरा थाहा नभएको बताइन्, कुनै अपराधमा संलग्न नभएको दाबी गरिन्’ विमानस्थल पुगेका एक अधिकृत भन्छन्, ‘तर कोहलपुरमा हत्या गरिएका सर्जन बिकसँगको बिवाह दर्ता गरेको कागजात देखाएपछि उनी अक्क बक्क भइन् ।’

    पक्राउ पूर्जी लिएर विमानस्थल पुगेको प्रहरीले उनको हातमा हत्कडी लगायो । वैदेशिक अध्ययन र उज्जवल भविष्यको परिकल्पना गर्दै विमानस्थल पुगेकी सपनाको सपना विमानस्थलमै तुहियो । उनलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लियो ।

    केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० का निर्देशक एआईजी उत्तमराज सुवेदी भन्छन्, ‘उनीविरुद्ध अहिले विस्तृत अनुसन्धान भइरहेको छ ।’

    सुवेदीका अनुसार २ वैशाख २०७८ मा कोहलपुर–११, बाँकेमा २१ वर्षीया सर्जन विक चढेको मोटरसाइललाई मिनी बसले ठक्कर दिएको थियो । त्यसक्रममा ज्यान गुमाएका विकको २ करोड ५० लाख रुपैयाँको बीमा थियो ।

    बीमा गरेको एक महिनामै उनको मृत्यु भएपछि बीमा कम्पनीलाई शंका लाग्यो र सीआईबीमा ठगी कसूरमा उजुरी पर्‍यो । अनुसन्धानका सिलसिलामा बीमा रकम हत्याउनैका लागि सपनाको विकसँग नक्कली विवाह गराइएको खुलेको सुवेदीले बताए ।

    सपनाको बयान अनुसार उनलाई विकसँग विहे गरे डिपेन्डेन्ट भिसामा अष्ट्रेलिया लगिदिने प्रलोभन दिइएको थियो । विवाह दर्तापछि विकसँग मल्लको भेट समेत भएको थिएन । उनी विकको मृत्यु संस्कारमा पनि सहभागी भएकी थिइनन् ।

    उनले दिएको बयानमा आफूलाई बीमाबारे कुनै जानकारी नभएको बताएकी छन् । प्रहरीका अनुसार प्रकरणमा मल्लसहित सञ्जीव अर्याल, सरदार महमद खाँ, टोपबहादुर राना क्षेत्री, दिपकक केसी र ललिता सापकोटा ‘आरती’ पनि पक्राउ परेका छन् ।

    साभारः अनलाईनखबर

    Posted in ताजा अपडेट, मुख्य खबर, समाजLeave a Comment on जब जापान उड्न लागेकी कोहलपुरकी सपनाको हातमा हत्कडी लाग्यो …

    उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट उदकहरू

  • १४ श्रावण २०७९, शनिबार १५:४३ मा प्रकाशित
  • १.
    जीवन
    अनौठो यात्रा
    तारतम्य नमिले जात्रा !

    २.
    जन्म
    एक सौभाग्य
    यशप्राप्ति लेखे काव्य !

    ३.
    साहित्य
    जीवनको अनुभूति
    लेखिन्न दिनभर सुती !

    ४.
    आफन्त
    इष्ट मित्र
    असल भाव भित्र !

    ५.
    सहयात्री
    गन्तव्य सारथि
    सबैभन्दा हुने माथि !

    ६.
    नेपाल
    सुन्दर देश
    रहेकाछन् आफ्नै भेष !

    ७.
    पूर्व
    अनि सुदूर
    सम्झिए नहुने दूर !

    ८
    विदेश
    अर्कै भेष
    प्यारो आफ्नै देश !

    ९.
    नीति
    नियमको डोरी
    पालन गरौँ नफोडी !

    १०.
    सङ्गत
    जीवनको गोरेटो
    गलत परे सत्यानाश !

    • तेजप्रसाद खनाल, दाङ
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्य1 Comment on उदक यात्री तेजप्रसाद खनालका उत्कृष्ट उदकहरू

    उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

  • १४ श्रावण २०७९, शनिबार १५:४० मा प्रकाशित
  • १
    हरियो
    प्रकृति छटा
    विशाल छाती भरियो !

    २
    शिव
    शक्ति स्वरूपा
    सत्य तत्व भव !

    ३
    धार्मिक
    बन्देज हिंसा
    सत्य भक्त मार्मिक !

    ४
    प्रकृति
    प्राण वायु
    जगेर्ना रक्षा सम्पत्ति !

    ५
    काइदा
    महिनौँ व्यापार
    फल फलेपछि फाइदा !

    ६
    औकात
    तौल तराजु
    व्यवहार घात प्रतिघात !

    ७
    हक
    उचित अधिकार
    सम्मान न्याय व्यवहार !

    ८
    पात
    दुना टपरी
    कला सीप हात !

    ९
    फूलबारी
    पुतली हुल
    खेल्छ भमरा खेल !

    १०
    शासन
    सामन्ती प्रथा
    खोसिने गरिब आसन !

    • शारदा गौतम आचार्य, ललितपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उदक यात्री शारदा आचार्यका उत्कृष्ट उदकहरू

    उसक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

  • १४ श्रावण २०७९, शनिबार १५:३८ मा प्रकाशित
  • १
    नगरिकता
    नाङ्लाे पसल
    चुनाव ताका थाप्ने !

    २
    नागरिकता
    चर्मको राेग
    सत्तामा रहँदा चिलाउने !

    ३
    नागरिकता
    भाेटकाे बैंक
    सत्ताकाे बैँस नेपालमा !

    ४
    नागरिकता
    खुल्ला सिमाना
    निकाे नहुने राेग !

    ५
    नागरिकता
    राष्ट्रिय पहिचान
    दुर्भाग्य सत्ता चलखेल !

    • प्रद्युम्न चालिसे, भक्तपुर
    Posted in ताजा अपडेट, मुख्य खबर, साहित्यLeave a Comment on उसक यात्री प्रद्युम्न चालिसेका उत्कृष्ट उदकहरू

    Posts navigation

    Older posts
    Newer posts

    Himalayan Dristi Team

    • प्रधान सम्पादक

      अनिल आचार्य

    About us

    • हाम्रोबारे

    Follow us on Facebook

    Contact Us

    Kathmandu, Nepal
    Email: himalayandristi@gmail.com
    Phone:-00977-9868990772
    Web:
    www.himalayandristi.com/
    विज्ञापनका लागि
    कृष्ण गिरि 00977-9860341922

    © Copyright 2020-2024 Himalayan Dristi. All Right Reserved. Design & Developed By K & P