पञ्चाङ्ग चित्रपट भाग – ३ सम्पन्न

  • १५ श्रावण २०७९, आईतवार १२:२७ मा प्रकाशित
  • पञ्चाङ्ग चित्रपट
    ========

    दर्ता पछिको पञ्चाङ्ग चित्रपट भाग:-३
    लेख्नुपर्ने पञ्चाङ्ग सङ्ख्या : ०१
    मिति: २०७९/०४/१२

    प्रशिक्षक :
    ————
    सोमनाथ लुइटेल “रवि पाल्पाली”
    सुशीला पौडेल

    चित्र संकलन
    —————-
    सोमनाथ लुइटेल “रवि पाल्पाली”

    शुद्धीकरण
    ————–
    सोमनाथ लुइटेल
    भवानी घिमिरे

    समायोजन
    ————-
    दुर्गा आचार्य & भवानी घिमिरे

    आदरणीय पञ्चाङ्गका अनुरागी  एवम् पञ्चाङ्ग स्रष्टाज्युहरू हार्दिक नमस्कार 🙏 ” पञ्चाङ्ग साहित्य समाज नेपाल” को आधिकारिक दर्ता पछिको तेस्रो अभ्यासमा छौं।
             यहाँहरुलाई हार्दिक स्वागत गर्दै🙏

                 यस शृङ्खलामा दिइएको चित्र अनुसारको बिम्बात्मक तथा गहन मौलिक भाव झल्किने एक पञ्चाङ्ग भोलि साँझ ८:०० बजेभित्र आफ्नो नाम र ठेगाना सहित कमेन्ट बक्समा लेख्नु हुन हार्दिक अनुरोध गर्दछौं  ।

    नोट : संयोजन गर्न सहज हुने भएकोले कमेन्ट बक्समा नाम ठेगाना सहित राख्नु हुन अनुरोध गर्दछौं  ।

    पञ्चाङ्ग चित्रपट ( कुकुरको बारेमा )

    चित्रपट पञ्चाङ्ग   ०१
    कुकुर पनि ठुलो भन्दा सानो मनपर्छ मलाई  ।
    रातो कालो भन्दा त मान्ने कानो मनपर्छ मलाई  ।
    घरको पाले त्यो हो राती पहरा दिन्छ नसुतेर ,
    घरमा बस्ने कुकुरको रानो मनपर्छ मलाई  ।
    जति दियो उतिमै रम्ने मानो मनपर्छ मलाई ।

    🙏सोमनाथ लुइटेल “रवि पाल्पाली”।

    चित्रपट  पञ्चाङ्ग   ०२
    जीवत चेतन प्राणीमा मित्र भाव झल्किन्छ,
    सके त बुझ्न यिनको प वित्र भाव झल्किन्छ ।
    बालक  साना  सम्झेर यिन सँग  रमाउँदा।
    फूलका झै साना कोपिला भित्र भाव झल्किन्छ ,
    म भित्र लेखेर राख्दछु चित्र भाव  झल्किन्छ ।

    🙏होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    चित्रपट पञ्चाङ्ग    ०३
    मानव पछि चेतन गनिने प्राणी  ।
    निन्द्रा छोडी घर रक्षा भनिने प्राणी ।
    काम इनाम मस्तिष्क उस्तै चलाख ,
    अनजान दुष्कर्मीमा खनिने प्राणी ।
    भैरव मानी पूजामा जनिने प्राणी ।

    ✍️जमुना आचार्य
      सिन्धुपाल्चोक

    चित्रपट पञ्चाङ्ग    ०४
    चाेरबाट बच्न कुकुर पालिन्छ घरमा  ।
    पाल्न सजिल‌ै छ त गाँस हालिन्छ घरमा  ।
    शुरुमा कुकुर पाल्न सानाे बच्चा न‌ै पालौं ,
    फाेहर सहनु न‌ै पर्छ फालिन्छ घरमा  ।
    खाना नपाउँदा कुकुर झालिन्छ घरमा  ।

    🙏नवराज भट्ट
    महेन्द्रनगर, कञ्चनपुर ।

    चित्रपट पञ्चाङ्ग    ०५
    चेतनाको तुलनामा मान्छे भन्दा बाठो प्राणी
    घ्राण शक्ति प्रभु भक्ति हामी देख्छौं लाटो प्राणी
    हेलाँ गर्छौं ढुङ्गा हान्छौं हाम्रो बुद्धि पशु जस्तो
    भोको पेट लखर् लखर् चारैतिर घाटो प्राणी
    पेट अग्नी ज्वाला बल्दा फोहर् मैला चाटो प्राणी ॥

    🙏गुणनिधि घिमिरे
    खान्द्रोङ्ग पाँचथर उर्लाबारी मोरङ हाल अमेरिका ।

    पञ्चाङ्ग   ०६
    अहमता गरेको राम्रो हुन्न ।
    दम्भहरू भरेको राम्रो हुन्न ।
    आज्ञाकारी बनेर हिँड मित्र,
    रातो खोला तरेको राम्रो हुन्न ।
    आफैभित्र मरेको राम्रो हुन्न‌ ।

    🙏आर्त अकुलीन
    कैलाली ।

    चित्रपट पञ्चाङ्ग   ०७
    चेतनशील प्राणी मध्ये तिमीलाई धेरै गुणी छानेको छु  ।
    आफ्नै छोराछोरी जस्तै मुटुमा राखेर ज्ञानी नै मानेको छु  ।
    कहिल्यै चोट नपुर्‍याउनु परिवारमा पनि कसैलाई  ,
    पालेर सदाएर राख्न सबैभन्दा नजिकको जानेको छु
    मनको गहिराईमा पशु नसोची बफादार ठानेको छु।

    🙏अम्विका अधिकारी
    झापा विर्तामोड ।

    चित्रपट पञ्चाङ्ग    ०८
    घरको राम्रो सुरक्षा  गर्ने कुकुर  ।
    अपराधीको निर्मुल गर्ने कुकुर  ।
    सजग नभएमा रेबिजको डर ,
    अन्तरिक्षमा पहिले पुग्ने कुकुर  ।
    यमराजको द्वारमा कुर्ने कुकुर  ।

    🙏देबकी के .सी.
    दक्षिणकाली ,काठमाडौ ।

    चित्रपट पञ्चाङ्ग   ०९
    न लोभ देखाउँछ न लालचमा फस्छ घरको रक्षक  ।
    सधैं मालिकको अनुशासनमा बस्छ घरको रक्षक  ।
    आफू भन्दा बढी नै मालिकको सेवा गर्ने बानी उसको ,
    नदिनुस् खाना कहिल्यै बरु पेट कस्छ घरको रक्षक  ।
    ज्यानको बाजी राखेर शत्रुलाई डस्छ घरको रक्षक   ।

    🙏केशव न्यौपाने सानु।

    चित्रपट पञ्चाङ्ग    १०
    मान्छे भन्दा कुरा जानेका तिमीले छौ ।
    आफ्नाको चाहना मानेका तिमीले छौ  ।
    कसरी सुखदुःख साटेको देखिन्छ ,
    सबैको माया त तानेका तिमीले छौ  ।
    परे चौका दाउ हानेका तिमीले छौ ।

    🙏अनुप आचार्य
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   ११
    लोभलाग्दो देखेर दायाँ राखौँ जस्तो  ।
    गर्मी धेरै अचेल छाया राखौँ जस्तो ।
    आहा कति सुन्दर पनि हो तिमी त ,
    लुकाउदै अब त बायाँ राखौँ जस्तो ।
    मनमा तिमीसँग माया राखौँ जस्तो  ।

    🙏दुर्गा आचार्य
    मोरङ ।

    चित्रपट पञ्चाङ्ग   १२
    मान्छे भन्दा चेतनशील प्राणी ठानेको छ  ।
    आफ्नैं छोराछोरी झैँ समान मानेको छ  ।
    घर रक्षक इमान्दारी रुपमा हेरिन्छ  ,
    घरमा पाली शोभा बढाउन जानेको छ  ,
    यहाँ सबैभन्दा निस्वार्थि प्राणी छानेको छ  ।

    🙏दुर्गा भट्टराई
    मोरङ

    चित्रपट पञ्चाङ्ग    १३
    तालिम दिए बफादार हुन्छन् यी पशुहरू  ।
    अपराध गर्नेले यहाँ छुन्छन् यी पशुहरू  ।
    जे सिकायाे त्यहीँ कुरा राम्ररी बुझेर सिक्छन्   ,
    मालिकले जे सिकायाे त्यै सुन्छन् यी पशुहरू  ।
    केही नराम्रो हुने भए रुन्छन् यी पशुहरू  ।

    🙏ताेयानाथ सुवेदी
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १४
    ०१
    घ्राण शक्तिमा अद्भुत देखिन्छौ है धेर यहाँ  ।
    शत्रुताका निमित्त तिमी हौ प्राणी शेर यहाँ ।
    आशक्ति भेटिन्न तिमीमा रतीभर कहिले  ,
    अत्यन्त बफादार छौ स्वामी भक्त हेर यहाँ ।
    अपरिचित आए भुक्न गर्दैनौं बेर यहाँ  ।
    ०२
    आफैं बफादारीमा कुकुर सदा रमाएकाे छ ।
    अपराधीलाई सुँघ्ने शक्तिबाट समाएकाे छ ।
    गल्ली देखि ओहदामा पुग्न सक्ने तागत हेर, 
    अजीवकाे काम गरेर नै नाम कमाएकाे छ।
    चातुर्यले गर्दा आफ्नो स्थान यहाँ जमाएकाे छ ।

    🙏भवानी घिमिरे
    सर्लाही ।

    चित्रपट पञ्चाङ्ग    १५
    सानो सानो कुकुर हेर कति प्यारो लाग्ने हो
    यसलाई भोक लाग्दा यस्ले हो आफै माग्ने हो
    बफादार    हुन्छ ,  घरको  हेरचाह   गर्छ आफै
    सारै निन्द्रा पातलो यसको चाडै नै जाग्ने हो
    संग  सगै  रहे  यो  डर  चिन्ता  सबै भाग्ने हो ।

    🙏बुद्धिमान दनुवार
    सुरुङ्गा —-४ झापा।

    चित्रपट पञ्चाङ्ग   १६
    कुकुरलाई मायाले फुके पनि हुन्छ
    गएर कतै कुनामा लुके पनि हुन्छ
    मालिकलाई सजिलै चिन्दछ उसले
    नटोकेमा जतिसुकै भुके पनि हुन्छ
    उसको बफादारीमा झुके पनि हुन्छ।।

    🙏घनश्याम पौडेल
    पोखरा ।

    चित्रपट पञ्चाङ्ग    १७
    दुतको रूपमा पुजिन्छ कुकुर
    साथीको रूपमा बुझिन्छ कुकुर
    कुकुरको बच्चा सानो राम्रो हुन्छ
    केही बिराम् गरे कुटिन्छ कुकुर
    मालीकको पछी डुलिन्छ कुकुर।

    🙏सुमित्रा पोखरेल
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १८
    पाले पनि भोटे  कुकुर पाल्छु हेर
    जाइलागेमा त्यसैलाई ढाल्छु हेर
    घरको   पाले   बनेर पहरा दिन्छ
    नखाएर मालिकलाई दाल्छु हेर
    कराएर मान्छेको कान टाल्छु हेर ।

    🙏दुर्गा निरौला
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग    १९
    घरपालुवा जनावर मध्ये कुकुर राम्रो हुन्छ
    किनेर घर ल्याए पछि सधैंका लागि हाम्रो हुन्छ
    हुनत कुकुर मानिसको पुरानो मिल्ने साथी हो
    हेरचाह नपुर्याउँदा उस्को जीवन चाम्रो हुन्छ
    खुल्ला सडकमा छोडिदिए खुट्टा तिर काम्रो हुन्छ।

    🇳🇵अच्युत घिमिरे
    भुटान बाट 🇧🇹

    चित्रपट पञ्चाङ्ग   २०
    जात मात्र कुकुर हो  बफादारी हुन्छ।
    मान्छे भन्दा बरु उहीँ सदाचारी हुन्छ।
    अद्भुत  शक्ति  दिएछन्  ईश्वरले पनि।
    कुकुरको  आवाजले  सत्रु भारि हुन्छ।
    जिवात्मामा सदैव पालन हारी  हुन्छ।

    🙏मल्ल लक्ष्मी श्रेष्ट
    मेची किनार  बिर्तामोड झापा।

    चित्रपट पञ्चाङ्ग   २१
    कुकुरलाई आज्ञाकारी प्राणी मान्छौं हामीले।
    दुश्मनलाई तह लगाउने ठान्छौ हामीले।
    त्यसैले तिहार र भैरव रूपमा पुजिन्छ ,
    कहिले काँही भनेको नमान्दा हान्छौ हामीले।
    ज्ञानी भएर ऊसलाई घुम्न लान्छौं हामीले।

    🙏सुशीला पौडेल
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २२
    घरको हेरचाह गर्न प्राणी पालेको छु।
    म घर छोडी बाहिर पाइला चालेको छु।
    आज्ञाकारी प्राणी एक मानिसको कुकुर,
    यसको व्यवसाय सुरु गर्न थालेको छु।
    राम्रो घरमा तिनीहरूलाई हालेको छु।

    🙏ह्यारिस ह्यारिसन
    काठमाडौं ।

    चित्रपट पञ्चाङ्ग   २३
    कुकुर जहिले पनि  बफादारी हुन्छ राम्रो
    मालिक आउँदा हात र खुट्टामा छुन्छ राम्रो
    घरको सुरक्षा गरी मालिकलाई रिझाइ
    राम्रो व्यवहार गरि मान्छेलाई  चुन्छ राम्रो
    केहि नराम्रो कुरा हुन छ भने रुन्छ राम्रो

    🙏आर्मित्मा थापा मगर
    स्याङ्जा।

    चित्रपट पञ्चाङ्ग    २४
    हामीले  पालेको कुकुर नै जाती हुन्छ
    बाहिर तिर कुकुर भाँती   भाँती हुन्छ
    घरमा सुरक्षाको लागि पाल्ने   कुकुर
    उनीहरूको   काम भनेको राती हुन्छ
    बाहिरका    कुकुर सारै नै काती हुन्छ ।

    🙏भावना न्यौपाने
    काठमाडौं ।

    चित्रपट    २५
    माया गर आँखा नतर है कसैले
    ढुङ्गा हान्न अघि नसर है कसैले
    स्वामीभक्त यी प्यारा प्राणीहरूलाई
    पशु भनि हेला नगर है कसैले
    मान्छे भन्दा तल नझर है कसैले।।

         🇮🇳 अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    चित्रपट पञ्चाङ्ग    २६
    कोमल तन बचाउन   सास  त्यो  खोज्छ
    साङ्लोले बाधिएर पनि गाँस त्यो खोज्छ
    रात   दिन   घरको    हेर    विचार    गर्छ
    खाना  नपाएर  फोहर  रास त्यो खोज्छ
    मायाको  भोको बनी  भास त्यो खोज्छ ।

    🙏सरिता काफ्ले
    कोहलपुर बाँके।

    चित्रपट पञ्चाङ्ग   २७
    जहिले पनि बफादारी मानेका हुन्छौ तिमीले  ।
    खुसी छौ भने सधैंभरि मन नै छुन्छौ तिमीले ।
    गर्नेछौ घरको सुरक्षा अनि पुरै चौकिदार ,
    राम्रो व्यवहार गर्दा अनगिन्ती चुन्छौ तिमीले ।
    अशुभ हुनेछ भन्ने संकेतमा रुन्छौ तिमीले ।

    🙏पुजा शर्मा
    सुनसरी ।

    चित्रपट पञ्चाङ्ग    २८
    स्वमिभक्तमा निष्ठा भएकोमा  लाटो प्राणी ।
    फाेहर खाँदा र फाेहाेर गर्दा माटाे प्राणी ।
    माया गर्नु न हाे उसलाई राम्रो मानेर  ,
    नचिनेकाकाे लागि अत्यधिक फाटाे प्राणी ।
    आफैं खाई आफैं उखलेर नै चाटाे प्राणी ।

    🙏सहयात्री शाेभा अर्याल
    बुटवल-१४, रुपन्देही ।

    चित्रपट पञ्चाङ्ग    २९
    आजभोलि कुकुर मान्छे, मान्छे  कुकुर भएको छ  ।
    बरु सुध्रदै छ कुकुर, मान्छे  बौलाही रहेको छ  ।
    खाली डर एउटै, कतै रेबिज  लाग्ने त होइन ,
    भय, चिन्ता र त्रासले भित्रभित्रै पाकी सहेको छ ।
    कुकुर देखिन्छ निश्चिन्त, मान्छेले दुःख कहेकाे छ ।

    🙏वसन्त अनुभव
    घोराही, दाङ।

    चित्रपट पञ्चाङ्ग    ३०
    साथी ठानी घुमाउन लान्छाैँ हामी  ।
    कुकुर थियोे लाइका मान्छाैँ हामी ।
    गरी पूजा वर्षैपिच्छे तिहारमा  ।
    परम्परा संस्कृति नि धान्छाैँ हामी  ,
    कुत्तालाई स्वामी भक्त ठान्छाैँ हामी  ।

    🙏केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    चित्रपट पञ्चाङ्ग    ३१
    काम लाग्ने कुकुरहरू यहाँ देखिने मान्छेकाे  साथी  हो ।
    जनावरहरू मध्येमा कुकुर मान्छेका लागि जाती हो ।।
    सबैकाे घरमा एकएक पाल्तु पालेकै हुन्छन् गाउँमा ,
    धनजनको रक्षार्थ कुकुर नभै नहुने त राति हो ।
    कुकुर जस्तो सहयोगी जनावर मार्नेहरू घाती हो ।

    🙏रामप्रसाद पुरी
    बादेल, खाेटाङ ।

    चित्रपट पञ्चाङ्ग    ३२

    इमान्दारी भक्त कुकुर बन्छ नबोले पनि  ।
    कसैसँग मनको पिर ब्यथा नखोले पनि  ।
    स्वामीभक्तिको पाठ सिकाउने कुकुर हाम्रो ,
    मान्छे भन्दा अब्बल भयौ गोडा नमोले पनि  ।
    स्वार्थमा लिप्त हुँदैन चिनी झैँ नघोले पनि  ।

    🙏पुष्पा नेपाल
    झापा ।

    चित्रपट पञ्चाङ्ग   ३३

    मेरो देश डुबिसक्यो बचाउनउ  ।
    यहाँका लुटेरालाई पछ्याउन आउ  ।
    असल नेतालाई टिक्न नदिने भयो ,
    बिगार्न लागेछन् देश सम्झाउन आउ  ।
    यहाँ रगत पसिना बगाउन आउ ।

    🙏कमला पाण्डे पराजुली
    झापा चारआलि

    Leave a Reply