रियाद | साउदी अरबको दम्माम स्थित एक होटलमा ४ डिसेम्बर शुक्रवारका दिन पासपोर्ट (राहदानी) नवीकरणको लागी आवेदन फारम संकलन सहजिकरण तथा एनआरएनए द्वारा आउट रेज श्रमिक क्याम्पिङ तथा सहजीकरण संयुक्त कार्यक्रम सुरूवात गरिएको छ। नेपाली दूतावास रियादले केरोना महामारीलाई मध्यनजरमा राखी नेपाली नागरिकको राहदानीको म्याद सकिएर नवीकरणको लागी दूतावास सम्म पुग्न नसकेका सेवाग्राहीका लागी सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम संचालन गरिएको हो।
उक्त कार्यक्रममा नेपाली दूतावास रियादले जारी गरेको अनलाईन फारम भरेका १०९ जना नेपालीहरू उपस्थित भई राहदानी नवीकरणको लागी आवेदन फारम बुझाएका छन् भने राहदानी नवीकरणको लागी आवेदन दिन अनलाईन फारम नभरेका ६० जनाले एनआरएनए साउदीका प्रतिनिधिहरूको सहयोगमा अनलाईन फाराम भरेका छन्।
राहदानी नवीकरणको आवेदनका लागी आवश्यक प्रक्रिया पुरा गरी कागजात संकलन गर्न नेपाली दूतावास रियादका प्रतिनिधिहरू प्रथम सचिव ऋषिराज आचार्य, तृतीय सचिव नरेन्द्र कामी, कार्यालय सहयोगी हेमन्त आचार्य र साउदी अरबको पूर्व क्षेत्र दाम्मामका लागी दूतावासका स्थानीय कर्मचारी हरी घिमिरेको उपस्थिति रहेको थियो भने सहजिकरणका लागी एनआरएनएका अन्तर्राष्ट्रिय अभियन्ता राजु सैयद, एनआरएनएका आईसिसी मध्यपूर्व क्षेत्रिय सह-संयोजक राजेन्द्र अर्याल, एनसीसी साउदीका अध्यक्ष तेज थापा, उपाध्यक्ष रोशन श्रेष्ठ, प्रमुख सल्लाहकार डम्मर यादव लगायत राष्ट्रिय र स्थानीय तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
त्यसै गरी राहदानी नवीकरणको आवेदन संकलन गर्न दूतावासले अगामी ११ डिसेम्बर शुक्रवारका दिन साउदी अरबको पूर्वी क्षेत्र अन्तर्गत जुवेल स्थित ऐभेरेष्ट नेपाली होटलमा आवेदन संकलन कार्य गरिने जनाएको छ ।
कास्की | ज्यान मार्ने उद्योग मुद्धाका फरार प्रतिवादी माछापुच्छ्रे गाउँपालिका-९ तल्लो गाँउ बस्ने ४८ वर्षीय खिम बहादुर क्षेत्रीलाई घटनाको १३ बर्षपछि बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत कास्कीको २०६४ साउन ३० गतेको फैसलाले ज्यान मार्ने उद्योग मुद्धामा ७ बर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत कास्कीमा पेश गरिएको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले जिल्ला अदालत कास्कीको फैसलाले बन्यजन्तु सम्बन्धी कसुर मुद्धामा १० हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका १ जना र जुवा सम्बन्धी मुद्धा अन्तरगतका जरिवाना सजाय भएका ८ जना प्रतिवादीहरु समेत पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला अदालत कास्की बुझाइएको उक्त कार्यालयले जनाएको छ ।
काठमाडौँ | गैरकानुनी रुपमा दक्षिण अफ्रिका पुर्याई मानव बेचविखन गर्ने कार्यमा संलग्न फरार अभियुक्त ताप्लेजुङ गेंरिडदेन गाउँपालिका-४ घर भएका ४३ वर्षीय गणेश कुमार लोंवालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।
उनले ३ जनालाई वैदेशिक रोजगारीमा आकर्षक तलब दिलाईदिने प्रलोभनमा पारी गैरकानूनी तवरले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत, दुवई र कतार हुँदै साउथ अफ्रिकासम्म पुर्याई बिक्री गरी शारीरिक, मानसिक र आर्थिक शोषण गरी ४/५ महिनासम्म बन्धक बनाई राखेको खुल्न आएको छ । पीडितहरु कोही नभएको मौका पारी भागेर नेपाली राजदूताबासमा पुगी दूताबासको समन्वयमा आफन्तहरुको सम्पर्कमा आई नेपाल फिर्ता भए पश्चात दिएको जाहेरीको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले अभियुक्त लोंवालाई काठमाडौं महाराजगञ्जबाट पक्राउ गरेको हो ।
लोंवा उपर जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको उक्त ब्यूरोले जनाएको छ ।
त्यस्तै ज्यान मार्ने उद्योगका फरार प्रतिवादी काठमाडौं महानगरपालिका-१० बस्ने सिन्धुपाल्चोक बासबारी-६ घर भएका ३१ को अमिर भन्ने अम्बिर लामालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं बस्दै आएका काभ्रेपलाञ्चोक शिखर अम्बोटे घर भएका १९ वर्षीय युवकलाई काठमाडौं महानगरपालिका-१० मा २०६५ पुस २४ गते खुकुरी प्रहार गरी घाइते बनाई फरार रहेका व्यक्तिहरुमध्येका लामालाई महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिक-१२ टेकुबाट पक्राउ गरेको हो ।
उनी उपर थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
कास्की | बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको अभियोगमा पोखरा महानगरपालिका-६ खहरे बस्ने फ्रेन्च नागरिक ६० वर्षीय Christian, Serge, Henri Nougaret लाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१७ बिरौता पावरहाउस फुस्रेखोला बगरमा ७ वर्षीय, ८ वर्षीय र १२ वर्षीय गरी ३ जना नाबालकलाई बाल यौन दुरुपयोग/शोषण गरिरहेको अवस्थामा प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई पक्राउ गरेको हो ।
बिभिन्न हिसाबले नेपाल प्रवेश गरेका तथा नेपालमा आई बसेका केही विदेशी नागरिकहरु बाल यौन दुरुपयोग/शोषण कार्यमा संलग्न रहेको भन्ने सूचनाको आधारमा उक्त ब्यूरोबाट विशेष सूचना परिचालन तथा कारवाही गर्ने क्रममा उनलाई फेला पारी पक्राउ गरेको हो । पेशाले कम्प्युटर ईन्जिनियर रहेका उनी ‘नन टुरिष्ट भिसा’मा नेपालमा बसोबास गरिरहेको खुल्न आएको छ ।
उनलाई बाल यौन दुरुपयोग तथा अप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय कास्कीमा बुझाईएको तथा पीडित ३ जना नाबालकलाई उद्धार गरी अभिभावकलाई जिम्मा लगाइएको उक्त ब्यूरोले जनाएको छ ।
काठमाण्डौँ| माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने राम अयोध्या साह तेलीकी १७ वर्षीया छोरी अमृता कुमारी साहको हत्यामा संलग्न रहेको अभियोगमा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनीया कुरुनीया बस्ने बस्ने ६० वर्षीय शेख अलियास, ४० वर्षीय बहुदल भन्ने ईस्लाम असांरी, ३६ वर्षीय शेख ईम्प्ताज, मृतकका बाबु माधवनारायण नगरपालिका-७ लौकाहा टोल बस्ने ५५ वर्षीय रामअयोध्या साह, मतृककी आमा सिता देवी साह, परोहा नगरपालिका-४ बस्ने ४६ वर्षीय छोटेलाल साह र देवाही गोनाही नगरपालिका-२ लक्ष्मिनिया कुरुनीया बस्ने कैमलु देवान रहेका छन् । आफ्नै माईतीघरमा आमासँग सुतिरहेको अवस्थामा आमा चर्पी गएको बेलामा ४/५ जनाको समूहमा आएका अपरिचित व्यक्तिहरूले अमृता कुमारीलाई गोली प्रहार गर्दा गत कात्तिक २६ गते उनको घटनास्थलमै मृत्यु भएको थियो ।
घटनाको अनुसन्धानको क्रममा सोही ठाउँ बस्ने ३० वर्षीय युवकसँग मृतकको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेको भएपनि परिवारको दबावमा २०७६ फागुनमा सर्लाही विष्णु गाउँपालिका-३ मा विवाह भएकोमा उनका पतिलाई छुरा प्रहार गरी ज्यान मार्ने आक्रमण भएपछि अमृता माईती आई बसेको र २०७७ साल असारमा उनीहरुबीच सम्बन्ध विच्छेद भएको थियो । त्यसपछि अमृता र उनको प्रेमी उपर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएकोमा अमृताका बाबु आमालाई उनको प्रेम सम्बन्ध पनि स्वीकार नरहेको र छोरी पक्राउ परे इज्जत समेत जाने र समाजबाट अपहेलित हुनपर्ने डर भएकोले मृतककै बाबु रामअयोध्या साह समेतले भारतमा उपचारको लागि लगेर मार्न बनाएको योजना असफल भएपछी पुन: अभियुक्त कैमलु देवानलाई १ लाख रुपैयाँ दिई गोली हानी अमृताको हत्या गर्न लगाएको खुल्न आएको छ । उनीहरू उपर रौतहट जिल्ला अदालतबाट ज्यान सम्बन्धी कसूरमा म्याद थप गरी अनुसन्धान भईरहेको २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
रियाद/साउदी | प्रवासी नेपाली समन्वय समिति (पिएनसीसी) साउदी अरेबियाले हेल्प डेस्क संचालन गर्ने भएको छ । साउदीको खोबारस्थित दरबार रेस्टुरेन्टमा नोभेम्बर २० तारीख शुक्रबार कार्यक्रमको आयोजना गर्न लागिएको समितिका विदेश संयोजक नारायण पासवानले जानकारी दिए ।
संयोजक पासवानका अनुसार हेल्प डेक्स कोरोना महामारीका कारण समस्या झेलिरहेका र दूतावाससम्म ओहोरदोहोर गर्न कठिनाइ हुनेहरूलाई प्राथमिकतामा राखेर आयोजना गर्न लागिएका हुन् । दूतावासले प्रदान गर्ने सेवा सुविधा सेवाग्राहीले स्थानीय स्तरबाटनै सदुपयोग गर्न पाइयोस् भन्ने आसयले हेल्प डेस्कको आयोजना गर्न लागेको संयोजक पासवानको भनाइ छ ।
अपराह्न १२.३० बजेदेखि संचालन हुने डेस्कमा समस्या राख्न पासपोर्ट, इकाम लगायतका कागजात लिएर आउनुपर्ने आयोजकले जानकारी दिए । आयोजकले डेस्कमा उपस्तिथि हुनेहरूले मास्क र सामाजिक दूरी लगायत कोरोनालाई परास्त गर्ने बिधि अपनाउनुपर्ने जनाइएको छ ।
यसअघि पिएनसीसीले साउदीको अल कासिममा हेल्प र हेल्थ, जुवेल र दमाममा हेल्प डेस्क संचालन गरिसकेका छन् । झन्डै तीन लाखको हाराहारीमा नेपालीहरु रहेको साउदीमा एक लाखभन्दा धेरै दमाम, खोबार आसपासमा रहेको विभिन्न संघसंस्था र दूतावासले बताउँदै आएका छन् ।
साउदी/रियाद | गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् साउदी अरबले हिजो १३-नोबेम्बर-२०२० का दिन कोभिड-१९ ले साउदी अरबमा नेपाली श्रमिक प्रति पारेको असर र यसको समाधानको निम्ती नेपाली राजदुताबास रियादका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतको प्रमुख आतिथ्यतामा बृहत छलफल भेला सम्पन्न गरेको छ । छलफलमा नेपाली राजादुताबास रियादका नियोग उपप्रमुख लगायत नेपाली महावाणिज्य दुतावास जेध्दाका कार्यबाहक महावाणिज्यदुत, NRNA ICC उपाध्यक्ष डा. बद्रि के.सी., प्रवक्ता डि.बि. क्षेत्री, उच्च पदस्थ ब्यक्तित्व, मध्यपुर्वका उच्च पदस्थ ब्यक्तित्वहरुको बिशेष उपस्थिती सहित साउदीका पदाधिकारी, समाजका बिभिन्न बौध्दिक बर्ग, समाजसेवी, मिडियाकर्मी, साउदि अरबमा कृयाशिल बिभिन्न संघ संस्थाका पदाकारी एवम् अन्य सामाजिक अभियन्ता र शुभचिन्तकको उपस्थिती रहेको थियो। एनसिसि अध्यक्ष तेज थापाको सभाध्यक्षतामा सम्पन्न बृहत अन्तरकृया कार्यक्रममा उपाध्यक्ष रोशन कुमार श्रेष्ठले स्वागत मन्तव्य दिएका थिए । आसन ग्रहण चरण सहित नेपाली राष्ट्रिय गानको सुमधुर संगित सँगै कार्यक्रमको प्रारम्भ भएको थियो भने कोभिड-१९ का कारण देश-विदेशमा ज्यान गुमाएका नेपालीहरू प्रति श्रध्दा सुमन सहित १ मिनेटको मौन धारण गरिएको थियो । एनसिसि का.बा. महासचिव लाल ब. मगरद्वारा संचालित कार्यक्रमको अौचत्य, आवश्यकता र महत्वबारे जानकारी गराउदै अध्यक्ष तेज थापाले १९ को विश्वव्यापि संक्रमण बढेसँगै साउदी अरबमा रहेका नेपालीहरूको सहयोग, उद्धार र जीवन रक्षार्थ संस्थाले चरण-चरणमा बैठक तथा छलफल गरि संचालन गरेको अभियानका बारेमा बताउदै साउदी स्थित नेपाली नियोगहरू, बिभिन्न समाजिक संघ-संस्थाहरूसँग नियमित सम्वाद, सहकार्य र समन्वय गरि साधन, श्रोत, जनशक्तिले भ्याएसम्म युद्धस्तरकै रूपमा नेपालीहरूको सहयोग, उद्धार एवम् पैरवि पहलकालागि अधिकतम प्रयास जारि रहेको जनाए थिए । त्यसैगरि संघको माथिल्लो निकाय आइसिसिसँग समन्वय र सम्वाद गरि ट्रिपल आर “RRR” अभियान अन्तर्गत COVID-19 RESPONSE TO NEPALI MIGRANT WORKERS – “RELIEF AND REPATRIATION” परियोजनका बारे जानकारी दिदै अध्यक्ष थापाले कोभिड-१९ लगायत बिभिन्न कारणबस समस्यामा परेका नेपालीहरूको सहयोग, उद्धार र पैरवि पहलका लागी २ जना लिगल अफिसर, १ जना टिम कोर्डिनेर ४ जना भोलिन्टिएर सहित जम्मा ७ जनालाइ पेड भोलिन्टिएर साउदि अरबको बिभिन्न स्थानहरूमा खटाइएको र टिमले साउदि अरबको जुनकुनै स्थानबाट आउने नेपाली पिडितहरूको समस्याहरू संकलन गरि यहाँ स्थित नेपाली नियोगहरू, साउदि स्थित सरकारी निकाय, रोजगारदाता कम्पनि र एनआरएनएसँग समन्वय गरि अधिकतम समस्याहरूलाइ सम्बोधन गर्ने र उद्धारका लागि बिशेष भुमिका निर्वाह गर्ने स्पष्ट पारेका थिए । साथै परियोना एनआरएनए साउदि अरबको मात्रै नभइ साउदि अरबमा कृयासिल बिभिन्न संघ संस्थाका, समाजिक अभियान्ता, समाज सेवि तथा बुद्धिजिवि, मिडिया कर्मी सबैको भएकोले अपनत्व ग्रहण गरि साउदि अरबमा रहेका अधिकतम पिडित नेपालीहरूको सहयोग र उद्धारका लागि हातेमालो गर्न आव्हान सहित परियोजन सम्बन्धि जानकारीहरू आदनप्रदान गरि प्रभावकारी रूपमा अघि बढाउने अभिप्रायले राय, सल्लाह, सुझाव र प्रतिकृयाको अपेक्षा सहित बृहत अन्तरकृयात्म कार्यक्रमको आयोजना गरिएको प्रष्टाएका थिए । आमन्त्रित अतिथि द्वय आइसिसि उपाध्यक्ष डा. बद्री के.सी. तथा परियोजना व्यवस्थापक राजेन्द्र रावतले परियोजना सम्बन्धि थप जानकारी र कोभिड-१९ ले प्रभावित नेपालीहरूको सहयोग र उद्धारमा हालसम्म एनआरएनले खेलेको भुमिका अौल्याउन पुर्व एनसिसि कोषाध्यक्षद्वारा तयार पारिएको कोभिड-१९ संक्रमण महामारिको दौरान एनसिसि साउदि हालसम्म पुर्याइएको कार्यप्रगतिको संक्षिप्त प्रतिबेदन उपाध्यक्ष बिशाल श्रेष्ठले प्रस्तुत गरेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नेपाली राजदूतावास रियादका महामहिम राजदुत प्रा. डा. महेन्द्र सिंह राजपुतले कोभिड-१९ संक्रमणका दौरान एनआरएनले गरेको योगदान, राहत, उध्दार सम्बन्धी कार्यको खुलेर प्रशंशा गर्दै कृतज्ञता प्रकट गरेका थिए । त्यसैगरि एनआरएनका बिभिन्न तह र सहितिहरूमा आवध्द पदाधिकारी, नेपाली संघ-संस्थाहरूका प्रतिनिधिहरूले कार्यक्रा दौरान आ-आफ्नो सुझाव र धारणा प्रकट गर्दै हालसम्म कोरोना उध्दार सम्बन्धी संघले गरेका कार्यहरुको अनुभव सुनाएका थिए भने आगामी दिनहरुमा यसलाई थप प्रभावकारी बनाउंदै श्रमिक समस्या समाधान गर्नको निम्ती संघले खेल्ने भूमिका बारे धारणा प्रस्तुत गरेका थिए । कार्यक्रमको बिशेष चरण अन्तर्गत हालै साउदि अरबको जेद्धा स्थित महावाणिज्य दूतावासमा कार्यवाहक महावाणिज्यदूतको रूपमा हालै जिम्मेबार सम्हाल्न आउनु भएका महावाणिज्यदूत शत्रुघन पोख्रेललाइ एनसिसि साउदि अरबको तर्फबाट संस्थागत रूपमा स्वागत गर्दै सफल कार्यकालका लागि संघका अध्यक्षले शुभकामना दिएका थिए भने महावाणिज्यदूतले एनआरएनसँग सहकार्य र समन्वय गरि आगामि दिनहरूमा अघि बढ्न महावाणिज्य दूतावास जेद्धा सदैव तत्पर्ता रहेको प्रतिवद्धता जाहेर गरेका थिए । अन्त्यमा कार्यक्रमका दौरान उठान भएका प्रतिकृयाहरू, जिज्ञाशा र प्रश्नहरूको कार्यक्रमका सभाध्यक्षले सम्बोधन गर्दै कार्यक्रम बिसर्जन गरेका थिए ।
साउदी/रियाद | साउदीको लागि नेपाली दुतावास रियादले एक सूचना जारी गर्दै नेपालबाट वैदेशिक रोजगारीमा साउदी अरेबियाका विभिन्न संस्थानमा कार्यरत नेपाली नागरिकहरू मध्ये स्वदेश फर्कन चाहेका तर ईकामा नबनाएर वा नवीकरण नभएका र कम्पनीबाट बहिर्गमन भिसा प्राप्त गर्न नसकेर अलपत्र भई रोकेका नेपाली श्रमिकहरुले यही नोभेम्बर १४ सम्ममा अनिवार्यरुपमा दुतावासको सम्पर्कमा आउन भनिएको छ |
सूचना अनुसार दूतावासको hwatsaap number 0500021409 मा आफ्नो फोटो टाँसिएको पेजको पासपोर्ट copy , आफ्नो फोटो भएको पट्टिको ईकामाको कपी, सुरुदेखि नै ईकामा नबनेका भए पासपोर्टमा अरबिकमा लेखिएको बोर्डर नम्बर र whatsaap number भएको आफ्नो mobile number पठाउन भनिएको छ।
कम्पनीबाट बहिर्गमन भिजा प्रक्रियामा रहेकाले यो प्रक्रियामा कागजात नपठाउन दुताबासले अनुरोध गरेको छ। उक्त सूचनामा कुनै मुद्दामामिला परेको अवस्था भएमा सोको टुंगो नलागेसम्म बहिर्गमन भिसा नलाग्ने भएकोले त्यस प्रकारको व्यक्तिले कागजातमा नपठाउन अनुरोध गरिएको छ भने ईकामाको म्याद नसकिएका तर हुरूप लागेकाहरुले दुतावासमा आफ्नो कागजात पठाउन सकिने जनाएको छ |
काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जिन स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करिब एक करोड रुपैयाँ मूल्य पर्ने उक्त एन्टी जेन एनआरएनए उपाध्यक्ष डा. बद्री केसीले स्वास्थ्य राज्यमन्त्री नवराज रावतलाई शुक्रबार हस्तान्तरण गर्नुभएको हो ।
स्वास्थ्य मन्त्रालयमा आयोजित सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै स्वास्थ्य राज्यमन्त्री नवराज रावतले विदेशमा रहेर नेपाल र नेपालीप्रति देखाएको सहयोगी भावनाको प्रशंसा गर्नुभयो । कोभिड–१९ विरुद्ध लड्न प्रवासमा रहेका नेपालीहरुले ठूलो योगदान पु¥याएको भन्दै मन्त्री रावतले भने, ‘यो पुन्य कार्यक्रममा एनआरएनएलाई सरकारले सहयोग गर्न तयार छ ।’
मन्त्री रावतले नेपाल सरकार र संघबीच सहकार्यको आवश्यकता रहेको बताउदै कोरोना महामारीकाबिरुद्ध एकजुट हुन आग्रह गर्नुभयो ।
हस्तान्तरण कार्यक्रमलाई सम्वोधन गर्दै एनआरएनए उपाध्यक्ष डा. केसीले संघले विश्वव्यापी कोरोना संक्रमण सुरु भए देखिनै विदेशमा रहेका नेपालीहरुले स्वास्थ्य सम्वन्धी सामग्री सहयोग गरेको चर्चा गर्नुभयो । विदेशमा नेपालीको अवस्था र उनीहरुले भोगिरहेको समास्याबारे प्रष्ट पार्दै उहाँले करिब १ करोड २० लाख रुपैयाँका ती स्वास्थ्य सम्वन्धी सामग्री जुटाउन सहयोग गर्ने जापानवासी नेपालीप्रति आभार व्यक्त गर्नुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका केन्द्रीय पार्षद कपिलदेव थापाले आफ्नो पहलमा केही भए पनि स्वास्थ्य सम्वन्धी सामग्री नेपाललाई जुटाउन सकेकोमा प्रसन्नता प्रकट गर्नुभयो । थापाले यसअघि जापान सरकारले गरेको प्रतिबद्धता अनुसार थप स्वास्थ्य सम्वन्धी सामग्री नेपाल भित्राउन पहल गरिने जानकारी दिनुभयो । यसअघि थापाकै पहलमा संघले नेपाल सरकारलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको थियो ।
सामग्री हस्तान्तरण कार्यक्रममा स्वस्थ्य सेवा विभागका कार्यकारी निर्देशक दिपेन्द्ररमण सिंह, गैरआवासीय नेपाली संघका कार्यकारी निर्देशक राजेश रानालगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन गैरआवासीय नेपाली संघ कोभिड १९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले गर्नु भएको थियो ।
गैरआवासीय नेपाली संघले कोभिड १९ को महामारी सुरु भएदेखि २ करोड रुपैयाँ बराबरको स्वास्थ्य सम्वन्धी सामग्री नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।
संघले पहिलो चरणमा विश्वका ५० भन्दा बढी देशमा करिब २५ सय स्वयसेवक परिचालन गर्दै कोभिड पिडित नेपालीहरुलाई सहयोग गरेको थियो । यस्तै संघले कोभिड बिरुद्धको लड्न अध्यक्ष कुमार पन्तको अध्यक्षतामा एक उच्चस्तरिय समिति समेत गठन गरेको छ ।
बीरगंज | मुकेश चौरसियाको हत्या आरोपमा उनको परिवारले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता एवं पूर्वसभासद राजकुमार गुप्तासहित १२ जनाविरुद्ध प्रहरीमा ज्यानसम्बन्धी कसुरमा जाहेरी दरखास्त दिएको छ ।
पहिले जाहेरी लिन नमानेको प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयको आदेशमा बिहीबार जाहेरी दर्ता गरेको हो ।
पीडित परिवारले १२ जनाविरुद्ध किटानी जाहेरी दिएको पर्साका डीएसपी मनोजित कुँवरले जानकारी दिए । किटानी जाहेरी परेकामध्ये ३ जना हिरासतमा छन् भने अरुलाई प्रहरीले पक्राउ गरेको छैन ।
यसअघि जाहेरी लिन अस्वीकार गरेको भन्दै नेकपाका नेता तथा कार्यकर्ताहरुले पर्सामा प्रहरी कार्यालयबाहिर प्रदर्शन र नाराबाजी गरेका थिए ।
प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका परिवारले एकसातादेखि चौरसियाको शव समेत बुझेका थिएनन् । प्रहरीले जाहेरी लिएसँगै मृतकका आफन्तले चौरसियाको शव बुझ्ने तयारी भइरहेको र पोष्टमार्टमपछि शुक्रबार अन्त्येष्टि गरिने नेकपा वीरगञ्ज महानगरका अध्यक्ष रहबर अन्सारीले जानकारी दिए ।
चौरसियाको शवलाई अहिले वीरगञ्जस्थित नारायणी अस्पतालमा राखिएको छ ।
नेकपाको विन्दवासिनी गाउँपालिका कमिटीकोसपथ ग्रहण कार्यक्रममा कात्तिक ६ गते दुई पक्षबीच झडप हुँदा चौरसिया गम्भीर घाइते भएका थिए । उनको उपचारको क्रममा वीरगञ्जस्थित एलएस न्युरो अस्पतालमा मृत्यु भएको थियो ।