गोरखनाथ वैदिक गुरुकुलमा कुनै जातीय भेदभाव छैन- भट्टराई

  • ९ चैत्र २०७६, आईतवार २३:१२ मा प्रकाशित
  • (गोरखनाथ वैदिक गुरुकुल, चौघेरा, दाङका अध्यक्ष प्रकाश भट्टराईसँग गुरुकुलका गतिविधिका विषयमा गरिएको कुराकानिका आधारमा तयार पारिएको अन्तर्वार्ता – हिमालयन दृष्टि)

    -वसन्त अनुभव-
    १. यहाँको छोटो परिचय दिनुहुन्छ कि ?

    मेरो नाम प्रकाश भट्टराई हो । स्थायी ठेगाना घोराही उ.म.न.पा.–१७, ज्योतिटोल पनौरामा बसोबास गर्दछु । विभिन्न सामाजिक, धार्मिक संस्थामा स्वयंसेवाको भावनाले विगत २०–२२ वर्षदेखि लागिरहेको छु ।

    त्यसै मध्येको गोरखनाथ वैदिक गुरुकुल पनि हो । २०७६ बैशाख २४ गते अक्षय तृतीयाका दिनदेखि यस गुरुकुल श्री गोरक्ष–पात्रदेवता–सिद्धरत्ननाथ मठ, चौघेरामा चलाउँदैछौं।

    २. गोरक्ष रत्ननाथ मठमा नै गुरुकुल चलाउने सोच कसरी बन्यो ?

    नेपाल महर्षि वैदिक फाउण्डेशनसँगको सम्पर्कबाट दाङमा गुरुकुल खोल्नका लागि भरतराज पौडेल र अध्यक्ष दीपकप्रकाश बास्कोटा ज्यूबाट प्रेरणा प्रदान भयो । स्थान छनौट गर्दा अहिलेलाई गोरक्ष सिद्धरत्ननाथ मठ नै उपयुक्त स्थान लाग्यो । जसको ऐतिहासिक परम्परा वि.सं. ८०९ सालदेखि आजसम्म चल्दै आएको छ ।

    मठसँग परामर्श गर्दा यहाँ पहिले देखि नै गुरुकुल चलिआएको रहेछ । बिचमा बन्द भएको र फेरि चलेको इतिहास पाइयो । अब यसलाई निरन्तर रुपमा चलाउनुपर्छ भन्ने सोच बनाई मठ समितिको निर्णय बमोजिम यसै स्थानलाई छनौट गरी गुरुकुल चलाउने सोच बन्यो ।

    ३. यहाँको गुरुकुलमा वटुक र कन्याहरु दुवैको उपस्थिति देखिन्छ । कसरी दुवैलाई मिलाएर लैजानुहुन्छ ?

    राम्रो प्रश्न गर्नुभयो, अहिलेलाई हामीले आवासीय रुपमा वटुकलाई गुरुकुलमा राख्ने सोचमा छौं । कन्याको संख्या पनि भएकाले पछि कुनै विकल्प खोजेर अलगै कन्या गुरुकुल पनि खोल्नुपर्छ ।

    पतञ्जलि योग समितिको पनि हामीसँग सहकार्य भएमा पतञ्जलीबाट कन्या गुरुकुल खोल्नका लागि वातावरण बनाउने सोचाइ छ । गर्दै जाऔं, अहिले समस्या देखाएर कोहीपनि पछाडि हट्नु हुँदैन । गुरुकुलको क्षेत्रमा अब दाङलाई बाँझो हुन दिनुहुँदैन । वटुक गुरुकुल साथसाथै कन्या गुरुकुल पनि जन्माउनुपर्छ ।

    ४. अहिले जुन प्रकारले गुरुकुलमा क्रियाकलाप गरिरहनुभएको छ, समाजमा चर्चा पनि छ, यो कसरी सम्भव भयो ?

    सिद्धरत्ननाथ मठमा हाम्रो प्रवेश साथै योगी देवनाथजी जस्तो विद्वान, मेहेनती गुरुलाई पायौं । उहाँ र हामीहरुको प्रयासकै कारण गुरुकुलीय क्रियाकलाप गर्न सफल भयौं । जुन क्रियाकलापले हामीलाई दाङ जिल्लामा छोटो समयमा नै चिनायो ।

    ५. प्रायः गुरुकुलहरुमा जातीय भेदभाव सुनिन्छ, यहाँको गुरुकुलमा जातीय भेदभाव छ कि छैन?

    गोरखनाथ वैदिक गुरुकुलमा जातीय मात्र नभएर उमेरको हकमा पनि छेकवार छैन । बाहिरबाट आउने जोसुकैले पनि संस्कृत भाषा र वैदिक शिक्षा सिक्न पाउनुहुन्छ । सबैमा अनुशासनको पालना चाँहि अनिवार्य रहन्छ ।

    गुरुकुलको साप्ताहिक भेला सत्संगमा सहभागिता अनिवार्य हुनुपर्दछ । सभ्यता र संस्कृतिको विकास र विस्तार अनिमात्र हुन्छ ।

    ६. गुरुकुल, गौशाला र संस्कृत भाषाप्रति जनचासो किन घट्दै गएको होला जस्तो लाग्छ??

    गुरुकुल र गौशालाको सन्दर्भमा भन्नुपर्दा यसलाई असम्भव मान्दछ हाम्रो समाजले । यसैबाट बुझिन्छ हाम्रो धर्म संस्कार कतातर्फ जादैछ ? संस्कारवान छोराछोरी बनुन् भन्ने हामी अभिभावकवर्गले चाहन्छौं । ‘सद्विद्या यदि का चिन्ता वराकोदरपूरणे ।

    शुकोऽप्यशनमाप्नोति राम रामेति च ब्रुवन् ।।’ अर्थात् सत् शिक्षा छ भने पेट भर्नका लागि कुनै चिन्ता गर्नुपर्दैन । जस्तैः सुगाले राम राम रटेर सजिलै भोजन प्राप्त गर्दछ । त्यसै प्रकारले हामीसँग सत्शिक्षा छ भने जीवनका हरेक पाइलामा सफल हुन्छौं । यस्तो शिक्षाबाट त्यो प्राप्ति हुन्छ, त्यसको खोजी हामीले गरेनौं ।

    गाईको गहुँत, दुध दहीबाट शरीर शुद्धी हुन्छ, रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, जुन अमृतसमान छ, पोषिलो वस्तु हो । तर गाईको दुर्दशा छ । कसले यस बारेमा ध्यान पुर्‍याउने ? त्यस्तै संस्कृत भाषा व्यवस्थित भाषा, देवभाषा हुँदाहुँदै पनि अन्य भाषातर्फको हाम्रो मोह छ । अन्य भाषा सिके विदेश जान पाउने र अर्थ आर्जन हुने आशामा हामी भड्किरहेका छौं ।

    ठिक छ, भाषा सिक्नु नराम्रो कुरा होइन तर हाम्रो भाषा मौलिकता कता जाँदैछ ? त्यसप्रति सबै सजग हुनुपर्दछ । भाषामाथिको बाहिरी आक्रमणलाई रोक्न हाम्रा भाषाहरू सिक्न र सिकाउन आवश्यक छ । भाषा सिक्ने र सिकाउने अभियान अब शुरु गर्नैपर्दछ ।

    गुरुकुलको माध्यमबाट हामीले यो अभियान शुरु गरेका छौं । जनचासो घट्नुको कारण, ठाउँ र व्यवस्थापन सहज रुपमा गर्न नसकेर हो ।

    ७. अहिले गोरक्ष सिद्धरत्ननाथ मठ चौघेरामा गुरुकुल सञ्चालनमा ल्याउनु भएको छ, सुन्नमा आउँदछ गुरुकुलले मठ चलाउँदै छ रे नि हो ? यसमा यहाँको भनाई के छ ?

    यो कुरा नबुझेर हो, मठले गुरुकुल चलाउने हो । गुरुकुल मठकै हो, गुरुकुलले मठ चलाउने होइन मठले गुरुकुल चलाउँदछ । गुरुकुलबाट शिक्षा हाँसिल गरेका वटुक तथा कन्याहरुले गर्दा मठको चहलपहल जिल्लामा बढेको चाँहि पक्कै हो ।

    ८. गुरुकुललाई मठको सहयोग छ ?

    छ । गोरखनाथको मठमा गोरखनाथ वैदिक गुरुकुलले सहयोग नपाउने त कुरै भएन नि, होइन र ? यसलाई मठ, समाज र टोलबासीहरुले सकारात्मक रुपमा लिनुभएको छ ।

    ९. अन्य स्कुल र गुरुकुलमा के भिन्नता छ ?

    अब हेर्नुहोस्, धेरै भिन्नता छ । स्कुलमा पनि गुरुकुलीय परम्परा विस्तार गर्न सकिन्छ । गुरुकुलमा पनि गुरुकुलीय परम्परा छैन भने त्यो पनि गुरुकुल भएन ।

    अरुले शब्दलाई मात्र उपयोगमा ल्याउन र अभिभावकतर्फ आकर्षित गर्न खोजेका छन् । संस्कार र संस्कृति, खानपान र भेषभुषा पनि गुरुकुलीय पद्धति अनुसार नै हुनुपर्दछ । यी कुराहरु छैन भने त्यो सबै भुलाउने खेल हो । जस्तै टाइ लगाउने, माछा, मासु, अण्डा खुवाउने स्थान कहिलेपनि गुरुकुल हुन सक्दैन ।

    माछा, मासु, अण्डा त नदिने भन्यौं त्यसको विकल्प पौष्टिक खाद्यपदार्थ चाँहि अनिवार्य छुटाउनु हुँदैन । जस्तै दुध, दही, घ्यू, गेडागुडी, हरियो सागसब्जी, दाल, भात, रोटी आदि हुनुपर्दछ ।

    १०. गुरुकुलीय पद्धति कस्तो हुन्छ र उनीहरुको दिनचर्या कसरी बित्दछ ?

    सबै अभिभावकवर्गले यो मूख्य कुरा बुझ्न आवश्यक छ । छोराछोरीलाई कस्तो जीवन पद्धति सिकाउदैछौं ? बुझ्नुपर्ने, सिक्नुपर्ने संस्कार, शिष्टाचार के हो ? हाम्रा सन्तति कता जाँदैछन् ? अहिले नै सोच्नुपर्दछ ।

    उनीहरु गुरुको सान्निध्य र हेरचाहमा बिहान ब्रह्म मुहूर्तमा उठ्दछन्, स्नान, जप, ध्यान, योग गरी वैदिक पूजापाठ गर्दछन् । तत्पश्चात् भोजन ग्रहण गरी आफ्नो अध्ययन अध्यापन कार्य हुन्छ । सन्ध्याकालमा गुरुद्वारा आध्यात्मिक प्रवचन, नीति शिक्षा, भजनकिर्तन गरी आरती पश्चात् सुपाच्य भोजन गरी ठिक समयमा शयन गर्नुपर्दछ ।

    ११. सरकारी निकायबाट कस्तो सहयोग छ यहाँहरुलाई ?

    भर्खरै हुर्कने क्रममा छौं, गुरुकुल दर्ताका लागि सम्वन्धित क्षेत्रमा नियम प्रक्रिया पु¥याई स्वीकृति माग गरेका छौं । स्वीकृति अवश्य मिल्नेछ भन्ने आशा र भरोसामा छौं । दाङकै गहनाको रुपमा हुर्कदै गरेको गुरुकुलमा भौतिक चाँजोपाँजो मिलाउन आवश्यक छ ।

    वडा अध्यक्ष, नगर प्रमुख, शिक्षा महाशाखा प्रमुख लगायत अन्य व्यक्तित्वहरू साथै टोल छरछिमेक, मठ पनि यसलाई हुर्काउनका लागि सकारात्मक हुनुहुन्छ । सहयोगको सम्वन्धमा त हामी सक्रिय रुपमा प्रस्तुत कति रहन्छौं हाम्रो गतिविधिले निर्धारण गर्ने कुरा हुन् । अहिलेसम्मको विवरणमा देशकै सन्दर्भमा कुरा गर्दा गुरुकुललाई नहेरेको कुनै समाज छैन, कुनै सरकारी निकाय छैन, कुनै मठ मन्दिर छैन ।

    १२. अन्तमा केही भन्नु छ ?

    भन्न मात्र हैन गर्न पनि धेरै छ, कुरा गरेर मात्रै केही हुनेवाला छैन । विश्वास जगाउन अभ्यास गर्दैछौं । गुरुकुल विकास विस्तार गर्दै निरन्तर जाने प्रक्रिया हो । व्यवस्थापन गर्ने हामीमा भरपर्ने कुरा हो ।

    गुरुकुल चलाउन नेपाल र भारतका प्राचीन र अत्याधुनिक दुवै पद्धतिमा चलेका गुरुकुलहरुको अध्ययन, अवलोकन गर्न जरुरी छ । अर्को कुरा गुरुकुलमा सच्चा समाजसेवी, व्यापारी, विद्वान, साधु, सन्त, महन्तको आगमन भइरहनुपर्दछ, त्यो अझ महत्वपूर्ण कुरा रहेछ ।

    त्यो वातावरण मठमा बनाउनुपर्दछ । दाता उहाँहरुसँगै जोडिनुभएको छ । सबैको प्रयासले यो काम सजिलै सम्भव छ । यति मात्र भएर हुँदैन हरेक व्यक्तिमा स्वयंसेवकको भावना हुनु अझ महत्वपूर्ण कुरा हो । सकारात्मक सोचबाट नै त्यो पूरा हुन्छ । धन्यवाद !

    Leave a Reply