
साताका उत्कृष्ट झिल्का कविताको ११ औँ शृङ्खला सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा उक्त शृङ्खला हरेक हप्ता सञ्चालन गर्ने गरिन्छ । झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले यस शृङ्खलाको सुरुवात गरिएको यसका परिकल्पनाकार एवम् प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।
यस शृङ्खलाका लागि हरेक हप्ताको आइतवारदेखि शनिवार अपरान्हसम्म झिल्का कविता फेसबुक समूहको भित्तोमा प्रेषित गरिएका झिल्का कविताहरू मध्ये उत्कृष्ट तीन जना झिल्काकारहरूका ३/३ झिल्काहरू छ्नोट गरी प्रकाशन गर्ने गरिन्छ । जसको संयोजन झिल्काकार एवम् झिल्का कविता अभियन्ता धनुष न्यौपानेले गर्दै आउनुभएको छ ।

साताका उत्कृष्ट झिल्का कविता शृङ्खला- ११ का लागि झिल्काकार त्रय हिरालाल न्यौपाने, विमल खतिवडा माइला र तोया नाथ चापागाईँका उत्कृष्ट झिल्का कविताहरू छनोटमा परेको संयोजक न्यौपानेले बताउनुभयो ।
साताका उत्कृष्ट झिल्काहरू~<•>~
———<•>——-
[१]
१)
अस्ति भेट भयाै
मन मिलेकाे ठाँने
आज तर्केर गयाै !
२)
राेएर के गरुँ
तिम्राे कसिलाे जवानी
पिएर मात्रै मरुँ !
३)
सिरानी भिज्याे माझ
सपना बल्झे आँखामा
भेटाैँ भाेलि साँझ !
✍🏼
हिरालाल न्याैपाने
सल्यान, काेटमाैला
———<•>——-
[२]
१)
चुनावको कोलाहल बजारमा
मुद्दाहरू सस्तै बिक्दैछन्
सय अनि हजारमा !
२)
कसैलाई लोभ सत्ताको
नोकरी नभएका उम्मेदवारलाई
लोभ केवल भत्ताको !
३)
धतुरो खाई बोल्दैछन्
मुद्दा नभएर होला
एकार्काको धोती खोल्दैछन् !
✍️
विमल खतिवडा माइला
———<•>——-
[३]
१)
लुटिन्छन् हर सपनाहरू
पुर्याइन्छन् शुन्यताको गहिराइमा
बढार्दै उज्जर चाहनाहरू !
२)
प्रतीक्षाका प्रत्येक पलहरू
सुस्ताउँछन् ती हरघडी
बोकेर नमिठा छलहरू !
३)
अस्तव्यस्त छ धरा
फुर्सद छैन मनुलाई
उखेलिए रुखका जरा !
✍️
तोया नाथ चापागाईँ
दमक,झापा,नेपाल
———<•>——-

