
साप्ताहिक झिल्का लेखन अभ्यासको १२ औँ शृङ्खला आइतवार अपरान्ह सम्पन्न भएको छ । झिल्का साहित्य समाज नेपालको आयोजनामा यो अभ्यास शृङ्खला निरन्तर हरेक हप्ता सञ्चालन हुँदै आएको छ ।
साप्ताहिक झिल्का कविता लेखन अभ्यासका विगतका शृङ्खलामाझैँ यसपटक पनि सहभागीहरूको निकै उत्साहप्रद सहभागीता रहेकोे थियो । जसमा नेपाल, भारत, भुटान लगायत विश्वका विभिन्न देशमा रहेर नेपाली भाषा, साहित्यलाई निरन्तर माया गर्नुहुने ६९ जना झिल्काकारहरूको सहभागीता रहेकोे थियोे ।
झिल्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्नका लागि समाजले विभिन्न क्रियाकलापहरू सञ्चालन गर्दै आएको छ । त्यसमध्ये साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला पनि एक भएको र साप्ताहिक रूपमा निरन्तर सञ्चालन गरिने यसका परिकल्पनाकार एवम् झिल्का कविताका प्रवर्तक वसन्त अनुभवले बताउनुभयो ।

शृङ्खलाबारे प्रष्ट पार्दै शृङ्खला संयोजक/प्रशिक्षक म्यामराज राईले हरेक हप्ताको शुक्रवार राति १२ बजे अभ्यासको सूचना झिल्का कविता फेसबुक समूहमा राखिने र उक्त सूचनाको कमेन्टमा इच्छुक झिल्काकारज्यूहरूले स्वत:स्फूर्त आफ्ना उत्कृष्ट झिल्काहरू राखेर सहभागीता जनाउन सकिने बताउनुभयो ।
झिल्का कविता, नेपाली माटोमा उम्रिएको एक नवीनतम एवम् लघुतम प्रयोगवादी काव्य विधा हो । जसमा विम्ब, प्रतीक र अलङ्कारको प्रयोग गर्दै चोटिलो पाराले तीन हरफमा लेख्ने गरिन्छ । जसको पहिलो हरफले विषयवस्तुको उठान, दोस्रो हरफले विषयवस्तुको बिस्तार र तेस्रो अर्थात् अन्तिम हरफले भावलाई उत्कर्षमा पुर्याई समापन गर्ने गर्दछ । यसका प्रत्येक हरफमा तीन/तीन शब्दहरू हुने गर्दछन् । जम्माजम्मी नौ वटा शब्दमा एउटा झिल्का कविता पूरा हुने भएकोले यसलाई नौ शब्दको कविता पनि भन्ने गरिन्छ ।
झिल्का कविताका तीन हरफ मध्ये पहिलो र तेस्रो हरफमा अन्त्यानुप्रास हुनुपर्ने विधान छ भने दोस्रो हरफ स्वतन्त्र हुने गर्दछ । अर्थात् दोस्रो हरफको अन्त्यमा पहिलो र तेस्रो हरफको अन्त्यानुप्राससॅंग मिल्ने समध्वनिक अक्षर समेत हुनुहुँदैन ।
साप्ताहिक झिल्का लेखन अभ्यास शृङ्खला- १२ मा सहभागी झिल्काकारहरूका सुन्दर झिल्काहरू-
…
१,
तमासको हेमन्तको धर्ष
सङ्घर्ष गर्छ पालुवाले
कर्मपछि फुल्दछ हर्ष ।
२,
नयाँ वर्षको समीर
सौन्दर्यको पोको फुकाउॅंछ
फैलाउॅंछ दृश्यको मदिर ।
३,
यामले गुराँस फुलाउॅंछ
सुन्दर सागरदेखि सगरसम्म
अपेक्षित मन भुलाउॅंछ ।
- म्यामराज राई, भोजपुर
…
१,
रहेन तिम्रो आस
धोकेबाज रहेछौ तिमी
पर्दिनँ तिम्रो पास !
२,
बन्दिनँ तिमीदेखि टाढा
उसैगरी रहन्छु जसरी
फूलको साथमा काँडा !
३,
सकिन्न मनको व्यथा
कापीमा कोरेको भए
बन्दथ्यो सायद कथा ! - वसन्त अनुभव, घोराही उपमहानगरपालिका १४, दाङ
…
१,
तरङ्ग बने यादहरू
तड्पिएँ म हरपल
उर्लिए अश्रु भेलहरू । - ताराप्रसाद चापागाईँ, धुनिबेसी
…
१,
एकासी सालको वर्ष
ल्याउँछ कर्म गरेपछि
नवीन सालले हर्ष ।
२,
बिनाकारण कहिल्यै नभुल
मेहनतले कर्म गरेपछि
अवश्य फुल्दछ फूल ।
३,
फूल राम्रो फुलाऔॅं
बिरुवाको संरक्षण गरेर
सुगन्धित बास्ना झुलाऔॅं । - बेदु न्यौपाने
…
१,
तिम्रो यादहरूले सताउँदा
विगतका कथाहरू बोकेर
रोइरहन्छु सम्झना आउँदा ।
२,
सात समुद्र तरेर
छाडेर गयौ निष्ठुरी
फर्क माया गरेर ।
३,
बाध्यता मिसिएको रहर
भुलेर गाउँका यादहरू
पुगियो बिरानो सहर । - गुणनिधि घिमिरे, अमेरिका
…
१.
सरकारले उद्घोष गरोस्
नयाँ वर्षको आगमनले
युवा विदेशिन नपरोस् ।
२.
सबैलाई पारेर दङ्ग
ल्याओस् नयाँ वर्षले
नेपालीहरूमा हर्ष उमङ्ग ।
३.
देश सुध्रन्छ पुकारौँ
यो नयाँ सालसँगै
समृद्धिको ढोका उघारौँ । - लिजा पुन मगर, म्याग्दी
…
१,
मात्र खोज्छन् मान्यजनहरू
एउटा हातले ताली
उडाउँदै धुलोका कणहरू ।
२,
कञ्जुस्याइॅं गर्छन् मायामा
सानो चित्त हुनेले
ठिक्क पार्छन् छायामा ।
३,
सहनु धेरै गाह्रो
पीडाले सिमाना नाघेपछि
जिब्रो कति साह्रो । - राजेश्वरी राजोपाध्याय, ललितपुर
…
१.
यादहरू छन् अति
त्यसमै भुलेर नचल्ने
फर्कॅंदा होला क्षति ।
२.
नयाँ वर्षको लहर
खुसियालीले ल्याओस् सधैँ
सम्पूर्ण मेटियोस् कहर ।
३,
बाध्यताभित्रको यो खुसी
सबै चिज भुलिॅंदा
भरियोस् अझै झुसी। - अर्जुन प्रसाद चौलागाई, रामेछापः-सुनापति-१, हालः-अमेरिका, बोस्टन
…
१,
मन तृप्त हुन्छ
नयाँ जोस जाँगरले
प्रगतिको पाइला छुन्छ ।
२,
विकासका लहर आउला
नयाँ वर्षसँगै नेपालीको
मुहारमा खुसी छाउला ।
३,
देश उध्रेको बेला
सिउने धागोको होइन
कैँचीको छ भेला । - शशीश्री आचार्य, बौद्ध कुमारीगाल काठमाडौं
…
१,
राम्रो सुन्दर देखेर
नेपाल देश हाम्रो
लिँदैछन् झन् चोरेर ।
२,
सपना देखेको थिएँ
यो मुटु निकालेर
अरूलाई दान दिएँ। - सनत रोकाय बिवश, कुशे गा.पा८ जाजरकोट
…
१,
सपनाको भयो खरानी
उर्लिने डर जनसागर
आँखाभरि भयो पानी।
२,
सुकेर खोला बगर
रित्तियो देश सारा
परेन नेतालाई असर।
३,
लुटेरा पसे देशमा
कङ्गाल भयो देश
भित्रिए साधुको भेषमा। - सुरेशकुमार पाण्डे, दाङ घोराही १८
…
१,
उत्सव मनाउने संस्कृति
हाँसी खुसी मिलेर
हुन्छ कालजयी स्मृति ।
२,
छिचोल्दै जाँदा बगर
आनन्द हुन्छ मनमा
भावनाको हुन्छ सगर।
३,
नयाँ वर्ष आयो
मनले अचेल बेस्सरी
खुसीको गीत गायो । - पृथक प्रकृति ,झापा
…
१,
नयाँ वर्ष आउँदैछ
वसन्त ऋतुले होला
मनमा खुसी छाउँदैछ।
२,
पीरको भारी बिसाई
सफल रहोस् जीवन
हाँसो खुसी मिसाई। - तेजप्रसाद खनाल लमही दाङ।
…
१,
कस्तो चैतको हुरी
उडाई लगेछ छानो
फुरीको चुहिएछ धुरी ।
२,
कस्तो बर्सेको असिना
अलपत्र पारेर चारैतिर
छुटायो गरिबको पसिना ।
३,
एकासी आउने नववर्ष
सबैमा मङ्गलमय कामना
रहोस् हर्ष उत्कर्ष । - मोती सुब्बा, दार्जिलिङ निमकी डाँडा
…
१,
लालीगुराँस फुल्यो पाखैभरि
माथि सैलुङ डाँडामा
नेपाल आमाको काखैभरि ।
२,
यतिबेला मनमोहक देखिन्छ
आगन्तुक कोइलीको कुहुकुहु
वसन्तको महिमा लेखिन्छ ।
३,
भव्य नववर्ष आयो
कठिनसॅंग गयो विगत
सुख, शान्ति छायो । - चुडामणी देवकोटा, चनपा – १३, काठमाडौँ
…
१,
रुखमा पालुवा पलायो
गीत गाउॅंदै चरीले
हाँगामा गुँड बनायो।
२,
चैते हुरी चल्दैछ
खडेरी लागेको बनमा
हुरुरु डढेलो जल्दैछ।
३,
न्याउली रुन्छ वनमा
प्रदेशीको सम्झना झलझली
विरह जाग्यो मनमा। - बिके मुखिया, दार्जिलिङ, भारत
…
१,
फैलिएर शान्ति सद्भावना
समृद्धिका पालुवा पलाओस्
नयाँ सालको शुभकामना !
२,
होस् सबको प्रवृद्धि
वसन्तको पावन अवसरमा
सुख, शान्ति, समृद्धि । - कृष्णकुमार वैद्य, बनेपा ९, काभ्रे
…
१,
छायो हर्षको लहर
नयाँ वर्षको आगमनमा
लिएर आस्थाको रहर ।
२,
पुरानो वैभावहरू पखालौँ
स्वच्छता मनमा राखेर
नयाँ वर्षलाई सॅंगालौँ ।
३,
मिठा सन्देशहरू पस्केर
मित्रतालाई राखौँ यथावत्
नजाओस् सम्बन्धहरू धस्केर । - दिल ठकुरी (दार्जिलिङ )
…
१,
राम्रो गरेर कर्म
कमाएर नाम सारा
सबैलाई गरी धर्म !
२,
भिरमा गुराँस फुलेको
अनुपम वासन्ती वायु
हेरेर मन भुलेको !
३,
बनेको आँखाको नानी
मनको तृष्णा पूरा
कञ्चन मूलको पानी ! - आर्त अकुलीन
…
१,
दगुरिरहेछ त्यो पल
जीवनसँग प्रतिस्पर्धा गर्दै
जित्नुलाई गरेर छल।
२,
थाप्लोमा दाम्लो अडियो
सहयात्री भएदेखि गरिबी
दुःखहरूसँग खुब लडियो । - बि.कुलुङ, दार्जिलिङ, रंगबुल
…
१,
आयो नयाँ वर्ष
द्वेष फालेर आऊ
घोलौँ उमङ्गको हर्ष ।
२,
पलाए वसन्तका मुना
हाँसेको बेला प्रकृति
फालौँ आलस्यका तुना !
३,
जहाँ सद्भाव जुट्दछ
बस्छ स्वार्थ रोई
प्रेमको मूल फुट्दछ । - ऋजु दिल्पाली, इटहरी १ सुनसरी
…
१,
आशाको किरण छैन
जताततै दु:ख छरिए
आँसुको भेल हैन । - अम्बिका अधिकरी, झापा बिर्तामोड
…
१,
जनतालाई रुने गराए
देशको पैसाकै लोभमा
भ्रष्टले खल्ती भराए ।
२,
अति रहेछन् लिप्त
पैसाका लागि मरिहत्ते
जनता पारे विक्षिप्त । - प्रेम थापा “मन”, बागलुङ
…
१,
आफैँलाई भयो भार
आफ्नै जीवन आजभोलि
मर्यो बाँच्ने आधार।
२,
गयो विश्वासलाई लुटेर
अचेल पीडामा बाँच्दैछु
अभागीको भाग्य फुटेर।
३,
छोड्दिन भन्थी साथ
तोडेर वाचा कसमहरू
उसैले गरी विश्वासघात। - नवशिला, नवदेव मार्ग, लालभित्ती, बेलबारी, मोरङ।
…
१,
आउँदैछ नयाँ वर्ष
बोकेर उमङ्ग नौलो
जगाउनु मनमा हर्ष।
२,
जीवनमा आओस् हर्ष
नयाँ दिन खुसियालीको
बनोस् नयाँ वर्ष । - राज कुमार राजभण्डारी खोटाङ्गे, मध्यपुर ठिमी ५ संगम कोलोनी राधे राधे भक्तपुर ।
…
१,
दिलमा यस्तै हुन्छ
आफ्नो सम्झेर सबैलाई
मेरो मनले छुन्छ।
२,
भुल भयो कसरी
प्रेम भनेर हुन्न
नजानी गर्यो जसरी । - नीमा छिरिङ भोटिया, जलढका कालेबुङ, भारत
…
१,
मुटुको वेदना पोखूँ
जिन्दगी फेरि नमिल्ला
मर्म कहाँ रोपूँ ? - शरद ओझा “मेदिनीराज”, द.न.पा-४, बमरोडा
…
१,
उमङ्गहरू नौला आउॅंछन्
भएर उद्देश्य धेरै
सङ्कल्पले तिमीलाई मनाउॅंछन् ।
२,
शुभकामनाले भित्ता भरिन्छन्
गल्तीबाट पाठ सिक्दै
नयाँ योजनाहरू बुनिन्छन् ।
३,
सुस्वास्थ्य दिर्घायुको कामना
सबै झिल्का परिवारलाई
नयाँ वर्षको शुभकामना । - केन्टरमेश थापा, रोल्पा
…
१,
लेखेर मसी सुक्यो
संविधानमा समान अधिकार
तर कहाँनेर लुक्यो ।
२,
वसन्त हावा सिरिरी
बिहानी सुन्दर छ
बज्यो मुरली तिरिरी ।
३,
चिप्लो रातो माटो
हेरेर हिॅंड्नु साथी
अप्ठ्यारो छ बाटो । - रबि पौडेल ,दक्षिण भारत पाण्डेचरि
…
१,
मिठो बोली बोलेर
नयाँ वर्ष मनाऔँ
सबैले दिल खोलेर।
२,
आउँदैछ नयाँ वर्ष
छायो नेपालीको ओठमा
हाँसो खुसी हर्ष।
३,
नपर्नु अर्काको भर
फसाउन सक्छन् अरूले
अफ्नो काम गर। - अनिता भण्डारी, ताप्लेजुङ
…
१,
राता गुराँस लाख
कोकिल मृदु गाना
आऊ प्रियसी काख ।
२,
पालुवा पलाए धेर
बैँसालु तरुणीको गाना
मुग्ध भएँ सुनेर ।
३,
बटुवा निदाएको भेटिन्छ
छहारी सितल प्यारो
पानीको प्यास मेटिन्छ । - हिरालाल न्यौपाने, बानपा ८ कोटमौला, सल्यान
…
१,
पल्टाउॅंदै जिन्दगीका पाना,
नववर्ष पनि आयो,
थन्क्याएर यादका खजाना।
२,
रुँदै जान्छ रात
हाँस्दै आउँछन् दिनहरू
खसाएर रुखको पात। - होम प्र.नेउपाने, धरान,सुनसरी
…
१,
पर्दछ भुल सम्झिनु
समयसँग हरपल सधैँ
अथक हामी लम्किनु ।
२,
नववर्षको मङ्गल शुभकामना
नित्य कर्ममा लागौँ
पूर्ण हुनेछन् चाहना ।
३,
कर्मठ तम्सिनु पर्दछ
दुष्कर्मी जगतमा सधैँ
अर्काकै आर्जन चर्दछ । - कार्की डिबी माकुम, सुनवल-४, नवलपरासी
…
१,
सङ्घर्षमा बितेछ जवानी
पछुतो मानेर भएन
जीवन भएछ खरानी ।
२,
अश्रुपूरित भिजेका नयन
आगत सम्झेर कहालिँदै
बिझाउॅंछ अनायासै शयन । - प्रकाश के.सी., लोकन्थली, भक्तपुर
…
१,
मान्छेले मान्छे भुलेछ
धर्मखेतीको भ्रम फिँजाउँदा
भगवान् बहिरो बनेछ ।
२,
कति कराउँछस् मानव
पाप कमाइस् तैँले
अचेल बनिछस् दानव ।
३,
पैसाले धर्म किनियो
झोला भरिएपछि भने
त्यही पापलाई तिरियो । - नन्दलाल आचार्य, सिद्धार्थटोल, उदयपुर, हाल- एनेलकुटी, सिरहा
…
१,
बग्यो अश्रु भेल
खाएर कसम झुटा
गर्यौ मायामा झेल । - मन्दिरा सेढाई ,मलेखु,धादिङ
…
१,
नेपालीको नयाँ वर्ष
मनाऔॅं मिलेर हामी
राखेर मनमा हर्ष ।
२,
विकास गरौँ भाषाको
मलजलमा अध्ययन गरी
नेपालीको बलियो आशाको ।
३.
हामी बसौँ जहाँ
मुटुमा नेपाल छ
बिर्सन्छौँ राष्ट्र कहाँ ? - रामप्रसाद पुरी, बादेल, खोटाङ
…
१,
जहिले म सताउने
आमा अनौठो नाता
पिट्ने मायाले फकाउने।
२,
तिम्रो यादमा रुँदै
लागे प्रदेशको बाटो
पवित्र माटो छुँदै।
३,
बिन्ती आकाशमा नहेर
अवश्य कमाएर आउनेछु
बाकसमा आउन्नँ मरेर । - संगीता खरेल, चन्द्रागिरी – ८ काठमाडौं
…
१,
बाटोमा साथीको पर्खाई
समय हेर्दछु गन्तव्यमा
सबैले नयन तर्काई ।
२,
सहरमा बाटोको अस्तव्यस्त
प्रवाह नगरी कति
फोहर फाल्ने खुलस्त ।
३,
एसियाली बाटो सुरुआत
वरपीपल रहेन कतैपनि
रुख काटेर खातैखात । - भगवती दवाडी ,झापा
…
१,
आउँदैछ लाउँदै मीत
आकाश पाताल देखाउँदै
आश्वासनको मिठो गीत ।
२,
चुनावी झण्डाको बजार
साधु बिरालाको भेषमा
दुईमुखे प्रतिनिधि हजार ।
३,
मारोगोली माटोको मुद्दा
जातिलाई खाल्डोमा हाल्न
आउँदैछ छिचिमिराको हुद्दा । - राजेन्द्र प्रधान ‘पासा’, दार्जिलिङ
…
१,
मिठो बोलीले छुनुपर्छ
आफ्ना हुन पराया
व्यवहार निष्पक्ष हुनुपर्छ । - धनमाया चौधरी, कैलाली
…
१ ,
चोइटिएको अभिलाषा बोकेर
सर्वदा प्रतीक्षामा उभिएँ
तिम्रै कोसेलीले मातेर ।
२ ,
गरौँ विपद्को सामना
पुगोस् सबैको स्वेच्छा
नयाँ वर्षको शुभकामना । - हरिगोपाल प्रधान, काभ्रे, बनेपा १४ साँगाबजार
…
१,
खुसी बोकेर आयो
नयाँ वर्ष उल्लासमय
उज्यालोको गीत गायो ।
२,
रमाऔॅं यो क्षणमा
नवीन ज्ञान वृद्धि
भएको एकै दिनमा ।
३,
नवीन रङ्ग बोकेर
सव नेपालीको मनमनमा
जगाई सद्बुद्धिले सोचेर । - मनुहाङ किराँती, सोलु
…
१,
उत्साह लिएर आऊ
हे नयाँ वर्ष
सन्देश दिएर जाऊ ।
२,
सधैँ हाम्रो कामना
फुलोस् फलोस् जीवन
मौलाओस् आत्मीय सुभावना ।
३,
यादगार रहोस् वर्ष
चुमोस् शान्ति समृद्धि
बर्साओस् चरम हर्ष । - त्रिलोचन भण्डारी, मेचीनगर, झापा
…
१,
अब केही गरौँ
खाली बसेर हुन्न
खुसीको बिउँ छरौँ।
२,
बाँचेर के गर्नु
स्वार्थी यो दुँनियामा
कसको नजिक सर्नु ?
३,
आकाशका जुनतारा गनेर
आफूहरू बाँच्न नखोज
अरूलाई यस्तोउस्तो भनेर । - गोविन्दराज तिमिल्सेना
…
१,
स्वस्थ रहोस् भावना
वसन्तको यो अनुगमनसँग ,
नयाँ वर्षको शुभकामना ।
२,
मनमा खुसीको हर्ष
हर्ष उमङ्गमा छदै ,
आओस् नयाँ वर्ष ।
३,
फेरियो महिना साल
गरिब जेहेन्दारको जिन्दगी
बजार भाउले बेहाल । - श्रीकृष्ण धामी, बझाङ
…
१,
राप निभाउॅंछ पानीले
भन्दै सल्काइयो आगो,
खरानी उडाउने बानीले ।
२,
कहिल्यै नपरोस् दुख
यही कामना थियो,
चाहेर उदाएन सुख।
३,
चोटमा खुसी हुन,
सिकाउने महान् गुरु,
खुसीले आँसु धुन । - मनोहरी पौडेल, गैडाकोट १
…
१,
वसन्त ऋतु आयो
नविनताको साथमा दिलले
हर्ष, खुसी पायो ।
२,
विगतको दुख नहोस्
यो वर्षमा पनि
सम्झेर रुन नपरोस् ।
३,
रहोस् स्वच्छ भावना
अशान्ति हटेर जाओस्
नयाँ वर्षको शुभकामना । - भावना थापा ‘मुस्कान’
…
१,
आउँछन्, जान्छन् वर्षहरू
किन कता भागे ?
मेरा यी हर्षहरू । - दीपा समभाव, खोटाङ्ग
…
१,
वासन्ती छटा देख्दाखेरि
विक्षिप्त यो मनले
जिजीविषा जगायो फेरि l
२,
आसन्न नयाँ वर्षले
दिएको खुसी पाएर
झुमून् सम्पूर्ण हर्षले l
३,
नयाँ वर्षको उपहार
ग्रहण गरी भ्रष्टले
सुधारोस् दुष्ट व्यवहार l - बाबुराम गौतम, गुल्मी
…
१,
उमङ्ग बोकेर ल्यायो
खुसी मानेर रमाऔॅं
नयाँ वर्ष आयो ।
२,
सबैको मनमा लहरी
बास गरे राम्रो
यो नयाँ सालभरि ।
३,
सालको पहिलो दिन
जीवन छ अप्ठ्यारोमा
आऊ, काल लिन । - ललिता गिरी सिन्धुली, हाल काठमाडौँ
…
१,
फूलजस्तै अब फुलोस्
नयाँ वर्षसँगै सबैको
जीवन सुन्दर बनोस् ।
२,
जीवनमा नपरोस हार्न
सबैसँग मित्रता गासौँ
नपरोस् आँसु झार्न।
३,
असल सोचौँ भावना
शान्ति समृद्धिसँगै सबैलाई,
नयाँ वर्षको शुभकामना । - मन्जु बोहरा, बझाङ
…
१,
वर्षको गतिविधि हेरियो
एक साल बितेछ
अर्को साल फेरियो ।
२,
रमाऊ उमङ्ग हर्षमा
खुसीको चाह राख्नु
अब नयाँ वर्षमा ।
३,
नेपाल हाम्रो देशमा
हामी हिॅंड्नु पर्ने
सधैँ गरिबीको भेषमा। - लक्ष्मण देउवा डोटी, हाल भारत
…
१,
रचना रचेर रचिन्छ
बिग्रन्छ लेख्दामा पहिले
बिस्तारै अवश्य सुध्रिन्छ ।
२,
सिर्जना लेख्छु यहाँ
होलान् गल्ती हजार
भन्नु बिग्रेको जहाँ । - कृष्ण उपाध्याय
…
१,
सधैँ शीरमा नाम्लो
गरिबी हटाउन सकिएन
जोड्न सकिएन काम्लो ।
२,
पेटभरि छैन खाना
गरिबीको सिमा छैन
छैन तनमा नाना । - देव कृष्ण काफ्ले, पोखरा १, कास्की
…
१,
सबैको पुगोस् चाहना
मनैमा उमङ्ग छाओस्
नववर्षको छ शुभकामना ।
२,
सम्झे विगतको कुरा
हुँदैन केही सम्झेर
भए सपना अधुरा ।
३,
सम्झनाले सतायो अति
मनलाई भुलाउन खोज्छु
हुन्छ केही क्षति । - सहयात्री शोभा अर्याल, रुपन्देही
…
१,
साहित्यमा रङ्ग छर्न
झिल्का कविता उदायो
हरेकको मन भर्न ।
२,
कोही आउॅंछ जीवनमा
जीवनको रङ्ग भर्न
खुसियाली छाउॅंछ मनमा । - बुद्धिमान दनुवार ( सुरुङ्गेली कान्छो ), कनकाइ – ४, झापा
…
१,
आयो नयाँ वर्ष
बोकेर लहर खुसीका
छाओस् सबैमा हर्ष । - सुस्मिता अधिकारी, काठमाडौँ
…
१,
हिॅंडेका कमाउन परदेश
पैसा ल्याउँछु भन्दाभन्दै
होओस् बिरानो घरदेश
२,
जिन्दगी सम्झॅंदा लामो
कटाउनु कसरी खै ?
आजकल निदाउन गाह्रो ।
३,
सम्झना सधैँ बच्चाको
गिन्ती ऋणकै रातदिन
परदेशी जीवन कच्चाको । - फूलमाया कुलुङ, सोलुखुम्बु
…
१,
बारम्बार भोट खेर,
दोहोरिन्न गलत व्यक्तिमा
अब गल्ति भएर ।
२,
नेताको भरमा देश
छैन न्यायको सीमा,
छिमेकीको साँधमा परिवेश । - भोलामान बर्देवा, धरान – ८ सुनसरी
…
१,
देशमा परिवर्तन आओस्
नेपाली जनताले अब
शान्तिले बाँच्न पाओस् ।
२,
काँधमा काँध मिलाऊ
भ्रष्ट नेता जतिलाई
एकएक गरी जिलाऊ। - कला ढकाल, झापा
…
१,
नपरोस् पीडाको सामना
नयाँ वर्ष आएपछि
गर्दैछन् सबैले कामना । - सन्तु खत्री
…
१,
तिम्रो साथै रमाएर
अग्नीको फेरो लिई,
आएँ हात समाएर ।
२,
प्यारा दुख्छ मन
अरूसॅंग तिमी बोल्दा,
हुन्छ मलाई जलन ।
३,
राख्नु मनमा मलाई
नदिनु ध्यान अन्त,
हुन्छ हाम्रो भलाई । - सीमा कार्की समर्पण, मेलचोक पर्सा
…
१,
बोकी उमङ्ग हर्ष
छायो जताततै यहाँ
आयो नयाँ वर्ष ।
२,
सबै गर्छु सामना
वसन्तको यो बहारसँगै
नयाँ बर्षको शुभकामना। - उर्मिला के.शी., धनकुटा
…
१,
वसन्तको यो हर्ष
पालुवा छन् नौला
आउँदैछ नयाँ वर्ष ।
२,
चाल्दै नयाँ चाल
आउँदैछ नवीन दिन
बिर्सॅंदै पुरानो साल।
३,
चमक छाओस् तनमा
बिर्सँदै पुरानो वर्ष
शुभकामना जन जनमा। - तोया नाथ चापागाईं, दमक,झापा,नेपाल
…
१,
मन निरसिलो हुन्छ
विरह वेदना पोख्दै
कोइली वनमा रुन्छ।
२,
आएछ नयाँ वर्ष
फेरियो नयाँ भित्तेपात्रो
तर छैन हर्ष।
३,
फूलहरू ढकमक्क फुल्छ
वसन्त ऋतुमा यहाँ
त्यही मौरी झुल्छ। - अरुण कुमार भुजेल, गोरु बथान,कालिम्पोङ,भारत।
…
१,
पालुवाको पालो आयो
खुसियाली वनमा छर्दै
चरीले गीत गायो।
२,
खुसीको चरम उत्कर्ष
कोइलीको स्वरसँगै घुम्दै
आयो नयाँ वर्ष । - प्रमिला प्याकुरेल, बिराटनगर -५
…
१,
हेर वसन्त आयो
न्यानो स्पर्श लिई,
अगाध माया लायो।
२,
लहरायो बैँसको फूल
लाग्छ चुमूँझैँ मलाई
होला कि भुल !
३,
हेरेरै नाच्छ मन
प्रकृतिको उपहार कस्तो,
सुन्दरतामा छ आफ्नोपन । - पुष्पा राई, बादेल, खोटाङ ।
…
१,
सबैमा छाओस् हर्ष
लिएर पोको खुसीको
आओस् नयाँ वर्ष।
२,
जनता अब जागून्
लाएर ठाडो पुच्छर
भ्रष्टाचारी सबै भागून् ।
३,
ठाउँबाट हात झिकेपछि
सास्ती पाउँछन् जनताले
न्याय पैसामा बिकेपछि । - शान्ता पौडेल भट्टराई, टङ्कीसिनवारी, मोरङ
…
१,
खुसीको खबर लिएर
नयाँ वर्ष मनाऔँ
सबैलाई शुभकामना दिएर । - गोकर्ण दयाल
::::::::जय झिल्का साहित्य ! ::::::::::

