‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला सम्पन्न

  • १८ कार्तिक २०७९, शुक्रबार ०७:४७ मा प्रकाशित
  • काठमाडौ, १२ कात्तिक। साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खला कार्तिक ५ गते शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा नेपाल लगायत विश्वका ८३ जना नेपाली भाषी टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक/ प्रशिक्षक एवम् टुक्का साहित्य समाजका उपाध्यक्ष वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आइरहेको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला अन्तर्गत यस शृङ्खला सञ्चालन गरिदै आएको समाजका संस्थापक अध्यक्ष, टुक्का प्रवर्तक एवम् कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको ५७ औँ शृङ्खलाको लागि समाजका उपाध्यक्ष वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको प्रतिनिधि टुक्का

    सकियो तीज सकियो दसैँ सकियो तिहार,
    खाडल पुर्न पुगेन पैसा पठाऊ पियार ।

    वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू



    [१]
    नहेरी घाँटी निल्दछौ हाड पछुतो अड्किँदा,
    उड्दछ सारा सपनाहरू जीवन पड्किँदा ।
    🌑वसन्त अनुभव
    घोराही- १४, दाङ

    [२]
    जानिनँ मैले काम गर्न भन्छ कसरी कमाउ,
    हजार झुट चुट्कीमै बोल्छौ नेता भई रमाउ ।
    🌑सुदिप कुइकेल

    [३]
    मन जलेको छ कसरी निभाउँ,
    भएँ म खरानी कसरी भिजाउँ ।
    🌑सन्जना
    शर्मा दाङ लमही।

    [४]
    गरेर सिको फजूल-खर्ची तिहार मनायौ,
    भएन सुको कसरी पुर्ने खाडल बनायौ।
    🌑ख्यामराज खतिवडा
    सूर्योदय ७ इलाम

    [५]
    कसरी चल्छ जिन्दगी सानू पैसामा रुँझेर,
    रमाउँनू घरको दुःख व्यवहार बुझेर ।
    🌑निर्मला खत्री
    ओखलढुंगा

    [६]
    तिहार भनेर नाँच्छन् र गाउछन् दक्षिणा मागेर,
    हुनेले देला नहुने गरिब कहाँ जाने भागेर ।
    🌑दुर्गा तामाङ
    संखुवासभा

    [७]
    हाैसिई खायाै तम्सिई लायाै अगाडि हेरेनाै,
    नहेरी घाँटी हाड त्याे निल्ने बानी नै फेरेनाै ।
    🌑त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [८]
    धेरैको हाँसेरै मन जित्ने,
    दुश्मनहरू सबै नै बित्ने।
    🌑सुशीला पौडेल

    [९]
    जिन्दगीमा कहिले सिकाएनौ हार्न,
    आँसु के हो भनेर सिकाएनौ झार्न ।
    🌑भगवान श्रेष्ठ
    आँबु खैरेनी,३ तनहुँ

    [१०]
    छैन खुसी छैन आनन्द, नत छ मन स्थिर,
    साहुको ऋण, कसरी तिरूँ छ मनमा पिर ।
    🌑 हिरा सारू मगर
    बौदीकाली-६, नवलपुर!

    [११]
    घडेरी बेची चुनाव लड्यौ, तैपनि जितेनौं,
    ऋणको भार बोकेर हिड्यौ, पिरले बितेनौ ।
    🌑अजय कुमार झा
    महोत्तरी, जलेश्वर,

    [१२]
    सम्झिई तिम्रो वचन भक्क हुन्छ छाती,
    कोपिला मै झर्ने फूल नफुलेकै जाती ।
    🌑टंकबाबु बि.सी.
    तुर्माखाँद ३ अछाम
    सुदूरपश्चिम प्रदेश

    [१३]
    दसैँ तिहारमा खाएर मस्ती रमाइलो भयो,
    फजुल खर्च गर्नाले खेतबारी सबै नै गयो ।
    🌑राज कुमार राजभण्डारी खाेटाङ्गे
    मध्यपुर थिमी५सङ्गम काेलाेनी भक्तपुर ।

    [१४]
    घाँटी सानो हुनेले भन्छन् किन निल्नु ठूलो हाड,
    के गर्नु समाजमा गिरी मान्नु नि भएन चाड ।
    🌑शंकर कार्की
    थाहा नगरपालिका ३मकवानपुर।

    [१५]
    तीज, दसैँ, तिहार दुःख सुखमै बित्यो, अब आउँदै छ छठ पर्व,
    छठी मैयाले दुःख पीडा व्यथा हरण गरून्, मन मुटुमा होस् गर्व ।
    🌑कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [१६]
    कमाएकाे पठाएँ सबै खर्च बढ्याे अति,
    फुर्मास गर्दै हिड्छे स्वास्नी हुने भाे दुर्गति ।
    🌑ताराप्रसाद चापागाईँ
    धुनिबेसी

    [१७]
    दसैँ, तिहार छोडी गए, छोडे अभावको दरार,
    सुल्झाउँनै पर्यो साहुको अब, पैसाको व्यवहार ।
    🌑अबजस चन्द्र
    झापा

    [१८]
    जिउ ज्यान हेर्दा खुबै रै’छ ज्याङ्गो,
    भयो भ्रष्ट त्यो बुद्धि देखेँ नि नाङ्गो ।
    🌑अन्जु तिमल्सिना घिमिरे
    गोदावरी १० ललितपुर

    [१९]
    पियारी अब घरमा आउन एक वर्ष ढिलायो,
    तलब जम्मै तिहार पर्वमा कहाँ कहाँ बिलायो ।
    🌑कर्ण दयाल सोराडी
    मेलौली नगरपालिका ७ ,बैतडी

    [२०]
    खादाको बखतमा देखेनौ आँखा हसुर्‍यौ त्यसरी,
    साथीको फिर्ता गर्नु छ यसपालि पठाऊँ कसरी ?
    🌑प्रदीप के रिमाल
    इटहरी, सुनसरी।

    [२१]
    हुनेलाई धनमाथि धनैको छ थाक,
    कति छन् गरिब टुटेको छ छाक ।
    🌑चक्र सुब्बा
    पश्चिम बंगाल पथरझोरा

    [२२]
    पर्वहरू त सकिएर गए हजुर अब याे वर्ष दिनलाई,
    कसरी तिराैँला चाडबाड उतार्न लागेका दुखीको रिनलाई ।
    🌑शाेभा आचार्य गाैतम
    काठमाण्डौँ

    [२३]
    कसरी पठाउँ, सकिनँ टिप्न, रुखैको पातैमा,
    अर्को सालसम्म आउँला घर, पैसाको साथैमा ।
    🌑मनोज खत्री अछामी

    [२४]
    इज्जत थाम्न मान्नुनै पर्दछ चाडबाड हजार,
    पहिचान हाम्रा संस्कृति राम्रा तीज दसैँ तिहार ।
    🌑बिबस पारदर्शी
    भद्रपुर झापा

    [२५]
    नगरी देखासिकी चाडपर्व मनाउँदैथेँ धन्न,
    सकियो पैसा तिहारमा हेर चाडैँ पठाऊ टन्न ।
    🌑भगवती दवाडी
    झापा

    [२६]
    म परदेश छोरा-छोरी घर,
    खाऊँ सक मरी लानु के छर ।
    🌑यामनाथ आचार्य
    पर्वत

    [२७]
    घाँटी सानो थाहा पाउँदापाउँदै किन पो ठुलो खानु,
    पछिको कुरा थाहा नहुनेले बेलैमा टुट्ला नि मानु।
    🌑अर्जुन प्रसाद चौलागाई
    रामेछाप:सुनापति-१
    हाल:बोस्टन,अमेरिका।

    [२८]
    नसकियोस् जिन्दगी नसकियोस् समय,
    सकिनु पर्ने सकिन्न कुरा कतिपय ।
    🌑मदनमणी थुलुङ राई
    सोलु दुधकुण्ड नगरपालिका ११ तिङ्ला।

    [२९]
    नेपाली धर्म संस्कार कर्म कसरी मनाऊँ,
    पियारालाई खल्तीको पीडा कसरी जनाऊँ !
    🌑रचना शर्मा प्रतीक्षा
    महालक्ष्मी ४, ललितपुर ।

    [३०]
    खल्लो भयो, यसपालि नि यो दसैँ तिहार,
    अभागी रहेछु, खाली भयो मेरो निधार ।
    🌑प्रकृति श्रेष्ठ
    हाल बुटवल

    [३१]
    कमाई भएमा मनाउँला यस्ता पर्व हजार,
    घर बेचेर ऋणमा मान्ने छैन दसैँ तिहार ।
    🌑शिव कुमार रेग्मी
    पोखराथोक,पाल्पा

    [३२]
    भएको पैसा सिद्धियाे प्यारा रमाइलो गर्दै, हाम्रा चाडपर्व मानेर,
    व्यवहार चल्न गाह्राे भाे पैसा पठाऊ है, मनको बात आफैँ जानेर ।
    🌑मित्र `उराठी´ गाैतम
    तिलाेत्तमा-२, रुपन्देही

    [३३]
    औकात भुलेर पौडेकी थियौ रे सुखको सागरमा,
    पैसाले गर्दा बिराम चिन्ह लगाइथ्यौ रे जाँगरमा
    🌑बाबुराम गौतम
    गुल्मी

    [३४]
    अरूका अघि देखासिकी गरे त्यस्तै हो हालत,
    के गरी पैसा पुगेन त्यहाँ थाहा पाए चाल त ।
    🌑छिरिङ डाेमा शेर्पा
    गौरीशंकर ,दोलाखा

    [३५]
    आजसम्मन जेनतेन गरी भगाएँ तिहार,
    तुरुन्तै पैसा पठाऊ नत्र बालबच्चा स्याहार ।
    🌑भगवती अधिकारी
    झापा

    [३६]
    तिहार पनि दिक्दार नै भो हजुर नआएर,
    साह्रै मन चन्चल भो पैसाको बिटो नपाएर ।
    🌑प्रेम थापा “मन “

    [३७]
    विदेशै गएँ, दु:ख नि गरेँ, पठाएँ घर खर्च पियारी,
    सकिनँ धान्न अब त खर्च, माफी देऊँ राम्ररी बिचारी ।
    🌑इन्दिरा गौतम
    इटहरी १

    [३८]
    देखावटी, देखासिकीमा जो छ सबै खर्च गर्ने,
    थाहा छैन भोलिबाट कसरी खाली भुँडी भर्ने ।
    🌑लिलाराम दास

    [३९]
    पसिना बग्छ दिन र रात बग्छ नि रगत,
    दाम र पैसा भएन भने के होला जगत ।
    🌑डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा.-६, दोलखा ।

    [४०]
    मनाइयो तीज मनाइयो दसैँ मनाइयो तिहार,
    दस नङ्ग्रा खियाएर साहुको छिट्टै तिर्नु छ उधार ।
    🌑बेदु न्यौपाने

    [४१]
    तिमीले आज परको देश पसिना बगायौ,
    जवानी सबै सकेर कस्तो पिरती लगायौ ?
    🌑आर्त अकुलीन
    कैलाली

    [४२]
    काेही छन् साउदी युवाहरू काेही छन् कतारमा,
    भविष्य खाेज्दै विदेश जाने थुप्रै छन् हतारमा ।
    🌑राेशन खड्का
    बाजुरा बडिमालिका ६ काेर्ध

    [४३]
    सक्नु हुदैन देखावटीमा सम्पत्ति भन्ने कुरा
    पसिना बगाएर कमाऊँ सपना हुन्छ पूरा ।
    🌑अम्विका अधिकारी
    झापा विर्तामोड

    [४४]
    देखासिकी चाडपर्व परम्परा धान्न मुस्किल,
    ऋण लागेपछि भएका छन् यी आँखा टिलपिल ।
    🌑भावना मञ्जु
    माेरङ

    [४५]
    चाडपर्व आएर गए टाउको किन भारी ?
    बाह्रैँ मास चाड मान्ने भए लागौँ धर्ती पारी ।
    🌑नन्दलाल आचार्य
    बेलका- २, सिद्धार्थटोल, उदयपुर
    अहिले- रुपनगर, सप्तरी

    [४६]
    खायौँँ रक्सी मासु, अपच भयो, मेला पर्वको नाउँ,
    लाग्यो ऋण, जानुपर्‍यो विदेश, छाडेर आफ्नो गाउँ।
    🌑सुरेशकुमार पान्डे।
    दाङ घोराही १८

    [४७]
    दु:खले सिएँ नानीको नाना दु:खले दिन कटाएँ,
    महान चाडपर्वमा पनि आफ्नैँ रहर हटाएँ ।
    🌑पवित्रा पोख्रेल

    [४८]
    ए प्यारी ! तिमी त घरमा नै बस्छौ गरेर रमाइलो,
    के थाहा तिमीलाई यहाँको दु:ख प्रचण्ड घमाइलो ।
    🌑मिलन कुलुङ

    [४९]
    सालकाे पात हाेइन पैसा अप्ठ्यारो छ रुख,
    पैसा पैसा भन्दाभन्दै जीवनभरकाे दुख !
    🌑निरज कोइराला
    बेलका१ उदयपुर, हालः इटहरी

    [५०]
    रितै त होनि आउने र जाने वर्ष दिनको चाड,
    पिर नलेउ सानू काटी धान पकाउँनु है माड ।
    🌑अनुग्रह राना मगर ‘पुष्प’
    पाँचखपन नपा – ६ संखुवासभा हाल मलेसिया

    [५१]
    नेता आए है मात्तिएको राँगोझैँ, यिनीले जनतालाई मात्र हान्ने,
    राष्ट्रिय सम्पत्ति खाएर त मेाटाएका हुन्, यिनलाई कसले मान्ने ।
    🌑पवन कुमार बुढाथेाकी
    काठमाडौं, हाल सिडनी

    [५२]
    आउँछन् सधैँ चाडपर्व रमाइलो लिएर,
    हुन्छन् विदा गहकिलाे ऋणकाे भारी दिएर ।
    🌑कृष्ण अधिकारी
    विर्तामोड, झापा

    [५३]
    दसैँ र तिहार मनाएँ प्यारा ऋणै गरेर,
    डलर पठाऊँ पियारा, खनखन गनेर ।
    🌑बिके माकजु
    भक्तपुर ।

    [५४]
    पैसाको बोटमा टिप्दैमा रुपियाँ जान्छ कि यो चोला,
    खडेरी पर्दा नदी सुक्छ तिमीलाई नि थाहा होला ।
    🌑बुद्धराम थिङ
    वाग्मती १ ललितपुर

    [५५]
    राजनीतिमा बेइमानीको लागेको छ लेउ,
    राम्रा असल नेतालाई लगाए पाखा छेउ ।
    🌑विष्णु पाख्रीन तामाङ

    [५६]
    पसिना चुहाई चार घण्टा सुती यी आँखा मिचेर,
    तिमीलाई पैसा पठाउन भनी बस्दैँछु टिपेर ।
    🌑गाेपालकृष्ण डंगाेल
    काठमाण्डाैँ ।

    [५७]
    घाँटी नहेरी हाड निल्नेलाई सकिन्छ केनै भन्न ?
    खाली अनुरोध गर्ने न हो बेलैमा सचेत बन्न ।
    🌑पेम्बा दोर्जे भोम्जन
    बकैया गाउँपालिका -११, गमल्टार, मकवानपुर ।
    हाल श्री जनजागृति माध्यमिक विद्यालय, बकैया – ०८, मकवानपुर।

    [५८]
    मान्याै हाैँली चाडपर्व खर्च जुटाएर ,
    धनी बस केही बर्ष जाेखिम् उठाएर ।
    🌑रामकृष्ण दुवाडी

    [५९]
    पठाएकै छु पैसा तलब आउनासाथ, अझै कति हो चाहिने
    म यता छु परिश्रम गर्दै, कसलाई राख्यौ प्यारी तिम्रो दाहिने ?
    🌑राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ
    हाल- प्रवास

    [६०]
    सबैले भनौँ उज्यालो रोजौँ, अँध्यारो फालेर,
    स्वतन्त्र भई हाँसौँ रमौँ निरङ्कुस ढालेर ।
    :🌑कुमार श्रेष्ठ “बुभुत्सु”
    महालक्ष्मी न.पा.९ (ल.पु.जी)

    [६१]
    तन्ना जति नै खुट्टा फैलाए पाे पैसाले पनि पुग्थ्यो पर्वमा,
    फजुल खर्च उडाउने भए रमाउँदै झुठो त्यो गर्वमा ।
    🌑दीपक ठटाल जलन
    खरसाङ

    [६२]
    बाटो नहेरी गन्तव्यमा लम्किँदा,
    पछुतो लाग्छ है विगत सम्झिँदा !
    🌑रितु बुढाथोकी
    उदयपुर गाईघाट

    [६३]
    दसैँको रौँनक, तिहारको तुजुक, पैसाले गरायो,
    आँगनमा साहु आएको देख्दा जोश जाँगर हरायो।
    🌑होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [६४]
    के गर्नु प्रिय म घर बसेमा चुलो नै बल्दैन,
    सजिलो छैन पैसा कमाउन रुखमा फल्दैन।
    🌑घनु भाट क्षेत्री
    सिमलपानी, शितगंगा १३ अर्घाखाँची
    हाल : परदेशी भुमी दुबई

    [६५]
    हेर्दाहेर्दै तिमी पनि आखिर उसैको भयौ,
    म पर्खेको थिए तिमी उसँग रमाएरै गयौ।
    🌑सानु ओम बडैला
    सुदुर पश्चिम डोटी

    [६६]
    साथीसँग सापटी लिएको त्यो रकम अझै कटेन,
    पठाउन त बढी नै पठाएँ फजुल खर्च घटेन ।
    🌑असिराम डंगौरा
    जोशीपुर कैलाली
    हाल-भारत

    [६७]
    विदेशमा प्यारी पैसा नै फल्ने क्या ठुला छन् बाेट,
    त्यो पैसा टिप्न नजान्ने मेरा ठुलठुला छन् खाेट ।
    🌑रामप्रसाद बेल्बासे’एक्लो यात्री’
    शीतगङ्गा-५,अर्घाखाँची
    हाल: बुद्धभूमि ३,कपिलवस्तु ।

    [६८]
    आउँछन् पर्वहरू दु:ख सुख खुसीले मनायो,
    सकिएर जाँदा ऋणको भारी टाउको कन्यायो !
    🌑रबि श्रेष्ठ, सन्धिखर्क-१, अर्घाखाँची,
    हाल : बुटवल, रुपन्देही, नेपाल !

    [६९]
    कमाउँने म छँदैछु प्यारी मिठाे मिठाे खाउन,
    बरु म भुलिदिउँला स्वदेश फर्केर आउन ।
    🌑माया नेपाल
    इटहरी

    [७०]
    दु:ख सुख आउँछ जान्छ, यस्तै हो संसार,
    बाँचुन्जेल कमाउन, उठाऊ तरवार ।
    🌑बुद्धिमान दनुवार
    सुरुङ्गा ४ झापा

    [७१]
    तिहारसँगै सकियो यस वर्षका चाड र पर्व,
    पियारासँगै घर बस्न पाउँदा लाग्दछ नि गर्व ।
    🌑भेष कुमारी लामिछाने
    देवदह ०५ , खैरेनी

    [७२]
    पठा’कोथे तिज र दसैँमा सोच त बिचारी,
    पैसा टिप्न चढ्दैछु रुख यहाँ पख न प्यारी ।
    🌑राजकुमार कार्की

    [७३]
    पठाउन हुन्थ्यो ऋणमा छु पठाऊँ कसरी,
    चाडबाडे गर्जो टार्नु उतै जसरी तसरी ।
    🌑सुरेखा चाम्लिंग राई
    –भक्तपुर

    [७४]
    चाड र पर्व मानियो प्यारा ऋण है खोजेर,
    पठाऊँ खर्च साथी आउने दिन है सोधेर ।
    🌑सरिता सेढाई

    [७५]
    एक्लै बसी परदेशमा किन दु:ख पाउँनु,
    पैसा मलाई चाहिँदैन तिमी आफैँ आउँनु ।
    🌑मन्दिरा सेढाई
    मलेखु,धादिङ

    [७६]
    चाडबाड गयो दसैँ र तिहारमा आउँन पाइनँ,
    आमा र बुबा परिवारसँग एक छाक नै खाइनँ।
    🌑दुर्गा आचार्य
    मोरङ

    [७७]
    यो वर्षको दसैँ तिहार, रमझम गरी गयो,
    आउने साल कता कोही, सम्झनामै दिने भयो।
    🌑एवाइ प्रभात(पारुहाङ राई)
    धनकुटा । हाल मोरङ

    [७८]
    विदेशबाट पठाए पैसा चाडपर्व मनाउन,
    कसले भन्यो मोजमस्ती गरी जोगीनै बनाउन ?
    🌑नवशिला
    बेलाबारी-२, लालभित्ती, मोरङ ।

    [७९]
    चाडपर्व गए सकिएन हामीले केही नि लाउन,
    अलिकति पैसा पठाउनुस् हजुर याे घर छाउन ।
    🌑उर्मिला के.शी
    धनकुटा

    [८०]
    पचास डिग्री तापक्रममा झार्नुपर्दछ पसिना ,
    बेकार फजुल खर्च गरी बन्न नखाेज हसिना ।
    🌑 प्रद्युम्न चालिसे
    देवघाट तनहुँ ।

    [८१]
    नेपालीपन यी हाम्रा धन जोगाऔँ संस्कृति,
    घाँटी हेरी हाड निल्ने गरौँ चलाऔँ जागृति ।
    🌑हरि गिरी
    सुनकोशी-३, सिन्धुली

    [८२]
    दुखजिलो गरिकन कमाएको धन,
    हावामा उडाएको किन तिमीले भन?
    🌑गंगा खड्का
    बूढानीलकण्ठ , काठमाडौँ

    [८३]
    दसैँ र तिहार आहा क्या राम्रो रमाइलो गरियो,
    पछुतो अहिले लाग्दैछ हजुर ऋणमा परियो ।
    🌑ईशहाक हुसैन
    जीतपुर सिमरा १४ बारा बाट

    Leave a Reply