साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७औँ शृङ्खला शनिबार सम्पन्न

  • २३ चैत्र २०७८, बुधबार २२:०३ मा प्रकाशित
  • काठमाडौ, १९ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २७ औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    चुनावी मौका छ हजुर, सुटुक्क नोट लिनुहोस्,
    सट्टामा केही चाहिदैन, अमुल्य भोट दिनुहोस्।
    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    कति मनाउछौ अप्रिल फूल, तिमीले वर्षै भरी,
    थाल्नामै सुताउछौ जनतालाई सधैँ यसै गरी।

    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    [२]
    कसले भन्यो र अमुल्य हो भोट भनेर,
    हालिन्छ उतै जसले दिन्छ नोट गनेर।

    अच्युत घिमिरे
    भुटान 🇧🇹

    [३]
    नाेटले भाेट बेच्नु जनताहरू नेताले देशै बेच्लान,
    भाषण सुन्नु किन पर्याे आखिर बेच्नु नै छ महादान ।

    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    [४]
    आउनुस् मेरो साथ, मोटरसाइकल र नोट लानुस्,
    भोट हालेर निश्चितरूपमा, टन्न मासु रक्सी खानुस्।

    प्रदीप के रिमाल
    इटहरी -आठ

    [५]
    जनताले त त्यति सजिलै नोट लिइन्न,
    पाएमा बरू पैसा खाइन्छ भोट दिइन्न ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [६]
    राजनीति गर्ने नेता चाँडै कसरी धनी बन्छन् ?
    आफ्नो आँङमा नहेरी जनताको ओइरो खन्छन्।

    रतन पाण्डे’पारतन’
    दार्जीलिङ।

    [७]
    सित्तैमा नोट हामी लिॅंदैनौ,
    गद्दारलाई भोट दिॅंदैनौं।

    म्यामराज राई
    हतुवागढी-६,भोजपुर

    [८]
    भोटजस्तो अमूल्य कुरा नोटमा थालेछ बिक्न,
    बेइमान गरी किन पर्ने हो संसारमा टिक्न ?

    गंगा खड्का

    [९]
    नोटले किनेको भोटमा नेताहरुको रजाईं हुने भयो,
    बुझिलिनु जनता र राष्ट्रको पाँच वर्ष त्यसै खेर गयो।

    दीपक ठटाल जलन
    खरसाङ,०२.०४.२२

    [१०]
    बिकाउछ भोट आफैँलाई लाग्छ पछि चोट,
    पैसाले भोट दिने लिनेको मनमा हुन्छ खोट।

    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    [११]
    पालाे मात्र एक हाे जनकाे यही नबिक्नुहाेला कबै,
    भाेटै अमूल्य हक हाे जनकाे मनै चिन्नुहाेला सबै ।

    निरज काेइराला
    बेलका १ उदयपुर

    [१२]
    पैसामा बिक्नु हुन्न , लिनु हुन्न नोट,
    चुनाव महायज्ञ हो , दान हो भोट ।

    बिके माकजु
    भक्तपुर ।

    [१३]
    सुटुक्क खल्तीमा राखाैँ, घुटुक्क पाराैँ प्यालाहरु,
    पछिकाे भराेसा के छ? लिईहालाैँ पाएकाे बरु ।

    मित्र उराठी गाैतम

    [१४]
    पैसा दिएर भोट माग्नेलाई, हान्ने हो भाटाले अब,
    भोट दिनु मात्रै उसलाई, माग्न आउँछन् राम्रा जब ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    [१५]
    पूर्व कामको लेखाजोखा गरेर ठम्याउनु,
    यस्तै चाल हो भने कानका लोती समाउनु ।

    प्रेम थापा “मन”
    बागलुङ

    [१६]
    साच्चै अब देशको हित खोज्ने भए असल ब्यक्ति छानौ,
    लालच देखाई भोट किन्न आउने ब्यापारी लाई हानौ।

    शंकर कार्की
    थाहा,३ मकवानपुर।

    [१७]
    मासु रक्सी नोटमा अमुल्य भोट दिनुहुन्न,
    जानीजानी आफैं डुब्ने कुनै चोट लिनुहुन्न ।

    त्रिलाेचन भण्डारी
    मेचीनगर, झापा

    [१८]
    मन्त्री पद पक्का भए दिउँला नि सबै भोट,
    मेरो पाटी त्यागेर आउँछु समाउन नोट ।

    अनिल खग्रास

    [१९]
    सधै भरि फेरि यस्तो मौका आउदैन हजुर,
    घुस नखाइ चुनाउ दिनु किन लाग्छ कसुर ।

    जि कुमार गौतम
    भद्रपुर -१ पृथिविनगर झापा

    [२०]
    ढिला भयो सुध्रौँ अब त सुधारौँ अरूलाई पनि,
    नोट लिई भोट दिनेलाई भाटाले हानौँ गनि-गनि।

    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२१]
    समय आउँछ पर्खदैन्
    बगेको पानी हो फर्कदैन्।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२२]
    विचार सिद्धान्त उद्देश्य फरक, जनताहरुको दाल गल्दैन।
    जुनसुकै पार्टीको होस् जीत, गठबन्धन नगरीकन चल्दैन।१।

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [२३]
    हाच्छिउँ खायौं बाच्छिउँ खायौं भित्रभित्रै छ झुसको छिरलो,
    पैसा भएपछि ऐश हुन्छ भोटको हजुर केको पिरलो ।

    बेदु न्यौपाने💕 काठमाडौ

    [२४]
    घरेइघरी झुक्याएर चुनाबी नारा लिएर ,
    धोकेबाज आउलान जालान पैसा दिएर !

    टिकाराम पुन
    छ्त्रेश्वरी २ सल्यान

    [२५]
    देखाएर नोट फकाएर भोट लिनेले,
    के माग्छौ भोट जनतालाई चोट दिनेले ।

    महेश तामाङ
    बेल्कोटगढी-६,नुवाकोट

    [२६]
    काँइयोले कोरी चटक्क पारेको कपालु,
    बोलीले ठिक्क पार्न जानेको रैछ सिपालु ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [२७]
    उठेकोछु जित्छु ढुक्क दिनुहाेला भाेट,
    बदलामा गुप्पचुप्प लिनुहाेला नाेट ।

    रामकृष्ण दुवाडी

    [२८]
    जनताले के नै पाए भोट दिएर,
    देशको ढुकुटी रित्यो जाड पिएर ।

    जगत थापा
    बझाङ

    [२९}
    त्रिनेत्र पनि खुल्छन् अरे देखेपछि पैसा र नोट
    पाए नोट लगाउन्न केही खोट दिइहाल्छु भोट ।

    रचना शर्मा प्रतीक्षा
    ललितपुर ।

    [३०]
    चुनाव चाहीँ स्वतन्त्र भएन यहाँ कहिले
    कब्जा किनबेच अनि धाँधली भयो जहिले।

    रामशरण न्यौपाने
    भक्तपुर

    [३१]
    नेता अनि जनता दुवैको मनमा पस्यो खोट,
    लोकतंत्र धमिलो बन्यो जता नोट उतै भोट।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ भारत।

    [३२]
    लोभ लालचमा फसेर नबेच्नु होला भोट,
    गनी गनी दिनुपर्छ भष्ट नेतालाई चोट।

    राम रावल सागर
    कैलाली

    [३३]
    ठाउँ ठाउँ पैसा बर्षाएर नेता माग्छन् भाेट,
    चुनाव जिती उल्टै थप्छन् जनता माथि चाेट ।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [३४]
    खै के जादु छ पैसामा मिलेमात्र भोट हाल्नु हुन्छ,
    पैसामा भोट बेच्नु हुन्न सत्य कुरा कसले सुन्छ ।

    जमुना आचार्य
    सिन्धुपाल्चोक

    [३५]
    रोजगार दिन्छु भन्छन् मोहमा नभुल जनताहरु नोटमा,
    घर घर आउछन् पर्चा बाडेर भन्दै पैसा साट है भोटमा।

    सुरेखा चाम्लिंग
    भक्तपुर

    [३६]
    विकास गर्छु भन्दै भोट माग्दै गाउँ हिड्नेलाई,
    नदिनु साथ जितेपछि आफैँसँग भिड्नेलाई ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [३७]
    चुनावी माहोल उच्च भाउ बढाएर आओस्,
    मूल्यहीन मान्छेहरूले अमूल्य भोट पाओस्।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    [३८]
    आयाे चुनाउ भरिने भयो नेताकाे खल्ती,
    साेझाे जनता परे मर्कामा के गर्यौ गल्ती !

    रिना योल्मो
    दार्जीलिङ

    [३९]
    नोट जति बटुलेर राखे पकेटमा,
    नेता जिल्ल जनताको भोट रकेटमा।

    पौडेल विमुन्स 💕
    पोखरा कास्की 💕

    [४०]
    नोटमा बिक्री हुने जमाना गए अब,
    आउछन् घर घरमा खेद्नु पर्छ तब।

    दुर्गा आचार्य
    मोरङ

    [४१]
    नेताले बाडेका जतिसक्दो नोट,
    जित्छन् रे पक्कै उसैले धेरै भोट ।

    भगवती दवाडी

    [४२]
    नेताले त स्वार्थका निमित्त दिन्छन् नाेट,
    स्वीकार गरे जीवनभर मिल्छ चाेट ।

    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे

    [४३]
    फोस्रा भाषणको भरमा त भोट हुन्न हाल्नु,
    विकास नगर्ने नेतालाई हुन्न त्यसै पाल्नु ।

    तारा घिमिरे
    सङ्खुवा सभा

    [४४]
    पैसामा हेर बिक्ने दिन गए,
    सबै जनता अब बुझ्ने भए।

    दुर्गा भट्टराई
    मोरङ

    [४५]
    भाेट दिई नाेट लिने आयाे फेरि माैका,
    हुनुपर्छ हिस्स भाेलि आजै हानाैँ चाैका।

    केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा।

    [४६]
    चुनावी लहर आयो नोट पनि आयो,
    साम, दाम, दण्ड, भेदले संसारै खायो ।

    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गा.पा. -६, दोलखा

    [४७]
    नाेटसँग भाेट किन्ने याे जमाना ठिक भएन,
    ढाँट छल गर्ने बानी नेताकाे कहिल्यै गएन।

    नवीन जाेशी
    कैलाली ।

    ✡️✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️✡️

    Leave a Reply