‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २५औँ शृङ्खला शनिबार सम्पन्न

  • ८ चैत्र २०७८, मंगलवार १७:१९ मा प्रकाशित
  • काठमाडौ, ५ चैत । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २५ औँ शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ४५ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त शृङ्खला विगत लामो समय देखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखनमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    टुक्का लेखनका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखनको २५औँ शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    कुरै सुन्दा उदेक लाग्छ, जबर्जस्ती रङ्ग हाल्नु हुन्न,
    अधिकार हाम्रो हनन् भो हेर सक्दिनँ म केही सुन्न।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    [१]
    कस्ले बाेल्या सुन्छन् यहाँ पावरले सब झुक्छ,
    अधिकारकाे कुरा छाेडाैँ कानुन आफैँ लुक्छ ।

    ताराप्रसाद चापागाई
    धुनिबेसी ।

    [२]
    भएकै हो अधिकार हनन्, छिट्टै मुद्दा हाल्नुपर्छ,
    चक्काजाम सडकमा, मसाल र राँको बाल्नुपर्छ ।

    वसन्त अनुभव
    घोराही, दाङ

    [३]
    चुनावताका सबैजसो नेताहरूले आश्वासनको पोका धेरै लेराउँछ
    शक्तिमा गएपछि झनैँ कर बढाई जनतालाई समस्याले बेराउँछ !

    पवन कुमार बुढाथेाकी
    काठमाडौं

    [४]
    कस्लाई के को न्याय चाहियो हेर्छु सबै थोक सस्तो,
    लाग्छ कुरा काट्नेलाई त सजाय त्यसै दिउँ जस्तो।

    ✍️ अच्युत घिमिरे
    भुटान 🇧🇹

    [५]
    कुनै कर्म जबर्जस्ती गर्नु हुन्न मेरो साथी,
    होलिकाको लगाऔँ टिका चट्ट निधार माथि ।

    गुणनिधि घिमिरे
    पाँचथर मोरङ हाल अमेरिका

    [६]
    बनाउनु खानु राम्रो परिकार,
    स्वतन्त्र जिउनु आफ्नो अधिकार ।

    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    [७]
    बाहिर बोलीमा रङ्ग भर्छन् भित्र उडिसके फुङ्ग,
    कसको विश्वास गर्नु खै ! दलहरू गन्हाए डुङ्ग ।

    प्रमोद भट्टराई ‘प्रतीक’
    कौशलटार, भक्तपुर

    [८]
    अधिकार हनन् गरेर समस्या ल्याउन खोज्छन्,
    त्यस्तैलाई जनता पनि त सरकारमा रोज्छन्।

    दीपक ठटाल जलन
    खरसाङ,१९.०३.२२

    [९]
    खेलौँ होली उठाएर पिच्कारी लगाऔँ रङ्ग,
    अनुशासन पनि ख्याल गरौँ नगरौँ भङ्ग।

    सुरेशकुमार पान्डे
    दाङ घोराही १८

    [१०]
    आफू रमाइलो हुने भन्दै जताततै रङ्ग फ्याँक्ने ल्वाँठहरू,
    सावधान! पर्वको नाममा जबर्जस्ती गर्ने बज्रस्वाँठहरू।

    म्यामराज राई
    हतुवीगढी- ६,भोजपुर

    [११]
    कुरा सुन्दा त उदेक नै लाग्छ जिब्रो चपाई बोल्छन् मात्रै ,
    बाहिर बाहिर अधिकार खोज्नेले देखाइसके जात्रै।

    गंगा खड्का
    बूढानीलकण्ठ काठमाडौँ

    [१२]
    राम्रै हो होली पर्वलाई खुशि साथ मान्दा,
    असर पर्नसक्छ जबर्जस्ती रङ्ग हान्दा।

    शंकर कार्की
    थाहा ३ मकवानपुर

    [१३]
    भन्नलाई सजिलो छ , गर्न पाएकै हैन,
    लुट्न पाउँने अधिकार लेखिएकै छैन।

    होम प्रसाद नेउपाने
    धरान,सुनसरी

    [१४]
    काे वुझ्छ र परानुभुतिकाे मर्म ?
    त्यसैले चल्छ मनाेमानिकाे कर्म ।

    मित्र उराठी गाैतम
    गुल्मी

    [१५]
    जबर्जस्ति गर्न नपाउँदा, अधिकार हनन् भयो भन्छौ
    आफूलाई किन महान् ठान्छौ, जब अरूलाई तुच्छ गन्छौ ।

    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ, हाल- प्रवास

    [१६]
    साँढेको जुधाइ बाच्छाको मिचाँइ हुँदैछ,
    लोकतन्त्र, संविधान कुना पसी रुदैछ।

    बिके मुखिया
    सिग्रीमताम बस्ती, दार्जीलिङ, भारत।

    [१७]
    रिस -राग हटाऔँ मनबाट मिलेर सबै खेलौँ टोलीमा ,
    रङ्गाउनु पर्छ साथै हामीले वर्षौको खुशी ऎले होलीमा।

    सुरेखा चाम्लिंग
    भक्तपुर //

    [१८]
    होली खेल्नु भाइचारा प्रेमको निसानी,
    रमौँ सबै खेली रङ्ग सकल किसानी ।

    अम्विका अधिकारी
    झापा विर्तामोड

    [१९]
    आफ्नो मात्र कुरा भन्ने अरूको नसुन्ने,
    नभएका कुरा गरी जालसाजी बुन्ने।

    पौडेल विमुन्स
    पोखरा कास्की 💕

    [२०]
    सल्लाहमा च्याँतेपनि, सारी अनि चाेली,
    अधिकार निचाेरेर, किन खेल्छाै हाेली?

    ✍️केशवप्रसाद ढकाल ‘प्रीतबीज’
    सिरान्चाेक-७, उपल्लो गाेहाेरे, गाेरखा

    [२१]
    कसैलाई लाग्छ मज्जा रङ्ग दल्दा कसैलाई दलेको हेर्दा,
    एलर्जी हुन्छ आफूलाई त समय समयमा बोली फेर्दा ।

    रचना शर्मा प्रतीक्षा
    इमाडोल, ललितपुर ।

    [२२]
    जबर्जस्ती रङ्ग दल्ने काम भयो,
    इज्जत र धन सारा कता गयो?

    विक्रम तिरुवा सलिन
    जुम्ला

    [२३]
    रिसाउनु हुन्न सुन ! थोरै रङ्ग दल्दा,
    देखिन्छ चिटिक्क, रङ्गिन मुहार बल्दा ।

    बिके माकजु
    भक्तपुर ।

    [२४]
    मन मिले सबै कुरा मिल्दाेरै’छ जान ,
    नमिलेमा भन्ने हाेला भयाे अपमान।

    रामकृष्ण दुवाडी
    पाेखरा ।

    [२५]
    छेपारो झैँ रङ्ग फेर्छन्, हाम्रो देशका नेताहरू,
    बाहिर बाहिर एउटा कुरा, भित्र गर्छन् अरू ।

    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४ झापा

    [२६]
    अधिकार अनि कानून भनेको ठूलाको मात्रै हुन्छ,
    युक्रेन माथि रुसले खेलेको होली देख्दा मन रुन्छ।

    अरुण कु.भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    [२७]
    अर्धनग्न नवयौवना कुद्छन् होलीमा तन रङ्ग्याउँदै,
    नवयुवा नशामा छन् तरुनी देखेर मन बङ्ग्याउँदै।।

    लक्ष्मी प्रसाद फुयाल
    मोरङ पथरी शनिश्चरे

    [२८]
    हात हातमा रङ्ग लिएर खेलौँ सबै मिलेर होली।
    अर्को वर्ष त भेट होला नहोला कस्ले देख्या छ भोलि ।

    राम रावल सागर
    कैलाली

    [२९]
    भो म त खेल्दिनँ भन्दै, अन्त्यमा आफैँ गर्छन् सुरु,
    संस्कृतिमा विकृती भित्र्याउने यस्तै हुन्छन् गुरु।

    प्रदीप के रिमाल
    इटहरी :- आठ

    [३०]
    खेलौँ होली सप्तरङ्गी अबिर रङ्गले, गाउँघर चौराहाचोक डुलेर,
    दुश्मनी गर्नेहरू यहिँ मौका छोपी, एसिड रङ्ग खेलेनन् कतै भुलेर?

    कबिताहरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    [३१]
    होलीको बहानामा खाने नखाने के के खाएँ,
    दुर्घटनामा नपाउनुसम्मको दुःख पाएँ ।

    भगवती दवाडी

    [३२]
    मन मिल्दा त रङ्गिन रमझम रमाईलो मोजमस्ती,
    मन फाटेपछि उदेकलाग्दो भैदिन्छ उल्टो जबर्जस्ती !

    बिबस पारदर्शी
    भद्रपुर – २ झापा

    [३३]
    पैसा र पावरको भरमा कानुन पार्दछन् फितलो,
    देशमा अनिष्ट आइलाग्दा जनतामा हुन्छ किचलो ।

    बेदु न्यौपाने💕
    काठमाडौ

    [३४]
    देखावटी नीति निर्माणभन्दा, व्यावहारिक बन्धनहरू ताेड,
    ल्याएर मुलधारमा डुबाउनुभन्दा, भाे बरू किनारामै छाेड ।

    शान्ति याक्साे
    काठमाडौं ।

    [३५]
    मोज गर न गर्नसम्म चित्त बुझेजति,
    पछि आफैँ कराऊ फेरि भयो भन्दै क्षति।

    दुर्गा आचार्य
    मोरङ

    [३६]
    बाँधेर तटबन्ध खोलाको पानी रोक्नु सान्नानी,
    रङ्गाइदेऊ होलीको रङ्गले उर्लदो जवानी ।

    जि कुमार गौतम
    भद्रपुर १ (पृथिविनगर) झापा

    [३७]
    मैले त केही नि बोल्न जान्दिनँ र बोल्दिनँ पनि अरू,
    बाहिर बाहिर रङ्गिन हुन्छन् मन कालो हुनेहरू ।

    ललिता अभागी
    सुनकोशी५ सिन्धुली

    [३८]
    ईच्छा भए खेल सानू नभएमा जाऊँ,
    मिलाएर भोज दिन्छु मेरो घर आऊँ ।

    आचार्य जमुना

    [३९]
    जति पुकार्यो मान्दैनन् कोही हरिल्वाठ कुरा सुन्न,
    मुर्खलाई छैन औषधि, आउँदैन है केही गुन्न।

    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    [४०]
    रमाउँदा रमाउँदै झगडा गर्छन् त भाई,
    रङ्गको बहानामा दुर्व्यवहार केटीलाई ,

    बिनिता विश्वकर्मा बिनु
    बाजुरा

    [४१]
    भिजाउँछौ भने चोली टाढैबाट भिजोस्,
    तिम्रो हर्कतले उनको दिल नबिझोस् ।

    रिजाल विनोद

    [४२]
    संसारभरनै चलेकाे याे स्वार्थकाे धन्दा,
    सर्वसाधारण जनतामात्र पर्ने फन्दा ।

    प्रद्युम्न चालिसे

    [४३]
    जस्तो कर्म गर्यो उस्तै फल मिल्छ यहाँ साथी,
    धेरै धेरै शुभकामना दिन्छु है शिर माथि ।

    सहयात्री शाेभा अर्याल
    रुपन्देही १४ बुटवल

    [४४]
    सबल बन्नु संस्कार सिक्नु राम्रो परिवार,
    स्वतन्त्र भएर बाँच्न पाउनु हो अधिकार ।

    दुर्गा भट्टराई
    मोरङ

    [४५]
    मनायौँ होली मिलेर सबै सद्भाव बाँडेर,
    हुँदैन हान्न मानव माथि शत्रुता बाटेर ।

    तारा घिमिरे

    ✡️✡️✡️ जय टुक्का ! जय साहित्य !! ✡️✡️✡️

    Leave a Reply