टुक्का माथि टुक्काको १६औं शृङ्खला सम्पन्न; ५७ जना टुक्काकारहरूको सहभागीता

  • २८ पुष २०७८, बुधबार ०८:५६ मा प्रकाशित
  • काठमाडौ, २४ पौष । साप्ताहिक ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १६औं शृङ्खला शनिबार सम्पन्न भएको छ ।
    अभ्यासमा ५७ जना टुक्काकारहरूको सहभागिता रहेको कार्यक्रम संयोजक तथा प्रशिक्षक वसन्त अनुभवले बताउनुभयो । टुक्का साहित्य समाजको आयोजनामा उक्त अभ्यास शृङ्खला नियमित सञ्चालन हुँदै आएको छ।

    टुक्का कविताको उन्नयन, विकास र प्रवर्द्धन गर्ने हेतुले समाजले विविध किसिमका कार्यक्रम गर्दै आएको छ । टुक्का लेखन अभ्यासमा पृथकता एवं फरकपन भित्राउने सिलसिला उक्त शृङ्खला सञ्चालन गरिदै आएको समाजका अध्यक्ष एवं कार्यक्रमका परिकल्पनाकार ताराप्रसाद चापागाईंले बताउनुभयो ।

    अभ्यासका लागि एक व्यङ्ग्यात्मक टुक्का राखिने र त्यसैमा आधारित रहेर गहन भावको एक एक टुक्का सहभागीले राख्नुपर्ने संयोजक अनुभवले जनाउनुभयो ।

    ‘टुक्का माथि टुक्का’ व्यङ्ग्यात्मक टुक्का लेखन अभ्यासको १६औं शृङ्खलाको लागि समाजका वरिष्ठ टुक्काकार वसन्त अनुभवले समसामयिक विषयमा लेख्नुभएको व्यङ्ग्यात्मक टुक्कालाई राखिएको संयोजक अनुभवले बताउनुभयो ।

    अभ्यासका लागि राखिएको टुक्का

    राखेको छु वृद्धाश्रम, वृद्ध बाबुआमा,
    कमी नहोस् केही भनी, सुख सुविधामा ।

    ✍️ वसन्त अनुभव

    सहभागी टुक्काकारहरूले अभ्यासका क्रममा सृजना गर्नुभएको टुक्काहरू

    १//
    वृद्धाश्रम राखी आयौ आफ्नै बाबुआमा,
    पक्कै फिर्छ पालो तिम्रो गरी बस सामा ।
    ✍️
    वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    २//
    राम्रोसँग सुविधाले राखे त ठिकै होला,
    नत्र भने त ति बृद्धहरूको मन रोला !
    ✍️
    गुणनिधि घिमिरे पाँचथर

    ३//
    आमाबाबु ईश्वर भन्दै वृद्ध मन्दिर राखेँ,
    पालाे घुम्दै आएछ त्यही कर्मकाे फल चाखेँ।
    ✍️
    ताराप्रसाद चापागाईं
    धुनिबेसी ।

    ४//
    कस्ताे छाेराे परेँछु म गरेँछु पाे है उल्टाे,
    कुन मुखले पार्नु अब साेही काम सुल्टाे ।
    ✍️
    त्रिलोचन भण्डारी
    मेचीनगर झापा

    ५//
    अनुभव ज्ञान बृक्ष बृद्धबृद्धा त्याग आज जवानीकाे जाेसमा,
    चाेखाे मायाँ बाेध हाेला बृद्धबृद्धा आफ्नाे पालाे आएपछि हाेसमा ।
    ✍️
    निरज काेइराला
    बेलका १ भाैडादेवी टाेल उदयपुर

    ६//
    कंहाँ हुन्थ्यो र आफ्नो घर जस्तो आश्रम छोरा,
    बिर्सिएछ आफू रूझेर ओताएको त्यो मोरा ।
    ✍️
    सुरेशकुमार पान्डे
    दाङ घोराही१८

    ७//
    खुसी भा’छौ छोरा हामी आश्रम बस्नु पर्दा,
    गरगहना खोल्न आएस् पछी हामी मर्दा।

    नवशिला
    बेलबारी-२,लालभित्ती,मोरङ ।

    ८//
    पिण्ड दिने चाहिन्छ भनी जन्माएको छोराले,
    सही र गलत छुटाएन दिमाग कोराले।
    ✍️
    म्यामराज राई,भोजपुर

    ९//
    स्वर्गै हो वृद्धाश्रम बाआमाको लागि,
    वृद्धाश्रम राखेर टाढा जान्छु भागी ।
    ✍️
    डम्बर थामी ‘अनुपम’
    कालिन्चोक गाउँपालिका-६, दोलखा

    १०//
    सुपुत्र हैन त्याे साँच्चै कपुत पाे रहेछ मोरो,
    जीवित ईश वृद्धाश्रम छाेड्ने कुलङ्गार छोरो ।
    ✍️
    प्रद्युम्न चालिसे
    भक्तपुर कटुञ्जे ।

    ११//
    पति पत्नी हामी दुवै, जागीरमा व्यस्त,
    सुखसॅग बस्नुस् पैसा, पठाम्ला प्रसस्त।
    ✍️
    घनश्याम पौडेल, सृजना चोक
    पोखरा

    १२//
    ठुला ठालु बन्छन् मान्छेहरु दुनियाँलाई पोसी,
    बा-आमा वृद्धाश्रम पुर्याउछन् भएर बेहोसी।
    ✍️
    पूर्णबहादुर श्रेष्ठ “हृदयङकृत”
    पनौती-३,काभ्रे

    १३//
    नालायक हुन ती सन्तान आमा बाबुलाई वृद्धाश्रममा राख्ने,
    तड्पाएर तिनलाई मिठो मसिनो व्यञ्जन आफूले मात्र चाख्ने।
    ✍️
    दीपक ठटाल जलन,
    खरसाङ,दार्जीलिङ।

    १४//
    जन्मदिने बुवाआमा भगवान भन्छन् धरतीमा,
    हामी पनि तिनी जस्तै हुनुपर्छ छैन असतीमा !
    ✍️
    टिकाराम पुन (टिपु)
    सल्यान छत्रेश्वरी २

    १५//
    बाआमाको जिउँनी फुत्काइ हालें मैले,
    बृद्धाश्रम मज्जासँग बस्नु हुन्छ ऐले।
    ✍️
    होम प्रसाद नेउपाने
    धरान,सुनसरी ।

    १६//
    बाबुआमाले खोज्छन् सदा सन्तानका सुख,
    तर निष्ठुरी सन्तानले खाली दिन्छन् दुख ।
    ✍️
    मनोहरी पौडेल
    गैडाकोट १, नवलपुर

    १७//
    धर्मकर्म गर्ने भनी तीर्थ व्रत जान्छौं धाम,
    वृद्वाश्रममा आमा छोडेर गर्यौ ठुलै काम।
    ✍️
    भगवती दवाडी

    १८//
    भोकप्यास नभनी, छोरालाई पाले, हुर्काए बढाए,
    सपुत छोरा वृद्ध आश्रम बुवाआमा पुगाई आए ।
    ✍️
    अम्विका अधिकारी
    झापा विर्तामोड

    १९//
    झन्झट त्यही हुने बाआमालाई पाल्न,
    साेच यही सन्तानले वृद्धाश्रम हाल्न ।
    ✍️
    रामकृष्ण दुवाडी
    पाेखरा ।

    २०//
    वृद्धाश्रम जीवन शब्द नै पवित्र छ आफैमा,
    आफ्नो कर्मले दुषित नबनाउँ गुनौं मनैमा ।
    ✍️
    कविन्द्र लाल प्रधान
    ललितपुर सुन्धारा धाल्छें १७ ।

    २१//
    मातापिता देवीदेवता, घर हो धाम,
    वृद्ध वृद्धा वृद्धाश्रम, नपठाऊ राम ।
    ✍️
    बिके माकजु ,भक्तपुर ।

    २२//
    जीवनभर यो शोकको अनि नौ-नौ महिना तिम्रो कोखको रिन,
    चुक्ता भयो बाआमा छोराले तिम्लाई वृद्धाश्रम पठाएको दिन।
    ✍️
    बी.कुलुङ
    दार्जिलिङ (भारत)

    २३//
    फूल लाएको छोरो म दुधको भार तिरेँ,
    बाबाआमा आश्रम राखी अमेरिका फिरेँ ।
    ✍️
    राम कुमारी खडका
    तुल्सिपुर उ न पा १९ दाङ

    २४//
    कति गर्व गर्दै भन्छौ वृद्धाश्रम राखेको कुरा,
    सुनेर पनि मेरो छातिमा त धसियो नि छुरा ।
    ✍️
    गंगा खड्का
    बूढानीलकण्ठ १, काठमाडौँ

    २५//
    युग बदलियो जमाना बदलियो, भयो रामलीला,
    वृद्धआश्रममा बुवाआमा राखी पुज्दैछौ ढुङ्गे शिला ।
    ✍️
    मोहन मगर

    २६//
    बाबुआमा वृद्धाश्रम, म छु ससुराली,
    कति धेरै भाग्यमानी पत्नी मेरी काली ।
    ✍️
    रामजी लामिछाने पोखरा , कास्की

    २७//
    कति राम्रो बुद्धि आएछ मेरो छोरा आर्शिवाद तँलाई,
    दु:खै परे पनी म त बस्छु घरमै नराख है मलाई ।
    ✍️
    अनुग्रह राना मगर ‘पुष्प’
    संखुवासभा हाल मलेसिया

    २८//
    वृद्ध हुनुभयो आमाबाबा गर्न सक्नुहुन्न काम,
    हिड्नुहोस् बृद्धआश्रम लगेर कमाउँछु म नाम ।
    ✍️
    गणेश तामाङ वाइबा
    धादिङ नेपाल।

    २९//
    बृद्ध बाआमालाई ईश्वर भन्दै छलेर बृद्धाश्रम पुर्याइयो,
    घुम्दै फिर्दै अब आफ्नै पालो आएछ आफ्नै छोरोलाई सुर्याइयो ।
    ✍️
    बेदु न्यौपाने काठमाण्डौ

    ३०//
    अर्ति दिने बा छोड्दिएँ आश्रम ह्या मानी,
    नयाँ केटी खोज्दै हिँड्ने परेको छ बानी।
    ✍️
    पौडेल विमुन्स 💕 पोखरा कास्की 💕

    ३१//
    बधाई छ, तर डोको चाहिँ सुरक्षित राख्नु होला,
    भोलि उतै बोकी लान्छ आफ्नो छोराले लाँदैन खोला।
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ्ग,भारत।

    ३२//
    आमाबाउको पीडा बुझ्ने छोरो भएन,
    वृद्धाश्रम राख्यो उसमा दया रहेन ।
    ✍️
    बिबस पारदर्शी
    भद्रपुर न० प० २ झापा

    ३३//
    कसैले पुर्याउछन् वृद्धाश्रम कसैले लान्छन् धाम,
    सेवामा समर्पित बनी सदा जप्दछु तिम्रै नाम ।
    ✍️
    जिकुमार गौतम
    भद्रपुर-१ (पृथिविनगर) झापा

    ३४//
    आधुनिक सन्तान हुँ म बाउआमा किन पाल्नु,
    घरमा धेरै दु:ख दिन्छन् अब कता लगि फाल्नु ?
    ✍️
    राजेशराज गड्तौला
    रतुवामाई- १०, मोरङ हाल- प्रवास

    ३५//
    आमाबालाई बुढेसकालमा राख्ने वृद्धाश्रम,
    कहिले बुझ्लान जिम्मेवारी छुट्ला कहिले क्रम ।
    ✍️
    बिक्रम तिरुवा सलिन
    जुम्ला

    ३६//
    वृद्धाश्रम जाँदा काँडा टिप्दै पन्छाउँदै गइन् आमा,
    सोचिकन छोरो फर्किदा काँडा नबिझोस् ती खुट्टामा ।
    ✍️
    हरिनारायण चौधरी
    सुन्दर हरैंचा नगरपालिका १ मोरङ

    ३७//
    बसाल्नु बसालीहालेछौं नि संस्कार कति राम्रो,
    बुझ कुरा सन्ततिले पनि सिकिरहेछन् हाम्रो ।
    ✍️
    रामचन्द्र भट्टराई ,स्याङ्जा

    ३८//
    बुवाआमा ईश्वर हुन, म गर्न सक्छु काम,
    उनैको आशिर्वादले कमाउँनेछु सुनाम ।
    ✍️
    दुर्गा भट्टराई
    मोरङ

    ३९//
    मानवताको सुधार भन्नुनै आश्रममा वृद्ध आमाबाबा रुवाउँदै भर्नु,
    स्वतन्त्रताको नाममा जग्गा जमिन सिध्याई छोरा छोरी सहरतिर सर्नु।

    ✍️
    अच्युत घिमिरे-भुटान

    ४०//
    सन्तानले डाँडाकाँडा ढाकेको छ मेरो ऐले,
    नतमस्तक भै वृद्धाश्रम जानु पर्यो मैले ।
    ✍️
    लक्ष्मी श्रेष्ट
    बिर्तामोड झापा

    ४१//
    कहिले लगानी नगर्नु आफूले नै वृद्धाश्रम पठाउनु ,
    संख्या बढ्यौ यहाँ लान्छ है सन्तानले पर्छ अब हटाउनु।
    ✍️
    सुरेखा चाम्लिंग
    भक्तपुर

    ४२//
    छोराले भन्दा बुहारीले माया बर्साउँछे,
    ज्वाइँले स्याहार्दा आफ्नै छोरीले तर्साउँछे।
    ✍️
    डा. चन्द्र खत्री “भूषण जंग “
    काठमाडौं

    ४३//
    हेरचाह हुन्छ भनी बाआमा वृद्धाश्रम राखियो,
    कहिलेकाही भेट्न आउँछु है भन्दै बाटो लागियो ।
    ✍️
    बुद्धिमान चौधरी
    कनकाई नगरपालिका ४झापा

    ४४//
    यसै त्यसै कुनै दिन अवश्य पर्छ फाल्न,
    सुखै हुन्छ, बृदाश्रममा बाबुआमा पाल्न ।
    ✍️
    केशवप्रसाद ढकाल `प्रीतबीज´
    गाेरखा

    ४५//
    दिक्दार भएर आफै वृद्धाश्रम चाहेका हुन,
    भरोसा टुटाएर पछि रोजेका रहेछन् जुन ।
    ✍️
    संझना (कुसुम)

    ४६//
    घरको रेखदेख हुन्छ भनी दुई कुकुर पाले,
    खर्च केही बच्ला ठानेर बाआमा वृद्धाश्रम फाले।
    ✍️
    शर्मिला श्रेष्ठ
    भैंसेपाटी,ललितपुर

    ४७//
    एक्लै घरमा छाेड्नु भन्दा वृद्धाश्रममै राख,
    विदेश गए´नि तिम्रा बच्चा च्याँप्नु आफ्नै काख।
    ✍️
    मित्र उराठी गाैतम
    अमरपुर गुल्मी हाल तिलाेत्तमा न पा-२ रुपन्देही

    ४८//
    उनका कर्म किन देख्थेँ अहिले मै कमाउन धाएँ,
    तिमी जाँदा एक्लै हुन्छौ दुख पाउँछौ पुर्याउन आएँ ।
    ✍️
    जमुना आचार्य
    सिन्धुपाल्चोक

    ४९//
    कर्म खोटो छोरा र छोरीसँग बस्न कर्ममा छैन अरे,
    बाटो हेर्छिन बृद्धआश्रममा आमा छोरो आउँछ भरे।
    ✍️
    दुर्गा आचार्य
    मोरङ

    ५०//
    बाबुआमा गनगन गर्दै बस्छन् सबै बेला,
    वृद्धाश्रममा पठाइ दिए अब हुन्न हेला।
    ✍️
    सहयात्री शाेभा अर्याल
    रुपन्देही

    ५१//
    चलअचल धनसम्पत्ति सबै राख्याे उसले आफ्नै नाममा,
    वृद्धाश्रम छाेडेर बाबाआमा डुलीरहन्छ ऊ बिना काममा ।
    ✍️
    रामकृष्ण रिजाल
    बा न पा 13 बागलुङ

    ५२//
    संसार देखाउने बाबुआमा आश्रम तिर लान्छन्,
    पुर्ख्यौली धनसम्पत्ति भएजति आफैतिर तान्छन् ।
    ✍️
    तारा घिमिरे सङ्खुवा सभा

    ५३//
    बाबाआमा वृद्धाश्रम घरमा छोरा मस्ती,
    गाउँघरमा यहि काम दोहोरियो अस्ति ।
    ✍️
    ललिता अभागी
    सुनकोशी५सिन्धुली

    ५४//
    वाह ! अनाथालयमा दानी बन्दै दाता कर्ण बन्यो,
    वृद्धाश्रममा आमाबा पुऱ्याई नर्कको बाटो खन्यो।
    ✍️
    अर्जुन उप्रेती (अप्रतिम)
    असम भारत

    ५५//
    वृद्धाश्रम पनि चाहिन्छ असहायको लागि नचाहिने त हैन,
    गर्न पाऊँ सेवा र स्याहार बुबाआमाको वृद्धाश्रम लाने छैन ।
    ✍️
    रचना शर्मा प्रतीक्षा
    ललितपुर इमाडोल ।

    ५६//
    मन्दिर ठुलाे थियो तर मुर्ती राख्ने स्थान भएन,
    आमाबुवा पाल्नलाई घरमा राख्ने ठाउँ रहेन ।
    ✍️
    सुमिना तिमल्सिना
    चागुनारायण 8 भक्तपुर

    ५७//
    पाए होलान् बाबुआमाले छोरा वर मागी,
    वृद्धाश्रम बस्न पुगे विचरा ती अभागी।
    ✍️
    पवित्रा महरा
    दाङ

    जय टुक्का ! जय साहित्य !!

    Leave a Reply