चौध टुक्काकारहरूका विमानस्थल बिषयक उत्कृष्ट टुक्काहरू

  • ३२ श्रावण २०७८, सोमबार २१:३२ मा प्रकाशित
  • टुक्का दुई हरफमा लेखिने कविता हो । यसका दुबै हरफमा बराबर अक्षर हुनुपर्छ । एक हरफमा ५ देखि २७ अक्षरसम्म राखेर टुक्का रचना गर्न सकिन्छ । टुक्का काब्य विधाको उपविधाको रूपमा चिनिन्छ ।

    टुक्का कविताको उन्नयन र जगेर्नाका लागि टुक्का साहित्य समाज, काठमाडौले नियमित टुक्का लेखन अभ्यास, टुक्का वाचन कार्यक्रम लगायत विविध कार्यक्रम सन्चालन गर्दै आएको छ ।

    प्रस्तुत छ विमानस्थल विषय अन्तर्गत रहेर १४ जना टुक्काकारले रचना गर्नुभएको उत्कृष्ट टुक्काहरू

    १)
    पुगिन्छ दूरमा कुनै जहाँ समाज नै कहाँ,
    विमानमा चढेर एक रम्य बन्दथ्यो जहाँ।
    २)
    चरा बनेर उड्न सक्दथे युवा विमानमा,
    विमान नै बन्यो चरा उडेर त्यो विदेशमा।
    ✍️ पौडेल विमुन्स, पाेखरा


    दैनिक हजाराैं छन् मान्छेहरूकाे लर्काे,
    माैन विमानस्थल मान्दैन कुनै झर्काे।

    रङ्गमञ्च हाे कि पागलखाना याे विमानस्थल,
    कसैका छन् रमाइला, कसैका विदारक पल।
    ✍️ ताराप्रसाद चापागाईं
    धुनिबेशी न.पा.९, धादिङ

    १)
    दूर्गम गाउँहरू पनि सहजै जोडिन्छ,
    ठाउँ-ठाउँमा जब विमानस्थल खोलिन्छ।
    २)
    विमानस्थलले धेरै कुरामा सहयोग गर्छ,
    सरकारले समयमै कुरा स्पष्ट बुझ्नु पर्छ।
    ✍️ अरुण कुमार भुजेल , गोरूबथान,कालेबुङ्ग।

    १)
    आकाशबाट यात्रु बोकी चरा आउँछ भूतल,
    थकाइ मेटी विश्राम गर्न खोज्दै विमानस्थल ।
    २)
    देशका खम्बा युवा जति विमानस्थलमा,
    संसारका कुनाकुना पुग्छन् पलपलमा ।
    ३)
    विमानस्थलमा जहाज गर्छ अवतरण,
    तलमाथि परेमा केही हुन्छ मृत्युवरण ।
    ✍️ श्रीकृष्ण शर्मा, पोखरा

    १)
    उहिले विमान नहुँदा पशुपति   हिँडेर जान्थे ,
    धेरै तिर्थालु भक्त बाटोमा मकै भटमास खान्थे ।
    २)
    अहिले ठाउँ ठाउँमा हेर्नुत विमानस्थल बनिसक्यो,
    एक देश बाट अर्को   देश जान सजिलो छ भनिसक्यो।
    ✍️ कमला पाण्डे, झापा

    १)
    देश-विदेशमा ओहोरदोहोर गर्ने ठाउँ,
    संवेदनशील छ विमानस्थल सोची जाऊँ!
    २)
    रोजगारीमा जान्छ युवा विमानस्थल हुँदै
    परिवारले स्वीकार्छन् बाकसको लास रूँदै!
    ३)
    विमानस्थल त कालो व्यापारको अड्डा भयो
    ठूला माछाको सेटिंग सानालाई ढड्डा रह्यो!
    ✍️भूषण जंग ललितपुर नेपाल,
         हाल अस्ट्रेलिया

    १)
    बिमानस्थल भएर जग्गा ब्यापार दलाललाई सजिलो ,
    यसले देश बिदेशमा आवश्यक  जान आउन रसिलो ।
    २)
    बिमानस्थलले असल खराव  दुईकाम गराउँछ ,
    बुझ्नेको श्रीखण्ड नजान्ने लाई खुर्पाको बिँड बनाउँछ।
    ३)
    यसले गरिबलाई आकाशको  तारा,
    बैज्ञानिक र धनीलाई ऐश्वर्य सारा ।
    ✍️ बेदु न्यौपाने ,काठमाडौ

    १)
    बोलाउँछ युवालाई परदेश पठाउँछ,
    निर्दयी छ विमानस्थल् देशै रित्तो बनाउँछ ।
    २)
    भिसा ठोकी उड्नेहरू कति धनीमानी भए,
    बन्द बक्सा भित्र फर्के स्वप्नाहरू कतिपय ।
    ३)
    टुलुटुलु हेरिबस्छन् मानिसका शवहरू,
    तथ्याङ्क राख्छ विमानस्थल गनिकन बरू ।
    ✍️ वसन्त अनुभव
    घोराही उपमहानगरपालिका १४, दाङ

    १)
    एक एक रुपियाँ उठाएर विमानस्थल बनाऊँ
    सबैले थोरै भएनी सधैं बनाउनेलाई सघाऊँ।
    २)
    विमानस्थल हाम्रो कहिले बन्छ,
    भनेको जस्तो कस्ले पो यहाँ गर्छ।
    ✍️ प्रेम सुनार, दैलेख

    १)
    दिनौ दिन लाम लाग्छन् बिमानस्थल,
    युवाको पीडा देख्दा मर्माहत छ पल।
    २)
    आउने जानेहरू लाम हुन्छ मज्बुरी,
    सरकारको ध्यान जानुपर्छ जरुरी।
    ✍️ सुरेश कुमार पान्डे, दाङ

    १)
    विमानस्थल खोल्ने होइन बन्द गरौँ,
    युवाहरूले देशमा स्वाभिमान छरौँ।
    २)
    सातसमुन्द्र पारी जान विमानस्थल चाहिने,
    परदेशी त्यो आँगनीमा इश्वर रहून् दाहिने।
    ✍️ मुक्तिनाथ अधिकारी , भरतपुर,चितवन ।

    १)
    क्षणैभरमा अायाे चट्ट फेराे लायाे माथि,
    भयाे जस्तो छ चमत्कार अाऊ हेर साथी ।
    २)
    बाेकी उड्न सक्छ बाेझा पहूँच गाैचर सम्म,
    अवरुद्ध हुनसक्छ वायु बदलिँदा डम्म ।
    ३)
    हिजोआज विमानस्थल सुन्य प्रायः भयाे,
    फैलिएर महामारी संसारभरि गयाे ।
    ✍️ रामकृष्ण दुवाडी, पाेखरा ।

    १)
    वैज्ञानिक आविष्कार हुन् राम्ररी बुझ्दै जाऊँ
    विमानस्थल बिदेश जान यान चढ्ने ठाउँ।
    २)
    मानिसले बनाएका हुन् यस्ता महान कुरा,
    हामीले गर्नुपर्छ बाँकी रहेका काम पूरा ।
    ३)
    एक ठाउँबाट अर्को विकट बस्ती जान,
    हवाईजहाज नै हाम्रो सहारा हो मान ।
    ✍️ दुर्गा भट्टराई,  मोरङ

    १)
    राम्रोसँग बुझेर नै राम्ररी जाऊँ,
    विमानस्थल परदेश जाने ठाउँ।
    २)
    राम्रो ठाउँ हेर जानु पर्छ विदेश,
    मलाई देख्न मन छ त्यो परिवेश!
    ✍️ शाेभा अर्याल, बुटवल १४ रुपन्देही

    Leave a Reply