
मलाई गन्तब्यमा पुराउने भर्याङ
स्वइच्छाले चल्नका लागि
प्रमाण दिने मतदाता
मेरा कुरा सुनिदिने श्रोता
मलाई अघि पछि घेरेर
मौरीको रानो बनाउने तपाईँहरु,
त्यसैले, तपाईँलाई जनता भनिन्छ,
र म, माननीय “सभासद” ।
मलाई राजनीतिक दलले
चुनाव लड्न टिकट दिन्छ
जनतालाई यसो यसो भन्नु लेखेर दिन्छ
म पर्चा पढेर सुनाउँछु
घोषणा पत्र भन्छन् त्यसलाई
ती प्रतिबद्धताहरु पूरा गर्नु पर्छ कि पर्दैन ?
मलाई थाहा छैन,
तपाईँहरु त झन जान्नै चाहनु हुन्न
किन कि, तपाई आफै
सार्वभौमसत्ता सम्पन्न नागरिक हुनुहुन्छ
र म, काठमाडौं पुगेको “सभासद” ।
पम्पले तेल फ्रिमा दिन्छ
बसले तपाईहरुलाई फ्रिमा बोक्छ
होटलले खाना फ्रिमा खुवाउँछ
गार्मेण्टले चुनाव चिन्हसहितका
क्याप र भेष्टहरु फ्रिमा बाँड्छ
पर्चा पम्ल्पेटहरु फ्रिमा छरिन्छन्
यिनीहरु किन यसरी फ्रिमा सेवा दिन्छन् ?
म सार्वजनिक गर्न आवश्यक ठान्दैन
तपाईहरु त अनभिज्ञ नै हुनुहुन्छ
कि न कि, तपाई स्वस्तीक छाप हो,
र म बे–लगाम “सभासद” ।
तपाईहरुलाई थाहा छ,
चुनावको केही दिन अगाडि
घर घरमा मेला लाग्छन्
झुप्रादेखि महलसम्म
खुशीका पुलिन्दाहरु बाँडिन्छन्
जनताका नाममा टाउकेहरु
कोही बेचिन्छन्, कोही किनिन्छन्
कहाँबाट आउँछ, किनबेच गर्ने पैसा ?
तपाईहरुलाई किन जान्नु पर्यो र ?
त्यसको हिसाब म मन्त्री भएपछि मिलान गर्ने छु
किन कि, म त्यसैका लागि
राजनीति गरेको माननीय “सभासद” ।
तपाईँले चाहेजस्तो भाषा
संस्कृति, इतिहास, पूरातत्व
सार्वभौमिकता, स्वाधीनता र असंलग्नताको
रक्षा गर्ने ठेक्का मैले लिएको छैन
हुन त, म प्रमाणित जनप्रतिनिधि नै हो,
तर मैले तपाईँ जनताको होइन,
राजनीतिक दल र अदृष्य शक्तिको
प्रतिनिधित्व गरिरहेको छु
किन कि म उनैको आज्ञापालक
माननीय “सभासद” ।
लनपा–३ बनगाउँ देउखुरी

