
✍️ वसन्त अनुभव
शहर पढेर आएको छोरालाई जति बिहे गर भन्दापनि नमानेपछि दिक्क भएका उमेशका बुवाआमाले मलाई देख्ने बित्तिकै गुनासो पोखे ।
“लौन ए हर्के ! तेरो साथीलाई संझा । अब पढाई पनि सकियो, हामी पनि डाडामाथिको जून जस्तै भइसक्यौ । आँखामा पानी छदै छोराको घर बसेको हेरेर सन्तोषले जाऔंला भनेको । बिहे गर्न पटक्कै मान्दैन् ।”
“बुवाआमाले भनेको कुरो सहि लाग्यो मलाई । आखिर त किन मान्दैनस् उहाँहरूको कुरा ?” मैले उमेशलाई एकान्तमा संझाउँदै भने ।
“अब तेत्रो पढेर गर्छु नि, गाउँका पाखे केटीलाई बिहे ।” उमेशले चिढिदै भन्यो ।
“ल ठिक छ, तेरै कुरो सहि । शहर पढ्दा सबितासँग तेरो निकै हिमचिम थियो, त्यसैलाई बिहे गर्न त ।”
“अब कहिँ नपाएर त्यो चरित्रहीन केटीलाई जीवनसाथी बनाउछु ।”
“त्यसोभए कविता या जुना या विपना मध्ये कुनै एउटीसँग बिहे गर, आखिर सबैजना तसँग हुरुक्क हुन्थे ।”
“कस्तो ठिस कुरा गर्छस यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”
“ह्या .. ती केटीहरूको कुरा नगर् । सबै चरित्रहीन हुन् । मलाई भर्जिन चाहिन्छ ।”
“तलाई सबै चरित्रहीन हुन् भन्ने कसरी थाहा भो भन् त । त्यत्तिकै अरूको चरीत्रमाथि औंला उठाउन पाइन्छ ?”
“कस्तो ठिस कुरा गर्छस यार, म त्यत्तिकै भन्छु होला त । ती सबैसँग मैले रात बिताएको छु ।”
“वाह साथी वाह ! ती केटीहरूसँग रात विताउने त चाहिँ चरित्रवान, अनि ती सबै चरित्रहीन ? अझ तलाई बिहे गर्न भर्जिन केटी चाहियो ? यत्रो पढेलेखेको विद्वान भनाउँदोले त्यस्तो घृणित कार्य गर्दा र अहिले तुच्छ बोल्दा अलिकति लाजसरम लागेन ?”
घोराही उपमहानगरपालिका १४, दाङ

