झिल्का कविता

  • १९ भाद्र २०८३, शुक्रबार २१:०१ मा प्रकाशित
  • त्रिवेणी साहित्य मञ्च अमेरिकाको साप्ताहिक शुक्रवारीय झिल्का कविता अभ्यास शृङ्खलामा आएका श्रीकृष्ण जन्माष्टमी विषयक सुन्दर झिल्का कविताहरू-

    क)
    चेतनाको दीप बाल्यौ
    जगाउँदै अर्जुनको मन
    विशाल मोह ढाल्यौ ।
    ख)
    बनेर मायालु चित्र
    सोह्र सय गोपीनीको
    बस्यौ दिल, दिमागभित्र ।

    वसन्त अनुभव
    वसन्तविहार, घोराही

    झिल्का कविता
    क)
    श्रीकृष्ण जन्माष्टमी पर्व
    अन्धकार रेट्छ मनको
    मनाऔँ हामीले सगर्व ।
    ख)
    मेरा हृदयका भगवान्
    उनै बस्छन् कणकणमा
    विशिष्ट ज्ञानी महान् ।
    ✍️
    नारदप्रसाद आचार्य ‘सुदामा’
    संयुक्त राज्य अमेरिका ।

    झिल्का कविता
    क)
    मुरलीको मधुर धुन
    मनभित्र प्रेम भरियो,
    माधवको दिव्य गुन ।
    ख)
    जन्माष्टमीको पावन रात
    घरघरमा दीप बल्दै,
    गुन्जिन्छन् श्रीकृष्णका बात ।
    ✍️
    डि पी शर्मा खनाल

    झिल्का
    क)
    नभए कुनै बाधा
    तिमी बन्नू कृष्ण
    म बनौँला राधा ।
    ख)
    बजाऊ बाँसुरीको धुन
    ठाउँ दिएर हृदयमा
    लगाऊ एउटा गुन ।
    ✍️
    प्रतिज्ञा प्रतिज्ञा
    मेहेलकुना, सुर्खेत

    झिल्का कविताहरू
    क)
    कृत्रिम आँखाको माया
    दैवको अघि पनि
    बनियो आज छाया ।
    ख)
    मुसुमुसु हाँस्दै आऊँ
    श्रीकृष्ण जन्माष्ठमी आज
    सभ्य बनेर मनाऊँ ।
    ✍️
    निमा छिरिङ भोटिया
    जलढाका कालेबुङ भारत

    झिल्का कविता
    क)
    जपौँ राधाकृष्णको नाम
    मेटिई मनको पीडा
    बन्नेगर्दछ शुभ काम ।
    ख)
    कृष्णको दिव्य अवतार
    विजयी होस् धर्मको
    अत्याचारको होस् संहार ।
    ✍️
    सतीश पण्डित
    भानु६ चुँदी तनहुँ
    हाल चनपा६ मातातीर्थ

    झिल्का कविता
    क)
    कृष्ण भजन गाएर
    पीडा सारा हटाऔँ
    दिव्य मुरली बजाएर ।
    ख)
    दुष्टको विनास गर्न
    कृष्ण तिमी आऊ
    पीडामा खुसी छर्न ।
    ✍️
    राज कुमार राजभण्डारी खाेटाङ्गे
    खाेटाङ ऐसेलुखर्क ३ हाल भक्तपुर

    झिल्का कविता
    क)
    मुरलीको सुनेर धुन
    राधा मोहित भइन्
    हेर्दै पूर्णिमाको जून ।
    ख)
    कृष्णको भजन सुन्नू
    बिहान बेलुकी सधैँ
    सुविचार मनमा गुन्नू ।
    ✍️
    बिधुत गुरूङ
    गोरुबथान

    झिल्का
    क)
    समाजमा उज्यालो छर्न
    कृष्णको जन्म भएथ्यो
    अपकारीको अन्त्य गर्न l
    ख)
    जगाऊँ मनमा भक्ति
    आत्मा स्वच्छ राखौँ
    मिल्छ अपार शक्ति l
    ✍️
    बाबुराम गौतम, गुल्मी

    झिल्का कविता
    क)
    ​आए कृष्ण कन्हैया
    मेट्न धर्तीको पाप
    लिएर राधा मैया ।
    ख)
    ​देखाउन सत्यको बाटो
    जन्मेका कृष्ण भगवान्
    असत्यलाई पार्न माटो ।
    ✍️
    कृष्ण ब रावत

    झिल्का कविता
    क)
    घरकी रुक्मणी भन्यौ
    हामीले प्रेम गरेको
    उर्मिला राधा बन्यौ ।
    ख)
    विपत्ति नसोधी आयो
    दैविप्रकोप रोक्ने कसले ?
    छिनमै सर्वस्व खायो ।
    ✍️
    विकल ‘आर्त्त’

    झिल्का कविता
    क)
    गरौँ कृष्णको भक्ति 
    जीवन राख्न अनन्त
    पाई ज्ञानको शक्ति ।
    ख)
    कृष्ण जन्माष्टमीको शुभकामना 
    सकारात्मक ऊर्जा आओस्
    सबैको पुगोस् मनोभावना !
    ✍️
    सुनिता निरौला पौडेल 
    हाल – राधे राधे भक्तपुर ।

    झिल्का कविता
    क)
    भदौको कृष्ण अष्टमी
    स्मरण गरौँ श्रीकृष्णको
    नहोस् भक्तिमा कमी ।
    ख)
    कंशबाट फुत्किएकी देवी
    बिन्ध्याचलमा गएर बसिन्
    विन्ध्यवासिनी भई सेवी ।
    ✍️
    रामकृष्ण ढकाल
    चितवन ।

    झिल्का कविता
    क)
    श्रीकृष्णको भजन गरौँ
    मिलेर सारा भक्तजनहरू
    आत्मा खुसीले भरौँ ।
    ख)
    कृष्णको हल्लाई झुला
    बालौँ कपुर बत्ती
    पारेर मन्लाई खुला ।
    ✍️
    बिबा तामाङ
    दार्जिलिङ।

    झिल्का कविता
    क)
    कृष्ण जन्मिएको रात
    सारा गोकुल क्षेत्रभरि
    भएथ्यो सहस्र उल्कापात l
    ख)
    जीवनमा भरेँ शक्ति
    कृष्ण जन्मेको दिन
    मनमा जाग्यो भक्ति ।
    ✍️
    मेनुका शर्मा

    झिल्का कविता
    क)
    मथुराको कालो कारागार
    जन्मिए उनै परमात्मा
    थाम्न बसुन्धराको भार ।
    ख)
    सफल बनून् चाहना
    मनोकाङ्क्षा होउन् पूर्ण
    कृष्ण जन्माष्टमीको शुभकामना !
    ✍️
    तोयानाथ चापागाईं
                झापा

    झिल्का
    क)
    भक्त छन् गाउँमा
    पूजा गर्ने अनेकथरी
    कृष्ण तिम्रो नाउँमा ।
    ख)
    चिनौँ कृष्ण मनले
    घमण्ड नगरौँ धनको
    पाइन्नन् ईश धनले ।
    ✍️
    विष्णु पन्थी ‘विनु’
    गैँडाकोट २- नवलपुर

    झिल्का कविता
    क)
    मुरली बज्यो बनैमा
    मन्दिरमा पूजा गरौँ
    शान्ति मिल्छ मनैमा ।
    ख)
    कृष्णमा लगाऔँ भक्ति
    पूरा हुन्छ कामना
    मिल्नेछ तनमा शक्ति ।
    ✍️
    प्रेम शर्मा “एकान्त प्रेमी”
           कालेबुङ

    झिल्का कविता
    क)
    कृष्णजीको कर्मयोग बुझेर
    सत्कर्म गरौँ सबले
    ईश्वर भक्तिमा रुझेर ।
    ख)
    यो प्रेमको कहानी
    अजम्बरी छ लीला
    राधा कृष्णकी रानी ।
    ✍️
    नविन पागल मुस्कान

    झिल्का अभ्यास
    क)
    खुसी भाद्रकृष्ण अष्टमी
    दोस्रो जीवनको अवसर
    भूगर्भले जन्मायो पराक्रमी ।
    ख)
    चिन्ताले थिएँ थकान
    नेपाली सन्तान ती
    धन्यवाद सैनिक जवान ।
    ✍️
    वैँशालु महेन्द्र
    लेटाङ नगरपालिका-८, जाँते बजार, मोरङ
    हाल :- माहे टापु, सेसेल्स, पूर्वी अफ्रिका

    झिल्का कविता
    क)
    कृष्णजीलाई राखौँ मनमा
    संसारका पाहुना हामी
    कटुसत्य नभुलौँ जीवनमा ।
    ख)
    कृष्णजीको बाँसुरीको धुनले
    मनमा मिठास पलाउँछ
    शत्रुता भुलाउँछ गुणले ।
    ✍️
    नम्रत प्रधान
    तकदाह, दार्जिलिङ

    झिल्का कविता
    क)
    कृष्णको भजन गाएर
    भवसागर यो तरौँला
    श्रद्धामा मन भुलाएर ।
    ख)
    मनमा मिठास भर्दा
    हुन्छन् साथमा ईश्वर
    मिलेर प्रार्थना गर्दा ।
    ✍️
    कला ढकाल
    झापा

    झिल्का कविता
    क)
    बाँसुरीको धुन सुनेर
    मनमा आनन्द भयो
    एकछिन पीडा भुलेर ।
    ख)
    दुःखमा लगाउँछौ गुहार
    सम्झनू सुखमा पनि
    सत्कर्मसँगै गर्दै दुलार ।
    ✍️
    रबिता महर्जन
    खोकना, ललितपुर

    झिल्का कविता
    क)
    कृष्णको बाँसुरीको धुन
    सुनेर मोहित हुन्थेँ
    बिर्सिएर पनि रुन ।
    ख)
    अत्याचारीको अन्त्य गर्न
    द्वापर युगमा आउनुभयो
    अन्धकारमा उज्यालो छर्न ।
    ✍️
    लक्ष्मी रेग्मी ‘शब्दयात्री’
    उर्लाबारी, मोरङ

    झिल्का कविता
    क)
    जपेमा कृष्णको नाम
    भवसागर तरेर सहजै
    पुगिन्छ रे परमधाम !
    ख)
    भजन गाउँदै नाँचौँला
    कृष्णजी मनैमा राखेर
    जीवन खुसीले बाँचौँला !
    ✍️
    अरुण कुमार भुजेल
    गोरूबथान,कालेबुङ

    क)
    निश्चल प्रेम गरी
    साँचे मुटुमा जीवन्त
    कृष्णले राधा जीवनभरि ।
    ख)
    ऊर्जा खुसी तनमा
    पाउन गरौँ भक्ति
    जपौँ कृष्ण मनमा ।
    ✍️
    मिना मल्ल
    बझाङ

    झिल्का
    क)
    द्वापरमा कृष्ण अवतारी
    सखाप पारेका थिए
    त्यहाँका सबै अत्याचारी ।
    ख)
    कृष्णाष्टमी पर्व तारणहारी
    पालना गरे हुनेछ
    यो सधैँ हितकारी ।
    ✍️
    कार्की डिबी माकुम
    सुनवल-४ नवलपरासी

    झिल्का कविता
    क)
    दही चोरेर खान्थे
    राधा खोज्न कृष्ण
    सधैँ वृन्दावन जान्थे ।
    ख)
    सङ्कट छ देशमा
    बचाउन आऊ देश
    कोही कृष्णको भेषमा ।
    ✍️
    साबित्री प्याकुरेल
    धादिङ
    झिल्का कविता
    क)
    कृष्ण्जीको माया अपरम्पार
    दिन्थे दर्शन सबैलाई
    देखाउँदै लीला बारम्बार !
    ख)
    यशोदा मैँयाकी प्यारा
    गर्थे लाला नटखट
    माया पाएर सारा ।
    ✍️
    रमा गुरुङ्ग
    सालुगडा सिलीगुडी

    झिल्का कविता
    क)
    अनेकथरी छन् नाम
    अधर्मीको नाश गर्ने
    कृष्णको मुख्य काम ।
    ख)
    नराखी घमण्ड जीवनमा
    पूजा गरेमा भगवान्को
    शान्ति मिल्छ मनमा ।
    ✍🏻
    शब्दयात्री लम्साल
    दुल्लु १२,दैलेख

    झिल्का कविता
    क)
    मखन चोरेर खान्थे
    सबैलाई मोहित पार्दै
    भजन गाउन जान्थे ।
    ख)
    यो सारा संसार
    साध्य छैन बुझी
    कृष्णको लीला अपार ।
    ✍️
    शोभाकान्त रेग्मी
    स्याङ्जा ।

    झिल्का कविता
    क)
    चलाएर सारा संसार
    भगवान् श्रीकृष्णले हाम्रा
    गरिदिन्छन् दु:खकष्ट पार ।
    ख)
    गरेमा निष्काम कर्म
    यस जगतमा हामीलाई
    तबमात्र मिल्दछ धर्म ।
    ✍️
    विष्णु पंगेनी(पाण्डे)
    वालिङ, स्याङ्जा

    झिल्का
    क)
    प्रारब्ध निरञ्जन निराकार
    बनेर अर्जुनकाे सारथि
    देखाए चमत्कारिक व्यवहार ।
    ख)
    सुदामाकाे साथ प्याराे
    निभाए साथीको कर्तव्य
    नराखी केही उधारो ।
    ✍️
    हरिगाेपाल न्हुच्छेँप्रधान
    साँगा, बनेपा१४ काभ्रे।
    झिल्का कविता
    क)
    जाऊँ कृष्णको चरणमा
    पीडितको उद्वार गर्दै
    सदैव परौँ शरणमा ।
    ख)
    प्रेमको दीप बालौँ
    घृणाको पर्दा फालेर
    कृष्णझैँ पाइला चालौँ ।
    ✍️
    अम्बिका धिताल
    भक्तपुर