
असार २० गते
वसन्त अनुभव
वरिष्ठ कवि एवम् लघुकथाकार महेश प्रसाई’को लघुकथासङ्ग्रह ‘इब्राहिमको घोडा र बिकिनीहरू’को परिचर्चा कार्यक्रम यही असार २० गते शनिवार सम्पन्न भएको छ । नमस्ते आधुनिक लघुकथा मञ्चको आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि साढे ८ बजेसम्म चलेको थियोे । ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रह, लघुकथाकार महेश प्रसाईको पाँचौ लघुकथा कृति हो ।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवम् समालोचक प्रा.डा. दयाराम श्रेष्ठले आजभोलि लघुकथाको विशुद्धताका विषयमा आफूले कुनै सम्झौता नगर्ने उल्लेख गर्दै लघुकथा भनेपछि लघुकथा नै हुनुपर्ने जिकिर गर्नुभयो।
५३/५४ वर्षदेखि कथा लेखनमा निरन्तर लाग्दै आउनुभएका प्रसाईंलाई आफूले नेपाली कथाको ‘कुमुद’ भनेको उल्लेख गर्दै उहाँको लघुकथामा ओपन टेक्सर भएको, धेरै इल्युजन प्रयोग भएको बताउनुभयो। प्रसाईका लघुकथामा प्लटलेस स्टोरी’ छ, अमूर्त लघुकथाको ट्रेण्ड भेटिन्छ।
अमूर्त लघुकथाको परिभाषा, प्लटको अवस्था र पात्रविधानका बारेमा बहस गर्नुपर्ने र त्यसको अगुवाई नमस्ते आधुनिक लघुकथाले गर्नुपर्ने समेत उहाँले बताउनुभयो।
इब्राहिमको घोडा र बिकिनीहरू भित्रका लघुकथाहरूको संरचनागत पक्षको कोणबाट परिचर्चा गर्नुहुँदै वरिष्ठ लघुकथाकार एवम् समालोचक प्रा.डा.विदुर चालिसेले लघुकथाकार महेश प्रसाईका लघुकथाहरू लेखन शैली कवितात्मक छ तर बान्की चाहिँ लघुकथाको रहेको छ। यसमा धेरै छोटो कथाहरू पनि रहेका छन्। साथै उहाँले यस लघुकथासङ्ग्रहमा लघुकथा लेखनमा नयाँ शैली प्रयोग गरिएको बताउनुभएको छ। इब्राहिमका घोडा र बिकिनीहरू लघुकथासङ्ग्रह प्रतीक, बिम्व र मिथकको भण्डार रहेकोे उल्लेख गर्दै लघुकथामा यौन, प्रकृति, वातावरणीय परिवेश , महिला अधिकार, राजनीतिक अवस्था, विज्ञान प्रविधि, मानवीय संवेदना, चेतना, कृत्रिम बौद्धिमता लगायत विविध विषयमा उहाँले सुक्ष्म तरिकाले चोटिलो व्यङ्ग्य गर्नुभएको उल्लेख गर्नुभयो।
त्यस्तै ‘इब्राहिमको घोडा र बिकिनीहरू’ लघुकथासङ्ग्रहको शैली, शिल्पगत दृष्टिकोणले परिचर्चा गर्ने क्रममा वरिष्ठ लघुकथाकार एवम् प्रा.डा. कपिल लामिछानेले ‘लघुकथामा के लेख्ने ? भन्ने प्रश्नले लघुकथाको संरचनागत पक्ष र कसरी लेख्ने भन्ने प्रश्नले शिल्प शैलीगत पक्षको उजागर गर्दछ’ बताउनुभयो।
लघुकथा सृजनालाई बल्छीसँगै तुलना गर्दै प्रा.डा.लामिछानेले बल्छी हुनु संरचनागत पक्षसँग सम्बन्धित छ भने ‘कसरी माछा मार्ने ?’ शिल्प शैलीगत पक्ष रहेको उल्लेख गर्नुभयो।
सङ्ग्रहका अधिकांश लघुकथाहरू कवितात्मक शैलीको रहेकोे बताउनु हुँदै प्रा.डा.लामिछानेले लघुकथामा विम्ब, प्रतीकको सुन्दर संयोजन पाइने बताउनुभयो। साथै उहाँले भावगतरूपमा निकै गहन र अर्थपूर्ण लघुकथाहरू सङ्ग्रहमा सङ्ग्रहित रहेकोे पनि उल्लेख गर्नुभयो।
कृतिकारको तर्फबाट बोल्नुहुँदै वरिष्ठ साहित्यकार एवम् लघुकथाकार महेश प्रसाईले समीक्षकहरूबाट प्राप्त सुझावप्रति आफ्नो खण्डन र विमति केही नरहेको तर झुकाव अलि बढी कवितामा भएकोले मेरा आख्यान सृजनाहरू कविताको प्रभाव अछुत रहन नसकेको उल्लेख गर्नुभयो। साथै उहाँले लघुकथा लेखनमा रहेको परम्परागत शैलीलाई तोडेर नयाँ शैलीमा लेख्ने कोसिस गरेको बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले वरिष्ठ साहित्यकार प्रसाईको धेरै लघुकथामा कविता हावी भएको उल्लेख गर्दै ती लघुकथालाई लघुकथा मान्ने कि नमान्ने चुनौती आएको बताउनुभयो। पछिल्लो समय गद्य कविता लेखेर लघुकथा भन्ने प्रचलन बढ्दै जाँदा विशुद्ध लघुकथा भनेको कस्तो लघुकथा हो भन्ने नै अन्योलता बढेको छ।
‘लघुकथा वन्दना’को प्रशारणसँगै शुरु भएको कार्यक्रममा वरिष्ठ साहित्यकार गोपी मैनाली, सिक्किमेली लघुकथा मञ्चकी संस्थापक त्रिपुरा खरेल, हेमराज अधिकारी, असमका रेवतीरमण सापकोटा, देबी प्रसाद थापा ‘मामा’ लगायतका व्यक्तित्वहरूले शुभकामना मन्तव्य दिनुभएको थियोे भने वरिष्ठ लघुकथाकार/साहित्यकार ध्रुव मधिकर्मी, वसन्त अनुभव, नर पल्लव, नारायणनाथ योगी, लक्ष्मण ज्ञवाली, मीठू कुमारी पाठक, हेमराज अधिकारी, त्रिपुरा पोख्रेल, अवधेश सिंह, भूमिका गैरे तिमल्सिना, विष्णु भण्डारी, श्रीकृष्ण पौडेल, ईश्वर प्रसाद लामिछाने, यमुना प्रधानाङ्ग मुना, विवेक शर्मा गौतम, देबी प्रसाद थापा मामा, जयदेश श्रेष्ठ, राजेन्द्र आचार्य, सुरेशकुमार पाण्डे, मित्र गौतम, होम सुवेदी, ध्रुवराज थापा, धनसिंह विश्व, छायादत्त न्यौपाने, अम्बिका धिताल, सिएन बन्जाडे, मुक्ति गौतम, आयुष बडाल, इन्दिरा पौडेल ‘प्रतीक्षा’ लगायत संस्थाका पदाधिकारी, लघुकथाकार, साहित्यकार, समीक्षक, पाठक, पत्रकारहरूको उपस्थिति रहेकोे थियोे ।
नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार इन्दिरा पौडेल ‘प्रतीक्षा’ले गर्नुभएको थियोे भने जुम हलको प्राविधिक संयोजन लघुकथाकार आयुष बडालले गर्नुभएको थियोे ।

