‘महाकम्प’को परिचर्चा कार्यक्रम सम्पन्न

  • १६ मंसिर २०८२, सोमबार ०६:४६ मा प्रकाशित
  • काठमाडौँ, मङ्सिर १३ गते
    वसन्त अनुभव

    नमस्ते आधुनिक लघुकथा मञ्चद्वारा प्रकाशित लघुकथासङ्ग्रह ‘महाकम्प’को परिचर्चा कार्यक्रम शनिवार सम्पन्न भएको छ । मञ्चकै आयोजनामा भर्चुअल प्रविधिबाट जुम हलमा भएको उक्त कार्यक्रम अपरान्ह ६ बजेदेखि ९ बजेसम्म चलेको थियोे । ‘महाकम्प’ लघुकथासङ्ग्रह, लघुकथाकार घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को पहिलो लघुकथा कृति हो । जसमा कुल १ सय ८ वटा लघुकथाहरू रहेका छन् ।

    कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार प्रा.डा.दयाराम श्रेष्ठले आजका परिचर्चाकारहरूको परिचर्चाबाट आफू सन्तुष्ट नभएको प्रतिक्रिया दिनुभयो । आफू खरो व्यक्ति भएको उल्लेख गर्दै उहाँले भन्नुभयो- “परिचर्चाकरहरू लघुकथाको शिल्प शैलीमा छिर्न सक्नुभएन । लघुकथाको प्लटको बारेमा बोल्नु नै भएन । कक्षाकोठामा विद्यार्थीलाई लघुकथा कसरी लेख्ने ? भनेर सिकाएझैँ सिकाउनुभयो, वर्णविन्यास पढाउनुभयो । यसरी हुँदैन । लघुकथामा प्युरिटी हुनुपर्छ । बालकथा, गद्य कविता, निबन्ध लेखेर लघुकथा हुँदैन । न्याराटिभ एस्से लेखेर आख्यानीकरण हुँदैन ।”
    साथै उहाँले आफूले महाकम्प पुरै पढेको उल्लेख गर्दै महाकम्पका धेरैजसो लघुकथाहरू लघुकथा बन्न नसकेको धारणा राख्नुभयो ।

    आज परिचर्चा गरिएको पुस्तकको बारेमा बोल्दै कृतिका सम्पादक एवम् कार्यक्रमका विशिष्ट अतिथि प्रा.डा. विदुर चालिसेले ‘नमस्ते आधुनिक लघुकथा मञ्च र यसका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले जुन गुरुकुल अभियान सञ्चालन गर्नुभयो, एउटा छुट्टै मान्यतालाई स्थापना गर्न खोज्नुभयो, उक्त काम सराहनीय छ, स्तुत्य छ’ भन्नुभयो ।
    “अभियान अन्तर्गत प्रकाशित २२ वटा कृतिहरूमध्ये महाकम्प प्रकाशित पहिलो कृति हो । जुन आकारमा ठूलो छ ।”, उहाँले भन्नुभयो ।

    कार्यक्रममा ‘महाकम्प’को परिचर्चा दुई पक्षमा आधारित रहेर गरिएको थियोे । ‘महाकम्प’ लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘विषयवस्तु’मा केन्द्रित रही सोको विश्लेषण वरिष्ठ समीक्षक/समालोचक डा. शंकरप्राद गैरेले गर्नुभएको थियोे भने ‘महाकम्प’ लघुकथा कृतिमा समाविष्ट लघुकथाहरूको ‘शिल्प शैली अर्थात सौन्दर्य’ पक्षको विश्लेषण प्रा.डा. कपिल लामिछानेले गर्नुभएको थियोे ।
    कार्यक्रममा परिचर्चा गर्दै परिचर्चाकार डा. शंकरप्रसाद गैरेले महाकम्पका लघुकथाहरूलाई विभिन्न १७ वटा विषयवस्तुमा विभक्त गरी परिचर्चा गर्नुभयो । जसअन्तर्गत कोरोना, बाआमा/वृद्धावस्था, नेपाली सभ्यता र संस्कृति, लैङ्गीक विभेद, सामाजिक विकृति, विसङ्गति, राष्ट्रियता, दर्शन लगायत अन्य विभिन्न विषयवस्तुहरू रहेका थिए ।
    “लघुकथाकार शर्माले आफ्ना लघुकथाहरूका माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गतिको उजागर मात्र गर्नुभएको छैन, घुमाउरो पाराले त्यसको समाधान पनि दिनुभएको छ । वर्तमान राजनीतिमा देखापरेका गलत संस्कार, प्रवृत्तिहरूको भण्डाफोर गर्नुभएको छ ।”, उहाँले भन्नुभयो ।
    साथै उहाँले महाकम्पमा रहेका लघुकथाहरू विषयवस्तुको दृष्टिले र यसले दिने सन्देशको दृष्टिले निकै महत्वपूर्ण र बलिया रहेको उल्लेख गर्नुभयो ।

    पुस्तक परिचर्चाकारको रूपमा उपस्थित हुनुभएका अर्का वरिष्ठ लघुकथाकार, समालोचक प्रा.डा.कपिल लामिछानेले महाकम्पको शिल्प शैली र सौन्दर्यगत पक्षबाट परिचर्चा गर्नुभयो ।
    उहाँले विभिन्न शैलीका प्रकारहरूको बारेमा बोल्दै महाकम्पका अधिकांश लघुकथाहरू वर्णनात्मक शैलीमा रहेको उल्लेख गर्नुभयो ।
    “धेरै लघुकथाहरूमा वर्णनहरू छोटो रहे तापनि केही लघुकथाहरूमा पट्यारलाग्दो लामो वर्णन पाइन्छ । जुन नभएमा उत्तम हुन्थ्यो ।” उहाँले भन्नुभयो ।
    त्यस्तै उहाँले लघुकथामा नाटकीय शैलीको पनि प्रयोग भएको र संवादले लघुकथालाई जिवन्त बनाएको तर कतिपय ठाउँमा लामो संवाद हुँदा दाँतमा ढुङ्गा लागेको उल्लेख गर्नुभयो ।
    “त्यस्तै महाकम्पका कतिपय लघुकथाहरूमा चित्रात्मक शैलीको, कतिपयमा संस्मरणात्मक शैलीको पनि प्रयोग गरिएको छ । आत्मसंस्मरणको प्रयोग गरेको पाइन्छ । साथै कतिपय लघुकथामा निबन्धात्मक शैलीको प्रयोग पनि भेटिन्छ ।”, उहाँले भन्नुभयो ।
    “शर्माका कतिपय लघुकथाहरूमा अभिधात्मक शैली र कतिपयमा लक्षणा र व्यञ्जना शैलीको प्रयोग गरिएको पाइन्छ । व्यङ्ग्यात्मक शैलीको पनि प्रयोग पाइन्छ ।”, उहाँले भन्नुभयो ।
    उहाँले महाकम्पमा संवाद ढाँचा फरक भएको उल्लेख गर्दै कथयिता र कथन अंशको बिचमा पूर्णविराम हुनुहुँदैन । सोचेकोमा सिंगल र भनेको कथनमा डबल इन्भर्टेड कमा हुनुपर्नेमा त्यसो नगरिएको बताउनुभयो ।
    शीर्षक सकभर छोटो, आकर्षक र कथाको भाव समेट्ने र लघुकथामा अकस्मात् पटाक्षेप हुनुपर्ने मान्यता उल्लेख गर्दै महाकम्पका केही लघुकथाहरू बाहेक अधिकांशमा छोटो, आकर्षक र उपयुक्त शीर्षक रहेको बताउनुभयो ।
    साथै उहाँले आगामी दिनमा कालखण्ड दोष, अन्त्य बिस्तार, वर्णविन्यास लगायतका कुराहरूलाई ध्यानमा राखेर कृति निकाल्दा उत्तम हुने बताउनुभयो ।

    धन्यवाद मन्तव्य दिनुहुँदै कार्यक्रमका सभाध्यक्ष, परिचर्चा गरिएको कृतिका कृतिकार एवम् नमस्ते आधुनिक लघुकथा मञ्चका संस्थापक अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’ले आजको कार्यक्रम अत्यन्त महत्वपूर्ण भएको, धेरै कुराहरू जान्ने, सिक्ने मौका प्राप्त भएको उल्लेख गर्नुभयो ।
    “बिरामीको हित (उपचार)का लागि डाक्टरले जसरी ब्लेड, औजार चलाउँदा क्षणिक रूपमा पीडादायी भए पनि दीर्घकालीन रूपमा राम्रो हुन्छ । त्यस्तै परिचर्चाकार, समालोचकज्यूहरूले मेरो कृतिमाथि छुरा चलाउँदा मलाई खुसी लागेको छ । विशेषतल: आजका प्रमुख अतिथि, महागुरु प्रा.डा. दयाराम श्रेष्ठले राख्नुभएको विचारबाट म अत्यन्त प्रभावित भएको छु । उहाँको कुराले गर्दा अब मेरो लेखनयात्राले छुट्टै मोड लिनसक्छ ।” उहाँले भन्नुभयो ।

    ‘लघुकथा वन्दना’को प्रशारणसँगै सुरु भएको कार्यक्रममा प्रा.डा. दयाराम श्रेष्ठ, प्रा.डा. कपिल लामिछाने, प्रा.डा.विदुर चालिसे, डा. शंकरप्रसाद गैरे, ध्रुव मधिकर्मी, घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’, अवधेश सिंह, वसन्त अनुभव, यमुना प्रधानाङ्ग मुना, मीठू कुमारी पाठक, डा.टिकाराम पोख्रेल, हिमलाल श्रेष्ठ, प्रा.डा.खेमराज खनाल, नर पल्लव, मुक्ति गौतम, कर्ण दयाल, श्रीकृष्ण पौडेल, मित्र उराठी गौतम, गंगा शर्मा पौडेल, हरि शर्मा, लक्ष्मी रेग्मी खनाल, नारायणनाथ योगी, मुना थपलिया, सुरेशकुमार पाण्डे, विष्णु पन्थी, राजन घले, ईश्वर लामिछाने, आयुष बडाल लगायत संस्थाका सल्लाहकारहरू, अभिभावकहरू, पदाधिकारीहरू, सञ्चारकर्मीहरू, लघुकथा सर्जक एवम् पाठकहरूको उपस्थिति रहेको थियोे ।

    नमस्ते आधुनिक लघुकथा मञ्चका अध्यक्ष घनश्याम डल्लाकोटी ‘कृष्णजी शर्मा’को अध्यक्षतामा सञ्चालित उक्त कार्यक्रमको सहजीकरण लघुकथाकार एवम् कुशल कार्यक्रम सञ्चालक आयुष बडालले गर्नुभएको थियोे ।